सक्नेले खान्छ, अब के गर्ने ? – HamroAwaj


ठूलो जनावरले सानो जनावरलाई, ठूलो माछोले सानो माछोलाई, ठूलो देशले सानो देशलाई, ठूलो राजनैतिक दलले सानो राजनैतिक दललाई, ठूलो नेताले सानो नेतालाई खान्छ । अर्थात् ठूलो भनेको सक्नेले नसक्नेलाई कुनै न कुनै तरिकाले खाने, हेप्ने, शासन गर्ने वा कब्जामा राख्ने कार्य हो ।

सत्ता र सम्पत्ति ‘सक्ने’ को मानक भयो । सक्ने भनेको कुनै न कुनै ढंगले शक्तिशाली बन्ने राज्यको प्रमुख ओहोदामा जसरी पनि पुग्ने र आफूलाई पुग्ने गरी मान, सम्मान र सम्पत्ति आर्जन गर्ने, भेला पार्ने र भेला पारेको सम्पत्ति परिवारको कल्याणमा खर्च गर्ने कार्य हो । अनुचित ढंगबाट आर्जन गरेको रकम अनधिकृत रूपमा खर्च गर्ने र जसरी हुन्छ नसक्ने माथि सधैं आफ्नो प्राण रहेसम्म शासन गरिरहने र राज्यका सबै क्षेत्र कुनै न कुनै ढंगले कब्जा गरिरहने मनोविज्ञान हो ।

मानवीय स्वभावको उपज नै सामाजिक व्यवहार र चरित्रहरूको निर्माण भएको हुन्छ । जतिबेला मानिसहरू जंगली युगमा थिए त्यो बेला सानो सानो समूहमा मानिस जंगलमा जीवन बिताउने गर्दथे । पछि विस्तारै संगठित हँुदै खेतीपाती गर्न र पशुपालनतर्फ लागे त्यसपछि समाजको अर्को ढंगले विकास आरम्भ भयो । त्यसबेलादेखि नै सक्नेले नै नेतृत्व गर्दै र खाँदै आए ।

समयकाल र परिस्थिति अनुसार मानिसको इच्छा, रुचि, चाहना र आवश्यकतामा विविधीकरण हुँदै आएतापनि सक्नेको परिभाषामा बदलाव आएन ।

सक्नेले खाने त्यस्तो प्रतिबिम्व हो जुन प्राकृतिक नियमसँग सम्बन्धित छ । यो एक प्रकारको चक्र हो । यसरी नै संसार आजसम्म आइपुगेको छ । मानिस चेतनशील र विवेकी प्राणी हो भनिरहँदा उसले सबै कुराहरूलाई तिलाञ्जली दिएर स्वार्थसिद्ध गर्नेतर्फ तल्लीन रहनाले आम मानिसले सुख सँगसँगै दुःख पनि व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ । मानिस आफ्नो उद्देश्य र स्वार्थपूर्तिको लागि अरूको जीउ, ज्यान र अस्तित्वमा खेलबाड गर्नसम्म पछि नपर्ने अवस्थामा पुगिसकेको छ ।

नेपालको पहिलो राजा धर्माकरदेखि अन्तिम राजा ज्ञानेन्द्र शाह, गोपालवंश, किरातकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकालसम्म आइपुग्दा सक्नेले नै राज्यसत्ता कब्जा गरेर शासन गरेको पाइन्छ । युद्ध, काटमार, जाल, प्रपञ्च, लडाईं झगडा आदि गरेर जसले जित्यो, ऊ नै सक्ने भयो र शासन गर्दै आयो । नसक्ने कमजोर असहाय वर्ग समुदाय र सम्प्रदायलाई दास नोकर बनाएको इतिहासबाट प्रष्ट हुन्छ ।

देशमा लोकतन्त्रसँगै लोकतन्त्रको मसीहाका रूपमा राजनैतिक दलहरू स्थापित भए । राजनैतिक दलहरू लोकतन्त्र, लोकतन्त्र र गणतन्त्रका संवाहक त हुन् तर ती दलहरूले पनि सक्नेले शासन गरे नसक्ने लोप भएर पनि गए । राजनैतिक दलहरूभित्र पनि अनेक तिकडमबाजी चलिनै रहेको छ । राजनैतिक दलहरू गुटगत र महासंघ जस्ता मात्र बनेका छन् ।

ती दलका दलपतिहरूले साम, दाम, दण्डको बाटो अँगालेर सक्नेको हैसियत बनाए र दलगत शासन गर्दै आए । देशमा लोकतन्त्र आए पनि राजनैतिक दलहरूको चरित्र प्रजातान्त्रिक बन्न सकेन ।

लोकतन्त्र संसारभरि चलेको शासन व्यवस्था हो । गरिब, असहाय अक्षम र कमजोर वर्गको संरक्षण गर्नुपर्छ भन्ने लोकतन्त्रको मूलभूत मान्यता र सिद्धान्त हो । राज्य नै हरेक व्यक्तिको अभिभावक हो । राज्यले नै कमजोर लिंग, वर्ग र समुदायको हितमा काम गर्नुपर्छ र नागरिकको हित नै सर्वोपरि हित हो भन्ने ठानेर गरिब, असहाय निमुखाहरूको जीवनस्तर राम्रो बनाई देश समृद्ध बनाउनुपर्छ भन्ने विश्वव्यापी प्रजातान्त्रिक मान्यता हो । तर नेपालको हकमा लोकतन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्मको यात्रा पार गरिसक्दा पनि दलको भूलभुलैया, झुटो आश्वासन र खोक्रो गफ बाहेक केही उपलब्धि हासिल भएको छैन ।

आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । निर्वाचन मार्फत नै जनतामा निहित सार्वभौम अधिकार प्राप्त जनताले आफ्ना प्रतिनिधि छान्ने गर्दछन् । उक्त प्रतिनिधिमार्फत सरकारको गठन हुन्छ र राज्य व्यवस्था संचालन गरिन्छ । नेपालमा निर्वाचनको अभ्यास भएको पनि लामो समय भइसकेको छ । निर्वाचन प्रणाली, निर्वाचनको स्वच्छता, निर्वाचनप्रति जनताको विश्वास र जनताको विवेकको परीक्षण विभिन्न चरणमा सम्पन्न भएको निर्वाचनद्वारा हुँदै आएको छ ।

नेपाल जस्तो गरिब देशले लोकतन्त्रको अभ्यास गर्दै आजसम्म आइपुग्नु नै ठूलो कुरा हो । तर देशको जुन ढंगको प्राकृतिक वृद्धि र विकास हुनुपर्ने हो सो भएको अवस्था भने छैन । देशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक–सामाजिक, कृषि, उद्योग, पर्यटन आदि सबै क्षेत्रको जुन गतिमा विकास हुनुपर्ने हो भएको छैन ।

उल्लेखित क्षेत्रहरूको विकास नहुनुमा सक्नेको भूमिका प्रधान छ । सक्नेले इमानदार र समर्पित भई काम नगर्नाले नै देश पछाडि परेको कुरा छर्लङ्ग छ । राज्यको स्रोत साधन उपर सक्नेको कब्जा छ र १०–२० जना सक्नेले नै देश कब्जा गरेका छन् । अर्थात् ठूला माछाहरूको नियन्त्रणमा देश रहेको छ ।

नेपालमा चुनाव जनताका लागि भन्दा पनि नेताहरूको लागि महत्वपूर्ण र जीवनमरणको विषय बन्यो । जनताले दिएको एक भोटले पाँच वर्षसम्म माननीय हुन पाउने त्यसपछि सके मन्त्री हुने लोभले गर्दा नै अहिले चुनावले जनतालाई भन्दा नेतालाई पिरोलेको छ । जनता आनन्दमा छन् नेताको निद्रा छैन । सत्ता र भत्ताको लागि नेताहरूलाई चुनाव रणनैतिक विषय बनेको छ ।

दूरदराज र देहातमा बस्ने गरिब र निमुखालाई कुनै चुनावले छुँदैन । जुन जोगी आए पनि कानै चिरेको हुन्छ । गाउँ–बेंसीमा बस्ने गरिबको लागि सोचिदिने कोही छैन । कसैले उनीहरूको समृद्धिको कुरा गर्छ भने त्यो मजाक मात्र हुन्छ । गँवार, अशिक्षित, सोझो गाउँलेलाई भूलभुलैयामा पारेर सक्नेले चुनावलाई आफ्नो पक्षमा पार्दछ र लक्षित अभीष्ट पूरा गर्न तल्लीन हुन्छ ।

राजनीति सबै नीतिहरूको पनि नीति भएको हुँदा राजनैतिक स्थिरता नभएसम्म देश विकास हुनसक्दैन । देश विकासका लागि राजनीति गर्ने अगुवाहरू असल, क्षमतावान, इमानदार र उत्तरदायी नभएसम्म देश बन्दैन । देशको राजनीति सुध्रिएला, देश सम्पन्न होला भनेर हरेक निर्वाचनमा ओठ कलेटी पार्दै जनताले भोट दिएकै छन् । निर्वाचनमा सक्रिय सहभागिता जनाई सुनौलो भविष्यको आशा मारेका पनि छैनन् र मार्नु पनि हुँदैन । कालो बादलमा चाँदीको घेरा अवश्य हुन्छ ।

निर्वाचनमा एकजनाले एक भोट दिने हो एक भोटले के हुन्छ र भन्ने जनताले सोच्नुहुँदैन । त्यही एक एक भोट गरेर नै हजारौं भोट हुने हो त्यति भए सक्षम, इमानदार, भिजनरी र जनताको लागि काम गर्ने र जनताप्रति समर्पित हुने नेता खोज्ने कार्यमा सफलता पनि मिल्न सक्छ । यत्रो वर्षबाट बिग्रिएको राजनीतिलाई यही चुनावबाटै सुधार्न त सकिंदैन तर सुधारको बाटोतर्फ पाइला बढाउन भने सकिन्छ ।

राजनैतिक दलहरूलाई साइजमा ल्याउने वा राज्य चलाउन दिने भन्ने कुराको निर्णय नागरिकले चुनावमार्फत व्यक्त गर्ने अभिमतबाट स्पष्ट हुन्छ । अब नागरिकहरू बहुतै सचेत र चनाखो हुन जरूरी छ ।

राजनैतिक संक्रमणको यो राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिलाई चिरेर स्थिरता र विकासका लागि राम्रो दल र व्यक्तिलाई निर्वाचित गर्ने जिम्मा नागरिकको हातमा भएको हुँदा स्वतन्त्र भई निर्वाचनमा सहभागी भएर नागरिकले बुद्धि पु¥याएमा परिवर्तन असम्भव छैन ।

वर्षौंदेखि केही वृद्धभत्ता खाने उमेरका व्यक्तिले पालैपालो देश कब्जा गरेका छन् । अब जोश, जाँगर, क्षमता र हौसलाले भरिएका नव युवाहरूलाई स्थापित गरी देश कब्जा गर्ने तर कुनै काम नगर्ने वृद्धहरूलाई स–सम्मान विस्थापित गर्ने कुरामा नागरिकले सोच्ने बेला आएको छ र यो चुनाव नै उपयुक्त समय पनि हो ।

नागरिक नै राज्य शक्तिको स्रोत भएको हुँदा आगामी मंसीर ४ गतेको चुनावमा नागरिकले विवेकको प्रयोग गर्न अनिवार्य छ । यथास्थितिलाई चिरेर भएका र चुनावमा उठेका नेताहरूमध्ये राम्रो नेता छान्ने अधिकार नागरिकमा मात्र निहित हुन्छ ।

कसैको भूलभुलैयामा नपरौं । मासु र चिउरामा बिक्री नहोऔं । पैसाको लोभलालचामा नपरी आफ्नो मताधिकारको उचित प्रयोग गरी राम्रो व्यक्तिलाई नेता छानौं । अन्यथा, फेरि पनि शक्ति र पैसा भएको व्यक्तिले नै चुनाव जित्छ । अर्थात् सक्नेले नै फेरि पनि खान्छ । एक दिन विवेक गुमाउँदा पाँच वर्ष पछुताउनु नपरोस् ।





Source link

HamroAwaj

2022-10-17 20:48:54

Leave a Comment