‘मलाई नो नट अगेन होइन, वान्स अगेन भन्नुपर्छ’ – HamroAwaj


१६ कात्तिक, काठमाडौं । समकालीन नेताहरूको तुलनामा संसदीय राजनीतिमा नयाँ भए पनि जोड–घटाउमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबभन्दा अब्बल देखिन्छन् । सम्भवतः उनको यही गुणको कारण होला, बितेको पाँच वर्ष माओवादी केन्द्र सत्ताबाहिर बस्नुपरेन ।

पछिल्ला तीन चुनावमा प्रचण्डले असाध्यै बहुमतले चुनाव जित्ने, बल्लबल्ल चुनाव जित्ने, पराजित हुने तिनै किसिमको अनुभव लिए । प्रतिनिधिसभा चुनाव २०७९ का लागि भने चितवन छोडेर गोरखा रोजेका उनले भनेका छन्– यसपालि मलाई ढुक्क छ ।
प्रस्तुत छ, आम चुनाव, गठबन्धनको निरन्तरता, वाम एकतालगायत विषयमा गरिएको कुराकानीको सम्पादित अंश :

यहाँको चलायमान, गतिशीलता, छलाङ या अलिपर बसेर हेर्नेहरूको बुझाइमा भन्ने हो भने अस्थिरता जस्तो देख्दा आम मान्छे छक्क पर्छन्, तपाईं आफैंलाई चाहिं अचम्म लाग्छ कि लाग्दैन ?

मलाई तपाईंले भनेको जस्तो त्यस्तो कुनै अचम्म लाग्दैन । देश, जनता, परिवर्तन, समानता र न्यायका लागि मेरो कमिटमेन्ट सुरुदेखि नै एउटै छ । जनयुद्धको तयारी, जनयुद्ध या शान्तिसम्झौतादेखि अहिलेसम्म कहीं पनि आफ्नो वैचारिक निष्ठा र राजनीतिक प्रतिबद्धतामा कतै उतारचढाव छैन । तर कार्यान्वयनका क्रममा आउने परिस्थिति अनुसार आफ्नो कुरा स्थापित गर्न मैले ठूल्ठूला निर्णय लिने गरेकै छु ।

यी निर्णयहरू मेरो बुझाइमा देश, जनता र इतिहासप्रति जिम्मेवार भएर नै मैले लिएको छु । मेरो बुझाइ, सोचाइ र कामगराइमा उद्देश्य अर्थपूर्ण नै छन् । त्यसैले देश गतिशील भएको हो । २०५२ सालयता या २०६४ सालको ऐतिहासिक जनआन्दोलनयता हेर्नुभयो भने मेरो उद्देश्य स्थिर छ, त्यसलाई कार्यान्वयन गर्ने क्रममा कार्यनीतिमा चाहिं परिस्थितिअनुसारको उतारचढाव भएका छन् ।

समग्रमा भन्नुपर्दा मैले दार्शनिक रूपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा जे बुझेको छु त्यसलाई व्यवहारमा प्रयोग गर्ने कोसिस गर्ने प्रयास गरें, त्यसमा म अरूभन्दा भिन्न त छु ।

गोरखा जानु पनि ?

मलाई गोरखा जाँदा अलिअलि रोमाञ्चक जस्तो अनुभूति हुन्छ । किनभने २२ देखि २५ वर्षसम्म गोरखामा बसेर अध्यापन गरें । युवकको मानसिकतासहित विद्यालयमा गरेका काम, एक वर्ष पढाएपछि गोरखा जिल्लाभरिको अब्बल शिक्षक भनेर पाएको सम्मान, त्यहाँका किसानहरूसँग विताएका क्षणहरू जोडिएका छन् । अहिले उम्मेदवार भएर गोरखा जाँदा बडो आनन्द अनुभूति हुन्छ । इतिहासका क्षणहरू सम्झिंदा नयाँ ऊर्जा प्राप्त भएको जस्तो हुन्छ ।

पञ्चायतविरोधी आन्दोलनका बेला म पार्टीको महामन्त्री हुँदा पार्टीको हेडक्वार्टर नै गोरखामा राखेको थियो । जनयुद्ध सुरु गर्ने अन्तिम बैठक पनि गोरखामै गरेको हो । को बाँचिन्छ, को मरिन्छ थाहा छैन भनेर हामीहरूले फोटो खिचाएका थियौं । पहिलो फौजी तालिम पनि पञ्चायतकालमा हामीले सिरान्चोकमा गरेको हो । त्यसैले गोरखासँग मेरो सम्बध विशिष्ट र भावनात्मक हो । त्यो सम्झिंदा रोमाञ्चकजस्तो फिलिङ आउँछ ।

पहिलेदेखि नै साथीहरूले गोरखा आउनुपर्छ भन्थे, म एकै ठाउँमा मात्रै बसेको छैन । चितवन जाँदा पनि गोरखाका साथीहरूले गोरखा आइदिनुपर्‍यो भन्नुहुन्थ्यो, अहिले संयोग जुर्‍यो ।

तपाईंले गोरखा छाडेर राजनीतिमा लागेपछि धेरै फेरबदल भयो । तपाईं स्वयम् प्रधानमन्त्री हुनुभयो । तर तपाईंले गोरखाका नागरिकलाई जस्तो छोड्नुभएको थियो, त्यस्तै छन् नि ?

मैले पहिले जस्तो छोडेको थिएँ, त्यस्तै छैनन् । म पढाउँदा गोरखा जाने बाटो नै थिएन । अहिले भौतिक पूर्वाधारको हिसाबले बाटोघाटो सबै पुगेका छन्, झण्डैझण्डै सबैतिर मोटरबाटो पुगेको छ । जस्ताको त्यस्तै भन्न मिल्दैन ।

बाटो मात्रै विकासको सूचक हो र ?

बाटो मात्रै होइन, अरू पनि विकास भएको छ । राष्ट्रिय गौरवका आयोजना पनि छन् । अहिले बन्द भयो र मात्रै हो, नत्र गोरखाली रबर उद्योग पनि सानो उद्योग हैन । अब मान्छेमा शैक्षिक जागरण बढेको छ । अस्पताल बढेका छन् ।

त्यसैले प्रगति गरेन भन्ने त हैन, तर अपेक्षित प्रगति भएन भन्ने साँचो हो । गोरखामा योभन्दा धेरै प्रगति हुने आधार छन् । अहिले मैले बोकेको सपना भनेको गोरखालाई आर्थिक क्रान्तिको आधार बनाउन सकिन्छ र बनाउनुपर्छ भन्ने हो ।

पहिले चितवनलाई त्यस्तै सपना देखाउनुभयो, त्यहाँ अधुरै छोडेर गोरखा उक्लिनुभयो, कसरी विश्वास गर्ने ?

मलाई राष्ट्रिय नेता पनि भन्ने, अरूभन्दा फरक खालको नेता हो पनि भन्ने अनि फरक ढंगले मूभ गर्दा अर्काे ढंगले हेर्ने सोचाइ त्यति सहज लाग्दैन । पहिले पनि म रोल्पा र काठमाडौंबाट त्यत्तिकै उठेको होइन, त्यसको तात्पर्य छ । भावनामा बगेर पनि होइन ।

रोल्पा युद्धको केन्द्र जस्तो बन्न पुग्यो, काठमाडौं आन्दोलनको । यो दुइटालाई जोडेर शान्तितिर लैजाने जुन प्रक्रिया सुरु गरेका छौं, त्यसमा भावनात्मक रूपले जनतालाई जोड्नुपर्छ भन्ने थियो । मधेशमा असन्तुष्टि होला कि भनेर मैले मधेशलाई विश्वासमा लिनुपर्छ भन्ने लाग्यो, सिरहा गएँ । चितवन मेरो गृह जिल्ला हो, एकचोटि जानैपर्थ्यो ।

फेरि मैले चितवनका जनतालाई जे भनेको थिएँ, त्यो झण्डै शतप्रतिशत पूरा भयो । धुलो र हिलोका बाटो थिए, पाँच वर्षमा पूरा गरेको थिएँ, तपाईंले हेर्नुभयो भने त्यो पाउनुहुन्छ ।

त्यो त भरतपुर महानगरपालिकाले गरेको होला नि !

भरतपुर मात्रै होइन, माडी पनि हेर्नुभयो भने देख्नुहुन्छ । चितवनमा भएको प्रगति सारा दुनियाँले हेरेका छन् । पाँच वर्षमा अभूतपूर्व विकास भएको छ र योभन्दा बढी हुन सक्दैनथ्यो । त्यसमा मलाई गर्व छ । भरतपुर महानगरपालिकामा रेणुले राम्रो गरेकी छिन् र गर्छिन् ।

मेरो ठाउँमा अहिले डाक्टर भोजराज अधिकारी उम्मेदवार हुनुहुन्छ, उहाँले पनि चुनाव जितेपछि सबै काम कन्टिन्यू गर्नुहुन्छ । यसबाट त प्रचण्ड नै डायनामिक नेता रहेछ भनेर किन नबुझेको हो के ?

बाटोघाटो विकास त भयो होला । चेपाङहरूको बेहाल छ, बाँदरझुलाका नागरिकले लालपुर्जा पाउन सकेका छैनन् । बाटोघाटो बनेर जग्गाको भाउ बढ्ने बाहेक सुकुम्बासी, भूमिहीन, अल्पसंख्यकको जिन्दगीमा त परिवर्तन भएन नि !

भएकै छ, तपाईंहरूले थाहा पाउनुभएनछ । वर्षाैंपछि बाँदरझुलाका जनताले नागरिकता पाए, त्यसको वितरण मैले नै सुरु गरें । त्यहाँ विद्युतीकरणको प्रक्रिया पनि अगाडि बढेको छ, लालपुर्जा वितरणको काम अन्तिम चरणमा पुर्‍याइएको छ । मेरो प्रत्यक्ष सांसद कोषको रकम खर्च गरेर चेपाङका लागि बस्ती बनाइएको छ ।

भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणको कामको सुरु चितवनबाटै गरिएको छ । तपाईंहरूले देख्नुभयो, सुकुम्बासीहरू वर्षाैंदेखि लालपुर्जाका लागि आन्दोलित र चिन्तित थिए । उनीहरूले लालपुर्जा पाउँदा जुन खुसी मैले देखें नि, त्यो तपाईंहरूले पनि हेर्नुभयो होला । त्यसैले नगरेको भन्न मिल्दैन, प्रक्रियामा रहेका समयसँगै सबै टुंगिन्छन् ।

आँपटारीमा लालपुर्जा बाँड्दा जुन खुसी थियो, त्यो बाँदरझुलामा किन भएन भन्ने प्रश्न हो !

हुन्छ । प्रचण्डको पहलमा हामीले पाउने भइयो भन्ने कुरामा बाँदरझुलाका जनता ढुक्क छन् ।

यो चितवनको कुरा भयो, गोरखा जाँदा त्यहाँका नागरिकले खोजेको र यहाँले दिनसक्ने कुरा के हो ?

गोरखामा पछिल्लो समय तीनपटक गएँ । त्यसक्रममा जेजति अन्तरक्रिया, छलफल र भेटघाटहरू गरें, गाउँ–गाउँका जनताको मुख्य माग फेरि पनि बाटो पिच होस् भन्ने नै छ । म अस्ति आरुघाटबाट पालुङटारसम्म जाँदा दुई दिनमा ४४ वटा कार्यक्रम गरें ।

ती कार्यक्रमहरूमा तुरुन्तै धुलोवाला बाटो पिच होउन्, भौतिक पूर्वाधारको हिसाबले सडक सञ्जाल राम्रो होस् भन्ने जनताले चाहेको पाएँ । कृषिमा आधुनिकीकरण होस् र किसानहरूको जीवनमा सकारात्मक परिवर्तन आओस् भन्ने पाएँ । आँपपिपल र गोरखा अस्पताललाई जोडेर मेडिकल कलेज बनाउन सकिन्छ भन्ने बुद्धिजीवीहरूको भनाइ पनि सुनें, शैक्षिक क्षेत्रमा गुणात्मक रूपले प्रगति गर्न सकिने ठाउँ पनि देखें ।

बुढीगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजना सम्पन्न गर्ने, वर्षौंदेखि बन्द पालुङटार एअरपोर्टलाई नयाँ योजनासहित सञ्चालन गर्नुपर्ने आवश्यकता पनि बताउनुभएको छ । गोरखा जिल्ला ऐतिहासिक, धार्मिक र सांस्कृतिक सबै दृष्टिकोणले महत्वपूर्ण छ, जडीबुटी प्रशोधन केन्द्र पनि बन्न सक्छ गोरखामा । यो सबै हेर्दा गोरखामा विकासको धेरै संभावना छन् । यतैतिर मेरो ध्यान छ ।

तर जित्छु भन्ने ढुक्क हुँदा त चुनावी प्रतिस्पर्धा खासै रोमाञ्चक हुन्न होला है ?

त्यस्तो त होइन । त्यहाँ अर्कै खालको अनुभूति भएको छ । अरू बेला तनाव जस्तो पनि हुन्थ्यो, त्यहाँ मैले फिल गरेको छैन । त्यहाँ गठबन्धनमा राम्रो एकता छ । कांग्रेसलगायतका पार्टीहरूका बीचमा जुन खालको एकता छ, त्यसले पनि त्यहाँको चुनावलाई अलि विशिष्ट बनाएको छ । गठबन्धन सफलतापूर्वक अगाडि जान्छ भन्ने विश्वास जनतालाई पनि भएको छ, पार्टी र नेताहरूलाई पनि भएको छ ।

मैले जति कार्यक्रम गरें, गठबन्धनका साथीहरू लिएरै गरेको छु । राष्ट्रिय रूपमा एक खालको व्यक्तित्व आएकोमा जनताको सबै तप्कामा खुसी नै देख्छु । गठबन्धनभन्दा बाहिरका पार्टीहरू पनि प्रचण्ड आएकोमा अवसर गुम्न दिनुहुँदैन भन्ने भाव रहेको अनुभूत गरें त्यहाँ । त्यो नै रोमाञ्चक भयो ।

गोरखाबाट तीन पटक आफूले जितेको, सुरक्षित बनाएको क्षेत्र डा. बाबुराम भट्टराईले तपाईंका लागि सहजै छोडिदिनुभयो । यसलाई चाहिं कसरी लिनुभएको छ ?

बाबुरामजीलाई त मैले धन्यवाद भनेरै गएकै छु । नोमिनेशनमा पनि बाबुरामजी समेत नारायणकाजी र म जसरी गयौं, त्यसले एकातिर हाम्रो पार्टीभित्रको एकतालाई देखायो । अर्काेतिर बाबुरामजीसँग बीचमा अलिकति अलगअलग बाटोजस्तो भएको थियो, भँगालोहरू जोडिन खोजेको छ भन्ने आफैंमा शक्तिशाली सन्देश हो ।

बाबुरामजीले म अहिले चुनाव लड्दिनँ, प्रचण्ड आउनु नै उपयुक्त हुन्छ, म सहयोग गर्छु भन्नुभयो । अहिले सबै ठाउँमा जानुभयो र त्यही भन्नुभयो । मैले पनि तपाईंले सुरु गरेका पूरा नभएका काम पूरा गर्ने र थप नयाँ कार्यक्रम बनाएर आर्थिक समृद्धिको यात्रालाई नयाँ चरणमा पुर्‍याउने काम गर्छु भनेको छु ।

त्यस्तै कमरेड नारायणकाजीको पनि त्यहाँबाट चुनाव लड्ने इच्छा थियो । पछि उहाँ नै त्यहाँको समग्र परिस्थितिमा अध्यक्ष जानु नै उचित छ भनेर वातावरण बनाउने काममा लाग्नुभयो । यो मेरा लागि सुखद अनुभूति हो । आन्दोलनलाई केन्द्रीकृत र एकीकृत गर्न तथा राजनीति अनि आर्थिक विकासको अभियानलाई नयाँ योजनाको साथ अगाडि लैजान यसले राम्रो पूर्वाधारको काम गरेको महसुस गरेको छु ।

गोरखामा त यहाँको सुखद संयोग नै संयोग रहेछ, अरूतिर कस्तो छ त माओवादीको ?

अरूतिर पनि राम्रो छ । भर्खरै प्रदेशका साथीहरू आउनुभएको थियो, समग्रमा अहिले राम्रो छ भन्ने रिपोर्ट छ । संघ र प्रदेशको सबैतिर स्थिति हेर्दा पहिलाको भन्दा जनतामा माओवादी र यसका उम्मेदवारहरूप्रति आकर्षण बढ्दै गएको रिपोर्ट छ ।

गठबन्धनभित्र मित्रतापूर्ण प्रतिस्पर्धा र बागी तथा स्वतन्त्रले नछोडेका ठाउँ त छन्, तर मूलभूत रूपमा म्यानेज भइसकेका छन् ।

रिजल्ट आउँदा त तेस्रो नै हुने त होला नि ?

मेरो कोसिस चाहिं यसपटकको निर्वाचनमा दोस्रो हुने हो । यो पटकको निर्वाचनमा गठबन्धनभित्र राम्रो तालमेल र भोट ट्रान्सफर उचित ढंगले भयो भने दोस्रो शक्ति माओवादी हुनसक्छ भन्ने हो । कथं कथाचित भन्या जस्तो भएन भने पनि निर्णायक तेस्रो शक्ति बन्न त कसैले रोक्न सक्छ जस्तो लाग्दैन मलाई ।

तेस्रो तर निर्णायक हुनु भनेको अघिल्लो पाँच वर्षमा जस्तै फेरि सत्तामा रहिरहने त होला ?

गठबन्धनमा रहने हुँदा साझेदारी त हुन्छ नै ।

त्यो भनेको बनाउने, भत्काउने, अनि फेरि बनाउने त होला ?

भत्काउने बनाउने भन्ने कुरै भएन । मेरो त जहिले पनि बनाउने मात्रै हुन्छ, भत्काउने होइन । कम्युनिस्ट एकता मैले भत्काउन बनाएको हो र ? कति राम्रो थियो, जनतामा कति ठूलो उत्साह थियो ।

भत्कियो…

भत्काए नि, गलत सोच र गलत मनसाय भएका मान्छेहरूले । यतातिर नजाऊँ ! यो झमेलातिर जान चाहन्नँ, दुनियाँले बुझिसक्या कुरा छ ।

त्यसो भए घोषणापत्रको कुरा गरौं, ४५ सिटमा उम्मेदवारी दिएको माओवादीले दुईतिहाइ बहुमत चाहिने संविधान संशोधनलाई एजेण्डा बनाउनु अमिल्दो भएन ?

हामीलाई थाहा छ, हाम्रो मात्रै शक्तिले संविधान संशोधन हुँदैन । तर सबैसँग छलफल, बहस गर्दै जाँदा हामीले जे भनेका छौं, त्यो ठाउँमा गठबन्धन आउँछ र संविधान संशोधन प्रक्रिया अघि बढाउन सकिन्छ भन्नेमा छु ।

यो भन्ने अधिकार माओवादी केन्द्रलाई नै छ नैतिक रूपले पनि, राजनीतिक रूपले पनि । किनकि संविधानसभामा हामीले अहिले जस्तो शासकीय प्रणाली बनेको छ, यसले देशलाई हित गर्दैन । प्रत्यक्ष निर्वाचित कार्यकारीमै जानुपर्छ । यो निर्वाचन प्रणालीले विसंगति र भ्रष्टाचारलाई बढावा दिन्छ ।

आदिवासी जनजाति, महिला, मधेशी, पिछडिएको समुदाय, जनंख्याको अनुपात हेरेर पूर्ण समानुपातिक निर्वाचन प्रणाली बनायो भने विसंगति र विकृति रोक्न सकिन्छ । यसलाई उपयुक्त समयमा संविधान संशोधनको विषय बनाउँछौं भनेर हामीले संविधानसभाको माइन्यूटमा ‘नोट अफ डिसेन्ट’ लेखेका छौं ।

देशलाई भ्रष्टाचारमुक्त बनाउने र राजनीतिक स्थिरता सुनिश्चित गर्ने बाटोमा लैजानु हाम्रो कर्यव्य पनि हो, जिम्मेवारी पनि हो । नेपालको विकासका लागि राजनीतिक स्थिरता अनिवार्य शर्त हो । निर्वाचन प्रणालीमा सबैको सहभागिता सुनिश्चित हुनेभयो भने बल्ल राष्ट्र र समाज एकताबद्ध हुन्छ । यसलाई हामीले विस्तारै जनताको बीचमा लैजानुपर्छ, छलफलको वातावरण बनाउनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ भन्ने मत सबै पार्टीभित्र छ ।

मत त छ, तर बहुमत छैन नि …

बहुमत पनि छ ! एमालेले हिजो प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेकै हो, अरू पार्टीहरूले पनि प्रत्यक्ष निर्वाचित हुनुपर्छ भनिरहेका छन् । त्यसैले माहोल नै छैन भन्ने होइन । उनीहरू यसलाई कतिबेला उठाउने भनेर पर्खिएको स्थिति देख्छु मैले ।

उच्चस्तरीय छानबिन आयोग बनाएर २०६४ सालयताका सबै प्रधानमन्त्री, मन्त्रीको सम्पत्ति छानबिन भर्ने भनेको छ, यसो हुँदा त माओवादी नेताहरू बाँकी नै नहोला नि ?

नरहे ठीक छ भन्नेमा छु म त । माओवादी नेताले गल्ती गरेका छन् भने बच्नुपर्छ भन्ने छ र ? परुन् न ! त्यो आँट गर्ने भनेको माओवादीले मात्रै हो, त्यो तपाईंले बुझ्नुहोला ।

देश सुधार्न माओवादीले नै बढी गर्नुपर्ने आवश्यकता छ, त्यसैले यो कुरा उठाएका छौं ।

त्यसैले अब प्रधानमन्त्री हुन्छु भन्नुभएको हो ?

मैले सीधा भाषामा त्यसरी प्रधानमन्त्री हुन्छु भनेको छैन । बरु प्रधानमन्त्रीकै निम्ति रेसमा म छैन, होइन भनेको छु ।

प्रधानमन्त्री नै मुख्य कुरा भएको भए अघिल्लो वर्ष पाँचै वर्ष प्रधानमन्त्री हुने प्रस्ताव आएकै थियो । तर जनताको अगाडि गरेको प्रतिबद्धताअनुसार एउटा ठाउँमा नपुगी दायाँ–बायाँ सोच्न हुँदैन भनें । आफैंले भन्दा त कस्तो होला, तर सफा, पारदर्शिता, इमानदारी र समझदारी लागू गर्ने मजस्तो अरू छ जस्तो लाग्दैन ।

अहिले पनि म रेसमा छैन । तर मैले के भाषा भनिरहेको छु भने देश र सरकारको नेतृत्व गर्ने अवसर आयो भने त्यो अवसरलाई राम्रो सदुपयोग गर्छु भन्ने सपना चाहिं छ । गठबन्धनभित्र त्यस्तो परिस्थिति बन्यो भने सुशासन र आर्थिक समृद्धिमा मेरो ध्यान केन्द्रित हुन्छ ।

मैले ३८ देखि ४८ को १० वर्ष फिलोसोफिकल आइडियोलोजिकल अध्ययनमा विताएको छु, ४८ देखि अर्काे १० वर्ष जनयुद्धमा बित्यो, अर्काे १० वर्ष शान्ति र संविधान निर्माणमा बित्यो । अब अर्काे १० वर्ष समृद्धि र सुशासनका निम्ति पूरै इमानदारी र तत्परताका साथ मैले आफ्नो जीवन दिनुपर्छ भन्ने भित्रबाट संकल्प छ । यो संकल्प कार्यान्वयन गर्न देशको नेतृत्व गर्ने अवसर प्राप्त गरें भने त्यो राम्ररी पूरा हुन्छ ।

घुमाईघुमाई भन्नुभन्दा यो निर्वाचनपछि पहिलो सरकार कसको, दोस्रो सरकार कसको भनेर सहमति गर्‍यौं भनिदिनुभयो भने त सुन्नेलाई अलि सजिलो हुन्थ्यो नि ?

सहमति भएकै छैन, नभएको कुरा मैले कसरी भनुँ ? गठबन्धनमा पहिलो, दोस्रो, तेस्रो को हुने केही पनि भएको छैन । तर गठबन्धन भएको हुनाले स्वभावैले पावर सेयरिङ हुन्छ । गर्दै जाँदा यदि हाम्रो भागमा आयो भने म पछि हट्नेमा पनि छैन ।

आयो भने पछि हट्दिनँ भन्ने कुरा राजनीतिक भाषा भयो, मनको कुरा त अर्काे होला नि ?

मनको कुरा पनि सुशासन र समृद्धिका लागि देशको नेतृत्व गर्ने इच्छा छ त भनेकै छु मैले । तर यो विषयमा गठबन्धनभित्र ल यसो गर्ने भन्ने भएको छ कि भनेर तपाईंले सोध्न खोजेझैं केही पनि भएकै छैन । म प्रधानमन्त्रीका लागि मरिमेट्नेमा छैन ।

तपाईं प्रधानमन्त्री हुँदा एमालेसँग मिलेर सरकार बनाउने कि यही गठबन्धन कायम गर्ने ?

यही गठबन्धन जान्छ, त्यो प्रतिगमनकारी प्रवृत्ति रहँदासम्म एमालेसँग मिल्ने कुनै संभावना देखेको छैन मैले । किनभने चरम व्यक्तिवादी, अहंकारी यति प्रतिशोधी मान्छेले यति भ्रम दिन सकेको देख्दा म आफैंलाई अनौठो लाग्छ ।

पार्टी एउटै छ, म पनि अध्यक्ष नै छु, कुनै पुलिस खुमलटारतिर फर्कियो भनेर भोलिपल्ट खबरदार त्यता हेरिस् भने भन्ने । यस्तो पनि हुन्छ दुनियाँमा मान्छे ! जसले पाँचै वर्ष तपाईं नै खानुहोस् भन्यो, उसैलाई चारैतिर सीआईडीहरूको घेरा राखेर को आउँछ को जान्छ गर्ने ? यति प्रतिशोधी, यति अहंकारी प्रवृत्ति रहँदासम्म एमालेसँग गठबन्धन संभव छैन ।

तपाईंलाई मन फेर्न गाह्रो हुन्न फेरि…

त्यो प्रवृत्ति परास्त गर्नेले लिडरसिप लिने स्थिति भयो भने वार्ता त हुनसक्छ । तर अहिलेकै नेतृत्व रहँदासम्म मैले त्यस्तो संभावना देख्दिनँ ।

यसो फर्केर हेर्दा कस्तो लाग्छ मलाई भने जनयुद्ध चलिरहेकै बेला सात राजनीतिक दलसँग समझदारी गरियो । पछि संयुक्त आन्दोलन पनि भयो । विस्तृत शान्ति सम्झौता भयो । अहिलेको एमालेको मूल नेतृत्वमा आएकालाई त्यतिबेला मन परेको थिएन ।

संविधानसभा हुन्छ, देशमा गणतन्त्र आइहाल्ला भन्ने लागेको थिएन, तर भयो । संविधानसभाबाट संविधान बन्यो, उहाँले पनि हस्ताक्षर गरेपछि मान्नुभयो होला भन्ठानेको थिएँ । उहाँले त मान्नुभएको रहेनछ, ढुकेर बस्नुभएको रहेछ । यस (प्रचण्ड)लाई सिध्याउन पाए त संविधान च्यातिदिनुपर्छ, संविधान जतासुकै जाओस् भन्ने पनि लागेको रहेछ ।

धर्मनिरपेक्ष भनेर सही गर्नुभएको छ, मेरो निर्वाचन क्षेत्र (चितवन–३) मा राम, लक्ष्मण, सीता लगिदिएर हैरान हेर्नुस् । मान्छेसित लड्न त केही थिएन, राम–लक्ष्मण–सीतासित कसरी लडौं ? तर उहाँले मसँग लड्न पठाइदिनुभयो । यस्तो खालको पूर्वाग्रह, यति धेरै निषेधात्मक र प्रतिशोधी प्रवृत्ति रहेसम्म केही हुने देख्दिनँ ।

फेरि १२ बुँदे समझदारीको मुख्य नेतृत्वकर्ता कांग्रेसबाट गिरिजाप्रसाद कोइराला, माओवादीबाट म, बाबुरामजी थियौं । एमालेमा माधवजी हुनुहुन्थ्यो । अहिले त्यो गठबन्धन यता छ । हिजैदेखि संविधानसभा गणतन्त्रको विरोध गर्नेहरू उता छन् ।

दुइटा गठबन्धन दुइटा धारजस्तो हुन गएको छ । मंसिर ४ गते साँच्चै महासंग्राम जस्तो हुँदैछ । परिवर्तनका पक्षधरको जित हुने कि त्यसलाई पछि फर्काउनेहरूको जित हुने भन्ने फैसला हुनेवाला छ ।

चुनावपछि फेरि वाम एकताको नारा लाग्छ, कम्युनिस्टहरू एक हुन्छन् भन्नेहरू पनि छन् नि ?

राम्रोसँग विचार, प्रवृत्ति नबुझ्नेहरूले वा जानीबुझी बुझपचाउनेले मात्रै त्यसो भन्ने हो ।

हिजो कम्युनिस्टहरू मिल्दा सजिलो हुन्छ भनेर प्रस्ताव गर्ने म नै हुँ, केपी ओलीले वाम गठबन्धन र कम्युनिस्ट एकताको प्रस्ताव गर्नुभएको होइन । जनमत पनि कम्युनिस्ट मिले हुन्थ्यो भन्ने छ, मिलेर जाँदा ठिक हुन्छ भनेर मैले वाम गठबन्धन गरेर चुनाव लडौं, चुनावपछि पार्टी एकता गरौं भन्ने प्रस्ताव राखेको हुँ ।

तर किन यस्तो भयो त ? कम्युनिस्ट त पहिलेका रूसमा पनि चीनमा पनि कम्युनिस्ट पार्टी थिए । एकातिर माओत्सेतुङ नेता थिए, अर्काेतिर ख्रुश्चेभ । उहाँहरूको विचार, प्रवृत्ति र दृष्टिकोणमा यति ठूलो झगडा भयो कि कम्युनिस्टबीच भिडन्त हुने स्थिति आयो । माओत्सेतुङले के गरे ख्रुश्चेभले के गरे स्पष्टै छ ।

कम्युनिस्ट नाम लिएर कम्युनिस्टलाई नै सिध्याउन खोज्ने शक्तिलाई सिध्याउन बरु बुर्जुवासँग एकता गरेर भए पनि दुई देशको युद्ध माओले रोक्नुभयो । शक्ति सन्तुलन आफ्नो पक्षमा पार्नुभयो र अघि बढ्नुभयो । यो बुद्धिमानी हाम्रो यहाँ पनि त्यही भयो ।

मान्छेहरूले भन्छन्, कांग्रेससँग किन भयो ? अप्ठ्यारो मान्छन् । भोट ट्रान्सफर पनि लेफ्ट लेफ्ट हुँदा सजिलो थियो, अहिले हसियाँ हथौडा र रुखमा गाह्रो भन्छन् । तर किन यस्तो भयो त ? किनकि तत्कालीन प्रधानमन्त्रीले संसद विघटन गर्ने, संविधान च्यात्ने काम गर्नुभयो । बाहिरी दुनियाँलाई भ्रम दिनलाई भनेर हुन्छ ? नागरिकता विधेयकको सन्दर्भमा राष्ट्रपतिको काम के हो ? त्यो केपी ओलीभन्दा बाहिर छ ? सबैले बुझेका छन् ।

अहिले पनि गणतन्त्र उल्ट्याउने मन छ । उहाँको कोसँग मोर्चाबन्दी भइरहेको छ ? सीधै राजसंस्था स्थापना हुनुपर्छ भन्नेसँग गरेका छन् कि छैनन् ? यो परिस्थितिमा संविधान, गणतन्त्र बचाउन कांग्रेस प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भयो भनेर आयो । हामी ७० वर्षभन्दा बढी समय लडेर ल्याएको लोकतन्त्रमाथि घात हुँदैछ भनेर सडकमा आयौं ।

अनि, हामीले उही माओले निक्सनसँग गरेजस्तै कांग्रेससँग सहकार्य गर्‍यौं । जनताले के बुझ्न आवश्यक छ भने संविधान, लोकतन्त्र, संघीयता समावेशी बचाउन तयार हुने शक्तिसँग एकता गर्नु विल्कुल जायज हो । शान्ति प्रक्रिया टुंग्याउन र देशलाई समृद्धितिर लैजान हिजो गिरिजाबाबु र मेरो बीचमा भएको सम्झौताकै निरन्तरता हो यो गठबन्धन ।

एमाले बाहेक एकीकृत समाजवादी र अरू पार्टीहरूसँग चाहिं पार्टी एकता हुने सम्भावना छ ?

त्यो सम्भावना छ, छलफल पनि चलिरहेको छ । माधव नेपालजीहरूसँग अलि अगाडि नै पार्टी एकता संयोजन समिति बनाउने करिब करिब सहमति नजिक पुगेका थियौं । चुनावको मुखमा गर्दा विभिन्न अर्थ लाग्ला कि भनेर पनि छलफल गर्दै जाउँ भन्नेमा राखेका छौं । बाबुरामजीले नेतृत्व गरेको समाजवादी र माओवादी सहकार्य गरेर एउटा विन्दुमा एकता हुने बाटोतिर अघि बढिसकेको छ अरू सानो पार्टीहरूसँग पनि एकता गर्ने र ध्रुवीकरण गर्नेतिर छौं ।

एमालेभित्र पनि अलिकति इमानदार, अलिकति विचार, निष्ठा र सिद्धान्त राख्ने साथीहरूसँग अहिले पनि हाम्रो कुराकानी चलिरहेकै छ । एमाले सबै सोलोढोलो एकै खाले छन्, सब केपीका हनुमान छन् भनेर हेरेका छैनौं, त्यसरी हेर्दैनौं पनि । हामीले पाएकै सिट (रुपन्देही १ मा) घनश्यामजीलाई दिएका छौं ।

उहाँले लोकतन्त्रका लागि केपी ओलीजीको प्रवृत्ति गलत छ भनेपछि हामीले आफ्नो सिट छाडेर सहयोग गर्‍यौं । रौतहटमा प्रभु शाह आउनुभयो, हामीले पाएको सिट साझा बनाएर दिइयो । अरु इमानदार, देश, लोकतन्त्रप्रति साँच्चै निष्ठावान साथीहरूसँग कुराकानी भइरहेको छ । र, एउटा विन्दुमा एमालेको एउटा ठूलो शक्ति पनि यो ध्रुवीकरणको पक्षमा आउँछ भन्ने विश्वास छ

तर तपाईंसहितका नेताहरू विरुद्ध नै ‘नो नट अगेन’ भन्ने अभियान चलिरहेको छ । यहाँको जीवनकालमा यो चाहिं तपाईंको अन्तिम चुनाव होला कि नहोला ?

म चाहिं मेरो अन्तिम भनेर भन्दै भन्दिनँ । किनकि विचार, राजनीति, देश सेवा कहिल्यै उमेरमा कैद हुँदैन । सबै बुढाहरूले मात्र ओगटेर बस्नुपर्छ भन्ने पनि सही होइन, कसको कतिवेला कहाँ आवश्यकता पर्छ भन्ने देश, काल र परिस्थितिमा निर्भर हुन्छ ।

शताब्दी पुरुष सत्यमोहन जोशी केही दिनअगाडि बित्नुभयो, १०० वर्ष नाघेर पनि उहाँले समाजमा सक्रियतापूर्वक योगदान गरिरहन खोज्नुभयो । सिंगै समाजले ल अब बुढो भएका कारणले नगर्नू भनेन । बरु सबैले सम्मान गर्‍यौं, माया गर्‍यौं, उहाँबाट प्रेरणा लियौं । त्यस्तो हुँदोरहेछ नि ! यसको अर्थ सबै १०० वर्ष बाँच्छन्, सत्यमोहन नै हुन्छन् भन्ने छैन ।

त्यसैले पार्टीभित्र आन्दोलनमा राजनीतिक नेतृत्वको पनि आवश्यकता र औचित्य उसको कर्म, जनताको भावना र चाहना र उसले दिने परिणामद्वारा निर्भर हुन्छ । एउटा भर्खरको उमेर भएकाले पनि नेगेटिभ गर्न सक्छ । धेरै वर्ष भएकाले पनि धेरै पोजेटिभ गर्न सक्छ । त्यो अवस्थामा उमेरमा कैद गर्ने कुरा मलाई वैज्ञानिक जस्तो लाग्दैन ।

तर म नै त्यस्तो नेता हुँ, हाम्रो पार्टी नै त्यस्तो पार्टी हो, जसको पार्टीमा युवाहरूलाई प्रोत्साहित गर्नुपर्छ भन्छ । अहिले केन्द्रीय समितिमा २० प्रतिशत युवा छन् । माओवादी मात्र त्यस्तो पार्टी हो, जसले युवालाई एकैचोटि नेतृत्वमा प्रमोट गरेर भोलिको दिनमा विशाल पंक्ति तयार पार्ने पहल गरेका छौं । त्यसैले अहिले प्रचण्ड नो नट एगेन भनेको देख्दा अनौठो लाग्छ ।

म जहाँसुकै गएको छु, जनतामा प्रचण्डले एकचोटि आँट गर्‍यो भने देश बन्छ कि भन्ने आशा पलाएको देख्छु । सबै उस्तै हो भने जस्तै गरेर मलाई नो नट एगेन किन भन्ने ? यो भन्नेहरू चाहिं यो प्रक्रिया के गरी विथोल्ने भन्नेतिर उत्प्रेरित भएको हो कि ?

यत्रो परिवर्तन ल्याएको तुहिएर जाओस् भन्ने हो कि ? जसले यत्रो परिवर्तन ल्याउन त्याग, तपस्या र योगदान गर्‍यो, त्यसलाई अलिकति ह्युमिलेट गर्ने, तिनका विरुद्ध अभियान चलाउने भनेको यो परिवर्तन टुहुरो होस् र मरोस् भन्न खोजेको हो कि ? नत्र किन त्यत्रो कोलाहल मच्चाउनुपर्‍यो !

राम्रा साथीहरू, युवाहरू मिहिनेत गरेर आए जनताले स्वीकारिहाल्छन् नि ! तँ छाड् भन्नुपर्छ र अर्कोलाई ?

दलीय राजनीतिमा जस्तो रस्साकस्सी भयो, त्यो देखेर दिक्दार लागेको पनि होला नि ?

कोही कोहीलाई दिक्दार लागेको पनि होला, तर धैर्य गर्नुपर्छ । राजनीतिमा धैर्यको पनि अर्थ र महत्व हुन्छ । संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति सम्झौता अझै बचपनमै छ, हुर्किंदैछ । यसलाई हुर्किन दिनुपर्छ । यसलाई टुहुरो बनाउने गरी गतिविधि गर्नुहुँदैन ।

भोलि त्यस्तो होला, उहाँहरूले भनेजस्तो युवा आउने होला । तर आजको नेपालमा त्यो स्थिति होइन । अहिले त उहाँहरूले तपाईंहरूले विदा नलिनुस् है, तपाईंहरूले हुर्काएर मात्रै विदा लिनुस् भन्नुपर्ने हो ।

यही संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता जोगाउनुपर्छ, महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, पिछाडिएको क्षेत्र सबैले संविधानमा अधिकार पाएको राम्रो हो भन्ने हो भने नो नट एगेन होइन, वान्स अगेन भन्नुपर्ने हो ।

तस्वीर/भिडियो : चन्द्रबहादुर आले, आर्यन धिमाल





Source link

HamroAwaj

2022-11-02 21:30:34

Leave a Comment