ऋषि सुनक : ७ वर्ष सक्रिय राजनीति, ४२ वर्षमै प्रधानमन्त्री – HamroAwaj


७ कात्तिक, काठमाडौं । अन्ततः ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ । विश्वका ३० भन्दा बढी देशमा भारतीय मूलका नेताहरू शासनसत्तामा पुगेका छन्, तर सुनकको सफलता अरूको भन्दा विशिष्ट छ । 

लामो समय भारतमा बेलायतको उपनिवेश रह्यो । सुनक भारतीय मूलका नागरिक हुन् र उनले अब केही समय बेलायतमा शासन गर्नेछन् । क्रिश्चियन बाहुल्य देशमा अर्थमन्त्री हुँदा उनले भगवत् गीता छोएर शपथ खाएका थिए । 

भर्खरै भारतीय राष्ट्रिय कांग्रेसको नेतृत्वमा पुग्न असफल प्रयास गरेका बौद्धिक नेता शशी थरुरको भनाइ यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । ‘बेलायतले हामीलाई पुर्‍याएको क्षतिको परिपूरण असम्भव छ । उसले हामीलाई केवल सरी भनिदिए पुग्छ ।’ 

भारतीय मूलकै एक युवक बेलायती प्रधानमन्त्री बनेपछि सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन्, ‘के थरुरले भनेजस्तै सुनकले बेलायती प्रधानमन्त्रीको हैसियतमा भारतसँग माफी माग्लान् ?’ 

उक्त अर्थपूर्ण प्रश्नको सम्भावित विश्लेषण गर्न छाडेर हामी सुनकको सफलताको कथा खोतलौं । 

‘सर्टकट’ बाटोबाट सफलता

हाम्रो राजनीतिमा इतिहासको ब्याज खोज्नु कुनै अनौठो घटना होइन । यहाँ जेलनेलका कथा र लम्बे राजनीतिक जीवनका फेहरिस्त राजनीतिक बजारमा अझै पनि बिक्छ । त्यसैले गगन थापाहरू प्रधानमन्त्रीको कुर्सीमा पुग्नेबेलासम्म उमेरमा सुशील कोइराला र चरित्रमा शेरबहादुर देउवा बन्न सक्ने जोखिम धेरै हुन्छ । 

उता, सुनक सक्रिय राजनीतिमा प्रवेश गरेको ७ वर्षमै बेलायतको प्रधानमन्त्री बन्न सफल भए । बेलायतको कन्जरभेटिभ पार्टीका नेता सुनक सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसदको निर्वाचन जितेका थिए । 

सुनकको हजुरबा-हजुरआमा भारत विभाजन हुनअघि नै पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका गएका थिए । लामो समयपछि उनीहरू बेलायतको साउथह्याम्पटन शहरमा सरे र त्यहीँ सन् १९८० मा सुनक जन्मिए । 

बेलायतका २५० धनी परिवारमध्येका एक सुनकका बुबा यशवीर सुनक चिकित्सक हुन् भने आमा उषा सुनक अहिले पनि औषधि पसल चलाउँछिन् । उनीहरू अहिले पनि यही शहरमा बस्छन् । ऋषिका अभिभावकले राम्रो शिक्षाका लागि उनलाई निजी विद्यालयमा पढाए । यसको नतिजा उनको बाटो विन्चेस्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालयसम्म सोझियो ।  

कोरोना महामारीअघि नै ऋषि सुनक देशको अर्थमन्त्री बनेका थिए । यो उनको लागि ठूलो उपलब्धि थियो किनभने अर्थमन्त्री पदलाई बेलायतमा प्रधानमन्त्री पदपछि दोस्रो उच्च पद मानिन्छ। उनले उक्त जिम्मेवारी निकै कुशलतापूर्वक निर्वाह गरे । फलस्वरुप धेरै मानिसले उनलाई भावी प्रधानमन्त्रीको रूपमा देख्न चाहे ।  

कमजोर बन्दै लोकप्रियतावाद

लोकप्रियताको पछि लागेर प्रधानमन्त्री बनेका बोरिन जोनसनले परिणाम निकाल्न सकेनन् तर उनकै क्याबिनेटका वित्तमन्त्री सुनकले नागरिकको मन जित्न सके । यद्यपि, बोरिसको कार्यशैलीसँग मतभिन्नता देखाउँदै उनले राजीनामा दिए । कोरोना कालमा अर्थतन्त्र बिग्रन नदिन उनले खेलेको भूमिकाको विश्वमै प्रशंसा हुन्छ ।  

लोकप्रिय मुद्दा उठाएर चुनाव जित्न सकिन्छ तर कार्यकारी पदमा बसेर नजिता निकाल्न क्षमता नै चाहिन्छ भन्ने परिघटनाको नकारात्मक उदाहरण बोरिस बने भने क्षमता भए राजनीतिमा ‘सर्टकट’ बाटाहरू पनि हुन्छ भन्ने उदाहरण सुनक बनेका छन् । 

बढ्दो विविधतापूर्ण समाज

अश्वेत जातिका सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेपछि अरु धेरै बहस सुरु भएका छन् । कतिपयले सुनकको सफलतालाई सन् २००८ मा अमेरिकाका राष्ट्रपति निर्वाचन बाराक ओबामाको सफलतासँग तुलना गर्छन् । 

त्यसो त, बेलायतमा अहिले ४० जना एसियाली र अश्वेत सांसदहरू रहेका छन् । अमेरिका जस्तै बेलायती समाज पनि विविधतापूर्ण बन्दैछ । क्षमता र समावेशिताको कुशल संयोजन बढ्नु र अल्पसं‌ख्यक समुदायलाई संरचनात्मक तथा मनोवैज्ञानिक विभेद गर्ने प्रचलन तोडिनेक्रम रफ्तारमा अगाडि बढ्नु सुखद खबर हो ।  





Source link

HamroAwaj

2022-10-24 23:00:44

Leave a Comment