‘हाम्रा उम्मेदवार विजयी मनोविज्ञानमा छन्, गठबन्धन ६५–७५ सिटमा सीमित हुन्छ’ (भिडियो) – HamroAwaj


२१ कात्तिक, काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई बालकोटस्थित उनकै निवासमा भेट्न जाँदा उनी मोबाइलमा टिकटक हेर्दैथिए । त्यसको भिडियोमा उनीविरुद्ध कसैले नारा लगाइरहेको दृश्य थियो । नारा लगाउनेहरू एमाले पक्षधर नै थिए भन्ने बुझ्न सकिन्थ्यो । उनले त्यसलाई दोहोर्‍याएर हेरे । तर कुनै प्रतिक्रिया दिएनन् ।

आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेश सभा चुनावमा एमाले ओलीको नेतृत्वमा प्रतिस्पर्धा गर्न गइराखेको छ । कांग्रेस, माओवादीसहितको चारदलीय गठबन्धनसँग लड्न ओलीले यसबीचमा जसपा, राप्रपा, कांग्रेस बीपीसित केही सिटमा तालमेल गरेका छन् ।

उनले आफ्ना दुई प्रतिष्पर्धीहरु कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै दुईवटा मिसन चलाए । पहिलो, उनले पार्टीको पछिल्लो महाधिवेशन प्रचण्डको विगतको निर्वाचन क्षेत्रमा गराए । दोस्रो, उनले आसन्न संघ प्रदेश चुनावको प्रचार देउवाको गढ मानिने सुदुरपश्चिमको दार्चुलाबाट थालेका छन् ।

उनी स्वयंलाई पनि सजिलो भने छैन । थुप्रै आन्तरिक असन्तुष्टिहरुलाई छोपछाप पार्दै चुनावमा जानुपरेको परिस्थितिका बीच ओली चुनावी कमान सम्हाल्दै छन् ।

गत स्थानीय चुनावमा कांग्रेससँग दोस्रो हुनुपरेको अनुभव अनि पार्टीभित्रका कार्यकर्ताका कतै संगठित, अनि कतै छरिएको मनोविज्ञान लिएर ओली कसरी चुनावमा जालान् ? अनि राष्ट्रका ज्वलन्त मामिलामा उनको पोजिसन कस्तो रहला ?

साधारणतया चुनावको सम्मुखमा जुनसुकै उम्मेदवार अनि नेतालाई आफ्नै किसिमको मानसिक दबाव हुन्छ । ओली भने फुक्काफाल मुद्रामा बसिरहेका थिए । हामीसँग कुराकानी गर्न बस्नुअघि उनी काठमाडौं–धादिङ जोड्ने सुरुङमार्ग अवलोकन गरी फर्केका थिए ।

अनलाइनखबरका लागि हिजो कात्तिक २० गते साँझ ओलीसँग हामीले दुई घन्टा लामो अन्तर्वार्ता गर्‍यौं । यहाँ त्यसको सम्पादित अंश प्रस्तुत छ । अनि अनलाइनखबरको फेसबुक तथा युट्युब च्यानलमा यसको भिडियो समेत हेर्न सकिन्छ ।

चुनाव आउनु अगाडिको मानसिक दबाव कस्तो हुन्छ ? तपाईं आफैं २०४८ सालदेखि धेरै जित, एउटा हारको अनुभव पनि गरिसकेको नेता हुनुहुन्छ । अहिले त आफैं चुनावको नेतृत्व गर्दै हुनुहुन्छ !

म परिस्थितिको सामना गर्ने मान्छे हुँ । चिन्ता, तनाव लिने मान्छे होइन । अभिभारा पूरा गर्नका लागि मैले कसरी काम गर्नुपर्छ त्यसरी गर्छु । चिन्ता लिएर भोट बढ्ने होइन । प्रतिपक्षी कमजोर हुँदैनन् । तनाव लियो भने त झन् खराब हुन्छ । म नो चिन्तावाला हुँ । काम गर्दै जाने हो । कर्मण्येवाधिकारस्ते… ।

तपाईंले खडा गरेका उम्मेदवारको मनोविज्ञान चाहिं कस्तो पाउनुभएको छ ?

उहाँहरूको एकदम विजयी मनोविज्ञान छ ।

वास्तविकतामा आधारित भएर भन्नुस् त, यो चुनावमा तपाईंहरू कति सिट जित्दै हुनुहुन्छ ?

प्रत्यक्षमा ९०–१००, त्यस्तै होला ।

यो त बाहिर भन्ने कुरा होला । तपाईंहरूले कमरेडहरूसँग आन्तरिक छलफलमा चाहिं कति भन्नुहुन्छ ?

त्यही त । ६५–७५ त छाडिदिएँ त ! यो पनि मेरो, त्यो पनि मेरो सेरोफेरो भनेझैं गाउँखाने कथाजस्तो गरेको छैन त मैले । ९०–१०० हाम्रो । ६५–७५ अरूको ।

स्थानीय चुनावमा तपाईंहरू एक्लै एकातिर, गठबन्धनका पाँच दल अर्कातिर थिए । यो बीचमा एक दललाई आफूतिर तपाईंले तानिसक्नुभयो । अहिले चुनावमा दोस्रो भए पनि पपुलर भोट हामीसँगै छ भन्दै हुनुहुन्छ । यो त २०५१ सालमा तपाईंहरूले पहिलो कम्युनिस्ट सरकार बनाउँदा कांग्रेसले चुनावमा दोस्रो भए पनि पपुलर भोट हाम्रै बढी छ भनेजस्तो भएन ?

तपाईंले एकदमै महत्वपूर्ण प्रश्न उठाउनुभयो । सँगै, जे कुरामा मानिसहरू अलमलिएका छन्, ती अलमलिएका मानिसको प्रतिनिधित्व गर्ने प्रश्न तपाईंको आयो । हामी कुन परिस्थितिमा स्थानीय चुनावमा गएका थियौं, अहिले कुन परिस्थितिमा छौं भन्ने हेर्नुपर्छ ।

उहाँहरूले एमालेलाई धुलो चटाइदिन्छौं भनेको होइन ? उहाँहरूले मलाई पार्टीको साधारण सदस्यबाटै निष्कासित गर्नुभयो । एमाले भन्ने पार्टीको अस्तित्व नै छैन भन्दै हुनुहुन्थ्यो । त्यसको अलिक पछि उहाँहरू एमाले अब चौथो भयो भन्न थाल्नुभयो ।

अब सिटलाई पहिलो भन्ने कि मतलाई पहिलो भन्ने ? यो छलफल गर्ने कुरा हो । चुनाव स्थानीय तहको हो । स्थानीय चुनाव हुँदै गर्दा त्यसबेला सांगठनिक व्यवस्थापनको पक्ष अलिक राम्रो भइसकेको थिएन । कार्यकर्ताको मनोबल, अनि जनताकै मनोबल पनि के होला भनेर स्पष्ट भइनसकेका बेला समेत हामीले कांग्रेसभन्दा एक प्रतिशत बढी भोट ल्यायौं । कांग्रेसभन्दा एक डेढ लाख भोट बढी ल्यायौं ।

हाम्रा आन्तरिक व्यवस्थापनका लागि समय पनि पाइसकेका थिएनौं । त्यसैले समय कम भयो । उनीहरू ५–६ भाइ मिलेर सिट संख्या चिरा पारेका थिए । तर त्यस्तो बेला पनि ३८ लाख भोट आयो । जनताले बुझे, एमाले एक्लै लड्छु भन्थ्यो, हो रहेछ ।

एमाले एक्लै लड्छु भन्थ्यो, तर यो बीचमा केही साथीभाइ जुटाइ पनि सक्यो !

हामीले केही सिटमा तालमेल गरेका हौं, कसैसँग गठबन्धन गरेका होइनौं । अनि हाम्रो मात्रै आवश्यकता होइन त्यो । अरूले एमालेसँग लड्न साँठगाँठ गरेका छन् । गठबन्धन नगरे बढारिन्छौं भनेका छन् । एमाले बढारिने शक्ति होइन । एमाले त एक्लै लड्ने हो । दुईचार सिटमा कसैसँग स्थानीय अनुकूलता र आवश्यकताले तालमेल गरेको हो । हाम्रो नीति कसैलाई नजिक आउनै नदिने किसिमको होइन ।

स्थानीय चुनावका बेला आन्तरिक संगठनमा व्यवस्थापन मिलेको थिएन भन्नुभयो, मिलाइसक्नुभयो ?

मिलिसक्यो । अब केही बाँकी छैन । चुस्तदुरुस्त छ अब ।

तर अहिले पनि बागीहरू उठेका छन् !

एकाध त भइहाल्छ । भर्खरै स्थापना गरेको लोकतन्त्रमा सबैथोक अभ्यास भइसकेको छैन । राजनीतिमा व्यक्तिको कर्तव्य अनि संगठन र समुदायको गन्तव्यसँग जोडेर हेर्‍यो भने राजनीति, राजनीति हुन्छ । केवल लाभसँग मात्रै हेरेर अघि बढ्दा गठबन्धनको राजनीति हुन्छ । केही मान्छे गठबन्धनको राजनीतिबाट मुक्त भइसकेका छैनन् । तपाईंले भनेका बागी काजमा आएका थिए, फिर्ता गए ।

प्रभु साह पनि त्यही क्रममा फिर्ता गएका हुन् ?

हो । प्रचण्डजीको भाषण सुन्नुभयो होला नि ! मैले सल्लाहसाथ त्यहाँ एमालेमा राखेको थिएँ । एकदम खास मौकामा प्रयोग गर्ने गरी राखेको थिएँ । अहिले प्रयोग भयो भनेर भन्नुभयो ।

तपाईं टिकट वितरण गर्नमा स्मार्ट हुनुहुन्छ । स्थानीय चुनावमा काठमाडौं उपमेयरमा सुनिता डंगोललाई खडा गर्नुभयो, राम्रो मत पाएर उहाँले जित्नु पनि भयो । अहिले प्रतिनिधिसभामा पनि तपाईंका कडा आलोचक अब्दुस मियाँलाई प्रचण्डविरुद्ध उठाउनुभएको छ । कांग्रेसको टिकट आश गरिराखेका स्वर्णिम वाग्लेलाई समेत एप्रोच गर्नुभएछ !

हामी एकलकाँटे, एकपक्षीय हुँदैनौं । अनुभवी उम्मेदवार उठाउनुपर्छ भनेर बुढापाका थुपार्ने पनि होइन । यो लगातार नदी जस्तो हो । बग्दै जाँदा एक ठाउँ छाडिन्छ, अर्को ठाउँ पुगिन्छ । अगाडि बग्दै जान्छ । नयाँ नेता उत्पादन गर्न लागेका हौं । तपाईंले पुराना कीर्तिमानी खेलाडीमा मात्रै भर पर्नुभयो भने १० वर्षपछि उनीहरू खेलबाटै बाहिर भइसकेका हुन्छन् ।

अर्को कीर्तिमानी निकाल्न पहिलोपल्ट बाँसुरी नफुकिकन, तबलामा पहिलोपल्ट हात नराखी त्यो उस्ताद हुँदैन । पर्दामा कलाकार जाँदा सुरुमा धक मानी–मानी जाला, तर पछि त्यो सुपरस्टार हुन्छ । सुपरस्टारको उपादेयता नसकिंदै अर्कोलाई तथाकथित सुपरस्टार भन्दै सिंगारेर हुँदैन । पुराना, मझौला र नयाँलाई मिलाएर अगाडि बढाउँदै जान्छौं ।

त्यसमध्येमा कतिपयबाट धोका पनि खाइन्छ । कति त प्रभु साहको शैलीमा पनि जान्छन्, होइन ?
फलेका फलमध्ये कुनै पनि झर्दैनन् भन्ने हुँदैन । जति स्वस्थ रूखमा पनि आँप, लिची केही त झरेकै हुन्छन् ।

प्रभु साहले समूह बनाएर जानुअघि तपाईंसँग के भन्ने गर्नुहुन्थ्यो ?

‘तपाईंजस्तो नेता मैले भेटेकै थिइनँ । यस्तो नेता मैले जीवनमा भेटेकै थिइनँ । यस्तो विचारको नेता । मैले विचारको नेता पाएँ । म अब अन्त जान्नँ ।’

तपाईंले हो, हो भन्नुभयो, पत्याउनुभयो !

त्यसमा नपत्याउनुपर्ने कारण पनि थिएन । तर म आँखा चिम्लेर पत्याउने धृतराष्ट्र होइन ।

उहाँका क्रियाकलापलाई सतर्कतापूर्वक हेरिराख्नुभएको थियो ?

अवश्य । हेर्नैपर्ने हुन्छ । व्यक्तिका बोली मात्रै होइन । कसैले आरती उतारेर भजन गाइराखेको छ, तर ध्याउन्न यता–उता तल–माथि केमा छ भन्ने पनि हेर्नुपर्छ ।

स्वर्णिम वाग्लेलाई काठमाडौंको कुनै क्षेत्रबाट लड्न टिकट अफर गर्नुभएको थियो ?

मैले कोसँग कहाँ कुरा गरें सबै भन्दिनँ । स्वर्णिमजीसँग मेरो कुरा भएको थियो ।

तपाईंले सूर्य चिह्नबाट लड्नका लागि ‘अफर’ गर्नुभएको थियो ?

म यसबारे अहिले तपसिलमा जान चाहन्नँ । तर मेरो कुरा भएको थियो ।

तपाईंले फोन गर्नुभएको थियो ?

मैले बोलाएको थिएँ । कुरा गरेको थिएँ ।

बालकोटमै कुरा भयो ?

अँ ।

तर उहाँले केही कारण देखाएर अप्ठेरो जनाउनुभयो ?

के कुरा भयो भन्नेबारे म अहिले केही भन्दिनँ । मैले के भनें, उहाँले के भन्नुभयो भन्ने डिटेलमा जाँदा अर्कै अर्थ लाग्छ । अंश उद्धरण गर्दाजस्तो डिटेलमा जाँदा हुँदैन ।

म अर्को प्रसंगमा लैजान्छु । तपाईं २०७० सालमा त्यस बेलाका एमाले अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा हराएर चुनिएसँगै शक्तिमा आउनुभयो । २०७१ मा पार्टी अध्यक्ष जितेपछि निरन्तर शक्तिमा हुनुहुन्छ । एक किसिमले भन्ने हो भने ७० को दशकलाई सत्ता–प्रतिपक्ष जहाँ बसे पनि तपाईंले बढ्ता प्रभाव पार्नुभयो, जस्तो कि ५० को दशकलाई गिरिजाप्रसाद कोइराला, अनि ६० को दशकलाई प्रचण्डले प्रभाव पार्नुभएको थियो । दशक ७० मा आफूले आर्जेका उपलब्धि, अनि सबै उतारचढावको प्रमुख भागिदार बनेर हेर्दा यो दशकलाई तपाईं कस्तो पाउनुहुन्छ ?

(एकैछिन रोकिएर) ‘स्लो बट स्टिडी विन्स द रेस ।’ ढिलो भए पनि लगातारको प्रयासले दौडमा जित हुन्छ । खरायो र कछुवाको कथामा खरायो दौडेर पर गयो, अनि सुत्यो । कछुवा विस्तारै गए पनि उसले खेल जित्यो । हामीले समृद्ध नेपाल, सुखी नेपाली जस्तो श्रेष्ठतम विचार ल्यायौं । नेपाल राष्ट्रको आकांक्षा नै नेपाल समृद्ध होस्, जनता सुखी होउन् । यो राष्ट्रिय आकांक्षालाई आफ्नो गन्तव्य बनाएको छ ।

यो उद्देश्य प्राप्त गर्न सही नीतिहरू विभिन्न सेक्टरबाट अघि बढाइएको छ । ती नीति कार्यान्वयन गर्न कार्ययोजना बनाएको छ । आवधिक र विषयगत लक्ष्यहरू निर्धारण गरिएको छ । यी सबै काम गर्नका लागि हामीसँग सुदृढ र व्यापक, गतिशील संगठन छ ।

यो संगठन कस्तो भन्दा, जहाँ नेपाली त्यहाँ एमाले । यो नेपालीको पार्टी हो । नेपालभरि व्याप्त छ नै । दुनियाँका जुनसुकै देशमा नेपाली पुगे पनि एमाले त्यहाँ पुगेको छ । राष्ट्रिय आकांक्षा पूरा गर्ने एमालेको गन्तव्यका लागि हामी सक्रिय छौं ।

हामी इमानदारीसाथ देशलाई शिरमा राखेर, कर्तव्यलाई मनमा राखेर, अभिभारालाई काँधमा राखेर अघि बढिराखेका छौं । तपाईंले भने जस्तै म ७० मा संसदीय दलको नेता बनेपछि संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाएँ । अर्को वर्ष पार्टी अध्यक्ष बनेपछि पार्टीको समग्र कामलाई राम्रो बनाउन सबैबाट स्नेह पाएँ ।

हिजोको पुस्ताको गौरव बोकेर नयाँ पिंढीका लागि हामीले आज काम गर्नुपर्छ । पुर्खालाई गाली गरेर देश बन्दैन । भावी सन्ततिले गरिदेलान् भनेर पनि देश बन्दैन । हावाहुरी, पतिंगरसँग बगेर गइयो भने देश बनाउन सकिंदैन । मैले यही कामलाई अघि बढाएँ भन्ने लाग्छ ।

तपाईंले सबैभन्दा ठूलो मत पाउने, अनि ठूलो पार्टी नेकपा बनाउने कामको नेतृत्व गर्नुभयो । माधवकुमार नेपाल, झलनाथ खनाल जस्ता नेताहरूको पनि भूमिका थियो । उहाँहरू पनि प्रधानमन्त्री बन्नुभएको हो । तपाईंहरूले घोषणापत्र लेख्ने बेला उहाँहरूको योगदानको कुनै चर्चै गर्नुभएन नि ?

हामी पद र कुर्सीका पुजारी होइनौं । कुनै ठाउँमा कुर्सी देख्दाखेरि त्यसलाई नमस्ते गर्ने हाम्रो बानी छैन । ग्रीसका राजा थिए र सुकरात ? उनी त सडकमा हिंड्ने जोगी हुन् । तर उनलाई नै दुनियाँले किन मान्छ ? हो, उनले सत्यको पुजारीका रूपमा सत्यप्रतिको सोझो आस्था व्यक्त गरे । गान्धी त्यस्तै थिए । चीनका कन्फ्युसियस, यहींका बुद्ध ।

त्यसैले पदले हुँदैन । कुर्सीमा बसेर नमस्कार गर्न लायक छ भने नमस्कार पनि गर्छौं । जोगी कुटीमा बसेको हुन्छ । दरबारबाट गएकाले उनलाई नमस्कार गर्छ । एकपल्ट गिरिजाप्रसाद कोइरालाजीले संस्मरण सुनाउनुभएको थियो ।

गान्धीलाई भेट्न सरायँ जाँदा उनी चट्टलमा बसिराखेका, धोती लगाएर बसेका । सरायँ परैबाट लावालस्करसहित आएका, तर परैबाट गान्धीलाई निहुरिंदै नमस्कार गर्दै आए । गान्धीले जुन भारत छोडो अभियान चलाए, त्यस बेला कतिले उनलाई भने होला, यहाँ खाटमा भाषण गरेर हुन्छ, बन्दुक उठाउनुपर्छ । तर गान्धीले हाम्रो भूमि छाडेर जाउ भनेका थिए, शान्तिपूर्वक । त्यसैले उनी महान् भए । हामी पगडीका होइन, विचारका पुजारी हौं ।

तपाईंले माधवकुमार नेपाल पार्टीको नेतृत्वमा छँदा बलियो गरी साथ दिएकै हो । त्यत्तिकै साथ दिनुभएको त होइन होला । केही त बताइदिनुस् माधवजीका सबलताहरू के थिए होलान् ?

यसो गरौं न, सबै कुरा मैले नै किन ? तपाईंहरू पनि खोज अनुसन्धान गर्नुस् न ! विचारको हिसाबले, अध्ययनको हिसाबले, देशलाई माया गर्ने हिसाबले, विकास र भिजनका हिसाबले, कर्तव्य परिपालनाको हिसाबले, दृष्टिकोणहरूमा अडान राख्ने हिसाबले, कुनै हिसाबले सबै कोणबाट तपाईंहरू हेर्नुस् ।

उहाँ ७० लाग्न लाग्नुभयो । यति उमेर भइसक्यो, यत्रो उमेरमा के राम्रा काम गर्नुभो ? (एकछिन रोकिएर) अँ, उहाँले छात्रवृत्तिमा छोराछोरीलाई पढाउनुभयो । निरक्षर राख्न सकिन्थ्यो । राम्रै छात्रवृत्तिमा पढाउनुभयो । त्यसका लागि उहाँले आफ्नो क्षमता र सीपको प्रयोग गर्नुभयो । त्यस्ता केही राम्रा कुरा पनि होलान् । तपाईंहरू पनि खोज्नुस् न !

झलनाथजीकाे ?

झलनाथ खनालजीका पदको पगडीबाहेक अरू केके राम्रा छन्, कुरा । पदको पगडीमा कोको पुग्छ पुग्छ । इदि अमिन भन्ने युगाण्डाका राष्ट्रपति थिए । यस्तो इतिहासमा धेरै पटक हुनसक्छ, हुन्छ । इतिहासमा के हुन्छ भन्ने अहिले नभनौं, चुनाव प्रभावित गर्न खोजेको जस्तो देखिन्छ । को मान्छे किन प्रधानमन्त्री हुन्छ ? आमाको कोख सफल पार्‍यो, प्रधानमन्त्री भयो भन्ने हो कि अरू केही पनि अर्थ छ । यस्तो कुराहरू अलिकति तपाईंहरूलाई पनि जिम्मा छाडिदिन्छु । मलाई किन तान्न खोज्नुहुन्छ, यो राम्रो गुण भन्यो भने अर्को राम्रो गुण, अर्को राम्रो गुणको कुरा आउला ।

गुणहरू भन्दै जाँदा केही छुट्न सक्ला भनेर नभन्नुभएको त होइन ?

छुट्न सक्छ । (हाँसो)

योपल्ट तपाईंको चुनावी अभियान सुदूरपश्चिमको पहाडी ठाउँ दार्चुलाबाट भयो । लिम्पियाधुरा लिपुलेकसहितको चुच्चे नक्सा मानचित्रमा समेटिए पनि अधीनस्थ भूमि ल्याउन बाँकी नै छ । यो परिस्थितिमा तपाईंले त्यहाँबाट चुनावी अभियान सुरु गर्नुभो । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम नै गएर तपाईंलाई एउटा प्रश्न सोध्नुभएको छ, ‘ओलीजी दार्चुलामा भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ ?’ यद्यपि, तपाईं चाहनुहुन्थ्यो, देउवासँग लाइभ डिबेट नै गरौं । तपाईंको त्यो मनोकांक्षा यो पटक पूरा हुने देखिएन । तर तपाईंलाई यो प्रश्न उहाँले राख्नुभएको छ । तपाईं के भन्नुहुन्छ ?

प्रश्न न्यायको हो । सत्यको र इतिहासको हो । प्रश्न राष्ट्रको भूभागको हो । र, यो कुनै बनावटी कथा, आग्रह, पूर्वाग्रह र कसैप्रतिको राग द्वेषबाट उब्जिएको होइन । हामीले ब्रिटिश इण्डियासँग लडाइँ गर्‍यौं । युके ग्रेट ब्रिटेन भनिन्थ्यो । घाम अस्ताउँदैन उसको साम्राज्यमा भनिन्थ्यो । त्यस्तो एउटा उपनिवेशिक शक्ति जसले चीनलाई पनि आफ्नो उपनिवेश बनाएको थियो ।

यता दक्षिणमा भारतलाई अंग्रेजले उपनिवेश बनाएको थियो । ऊ आफ्नो उपनिवेशबाहेक दुनियाँमा केही पनि रहनुहुँदैन भन्ने मान्यता राख्थ्यो । र, केही उपनिवेशिक शक्ति थिए । तिनीहरूको मान्यता त्यो थियो । त्यसमध्ये ग्रेट मात्र होइन, ग्रेटेस्ट चाहिं यूके थियो । ग्रेट ब्रिटेन । अब त्यस्तो समयमा हामीमाथि उसले आक्रमण गरेर हाम्रो देशलाई पनि उपनिवेश बनाउन खोज्यो । कब्जा गर्न खोज्यो ।

तर, हाम्रा पुर्खाहरूले त्यसको लडाइँ स्वीकारेनन् । बलिदान गरेर रचना गरेको यो देश हामी छाड्ने कल्पनै गर्न सक्दैनौं । बलिदान हुन तयार छौं । पुर्खाले चुरेबाट मास्तिर अंग्रेजलाई छिर्न दिएनन् । बुटवल होस्, सिन्धुलीतिर होस् कि ! तराईका समथरसम्म अंग्रेज आउनसक्यो, त्यहाँबाट मास्तिर आउन सकेन ।

त्यसपछि अंग्रेजका लागि पनि सम्झौता आवश्यक भयो । पुर्खाहरूले के सोचे भने हाम्रा लागि पनि सम्झौता आवश्यक छ । नत्र हामी अनवरत युद्धमा अल्झिरहन्छौं, सानो देश । युद्धले गर्दा कति भूमि गुम्यो भन्ने पनि टुंगो नहुने भयो, हामी आफ्नो नियन्त्रणमा लिन खोज्छौं । फेरि क्षति भइरहन्छ । उसले अतिक्रमण गर्न खोजिरहन्छ । र, त्यसबाट पनि एउटा सम्झौता गर्नुपर्ने भन्ने भयो ।

त्यसपछि दुवै पक्षको हिसाबले लडाइँ अन्त्य गर्नका लागि सम्झौता भयो, जसलाई सुगौली सन्धि भनिन्छ । सुगौली सन्धि १८१६ जनवरीमा भयो र मार्चबाट त्यसलाई कार्यान्वयनमा ल्याइयो ।

त्यससन्धिले पश्चिमको सिमानालाई महाकाली नदी भन्यो । नदी सिमाना भनेपछि स्वाभाविक रूपमा उद्गमदेखि जहाँसम्म छ, दक्षिणको भूभाग त्यहाँसम्म त्यो नदी सिमाना हुन्छ । अहिले चाँदनी र दोधारा पश्चिममा छन् । पहिले महाकाली पश्चिममा थियो । नदीको धार बदलिंदा पनि सिमाना बदलिंदैन ।

तसर्थ, नदीले धार बदल्न सक्छ, बदल्छ; ठाउँ पायो भने । सीमा बदलिंदैन । त्यस कारण पहिले पल्लोपट्टिबाट चाँदनी दोधारा नदी बग्थ्यो, अहिले वारिपट्टिबाट सीधै नदी बग्दा हाम्रो एउटा नगरपालिका उतापट्टि छ । यो चाहिं उद्गम कहाँ हो भन्दा लिम्पियाधुरा पहाड हो ।

यसको उल्लेख महाकाली नदीको उद्गमको सन्दर्भमा स्कन्दपुराणको मानस खण्डमा महाकाली अर्थात्, काली नदीको उद्गमस्थल भनेको लिम्पियाधुरा अर्थात् लिपु भन्ने लेक छ । त्यसको डाँडो चाहिं धुरा भन्ने डाँडा छ । त्यो लिपुलेकको पश्चिमपट्टि लिम्पियाधुरा छ । त्यो लिम्पियाधुराबाट महाकालीको उद्गम हुन्छ भनेर लेखेको छ ।

त्यसकारण यो आजको प्रश्न होइन । त्यसलाई प्रमाणित गर्न पुराण पढे हुन्छ । अहिले अरू धेरै गर्नु पर्दैन । महाकाली नदी सिमाना हो । कहाँबाट हो भन्दा महाकाली नदीले जहाँबाट भन्छ त्यहींबाट हो । एउटा पोखरी बनाउने काली दह भन्ने । एउटा मन्दिर बनाउने काली मन्दिर भन्ने । अनि, एउटा खोल्सी बग्छ, त्यसलाई काली नदी भन्ने । तल खोलो छँदैछ, अनि यहाँबाट गएको एउटा खोल्सीलाई महाकाली नदी भन्ने कुरा उपयुक्त होइन ।

यो कुरा कहाँबाट आयो भने सन् १८१६ बाट भोगचलन गरिआयौं, हामीसँग प्रमाणहरू छन् । र, सुगौली सन्धिपछि १४६ वर्षसम्म नेपालले त्यो भूभागको भोगचलन पनि गर्‍यो । तर सन् १८१६ देखि १९६२ अर्थात् १४६ वर्षपछि भारत र चीनका बीचमा हात हालाहालको स्थिति भयो । त्यतिबेला भारतले एउटा फौजी टुकडी ल्याएर २०१८ साल अथवा १९६२ मा कालापानी भन्ने ठाउँमा राख्यो ।

त्यसबेला भारतको स्थिति र मानसिकता के थियो भने १९५२ मा मातृकाप्रसाद कोइराला नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री हुनुभएको थियो र उहाँले १९५२ को माघ ४ गतेदेखि ११ गतेसम्म भारतको भ्रमण गर्नुभएको थियो ।

त्यो भ्रमणबाट फर्किंदा उहाँले उत्तरको सिमानामा १७ वटा भारतीय फौजी चेकपोष्ट राख्ने भनेर सम्झौता गरेर आउनुभएको थियो । र, १९५२ बाट फौजी चेकपोष्ट कांग्रेसले उत्तरमा राखेको थियो । त्यसलाई नेपाली जनताले विरोध गरिरहेका थिए । त्यो चाहिं सम्झौता अन्तर्गत भएको थियो ।

त्यो पहिले छँदै थिएन, त्यसमाथि १९६२ मा भारतले अर्को एउटा कालापानीमा थप्यो, एकतर्फी रूपमा । यहाँ भूभाग कब्जा गरेको थिएन । १९६२ मा १० वर्षपछि थपेको कालापानीको सैनिक पोष्ट त्यसले ब्लक गरिदियो र त्यसउता जान दिएन । र, त्यसउताको भूमि आफूले भोगचलन गर्न थाल्यो, त्यो चेकपोष्ट राखेपछि । नेपालसँग परामर्श गरेन, सहमति लिएन । त्यो यथार्थ हो । र, अहिले ६० वर्ष भयो, हामीबाट गुमेको ।

२०२६ सालमा कीर्तिनिधि विष्टले ती १७ वटा चेकपोष्ट हटाइनुपर्छ भनेर पत्राचार गर्नुभयो । र, ती हटे । म सम्माननीय प्रधानमन्त्रीजीलाई सम्झाउन चाहन्छु, उहाँको तत्कालीन सभापति, उहाँ जस्तै उहाँको पार्टीको प्रधानमन्त्रीले १७ वटा उत्तरमा राखेका भारतका सैनिक चेकपोष्टहरू कीर्तिनिधि विष्टले कुराकानी र पत्राचारबाट हटाउनुभएको थियो । बन्दुक लिएर जानुपरेको थिएन ।

शेरबहादुरजीलाई इतिहास याद होस् । ए… बाबा कसैले श्रवण त गराइदिएहुन्थ्यो नि ! श्रवण त गराइदिनुस्, इतिहास के भएको थियो भनेर । उहाँले त्यो बिर्सिनुभयो । हतियार लिएर जानुपर्दैन । हतियार लिएर जानु नि त ! बन्दुक लिएर जाउ न त भन्नुभयो । हामीले लडाइँ खोजेको हो र ? हामीले लडाइँ खोजेको होइन ।

२०२६ सालमा कीर्तिनिधि विष्टले पत्राचार गर्दा कालापानीमा भारतीय चेकपोष्ट छ भन्ने कुरा गुपचुप राखियो । प्रधानमन्त्रीसम्म पनि पुर्‍याइएन । यथार्थ कुरा के हो भने उहाँलाई भारतीय सैनिक चेकपोष्ट छ भन्ने कुरा थाहै भएन । त्यसबेला आवागमनको हिसाबले, सञ्चारको हिसाबले एकदम दुर्गम हो ।

यस्तो अवस्थामा हामीले नक्सा छाप्यौं । हाम्रो भूभाग हो भनेर दाबी गर्‍यौं । हाम्रो भूभाग छाड्नका लागि एकठाउँ बसेर वार्ता गरौं, छलफल गरौं भन्यौं । र, हामीले नक्सा पनि छाप्यौं, त्यो नक्सा संविधानको अनुसूचीमा राखेर संविधानको अंग पनि बनायौं । यो फिर्ता लिनुपर्छ भन्ने कुरा शेरबहादुरजीलाई फिर्ता लिनुहुन्न, यो अनावश्यक कुरा हो भन्ने लागेको रहेछ ।

तर संविधान संशोधनमा उल्लेख गरेको नयाँ नक्सामा त उहाँले पनि हस्ताक्षर गर्नुभएको छ नि ?

उहाँलाई त्यसबेला बाध्यता थियो । उहाँले त्यतिबेला के भन्नुभएको थियो भने मेचीको मान्छेले आएर मेरो ठाउँमा सुदूरपश्चिमको म, मेरो ठाउँको भूभागको दाबी गरेर नक्सा बनाएर संविधान संशोधन गरौं भन्दा म त्यहींको मान्छेले गर्दिनँ भन्यो भने मेरो जनताले के भन्छ । त्यसकारण म बाध्य छु भन्नुभयो । मैले त गर्नैपर्छ नि भन्नुभयो ।

उहाँको अप्ठ्यारो के थियो भने नगरी नभएको थियो । किनभने, कहाँको मान्छेले देख्ने, कहाँकोले नदेख्ने भन्ने हुन्छ । झुलाघाटको पुल छैन भन्ने कुरा म मेचीबाट देख्छु, काठमाडौंबाट देख्छु । शेरबहादुर देउवा त्यहींबाट देख्नुहुन्न । पिथौरागढ र डडेलधुरा जोड्ने पुल चाहिन्छ भन्ने उहाँले किन देख्नुहुन्न ? त्यहाँ तुइनहरूमा मान्छे झुण्डिएका, मरेका, मारिएका किन देख्नुहुन्न ? त्यसबारे किन कुरा उठाउनुहुन्न ?

पाँच पटक प्रधानमन्त्री हुनुभयो, किन कुरा उठाउनुहुन्न ! मैले त प्रधानमन्त्री भएर तुइन विस्थापित गरेको छु । झोलुंगे पुल बनाएको छु, पक्की पुल बनाएको छु । अब तपाईंलाई एउटा कुरा भनौं, उहाँले एउटा एकदमै गलत कुरा के उठाउनुभएको छ भने यो विषय लडाइँ गर्नका लागि बन्दुक बोक्नका लागि उठाइएको विषय होइन । यो संवादमार्फत न्याय, सत्य स्थापित गर्ने, सम्झौता अनुसार स्थापित गर्ने र अन्तर्राष्ट्रिय सीमासम्बन्धी प्रश्न, नदीको मुहान सम्बन्धी प्रश्न सबै अन्तर्राष्ट्रिय रूपमा पनि तय छन् ।

स्कन्दपुराणमा पनि हेरौं न ! महाकालीको उद्गम १९६२ मा भइसकेपछि ताल बनाएर मन्दिर स्थापना गरेर उद्गम भएको तिर्तिरेलाई काली भन्ने काम जुन भएका छन्, त्यो होइन भन्नका लागि अन्तर्राष्ट्रिय मान्यता छन् । त्योसँगै स्कन्दपुराणको विषय पनि चाहिन्छ ।

भारतसँग सन्धि सम्झौताका कागजी प्रमाण सुरक्षित हुँदाहुँदै तपाईं किन मिथ र पुराणको सहायता लिनुहुन्छ ?

कतिपय मिथ, पुराण मात्रै नभन्नुस् न । कतिपय कुरा अवश्य मिथ छन् । थुप्रै कुरा मिथ बनेका छन्, मिथमा आधारित पनि छन् । तर, स्कन्दपुराणको कतिपय ठाउँमा मिथ छैन । महाकाली नदीको सिरान लिपु भन्ने पहाड छ । त्यो एउटा ठाउँमा चाहिं लिम्पियाधुरा भन्ने ठाउँ छ, त्यहाँबाट उद्गम हुन्छ भनेर लेखिदिनु चाहिं मिथ होइन ।

संसदीय राजनीति कति कुटिल हुन्छ । तपाईंका एक प्रतिस्पर्धी प्रचण्डलाई यस्तै मिथको राम जन्मभूमि नेपालको राजनीतिक मानचित्रभित्र पर्छ, त्यो चितवनमै पर्छ भनेर अप्ठेरो पारिदिनुभयो ।

पार्टीको महाधिवेशन पनि प्रचण्डकै क्षेत्रमा लगेर विशाल सभाबीच गराउनुभयो । अहिले दार्चुलाबाट चुच्चे नक्साको भाषण गरेर अर्का प्रतिस्पर्धी देउवालाई अप्ठेरो पार्दै हुनुहुन्छ । देउवाकहाँ गएर उनीविरुद्ध उठेका कांग्रेस बीपीका उम्मेदवारलाई सघाउने घोषणा पनि गरिसक्नुभयो !

के उसो भए महाधिवेशन झापामा गर्नुपर्थ्यो ?

उहाँले त यत्रा ठाउँहरू हुँदाहुँदै चितवनमै किन भनेर तपाईको नियतमाथि प्रश्न उठाउनुभयो नि ?

चितवन नेपालको मध्य–मध्य भागमा पर्छ । पूर्वपश्चिम सबैतिरबाट आउनलाई सजिलो हुन्छ । अनि त्यहाँ नगरेर के महाधिवेशन सोलुखुम्बु, मनाङ लगेर गर्ने ? अहिले त्यहाँ बसोबासको प्रबन्ध कसरी हुनसक्छ ? यो सबै कुराको प्रबन्ध कसरी हुनसक्छ ?

त्यसकारण चितवन महाधिवेशन गर्न अनुकूल ठाउँ हो । हाम्रो देश हिमाल, पहाड, तराईको क्षेत्र हो । तराईका मान्छे पनि टिक्ने, पुग्ने ठाउँ चाहियो । फेरि एकैठाउँ त गरिरहनु भएन नि ! हामीले बुटवलमा पनि गर्‍यौं महाधिवेशन, नेपालगञ्जमा पनि गर्‍यौं । जनकपुरमा गर्‍यौं । अनि, चितवनमा चाहिं गर्नु नहुने भन्ने किन ? उहाँको जन्मथलोमा महाधिवेशन गरेको छैन ।

प्रचण्ड त्यहाँको क्षेत्र छाडेर पहाड उक्लिनुभयो । त्यसपछि तपाईंले दार्चुला गएर देउवालाई तारो बनाउन थाल्नुभएको हो ?

उसो भए त कतै हिंड्नै नहुने भयो । मैले उहाँहरूबाट निषेधित क्षेत्र अथवा जान नमिल्ने क्षेत्रहरू सोधेर त्यसबाहेकका क्षेत्रमा मात्रै जानुपर्‍यो ।

त्यसमाथि धेरै लामो समयसम्म देउवाको स्वकीय सचिव बनेका व्यक्ति जो अहिले देउवाविरुद्ध लडेका छन् । उनलाई अहिले तपाईंले समर्थन गरिदिनुभयो ?

उहाँहरूको तपाईंले कुरा सुन्नुभएको छैन कि क्या हो ! मैले कुरा सुनें । सुन्दाखेरि के लाग्यो भने उहाँले भन्नुभो, कांग्रेस साह्रै बिग्रियो । कांग्रेस कांग्रेसजस्तो भएन । हामी कांग्रेसलाई कांग्रेसजस्तै बनाउन चाहन्छौं । मैले खोजेको पनि त्यही हो ।

नेपालमा दुई वटा दर्शन–विचार, दुई सिद्धान्त, नीति, सोच कार्यक्रम । यो दुईवटा राजनीति, अर्थनीति सबै कुरामा भिन्नता भएको इतिहास भएको । अहिले कुनै फुत्त निस्किएर कुदेको होइन नि कांग्रेस । अहिले निस्किएर कुदेका छन् नि कतिपय, यस्तो यो हल्काफुल्का ढंगले देश बनाउने कुरालाई रमाइलोका लागि… ।

को को निस्किएका छन् त्यसरी ?

को–को निस्किएका छन्, त्यतातिर नजाउँ न ! देश बनाउने कुरा कसैले कस्तो भने रमाइलो जस्तो गरेर गरेका छन् । त्यस्तो एउटा पुरानो पार्टी र लोकतन्त्रका लागि काम गरेको कांग्रेस जस्तो पार्टी र हाम्रो पार्टी यी दुइटा पार्टी इतिहास भएका पार्टी । तर कतिपयलाई त राणाशासन ढालेर पनि देश बर्बाद भयो भन्ने लाग्छ ।

राणाशासनका पुजारी अहिलेसम्म पनि छँदैछन् । पञ्चायतका पुजारी अहिलेसम्म पनि छँदैछन् । केही पञ्चायतका प्रेत अहिलेसम्म पनि पूजा गरिरहेका छन् । धुप बालिरहेका छन्, पञ्चायतको प्रेतलाई । यस्ता तन्त्रहरू विभिन्न खराब तन्त्रहरू छन् । यस्ता तन्त्रहरूका पुजारीहरू त्यो आफूलाई समयअनुसार अघि बढाउन नसक्ने, बदल्न नसक्ने र अलिक जड चिन्तन भएकाहरू छन् ।

त्यस्ता पुजारीमध्ये दुई राप्रपालाई दुईतिर राखेर एमालेले छलफल गराइराखेको हो ? एउटा राप्रपालाई त सूर्य चिह्नबाटै लड्न दिनुभएको छ । भूपिको कविता जस्तै, उनीहरू आफैं मिल्न नसक्ने, अरूले अर्थात् एमालेले मिलाइदिनुपर्ने !

यो के हो भने नि, तपाईंले कसैको नाम हेर्नुभयो । कम्युनिस्ट पार्टीको नाम टाँसेपछि यो कम्युनिस्ट पार्टी नै हो भन्ने ठान्नुहुन्छ । रामनाम ओढेर कुनै बेलामा कोही जाँदैमा त्यो पवित्र महान् साधु सन्त नै रहेछ भन्ने भ्रममा नपर्नुस् ।

तर, राजेन्द्र लिङ्देनले त संवैधानिक राजसंस्था चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ भनेर खुलेआम घोषणा नै गरेका छन् नि !

त्यो उहाँको पार्टीको कुरा हो । नेपाली कांग्रेसभित्र पनि त्यसो भन्ने मान्छेहरू थुप्रै छन् । तपाईंले नसुन्नुभएको हो कि ! राजेन्द्र लिङ्देनसँग राजनीति ठ्याक्कै मिल्नेहरू खालि पार्टी मात्रै फरक भएका मान्छेहरू त त्यही नारा दिनेहरू कांग्रेसभित्र थुप्रो छन् ।

त्यसैले कसको के छ त्यो ठूलो कुरा होइन । अहिले चुनावी तालमेलमा हामी हाम्रो नीतिमा छौं । हाम्रो संकल्प, हाम्रो नीतिदेखि लिएर सबै कुरा सिलसिलाबद्ध छन् । यसमा उनीहरूको नीति आफ्नो ठाउँमा छ । हामीले गर्ने तालमेल नीति, सिद्धान्त, विचार, दर्शन र उनीहरूको कार्यक्रममा होइन ।

केवल चुनावी सिट र संख्यामा मात्रै हो ?

अब यो तालमेल; केही केही सिटमा यो सिटमा तिमीहरूले समर्थन गर, यो सिटमा हामी गर्छौं जस्तो कुरा उनीहरूले कमसेकम देशको भूमिको कुरा गर्दा, देशको माटोको कुरा गर्दा किन बोल्ने ? सक्छौ भन्ने बन्दुक लिएर जाउ भनेर त्यति तल्लोस्तरको कुरा गर्ने र त्यति देशभक्ति शून्य खालको विचार व्यक्त गरिरहेका छैनन् ।

हिजोको कुरा गर्नुहुन्छ, प्रचण्ड गरिरहेका के छन् ? माधवकुमार नेपालले के गरिरहेका छन् ? घरमा आगो लगाएर खरानी लिएर गएर कांग्रेसको त्यो पालीमा बास बसेर कांग्रेसलाई ३२९ तहमा सिट पुर्‍याइदिने को हुन् ? ‘शो कल्ड’ कम्युनिस्ट होइनन् ? त्यसकारण नामको कुरा नगर्नुस् न !

फेरि म कांग्रेस (बीपी) मै आइपुगें । कर्णबहादुर मल्ललाई तपाईंले यो विन्दुमा आएर समर्थन गर्नुभयो । र, दार्चुलाबाट चुनावी हुँकार सुरु गर्नुभयो । भनेपछि कांग्रेसलाई यता, उता, माथि, तल, पश्चिमबाट घेर भन्ने नीति एमालेले लिएको हो ?

एक्लै एमालेले घेरेको छ, कांग्रेसलाई ? यो पाँच दल, ६ दलको गठबन्धन छ नि ! त्यसलाई समेत एमालेले एक्लै घेरेको छ । रमाइलो प्रश्न तपाईंको । एउटालाई चितवनबाट उकालो चढाइदिनुभयो गोरखा कति गाह्रो परेको होला । हातमा टोपी बोकेर कुद्दै कुद्दै ठ्याक्कै चुनावको मुखमा उकालो चढ्नुपरेको छ ।

पृथ्वीनारायणका सालिक भत्काउँथे, आज पृथ्वीनारायणका दरबारतिर फर्किएर प्रणाम गर्नु परेको छ । देख्नुभएको छ गर्दै गरेको ? अब एकातिर त्यो, अर्कालाई पनि त्यस्तै होला । कांग्रेसलाई भनिहाल्नुभयो, वरिपरि साथी सहयोगी लिएर हिंडेको कांग्रेस । कांग्रेस कुन ठाउँमा पुग्यो भन्दा २०५ सिट थियो । सिट संख्या प्रतिनिधिसभा जम्मा, २०५ सिटमै उठाउँथ्यो, कांग्रेसले अहिले १६५ सिटमा कति उठाउँछ भन्दा १०५, ७५, ८६, ८४ ।

सहयोगी त लिनैपर्ने भयो नि ! नत्र अघिल्लो पटक तपाईंले २०७४ मा प्रचण्डलाई साथमा लिएर कांग्रेसमाथि के गर्नुभयो भन्ने उहाँहरूलाई थाहा छैन र ?

त्योभन्दा अघि उहाँहरूले प्रचण्डको छोरी काँधमा हालेर हिंडेपछि मैले भनेको थिएँ, कांग्रेसलाई फेरि पनि भन्छु । त्यस्तै गर्ने हो भने हामीसँग राजनीति क्रयशक्ति भन्छ, आर्थिक भनिरहेको छैन । पोलिटिकल एफोर्डिङ पावर (क्रयशक्ति) चाहिं हामीसँग कांग्रेसभन्दा कम नहुन सक्छ है । अहिले पनि शेरबहादुर देउवाजीलाई प्रधानमन्त्रीबाट हटाउन मञ्जुर मैले गरेको भए हट्नुहुन्थ्यो, मैले मञ्जुर नगरेको हो ।

किन ?

त्यसका लागि मैले अराजनीतिक ढंगले चल्नुपर्थ्यो । अराजनीतिक ढंगको साँठगाँठ गर्नुपर्थ्यो ।

देउवाले तपाईंलाई अर्को प्रश्न गर्नुभएको छ डडेलधुराबाट, ‘सुतिरहेकी राष्ट्रपतिलाई मध्यराति उठाएर संसद विघटन गराउने को हो ? हामीले खाली संविधानको धारा ७६ (५) सम्झाएर सांसदको हैसियतमा लिस्ट बुझाउन जाँदा राष्ट्रपतिले नबुझिदिएपछि अदालतसम्म जानुपरेको हो ।’ उहाँले आफूभन्दा पहिल्यै ओलीले अराजनीतिक काम गरेको हो भन्ने आशयमा बोल्नुभो । यो प्रश्नको जवाफ पनि यहीँबाट दिनुस् ।

‘राति दुई बजे उठाएर … ।’ यस्तो बकवास कुराहरु त नगरे हुन्थ्यो राजनीतिमा । किनभने, हामीले कुनै समयमा पेश गरेका हुन्छौं, राष्ट्रपति कार्यालयले कति बजे, कतिबेला स्वीकृत गर्छ त्यो राष्ट्रपतिको कुरा हो । यो कुरा शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाललगायत र कांग्रेसका केही ‘योङ टर्क’ हौं भन्नेहरुले एक स्वरले, एकमुखले भन्ने गरेका छन् । राजनीतिक रुपमा बोले हुन्थ्यो, यस प्रकारले नबोले हुन्थ्यो ।

कांग्रेसका ‘योङ टर्क’हरुलाई तपाईंको के सन्देश छ ?

उहाँहरु पनि बहकिएर कहिले कहिले यस्ता कुरा गर्नुहुन्छ । जो राजनीतिक कुरा होइन, राजनीतिक तरिका पनि होइन ।

ओलीजी, म तपाईंलाई धेरै पटक सोधिएको प्रश्न दोहोर्‍याउन चाहन्छु । अब त सोध्दा सोध्दा यो प्रश्नै बुढो हुन लागि सक्यो । तपाईंले यद्यपि दाबी गर्ने गर्नुहुन्छ, ‘संसदीय व्यवस्थामा संसद विघटन प्रधानमन्त्रीको विशेष अधिकार हो । उसले संसद विघटन गर्न सक्छ । र, ताजा जनादेशमा जाने कुरा सधैं प्रगतिशिल कुरा हो ।’ यसबारे जे सोधिए पनि तपाईंले एउटै सेटमा यसको जवाफ दिँदै आउनुभएको छ । यसमा म यो प्रश्नलाई थोरै भिन्न तरिकाले राख्ने प्रयास गर्छु । म तपाईंको जवाफ पनि त्यस्तै होस् भन्ने अपेक्षा राख्छु । आफू अध्यक्ष भएका बेला पार्टी बचाउनुपथ्र्यो, अनि आफू प्रधानमन्त्री भएका बेला संसद बचाउनुपथ्र्यो, तर त्यसको ठीक उल्टो गरियो भन्ने तपाईंलाई आत्मसमीक्षा हुन्छ ? किनभने संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने कुरा स्पष्ट लेखिएको छ ।

प्रधामन्त्रीले संसद विघटन गर्न सक्दैन भन्ने कहाँ लेख्या छ ? त्यो छँदै छैन । यस्तो प्रचारको हल्ला मान्छेलाई पर्छ । तपाईंलाई परेको छ भने अरु सर्वसाधारणलाई झन् कति परेको होला ? तपाईंहरु दिनैपिच्छे ‘अपडेटेड’ हुने मान्छेलाई यस्तो परेको छ…।

प्रतिनिधिसभा कस्तो अवस्थामा विघटन हुन्छ, कस्तो अवस्थामा हुँदैन भन्ने कुरा तपाईंहरुले जारी गरेको संविधानमा एकदमै स्पष्ट व्यवस्था छ नि ?

संसदीय व्यवस्था नेपालमा मात्रै छैन, विश्वव्यापी रुपमा छ । कुनै सिस्टम भनेपछि त्यसका आधारभूत कुरा हुन्छन्, त्यसका आफ्नै विधि, प्रक्रिया हुन्छन् । हाम्रो सिस्टम (शासन प्रणाली ) पार्लियामेन्टरियल (संसदीय) र प्राइमिनिस्टरियल (प्रधानमन्त्रीय) सिस्टम हो । प्रधानमन्त्री संसदबाट निर्वाचित हुन्छ र, संसदलाई नियन्त्रण गर्ने त्यो संयन्त्र पनि ऊसँग रहन्छ, त्यो भनेको संसद विघटन हो ।

अर्को, बेलायत संसदीय प्रणाली र प्रधानमन्त्रीय प्रणालीको जननी मानिन्छ । त्यो देशमा के हुन्छ ? अस्ति भर्खर के भयो ? चुनाव भएन ? विघटन भएन ? बेलायतको संविधानको कुन धारामा लेखिएको छ (संसद विघटनको कुरा), त्यो मलाई देखाइदिनुहोस् त ।

उनीहरुको त लिखित संविधान नै छैन नि ?

प्रस्तावना नहुनुलाई पनि लिखित संविधान छैन भनिन्छ । नजीरबाट चलाउने कुरालाई पनि संविधान छैन भनिन्छ । संविधान नै नभएको भन्नुको अर्थ विधान विपरीत होइन । त्यहाँ संविधान नै नभएको होइन, अलिखित संविधान छ । नजीरहरुबाट शासन गर्ने, परम्पराबाट चल्ने ।

धेरै विद्वानहरु, संसदीय व्यवस्थाका सञ्चालक र संस्थापकहरुले के भन्ने गर्छन् भने संसदीय प्रणालीमा सांसदहरुलाई नियन्त्रण गर्नका लागि प्रधानमन्त्रीले एउटा अधिकार राखेको हुन्छ । त्यो हो विघटन ।

विघटनको तरबार ऊसँग हुन्छ । यदि भने जस्तो हुँदैन भने, अनुशासनमा बस्दैन भने, बहुमतलाई साथ नदिएर गडबडी गर्छ भने, अनुशासन उल्लघंन गरेर ‘फ्लोर क्रस’ गर्छ ठूलो संख्याले भने त्यो फ्लोर क्रस गरेर अल्पमतमा पर्दा…। बेलायतमा २१ जनाले फ्लोर क्रस गरेर अल्पमतमा पार्यो भनेर (प्रधानमन्त्रीले) संसद भंग गरिदियो, चुनाव घोषणा गरिदियो । जब हाम्रोमा भयंकर अनुशासनहीनता, अराजकता, पार्टी अध्यक्षकाविरुद्ध, प्रधानमन्त्रीका विरुद्ध अभियोग पत्र लेखेर प्रस्तुत गर्ने खालका अराजक र षड्यन्त्रकारी व्यवहार देखिन थाले ।

अर्को, तपाईंले भने जस्तो संविधानमा कहीँ पनि प्रधानमन्त्रीले (विघटन) नगर्ने भनेको छैन । त्यो सिस्टमका कुनै पनि कुरा छुटेको छ भने त्यो परम्पराले गभर्न गर्छ । अर्को कुरा आवश्यकताको सिद्धान्त भन्ने हुन्छ । सामान्यतया संविधानको कुनै धारा, प्रावधान विपरीत जान पाइँदैन । तर, आवश्यकताको सिद्धान्तले कहिले, कहिले संविधानमा स्पष्ट व्यवस्था नभएका कुरा, आवश्यकता अनुसार गर्न पाइन्छ ।

२०७४ सालमा एमाले र माओवादीले संयुक्त घोषणा पत्रबाट चुनाव लडेका थियौं । यही घोषणापत्र अनुसार एउटै सरकार बनाउँछौं, नीति तथा कार्यक्रम बनाएर सरकार चलाउँछौं भनेका थियौं । पार्टी एकीकरण गर्छौं भनेका थियौं ।

त्यस अनुसार भोट जनताले दिएका थिए प्रचण्डलाई । त्यो कुरा सदर नभएपछि नेकपा एमालेको यत्रो पंक्तिले भोट दिएर, एउटा मनोवल उठाएर (प्रत्यक्षमा नेपाली कांग्रेस भन्दा ठूलो) त्यस स्थितिमा पुर्‍याइदिएको प्रचण्ड अनुशासनहीन, अराजक र षड्यन्त्रकारी भएर जब एमालेका विरुद्ध खनिने स्थिति भयो, त्यस्तो स्थितिमा त्यो जनादेश त खण्डित भयो त । जनतासँग गरिएको प्रतिवद्धता खण्डित भएन ? त्यसकारण नयाँ र ताजा जनादेशमा जानु जरुरी भयो ।

यो तपाईंले राजनीतिक व्याख्या गर्नुभयो, संविधानको व्याख्या भएन ।

संविधानले पाँचै वर्ष टिकाउनू भनेको छ भन्ने कुरा होइन । किनभने संविधानको धारा ७६(२) ले के भन्छ ? ७६(३) ले के भन्छ ? ७६ (५) ले के भन्छ ? ७६ (७) ले के भन्छ ?

एक सय दिन पुग्दा नपुग्दै अर्को चुनाव हुन्छ हाम्रो संविधान अनुसार । एकल बहुमत आयो भने त एकल सरकार चलाउँछ । यदि कुनै पनि पार्टीले एकल बहुमत ल्याएन भने २ वा २ भन्दा बढी दलको समर्थन ल्याएर सरकार बनाउन सक्छ । त्यस्तो सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन सकेन भने राष्ट्रपतिले कसैले बहुमत प्राप्त गर्न सक्छौं भने सरकार बनाउन आउ भनेर समय दिनुपर्छ ।

त्यसको व्यवस्था संविधानमै स्पष्ट छ । मैले यो बीचमा एउटा कुरा सोधिहालेँ । २०४७ को संविधानमा धारा १२७ को रचनात्मक व्याख्या भन्दै चलाउँदै जाँदा रचनात्मकको पराकाष्ठामै पुगे राजा । त्यसपछि अर्को एउटा विद्रोह भयो । त्यसले त्यो संविधानको आयु सकिएर नयाँ संविधान बन्ने अवस्था आयो । तपाईंहरुले जारी गरेको संविधान पनि यसैगरी व्याख्याका नाममा चलाउँदै जाँदा यसको स्थायित्वमै प्रश्न नउठ्ला ?

कुन १२७ को रचनात्मक व्याख्याको कुरा गर्नुभयो तपाईंले ?

राजा ज्ञानेन्द्रले १२७ धारा अन्तर्गत बाधा अड्काउ फुकाउको मनलागी व्याख्या गर्दै जाँदा संविधानकै भावना मिचिन गयो । उहाँले यो त धारा १२७ को रचनात्मक व्याख्या गर्दै मैले बाधा अड्काउ फुकाइदिएको जवाफ दिलाउनुहुन्थ्यो … ।

यो त निरंकुशतन्त्रको कुरा भयो । उनले त्यति बेला २०१५ सालको धारा १५५ सम्झिए होलान् । वास्तवमा त्यो धारा १२७ मा राजालाई त्यस्तो स्वेच्छाचारी अधिकार छैन । त्यो बलजफ्ती गरेको हो ।

अब यो संविधानको धारा ७६ (५) मा प्रधानमन्त्री दावी गर्न आऊ भनेको थियो । दावी गर्दा दलको आधारमा जाँदा मेरो दलको जति संख्या छ, त्यति लिएर जान्नँ ? दलको संख्या के बाट स्पष्ट हुन्छ ? व्यक्तिको सही चाहिन्छ, दलको नेताले त्यो गर्दैन ?

मलाई प्रष्ट गरिदिनुहोस् कि, ७६ (५) भनेको त सांसदको हैसियत होइन र ? दलबाट जितेको सांसदको ७६(४) सम्म प्रयोग भयो । त्यसले समेत काम नगर्दाखेरि संवैधानिक शून्यता नआओस् भनेर तपाईंहरुले नै व्यवस्था गरेको होइन ?

सांसद स्वतन्त्र हुन्छन् कि दलको सदस्य हुन्छन् ? दलीय व्यवस्थामा के हुन्छ ?

हो, यही कुरा तपाईंहरुले व्याख्या गर्नुभएन कि ? संविधान जारी गर्ने बेलामा सायद तपाईंहरुले चाहिने जति प्रष्टता दिन सक्नुभएन कि ?

तपाईंले ठीक कुरा भन्नुभयो । संविधानको धारा ७६ (५) अनावश्यक छ । ७६ (३) बाट पुगेन भने ७६ (५) राखिरहनुपर्ने आवश्यकतै होइन । सोझै चुनावमा गए हुन्थ्यो ।

तपाईंले यो चुनावबाट चाहेजस्तो ‘कम्फरटेबल’ सिट पाउनुभयो भने, के त्यो संविधानको धाराका बारेमा पुनर्विचार गर्नुहुन्छ ?

संविधानको थुप्रै ठाउँमा प्रश्नहरु हुनसक्छन् । अहिले हामी त्यस सम्बन्धमा ‘डिबेट’मा नजाऔं । हामी संविधानको उपयुक्त कार्यान्वयनको चरणमा छौं ।

शक्ति पृथकीकरणको सिद्धान्त सबैले मान्नुपर्छ । त्यस कुराहरुलाई पनि (संविधान) स्पष्ट पार्नुपर्ने होला । सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने भनेको, व्याख्याका नाममा संविधान संशोधन, हेरफेर जे पनि गर्ने, लागे जसरी मनपरी सेटिङमा गर्ने होइन होला । यस्ता कुराहरु थुप्र्रै छन्, तर हामी मुख्य रुपमा संविधान कार्यान्वयनको चरणमा छौं ।

तपाईंले यो संविधानको स्थायित्व कति देख्नुहुन्छ ?

संविधानको स्थायित्व छ । तर, समायनुकुल आवश्यक संशोधन आवश्यक हुन्छ ।

त्यो गर्दाखेरि संविधानलाई बचाएर, टिकाएर तगडा ढंगले लैजान सकिन्छ ?

२०४७ को संविधानमा पनि राजतन्त्र हटाउने, आदि संशोधन गर्दा त पुग्थ्यो होला । कतिपय राम्रा कुरा पनि हुँदा हुन् । तर, हामीले एउटा परिवर्तन गर्‍यौं र अर्को संविधान ल्यायौं ।

संविधानसभाबाट संविधान बनाउने इच्छा थियो, सार्वभौम जनताले बनाउनुपर्छ भन्ने कुराका लागि पनि हामीले नयाँ संविधान ल्यायौं । जनताले संविधान बनाए, अब फेरि अर्को संविधान होइन । यो संविधानलाई आवश्यक, समयानुकूल संशोधन गर्दै अगाडि जानुपर्छ ।

तपाईं देशको विभिन्न ठाउँमा गइरहनुहुन्छ । हामी पनि रिपोर्टिङको सिलसिलामा गइरहेका छौं । नागरिकमा एक खालको उकुसमुकुस छ । उनीहरु केवल सत्ता गठबन्धनसँग रिसाएका छन् भन्ने मात्रै नबुझ्नुहोला । विगत पाँच वर्षमा तपाईंहरु पनि सत्ताको नेतृत्वमै ठूलो समय हुनुहुन्थ्यो । जुन महँगी, बेरोजगारीलगायत समस्या बढ्दो क्रममा छन्, कुनै चुनावले त्यसलाई समाधान गरिहाल्ला भन्ने आश टुट्दै गएको छ । तपाईं नेता हो, चुनावको बेलामा र अरु बेलामा पनि यी मान्छेहरुलाई तपाईंले आश्वस्त बनाउनुपर्छ । उनीहरुलाई तपाईं के भन्नुहुन्छ ?

जनतामा त्यस्तो अविश्वास र निराशा छैन । त्यो सत्य होइन ।

तर, मलाई विश्वास गर्नुहोस् हामी पनि यही प्रणालीमाथि लेख्ने बोल्ने शक्ति हौं । यही कुरा सुन्न पाइन्छ हिजोआज ।

त्यसो हो भने के हुन्छ त यो देश ? बरफको डल्लो जस्तो बिलाएर जान्छ ? के यो देशको भविष्य छैन ? के देशलाई सही ढंगले लाने कुनै उपाय छैन ? के हामीले यस देशमा स्थापित गरेको दलीय, लोकतान्त्रिक प्रतिस्पर्धाको प्रणाली गलत हो ? अथवा यो भन्दा अर्कै स्वतन्त्र, एउटाले चटके कुरा एकछिन गर्छ, त्यसका भरमा देशमा परिवर्तन आउने हो ?

अर्को कुरा अमेरिकामा बुद्धि नभएर दल बनाएका हुन् ? स्वतन्त्र पाइँदैनन् त्यहाँ ? बेलायतमा मान्छे नभेटाएर दलीय व्यवस्था राखेको होला ? कन्जरभेटिभ र लेवर पार्टीले प्रतिस्पर्धा गरेको कोही स्वतन्त्र नभेटिएर, बुद्धिमान मान्छे नभेटिएर हो ?

यहाँनेर के भएको छ भने, एउटा भ्रष्ट तत्वलाई भ्रष्टाचारी भन्यो भने उसले तैँ ठूलो भ्रष्टचारी, झन् ठूलो भ्रष्टाचारी भनेर हल्ला गर्छ । त्यसो भएर हामीले सुरुमै घोषणा गर्‍यौं, म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि भ्रष्टाचार गर्न दिन्नँ । मेरो क्षमताले एकै दिनमा भ्रष्टाचार रोक्न सकिन्छ, रोकिहाल्छु भन्ने होइन । तर, भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, अत्यन्तै न्यून गर्न सकिन्छ र समयक्रममा उल्मुलन गर्न सकिन्छ ।

तर, त्यस दिशामा जानलाई रोक्ने र सबै भ्रष्ट भन्ने र अनि भ्रष्टाचार गर्ने तत्वहरु सक्रिय भए । आफू भ्रष्ट देखिने हुनाले अर्कालाई पनि आरोप लगाएपछि सबै उस्तै उस्तै हुन् भन्ने कुरा भयो ।

तपाईंको इच्छाशक्ति, र नियतमा शंका नहोला, तर तपाईंको प्रधानमन्त्रीकालमा तपाईंले गरेका काम या तपाईं अन्तर्गतको मन्त्रीहरुले गरेको काम र समग्र प्रदेशहरुले गरेका काम र कतिपय हकमा स्थानीय सरकारले गरेको कामका बारेमा यो बीचमा जुनस्तरमा प्रश्नहरु उठेका छन् नि, त्यसलाई तपाईंले चित्तबुझ्दो गरी सम्बोधन गरेको छु भन्ने ठान्नुभएको छ ?

नेपाली कांग्रेस जबसम्म साइजमा आउँदैन अथवा माओवादीको बरफको डल्लो पग्लि सक्दैन, तबसम्म यो क्रम जारी रहन्छ । पहिले पहिले त लोकतन्त्र भनेको कांग्रेस, कांग्रेस भनेको लोकतन्त्र भन्थ्यो । त्यसको पर्याय नै आफूलाई ठान्थ्यो । अहिले त्यसबाट अलिकति पछाडि हटेको स्थिति छ ।

नेपाली कांग्रेसको सिङ फुक्लिसक्यो, अझै पनि हार मानेको छैन । एउटा सिंङ बाँकी छ त्यो नफुक्लेसम्म उसले आफूले गर्न सक्दैन, अरुले गरेका काममा जस दिन सक्दैन । संसद देशलाई अगाडि बढाउनका लागि एउटा रचनात्मक थलो हो । कानुन बनाउनका लागि, सरकार बनाउनका लागि, सरकारको रखबारी गर्नका लागि भन्ने कुरा बिर्सिएर त्यसलाई दुरुपयोग गर्छ ।

यी पक्षहरु आफ्ना ठाउँमा छन् । नेकपा एमालेले सरकारमा रहेर एउटा जिम्मेवार राज्य, लोककल्याणकारी राज्यका तर्फबाट गर्नुपर्ने काम गरेको छ । सडक मानव होउन् कि, जेष्ठ नागरिक, असक्त, अपाङ्ग, घर नभएका गरिब होउन्, यिनीहरुका समस्या समाधान गर्ने कुरा गर्छ ।

घरबिहीनलाई घर दिएको छ, जमिनविहीनलाई जमिन दिएको छ । फुसको छानो भएकालाई जस्तापाता दिएको छ । कहाँनेर पुगेको छैन नेकपा एमाले ? महिलाहरुको समस्या हेरेको छैन कि ? के हेरेको छैन ? कोभिडमा विकसित राष्ट्रहरु भन्दा राम्ररी पर्फर्मेन्स गरेको छ र क्षति कम भएको छ । विश्व स्वास्थ्य संगठनले प्रसंसा गरेको छ ।

खैर, यसको बारेमा कति कुरा घोषणापत्रमै आइसकेका छन् । त्यो यहाँ नदोहोर्‍औं । अघि तपाईं स्वतन्त्रहरु फुतुफुतु आइरहेका छन् भन्दै जोड्दै हुनुहुन्थ्यो ।

हैन, हैन तपाईंले मेरो आशयलाई मोड्न खोज्नुभयो । एउटा कुरा के हो भने राजनीतितिर रुची जाग्न थालेको छ, यो राम्रो लक्षण हो । त्यो ग्याटिस हुन्छ नि चरा मार्ने, मैले त्यो कहिल्यै चलाएको थिइनँ । एकदिन ठिटाहरु त्यो चलाउँदै रहेछन् । अनि मैले ठट्टामा भने–ए तिमीहरुले मिस हान्छौं । मलाई देऊ, कहाँ हान्नुपर्ने म ठ्याक्क लगाउँछु । नभन्दै तिनीहरुले त्यो गुलेली मलाई दिए । मैले ठ्याक्क तानेर फ्याट्ट ठानेँ । एउटा भंगेरो थियो, बाइ चान्स त्यो ढुंगो भंगेरै भएको ठाउँमा पुगेछ ।

झापामा ?

झापामा । कहिले कहिले यस्तो हुन्छ क्या । मैले गल्फ कहिले नखेलेको, हाम्रा टिमका साथीहरुले गल्फ खेल्न लिएर गए ।

कुन ठाउँमा ?

गोकर्णमा । कोही पहिलो, दोस्रो पल्ट त्यो स्टिक समातेका पनि हुँदा हुन् । तर, पहिलो चोटी समाउनुभएको एक जना लेडीले जित्नुभयो ।

तपाईंले चाहिँ पहिले पनि खेल्नुभएको थियो ?

मैले एक, दुई पल्ट हिर्काएको थिएँ । तर, उहाँले पहिलो पल्ट ट्वाक्क पार्नुभयो । कतै न कतै अगाडि त जानुपर्‍यो हिर्काएपछि । त्यो होलमा गएर पस्दियो । कहिलेकाहीँ यस्तो हुन्छ राजनीतिमा पनि । यसैलाई वास्तविकता, नियमितता भन्ने ठान्नुहुँदैन । त्यो आकस्मिकता हो ।

जो पार्टीले ठाउँ दिएन भन्ने ठान्छन् नि । दशौं, बिसौं, चालिसौं वर्ष काम गरेका कार्यकर्ता छोडेर, मलाई राजनीति गर्न मन लाग्यो, मलाई सांसद पो बन्न मन लाग्यो भन्दाखेरि हामी कुनै युवालाई सांसद बनाइदिहाल्न त सक्दैनौं ।

कहिलेकाहीँ बनाइदिन्छौं पनि …

साधारणतया दिँदैनौं । परिस्थितिले फरक कुराको माग गरिराखेको हुन्छ । त्यो कुरालाई नेतृत्वले चिनेर पार्टी कार्यकर्तालाई एउटा सन्देश पनि दिनुपर्छ कि ट्रेन्ड कतापट्टी जाँदै छ र अब कताको तयारी गर्नुपर्छ । त्यस्तो अपवादको रुपमा केही, केही हुन्छ । नत्र सांसदको उम्मेदवार हुनलाई पार्टीको काम गरेकै हुनुपर्छ । पार्टीको झोला बोकेकै हुनुपर्छ ।

पार्टीको उम्मेदवार हुने, पार्टी जमानी बस्ने हो भने, …राम्रा विचार पार्टीले दिएको छ । त्यो विचार बोकेर हिँड्नुपर्छ । पार्टीमा काम गरेकै हुनुपर्छ ।

अब कोही युवा आयो, काम केही गरेको पनि छैन । मलाई केन्द्रीय कमिटी दिनुपर्‍यो भन्यो । मलाई स्थायी कमिटी दिनुपर्‍यो भन्यो । मलाई अध्यक्ष बन्न मन लाग्यो भन्यो । यो खालको मजाक सुन्नमा रमाइलो हुन्छन्, तर मिल्दैन त्यस्तो । त्यसकारण कतिपय स्वतन्त्र उठेका छन्, त्यो राम्रो हो । तर, अभियान चलेको र चलाइएको फरक हुन्छ । चलेको अभियान ठीक छ, चलाइएको बेठीक छ ।

नो, नट अगेन, भनेर तपाईंको पनि तस्वीर राखेर सामाजिक सञ्जालमा आएको देख्नुभएको छ ?

नो, नट अगेन भनेको त उनीहरुका लागि पनि अर्को टाइम त त्यही होला नि फेरि । के दुनियाँमा, विश्वमा कहीँ एकपल्ट अनुभव गरेको मान्छे, सरकार चलाउनका लागि चाहिन्छ भन्ने कुरा लोकतन्त्रले माग्दैन ? यत्ति नबुझेका मान्छेहरुसँग त बहस गर्नु बेकार छ नि ।

एक पल्ट फुटबल मैदानमा पुगिसकेका मान्छेलाई नो, नट अगेन । विश्वकपमा हामी कस्तो मान्छे पठाउँछौं, फ्रेस । मैदानमा जो पहिलोपल्ट पस्दैछ । यसरी फुटबल खेलिएला ? यसरी क्रिकेट खेलिएला ? धेरैपल्ट खेल खेलेको, धेरैपल्ट बलिङ गरेको हुनुपर्ला । ब्याटिङ गरेको हुनुपर्ला । कतिखेर चाहिन्छ, त्यतिखेर छक्का हानेको हुनुपर्ला । चौका हानेको हुनुपर्ला । पर्दैन ?

अलिक फरक प्रसङ्ग, नेपाली कांग्रेसले यसपटक घोषणापत्रमा विश्वविद्यालयको कुलपति प्रधानमन्त्रीलाई बनाउने, सहकुलपति शिक्षा मन्त्रीलाई बनाउने चक्र नै भत्काएर स्वायत्त बनाउने भनेर लेख्यो । एमालेले यस्तो घोषणा कहिले गर्छ ?

विश्वविद्यालयको विश्वव्यापी प्रचलन हो, त्यसमा नेतृत्व चाहिन्छ । अमेरिका एउटा विकसित देश हो नि । त्यहाँ विश्वविद्यालय सम्बन्धी कस्तो सिस्टम छ ? भारत एउटा लोकतान्त्रिक देश हो । त्यहाँ कुन विश्वविद्यालयको अभ्यास के छ ? चान्र्सलर (कुलपति) चाहिँ गर्भनर हुन्छ । चान्सलर भनेको खाली प्याट्रोन मात्रै हो । त्यो राजनीतिक अभिभावकत्व प्राप्त गरेन भने विश्वविद्यालय चल्न गाह्रो हुन्छ ।

नेपालको वातावरण मेडिकल कलेजको हब हुन सक्छ । तर, यहाँ मेडिकल कलेज खोल्न नपाइने ? आज म सोध्न चाहन्छु, राजनीतिक कुरा नगर्ने त्यो दुर्गा प्रसाईंले बी एन्ड सी चलाएको छ बिर्तामोडमा । त्यसको मापदण्ड पुगेको छैन कि, के पुगेको छैन ? किन त्यसलाई सम्बन्धन दिँइदैन ? उसले खर्च मागेको छैन, फि तिर्छ । किन दिइँदैन उसलाई मेडिकल कलेज चलाउन ? कुनै मेडिकल कलेज भन्दा उसको सामर्थ्य कम छ ? उपकरण कम छ ? बिरामी कम छ ? संख्या कम छ ? डाक्टर कम छन् ? विज्ञ कम छन् ? त्यो त होइन । अनि फेरि किन दिइँदैन ?

भवन बनाउनेसम्म स्वीकृति दिन्छ । सबै जोडिसकेपछि (मेडिकल कलेज सञ्चालनको) स्वीकृति दिँदैन । के गरेको त्यो ? बर्दाद गरेको होइन ? मान्छेले बैंकबाट अर्बौं ऋण लिएको हुन्छ । जसको करौंडौं ब्याज हुन्छ । यस्तो खालको पूर्वाग्रह गरिनुहुँदैन ।

तर कसैले त यसको सुरुवात गर्नुपर्‍यो नि ?

विश्वविद्यालयमा उपकुलपति तपाईं आफू किन नियुक्त गर्नुहुन्छ ? किन आफ्नो पार्टीको कार्यकर्ता नियुक्त गर्नुहुन्छ ? त्यो छोडौं न ।

नेपाली कांग्रेसले जुन डिर्पाचर लिन खोज्यो नि, यसलाई तपाईं के भन्नुहुन्छ ?

होइन, यो डिर्पाचर होइन । जनता झुक्याउने खेल मात्रै हो ।

नागरिकता विधेयक अघिल्लो पटक पास गर्दा र फेरि पास गर्दा एमाले मौन बस्ने स्थिति पनि बन्यो । राष्ट्रपतिकहाँ त्यो प्रमाणीकरण नभएर अड्किरहेको छ । अब नयाँ संसदबाट के होला ? एमालेले आउने संसदमा कस्तो नीति लिन्छ ?

मंसिर चार, एमाले सरकार भन्ने तपाईले सुन्नुभएकै होला । त्यो नारामात्रै होइन, एउटा अठोट हो । त्यो सम्भावना होइन, भविष्यको यथार्थ हो । त्यो प्रतिनिधिसभाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने कुरा एक महिनाभित्र समाधान गर्छ । समग्र नागरिकता समस्याको समाधान एक वर्षभित्र गर्छ । एक वर्षभित्र सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्नेछन् ।

कुनैपनि विदेशीलाई नागरिकता दिइने छैन । अहिलेको लडाई विदेशीलाई नागरिकता दिने कि नदिने भन्ने हो । विदेशीलाई तत्काल नागरिकता उपलब्ध गराउने कि नगराउने भन्ने हो । त्यो चाहे बैवाहिक अंगीकृतका नाममा होस् या अरु कुरामा होस् । बैवाहिक अंगीकृत भनेर सिन्दुरसँग नागरिकता बुझाउनुपर्ने ? यस्तो खालको परिपाटी उपयुक्त हुदैन । त्यो विवाह चल्छ, चल्दैन ? टिक्छ टिक्दैन ? साँचो हो कि होइन ? भोलि सम्बन्धविच्छेद भएर सम्पत्तिमाथि मात्रै दावी हुने हो कि ? त्यो विवाहको डेस्टिनेसन (गन्तव्य) के हो ? सबै कुरा हेर्नुपर्छ ।

तपाईंले सिन्दुरसँग नागरिकता भन्ने किसिमको जुन शब्द प्रयोग गर्नुभयो, त्यस्तो खालको टिप्पणीलाई राष्ट्रवादको पुरुषवादी व्याख्या भन्ने गरिन्छ ।

हाम्रो छोरीले विहे गरेको ज्वाईलाई पनि नागरिकता दिइहाल्नुपर्ने हो, जो अन्यत्रै बस्छ ? अमेरिकाको एकजना आयो, हाम्रो चेलीलाई फकायो, अनि उसलाई नागरिकता दिएर पठाउने ? संविधान, कानून, मूल्यमान्यता समाजसँग सम्बन्धित हुन्छ, समाजको कुरा र व्यवहार प्रचलनसँग सम्बन्धित हुन्छ ।

अरु देशमा, भारतको नागाल्याण्डमा, चीनका कतिपय ठाउँमा (विवाह गरेर) ज्वाईं ल्याउने चलन छ । तर हाम्रोमा अहिले पनि केटी माग्न जाने भन्ने छ, गाँउघरतिर । अहिलेपनि बुहारी ल्याउने भन्ने चलन छ । तपाईंको छोरी छन् भने ज्वाईं ल्याउने कल्पना गरेको छैन । छोरीलाई नै सोध्नुस्, विहे गरेपछि घर जानुपर्छ भन्ने उनको मानसिकता छ । यो परम्परागत नै होला तर समाजको एउटा परम्परा हुन्छ ।

हाम्रो कानूनले विवाहपछि बुहारीले विवाहको मण्डपबाटै मैले नयाँ गोत्र धारण गरे, नयाँ परिवारको सदस्य भए, थर परिवर्तन भयो भन्ने हुन्छ । यो परिवारको सदस्य हुदैछु भन्छ । छोराको तर्फबाट यिनको हात मैले थामेको छु, मेरो वंश थर गोत्र सबै कुराको हिस्सेदार उनी पनि हुनेछन् । उनको कुनै कमाइ नभएपछि मेरो सम्पत्तिको उनी पनि हिस्सेदार हुनेछन् भन्ने संकल्प पढिन्छ ।

तपाईंले अहिलेसम्मको सामाजिक मान्यता, अनि त्यस आधारमा बनेको कानुनको कुरा गर्दै हुनुहुन्छ । तर परिवार संस्था कसरी बनाउने भन्नेबारेमा नयाँ ढंगले पनि सोच्न सकिन्छ नि, होइन ?

सामाजिक प्रचलन नहेरी संविधान, कानून बनाउनुहुन्छ र ? संविधानले के भन्छ ? किन भन्छ त यसो ? डिभोर्स गर्दा श्रीमतीको सम्पत्ति लिएर जान पाउनुपर्छ भनेर अदालतले गरेको व्याख्या तपाईंले सुन्नुभएको छ ? श्रीमतीको सम्पत्तिमा हक लाग्छ ।

लोग्नेले अंशवण्डा पाउनुपर्छ भनिएको छ र ? यो हामी देशभित्रको कुरा गरिरहेका छैनौं । यहाँभित्र महिलावाद के के भनिराख्नुपर्ने आवश्यकता छैन । हाम्रा छोरी, हाम्रा बुहारीसँगको कुरा गरिराखेका छैनौं हामी । विदेशबाट कोही बुहारी आउँछ भने हामी कुरा गरिरहेका छौं, यति वर्ष भनेर केही समय त लाग्ला नि ।

अब नागरिकता विधेयक कसरी अगाडि बढ्छ ?

हामीले नागरिकता विधेयक संसदमा प्रस्तुत गर्‍यौं । प्रचण्ड गुटको सभापति संसदमा बनायौं । तिनले ३ वर्ष संसदमै रोकिदिएका कारण अगाडि बढ्न सकेनौं । संसद भंग भएपछि मैले जनताका समस्या हेरेर संविधानमा जे छ त्यही अनुसार कानून बनाएँ ।

संसद नभएको बेला राज्यलाई जरुरी पर्दा अध्यादेश जारी गर्ने कानूनको विधि हो । संसदले त्यसलाई अपनाए कानुन हुन्छ, प्रतिस्थापन गरे प्रतिस्थापित ढंगले जान्छ । राष्ट्रपतिले अध्यादेश जारी गर्ने, अदालतले खारेज गर्ने हुन सक्दैन ।

यहाँ शक्ति पृथकीकरणको सिद्धान्त पनि अलिकति सम्झिनुस् । कार्यकारिणीले आफ्नो काम गर्न पाउनुपर्छ । संसदले आफ्नो काम गर्न पाउनुपर्छ । न्यायालयले आफ्नो काम गर्न पाउनुपर्छ । तर एकअर्काको क्षेत्राधिकारमा हस्तक्षेप गर्नुहुदैन ।

हामी आम चुनावभन्दा दुई साताअघि ७० को दशकको उतारचढाव, अनि आउने दशकको आकलन गर्दैछौं । जुनखाले चुनाव प्रणाली संविधानले तोकेको छ, त्यसले तपाईं वा कसैलाई एक्लै अगाडि बढ्न सामान्यतयाः दिँदैन । ०७४ को चुनावमा प्रचण्डलाई सारथि बनाएजस्तै अब पनि तपाईंलाई नेतृत्व गर्ने चाहना हो भने कोही चाहिएला नि सारथि ?

तपाईं  यो किन सोध्दै हुनुहुन्छ भने मलाई मानिसहरु ‘बा’ भन्छन्, हो ? शेरबहादुरजी ८० हुनुभयो, तर उहाँलाई दाइ भन्छन् । भर्खरै डडेलधुरामा उम्मेदवार हुनुभयो, तपाईलाई अनौठो लागेको छैन । उहाँलाई यो प्रश्न त सोध्नुहुन्न ।

मेरो पार्टीले मलाई यसपल्टका लागि झापा– ५ बाट उम्मेदवार बनाएको छ । आगामी सरकार बनाउने अठोट राखेको छ । त्यो सरकार बनाउने जिम्मा मेरो हो भनेर मलाई प्रस्तुत गरेको छ । त्यो एक अवधिका लागि हो । हामीले १० वर्षका लागि, २० वर्षका लागि केही भनेका छैनौं ।

कार्यकर्ताको मनोभावना, विश्वास र स्नेह नै के छ भने म निरोगी रहुँ, मैले यसरी देशलाई नेतृत्व गरिरहेको छु, त्यसरी निरन्तरता दिन सकूँ र अरु कम से कम १० वर्ष मैले नेतृत्व गर्न पाएँ भने देश राम्रो हुन्छ भन्ने कार्यकर्ताको विश्वास होला । त्यसैले उनीहरुले १० वर्ष ओलीलाई भन्छन् होला ।

मेरो पार्टीको विशाल केन्द्रीय कमिटीले सर्वसम्मत रुपमा ५ वर्षका लागि मैले देशलाई नेतृत्व गर्नुपर्छ भन्ने निर्णय गरेको छ । तसर्थ यसमा कसैको दुई मत र भिन्नता छैन । बाहिर गएर कसैले भिन्नता देखाउनु अलग कुरा हो, तर सर्वसम्मत निर्णय हो । अब मैले अघि नै भने, तपार्इंले यही प्रश्न शेरबहादुजीलाई गर्न सक्नुहुन्न । किनभने उहाँ शेरबहादुर दाइ हो । त्यसकारण वैंशकै ठान्नुहुन्छ । मलाई बा भन्छन्, म उहाँभन्दा १० वर्षजति कान्छो छु ।

यो बा भन्ने प्रवृत्तिलाई हाम्रो मौलिक संस्कारभन्दा पनि नेतृत्वलाई ‘कल्ट’ जस्तोगरी देखाउन खोजिएको हो कि ? हाम्रोतिर प्रचलन छ नि – बा भनेपछि प्रश्न नगर्ने, उहाँको कुरा मन परेको छैन भने पनि लुरुलुरु मान्दै हिँड्ने  ।

दाइ भन्दा प्रवृत्ति भएन । बा भन्दा के प्रवृत्ति भयो ?

सिंगो पार्टी, परिवार वा एउटा जीवन हो भन्नुभन्दा पनि बालाई प्रश्न नगर, बाले भनेपछि सुनेर हिँड, बामाथि प्रश्न नउठाऊ भन्ने संस्कारलाई फैलाउने । तपाईंहरुले नै भन्ने गरेको आलोचनात्मक चेतलाई खुम्च्याउने प्रयास हो कि ?

भारतीयहरुले बापुजी भनेको पिताजी भनेको हो । भारतीयहरुले महात्मा गान्धीलाई बापुजी भन्दा उनलाई प्रश्न उठाउन पाइदैन भनेको हो कि ? प्रश्न उठायो भने उसको भविष्य खतरामा पर्छ भनेको हो कि ?

गत महाधिवेशनको बन्दसत्रमा कम्बोडियाका नेता स्वोस याराले समेत तपाईंलाई बा भनी सम्बोधन गरेपछि यसको प्रभाव अन्त पनि परेछ भन्ने हामीलाई थाहा भयो ।

होइन, नेपालमा मात्रै होइन । यस्ता प्रचलन अन्यत्र पनि छ । बापुजी भनेको के हो, पिताजी भनेको होइन ?

तपाईं आफैंलाई चाहिँ के भनेर बोलाएको मन पर्छ ? कमरेड, अध्यक्षज्यू, ओलीजी इत्यादि ?

सुहाउँदो खालको सम्बोधन गरे हुन्छ । (एकछिन रोकिएर) तपाईंले मलाई भाइ भन्नुभयो भने अलिकति मिल्दैन होला । अरु हिसाबले तपाईले दाइ भन्नुहोस्, अंकल भन्नुहोस्, बा भन्नुहोस्, साथी भन्नुहोस, कमरेड भन्नुहोस्, पूर्वप्रधानमन्त्री भन्नुहोस्, एमालेका अध्यक्ष भन्नुहोस्, ओलीजी भन्नुहोस्, केपीजी भन्नुहोस् । कसो भन्दा उपयुक्त लाग्छ, तपाईंको रुचिको कुरा हो ।

तपाईंहरुको मनमा के पारिएको छ भने, एमाले कार्यकर्ताहरुले केपी ओलीलाई माने, साह्रै माने । एमालेका कार्यकर्ताहरुले सम्मान गरे । केपी ओलीलाई सिध्याइदिन्छु भनेको, माटैमा मिलाइदिन्छु भनेको भित्तैमा टासिदिन्छौं भनेको भए, दिउँसै टर्च बालेर खोज्नुपर्छ भन्दा ‘लौ त, हाम्रा बा लाई छोऊ त’ भनेर मानिसहरु उठे । मेचीदेखि महाकालीसम्म त्यो कुरा आयो । एक्लै सबै पार्टीसँग लड्ने हैसियत त्यही पार्टीले मात्रै बनाएको छ ।

अबको नेपालमा अरुले एमालेसँग एक्लै सामना गर्ने सोच दिमागबाट हटाइदिए हुन्छ । कार्यकर्ताले मलाई विश्वास गर्ने कुरा, अनि मैले कार्यकर्तालाई विश्वास गर्ने कुरा, यो पारस्परिक विश्वास, स्नेह, सद्भावमा अडेको छ । बालाई मुख लाग्नु हुदैन, भविष्य के होला होइन, नेकपा एमालेमा जस्तो स्वतन्त्रता… एमाले हुँ भनेका छन्, मलाई गाली गरेका छन् । तपाईंले एक दुई जना त देख्नुभएको छ नि । मलाई गाली पनि गरिरहेका छन्, एमाले हुँ पनि भनिरहेका छन् ।

को हुन् ती ३–४ जना ?

नाम नलिउँ । अब आउटडेटेड कुराको नाम नलिउँ । डेट एक्सपायर औषधी फ्याकुँ कि के गरु भनी सोधिराख्नु पर्दैन ।

कतै ती पनि ‘बा’लाई प्रश्न उठाएबापत दण्डित भएका त होइनन् नि ?

कहाँ कसरी दण्डित भए र ? ३/४ जना मानिस स्वतन्त्र छन् । कति स्वतन्त्र छन् भने गाली गरिरहेका छन्, तैपनि एमाले छन् ।

तीमध्ये केहीले त स्वतन्त्र चिन्ह लिनुपर्ने स्थिति बन्यो ।

ती त गैसके । पार्टी छोडेकाहरुको कुरा भएन ।

फेरि अघिकै मूल प्रश्न । ८० को दशक यदि हाँक्ने सोच हो भने तपाईलाई सारथी चाहिन्छ कि चाहिदैन ?

नेकपा एमाले लौरो टेकेर, वैशाखी टेकेर, ढोडका लौरा टेकेर, ४/५ तिर फर्किएका विचारशून्य जमात बोकेर देश बनाउन सकिन्छ भन्ने ठान्दा पनि ठान्दैन ।

एक्लै जाने हो ?

एक्लै भन्दा फेरि तपाईलाई यो नपरोस् कि एक्लै भनेपछि एक्लै – एक्लै–एक्लै । हामी एक्लै चल्न सक्छौं, तर अरुलाई पनि साथै लिएर चल्छौं ।

यति ढुक्क पनि नहुनुस् । ‘होप फर् द बेस्ट, प्रिपेयर फर् द वर्स्ट’ भन्छन् । यही बीचमा तपाई नेतृत्वको संघीय सरकार ढल्यो, एमाले मुख्यमन्त्री भएका प्रदेश सरकारहरु ढले । स्थानीय चुनावमा पहिले जितेका पालिका यसपल्ट धरमर भए । यस्तो पृष्ठभूमिमा तपाईं चुनावमा जाँदै हुनुहुन्छ भन्ने यथार्थ हो नि ।

तपाईंले रिङभित्र ब्रुस लीले धेरै कुटाइ खाएको, घाइते भएको, पछारिएको देख्नुभएको होला । तर के थाहा होस् भने अन्तिम किक नै निर्णायक बन्छ ।

तपाईंका लागि यो आम निर्वाचन अन्तिम किक हो ?

यो पाँच वर्षको अन्तिम पटाक्षेप हो । फाइनल किक, फाइनल गोल, छक्का हो ।

पछाडि फर्किने कुरै छैन ?

यसपल्ट छक्का हान्दिने हो ।

तपाईंलाई सोध्नुपर्ने अरु धेरै प्रश्न छन् । अर्को भेटमा राजनीतिक विषय कम र रुची तथा अरु दूरगामी विषयमा कुरा गरौंला ।

ठीक छ । धन्यवाद । तपाईंहरुले एउटा कुरा बिर्सनुभयो । आज म टनेल (नागढुंगा काठमाडौं सुरुङ) गएर आएको थिएँ । राम्रो प्रगति भएको छ, तपाईंले सोध्नै बिर्सनुभयो । त्यसकारण त्यसमा स्पष्ट गरिरहनुपरेन । टनेलको प्रगति राम्रो छ, धन्यवाद ।

अहो, यो छुटाउनै नहुने पूरक प्रश्न भयो । तपाईं चुनावको मुखमा किन विकासका पूर्वाधार अवलोकन गर्दै हिँडिरहनुभएको छ ?

चुनाव के का लागि चाहिएको हो ? देश, विकास, सुशासनका लागि होइन ? भ्रष्टाचारमा मेरो निगरानी छ । कहीँ कतै भ्रष्टाचार भएको छ छैन ? त्यो पनि म जनताको बीचमा पुर्‍याउँछु ।

विकासका काम धेरै अवरुद्ध भएका छन्, धेरै योजना काटिएका छन्, रकम रोकावट भएको छ । अन्तर्राष्ट्रिय स्तरमा ठेक्का लागेका यस्ता कामहरु, जो पहिलो इतिहासको रचना हुदैछ । यो टनेल हेरेर नै आगामी दिनमा रोड टनेल बन्ने हुन् । यसलाई दृष्टान्तको रुपमा सफल कथाको रुपमा लिएर अघि बढ्नुपर्छ ।

हाम्रो देश त पहाडि देश छ । अरु लिंक रोडहरु बनाउनुपर्छ । वल्लोबाट पल्लो पहाडको फेदमा सुरुङ निकाल्नुपर्छ, राजमार्ग छोटा हुन्छन् । अनि त्यहाँबाट अरु जोडेर लिंकरोड पहाडका डाँडा डाँडा पुर्‍याउन सकिन्छ । सम्भव हुने ठाउँमा टनेल बाटो सुरुङ मार्ग सुरु गरेका छौं । यसले सुरुङ मार्गको रुपमा नेपाललाई प्रवेश गराएको छ । पहिलो अभ्यास हो, सफलताका साथ अघि बढेको छ, म खुसी व्यक्त गर्छु । नेपालमा यसको साह्रै ठूलो अर्थ छ ।

तपाईं अघिल्लो आम चुनाव जितेलगत्तै रसुवागढी पुग्नुभएको थियो । त्यहाँको प्रगति चाहिँ के छ ?

राम्रो छ । रेलको विरोध गर्ने पार्टीका परराष्ट्रमन्त्रीले अस्ति गएर सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । असहमतहरु सहमत हुदैछन्, नबुझ्नेहरु बुझ्दैछन् । असंलग्नहरु संलग्न हुदैछन् । राम्रै भइरहेको छ ।

तस्वीर र भिडियो : चन्द्रबहादुर आले र शंकर गिरी





Source link

HamroAwaj

2022-11-07 20:32:51

Leave a Comment