गाउँमा मतदाताले भाषण नपत्याएपछि … – HamroAwaj


२२ कात्तिक, बाँके । धुलाम्मे सडकसँग जोडिएको ‘आधा’ झुपडी अघि बसेर अचेल उनी गाडीहरू कुरिरहन्छन् । रातभरि शीतले भिजेको उनको आधा झुपडी अगाडिको यो सडकमा अचेल पहिलेभन्दा धेरै गाडी दौडिन्छन् ।

चुनावी मौसम जो छ !

गाउँमा कुनै गाडी छिर्‍यो कि ४३ वर्षका इलियास भुजवा दौडिहाल्छन् । अनि हात जोड्दै भनिहाल्छन्, ‘आधा घर सडकले खाइदियो हुजुर ! सात जहान एकै ठाउँमा सुत्छौं !’

आधा जीवन पसिना घोटेर इलियासको एउटा सानो घर भर्खर ठडिएको थियो, भनौं उभिएको थियो– एक टुक्रा जमिनमा । त्यो पनि बाटोसँगै जोडिएको । गोरेटो बाटो फराकिलो हुन थाल्यो । उनको त्यही जमिनको आधा टुक्रा त बाटोमै गयो ।

अलिकति घर बाँकी रह्यो । जहाँ अहिले उनी आफ्ना पाँच छोराछोरी र श्रीमतीसँग बस्छन् । पकाउने ठाउँ नभएर बाहिरपट्टि सानो पाली गाँसेका छन् ।

घरको एउटा कुनामा केही थोत्रा सामान थुपारिएका छन् । साँघुरो त्यही खोंच जस्तो एउटा कुनामा उनीहरू खाँदिएर सुत्छन् । पाहुना आएका बेला कति रात उनले आफन्तको घरमा बिताएका छन् ।

‘सुत्दा पनि खुट्टा खुम्च्याएर सुत्नुपर्छ’ इलियास भन्छन्, ‘जीवनभरिको यही सम्पत्ति थियो त्यो पनि बाटोले खाइदियो ।’

नेपालगञ्ज उपमहानगर–२१, मोहनपुरवाका इलियास अहिले घरदैलोमा आएका हरेक नेतासँग आफ्नो त्यही घर मागिरहेका छन् ।

चाडपर्व सकिएसँगै सन्नाटा छाउने यहाँका यी ‘देहात’मा अहिले अलिअलि चहलपहल सुरु भएको छ । किनकि चुनाव आएको छ ।

तर इलियासहरू भने अब काठमाडौं हिंड्ने योजना बनाउँदैछन् ।

चुनाव नजिकिंदैछ । तर इलियासहरू भने आत्तिइसकेका छन्, किनकि अब उनीहरूको कामको सिजन सुरु भएको छ ।

काठमाडौं र भक्तपुर वरिपरि धुलाम्मे इँटा भट्टाहरूमा अब इलियासहरूले फेरि नयाँ इँटा थप्ने बेला भइसकेको छ । अर्थात् हरेक वर्ष कात्तिक अन्तिमदेखि जेठसम्ममा उनीहरूको ‘इँटा सिजन’ चल्छ ।

‘काम नगरेर के गर्ने हजुर !’ भर्खरै मात्र एकजना उम्मेदवारसँग ‘घर’ माग्न जोडिएका उनका हातमा छिप्पिएका ठेलाहरू फुस्रै देखिन्थे ।

‘भोट हालेर मात्रै के गर्नु हजुर ! जहान पाल्न काम गर्नैपर्छ’ उनले फेरि हात जोड्दै भने, ‘लौ न हुजुर तपाईंले पनि नेताहरूलाई भनिदिनुस्, मेरो घरको हालत बताइदिनुस् । म भोट पनि हालौंला ।’

अनि भोट हालेर घर बन्छ त !

उनका निर्दोष आँखा चलमलाए ‘कहाँ हुजुर । एक टुक्रो जमिन र एउटा झुपडीका लागि यहाँ सारा जिन्दगी सकिन्छ ।’

सायद यो महिनाको अन्त्यसम्ममा उनको यो गाउँमा स्कुल पढ्ने केटाकेटी र महिला अनि वृद्धहरू मात्रै बाँकी हुनेछन् । अरू सबै कोही काठमाडौं र भक्तपुरका इँटा भट्टामा पुग्छन् र कोही इण्डियातिर लागिसक्छन् ।

नेपालगञ्ज शहरदेखि केही किलोमिटर मात्रै टाढा रहेको यो गाउँमा अहिलेसम्म बाटो पक्की छैन । बिजुली पुगेको छ तर धेरै गाउँलेले धेरै समय बिताउनुपर्ने खेतबारीमा सिंचाइ सुविधा छैन । वर्षामा पनि आकाशे झरीकै भर हो । हुनेले बोरिङ हालेका छन् । नहुनेका खेतबारी त्यसै छन् ।

यो बाँकेको नेपालगञ्ज नजिकै पर्ने मोहनपुरवास गाउँ हो । निर्वाचन क्षेत्र नं‍. २ अन्तर्गत पर्ने यहाँ यसपालिको चुनावमा नेकपा एमालेको समर्थनमा राप्रपाका धवलशमशेर राणा, जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राई र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदीप नरसिंह राणा प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।

भर्खरै खेतबारीबाट उखेलेर ल्याएका बदाम घाममा सुक्दैछन् । ९० वर्षकी गरिबा घामका कलिला किरणमा सकी–नसकी जीउ तताउँदै छिन् । घरका सबै जना धान स्याहार्न पुगेका छन् । दशैं अघि घनघोर पोखिएको वर्षाले उनको खेतलाई पनि आहाल बनाइदिएको थियो ।

त्यही हिलोमा थेगिएर पाकेका धानका बाला स्याहार्न यतिबेला किसानलाई चटारो छ । नेताहरू भोट माग्न घरदैलो पुग्दा धेरै गाउँ त खाली नै हुन्छन् । सबै खेतबारीमा भेटिन्छन्, यतिबेला ।

९० वर्षकी गरिबाले पनि धेरैपटक भोट हालेकी छिन् ।

बचपनका यादहरू सपना जस्तै लाग्छन् उनलाई । बैंसालु जोवन त उनले भोग्नै पाइनन् । बैंस जब चुलिंदै थियो, उनको पेट अनि काखमा पनि बच्चा थियो ।

न आफू जन्मेको मिति थाहा छ, न आफूले छोराछोरी जन्माएको ।

‘बस् सब उपरवालेका कृपा’ अलिअलि बोल्न खोजिन् । फेरि लजाइन् कि मुस्कानले ओंठहरू टम्म मिल्न पुगे ।

उनले चुनावका बेला भोट माग्न आउने उम्मेदवारहरू मात्रै देखेकी छिन् । जितेका उम्मेदवारहरू सांसद भएको देखेकी छैनन् । सांसद भएर मन्त्री भएकाहरू पनि देखेकी छैनन् ।

हारेकाहरू त फर्किने कुरै भएन !

अहिले पनि भोट माग्न आउने नेताहरूले गरेको भाषण आफ्नै घरको आँगनमै घाम ताप्दै सुन्छिन् । बुझ्दिनन् । बुझ्ने मन पनि गर्दिनन् ।

सबैजसो दलका चुनाव चिह्न र ‘स्वतन्त्र’हरूको फोटो छापिएका पम्प्लेटहरूले त्यो झुपडीका भित्ताहरू रंगिएका छन् । दलका झन्डा र चुनाव चिह्न लहराइरहेका ‘तोरण’हरूले त्यो गाउँ आफैंमा झिलिमिली देखिन्छ ।

घरपरिवार साँझपख मात्रै जुट्छन् । कहिलेकाहीं कसलाई भोट दिने भन्ने सल्लाह हुन्छ । तर कसैले यसलाई वा उसलाई भनेर भन्दैनन् ।

‘हामीले यी नेताहरूलाई भोट दिने मात्रै त हो’ गरिबा भन्छिन्, ‘भोट लैजान्छन् अनि जान्छन् । अनि फेरि माग्न मात्रै आउँछन्, केही लिएर चाहिं आउँदैनन् ।’

इलियास र गरिबा भुजुवा जस्ता देहातका धेरैलाई न चुनावले छोएको छ न नेताका भाषणले ।

कसैलाई खेतबारीको धान स्याहार्ने रन्को छ, कसैलाई चाँडै काठमाडौं गएर इँटा बनाउन हतार छ । छुट्टीमा आएकाहरूलाई फेरि इण्डिया जान हतार छ । महिलाहरूलाई खेतीपाती, बालबच्चा र गाईवस्तु स्याहार्न आतुरी छ ।

तर पनि एकपछि अर्को गर्दै दिनहुँ गाडीको लाइन लाग्छ गाउँमा । नेताहरू आइरहन्छन् । हात जोड्छन् । भोट माग्छन् र एकछिन भाषण गरेर फेरि फर्किन्छन् । गाउँले उनीहरूका कुरा चुपचाप सुन्छन् । बेलाबेला नेताहरूसँगै त्यहाँ पुगेका कार्यकर्ताले ताली बजाउँछन् । अनायासै गाउँलेका हातहरूबाट पनि ताली बज्छ । तर किन बजेको हो उनीहरूलाई नै थाहा हुँदैन ।

‘सबै आउँछन् । देश बनाउने कुरा मात्रै गर्छन्’ एसईई दिने तयारी गर्दागर्दै बिहे गरेकी अफसाना भन्छिन्, ‘हाम्रो गाउँघर त उस्तै छ । आफ्नै गाउँठाउँ बनाउन नसक्नेले के देश बनाउँछन् !’

अघिल्लो दिन उनको गाउँ आएका एक जना उम्मेदवारले हरेक घरका एक–एक जनालाई रोजगारी दिने भनेर गएछन् ।

अफसानाका २२ वर्षे श्रीमान् अहिले भारतमा छन् । उतै मजदुरी गर्छन् ।

घर स्याहारेर बसेकी २० वर्षीया अफसानासँग पनि जीवनका केही सपनाहरू थिए । नर्स बन्ने सपना हुर्काइरहेकी अफसानाको एकाएक बिहेको कुरा छिनियो ।

एसईईको तयारी गरिरहेकी अफसानाका ती सपनाहरू अब सायदै पूरा हुनेछन् ।

सायद भोट माग्न आउनेले गरेका वाचाहरू जस्तै ।

शहरमा चहलपहल छ । पहिलो चरणको घरदैलो सकेर उम्मेदवारहरू अब चुनावी सभा र जुलूसमा व्यस्त छन् । कसले कति मान्छे देखाउने भन्ने प्रतिस्पर्धा छ ।

एउटा उम्मेदवारले अर्को उम्मेदवारमाथि गालीका वर्षा गरिरहेका छन् ।

गाउँका चोक–चौतारामा चिया गफहरू अचेल राजनीतिले रंगिन थालेका छन् । राजनीतिक दलका उम्मेदवारहरूदेखि स्वतन्त्रसम्मको चर्चाले देहातका चिया पसल, चौतारा तातेका छन् ।

गाउँका पाकाहरू अनि संघ–संस्थामा लागेका केही अगुवाहरूका कुरा सुन्न वरिपरि झुम्मिन्छन् केही बेर । र फेरि खेतबारी पस्ने हतारो हुन्छ ।

त्यही चोकमा भेटिएका रामकरण यादव गाउँकै एउटा सामुदायिक विद्यालयमा पढाउँछन् । २४ वर्षे मास्टरी जीवनलाई अब उनले खेतीपातीमा लगाउने सोच बनाएका छन् ।

‘गाउँघरका समस्या अलग छन् । यहाँका आवश्यकता फरक छन्’ उनी भन्छन्, ‘तर नेताहरू आएर ठूला कुरा मात्रै गर्छन् । भनेको कुरा गर्दैनन् । पटक–पटक भोट हालेर पनि के भयो र ! भन्ने हरेकको मनमा छ । त्यसैले अहिले चुनावी उत्साह खासै छैन ।’

२०४८ पछि २०६४ को संविधानसभा निर्वाचनमा उनले आमनागरिकको अथाह उत्साह देखेका थिए । किनकि वर्षौंपछि फेरि नागरिकले आफ्ना प्रतिनिधि चुन्ने मौका पाएका थिए ।

तर लगत्तै २०७० सालमा भएको दोस्रो संविधानसभामा त्यो उत्साह एकाएक सेलायो । पहिलो संविधानसभाबाट संविधान बन्न सकेन । अनि फेरि नागरिकमा निराशा छायो ।

‘सायद कुरा त्यस्तै त्यस्तै हो । नेताहरू भनेको काम गर्दैनन् । नागरिकलाई आफू जित्ने साधन मात्रै ठान्छन् । जितेपछि मतलबै छैन । हारेकाले त के गर्नु र !’ उनी भन्छन्, ‘यस्तै यस्तै कुराहरू हुन् । भोट किन हाल्ने ? कसका लागि हाल्ने ? भन्ने कुरा हो । त्यसलाई त नेताहरूले नै चिर्न सक्नुपर्छ । आफूले गरेका वाचाहरू पूरा गरेर मतदातालाई सम्झाउनुपर्छ ।’

र, त यो चुनावी रमझमबाट अलि टाढै छन्, देहातहरू । अनि शान्त छन् । चुनावी हावा खासै चलेको छैन । अनि सङ्लो छन् देहातहरू !





Source link

HamroAwaj

2022-11-08 21:53:12

Leave a Comment