शताब्दी पुरुष : अब चिकित्साशास्त्रका विद्यार्थीका लागि प्रयोगशाला – HamroAwaj


३० असोज, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको आइतबार विहान १०३ वर्षको उमेरमा निधन भयो । उनको पार्थिव शरीरको अन्त्येष्टि गरिएन, बरु दुई छोरा अनुराज र डा. पूर्णराजले साँझपख शंखमुलस्थित बागमती घाटमा बाबुको जन्मकुण्डली जलाए ।

परिवारले जोशीको शव भने ललितपुरस्थित किस्ट मेडिकल कलेजलाई हस्तान्तरण गरेको छ । कलेजका कार्यकारी निर्देशक डा. सुरज ब्रजाचार्यका अनुसार जोशीले आफू जीवित हुँदै शरीर दान गर्ने इच्छापत्रमा हस्ताक्षर गरेका थिए ।

‘जीवित हुँदा हस्ताक्षर गरेपनि मृत्यु पछि के गर्ने भन्ने सबै अधिकार परिवारमा जान्थ्यो’, उनले भने, ‘त्यहीअनुसार छोरा अनुराज जोशी लगायतलाई खबर गरेका थियौं, उहाँहरुसँग छलफलपछि अन्तिम संस्कार नगर्ने टुंगो लाग्यो ।’

जोशीको पारिवारिक स्रोत अनुसार मृत शरीरलाई मेडिकल कलेजमा कसरी राखिएला ? राम्रो संरक्षण होला कि नहोला ? भन्ने चिन्ता भएकाले शव अस्पताललाई राख्न स्वीकृति दिने वा नदिने भन्नेमा परिवार अलमलिएको थियो । अस्पतालका एनाटोमी एवं फरेन्सिक विभागका प्रमुख प्रा. डा. कृष्णसिंह बस्नेत लगायतसँग छलफलपछि जोशीको शरीर अध्ययनका लागि दिने सहमति भयो ।

संस्कृतिविद् जोशीले ३० माघ २०७७ मा एक औपचारिक कार्यक्रम बीच आफ्नो शेषपछि शवलाई अध्ययन प्रयोजनका लागि किस्ट मेडिकल कलेजलाई हस्तातरण गर्ने घोषणा गरेका थिए ।

जोशीसँगै उनकी पत्नी राधादेवीले संयुक्त रुपमा मृत्युपछि शरीर दान गर्ने भनेर मञ्जुरी पत्रमा हस्ताक्षर गरेका थिए । यसमा उनका छोरा अनुराजले पनि सहमति जनाउँदै हस्ताक्षर गरेका थिए ।

जानकारहरुका अनुसार शरीर दान गर्ने निर्णय गर्दा धर्म, संस्कृतिको विपरीत भएको आरोप लाग्ने हो कि भन्नेमा जोशी चिन्तित थिए । इच्छापत्रमा हस्ताक्षर गर्न आयोजित समारोहमै उनले त्यसको स्पष्टीकरण दिएका थिए । ‘हाम्रा रीति, थिति र संस्कृति आफ्नो ठाउँमा छन्, धर्मप्रति विरोध गरेको होइन । गर्ने कुरा पनि आउँदैन’, जोशीले समारोहमा भनेका थिए, ‘हाम्रो शरीरको यति लामो आयु कसरी भयो ? कुन तत्वले यस्तो भयो भनेर अध्ययन होस् भन्ने लागेर श्रीमान्–श्रीमती नै मिलेर शरीर दान गरेका हौं ।’

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का पूर्वडीन डा. जगदीश अग्रवालका अनुसार विगतमा शरीर दान गर्ने व्यवस्था नहुँदा चिकित्साशास्त्र अध्ययन गर्ने विद्यार्थीले बेबारिसे शवमा भर पर्नुपर्थ्यो । २०५७ सालअघि त भारतबाट शवसमेत खरिद गरेर ल्याइन्थ्यो । ‘बेबारिसे शवले सुरुमा राम्रो संरक्षण पाएको हुँदैन, सुरुमै शरीर दान गरिएको शवलाई भने विधिपूर्वक राख्न पाइन्छ’, अग्रवालले भने, ‘त्यसैले दान गरिएको शवलाई अध्ययनका लागि राम्रो मानिन्छ ।’

२०७४ सालमा जारी भएको मुलुकी देवानी संहिताले पहिलो पटक कानूनी रुपमा शरीरको दान गर्न मिल्ने व्यवस्था गरेको थियो । संहिताको दफा ३८ (१) मा शव वा अंग दान दिन सक्ने प्रावधानबारे उल्लेख छ । यसमा मृत्युपछि ‘शरीरको कुनै अंग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन कसैलाई दान दिने गरी लिखित रुपमा इच्छा व्यक्त गर्न सक्ने’ भनिएको छ ।

यो कानूनी प्रावधान आउनुअघि कसैले शरीर दान गर्न चाहे स–परिवारको स्वीकृति र कानुनी कारबाहीका लागि उजुरी नगर्ने सम्झौता गरेर शव राख्ने गरिन्थ्यो । यद्यपि, त्यो नगण्य थियो ।

शरीर दान गर्ने जोशी एक्ला होइनन्

संस्थानका पूर्वडीन अग्रवालका अनुसार अनुसार विगतमा दाहसंस्कारविना आत्माले शान्ति नपाउने धार्मिक विश्वासका कारण पनि मानिसहरु यसका लागि तयार हुन्थेनन् । तर हिजोआज अध्ययन प्रयोजनका लागि शरीर दान गर्न आउने क्रम बढेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञ डा. गोपाल चौधरी बताउँछन् ।

शताब्दी पुरुष जोशीले शरीर दानको घोषणा गर्नु एक महिनाअघि बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले पनि मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका थिए । शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्युपछि अध्ययनका लागि शव किस्ट मेडिकल कलेजलाई दिने मञ्जुरी पत्रमा हस्ताक्षर गरेका थिए ।

संस्थानका पूर्वडीन अग्रवालका अनुसार अनुसार विगतमा दाहसंस्कारविना आत्माले शान्ति नपाउने धार्मिक विश्वासका कारण पनि मानिसहरु यसका लागि तयार हुन्थेनन् । हिजोआज अध्ययन प्रयोजनका लागि शरीर दान गर्न आउने क्रम बढेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विज्ञ डा. गोपाल चौधरी बताउँछन्

‘विद्यार्थीका लागि मेरो शरीर गोल्डन हो, केही वर्षदेखि मेरो मुटुमा शक्तिशाली पेसमेकर छ, रगत बग्ने नशामा जाम भएकाले तीनवटा जाली पनि छ’, प्रदेश प्रमुख शर्माले अनलाइनखबरसँग भने, ‘त्यसैले अध्ययनका लागि मेरो शरीर विशेष पुस्तक हुन्छ भन्ने लाग्छ ।’

आफ्नो परिवार प्रगतिशील प्रकृतिको भएको बताउँदै उनले सबैको सहमतिमा अस्पतालसँग सम्झौता गरेको बताए । ‘मरेपछि पिण्ड खाने, स्वर्ग जाने भन्ने कुरामा परिवारको कसैलाई विश्वास छैन’, शर्मा भन्छन्, ‘म साहित्यको विद्यार्थी पनि हुँ, नर्क, स्वर्ग, भगवान भन्ने कुरा नैतिक पात्रबाहेक केही होइन भन्ने लाग्छ ।’

२५ साउन २०७५ मा निधन भएका साहित्यकार एवं वरिष्ठ रेडियोकर्मी दाहाल यज्ञनिधिले पनि जीवित छँदै शरीर दान गर्न इच्छापत्रमा हस्ताक्षर गरेका थिए । उनको इच्छा बमोजिम नै परिवारले दाहालको शव अध्ययन प्रायोजनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई बुझाएको थियो । अध्ययन प्रयोजनका लागि राखिने भएकाले शरीरमा फूलमाला र अविर पनि लगाइएको थिएन । यज्ञनिधिको शरीर दानबारे पुस्तक समेत प्रकाशित छ ।

राजनीतिक विश्लेषक एवं लेखक नरेन्द्रजंग पिटरले पनि केही अघि नेपालगञ्ज मेडिकल कलेजमा शरीर दान गर्ने सम्झौता गरेका थिए । पिटरका अनुसार शरीरदानबारे परिवारलाई बुझाउनै उनलाई चार वर्ष लागेको थियो ।

‘मृत्युपछि शरीर खरानी/माटो भएर जाने हो, अध्यामिक दृष्टिले पञ्चतत्वमा विलिन हुने हो’, पिटरले अनलाइनखबरसँग भने, ‘त्यसैले मृत्युपछि पनि शरीर काम लागोस् भन्ने दृष्टिकोणले शरीर दान गर्ने घोषणा गरेका हुँ ।’

नेपालमा शरीरदान सम्बन्धी कानूनी व्यवस्था आउनु आठ वर्षअघि नै पत्रकार भैरव रिसाल र उनकी श्रीमती सुशीला रिसालले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शरीर दान गर्ने घोषणा गरेका थिए । ३० चैत २०७० मा निधन भएका गीतकार, कवि एवं साहित्कार क्षेत्रप्रताप अधिकारीले पनि शरीर दान गरेका थिए ।

११ जेठ २०७२ मा ज्ञानेश्वरस्थित आफ्नै निवासमा आत्महत्या गरेका पूर्वन्यायाधीश भरतराज उप्रेतीको शव पनि अध्ययन प्रायोजनका लागि अस्पताललाई दिइएको थियो । उप्रेतीले मृत्युअघि लेखेको पत्रमा ‘मेरो शवलाई अध्ययनमा प्रयोग गर्न शिक्षण अस्पताललाई दिनु र काजकिरिया वापतको ५ लाख रुपैयाँ राहत कोषमा जिम्मा गरिदिन’ भनेका थिए ।

१५ फागुन २०७८ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र मुख्यसचिव शंकरदास बैरागीले पनि अंग दान गर्ने घोषणा गरेका थिए । राष्ट्रिय स्वास्थ्य सेवा दिवस, २०७८ मा बोल्दै खतिवडा र बैरागीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका थिए । यसअघि नै पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका थिए ।
किन गरिन्छ शरीर दान ?

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका पूर्वप्रमुख प्रोफेसर डा. हरिहर वस्तीका अनुसार अहिले गरिने शरीर दान विशुद्ध अध्ययन प्रयोजनका लागि हो । ‘विभिन्न केमिकल प्रयोग गरेर लामो समयसम्म नगल्ने गरी शवलाई राखिन्छ’, वस्ती भन्छन्, ‘यसरी लामो समयसम्म अंगहरु अध्ययनका लागि प्रयोग गरिन्छ ।’

उनका अनुसार एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययन गर्ने विद्यार्थीका लागि ‘एनाटोमी डाइसेक्सन’ अध्ययनका लागि शव अनिवार्य हुन्छ । विगतमा चिकित्साशास्त्र पढ्ने विद्यार्थीका लागि शवको अभाव हुन्थ्यो । ‘हुन त अहिले पनि पर्याप्त शरीर दान हुन थालिसकेको छैन’, आईओएमका पूर्वडीन डा. अग्रवाल भन्छन्, ‘तर अहिले शरीर दानका लागि मानिसहरु सकरात्मक हुन थालेका छन्, जुन सुखद् कुरा हो ।’

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीको अनुभवमा अहिले हप्तामा एक/दुईजना व्यक्ति अध्ययनका लागि शरीर दान गर्ने भन्दै आइराख्ने गरेका छन् । ‘अहिले सचेतना भएर पनि हुनसक्छ’, चौधरी भन्छन्, ‘यद्यपि, त्रिविमा चाहिँ वेवारिसे शवको अभाव हुँदैन ।’

त्रिवि शिक्षण अस्पतालले अरु मेडिकल कलेजबाट माग भएर आउँदा शवहरु दिने पनि गरेको छ । ‘बेबारिसे शवलाई कानूनले तोके अनुसार निश्चित अवधिसम्म फ्रिजमा राख्छौं, त्यसपछि अस्थायी शव भण्डारण गृहमा गरिन्छ’, चौधरी भन्छन्, ‘त्यसपछि चाहिँ अध्ययन प्रयोजनका लागि प्रयोग गरिन्छ ।’

जोशीको शवमा राष्ट्रिय झण्डा ओढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

किस्ट मेडिकल कलेज फरेन्सिक विभागका प्रमुख डा. किशोरसिंह बस्नेतका अनुसार शताब्दी पुरुष जोशीको शव चाहिँ चिकित्सकीय अनुसन्धान र विद्यार्थीको अध्ययन दुवै प्रयोजनका लागि प्रयोग गर्ने तयारी छ ।

‘उहाँको शरीरमा नगल्ने किसिमको केमिकल प्रयोग गरिएको छ, सोमबारबाट अध्ययन प्रयोजनका लागि राखिने छ’, उनले अनलाइनखबरसँग भने, ‘उहाँको शरीरबाट के–के अध्ययन गर्न सकिन्छ भन्ने विषयमा थप अध्ययन गर्छौं ।’

जोशी आफैंले के तत्वका कारण लामो समयसम्म बाँचे भन्ने अध्ययन होस् भन्ने चाहेका कारण पनि यसबारे खोजी गर्ने अस्पतालका कार्यकारी निर्देशक डा. सुरज बज्राचार्य बताउँछन् । ‘अहिलेसम्म डिकम्पोजिसनको प्रक्रियालाई रोक्ने विधि अपनाएका छौं, यसले उहाँको शरीरको अंगप्रत्यङ्गहरु दुरुस्त रहन्छन्’, उनले भने ।

चिकित्सकहरुका अनुसार निश्चित अवधि शरीरलाई अध्ययन गरेपछि अस्पताल परिसरमै शव गाड्ने गरिन्छ । त्यसपछि हड्डीको अध्ययनका लागि प्रयोग गरिने चिकित्सकहरु बताउँछन् ।

व्यवस्थापनको प्रश्न

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. गोपाल चौधरीका अनुसार शरीर दानका लागि इच्छुकले मेडिकल कलेजहरुमा नाम टिपाउन सक्छन् । त्यसपछि आवश्यकता अनुसार अस्पतालले स्वीकृति दिन्छ । तर त्यसका लागि परिवारको सहमति पनि अनिवार्य चाहिन्छ । ‘मृत्युपछि पनि जनप्रतिनिधिसहित बसेर शंकास्पद नभएको कागज गरेपछि मात्रै अस्पतालमा ल्याइन्छ’, डा. चौधरी भन्छन् ।

तर पछिल्लो समय शरीर दान गर्न इच्छुकको संख्या बढ्दै गए पनि व्यवस्थापन गर्ने पर्याप्त प्रविधि नहुँदा अस्पतालहरुले आवश्यकता भएर पनि सबैको प्रस्ताव स्वीकार्दैनन् ।

शरीर दानका लागि सम्झौता गरिसकेका विश्लेषक पिटर भन्छन्, ‘अहिले धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाहेक अरुले शव लिन सहजै मान्दैनन् ।’ डा. चौधरी पनि अस्पतालमा धेरै शव भइसकेको बताउँछन् ।

अस्पतालका चिकित्सकहरुका अनुसार अहिले अध्ययन प्रयोजनका लागि कम्तिमा ६० वटा शव उपलब्ध छन् । कतिपय शव राख्नलाई डिप–फ्रिजको अभाव छ । संरक्षणका लागि दक्ष जनशक्ति पनि अभाव छ । सरकारलाई शव व्यवस्थापनसम्बन्धी पूर्वाधारको व्यवस्थापन गरिदिन अस्पतालका अधिकारीहरुले पटकपटक भनेका छन् । यद्यपि, अहिलेसम्म शव राख्ने राम्रो व्यवस्था छैन ।



Source link

HamroAwaj

2022-10-16 22:00:12

Leave a Comment