‘जलवायु परिवर्तनमा विश्व तातेको छ, अब नेपाली नेतृत्व तात्नुपर्छ’ – HamroAwaj


म अहिले विश्व जलवायु सम्मेलन (कोप २७) मा भाग लिनका लागि इजिप्टको सामएलसेखमा आएकी छु । यहाँको छलफललाई ध्यान दिएर सुनिरहेकी छु । विश्वका विभिन्न देशबाट आएका सरकारी र गैरसरकारी प्रतिनिधि, अभियन्ता, युवा र व्यापारी सबैको कुरा सुन्दा जलवायु परिवर्तन किन विश्वका लागि महत्त्वपूर्ण मुद्दा बनेको रहेछ भनी बोध भएको छ । अझ त्यसभन्दा बढी, नेपाल र विशेषतः यसको राजनीतिक नेतृत्व किन यस सवालमा छलफल गर्न ढिला गरिरहेको छ भनेर चिन्तित छु ।

हुन त नेपालको सन्दर्भमा जलवायु परिवर्तन आज देखिएको समस्या होइन । यो समस्या पछिल्लो केही समयदेखि हामीबीच नै थियो, जुन आज पनि व्याप्त छ र भोलि अझ भयावह हुने देखिएको छ । औसत तापक्रम बढ्दै जाँदा हामीलाई आगामी वर्षहरूमा असन्तुलित मौसमी अवस्थाको मात्रा अझ धेरै बढ्नेछ भन्ने डर छ । कहिले खडेरी पर्ला भन्ने परि, कहिले बाढीपहिरो, कहिले हिउँ पग्लेला भन्ने पिर, अहिले हिमताल विस्फोट होला भन्ने पिर ।

हुन त नेपालमा प्राकृतिक विपद्का पछाडि जलवायु परिवर्तन एक मात्र कारण हो भनेर सामान्यीकृत गर्न पनि मिल्दैन । बाढी आउनेबित्तिकै जलवायु परिवर्तनलाई दोष लगाइहाल्नुहुँदैन । कतिपय अवस्थामा प्राकृतिक कारणले नै बाढीपहिरोजस्ता घटना घट्छन् भने कतिपय अवस्थामा जलवायु परिवर्तन बाहेकका अन्य मानवीय गतिविधि जिम्मेवार रहन्छन्, उदाहरणका लागि— ‘डोजरे विकास’ । तर, पहिल्यै विद्यमान यस्ता कारणमा जलवायु परिवर्तन पनि थपिंदा हामीमा जोखिम बढेको कुरा चाहिं सत्य हो ।

नेपाल जलवायु परिवर्तनका प्रभावको बढी जोखिममा हुनुका पछाडि मुख्यतः दुई वटा कारण रहेको मैले पाएकी छु । एक त हाम्रो भौगोलिक अवस्था । भौगोलिक विविधतामा जति नै गर्व गरे पनि त्यही विविधता हाम्रा लागि जोखिम भएको छ किनकि कुनै–कुनै भौगोलिक अवस्था जलवायु परिवर्तनका अगाडि अत्यन्त कमजोर सावित भइदिन्छ र विपद्का घटनासँगै विनाशको बाटोमा जान्छ ।

अर्को, हाम्रो देशका अधिकांश जनताको जीविका प्रत्यक्षतः प्राकृतिक स्रोत–साधनमा निर्भर छ । त्यति मात्र होइन, यहाँ मानिसको धर्म–संस्कृति पनि प्रकृतिसँगै गाँसिएको छ । अर्थात्; जलवायु परिवर्तनले यहाँ प्रकृतिको मात्र विनाश हुनेवाला छैन, मानिसको गाँस–बास–कपासमै दैनिक असर पर्न सक्नेछ । संस्कृति र प्रकृतिको अन्तरसम्बन्धका कारण उनीहरूको पहिचान र राजनीतिक अस्तित्व समेत जलवायुमा निर्भर छ ।

जलवायु परिवर्तनको असर हाम्रा हिमालमा रहेको हिउँको बाक्लोपनमा देखिएको छ, जुन प्रत्यक्ष रूपमा देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको पर्यटन उद्योगसँग सम्बन्धित छ । कृषिमा परेको असरबारे त हामीलाई धेरै कुरा थाहा भइसक्यो । बेमौसमी वर्षाले धान बाली नाश गर्दा किसानका आँखामा देखिएको आँसु पत्रपत्रिकामा छ्याप्छ्याप्ती भएको धेरै भएकै छैन । जलवायु परिवर्तनले हाम्रो कुल गार्हस्थ्य उत्पादनमा पारेको प्रभाव बुझ्न अब हामीले ढिला गर्नुहुँदैन ।

यसै कारण जलवायु परिवर्तन नेपालका लागि मुख्य विकासको मुद्दा हुनुपर्छ । यसमा सबैको प्राथमिकता रहनुपर्छ, राजनीतिक नेतृत्वको अझ बढी । राजनीतिक नेताहरू सधैं जनताकै लागि राजनीति गरेको भन्नुहुन्छ । जलवायु परिवर्तन पनि आखिर जनताकै मुद्दा हो, उनीहरूको दैनिक जनजीवनदेखि पहिचानमा असर गरिरहेको मुद्दा हो ।

त्यसैले अब पनि जलवायु परिवर्तनलाई प्राथमिकतामा राख्नुहुन्न भने उहाँहरूको नियत के हो भनेर नै प्रश्न उठाउन सकिन्छ । जलवायु परिवर्तनको मुद्दा उठाउने सबैभन्दा उपयुक्त समय यही हो र त्यसका लागि सबैभन्दा जिम्मेवार समूह राजनीतिक नेतृत्व नै हो ।

हुन त पछिल्लो समय जनतामै पनि जलवायु परिवर्तनबारे चेतना फैलँदो छ । उल्लेख्य आकारको जनसमुदायले यसलाई आफ्नो प्राथमिकता बनाइसकेको छ, विशेषतः नयाँ पुस्ताले । यदि राजनीतिक नेतृत्वले नयाँ पुस्ताको आकांक्षालाई आफूमा समाहित गर्ने हो भने जलवायु परिवर्तनलाई प्राथमिकता नदिई सुखै छैन ।

राजनीतिक दलहरूका लागि आफ्ना परम्परागत प्रतिस्पर्धीहरू भन्दा आफूलाई कसरी फरक देखाउने भनेर यो एउटा मौका पनि हो । जुन दलले जलवायु परिवर्तन र दिगो विकासलाई मुख्य मुद्दा बनाउँछ, उसले स्पष्टतः आफू तत्कालीन लाभभन्दा माथि उठेर देशको दीर्घकालीन विकासका लागि तल्लीन रहेको दाबी गर्न पनि पाउँछ ।

अब बिजुली दिन्छु, बाटो बनाइदिन्छु वा पुल बनाइदिन्छु भनिएका भरमा चुनाव जित्ने समय गयो । नयाँ पुस्ताले बिजुली, बाटो र पुलभन्दा पनि आफ्नो सुरक्षित भविष्यसम्म पुग्नका लागि थप बलिया पूर्वाधार खोजेको छ । त्यो भनेको जलवायु परिवर्तनबाट सुरक्षा हो, जलवायु परिवर्तनका नकारात्मक असरसँग जुध्ने क्षमता हो, प्राकृतिक सम्पदाको दिगो संरक्षण हो, दिगो विकास हो । यी सबै विश्वव्यापी समस्या हुन्, अब तिनलाई स्थानीय सन्दर्भमा समायोजन गर्ने दायित्व दलहरूको हो । जनताले बुझ्ने भाषामा यी मुद्दाहरूलाई अगाडि बढाउन अब उनीहरूले ढिला गर्नुहुँदैन ।

आगामी चुनावका लागि दलहरूले बनाएका घोषणापत्रमा जलवायु परिवर्तन र दिगो विकास उल्लेख गरिएका छन् । अभियन्ताका रूपमा हामी सधैं गुनासो गर्दै रहौंला, तर यी विषयहरू उल्लेखै मात्र हुनु पनि एक हिसाबले प्रगति नै हो भन्ने मैले मानेकी छु । तर अब तिनलाई कार्यान्वयन गर्न लाग्नुपर्छ । अनि बुझ्नुपर्छ कि शब्द उल्लेख गर्नु मात्र पर्याप्त छैन, उनीहरूका मुद्दामा थप स्पष्टता आउनुपर्छ, जलवायु परिवर्तनलाई मूलप्रवाहीकरण गरिनुपर्छ ।

आशा छ, राजनीतिक दलहरूले युवा पुस्तालाई नेतृत्वमा अगाडि बढाएसँगै यी परिवर्तनहरू पनि क्रमशः देखिंदै जानेछन् । अहिलेसम्म चाहिं मूल राजनीतिक नेतृत्वले युवालाई नाराका रूपमा मात्र लिएको छ । प्रमुख राजनीतिक दलहरूले यस अवस्थालाई बदल्ने आँट गरेमा जलवायु परिवर्तनको सामना गर्न हामी अझ सक्षम हुन्छौं भन्ने कुरामा शंका छैन ।

(युवा अभियन्ता केसीसँग अनलाइनखबरकर्मी दिवाकर प्याकुरेलले गरेको कुराकानीमा आधारित ।)





Source link

HamroAwaj

2022-11-07 20:19:08

Leave a Comment