जब सन्तोषलाई ‘टिकटक युवती’को सुन्दरता र पाउजुले तान्यो – HamroAwaj


काठमाडौं । छन्छन् बजेका पाउजुको स्वरले हरेकलाई मोहित बनाउँछ । अझ आफूले मन परेको मान्छेले लगाएका पाउजुको त बयान गरिसाध्य हुँदैन ।

सुन्दर, मुलायम गोडामा लगाएका पाउजुले पहिरिने र देख्ने दुवैलाई सन्तुष्टि दिन्छ । सुन्दरता झल्काउँछ । पाउजु महिला सुन्दरतालाई थप निखार्ने माध्यम हो । छन्छन् एकनास बजेका पाउजुको मीठो धुन । उघारेको सुन्दरताको पर्दा । पाउजुको सुन्दरतामा अल्झिएको प्रेम । र, पाउजुले छोएको मन ।

छमकछमक तेरी पाउजु पाउजुले बोलाया,

लाइदे पिरती त्यसैले म आया…’

प्रेम जीवनको सबैभन्दा सुन्दर आभास हो । भावनाका सागर उर्लिन्छन् प्रेममा डुब्दा । त्यही पाउजुको गुन्गुनाहटमा चुर्लुम्म डुबेर बहकिएकामध्ये एक हुन् ‘छमकछमक’का  रचनाकार, संगीतकार तथा गायक सन्तोष सुनार ।

दौडी आइजा सुवा माया लाई जा सुवा,

एइ जुनीलाई किन मेरै भई जा सुवा…’

मौलिक भाका, ठेट सुदूरपश्चिमेली शब्द, चलनचल्तीको लवज, मिलेको भाका, पाउजु पहिरिंदा खुलेको सुन्दरता । सुन्दरताले आकर्षित भएको युवाले गरेको प्रेम प्रस्ताव । अनि पाउजुले बगाएको भावना । यी यस्तै कुराहरु समेटेका छन् गीतमा सुनारले ।

जिन्दगीमा एक पटक सबैले अनुभूति गर्ने मीठो आभास हो प्रेम । र, पाउजु बजाउँदै चिटिक्क पहिरनमा सजिएकी प्रेमिकाको कल्पना । कुनै सुन्दर युवती पाउजु बजाएर हिंड्दै सुन्दरताको जादू छर्किंदै गरेको देखे उनले । र, पाउजुले मुटुमा पलाएको प्रेम, बहेका भावनालाई शब्दमा उतारे छमकछमक मार्फत ।

काठमाडौं आएपछि उनका दुःखका दिन सुरु भए । घरबाट विदेश जान्छु भनेर काठमाडौं आएका थिए उनी । उनलाई काठमाडौं आउने बहाना चाहिएको थियो । बहाना थियो कोरियन भाषा । तर उनले एक दिन पनि कक्षा लिएनन् ।

‘मान्छेको मनलाई के कुराले तान्छ कुनै पत्तो नहुने । भलै कुनै सुन्दर युवतीले पाउजु लगाएर पोखेको सुन्दरतामा डुबेर यो गीत लेखेको हुँ,’ गायक सन्तोष भन्छन् ।

बयान गर्ने केही शब्द भए पनि प्रेम नाप्ने कुनै मापन यन्त्र छैन । आभासलाई शब्दमार्फत व्यक्त गर्नु हो प्रेम । र, सन्तोषले पनि त्यति पाउजुको सुन्दरताले मनमा पलाएको आभास व्यक्त गरेका हुन् ।

ती हातमा मेहेन्दी भर लुकाई मेरो नाउ

सम्झनाले बाँधिराख कतै म हराइजाउँ

त्यो लजाउने आँगन तेर्छि लाइदे नजर

तेरी चर्चामा पूरा मगन छ रे सहर…’

समय कटाउन एक दिन स्टुडियोमा टिकटक हेरिरहेका थिए सन्तोष । स्क्रोल गर्दै जाँदा उनको नजर रातो कुर्ता सुरुवाल र पाउजुमा सजिएकी सुन्दर युवतीमा अडियो ।

टिकटकको भिडियोमा युवती पाउजुको छमछम गर्दै हिंड्न थालिन् ।  उता टिकटकमा युवतीको पाउजु बज्यो । यता सन्तोषको मनमा पाउजुको छमकछमकले डेरा जमायो । पाउजु बजाएको क्लिपले मन छोयो । उनले पटकपटक भिडियो दोहर्‍याएर हेरे ।

गीत लेख्न खोज्दै थिए सुनार । र, त्यो क्लिपले जुराइदियो सन्तोषको गीत छमकछमक तेरी पाउजु । उनले भिडियो हेरेको केही घण्टामै गीत लेख्न सुरु गरे । आफू जन्मेको समाज परिवेश र लवजलाई पाउजुसँग जोडेर गीत बनाउनुपर्छ लाग्यो । उनले दुई घण्टामा गीत लेखे ।

‘आफ्नो भाका, परिवेश, मौलिकतालाई ध्यानमा राखेर गीत लेखेको हुँ,’ सन्तोष भन्छन्, ‘सुदूरका शब्दलाई कर्णालीपारि पुर्‍याउन खोजेको हुँ । जो निकै मिठा सुनिए पनि गुमनाम जस्तै छन् ।’

कामको सिलसिलामा उनले सुदूरका हरेक पहाडी जिल्लाका फन्का लगाएका थिए । त्यहाँको बोली र लवजलाई उनले नजिकबाट सुनेका र आत्मसात गरिरहेका थिए ।

कतिपय अवस्थामा शब्दको अर्थ एउटै भए पनि शब्दले धेरै फरक पार्छ । शब्दले मान्छेलाई आफूतर्फ तान्ने ल्याकत राख्छ । तिनै मिठासले भरिएका केही शब्दलाई गीतमा उतारेका हुन् उनले ।

छमकछमक यसरी हिट हुन्छ । स्रोता दर्शकले यसरी मन पराउँछन् उनले कल्पनासम्म गरेका थिएनन् । उनलाई गीतका लागि समय तोकिएको थियो । उनी गीत लेख्न खोज्दै थिए । टिकटक क्लिपले हिट गीत जुराइदियो ।

‘टिकटकको पाउजुले मलाई यहाँसम्म ल्याइपुर्‍याएको हो । मौलिक शब्द र संगीतका कारण स्रोताले धेरै माया गरिदिनुभयो । सुदूरका शब्दलाई सुनेर साथ दिनुभयो । म निकै खुसी छु,’ उनी भन्छन् ।

उनको गीत तीन महिनामा १ करोड ४३ लाख बढीले युट्युबमा हेरिसकेका छन् । गति टिकटकमा निकै भाइरल समेत भएको थियो ।

गायक भन्दा जेठो परिचय हो रचनाकार र संगीतकार सन्तोषको । उनले शब्द–संगीत गरेका केही गीतले करोड भ्युज पार गरिसकेका छन् । उनले शब्द संगीत भरेको गीत ‘पिच गरिदिन्छु रोड ३ करोड ६४ लाख बढी पटक हेरिएको छ । त्यस्तै घरबारमा, गाजल टिकीमा, हल्का त लजाउन, जुनीजुनी जस्ता गीतमा शब्द, संगीत भरिसकेका छन् । त्यस्तै सोराई, धोखा भो, तारा, चुँडी छमाछम, तिम्रो फिगर, भगवान, मेरी मायालु आदि गीतमा काम गरिसकेका छन् । उनको अहिले ‘चुनरी चुनरी’ गीत बजारमा आएको छ । यो गीतमा पनि उनले पश्चिमेली शब्द भरेका छन् ।

सपना सजाई बसेई, मेरी प्यारी सुवा, मुटुभित्रै बसेई, रिसायाका बेला हल्का मुसुमुसुु हासेई जस्ता शब्द प्रयोग गरेका छन् ।

****

सन्तोष सुदूरपश्चिमको महेन्द्रनगरका हुन् । उनका बुवा सानोतिनो व्यापार गर्छन्, आमा गृहिणी हुन् । सन्तोषलाई सानैदेखि संगीत क्षेत्रमा लगाव थियो । उनको आत्मामा संगीतले डेरा जमाएको थियो ।

गीत संगीतका लागि उनी खाना खान छाड्थे । छिमेकीको घरमा रेडियो, टीभी बज्दा उनी खाना खान छाडेर दौडिन्थे । गीत नसकुन्जेल निकै ध्यानपूर्वक सुन्थे । यसरी रेडियो, टीभीमा सुन्ने बानी परेका उनलाई संगीतको लत लागिसकेको थियो । बढ्दो उमेरसँगै उनी संगीतमा डुब्दै गए ।

छोराको संगीतप्रतिको यस्तो मोह देखेर बाआमाले अब छोरा बिग्रियो भन्थे । बाआमाले पढाइमा ध्यान दिन भन्दै संगीततिर नलाग्न उनलाई भनिरहे । तर उनमा संगीतको भूत सवार भइसकेको थियो ।

कक्षा ६ मा पढ्दा उनले पहिलो पटक स्कुलमा साथीहरुका अगाडि गीत गाए । गीत सकिएपछि सबैले ताली बजाए । हेडसरले ‘स्याबास सन्तोष, राम्रो गीत गाउने रहेछौं’ भने । हेडसरले दिएको स्याबासीले उनलाई गाउन झन् हौस्यायो । यसरी उनको गायकी सुरु भयो ।

गीत सुन्न रेडियोमा काम

सामान्य परिवारमा जन्मिएका उनको घरमा टीभी थिएन । टीभी हेर्न उनी छिमेकीको घर धाइरहन्थे । एक दिन सन्तोषले बालाई टीभी ल्याइदिनुपर्‍यो भन्दै बिन्ती बिसाए । बुवालाई पगाल्न उनी निकै रोए । नमानेपछि उनले ब्ल्याक एण्ड ह्वाइट टीभी ल्याइदिए । यसरी उनको लगाव गीत–संगीततर्फ झाँगिदै गयो ।

प्लस टु पढ्दै गर्दा उनले गीतका खातिर रेडियोमा काम गर्न थाले । रेडियो उनको रहर थिएन । केवल रहर पूरा गर्ने माध्यम थियो । ‘गीत सुन्नका लागि मात्रै भए पनि मैले रेडियोमा जागिर गरे । गीत सुन्दा मेरो मनलाई सन्तोष मिल्थ्यो  । म गीतसंगीतमा हराउँथे,’ उनी सुनाउँछन् ।

महेन्द्रनगरमा प्लस टु गरिसकेपछि उनी घुम्नका लागि भन्दै भारतको पञ्जाब गए । पञ्जाबमा मामाले उनको गाउने कला देखेर उनलाई ६ महिना संगीत सिक्न लगाए । भारतबाट फर्केपछि उनी आफ्नो सपना पूरा गर्न काठमाडौं हान्निए ।

काठमाडौं आएपछि उनका दुःखका दिन सुरु भए । घरबाट विदेश जान्छु भनेर काठमाडौं आएका थिए उनी । उनलाई काठमाडौं आउने बहाना चाहिएको थियो । बहाना थियो कोरियन भाषा । तर उनले एक दिन पनि कक्षा लिएनन् ।

काम गर्दैगर्दा उनले काठमाडौंमा एक वर्ष संगीत कक्षा लिए । काम गर्दै संगीत कक्षा लिएका उनी गीत–संगीतमै संघर्ष गरिरहेका थिए । उनले यो बीचमा चार पाँच वर्ष गैरसरकारी संस्थामा काम गरे । घरको आर्थिक अवस्थाका कारण उनले काम गर्नुपर्ने बाध्यता थियो । त्यही गैरसरकारी संस्थाको काममा हुँदा उनी सुदूरका हरेक पहाडी जिल्ला पुग्न पाए । जसले अहिलेको छमकछमक गीत बन्यो ।

‘संगीत भनेपछि मलाई केही नचाहिने । घरबाट कोरिया जान्छु भनेर आएको एक दिन पनि कक्षा लिइनँ । मैले मेरा लागि संगीतबाहेक कुनै अर्को बेटर अप्सन देखिनँ । बाआमालाई पढिरहेको छु । काम गरिरहेको छु भनिरहें,’ सन्तोष भन्छन् ।

उनले घर खर्च पठाउन थालेपछि विस्तारै बाआमाको सोधीखोजी कम हुन थाल्यो । उनी कामका साथै संगीतमा ध्यान दिन थाले ।

अहिले उनको गीत–संगीतले बजार पाएको छ । उनका गीत अहिले बाआमाले हेरेका छन् । अहिले सन्तोषको कामलाई उनीहरु सम्मान गर्छन् । मैले तँलाई टीभीमा, मोबाइलमा हेरेको भनेर खुसी साट्छन् ।

आफ्नो मौलिकता र जनजीवनमा प्रचलनमा रहेका कुरालाई पनि सहज र सरल तरिकाले प्रस्तुत गर्न सके श्रोता–दर्शकले मन पराउने सन्तोष बताउँछन् ।

‘छमकछमक’मा माया गर्ने मान्छेको तारिफ गरिएको छ । उनलाई प्रेमभाव बताउन खोजिएको छ । युवतीलाई प्रेम प्रस्ताव पेस गरिएको छ ।

छमकछमकको पाउजु शब्दको विकल्पमा झुम्का पनि राखेका थिए सन्तोषले । तर पछि झुम्का भन्दा पाउजु नै मीठो सुनिएपछि त्यसलाई नै फाइनल गरे ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर





Source link

HamroAwaj

2022-10-20 11:30:40

Leave a Comment