फेरि अर्को राजनीतिक ‘कु’ – HamroAwaj


प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सकियो ।

लगत्तै मतगणना पनि सकियो ।

बाउछोरी दुवै प्रतिनिधिसभाका सदस्य भए । उनीहरूको पार्टीले पनि प्रतिनिधिसभामा सबैभन्दा ठूलो पार्टीको आकार ग्रहण गर्न सक्यो । खुसीको कुनै सीमा थिएन । बाउले छोरीलाई हेर्‍यो, दुवै सुदूर भविष्य देखेर मुसुक्क मुस्कुराए !

घरमा माथिदेखि तलसम्म दिपावली गरियो । विवाहपछि पहिलो पटक घर चम्केको आज हो जस्तो लागेर बाउ फुरुङ्ग भयो । छोरी पनि सँगै रमाई । विजयी सांसद, समर्थक कार्यकर्ता र शुभचिन्तकहरूको घरमा ओइरो लाग्न थाल्यो । बाउ धमाधम कार्यकर्ता र सांसदहरू भेेट्न थाल्यो । देशको सर्वोच्च कार्यकारी पद फेरि हत्याउने सपना साकार हुने निश्चित देख्यो । र, जुँगामा ताउ लगाउँदै एक्लै मुस्कुरायो ।

बाउको व्यस्ततामा छोरी पनि औपचारिकता निभाउँदै नमस्कार गर्नमा तल्लीन भई । एक-दुई दिनपछि छोरीले पनि सांसद र कार्यकर्तालाई निरन्तर भेट्न थाली । ‘यो घरको मान्छे भोलिका दिनहरूमा ठूलै पदमा पुग्नेवाला छ’ भनेर सडकमा गाडी र मान्छेको घुइँचो देख्ने सर्वसाधारणले पनि अनुमान गर्न थालिसकेका थिए ।

भेट्ने क्रम बाक्लिंदै गयो । बाउछोरी दुवै एउटै लामो ठूलो फराकिलो हलमा बस्ने र सांसदहरू भेट्ने गर्न थाले । बधाई दिने र लिने गर्दा उनीहरूका हातलाई एकछिन फुर्सद थिएन । विस्तारै अरू पार्टीका नेताहरू पनि समय लिंदै भेट्न आउन थाले । भेटघाटका लागि समय मिलाएर विदेशी नियोगका राजदूत र प्रतिनिधिहरू पनि आउन थाले । भेट्ने कार्यको व्यवस्थापनमा निकै कार्यकर्ताहरू खटिएका थिए । बाक्लिंदै गएको भेटघाट व्यवस्थापन कठिन बन्दै गएको देखेर कुनै कर्यकर्ताले भन्यो, ‘बाउछोरीले अलग अलग भेट्नु राम्रो हुन्छ होला ।’

त्यसपछि भेटघाटका लागि बाउछोरी अलग-अलग कोठामा बस्न थाले । बाउ भेट्नेले छोरीलाई र छोरी भेट्नेले बाउलाई भेट्न कठिन भयो । विस्तारै बाउ भेट्नेले बाउ र छोरी भेट्नेले छोरीलाई मात्र भेटेर फर्किन थाले । भेटघाटको व्यस्तताले बाउछोरीको लागि खाना खाने समय पनि एकसाथ जुर्न सकेको थिएन । उनीहरू बीचको भेटघाट पनि पातलिंदै गयो । दिनभरको भेटघाटको सँगै बसेर चर्चा हुन पनि छोड्यो ।

भेटघाटमा कसरी मन्त्रिपरिषद बनाउने विषयले छलफलको लागि ठाउँ बनाउँदै गयो ।

मन्त्रिपरिषद बनाउने विषयले भेटघाटमा प्रवेश पाउने बित्तिकै बाउकहाँ भन्दा छोरीकहाँ भेट्नेको लर्काे बढ्दै गयो । टिकट वितरणको बेलामा छोरीले रोईकराई, घुक्र्याई र फकाई आफूलाई मन पर्ने नेता कार्यकर्ताहरूलाई टिकट दिलाएकी थिई । त्यसैले उनीकहाँ भीड लाग्नु स्वाभाविक नै हो, बाउले चित्त बुझायो ।

कामचलाउ सरकारले प्रतिनिधिसभाको बैठक आहृवान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी गरेको समाचार मिडियामा आयो । सरकारले तयारी गरेपछि पार्टीका गतिविधि झन् बढे । अन्तर-पार्टी बैठकहरू बाक्लै बस्न थाले । पार्टीभित्र पनि छलफलहरू बाक्लिंदै गए । बाउ त्यसबेला झसङ्ग भयो जब एक बलियो राजनीतिक पार्टीको नेताले ‘बैठकमा छोरी पनि बस्नुपर्छ’ भनेर प्रस्ताव गर्‍यो ।

‘किन ?’ बाउले प्रश्न राख्यो ।

‘पार्टीमा छोरीको विचार र मतले ठाउँ बनाउँदै गएको देखिन्छ, बाहिरबाट’ नेताहरूले स्पष्ट पारे ।

बाउ राजनीतिक दलहरूको बैठकबाट एउटा शंकाको पोको बोकेर निस्कियो ।

पार्टीको संसदीय दलको बैठक बस्यो ।

‘हाम्रो दलको संसदीय दलको नेता अब छोरी हुनुपर्छ’ छलफलमा एक विजयी सांसदले सस्वर प्रस्ताव गर्‍यो ।

प्रस्तावले बैठकको माहोल बेस्सरी ततायो । बाउको होश उड्यो । गरिब किसानको छोरा पटक-पटक प्रधानमन्त्री भयो भन्ने समाचार फैलेको सुन्न लालायित थियो, बाउ । तर, आफ्नो प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुने त होइन ? बाउ झसङ्ग तर्सियो । त्यसपछि छलफल अगाडि बढ्न सकेन । संसदीय दलको बैठक स्थगन भयो ।

प्रतिनिधिसभामा ठूलो दलको संसदीय दलको नेता चुनिएको थिएन । दोस्रो ठूलो दलको संसदीय दलको नेता चुनियो । स-साना सहयोगी दलहरूको संसदीय दलको नेता पनि चुनिए ।

एकदिन, बाउले छोरीसँग कुरा गर्ने समय माग्यो । दुई जना बन्द कोठामा छलफलमा जुटे ।

‘कसरी तिम्रो नाम आयो संसदीय दलको नेतामा ?’ बाउले छोरीसँग रिसाउँदै सोध्यो ।

‘किन म संसदीय दलको नेता हुन सक्दिनँ र ? कि हुनुहँुदैन ? कार्यकर्ता सांसदहरूको चाहना छ भने म पनि संसदीय दलको नेता बन्न सक्छु, अरूहरू कोही पनि हुन सक्दछन् । के अनौठो भयो र ?’

छोरीले पनि आफनो इच्छा निसंकोच राखी ।

‘बुबा, हजुर धेरै पटक प्रधानमन्त्री बन्ने धुनमा हुनुहुन्छ । म नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने लक्ष्यमा छु ।’

बाउ रन्कियो, दाह्रा किट्यो, तर रिसलाई पचायो ।

आफ्नो पक्षमा समर्थन कम देखेपछि रिसाउने बाउको बानीसँग छोरी परिचित थिई । गम्भीर बनी । तर पछि हटिनन् । दुईको अडान चट्टानी बन्दै गयो ।

केहीबेर दुवै चुपचाप बसे । पालैपालो ढोका खोले । दुईतिर लागे ।

दिनहरू बितेर गए ।

फेरि संसदीय दलको बैठक बस्ने भनियो । संसदीय दलको कार्यालय वरिपरि पार्टीका नेता, सांसद कार्यकर्ता झुम्मिए । अनेकौं अनौपचारिक मिटिङहरू भए ।

बाउछोरी बीचको द्वन्द्व देश, जनता र नागरिक सेवा थिएन । फगत पदको लुँछाचुँडी थियो । स्वार्थका लामा लामा सिङ-जुरा पलाएका थिए । द्वन्द्वको समाधान नजिक थिएन । फलतः निणर्ायक बैठक हुन पनि सकेन । गाईंगुईं अनेकौं हल्ला फैलिए । कार्यकर्ताहरू बाउछोरीबीचको रडाको देखेर छक्क र वाक्क पनि भए । आफू संसदीय दलको नेता बन्ने निश्चित नभई बाउ संसदीय दलको बैठक राख्ने पक्षमा पनि गएन ।

आफ्नो पार्टीका विपक्षी सांसदहरूको दबाव व्यवस्थापन गर्न पनि बाउलाई सहज भइरहेको थिएन । बाउले छोरीलाई ‘हठ त्याग्न’ सन्देश पठायो ।

‘बाबाले छोरीलाई मौका दिनुहुनेछ भन्ने आशा गर्दछु’ छोरीले पनि सन्देश पठाई ।

सोही पार्टीका विरोधी समूहका नेता कार्यकर्ताहरूले बाउछोरीको मनमुटावलाई स्वाभाविक मानिरहेका थिएनन् ।

प्रतिनिधिसभाको ठूलो दल राजनीतिक संकटमा । बाउको विरुद्धमा छोरी । बाउ छोरीबीच द्वन्द्व । कसले मार्ला बाजी । मिडियामा नयाँ नयाँ समाचारहरू देखिन थाले ।

बाउ र छोरीको व्यस्तता अलग अलग धुरीमा भइरहेको थियो । एकसाथ बसेर खाना खान पनि छोडिसकेका थिए । बाउ प्रायः गठबन्धनका नेताहरूको बैठकमा खाएर अघाउने गर्दथ्यो । छोरी घरमा आफ्ना समर्थक नेता, कार्यकर्ता सांसदहरूसँग बसेर हँसिमजाक गर्दै रमाउने र रणनीति बनाउने गरेकी थिई ।

कार्यकर्ता र सांसदहरूको जमघट छोरीतिर बढ्दै गएपछि गठबन्धनको बैठकमा पनि छोरीको सहभागिताको खोजी बढ्दै गयो । बाउले राजनीतिक दलहरूकोे बैठकमा आफ्नो महत्व घटेको महसुस गर्न थाल्यो ।

‘छोरीको पछाडि को छ ?’ बाउ मानसिक द्वन्द्वको चक्रमा घुम्न थाल्यो ।

बाउले आफ्नै दलभित्रका विरोधी समूहका सांसदहरूको बैठक बोलाउन लगायो र उपस्थित भयो । ‘पार्टी गम्भीर अवस्थामा छ’ भन्दै विपक्षी भनिएका सांसदहरूले पार्टी जोगाउन उसलाई पूर्ण समर्थन गरे । बाउको छाती खुसीले फेवाताल जत्रो भयो ।

बाउको पार्टीभित्र बाउछोरीबीच देखिएको रडाको पर बसेर प्रतिनिधिसभामा दोस्रो ठूलो दलको नेता हेरिरहेको थियो । अर्थात् च्याँखे थापिरहेको थियो ।

दोस्रो ठूलो दलको नेताले छोरीलाई बोलायो । छोरी र दोस्रो ठूलो दलको नेताबीच वर्तमान राजनीतिक घटनाक्रमको विषयमा लामो छलफल चल्यो ।

‘छोरी तपाईं संसदीय दलको नेता चुनिनु होस् मेरो बधाई शुभकामना र सहयोग छ । तपाईं पार्टी फोड्ने हिम्मत गर्नुहुन्छ भने पनि म प्रधानमन्त्रीमा तपाईंलाई नै समर्थन गर्दछु ।’ मौका पाउनासाथ दोस्रो ठूलो दलको नेताले छोरीलाई चारा हाल्यो ।

संसारमा दलहरू बन्ने, फुट्ने र फेरि जोडिने घटना नौलो होइन । र फेरि कार्यकर्ताले दल परिवर्तन गर्ने विषय पनि नाजायज होइन । दोस्रो ठूलो दलको नेताको प्रस्तावले छोरीको मथिङ्गल चक्करायो ।

एउटा निकास निस्कने लख काट्दै ‘दोमने’ प्रस्ताव लिएर छोरी दोस्रो ठूलो दलको नेताको घरबाट प्रफुल्ल मुद्रामा निस्किई । पत्रकारको ठूलो भीडले उसलाई पछ्याइरहेको थियो । छोरी गएपछि जुँगामा ताउ लगाउँदै दोस्रो ठूलो दलको नेताले वाइनको बोतल खोलेर एक पेग घुटुक्क पियो । र, हल्का भएको महसुस गर्‍यो ।

छोरीसँग छिमेकी मित्रराष्ट्रका दूतहरू भेट्न आउने क्रम झाङ्गदिै गइरहेको थियो । छोरीको राजनीतिक सक्रियता पनि हृवात्तै बढेर आकाशियो । बाउलाई भने आफू वाम पुड्के बनेको आभास भैरहेको थियो ।

केही दिनपछि, बाउले फेरि छोरीसँग छलफलको समय माग्यो । झण्डै एक हप्तापछि बाउछोरी पुनः भेट भए ।

‘तिमी किन त्यो दोस्रो ठूलो दलको नेतालाई भेट्न गयौ ?’ बाउले उठी-उठी छोरीसँग प्रश्न राख्यो ।

‘हजुर आफ्नो हितार्थ राजनीतिक दलहरूको बैठकमा गए जस्तै त हो नि, बाबा !’ छोरीले सामान्य जवाफ दिई ।

‘तिम्रो आचरण पार्टीको विधि-विधान विरुद्ध भयो’ बाउ फेरि कड्कियो ।

‘मलाई कारबाही गर्नुहुन्छ त ? गर्नुस् । अधिकार हजुरको हातमा छ’ छोरीले धुर्की लगाई ।

उफ् !बाउले रिसले मुड्की कस्यो ।

‘कुल बाबा, कुल !’ छोरीले मुस्कुराउँदै भनी ।

‘तिमीलाई मैले मेरो अवकाशपछि पो प्रधानमन्त्री बन्ने है भनेको थिएँ । तिमी त अहिले नै पो झम्टन आइपुग्यौ ? तिम्रो चालामाला देखेर त मलाई आश्चर्य लागिरहेछ’, बाउले जिज्ञाशा राख्यो ।

‘राजनीतिमा केको अवकाश र ? हजुरले अवकाश लिनुहुन्छ भनेर अरूले त मान्लान्, बाबा तर मैले कसरी पत्याउने ? जो हजुरको सबै बानीको जानकार छु । अधिकार खोसेर लिनुपर्छ भन्ने त हाम्रा पुर्खाहरूले सिकाएको शिक्षा नै हो नि, बाबा Û मलाई प्रधानमन्त्री बन्न दिनुस् । सजिलै नदिने भए म पार्टी फोड्न पनि सक्छु, थाहा पाइरहनु होला ।’ छोरीले कड्किंदै चुनौती दिई ।

‘पार्टी फोडछु रे ?’ छोरीको महत्वाकांक्षा र तेज देखेर बाउ बेस्सरी तर्सियो ।

बाउको हालत हेरेर छोरी भने गमक्क परी ।

यसपटक पनि छलफलले कुनै निष्कर्ष निकाल्न सकेन् ।

ब्ााउ छट्पटायो, निद्रा हराम भयो । आफ्नै पार्टीभित्रका विपक्षीहरूको भेला फेरि बोलायो । उसले विपक्षी समूहका साथीहरूमध्येबाट संसदीय दलको नेता हुन एक युवकलाई प्रस्ताव गर्‍यो ।

बाउको प्रस्तावले विपक्षी समूहका सांसदहरूमा हलचल ल्यायो । र बाउलाई छोरीले खोक्रो बनाइसकेको पोल पनि खुल्दै गयो ।

प्रतिनिधिसभाको निर्वाचन भएको महिना दिन पुग्न लाग्दा पनि ठूलो राजनीतिक दलको संसदीय दलको नेता चुनिन नसक्दा प्रतिनिधिसभाको बैठक डाकिएको थिएन । राजनीतिक गतिरोध देखेर अरू दलहरू छटपटाइरहेका थिए । ठूलो दलमा देखिएका क्रिया-प्रतिक्रियाको आलोचना गरिरहेका थिए ।

बाउले आफ्नो पार्टीभित्रका विरोधी समूहको नेतालाई संसदीय दलको नेता बन्न राखेको प्रस्ताव छोरीकहाँ पुग्यो ।

छोरी आफ्नो विरोधमा बाउले आफ्नै विरोधी खेमाको नेतालाई गुहारेकोमा रक्तपिपासु बघिनी जस्तो तम्तमाई । उत्तिखेरै, दोस्रो ठूलो दलको नेतासँग फोनमा छलफल गरी । छलफलपछि तत्कालै आफ्ना पक्षका सांसदहरूको भेला डाकी ।

छोरीको भेला बिथोल्न बाउले निकै प्रयास गर्‍यो । तर भेला भई नै छोड्यो ।

छोरी, हजुरले आफ्नो अठोट बदल्नुहुँदैन । हजुर नै संसदीय दलको नेता बन्नुपर्छ । भेलामा सबैको एउटै स्वर आयो । भेलाको स्वरले छोरीको मनोबल बाँसको लिङ्गोभन्दा अग्लो भयो ।
तानातानको अवस्था आयो भने छोरीले कठोर निर्णय लिन पनि पछि हट्नुहुँदैन, एउटा सांसदले उठेर भन्यो ।

‘के हो कठोर निर्णय भनेको ?’ अर्कोले प्रश्न गर्‍यो ।

‘पार्टी फुटाउने ?’ भीडबाट आवाज आयो ।

‘पार्टी फुटाउन हुन्न’, भीडबाट प्रतिध्वनि पनि गुन्जियो ।

‘पार्टी फोड्न हुन्न भन्नेहरू को को हो ? किन फुटाउन नहुने ? कसले फुटाएको छैन र ?’ छोरी उठेर कड्किन थाली ।

‘पार्टी फोड्न हुदैन’ भन्ने मत तापको रापले पग्लिएर विलायो । छोरीले भीडबाट निर्विरोध नेता बन्ने म्यान्डेट लिई ।

छोरी र दोस्रो ठूलो दलको नेताबीच चरण चरणमा छलफल भयो । छलफलमा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल फुट्नेदेखि अनेकौं विषयमा समाचार बग्रेल्ती आए । विस्तारै अन्तिम निर्णय लिने सोचले छोरीलाई गाँज्दै पनि लग्यो ।

बाउ किंकर्तव्यविमूढ भयो । पार्टी जोगाउने जिम्मेवारीले घप्लक्क छोप्यो ।

बाउले छोरीसँग छलफलको लागि फेरि समय माग्यो । साँझ घरको बैठकमा दुई जनाबीच लामो छलफल भयो ।

‘तिमी पार्टी फुटाउँछु भन्दै हिंड्छ्यौ रे !’ बाउले प्रश्न गर्‍यो ।

‘मैले भन्दैमा पार्टी फुट्छ र ? यत्रो वर्ष लगाएर बनाएको पार्टी भन्नुहुन्थ्यो त, कति कमजोर रहेछ ?’ छोरीको अनुहारमा कुटिल हाँसो दौडिरहेको थियो ।

‘तिमी कसरी बदलियौ, छोरी ? तिम्रो जरा कहाँ पुगेको छ ? तिमी आफ्नै नियन्त्रणमा त छ्यौ ? यसरी मसँग द्वन्द्व बढाउली भन्ने मलाई जीवनमा कहिल्यै लागेको थिएन । टिकट बाँड्दादेखि नै तिम्रो मनमा षडयन्त्र पसेको रहेछ’, बाउले रीस पोख्यो ।

‘बाबा, सबैको महत्वाकांक्षा हुन्छ । स्वार्थ हुन्छ, त्यसको सम्मान गर्न जान्नुपर्छ । उसको सोच, क्रिया उसको आँखाबाट हेर्नु र बुझ्नु पनि पर्छ । मान्छे त्यसै त विद्रोही हुँदैन नि Û’ छोरीले अर्ती दिंदै भनी ।
‘मलाई तिम्रो स्वार्थी लेक्चर सुन्नु छैन’, बाउ रन्कियो ।

‘मैले मेरो लक्ष्य र लक्ष्य प्राप्तिको मार्ग पनि बताएँ, बाबा । अब के गर्ने हजुर भन्नुस् । पार्टी जोगाउने भए खुरुक्क मलाई संसदीय दलको नेता बनाउनुस्, होइन भने …’ छोरीले धम्की दिंदै भनी ।
बाउ चुपचाप सुनिरहृयो ।

अन्तसम्म पनि समस्या समाधानको चुरो फेला परेन । कसैले त्याग गर्न पनि सकेन । महत्वाकांक्षाको टकराव भयो । गतिरोध टुङ्गएिन ।

एकातर्फ प्रतिनिधिसभाको बैठक डाक्न ढिलो भइसकेको थियो । अर्कोतिर प्रतिनिधिसभामा ठूलो देखिएको राजनीतिक दलको झगडा वरको रूख झैं झन् झन् झाङ्गदिै गइरहेको पनि थियो । सुल्झने छाँटै थिएन । राजनीतिक छटपटाहटको तातो हावा समाजमा चारैतिर फैलिएको थियो । पार्टीभित्रको कतातिर लाग्ने तानातान र धकेलाधकेल पनि सुरु भएको देखिन्थ्यो ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल र तेस्रो चौथो दलहरू सबै बाउको पार्टी फुटाउन सकेमा आफ्नो पार्टीको दीर्घायु देखिरहेका थिए र प्रत्यक्ष अप्रत्यक्ष रूपमा घिउतेल राख्दै पनि थिए ।

छोरीको महत्वाकांक्षा अत्यन्त तरल थियो र जो कसैले क्यास गर्न सक्दथ्यो । सबै विरोधीहरू उपयुक्त मौका पर्खिरहेका छन् भन्ने ज्ञान रिसको झोंकमा बाउछोरी दुवैलाई हुनसकेको थिएन ।

छिमेकी राष्ट्रहरूका प्रतिनिधिहरूले छोरीलाई भेट्न चासो दिन थाले । राजनीतिक दुर्गन्ध छिमेकी मुलुकहरूसम्म फैलिएको प्रष्ट हुन्थ्यो । विगतमा झैं, जति धेरै उनीहरू आउँथे त्यति धेरै नेपालको राजनीति बाङ्गदिै गइरहेको थियो । राजनीतिक दलहरू आफैं निर्णय गर्न नसक्ने दृश्य उदाङ्ग भयो ।

समय भड्किंदै गयो । बाउछोरीको राजनीतिक दाउपेच झन् धमिलो बन्दै गएको थियो । माछा मार्नेहरू सलबलाइरहेका थिए ।

एकदिन, छोरीले ठूलो निर्णय लिई । प्रतिनिधिसभामा ठूलो भएको राजनीतिक दलको चालीस प्रतिशत केन्द्रीय सदस्य र सांसद लिएर उसले नयाँ पार्टी गठन गरेको घोषणा गरी । बाउ अक्कनवक्क भयो । आफ्नो विरुद्ध आफ्नै सन्तान उठेको देखेर हैरान भयो ।

शत्रु त आफ्नै क्रियाबाट जन्मँदो रहेछ । बाउले ज्ञानको पोको बल्ल पायो ।

दोस्रो ठूलो दलको नेताले भने छोरीको साहसिक कदमको मुक्तकण्ठले प्रशंसा गर्‍यो । अन्य दलहरूले पनि सावधानीपूर्वक बोले ।

राजनीतिक चलखेल नसङ्लिंदै राष्ट्रपति, उपराष्ट्रपतिको पदावधि सकियो । प्रतिनिधिसभाको सभामुख बन्न सकेको थिएन । प्रधानमन्त्री चुनिन सकेको थिएन । देशमा राजनीतिक नेतृत्वको रिक्तता भयो । संविधानअनुसार कार्यकारी अधिकारको प्रयोग गर्ने राजनीतिक पद कुनै सक्रिय रहेन । देशको सम्पूर्ण कार्यकारी शक्ति स्वतः नेपाल सरकारको मुख्य सचिवको हातमा पुग्यो ।

एकाएक, देशमा राजनीतिक तूफान आयो ।

मुख्य सचिवले नेपाली सेनाको सहयोग र सहमतिमा कार्यकारी अधिकार प्रयोग गरेर कामचलाउ सरकार र संघीय संसद विघटन गर्‍यो । राजनीतिक दलका नेताहरू पक्राउ परे । दलहरू प्रतिबन्धित भए । देशभर कफ्र्यु लाग्यो । फेरि अर्को राजनीतिक ‘कु’ भयो ।

हप्तादिन पछि मुख्य सचिवले राजनीतिककर्मीहरूको नासो राजनीतिककर्मीहरूलाई नै फर्काइदिएको छु भन्दै नयाँ मन्त्रिमण्डलको घोषणा गर्‍यो ।

छोरी नयाँ प्रधानमन्त्री बनी ।

राष्ट्रिय टेलिभिजनमा आफ्नो पहिलो भाषण गर्दै छोरीले ‘जनताको चाहनाअनुसार वर्तमान संविधान खारेज गरेको र देशको राज्य संरचना र शासन प्रणालीमा आमूल परिवर्तन गरिने संकेतहरू दिंदै नयाँ संविधान लेख्न आयोग बनाएको घोषणा गरी ।’

दीपावली भयो ।

‘कु’ पछि देशमा राजनीतिक अस्थिरताले स्थायी रूप लिंदै गएको सबैले छर्लङ्ग अनुभव गरे ।

(यो कथा विशुद्ध काल्पनिक राजनीतिक कथा हो । तर कथाको विषयवस्तु चयन, विश्लेषण र प्रस्तुतीकरण कोही कसैको जीवनसँग मिल्न गएमा त्यसलाई संयोग मात्र सम्झनुपर्ने हुन्छ ।)





Source link

HamroAwaj

2022-11-12 11:09:00

Leave a Comment