कप्तानको रिसले ‘एकराते माओवादी’ भइयो ! – HamroAwaj


कुरो २०५८ साल कात्तिक-मंसिर महिनाको हो । त्यो बेला म पर्यटन मजदुर भएको नाताले ‘सी टु समिट’ नामक ट्रेकिङ एजेन्सीबाट ‘किचन ब्वाई’ पदमा काम गर्थें । पछि उक्त कम्पनी बन्द भयो । म पनि बढुवा भएर ट्रेकिङ गाइड भएँ । पछि मेरो मुटुमा समस्या देखियो । म मुटुको दीर्घ रोगी भएँ । ट्रेकिङ फिल्डमा जान (पर्यटकसँग) छाडिसकें । जेहोस्, मेरो ट्रेकिङ गाइड लाइसेन्स नम्बर-४२४२ ‘ग्रेड ए’ हो ।

त्यतिबेला हाम्रो साथमा १७ जना अष्ट्रेलियनहरू थिए । र, हाम्रो गन्तव्य थियो, मनाङ जिल्लामा रहेको चुलु (स्थानीय भाषामा जुलु) पश्चिम चुली । हाम्रो यात्रा कास्की जिल्लाको बेगनास ताल हुँदै लमजुङ जिल्लाको खुदी निक्लिएर भुलभुले, ङादी, बाहुनडाँडा, घेर्मु, जगत, च्याम्जे, ताल, धारापानी, बगर, लाटा मनाङ, चामे, पिसाङ, हुम्डे, भ्राका हुँदै भएको थियो । हाम्रो यात्रा तालिका २९ दिनको थियो ।

लमजुङको खुदीमा क्याम्प गरेर बसेको दिन ग्रुपमा रहेका प्रायः सबैले प्रशस्तै सोमरस पिए । कतिसम्म भने, सबै खैरेहरू बेलुकी मातेर झल्लु भएका थिए । फलतः सधैं बिहानको ८ बजे हिंड्ने रुटिन भए तापनि त्यो दिन हामी ९.३० मा मात्र हिंड्यौं । भुलभुलेबाट हाम्रो यात्रा चिरपरिचित ट्रेकिङ रुट बेसीसहर-मनाङको बाटो लाग्यो । त्यतिबेला देशमा तत्कालीन माओवादी र सरकारबीच द्वन्द्व भइरहेको बेला थियो, अहिलेको जस्तो हातहातै मोबाइल त के टेलिफोन लाइन समेत कताकति मात्रै थियो । जहाँ पायो त्यहाँ फोन गर्न पाइँदैनथ्यो ।

प्रायः सबै स्टाफले धारापानी पुगेको दिन आ-आप्mनो परिवारलाई फोन गरे । मैले पनि मेरी प्राणप्यारी बिनु (हाल स्वर्गे भइसकिन्) लाई फोन गरें । छोरी नेराबुङ सानै थिइन्, छोरो निनामहाङ जन्मेकै थिएन ।

इमान र जमानका साथ भन्नुपर्दा त्यो बेला यो पंक्तिकारमा नेपालका विभिन्न समुदाय, जातजाति, भाषाभाषी, भेषभुषा, धर्म, लिङ्ग, क्षेत्र, भूगोल आदिबारे त्यति धेरै जानकारी थिएन (अहिले पनि छैन) । यो प्रसंग किन उठाइएको हो भने, त्यो ट्रेकिङमा न्यूजिल्यान्डका एक जना गोरा ‘राई’ पनि आएका थिए । उनको नामै ‘राई बूढा’ भएको थियो । अर्थात् उनलाई सबै नेपालीले दिएको नाम ‘राई बूढा’ थियो । किनकि, ती बूढाको नामको पछाडि सर नेम (थर/उपथर) ‘राई’ रहेको थियो ।

ग्रुप लिडर ग्यारीका अनुसार उनी टुहुरो अर्थात् ओर्फान थिए । तापनि उनी पदीय हिसाबले भने न्यूजिल्यान्डको सेनामा अधिकृत भएर रिटायर्ड भएका थिए । तर, दुःखको कुरो ती ‘गोरा राई बूढा’ चुलु पश्चिमको हाई क्याम्पमा बिहानको ३/४ बजेतिर मेरै काखमा मरे । आजभोलि जस्तो भए म ती गोरा ‘राई बूढा’ को पासपोर्टको फोटो कपी गरेर/मागेर जतनसाथ राख्थें, उनका बारे फिचर/लेख लेख्थें । तर, … !

र, इतिहासको कालखण्डमा ‘राई’ कुनै जात वा जाति होइन भनी थप प्रमाणित गर्ने आधार हुन्थ्यो । ‘राई’ जातै हो, जसले ‘राई’ जात होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, तीन पुस्तेमा समेत ‘राई’ छ भन्ने राई जातिवाला कामरेडहरूसँग बहस र छलफल गर्न थप प्रमाण हुन्थ्यो, बल पुग्थ्यो ।

‘गोरा राई बूढा’ को चुलु पश्चिमको हाई क्याम्पमा इहलीला समाप्त भएपछि उनको लास लिएर हामी सबै बेस क्याम्प झर्यौं । उनको लासलाई हेलिकोप्टरबाट काठमाडौं पठाएपछि हामी हुम्दे आयौं । मौसम खराबीका कारण धेरै दिनसम्म मनाङको हुम्दे बसाइ भयो । हुम्दे विमानस्थलमा मौसम सफा नभए जहाज आउने निश्चित हुँदैनथ्यो । स्थिति कस्तोसम्म थियो भने, तत्कालीन शाही नेपाल वायुसेवा निगमको हवाईजहाज त आएन नै, निजी क्षेत्रको यती एअरलाइन्सको जहाज पनि मौसमको खराबीकै कारण ३-४ दिनसम्म आउन सकेन ।

धेरैजसो खैरेहरूको स्वदेश फर्कने समयाभावका कारण महँगै भए तापनि हेलिकोप्टर चार्टर गरेर काठमाडौं फर्किए । हुम्देको चार दिन बसाइमा २१ पत्ती अर्थात् ‘म्यारिज’ खेल्यौं । बसाइकै क्रममा एकदिन खैरेहरूले हामीलाई स्पोन्सर गरेर अंग्रेजी सिनेमा ‘मास्क अफ जोरो’ हेर्न नजिकैको घर (सिनेमा घर) लगे ।

खैरेहरू उडेपछि हामी नेपाली (स्टाफ) हरू पनि (११ नम्बरको यातायातबाट) पैदल हिंड्यौं । हिंडेको दिन रात(साँझ गरेर म र पेम्बा दाइ ताल आइपुग्यौं । हिंड्न सक्ने अरूहरू अझ अगाडि गए ।

बाटामै पेम्बा दाइले ‘आज हामी सिम्पल ठाउँमा बसौं है भाइ’ भनेका थिए । मैले पनि उहाँको कुरोमा सहमति जनाएको थिएँ । ताल आइपुगेपछि पेम्बा दाइ सधैं बस्ने गरेको साधारण होटलमा बस्यौं । हामी त्यहाँ पुग्दा अर्कै घर (क्याप्टेन गेष्ट हाउस) का मालिक एवम् भारतीय सेनाबाट अवकाशप्राप्त गुरुङ थरका एकजना कप्तान पनि दारुपानी लिंदै बसिरहेका रहेछन् । त्यो दिन ती कप्तान भर्खर लमजुङ जिल्लाको सदरमुकाम बेसीसहर पुगेर आएका रहेछन् ।

उनले नेपालको ताजा घटनाक्रम पूरै थाहा पाएझैं गरी विभिन्न घटनाक्रम भट्याउँदै थिए । खासगरी माओवादीलाई जथाभावी गालीगलौज गर्दै थिए । उनी भन्दैथिए, “साला माओवादीहरूको समूल नष्ट गर्न लागेको छ सरकारले । अब यी आतंककारी माओवादीहरूले धर पाउने छैनन् । सारा देश आतंंककारीहरूको विरोधमा छ । रूस, चीन, भारत, अमेरिका आदि देशहरूले पनि नेपाललाई सहयोग गर्ने भएका छन् । यो मनाङ जिल्लामा त झन् माओवादी भन्नेहरूको नामोनिसान छैन ! कतैबाट आए भने पनि गाउँका गाउँ मिलेर, बोरामा हालेर मस्र्याङ्दीमा फालिदिन्छौं । माओवादी आए/नआएको हेर्न हामीले ठाउँ-ठाउँमा मान्छे राखेका छौं । फेरि यो ठाउँमा माओवादीहरू आए भने भागेर जाने ठाउँ पनि छैन । साला, जो आए पनि यो देशमा बाहुन-क्षेत्रीको रजगज छ ।”

नढाँटिकन भन्दा त्यो बेलासम्म मलाई माओवादीका नेता देव गुरुङ मनाङ जिल्लाकै हुन् भन्ने थाहा थिएन । तर धारापानीभन्दा तल, तालभन्दा माथिको बाटाको दायाँ-बायाँका ठूला चट्टानी पर्खालहरूमा माओवादीले विभिन्न राजनैतिक नाराहरू लेखेको देखेको थिएँ । त्यसैले मलाई खसखस भइरह्यो । के गरौं, के गरौं भयो । ढुंगो जस्तो नबोली बसिरहन गाह्रो भयो ।

कप्तान साबको कुरो सुन्ने पेम्बा दाइ र म मात्रै नभएर तीन जना भारी बोक्ने भरिया साथीहरू, स्थानीय केही मान्छे (केटा) हरू र, होटल धनी थिए । त्यसै त कप्तान, त्यसमाथि ‘खुकुरी रम’को रन्को ! उनले आफूले जानेबुझेसम्मको अनेकथरी गफको फन्को लगाउँदै थिए । फेरि कस्तो भने, म आफू भरिया भए तापनि राजनीतिमा रुचि भएको मान्छे, त्यसमाथि प्रकाश ‘पूअर’, प्रकाश राई ‘दीनदुःखी’, एमके राई ‘सुब्बा’, तेह्रथुमे जेठा, विहोशी ‘गाउँले’, दीनदुःखी राई आदि नामले जानी-नजानी कविता, मुक्तक, गजल, फिचर, लेख, संस्मरण, नियात्रा लेख्ने भएकोले ती कप्तानको अगाडि मुख नखोली टुलुटुलु हेरेर बसिरहन सकिनँ ।

मैले सोचें, “कप्तान निकै बाठा रहेछन् । राजनीति धेरै जाने/बुझेका रहेछन् ! यिनीसँग राजनीतिक गफ गर्न बडो मज्जा आउने भो !” तर, मेरो सोच ठीक उल्टो भयो । किनभने, जब मैले कप्तान साबसंग गफ गर्ने मनसायले “माओवादीहरू त्यति सजिलैसँग कसरी निखे्रलान् र ? अनि सरकारले प्रचण्ड र बाबुरामहरूलाई त्यति सजिलै पक्राउ गर्न सक्छ र ?” भनी प्रश्न गरें । मैले प्रश्न गरिनसक्दै कप्तान साबले उल्टै मलाई सोधे, “तँ पनि माओवादी होस् ?”

मैले भनें, “होइन, संसारको इतिहास नै त्यस्तै छ । भारतमा पनि त्यतिका विद्रोही ज्यूँका त्यूँ छन् ।” मैले भारतमा विद्रोह गरिरहेका जति पनि संघ-संगठन थिए (अझै पनि छन्), ती सबैको नामहरू बताएँ । उनले पनि भने, “तँ जस्तै अबुझहरूले गर्दा त यस्तो हुन्छ, देशको हालत ।”

मैले कुरो अन्तै मोड्न चाहेर कप्तानलाई प्रश्न गरें, “भारतमा बाले कुन-कुन युद्ध लड्नुभयो ?” उनलाई त च्यालेञ्ज गरे जस्तो लागेछ क्यारे ? कप्तान साबले “ए केटा हो ! पुलिस बोलाओ त, पुलिस …” पो भन्न थाले ।

“होइन बा, म माओवादी होइन । नपत्याए हेर्नुस् मेरा परिचयपत्रहरू” भनी मसँग भए-भरको परिचयपत्रहरू देखाएँ ।

तर, उनले केटाहरूलाई पुलिस बोला भन्न छाडेनन् । उनले पुलिस बोला भन्न नछाडेका मात्रै होइनन्, तिमीहरूले पुलिस नबोलाउने भए म आफैं जान्छु भन्न थाले ।

ती कप्तान त्यसरी माओवादीप्रति बढी नै आक्रामक अथवा भनौं नकारात्मक हुनुको कारणचाहिं उनको साख्खै दाजुको छोरीको बुढो अर्थात् भतिजी-ज्वाइँ बागलुङमा भएको माओवादी आक्रमणमा परी मरेका रहेछन् । त्यसैले उनलाई माओवादी भन्ने शब्द सुन्ने बित्तिकै रिसको पारो चढ्ने गरेको रहेछ । त्यसमाथि त्यो दिन कप्तान सा’बलाई खुकुरी रमले झ्याप्पै पारेको थियो । जसको फल अन्ततः मैले भोग्नु पर्यो !

कप्तानले मेरो परिचयपत्र हेर्ने बहानामा मसँग भएको नगदमध्ये एकसय झिकेर नजिकै बसेको केटालाई राख्न लगाए अनि भने, “यो पैसाले रक्सी खानुपर्छ ।” त्यो पैसा राख्न ती स्थानीय साथीले मानिरहेका थिएनन् । उनले गुरुङ भाषामा केही भन्दैथिए । अपजसे दिन थियो कि सायद मेरो साथमा डायरी पनि थियो । जुन डायरीमा ‘सरकार-माओवादीबीच वार्ता’ भएको मिति, वार्तामा बसेका दुवैतर्फका सदस्य र, सहजकर्ताहरूको नाम पनि टिपेर राखेको थिएँ । त्यो पनि बीबीसी नेपाली सेवा सुनेर ।

त्यसरी मैले आफ्नो डायरीमा ‘सरकार-माओवादीबीच वार्ता’ भएको मिति, वार्तामा बसेका दुवैतर्फका सदस्य र, सहजकर्ताहरूको नाम टिपेर राख्नुको कारण सामान्य थियो । त्यो बेला बीबीसी नेपाली सेवाले हरेक हप्ता आफ्ना श्रोताहरूलाई विभिन्न प्रश्न सोध्ने र विजयी घोषित भएका श्रोतालाई पुरस्कार पनि दिने गर्थ्यो । त्यही पुरस्कार र, खासगरी विजेता घोषित मात्रै भए पनि बीबीसी नेपाली सेवाका विश्वभरिका श्रोताहरूमाझ आफ्नो नाम (प्रकाश राई ‘दीनदुःखी’) प्रचारप्रसार हुने लोभ थियो ।

कप्तान साबलाई ‘के खोज्छस् कानो आँखो’ भनेझैं भएछ । किनभने, उनले कृष्णबहादुर महराको नामलाई मात्रै कोड गरेर ‘ए, केटा हो सुन्दैनौ ? यो साँच्चैको माओवादी रहेछ, जाओ, छिटो पुलिस बोलाओ’ भन्न थाले । छेउमा भएका स्थानीय साथीहरू अझै पनि गुरुङ भाषामा केही भन्दै पुलिस बोलाउन जान मानिरहेका थिएनन् । सायद उनीहरू अझै पनि मप्रति सहानुभूति राख्दैथिए ।

उता कप्तान साबले मलाई ‘ल तँ माओवादी होइनस् भने आगो छोएर म माओवादी होइन भन् त’ भन्न थाले । मैले त्यसै गरें । किनभने, न म कहिल्यै माओवादी थिएँ, न त म त्यसपछि पनि कहिल्यै माओवादी भएँ । तैपनि ‘पुलिस बोला, तिमीहरू बोलाउँदैनौ भने म आफैं बोलाउँछु, के हेरिरहेका छन् यी पुलिसहरू ?’ भनेर कप्तान साब कराइरहे ।
त्यतिखेर तालमा प्रहरीको सबैभन्दा ठूलो मान्छे भनेको हवल्दार रहेछ, सई-असईहरू मनाङ जिल्लाको सदरमुकाम चामे गएका रहेछन् ।

‘आफ्नो ठाउँमा कुकुर पनि शेर’ भन्ने नेपाली उखान नै छ । त्यसमाथि तालमा कस्तो रहेछ भने पुलिस मात्रै होइन, त्यहाँको चरो, मुसो, कीरा, फट्याङ्ग्रा, ढुंगो, माटो, पात-पतिंगरसमेत कप्तान सा’बको इशारामा नाच्ने ! अतः विचरा ती निरीह पुलिसहरूले मात्रै के नै गरुन् ! त्यसैले त्यहाँ भएका ५-६ जना पुलिसहरू सबै आएर मलाई केरकार गरे । मानौं म साँच्चै ठूलो आतंककारी नै हँु !

अझ नेपालको पुलिस न हुन्, उनीहरूले जताभावी अपशब्द प्रयोग गर्दै मलाई झाप्पु हान्दै केरकार गरे । कोही पुलिस भन्छन्, ‘साला माओवादी, तेरो नेता कृष्णबहादुर महरा मरिसक्यो ।’ कोही प्रश्न गर्छन्, ‘साला मा… र … को छोरा कहाँ-कहाँको आक्रमणमा भाग लिइस् भन् ?’ मसँग ‘म माओवादी होइन’ भन्नुबाहेक अरू जवाफ थिएन ।

त्यसैले भनें, मेरा त्यत्रा परिचयपत्रहरू छन् हेर्नोस्, म माओवादी होइन ।’ तर, नेपालका पुलिस न हुन्, उनीहरू मा … र … को छोरा ‘बढ्ता बोल्छस् ?’ भन्दै झाप्पु र मुक्का प्रहार गरे । कप्तान साबको रिसले गर्दा म ‘एकराते माओवादी !’ भएँ । त्यसैले पुलिसहरूले मलाई चारैतिर घेरेर चौकी लगे, मेरो हात-खुट्टा बाँधेर रातभरि राखे ।

भाग्यवश राति मलाई कुर्न बसेको पुलिस दाजै अलि बढी नै दयालु रहेछन् ! कहाँ भर्खरै मलाई आमाचकारी गाली गर्दै भकुर्ने पुलिस, कहाँ न्यानो टोपीसमेत खोजेर मेरो टाउकोमा ओढाइदिने दयालु पुलिस दाजै ! तर, रातभर चलमल र हलचल गर्न पाइनँ ।

त्यसमाथि डोरी हातको नलीहाडमै पर्ने गरी बाँधेछन् । मध्यरातमा आएर केही पुलिसहरू भन्दैथिए, “साला माओवादी, र… को छोरा, अब तँ भोलि बिहान चामे जान्छस् । त्यसपछि देख्छस् तेरो हालत के हुन्छ ? साला मा … !”

त्यो रात मलाई वास्तवमै साह्रै दुःख लाग्यो । जिन्दगीमा पहिलोपटक मैले मेरी बुढी (श्रीमती) बिनु र छोरी नेराबुङलाई सम्झें । छोरो निनामहाङ जन्मिसकेकै थिएन । मन थामिनसक्नु भएपछि क्वाँ-क्वाँ रोएँ । मेरो सुरक्षाको लागि ड्युटीमा खटेका भगवानरूपी दयालु पुलिस दाजैले झर्किंदै नरो भाइ, नरो; भोलि बिहान छाडिहाल्छ भने । उनले कसरी छुट्ने ? भनी आइडिया पनि सिकाए ।

उनले भने, हवल्दारसा’बलाई रक्सी खाएको सुरमा के-के बोलेछु, के के ! त्यसैले एकचोटिलाई माफ पाउँ ! भन् अनि छोडिदिन्छ ।

मैले पनि त्यही सोचिरहेको थिएँ । तर, ‘रातभर हातको नली-हाड दुखेर सहनै सकिनँ, त्यसैले बीचबीचमा दयालु पुलिस दाजैलाई खोल्दिनोस् न… भन्छु’, विचरा ती पुलिस दाजैको पनि आफ्नो कैदी-बन्दीलाई सहयोग गर्ने सीमा होला । फेरि दया, माया र… भएर मात्रै भएन, उनको पनि जागिरको सवाल छ । त्यसैले त घरीघरीको मेरो अनुरोधलाई लत्याउँदै र रिसाउँदै भन्छन्, ‘नकरा है नकरा, मैले तिम्रो लागि गर्न मिल्ने र सक्ने जति सबै गरिसकें ।’

जसोतसो बिहान भयो । मैले पिसाब फेर्न जान्छु, प्लिज खोल्दिनु न दाइ भनी आग्रह गरें । अर्कोचाहिं पुलिसले साला माओवादीलाई खोल्दे भनेर आदेश दिएपछि बल्ल मेरो हात-खुट्टाको डोरी खोले । त्यसपछि पुलिस, गाउँले र कप्तान बिहानै भेला भए । पुलिस र कप्तानले फेरि पनि मेरो डायरी र परिचयपत्र चेक गरे जस्तो गरे । र, त्यो कृष्णबहादुर महराको नाम किन लेखेको भनी पुनः हबल्दारले सोधे ।

मैले बीबीसीले हरेक हप्ता सोध्ने प्रश्नमा सोधेको थियो त्यसैले … मात्र के भनेको थिएँ, आमाचकारी गाली गर्दै फेरि एक थप्पड हान्यो ।

जेहोस्, त्यसपछि हवल्दारले कप्तानलाई बाहिर लिएर गए । भित्र आएपछि हवल्दारले ५०० रुपैयाँ क्लबलाई चन्दा सहयोग दिने गरी कागज गरेर छाड्नु, साला माओवादीलाई ! भनी घोषणा गरे । बूढो कप्तानले पनि लोलीमा बोली मिलाउँदै ‘मैले त नागरिकले सरकारलाई गर्ने सहयोग गरेको हुँ । तर, यसको साथमा माओवादी भएको प्रमाण केही रहेनछ । नत्र यसलाई न त चामे जान दिन्थें, न त छोड्न दिन्थें । बोरामा हालेर मस्र्याङ्दीमा हालिदिन्थें ।’

उनले आफ्नो जिन्दगीमा ठूलै सुकाम गरेझैं स्व-घोषणा गरे ।

त्यसपछि मैले रक्सी खाएर होहल्ला गरेकाले अनुसन्धान गरी छाडिएको आदि-आदि भन्ने व्यहोराको पत्र लेखी सही गराएर छाडे । त्यही बेला पेम्बा दाइले ‘कहाँ यो जस्तो राम्रो मान्छे छैन, जाँड-रक्सी नै खाँदैन’ पो भन्न थाले । मैले हत्तपत्त आँखा झिम्क्याएर ‘त्यही हिजो तपाईं अगाडि हिंड्दा मालिङ्गोघारीमा दुई गिलास खाएको थिएँ’ भनेर चलाखी गरें । त्यस्तो ‘चलाखी’ नगरेको भए यो माओवादी नै रहेछ भनेर नछाड्न सक्थ्यो । जुन कुरो पेम्बा दाइलाई अलि तल आएपछि भनें ।



Source link

HamroAwaj

2022-10-15 21:12:55

Leave a Comment