डेंगु नियन्त्रणमा बेवास्ता, स्वास्थ्यमन्त्री खापुङ विदेश भम्रणमा – HamroAwaj


२६ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अहिले नागरिकको सबैभन्दा ठूलो अपेक्षा के होला ?

त्यसको सहज जवाफ छ – डेंगु नियन्त्रण ।

र यो जिम्मेवारीस्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङको हो ।

यो संक्रमणकालीन अवस्थामा सबैभन्दा ‘कमान्डिङ रोल’ स्वास्थ्य मन्त्रलयकै हुनुपर्छ । अनि, त्यसको ‘कमान्डसिप’ स्वास्थ्यमन्त्री ।

तर, यतिबेला स्वास्थ्यमन्त्री खापुङ आफ्नो जिम्मेवारी बिर्सेर विदेश भ्रमणमा छन् । बिहीबार र शुक्रबार हुने ‘विश्वव्यापी मानसिक स्वास्थ्य शिखर सम्मेलन’ मा सहभागी हुन हिजो (मंगलबार) राति उनी इटाली गएका छन् ।

मन्त्री खापुङसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा. फणिन्द्र बराल र सचिवालयका लिलानाथ ढकाल गएका छन् ।

डेंगुले दैनिक दुई–तीन जनाको ज्यान लिइरहेको छ ।

सबै जिल्लालाई प्रभावित बनाइरहेको बेला महामारी फैलिन नदिन स्वास्थ्य मन्त्रालय के गरिरहेको छ ? अनि स्वास्थ्यमन्त्री खापुङ के गरिरहेका छन् ?

मन्त्रालयसँग यसको बनिबनाउ जवाफ छ– डेंगु नियन्त्रणमा मन्त्रालयले काम गरिरहेको छ । तर, मन्त्रालयको काम सुस्त गतिमा चलिरहेको देखिन्छ । नियन्त्रणमा मन्त्रीको उदासिनताले ‘बेपत्ता छन्’ भन्दा फरक नपर्ने स्थिति छ । मन्त्रीको खापुङको सुस्तताले चौतर्फी आलोचना तथा मन्त्रालयका कर्मचारीहरु निरास र चिन्तित छन् ।

मन्त्रीको कमजोर नेतृत्व र अभिभाकत्वले स्वास्थ्य क्षेत्र झन् थला पर्दै गएको कर्मचारीहरु बताउँछन् । ‘उहाँको यस्तै अपरिपक्व नेतृत्व र कार्यशैली हुने हो भने स्वास्थ्य क्षेत्रले ठूलो क्षती बेहोर्नु पर्ने खतरा छ,’ मन्त्रालयका एक उच्च कर्मचारी भन्छन् ।

डेंगु फैलिएको यो नयाँ घटना होइन । २०६१ सालदेखि डेंगु संक्रमण देखिए पनि २०७६ सालमा भने प्रकोपको रूप लिएको थियो । त्यो वेला ५६ जिल्लामा फैलिएको डेंगुबाट १२ जनाको मृत्यु भएको थियो । यो वर्ष साउनयता ७६ जिल्लामा फैलिएको डेंगुबाट ३७ हजार १३१ जना संक्रमित भएका छन् र ४५ जनाको मृत्यु भइसकेको छ । यो डेंगु भएको अहिलेसम्मकै ठूलो क्षति हो ।

जनस्वास्थ्यविद् डा. योशोवर्धन प्रधान डेंगुले महामारीको रुप लिँदा पनि उपचार, परीक्षण निःशुल्क वा सहज रुपमा व्यवस्थापन गर्न नसक्नुले जस्ता कारणले मन्त्रालयले नागरिकको जनस्वास्थ्यमा खेलबाड गरिरहेको बताउँछन् । ‘डेंगु फैलिएको यो नयाँ घटना होइन, जनस्वास्थ्यविद्को डेंगुले प्रकोप रूप लिन्छ भनेर पहिलेदेखि नै आंकलन थियो,’ डा. प्रधान भन्छन्, ‘पटक–पटक सुझाव दिँदा मन्त्रीले आफ्नो उत्तरदायित्व पुरा गरेको देखिँदैन ।’

स्वास्थ्य क्षेत्रका कार्यक्रममा मन्त्रीले नै चासो नदिँदा त्यसको प्रत्यक्ष असर जनताको स्वास्थ्यमा देखिन थालेको छ । स्वास्थ्यका संरचनाबाट सेवा प्रवाहमा असर गर्नुका साथै विभिन्न रोगको महामारी फैलिँदा नियन्त्रणमा समेत समस्या परिरहेको छ ।

भवानी खापुङ ।

खापुङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै गर्दा कोरोना महामारी कायम नै थियो । त्यसपछि हैजाको प्रकोप फैलिदा पनि मस्त निन्द्रामा परेका स्वास्थ्यमन्त्री खापुङले उही शैलीलाई निरन्तरता नै दिइरहेका छन् । ‘उहाँले स्वास्थ्यमन्त्रीको जिम्मेवारी समालेपछि स्वास्थ्यका सुधारको आशा राखिएको थियो । तर, हाम्रो आकलन गतल रहेछ,’ मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘उहाँ त अहिले जतिबेला पनि नुन खाएको कुखुराजस्तै झोक्राएर बसेझैं लाग्छ ।’

विगतमा उन्मुलन र निवारण भइसकेका तथा हुन लागेका रोगहरु समेत फेरि देखिन थालेका छन् । यसले भविष्यमा जनस्वास्थ्यमा गम्भीर संकट निम्त्याउने खतरा बढेर गएको जनस्वास्थ्यविद्हरु बताउँछन् । औपचारिक रूपमा आइतबार र बिहीबार बिहान महाशाखाका प्रमुखसँग छलफल गर्ने मन्त्रालयको नियमित कार्यतालिका हो । तर, जुन विषयमा छलफल हुनुपर्ने हो, जुन कुरामा गम्भीर र सक्रिय हुनुपर्ने हो, त्यो विषयमा मन्त्री चासै दिन्नन् ।

‘डेंगुसँग जुध्नका लागि प्राविधिक कुरामा छलफल निकै कम हुन्छ । ‘मन्त्रालयका ‘गुटगत प्रशासनिक’ गतिविधिबारेमा बढी छलफल हुन्छ,’ एक कर्मचारी भन्छन् ।

‘अरू देशको सिस्टममा हेल्थ एक्सपर्टहरू, विज्ञ डाक्टरहरूको सुझाव लिन्छन्, त्यहीअनुसार मन्त्रीहरूले निर्णय लिन्छन्,’ मन्त्रालयका ती अधिकारी भन्छन् ‘तर, हाम्रो देशमा सिस्टम नै त्यस्तै छ । मन्त्री न जान्ने बुझ्ने विज्ञको कुरा सुन्छन्, न त्यो अनुसारको निर्णय गर्छन् ।’

डेंगु नियन्त्रण बाहिर गएको भन्दै असोज पहिलो साता इडीसीडीले नियन्त्रण तथा रोकथामको तयारी गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई ‘प्रकोप’ गर्न प्रस्ताव गरेको थियो । त्यसअघि मन्त्रालयको नियमित बैठकमा पनि स्वास्थ्य मन्त्रालयका अधिकारीले डेंगु नियन्त्रणको लागि स्वास्थ्य मन्त्री खापुङसामु केही प्रस्ताव पेश गरेका थिए । तर, खापुङले ती प्रस्तावलाई गम्भीरताका साथ लिएनन् ।

‘त्यसका लागि त मन्त्रालयमै घनिभूत छलफल हुनुपर्ने थियो । अनि, मन्त्रीज्यूले त्यही अनुसारका प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपथ्र्यो मन्त्रालयका अर्का एक अधिकारी प्रश्न गर्छन्, ‘मन्त्रालयमा आफ्नो गुटका कर्मचारीका मात्रै कुरा सुन्ने अनि प्रभावकारी छलफल र निर्णय कसरी हुन्छ ?’

टेकु अस्पतालमा उपचाररत डेंगुका बिरामी ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा. बाबुराम मरासिनी मन्त्री खापुङले नै ‘कमान्डिङ’ भूमिकामा रहेर काम नगरेको बताउँछन् । ‘डेंगु नियन्त्रण मुख्य प्राथमिकतामा राखेर बैठक राख्ने गर्नुपर्थो । नगरपालिका तथा गाउँपालिकालाई काम गर्नुहोस् भनेर नेतृत्वदायी भूमिका खेल्नुपर्थो,’ डा. मरासिनी भन्छन्, ‘काठमाडौंकै हकमा पनि मेयरहरु बोलाएर छलफल गर्न सकिन्थ्यो नि ! तर, मन्त्रालय डेंगु नियन्त्रणमा सुस्त देखियो ।’

स्वास्थ्य मन्त्रालयले ‘खोज र नष्ट गर’ भन्ने पुरानो नारा कार्यान्वयन गरेको मात्र भए यति ठूलो क्षति नहुने उनी बताउँछन् । २०७६ सालमा ढिलै भए पनि ‘खोज र नष्ट गर’ भन्ने नारा कार्यान्वयन गरेकाले क्षति रोकिएको उनको भनाइ छ ।

जनस्वास्थ्यविद्का अनुसार डेंगुको प्रकोप करिब डेढ महिनासम्म रहिरहने देखिन्छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार शहरको तापक्रम १५ डिग्रीभन्दा कम नहुन्जेल प्राकृतिक रूपमा आफैं संक्रमण घट्ने अवस्था देखिँदैन ।

काठमाडौं उपत्यकासहित देशभर पानी पर्ने, रोकिने र फेरि पानी पर्ने गरिरहेकाले डेंगु संक्रमित बढ्ने उनी बताउँछन् । तर, काठमाडौंमा प्रायजसो सबै डेंगु संक्रमित भएकाले अबको जोखिम काठमाडौंका बाहिरका जिल्लाहरु पर्ने उनको आकलन छ । ‘विगतदेखि एडिज जातको लामखुट्टे देखिएको ठाउँमा अहिलेको लागि सम्भावित डेंगु फैलिने जोखिमको रुपमा हेर्नुपर्छ,’ डा. पुन भन्छन्, ‘डेंगु अझै डेढ महिना पिरोल्ने देखिन्छ ।’

‘गुमाएको अवसर’

डेंगु समान्य झैं लाग्ने, तर कुनै पनि बेला महामारीको रुप लिन सक्ने रोग हो । डेंगु लागेपछि सही उपचार गर्नु र यसको महामारी रोक्न लामखुट्टेको लार्भा भएका ठाउँहरु खोजेर नष्ट गर्नु बाहेक अरु उपाय छैन ।

स्थानीय तहले पनि डेंगु नियन्त्रणका लागि ‘खोज तथा नष्ट’ अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा यो अवस्था आएको हो । जनस्वास्थ्यविद्का अनुसार डेंगुले माहामारीको रुप लिन लागेको अवस्थामा राज्यका सबै स्रोत–साधन परिचालन र जनचेतना अभियान अनिवार्य नै हुन्छ ।

त्यसका साथै मन्त्रालयले लामुखुट्टे नष्ट गर्ने प्रोटोकल, स्थानीय तहका जनशक्तिलाई तालीम र डेंगु नियन्त्रणको कुनै पनि ठोस योजना नल्याएको महामारीको रुप लिएको डा. मरासिनी बताउँछन् ।

पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी डेंगुले महामारीको रुप लिँदा संकटकाल नै घोषणा गरेर राज्यको सबै शक्ति परिचालन गर्नुपर्ने बताउँछन् । ‘स्वास्थ्य संकटकाल’ घोषणा डेंगुविरुद्ध अभियान चलाउनलाई पनि अग्रसरता लिने स्वास्थ्य मन्त्रालय काम हो । तर, डेंगु नियन्त्रण प्राथमिकतामा परेन,’ अधिकारीले भने, ‘स्वास्थ्य मन्त्रालयले अलिकति सक्रियता देखाएको भए स्थानीय तहले होस्टेमा हैंसे गर्थे । रोग नियन्त्रणमा संघीय, प्रदेश र स्थानीय सरकारको तालमेल नहुँदा थप समस्या देखियो ।’

डेंगुले स्वास्थ्यमन्त्री खापुङलाई एक अवसर जुराइदिएको थियो । ‘आम नेपालीको स्वास्थमा संवेदनशीलता देखाएको भए उनको लोकप्रियता आकासिन्थ्यो, तर यो काम स्वास्थ मन्त्रालयले मात्र गर्न सक्दैन भनेर पन्छिँदा त्यो अवसर गुम्यो,’ मन्त्रालयका अर्को अधिकारी थप्छन् ।

संरचनाको तालमेल नमिल्दा कार्यक्रमहरु प्रभावित भएर नागरिकको जीवन नै तलमाथि हुनसक्ने खतरा बढेको स्वास्थ्यसेवा विभागका पूर्वमहानिर्देशक डा. सुशील प्याकुरेल बताउँछन् ।

‘हिजोका दिनमा केन्द्रस्तरबाट दिएको निर्देशनबाट स्थानीय तहमा भएका संस्थाहरू तुरुन्तै परिचालित हुन्थे र कामको प्रतिफल आउँथ्यो । आज स्थानीय तहको एउटा कर्मचारीलाई चलाउन माथिल्लो निकायलाई गाह्रो छ,’ डा. प्याकुरेल थप्छन्, ‘हाल सिपाही संघमा, बन्दुक प्रदेशमा र गोली स्थानीय तहमा रहेका छन् । तीनै तहको तालमेल नमिल्दा रोगले यो रूप लिइरहेको छ ।’





Source link

HamroAwaj

2022-10-12 20:30:09

Leave a Comment