दुई राणाले साँघुरो पारिदिएको चुनावी मैदानमा इश्तियाकको संघर्ष – HamroAwaj


२५ कात्तिक, बाँके । शहरी इतिहासको एउटा सग्लो र सजीव टुक्रा हो, नेपालगञ्ज शहर, जो जंगबहादुर राणाका जंगी डोबहरूमा उभिएको छ ।

मस्जिदहरूको ‘अजान’सँगै सुरु हुने नेपालगञ्जको झिसमिसेलाई मन्दिरका शंखध्वनिले सुमधुर बिहानी बनाइदिन्छन् ।

यो एउटा यस्तो शहर हो जहाँ मस्जिदसँगै मन्दिरका आँगनहरू गाँसिएका छन् । मन्दिरसँगै गुम्बाहरू जोडिएका छन् । चर्चहरू उसैगरी फैलिन थालेका छन् ।

मसानघाटमा मलामी जानेहरूसँग ‘कब्रिस्तान’का हकदारहरू पनि लामबद्ध हुन्छन् । र मसानघाटमा मलामी जानेहरू कब्रिस्तानसम्म पनि पुग्छन् ।

कहिलेकाहीं भड्किन खोज्छ यहाँको सामाजिक सद्भाव, तर फेरि उसैगरी सम्हालिन्छ । यो त्यही समाज हो जहाँका धार्मिक अगुवाहरू एकआपसमा आलिंगनमा बाँधिन्छन् ।

इदगाहमा शुभकामना साट्नेहरू मन्दिरमा आशिष थाप्न पुग्छन् । मौलाना अनि पुजारीबीचको मिलनले यहाँको सामाजिक सद्भावलाई एउटा बलियो डोरीमा कसेको छ ।

चुनावमा जेलिएको धर्म

गेरु बस्त्रमा घर–घर पुगेर मतदाताहरूलाई नमस्कार गरिरहेका उम्मेदवार दिवाकर खनालले आफ्नो प्रतिबद्धताको पहिलो नम्बरमै भनेका छन्, ‘हिन्दु राष्ट्रका लागि सडक र सदन दुवै ठाउँबाट आन्दोलन खडा गर्ने ।’

चुनाव प्रचारकै क्रममा केही दिनअघि एक ठाउँमा हिन्दु धर्मका अगुवाहरूलाई भेला गरेर एकजना उम्मेदवार धवलशमशेर राणाले चेतावनीकै शैलीमा सम्झाए– ‘तपाईंहरू सच्चा हिन्दु हुनुहुन्छ भने हलोमा भोट हाल्नुस् ।’

बाँकेको निर्वाचन क्षेत्र नं. २ मा यसपालि नेकपा एमालेले पनि हलो समाएको छ । र, धवलशमशेर राणा एमाले–राप्रपाका साझा उम्मेदवार हुन् । नेपालगञ्ज उपमहानगरपालिकामा दुई पटक प्रमुख भइसकेपछि अब उनी संसदीय यात्राको उकालो लागेका छन् । र यसपालिको चुनाव उनको यात्रामा तेस्रो प्रयास हो ।

खनाल पनि बाँके क्षेत्र नं. २ कै उम्मेदवार हुन् । हिन्दुहरूको सिपाहीका रूपमा चिनिने ‘शिवसेना’का चर्चित नेता खनाल ‘स्वतन्त्र’ उम्मेदवार हुन् ।

सत्ता गठबन्धनले नेपाली कांग्रेसका एकजना पुराना नेता सुदीप नरसिंह राणालाई आफ्नो साझा उम्मेदवारका रूपमा खडा गरेको छ ।

जनता समाजवादी पार्टीका नेता मोहम्मद इश्तियाक राई पनि यही चुनावी क्षेत्रबाट उम्मेदवार छन् ।

धवलशमशेर राणा

२५ वर्षपछि फेरि एमालेको फेरो समाएका डा. धवलशमशेर राणा राजनीतिक खानदानका एक खलक हुन् ।

यहाँ धेरैले उनलाई ‘धवल राजा’ भन्छन् । धेरैले नामबाट बोलाउन हिच्किचाउँछन् । उनी श्री ३ देवशमशेर राणाका पुस्ता हुन् ।

२०४९ सालमा जिल्ला अध्यक्ष भएर राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघ हाँकेका राणालाई संसद भवन छिर्ने उनको महत्वाकांक्षाले २८ वर्षपछि फेरि दोस्रो पटक चुनावी मैदानमा ओरालेको छ ।

र, २५ वर्षपछि फेरि ‘एमाले दौंतरी’हरूसँग चुनावी दोस्तियारी गरिरहेका छन् ।

भर्खरै बहुदल आएको त्यो बेला नै ‘पञ्चेहरूको पार्टी’ भनेर चिनिने राप्रपाको युवा संघ हाँकेका उनमा राजनीतिक महत्वाकांक्षाका चाङ उस्तै थिए । २०५१ सालसम्म पुग्दा नपुग्दै राप्रपामा उनले आफ्नो ‘चान्स’ देखिरहेका थिएनन् । र, उनी विस्तारै राप्रपामा अलि सुस्त सुस्त हुन थाले । २०५१ सालको आम चुनावमा उनी ‘स्वतन्त्र उम्मेदवार’ भएर संसदीय चुनाव लडे ।

त्यो चुनाव उनलाई जित्नु त थिएन, तर देखाउनु थियो ‘धवल पनि संसदीय चुनाव लड्न सक्छ ।’

तर यो त्यही चुनाव जहाँ बाँकेको इतिहासमा पहिलो पटक राप्रपाले जिल्लाको तीनै सिट कब्जा गर्‍यो । पञ्चायत ढलेको पाँच वर्षमै यहाँका जनताले फेरि ‘पञ्च’हरूलाई संसद भवन मात्र छिराएनन्, राप्रपाको ‘हुरी’ले धवललाई कोसौं पर पुर्‍याइदिएको थियो ।

तर पनि उनी शान्त रहेनन् । बाँकेको राजनीतिमा ‘सम्भावना’ बोकेको एउटा तन्नेरी धवलमाथि सबैजसो पार्टीका आँखा गडिरहेको थियो । उनी २०५२ सालमा एमाले प्रवेश गरे ।

२०५४ सालमा भएको स्थानीय चुनावमा एमालेले उनलाई तत्कालीन नेपालगन्ज नगरपालिकामा मेयर लड्न टिकट दियो । देशैभरि एमालेको लहर चलेको बेला धवल मेयर चुनिए । तर उनले आफ्नो ‘आदर्श संस्था’ मान्ने राजसंस्थाको अन्त्य हुनुभन्दा पहिला नै उनी फेरि पुरानै घर फर्किसकेका थिए ।

२०६३ सालको राजनीतिक र शाककीय स्वरुप परिवर्तन हुँदै गर्दा धवल पार्टीको एउटा जिम्मेवार पदमा पुगिसकेका थिए । २०६४ मा पहिलो संविधानसभा भयो, धवल बाँके–३ मा चुनाव लडे । कांग्रेसका सुशील कोइरालासँँग पराजित भए । २०७० सालमा पनि संसद पुग्ने उनको चाहना पूरा भएन ।

२०७२ मा जारी भएको नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनायो, धवल फेरि मेयर बन्न अघि सरे । २०७४ को स्थानीय चुनावमा उनी एक्लै लडे राप्रपाबाटै । यो बेलासम्म नेपालगञ्ज ‘उपमहानगर’ भइसकेको थियो । धवल पनि राप्रपामा सहमहामन्त्री भइसकेका थिए । चुनाव जिते ।

पाँच वर्ष बित्न कति नै लाग्छ र ! मेयरको कार्यकाल सकिंदा नसकिंदै उनले अब फेरि सांसदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरे । र, यसपालिको चुनावमा उनी फेरि संसदीय यात्राको एउटा कठिन परीक्षामा उत्रिएका छन्, उनै एमालेका सारथिहरू लिएर ।

केही ठाउँमा एकअर्कालाई सघाउने गरी राप्रपा र एमालेबीच पार्टीको केन्द्रीयस्तरमै समझदारी भएको छ । र, त्यो केही ठाउँमध्ये धवलको चुनावी क्षेत्र पनि एक हो ।

अलि अनौठो लाग्ने यो चुनावी ‘तालमेल’लाई बाँकेका एमालेजनले हृदयबाटै आत्मसात् भने गरेका छैनन् । मुख्य पदमा रहेका र पार्टीमा खट्ने नेता कार्यकर्ताबाहेक एमाले समर्थकले धेरै चासो दिएका छैनन् । ‘आफूले जित्ने बेला यी राणालाई सधैं एमाले चाहिने !’ नेपालगञ्जका एक पुराना एमाले नेता भन्छन्, ‘पहिला पनि एमालेले मेयर बनाइदिएकै हो । यसपालि पनि हामीले माननीय बनाइदिनुपर्ने ?’

तर आफूलाई नेपालगञ्जकै ‘ब्राण्ड’ ठान्ने ‘धवल राजा’ को चुनाव जित्छु भन्ने आत्मविश्वास डगमगाउन दिएका छैनन् । यसै साता एमाले र राप्रपाको संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गर्दै धवलले भनेका थिए, ‘मैले यहाँ लगभग सबैलाई चिनेको छु । सबैले मलाई पनि चिन्नुभएकै होला । तपाईंहरूकै सहयोगले दुईपटक यो उपमहानगर चलाउने जिम्मेवारी सफलापूर्वक पूरा गरेको छु । यसपालि पनि विश्वास गर्नुभएको छ । मैले पनि विश्वास गरेको छु ।’

‘नेपालगञ्ज मेरो घर हो । दश वर्षसम्मको युद्धले आफ्नै घर बिग्रिरहेको बेला म देश बनाउन त्यो बेला संसद जान चाहिनँ । पहिला आफ्नै घर सम्हाल्छु भनेर २०७४ सालमा नेपालगञ्जको मेयर भएँ । अब देश बनाउने बेला भयो । संसदमा जाँदैछु ।’

चुनाव हो । जित्नु त सबैलाई छ । तर जित्ने एक जना मात्रै हो । यसअघि दुई पटक संसदीय चुनाव हारेका धवलका लागि यो चुनाव उनको राजनीतिक जीवनको एउटा ‘कठिन’ परीक्षा पनि हो ।

चुनावी अभियानमा उनले उठाउँदै आएको ‘हिन्दु’ धर्म र ‘राजसंस्था’को मुद्दा उनकै लागि घातक पनि हुनसक्छ ।

उनका लागि त यो आदर्श नै हो । करिब ९८ हजार मतदातामध्ये धेरै हिन्दु मत भएकाले भोट तान्ने एउटा ‘आइडिया’ पनि ।

तर ‘अभिभावकीय संस्थाका रूपमा राजसंस्था र सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’लाई प्रस्तवनामै राखेको राप्रपा र विल्कुल फरक राजनीतिक दर्शन बोकेको एमालेसँगको तालमेल मात्रै धवलको संसदीय यात्राका लागि त्यत्ति सहज भने छैन ।

यो क्षेत्रमा २०७४ सालमा पनि एमालेको आफ्नै उम्मेदवार थिएन । एमालेले हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक समूहका पशुपतिदयाल मिश्रलाई आफ्नो सूर्य चिह्न दिएर लडाएको थियो । तर मधेश आन्दोलनका मुख्य कमाण्डर भनेर चिनिएका मिश्रले पनि जित्न सकेनन् ।

सुदीप नरसिंह राणा

नेपाल विद्यार्थी संघबाट नेपाली कांग्रेसको राजनीतिमा करिब ४० वर्ष सक्रिय जीवन बिताएका एक पुराना नेता हुन्, सुदीप नरसिंह राणा । नयाँ पुस्तामाझ त्यति धेरै नचिनिएका राणा कांग्रेसको संगठनभित्र भने स्थापित नेता हुन् ।

अन्तिम समयमा कांग्रेसबाट टिकट पाएका उनलाई एकीकृत माओवादी, राष्ट्रिय जनमोर्चा तथा एकीकृत समाजवादीलगायत सत्ता गठबन्धन दलहरूको साथ छ ।

बाहिर–बाहिर चुनावी प्रचारप्रसारको त्यति धेरै तडकभडक नदेखाएका राणा यसघि पार्टीमा खासै सक्रिय पनि थिएनन् । तर लामो समय नेपाल तरुण दलमा रहेका ‘तरुण कांग्रेस’ हाँकेका उनी खासै महत्वाकांक्षी पनि रहेनन् । खासगरी आफ्नै पार्टीका ‘ठूला’ नेताहरूको छायाँमा परेका उनले कांग्रेसभित्र कहिल्यै ‘ठाउँ’ पाएनन् । यसपालि पनि टिकट पाउने सम्भावना कमै थियो ।

किनकि यो क्षेत्र कांग्रेसको भाग पर्छ कि पर्दैन भन्ने अन्योल अन्तिमसम्मै थियो । इश्तियाक राईका कारण यो क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) ले अन्तिम समयसम्म आफ्नो दाबी छोडेको थिएन । तर मनोनयन दर्ताको दुई दिनअघि जसपा सत्ता गठबन्धनबाट बाहिरिएपछि मात्रै यो क्षेत्र कांग्रेसले पायो ।

विगतका चुनावमा ‘अन्तर्घात’बाट पिरोलिएको नेपाली कांग्रेसको यसपालि चुनावी रणनीति भनेको कांग्रेस जनलाई एक बनाउनु पनि हो । ‘बाहिर जेजस्तो देखिए पनि यसपालि नेपाली कांग्रेस एकबद्ध भएको छ । त्यसैले यसपालि भोटहरू खासै यताउता हुँदैन भन्ने विश्वास छ’, कांग्रेसका एक जिल्लास्तरीय नेता भन्छन् ।

स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यो क्षेत्रमा नेपाली कांग्रेसको करिब १८ हजारभन्दा धेरै मत छ ।

मोहम्मद इश्तियाक राई

मधेश आन्दोलनको ‘इपिसेन्टर’ भनेर चिनिने नेपालगञ्जको एउटा २८ वर्षे ठिटो २०६४ सालमा पहिलोपटक संसद भवन छिर्दै गर्दा एउटा शपथ पत्र अवधी भाषामा पनि लेखिएको थियो । नेपालको इतिहासमा पहिलोचोटि लेखिएको त्यो पत्र वाचन गर्ने पहिलो सांसद (संविधानसभा सदस्य) थिए, मोहम्मद इश्तियाक राई ।

कुनै बेला धवलले नै नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रजातान्त्रिक युवा संघमा उनी पनि थिए । पुर्ख्यौली राजनीति राप्रपाको भए पनि २०६३ को जनआन्दोलनपछि भने मधेशी जनअधिकार फोरमतिर लागे । २८ वर्षमा सांसद भएर ३१ वर्षमै मन्त्री समेत भएका इश्तियाकले छोटो समयमै राजनीतिक यात्रामा ठूलै फड्को मारे ।
२०६४ पछिका हरेक चुनाव उनी लडेका छन् । तर २०७० सालको संविधानसभा निर्वाचनमा भने उनले जित्न सकेनन् । चुनाव हारे पनि व्यवसाय र पार्टीको राजनीतिलाई सँगसँगै बढाएका इश्तियाकले २०७४ सालको निर्वाचन फेरि जिते ।

संयोग कस्तो छ भने त्यो बेला उनले दुई गठबन्धनका बीचबाट आफूलाई उम्काएका थिए । त्यो बेला एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले पशुपति दयाल मिश्रलाई समर्थन दिएको थियो भने कांग्रेसले राप्रपाका ओमप्रकाश आजादलाई सघाएको थियो । एक्लै चुनाव लडेका राईले दुवैलाई पराजित गरे ।

यसपालि पनि त्यस्तै छ । एमालेसँग चुनावी तालमेल गरेर राप्रपाका धवलशमशेर राणा मैदानमा उत्रिएका छन्, अर्कोतिर सत्ता साझेदार दलहरूको गठबन्धनबाट कांग्रेसका सुदीप नरसिंह राणा छन् । गठबन्धनका दुई राणाले साँघुरो पारिदिएको चुनावी मैदानमा आफ्नो जित जोगाउन इश्तियाकलाई सहज छैन ।

चुनावी अभियानका दौरान सुरुवातदेखि नै राईले सामाजिक सद्भाव र विकास–निर्माणलाई मुख्य मुद्दा बनाएका छन् । केपी ओली नेतृत्वको सरकारमा लगातार १९ महिना शहरी विकासमन्त्री र शेरबहादुर देउवा सरकारमा करिब तीन महिना भौतिक योजना तथा यातायातमन्त्री रहेका उनले संसद र सरकारमा रहेर गरेका कामहरूको लामो फेहरिस्तको एउटा किताब नै छापेर मतदातालाई बाँडिरहेका छन् । केही दिन अघि मात्रै आफ्ना चुनावी प्रतिबद्धता समेटिएको ‘१० दृष्टि’ सार्वजनिक गर्ने क्रममा उनले भनेका थिए– ‘जाति, धर्म र सम्प्रदायको नाममा होइन मैले विकासका लागि भोट मागिरहेको छु ।’

कस्तो चुनावी क्षेत्र ? कस्ता मतदाता ?

पञ्चायत ढलेको पाँच वर्ष नबित्दै फेरि राप्रपाले एकलौटी कब्जा गरेको जिल्ला हो, बाँके । तर अहिले राप्रपासँग त्यति धेरै मत छैन । त्यसमा पनि बाँकेको क्षेत्र नं २ ‘अस्थिर’ मतदाता रहेको क्षेत्र हो । यो एउटा त्यस्तो निर्वाचन क्षेत्र हो, जहाँ लगातार चुनाव लड्ने उम्मेदवारले दोहोर्‍याएर जितेका छैनन् ।

यो क्षेत्रको निर्णायक मत रहेको मुख्य क्षेत्र नेपालगञ्ज शहर हो । यो उपमहानगरमा २३ वटा वडा छन्, जसमध्ये २१ वटा वडा निर्वाचन क्षेत्र नं २ मा पर्छ । नजिकै रहेको डुडुवा गाउँपालिकाका ६ वटा वडा समेत यही क्षेत्रमा समेटिएका छन् ।

कुनै बेला यो क्षेत्रका केही भागहरू क्षेत्र नं ३ मा पनि थिए । त्यतिबेला स्व. सुशील कोइरालालाई समेत यहाँका मतदाताले हराइदिएका थिए । यो २०६४ सालको संविधानसभाको निर्वाचन थियो । यो क्षेत्रबाट लडेका कोइरालालाई मधेशी जनअधिकार फोरमका सर्वदेव ओझाले हराइदिएका थिए । तर करिब १४ हजार ९०० मत दिएर जिताएका ओझालाई अर्कोपटक यहाँका मतदाताले ७५ मतमा मात्रै सीमित गरिदिए ।

यो क्षेत्रमा करिब ९७ हजार ९०० मतदाता छन् । तीमध्ये करिब २८ प्रतिशत मतदाता मुस्लिम समुदायका छन् भने बाँकी धेरै हिन्दु र अरू धर्म मान्नेहरू छन् ।

चुनावका बेला धर्म र सम्प्रदायका कुराहरू उठे पनि भनेजस्तो सबै भोट आफ्नै सम्प्रदायको उम्मेदवारलाई जाँदैन । किनकि अघिल्लोपटक मेयर हुँदा धवलका पक्षमा यहाँका केही मुस्लिम समुदाय खुलेरै लागेका थिए भने हिन्दु समुदायले पनि प्रतिनिधिसभाको निर्वाचनमा इश्तियाकलाई समर्थन गरेका थिए । यसपालि पनि इश्तियाकका पक्षमा पहाडी र अरू समुदायको समर्थन उत्तिकै देखिन्छ ।

बाँके २ मा पर्ने नेपालगञ्जका मतदाता ।

यहाँ हिन्दु र मुस्लिम दुवै समुदायको भोट दुवैतिर बाँडिन्छ । इश्तियाकलाई मत नदिने मुस्लिमहरू छन्, धवल अनि सुदीप नरसिंहलाई भोट नदिने हिन्दुहरू पनि छन् । त्यसैमा पनि शिवसेनाका कमाण्डर स्वतन्त्र भएर आफैं चुनावमा उत्रिएका छन् । मतको यो बाँडफाँट र तानातानबीच केही नखुलेका वा ‘मौन’ मतदाताहरू छन् । उनीहरू पनि उम्मेदवारका लागि एक हदसम्म निर्णायक छन् ।

मध्य र सुदूरपश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्रका रूपमा स्थापित नेपालगञ्ज शहरमा विभिन्न जिल्लाबाट व्यापार–व्यवसाय गर्न आएकाहरू पनि छन् । उनीहरूको मत तान्न पनि उम्मेदवारहरू लागिरहेका छन् ।

मुख्य प्रतिस्पर्धामा रहेका सबैजसो उम्मेदवारहरूले एकअर्को पार्टीकै मत तान्ने प्रयासमा छन् । गठबन्धनभित्रै पनि ‘इमानदारी’को डर उम्मेदवारहरूलाई छ । र गठबन्धन नगरेका उम्मेदवारहरू गठबन्धनकै भोट तान्ने कसरतमा पनि छन् ।

यो निर्वाचन क्षेत्रभित्र पर्ने नेपालगञ्जका २१ वटा र डुडुवा गाउँपालिकाका ६ वटा वडाहरूमा स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूले पाएको मत संख्यालाई आधार मान्ने हो भने कांग्रेस र माओवादी केन्द्रको गठबन्धन अगाडि देखिन्छ । उनीहरूका उम्मेदवारहरूले स्थानीय तहको निर्वाचनमा करिब २५ हजार मत ल्याएका थिए ।

त्यस्तै अहिले तालमेल गरेर चुनावमा उत्रिएका राप्रपा र एमालेको मत हेर्दा करिब साढे २३ हजार मत छ । यो स्थानीय तहमा उनीहरूका उम्मेदवारहरूले ल्याएको मत हो । यसमा एमालेभन्दा राप्रपाको मत लगभग आधा जतिमात्रै छ ।

चुनावमा एक्लै भिडेको जनता समाजवादीको मत लगभग १४ हजार छ । तर २०७४ सालमा पनि योभन्दा आधा कम मत हुँदा पनि एक्लै भिडेर जितेका कारण इश्तियाक आफैंमा बलिया उम्मेदवार हुन् ।





Source link

HamroAwaj

2022-11-11 21:50:11

Leave a Comment