खेलकुदको कमजोर संरचनाले धान्न नसकेको राष्ट्रिय खेलकुद – HamroAwaj


८ कात्तिक, काठमाडौं । नयाँ खेलाडी उत्पादन र पूर्वाधार विकासको उद्देश्यबाट सुरु भएको बृहत राष्ट्रिय खेलकुदको अवधारणाले चार दशकमा ९ संस्करण पूरा गरेको छ । अनियमित आयोजनाको आलोचनाबाट माथि उठ्न नसकेको राष्ट्रिय खेलकुद परिषद (राखेप) नेतृत्वप्रति हरेकपल्ट अर्को आरोप पनि लाग्ने गर्छ– त्यो हो झूर व्यवस्थापन ।

राष्ट्रिय खेलकुदका हरेक संस्करणलाई झन् बृहत र ऐतिहासिक बनाउने भन्दै खेल संस्था थप्ने प्रतिस्पर्धाजस्तो हुन थालेको छ । नेतृत्व फेरिएपिच्छे खेल संख्या बढाउने र त्यसलाई गर्व ठान्ने राखेप नेतृत्व चुस्त व्यवस्थापनमा भने लगातार चुकिरहेको छ । नेपालको कुनै पनि ठाउँमा एकैपल्ट ३६ खेलका स्पर्धा आयोजना गर्दा पूर्वाधार पर्याप्त हुँदैन । राजधानीमै आयोजना गर्दा पनि खेलस्थलको समस्या परेर टुँडिखेलमा पाल टाँगेर प्रतियोगिता सञ्चालन गरिएको पाँचौं राष्ट्रिय खेलकुदमै देखिएको हो ।

चौथो राष्ट्रिय खेलकुदमा खेलाडीका रुपमा प्रतिस्पर्धा गरेर स्वर्ण जितेका दीपक श्रेष्ठ त्यसयता प्रशिक्षकहुँदै नवौं संस्करणमा प्रतियोगिता संयोजकसम्मको अनुभव लिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत रहेका सागका दोहोरो स्वर्ण विजेता उनी खेलकुद नेतृत्व पूर्वाधार निर्माण र जनशक्ति परिचालनभन्दा बढी व्यवस्थापनमा चुकिरहेको महसुस गर्छन् ।

असारदेखि असोजसम्मको अवधिलाई नेपाली खेलकुदमा अघोषित ‘अफ सिजन’ मानिन्छ । बर्खा मौसम र परम्परागत ठूला चाडपर्वको समयमै राष्ट्रिय खेलकुदको आयोजना मिति घोषणा हुनु खेल नेतृत्वको प्रारम्भिक कमजोरी थियो । जेठमा मिति तोकेर सुरक्षाको कारण देखाउँदै दशैं र तिहारको बीचमा सारिनुमा आसन्न संघीय निर्वाचन नै मुख्य कारक थियो । आफ्नो कार्यकालमा राष्ट्रिय खेलकुद गरेर जस लिने हतारो नेतृत्वमा देखियो ।

पोखरामा केन्द्रित गरी गण्डकीका आठ जिल्लामा प्रतियोगिता सञ्चालन भयो । प्रतियोगिता आयोजना गृहकार्यका लागि राखेपले पर्याप्त (पाँच महिना)को समय पाएको थियो । आवश्यक समन्वयन र प्रक्रिया पूरा नगरी खेलस्थल निर्धारण हुने र विरोधपछि परिवर्तन हुँदा केहि स्थलमा स्तरोन्नत्तिको समय नपाएको स्वीकारोक्ति स्वयम् सदस्यसचिव टंकलाल घिसिङले नै गरेका हुन् ।

पाल टाँगेर वा खुला स्थानमा राष्ट्रिय खेलकुद गरिँदैन भन्ने राखेप सदस्यसचिवको दावी त्यतिबेला हावा खायो जतिबेला पोखरा रंगशाला परिसरमै जिम्न्यास्टिक प्रतियोगिता खुला आकाशमुनि चर्को घाममा आयोजना गरियो । इण्डोर खेलहरु बास्केटबल, भलिबल र खो–खो पनि खुला आकाशमुनि नै भए । प्रदर्शनी केन्द्रमा जुडो र उद्योग बाणिज्य संघको हलमा भारोत्तोलन गरियो । स्कुलको पोखरीमा पौडी प्रतियोगिता सञ्चालन भयो ।

संघीयता कार्यान्वयनसँगै मुलुकमा तीन तहको कार्यकारी सरकार छ । २०७७ मा राष्ट्रिय खेलकुद विकास ऐनले खेलकुदमा संघीयता कार्यान्वयन गरेपछि पहिलोपल्ट राष्ट्रिय खेलकुदको आयोजना भएको हो । प्रदेश आफैंले खेलाडी छनोट गर्नेबाहेक राखेपले यसपल्ट प्रदेश र स्थानीय तहसँग कुनै समन्वयन नगरेको गुनासो सबैभन्दा धेरै रह्यो । आयोजक प्रदेश गण्डकीले नै अपनत्व लिन नसक्नु र प्रतियोगिता उद्घाटन र समापनमा समारोहलाई पोखरेलीको ‘अघोषित बहिस्कार’ खेलकुदका केन्द्रीय नेतृत्वका लागि लाजमर्दो कुरा हो ।

राष्ट्रिय खेलकुदको कमजोर व्यवस्थापनमा राखेप एकल जिम्मेवार होइन । तर, केन्द्रीय निकाय र मूल आयोजक संस्थाको हैसियतमा अन्य निकायलाई जिम्मेवार र अधिकारसम्म बनाउने जिम्मेवारी मुख्यतः उसैको हो । अधिकतम स्थानीय सहभागिता गराएर प्रतियोगिता सञ्चालन गर्ने रणनीति लिएको भए सायद राष्ट्रिय खेलकुद सफल बनाउन पोखरेलीले मन फुकाएर सहयोग गर्ने थिए । पोखरा यसै पनि खेलकुदकै शहरका रुपमा स्थापित छ । एकमात्र खेलको राष्ट्रिय प्रतियोगिता हुँदा पनि पोखराको माहोल खेलमय बन्नेगर्छ ।

राष्ट्रिय खेलकुद परिषद– क्षेत्रीय खेलकुद विकास समिति– जिल्ला खेलकुद विकास समिति । यो राखेपको पुरानो र परम्परागत संरचना हो । नयाँ ऐनले राखेपलाई केन्द्रीय निकायको मान्यता दिँदा प्रदेश खेलकुदलाई जिल्लाको नेतृत्व गर्ने अधिकार दिएको छ । साढे दुई वर्षसम्म नियमावली जारी हुन नसक्दा देशभर रहेका राखेप मातहतको संरचनाको प्रयोगको अधिकार प्रदेशलाई दिन सकिएको छैन । यहाँनेर राखेपले गण्डकी प्रदेशलाई सम्पूर्ण आयोजना अधिकार दिएर प्रदेश संरचनालाई अधिकतम प्रयोग गरी आफू सुपरिवेक्षणको भूमिकामा रहेको भए प्रतियोगितामा गुनासो कम हुनसक्थ्यो ।

राष्ट्रिय खेलकुदमा व्यवस्थापनको गुनासो नयाँ होइन । अघिल्ला संस्करणहरुमा पनि यो समस्या नै प्रमुखताका साथ उठ्ने गरेकै हो । पोखरा रंगशालामा समापनको दिनसम्म पनि राखेपको भण्डार कक्षबाट खेलाडीले खेलपोशाक र किटब्याग ग्रहण गरिरहेकै थिए । धेरैजसो स्थानमा खेलपोशाक समयमै पुगेको थिएन । राखेपले प्रतियोगिताको एक साताअघि मात्र खेल पोशाक, किट र खेल सामग्रीको टेण्डर खोलेको थियो ।

यसपल्ट पोखराजस्तो पूर्वाधारले सम्पन्न भनिएको ठाउँमा पनि पुरानै समस्यालाई समाधान गर्न नसक्नुलाई नेतृत्वकै व्यवस्थापकीय कमजोरी मान्न सकिन्छ । नवौं खेलकुद आयोजनाका लागि निर्माण गरिएका उपसमितिमा स्थानीय व्यक्तिहरुलाई निकै कम समावेश गरियो । प्रचार प्रसार र समारोह समितिमा पोखरा बाहिरका र अनुभवहीन संयोजक थिए । उद्घाटन र समापन परम्परागत र कर्मकाण्डी कार्यक्रमको निरन्तरतामात्र देखियो ।

यसपल्ट राष्ट्रिय खेलकुदको आयोजनाका लागि पूर्व तयारी र कागजी गृहकार्य निकै कम भएको राखेपकै अधिकारीहरु स्वीकार्छन् । त्यसो हुँदा प्रक्रियागत रुपमा भन्दा पनि नेतृत्वको निर्देशनका आधारमा कार्यसम्पादन हुने परिपाटी देखियो । प्रतियोगिता आयोजना तयारीको सुरुवातदेखि नै खेलकुदमन्त्री, राखेप उपाध्यक्ष र सदस्यसचिवको सौहार्द सम्बन्ध थिएन ।

राखेपले नवौं राष्ट्रिय खेलकुदमा सबैभन्दा धेरै खेल समावेश, डिजिटल प्रणालीबाट खेलाडी दर्ता, मोबाइल एप निर्माण र रनिङ ट्रफीलाई यसपल्ट आफ्नो मुख्य सफलता मानेको छ । तर, आफैंले निर्धारण गरेको मापदण्डमा भने उसको अडान देखिएन ।

प्रतियोगिता आयोजनाको तयारीका क्रममा हुनुपर्ने प्रशासनिक कार्यसम्पादन, खेलाडी छनोट, नाम दर्ता र आवश्यक टेण्डर प्रक्रियालगायतका कुनै पनि काम समयमा हुन सकेनन् । यसा हुनुमा उनीहरु प्रमुख चाडको मौसम र अपेक्षाभन्दा लम्बिएको बर्खालाई कारक मानेर बसेका छन् । राखेपले भदौ १५ गतेसम्म खेलाडीको संख्या दर्ता गर्नुपर्ने र २५ गतेसम्म सहभागी खेलाडीको नाम दर्ता हुनुपर्ने मापदण्ड बनाएको थियो ।

एक महिनाअघि नै खेलाडी दर्ता हुँदा उनीहरुका लागि आवश्यक सामान शारीरिक नापअनुसार उपलब्ध हुने राखेपको दावी थियो । तर, राखेप आफैंले खेलाडीको नाम दर्ता गर्ने समय असोज १० गतेसम्म लम्ब्यायो । प्रतियोगिताको समापन समारोहमा सदस्यसचिवबाट ६ हजार १२७ जना खेलाडीले प्रतिस्पर्धा गरेको घोषणा भएपछि मात्र सबैले एकिन संख्या थाहा पाए ।

कर्णालीमा दशौं राष्ट्रिय खेलकुद आयोजना हुँदैछ र त्यसका लागि मिति निर्धारण गरिसकिएको छ । प्रतियोगिता आउन २ वर्ष र केहि दिन बाँकी छ । अहिलेसम्म मुख्य पूर्वाधार सुर्खेत रंगशालाको निर्माण सुरु भएको छ ।

रंगशाला निर्माण सकिन ठेकेदार कम्पनीले २०८१ जेठसम्मको समय पाएको छ । नेपालको भौतिक पूर्वाधार निर्माणको कार्यप्रगतिअनुसार जेठमा रंगशाला हस्तान्तरण भएर मंसिरमा प्रतियोगिता आयोजना हुन्छ भनेर अहिले नै विश्वास गर्न सकिने अवस्था छैन ।

वृहत खेलकुदको नाममा ऐतिहासिक बनाउन भन्दै खेलसंख्या थप्दै जाने हो भने कर्णालीमा राष्ट्रिय खेलकुद सफल बनाउन व्यवस्थापकीय चुस्तता नै सबैभन्दा अहम् हुनेछ । त्यसका लागि राखेपको संयन्त्रको मात्र भर पर्नुभन्दा तत् तत् क्षेत्रमा व्यवसायिक व्यक्तिहरुलाई अधिकारसहित परिचालन गर्नुपर्ने अहिलेको आवश्यकता हो ।





Source link

HamroAwaj

2022-10-25 20:15:03

Leave a Comment