काठमाडौं-८ : कोर एरियाको साँघुरो प्रतिस्पर्धा – HamroAwaj


६ कात्तिक, काठमाडौं । काठमाडौंको ‘कोर एरिया’ कहलिएको काठमाडौं क्षेत्र नम्बर ८ को चुनावी मैदानमा दर्जन बढी उम्मेदवार छन् । साँघुरा गल्लीबीच प्राचीन शहरी बनोट भएको यो क्षेत्रको मुख्य प्रतिस्पर्धा पनि साँघुरै छ ।

काठमाडौं महानगरपालिकाको १३, १५, १९, २०, २३, २४ र नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा मिलेर बनेको छ काठमाडौं- ८ । यसमध्ये महानगरको वडा नम्बर १९, २०, २३, २४ कोर सिटीमा पर्छ भने वडा नम्बर १३ को पनि आधाआधी । यो क्षेत्रबाट सांसद बन्न एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ, नेकपा एमालेका शिवसुन्दर राजवैद्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका सुमन सायमी प्रतिस्पर्धामा छन् ।

व्यवसाय गर्दागर्दै सामाजिक अभियानमा जोडिएका सायमी गत वैशाखमा काठमाडौं महानगरको मेयर प्रतिस्पर्धा गरेका थिए । बालेन शाह मेयरमा चुनिंदा सायमीले करिब १४ हजार मत पाएका थिए । मेयर प्रतिस्पर्धामा पाएको त्यही मतलाई सायमी संसदीय चुनावमा आफूले जित्ने आधारका रूपमा अथ्र्याइरहेका छन् ।

‘स्थानीय चुनावमा मैले पाएको १४ हजार मतलाई जग बनाउँदै मैले यो पटक उम्मेदवारी दिएको हुँ । त्यो मत मेरो संसदीय उम्मेदवारीका लागि एउटा इँटा हो’, सायमीले अर्थ्याए ।

श्रेष्ठद्वयसँग भने संसदीय अनुभव छ । यही क्षेत्रबाट २०७४ को चुनाव जितेर संसदमा पुगेका जीवनराम श्रेष्ठ यतिखेर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हालिरहेका छन् । विराजभक्त तत्कालीन विवेकशील साझाबाट समानुपातिक सांसद भएर प्रदेश सभामा पुगेका थिए ।

एमालेका शिवसुन्दर भने जिल्ला समन्वय समिति, काठमाडौंको प्रमुख भइसकेका व्यक्ति हुन् ।

निर्वाचन आचारसंहिता नहुँदो हो त उम्मेदवारहरू यतिबेला चुनावी र्‍यालीमा व्यस्त हुन्थे । आचारसंहिताले १५ दिन मात्र चुनावी र्‍याली गर्ने समय तोकेकाले उम्मेदवारहरू ‘कोठे बैठक’ मा व्यस्त छन् । ‘म मात्र होइन, सबै उम्मेदवार कोठे बैठकमा व्यस्त छन्’, सायमी सुनाउँछन् ।

कोठे बैठक जात्रा, पर्व र अरू सांस्कृतिक कर्म गर्ने/गराउने गुठीका मानिसहरूसँग भइरहेको छ ।

‘किनभने गुठीले यो क्षेत्रमा प्रभाव पार्छ’, विराजभक्तले सुनाए । इन्द्रचोकका रैथाने  विराजभक्त काठमाडौं- ८ का गुठीहरूसँग आफ्नो राम्रो दोस्ती रहेको दाबी गर्छन् । यस्तै दाबी गठबन्धनका उम्मेदवार जीवनरामको पनि छ । भन्छन्, ‘गुठीका साथीहरूसँग भेटघाट भइरहेको छ । सबैले मलाई नै सहयोग गर्नुहुन्छ ।’

सुमन सडक विस्तारको विरोधमा आफूले उठाएको आवाज, गुठी विधेयक विरुद्धको संघर्ष र अरू सामाजिक कामले गुठीको मात्र होइन, सबैको मन जितेको दाबी गर्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्तले सत्ता गठबन्धनका उम्मेदवार जीवनरामलाई आफ्नो मुख्य प्रतिस्पर्धी ठानेका छन् ।

जीवनराम नै किन त ?

‘उहाँहरूको संगठन ठूलो छ । त्यसमाथि अहिले त गठबन्धन पनि छ’, गठबन्धन विचारहीन भएको लामो व्याख्या सुनाउँदै जीवनरामलाई प्रतिस्पर्धी ठान्नुको मूल कुरो सुनाए विराजभक्तले ।

संगठन बेगर युवा र थोरबहुत नाम कमाएका व्यक्तिहरूलाई लिएर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका विराजभक्तले प्रतिस्पर्धीको बलियो संगठनबीच आफ्नो संगठनको शून्यतालाई चुनौती मानेका छन् ।

सुशासन, शून्य भ्रष्टाचार जस्ता एजेण्डा मात्र होइन, स्थानीय स्तरका सडक विस्तार, संस्कृति, सम्पदा, गुठी, जात्रा, पर्व, ट्राफिक जस्ता अधिकांश मुद्दामा कोर एरियाका चारै जना उम्मेदवारबीच भाषा र प्रस्तुति बाहेक ठूलो भिन्नता छैन

सुमन सायमी भने ठूला दलको संगठनलाई चुनौती मान्दैनन् । चुनाव जित्नका लागि संगठन नै नचाहिने पुष्टि स्थानीय चुनावमा बालेन, हर्क साम्पाङ र गोपी हमालले गरिसकेको उदाहरण पेश गर्छन् । आफूले राम्रो काम गरेकै कारण २० दिनको तयारीमै स्थानीय चुनावमा सम्मानजनक मत ल्याएको सुनाउँदै सायमी भन्छन्, ‘कसले कहाँ पुगेर कति काम गरेको छ भन्ने जनताले देखेका छन् । आज संगठनले होइन, कामले मत पाउने हो ।’

सत्ता गठबन्धन र एमालेको संगठनको शक्ति चिरेर आफू सांसद बन्नेमा ढुक्क सुनिए सायमी । विराजभक्तको बुझाइ भने बेग्लै छ । ‘भोट दिन्न कसैले भन्दैनन्’ विराजभक्त इमानदार सुनिन्छन्, ‘सबैले दिन्छु नै भन्छन् । तर धेरैजसो मतदाता आफन्त, नातेदार, साथीभाइ र तिनका परिवार हुन्छन् ।’

मतदाताको नाडी छामिरहेका उम्मेदवारहरू यतिखेर चुनाव जित्ने रणनीति बनाउन व्यस्त छन् ।

स्थानीय चुनावमा युवासम्म आफ्ना कुरा पुर्‍याउन नसकेको, सामाजिक सञ्जालको सदुपयोग गर्न नसकेको र घरमूलीसँग संवाद गर्न नसक्दा चुनाव हारेको ठानेका सायमी अघिल्ला चुनावको कमजोरी सच्याउँदैछन् । नेवा समाज र सडक विस्तारका क्रममा घरजग्गा गुमाएकाहरूसँग झन् नजिकिने प्रयासमा लागेका छन् सायमी ।

सायमी सडक विस्तारका क्रममा घरजग्गा गुमाएकाहरूलाई संसदमा पुगेर सडक विस्तारको नीति फेर्ने वाचा सुनाउने सोचमा छन् । ‘सडक आन्दोलन र अभियानले मात्र नहुने रहेछ’ सायमीले आफ्नो चुनावको मूल मुद्दा सुनाए, ‘अब भने संसदमा गएर नीति, नियम र कानुन नै बदल्नुपर्ने आवश्यकता महसुस गरें ।’

चुनाव हारेर पनि बालेन शाहको विजय र्‍यालीमा देखिएका सायमीले यतिखेर बालेनसँग पनि मत बझाइरहेका छन् । महानगरले बांगेमुढाको सामुदायिक भवन भत्काएपछि उनले बालेनको खुलेर विरोध गर्न थालेका छन् । ‘कानुन बन्नुभन्दा पहिले बसेको बस्तीलाई गैरकानुनी कसरी भन्ने ?’ सायमी भन्छन्, ‘त्यस्ता बस्तीलाई व्यवस्थित पो गर्ने हो । जबर्जस्ती गरेर उठिबास लगाउनु त भएन नि !’

कमेडियन अपूर्व क्षितिज पक्राउ र रूपा सुनारको मुद्दामा पनि सुमन चर्को सुनिने गरेका छन् ।

अपूर्वलाई कारबाही गर्नुपर्ने मागमा आफ्नो नैतिक समर्थन मात्र भएको बताउँदै सायमी भन्छन्, ‘अपूर्वले मलाई पक्रन्छन् भनेर थाहा पाउँदापाउँदै यस्तो गर्‍यो जस्तो लाग्छ ।’ नेवा समुदायमाथि गरेको टिप्पणीलाई लिएर पक्राउ परेका अपूर्व हालै साढे २ लाख धरौटीमा छुटेका छन् । २०७८ असारमा कोठा खोज्ने क्रममा रूपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई पनि ‘स्ट्रिङ अपरेसन’ गरेर फसाइएको सायमीको आरोप छ ।

विराजभक्त भने जातीय मुद्दाको खिलाफमा देखिएका छन् । काठमाडौं- ८ बाट जातीय भोटले मात्र चुनाव नजितिने बताउँदै सायमी भन्छन्, ‘हामी समावेशी समाज हौं, कोर एरिया भनेर जातीय साइडबाट मात्र हेरिनुहुन्न ।’

उनी आफूले प्रदेशसभा सदस्यमा हुँदा गरेका काम र नयाँ योजना लिएर मतदातामाझ जाने तयारीमा छन् । एकीकृत समाजवादीका जीवनराम पनि आफूले मन्त्री हुँदा गरेका घोषणा, नयाँ योजनासहित मतदातामाझ जाने योजना बनाइरहेका छन् । जीवनराम योजना मात्र होइन, सत्ता गठबन्धनको नेपाली कांग्रेस र माओवादीको संगठनलाई पनि आफ्नो पक्षमा ल्याउन छलफल, बैठक गर्दैछन् । ‘गठबन्धनका साथीहरूसँग छलफल गरिरहेको छु’ जीवनरामले सुनाए, ‘उहाँहरूलाई पनि चुनावमा सक्रियतापूर्वक लाग्न भनिरहेको छु ।’

एमाले उम्मेदवार शिवसुन्दरले पार्टी नेतृत्वको सरकारले गरेका कामलाई एजेण्डा बनाएका छन् ।

विवेकशील अभियानबाट आएका विराजभक्त स्वतन्त्र उम्मेदवार बन्न सक्थे, तर रवि लामिछाने नेतृत्वमा बसेको राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएर घण्टी चिहृन लिएका छन् ।

सायमीले पनि चलाखीपूर्वक लौरो चुनाव चिहृन लिएका छन् । यो चिहृन हाम्रो नेपाली पार्टीको हो । ‘वैकल्पिक तथा स्वतन्त्र शक्तिको अभियान’ चलाएका सायमीले दलबाट उम्मेदवारी दर्तापछि पनि आफूलाई स्वतन्त्र उम्मेदवारकै रूपमा चिनाउने गरेका थिए । निर्वाचन आयोगले बारम्बार स्पष्टीकरण सोधेपछि भने उनी र उनको समूहले आफ्नो दलको नाम लिन थालेका छन् ।

पार्टी अपरिचित भए पनि विराजभक्त र सायमी दुवै काठमाडौं-८ का मतदाताका लागि नौला होइनन् । कतिपय मतदाताले भने विराजभक्त र सायमीमध्ये एक जना मात्रै उम्मेदवार भएको भए हुन्थ्यो भन्ने भावना पनि व्यक्त गरिरहेका छन् । विराजभक्त र सायमीमध्ये एकजना मात्र चुनाव उठ्ने विषयमा छलफल नभएको पनि होइन । तर को उम्मेदवार हुने भन्नेमा मिल्न सकेन ।

विरजभक्त, सायमीले भन्दा पहिले नै आफूले प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेको बताउँछन् ।

भन्छन्, ‘उहाँ -सायमी) स्थानीय चुनावमा लड्नुभयो । म त्यतिखेर संसदीय चुनावको तयारीमा थिएँ ।’ शुभचिन्तकले आफूलाई स्थानीय चुनावमा लड्न भने पनि संसदीय चुनाव लड्ने तयारी गरिरहेको कारण आफू स्थानीय चुनावमा नउठेको विराजभक्तको दाबी छ ।

सायमी भने राष्ट्रिय स्वतन्त्र पार्टीले धोका दिएको बताउँछन् । विराजभक्त र आफूले उठाएका धेरै मुद्दा समान भएको बताउँदै सायमी भन्छन्, ‘उद्देश्य एउटै भने राजनीतिमा संस्कार देखाउनुपर्ने थियो । संस्कार नभएको हुनाले एउटै मुद्दाका मान्छे दुईतिर उठे ।’

संसदीय चुनाव लड्न विराजभक्तभन्दा आफू पहिले आएको दाबी गर्दै सायमी भन्छन्, ‘म पहिला आएको हो, विराजजी पछि आउनुभयो । फेरि रवि-लामिछाने)जीले भद्र सहमति गरेको तोड्नुभयो । म उठ्ने ठाउँमा आफ्नो उम्मेदवार उठाउँदिन भन्नुभएको थियो तर, घण्टी नै बोकाएर पठाउनुभयो ।’

एमाले विभाजनसँगै एकीकृत समाजवादीतिर गएका जीवनराम आफ्नो मत नघट्ने दाबी गर्छन् । किनकि आफ्नो दल तुलनात्मक रूपमा कमजोर भए पनि सत्ता गठबन्धनको कांग्रेस र माओवादी केन्द्रको साथ छ । लामो समयदेखि नेपाली खेलकुदमा आवद्ध श्रेष्ठ नेपाल ओलम्पिक कमिटी अध्यक्ष पनि हुन् ।

शिवसुन्दर राजवैद्य, जीवनरामले पार्टी छाडे पनि समर्थक, शुभचिन्तकले पार्टी नछाड्ने बताउँछन् ।

सुशासन, शून्य भ्रष्टाचार जस्ता एजेण्डा मात्र होइन, स्थानीय स्तरका सडक विस्तार, संस्कृति, सम्पदा, गुठी, जात्रा, पर्व, ट्राफिक जस्ता अधिकांश मुद्दामा कोर एरियाका चारै जना उम्मेदवारबीच भाषा र प्रस्तुति बाहेक ठूलो भिन्नता छैन ।





Source link

HamroAwaj

2022-10-23 20:53:19

Leave a Comment