यो चुनावमा मेरा चार सिफारिश – HamroAwaj


यहाँ मायाको छ चिन्ताऽऽऽ

देशका बारेमा अति धेरै चिन्ता र आक्रोश मलाई मन पर्दैन। तर, म आफैं पनि यो पाखण्डबाट पूर्णरूपमा मुक्त छैन।

हाम्रो सामाजिकीकरणले देशप्रति चासो र चिन्ता गर्न सिकाएको छ। पञ्चायतले यही सिकायो, बहुदल आएपछि नेताले यही सिकाए। ‘तिमी आफू को हौ भन्ने बिर्स। आफ्नो उद्देश्य र लक्ष्य बिर्स। आफ्नो रहर र खुशी बिर्स। बस्, देशको चिन्ता गर।’ हामीले सिकेको यही हो।

पहिले–पहिले रेडियो नेपालमा एउटा गीत खुबै चलेको थियो। त्यो गीत तपाईंले पनि सुनेको हुनुपर्छ – यहाँ देशको छ चिन्ता, तिमी माया, माया भन्छौ ऽऽऽऽ।

यस मानसिकताबाट मुक्त हुन सजिलो छैन। तर, सकेसम्म देशबाट आफूलाई ‘अलग’ राख्ने प्रयास भने म गरिरहेको हुन्छु। मलाई प्रस्ट थाहा छ– देश र म अलग कुरा हौं। नागरिकता नागरिकको निर्णयबाट निर्माण हुने होइन, केवल संयोग हो- म नेपालमा जन्मिन पाउँ भनेर अनुरोध गरेर नेपालमा जन्मेको होइन।

मानिस स्वतन्त्रतामा रम्न चाहने जीव हो। देश नियन्त्रणकारी संस्था हो। यसको अस्तित्व हामी स्वीकार गर्छौँ किनकि यसको विकल्पमा अर्को प्रभावकारी उपाय छैन। राज्यको अस्तित्वका बारेमा जाँ जाक रुसोको यस्तै धारणा छ – म उनको यो धारणाबाट प्रभावित छु।

नेपाल बाहिरका अन्य देशमा त्यहाँ बसोबास गर्ने नेपाली मूलका मानिसहरूमा नेपालका बारेमा अति धेरै चिन्ता र चासो देखेर म पहिला आश्चर्य मान्थें। आजभोलि दुखी हुन्छु। सम्भवतः मैले यसबारेमा अघिल्ला ब्लगहरूमा कुरा गरेको छु। उदाहरणका लागि दशकौंदेखि युरोपका विभिन्न देशमा स्थायी नागरिक भएर बसिरहेका नेपाली भेट्दा यस्तो लाग्छ उनीहरू शरीर त्यहाँ र आत्मा नेपालमा लिएर बाँचिरहेका छन्।

मैले केही पटक उनीहरूलाई भनेको छु- तपाईंहरू यहाँको नागरिक हो। आफू जहाँ बसेको छ त्यही देशको राजनीति, समाज र अर्थतन्त्रबारे चासो लिनुहोस्। आफ्ना छोराछोरीलाई यसमा प्रेरित गर्नुहोस्। आफ्नो सारा दिन नेपालका समाचार पढेर र त्यसबाट दु:खी भएर नबिताउनुहोस्।

नेपाल र अन्य दक्षिण एशियाली देशका विदेशका डायस्पोरा विभाजित मानसिकताले ग्रस्त छन्।

देश र त्यसप्रति नागरिकको चिन्ताको इतिहास चाखलाग्दो किन पनि छ भने आम मानिसको चिन्ताले देशलाई राम्रो बनाउँछ भन्ने कुरा गलत रहेको हाम्रो अनुभवले देखाउँछ। नेपाल र नेपाल जस्ता अनेकन् देश निरन्तर अधोगतिमा छन्। यस अधोगतिमा आम नागरिकका रूपमा म र तपाईंको कुनै भूमिका छैन। आम नागरिकले देश राम्रो बनाउन देश बनाउने भूमिकामा रहेकालाई प्रेरणा दिएका छौं, आन्दोलनमा शरीर पाखुरा गुमाएका छौं, आफ्नो चासो र चिन्ता व्यक्त गरेका छौं। तर, त्यसको परिणाम देखिएको छैन।

त्यसैले हामीले देशका बारेमा अतिशय चिन्ता र चासो राख्नुको पनि अर्थ छैन।

माथिको चर्चित राष्ट्रिय गीतलाई पुनर्लेखन गर्ने मौका पाए म भन्थें होला – यहाँ मायाको छ चिन्ता, तिमी देश, देश भन्छौऽऽऽ।

मङ्सिर ४ को आम निर्वाचन

नेपालमा निर्वाचनको गर्मागर्मी छ।

यस पटकको निर्वाचनका बारेमा मेरो धारणा यसअघि नै सेतोपाटीमा प्रकाशित लेखमा लेखिसकेको छु। त्यो लेख पढ्न झिंजो मान्ने पाठकका लागि एक–दुई वाक्यमा मेरा कुरा दोहोर्‍याउन सक्छु – यसपटकको निर्वाचनप्रति ममा विशेष उत्साह छैन। किन छैन भने यस पटकको निर्वाचन अवसरवादी राजनीतिक दलको ‘सिन्डिकेट’ वादी चिन्तनको पिंजडामा कैद भइसकेको छ।

तर, देशको अतिशय चिन्ता गर्ने गलत आदतका कारण होला म पनि यस निर्वाचनलाई नजिकबाट हेरिरहेको छु।

यसपटकको निर्वाचनमा मूलतः तीन शक्ति मैदानमा छन्। पहिलो शक्ति हो- राजनीतिक आदर्श र दूरदृष्टिलाई लात मारेर सत्ता र शक्तिको लोभमा फसेको कांग्रेस र अतिवादी कम्युनिस्ट पाखण्डीबीचको ‘गठबन्धन’।

मैदानमा रहेको दोस्रो शक्ति हो अहिलेको एमाले, निरङ्कुश पञ्चायतका दुर्गन्धित अवशेष र केही दिग्भ्रमित अवसरवादी भुरेटाकुरे दलबीचको अर्को कुपोषित गठबन्धन- जोसँग न कुनै दृष्टिकोण छ न आत्मसम्मान।

निर्वाचनमा होमिएको तेस्रो शक्ति केही स्वतन्त्र उम्मेदवार र स्वतन्त्र दलका नाममा चुनावमा भिडेका दल हुन्। ‘स्वतन्त्र’ मूलतः च्याँखे दाउमा हुन्। यिनले आफूलाई दलको विकल्प त ठान्छन् तर समग्र अर्थ-राजनीतिक दृष्टिकोणमा अपवादबाहेक यिनीहरू शून्य छन्। यिनीहरू आफूलाई स्वतन्त्र भन्छन् तर केबाट स्वतन्त्र र किन स्वतन्त्र भन्ने हेक्का उनीहरूलाई छैन।

त्यसैले, यसपटकको निर्वाचनमा कुनै दललाई एन्डोर्स गर्ने वा त्यसका लागि मत माग्ने झन्झटबाट म मुक्त छु।

लोकतन्त्र र दक्षिणपन्थको आरोह-अवरोह

नेपालको मात्र चिन्ता किन गर्ने ? आखिर हामी विश्वका लगभग सात अरब मानिसमध्ये एक हौं। संसारको चिन्ता किन नगर्ने ? आखिर संसारमा के भइरहेको छ त्यसले नेपाली हामी सबैलाई प्रभाव पारिहाल्छ।

नेपालमा चुनावको माहोल तातिरहँदा संसारमा केही रोचक घटना भएका छन्।

जसको आफ्नो चरित्र अधिनायकवादी छ, जसले छलफल र सहभागितामा विश्वास गर्दैन, जसले तानाशाहीको पक्षपोषण गर्छ- त्यसलाई मत दिनु आफ्नो स्वाधीनताको अपमान हो।

ब्राजिलका अति दक्षिणपन्थी पूर्व राष्ट्रपति जएर बोल्सोनारोलाई समाजवादी नेता लुला डि सिल्भाले हालै सम्पन्न आम निर्वाचनमा हराइदिएपछि ब्राजिल एउटा होश गुमाएको अति दक्षिणपन्थी लोकतन्त्रविरोधी शासकबाट मुक्त भएको छ। क्रूर दक्षिणपन्थी तानाशाह भ्लादिमिर पुटिनले तीन दिनभित्र कब्जा गर्ने घोषित लक्ष्यका साथ सुरु गरेको सार्वभौम युक्रेनमाथिको हमलाको नौ महिना बित्न लाग्दा आज युक्रेन युद्ध मैदानमा थप सशक्त भएको छ र एक प्रमुख विश्वशक्ति मानिएको पुटिनको रसियाको आन्तरिक कमजोरी छताछुल्ल भएको छ।

चीनमा सी चिन फिङ अर्को पाँचवर्षे कार्यकालका लागि कम्युनिस्ट पार्टीको बैठकबाट नियुक्ति पाएका छन्। अमेरिकाको महत्त्वपूर्ण आम निर्वाचन (मिडटर्म) मा दक्षिणपन्थी रिपब्लिकन पार्टीको अतिशय जोडबलका बाबजूद डेमोक्रेटिक पार्टीले सिनेट र प्रतिनिधिसभा दुवैमा आफ्नो दह्रो उपस्थिति कायम राख्न सफल भएको छ।

यसको अर्थ हो- अपवादबाहेक संसारमा लोकतन्त्र र यसप्रतिको प्रतिबद्धता जीवित छ र कतिपय ठाउँमा सुदृढ समेत हुँदैछ। चीनमा चिन फिङको निरङ्कुश शासनमा सतहमा सन्तुलन देखिएको भए पनि क्रूर तानाशाही (जस्तै, उत्तरकोरिया, इरान, भेनेजुएला, साउदी अरब आदि) र पपुलिस्ट न्याश्नलिस्ट (जस्तै, भारत, हङ्गेरी, बेलारुस आदि) आज तुलनात्मक रूपमा कमजोर छन्। ती देशहरूमा लोकतन्त्रप्रतिको आवाज प्रखर हुँदैछ। यो सुखद कुरा हो।

यसो किन हुँदैछ ? अनेकन् कमजोरीका बावजूद मानिसहरू र विशेषगरी ‘किशोर पुस्ता’ किन स्वतन्त्रता, लोकतन्त्र, खुलापनलाई किन रोजिरहेको छ ? यो प्रश्न रोचक छ। यसमा मेरो जवाफ माथि समेटिएको छ। मानिसलाई आफ्नो स्वतन्त्रता प्यारो हुन्छ। इरान होस् या अमेरिका- मानिसले रोज्ने अवसर पाउने हो भने आफ्नो स्वतन्त्रतालाई रोज्छ।

यो चुनावमा र हरेक चुनावमा हामीले विचार गर्नुपर्ने कुरा यही यो। स्वतन्त्रता र खुलापन महत्त्वपूर्ण कुरा हो। यसको अभावमा कुनै देश वा समाज सुखी, समृद्ध रहन सक्दैन। स्वतन्त्रता नभएको समाजको समृद्धि कृत्रिम र जोखिमपूर्ण हुन्छ। आज संसारका अनुभवले हामीलाई त्यही भनिरहेका छन्।

नेपालका नेता, बुद्धिजीवी, घाघडान पत्रकार आदिले नागरिकता, अर्थतन्त्र, विदेश मामिला आदि सन्दर्भमा कुरा चल्दा ‘देशको हित, देशको सुरक्षा, देशको इतिहास’ भनेर कुरा गर्छन् मेरो मनमा अति वितृष्णा पैदा हुन्छ। म मानिसलाई महत्त्वपूर्ण देख्छु। मानिस प्रमुख हो- देश त्यसपछि आउँछ।

देश र देशको चिन्ता गर्नेहरूले मानिसलाई पराधीन बनाउने षड्यन्त्र गरिरहेका हुन्छन्। यस षड्यन्त्रबाट हामी नागरिकले सधैं सचेत रहनुपर्छ। नागरिकले सचेत रहने एउटा मात्र उपाय भनेको लोकतन्त्र र स्वतन्त्रताप्रतिको जनप्रतिनिधिको निष्ठाको मूल्याङ्कन हो।

जसको आफ्नो चरित्र अधिनायकवादी छ, जसले छलफल र सहभागितामा विश्वास गर्दैन, जसले तानाशाहीको पक्षपोषण गर्छ- त्यसलाई मत दिनु आफ्नो स्वाधीनताको अपमान हो।

बुवाको भोट

संविधानसभाको दोस्रो निर्वाचनमा म बुवालाई मण्डिखाटारको भोट खसाल्ने ठाउँ (त्यो डाँडाको विद्यालयको नाम बिर्सेँ) मा लैजाँदै थिएँ। बाटोमा मैले सोधें- बुवा यसपटक कसलाई भोट दिनुहुन्छ ?

बुवाले भन्नुभयो– ‘यसपल्ट गल्ती नगर्ने’। संविधानसभाको पहिलो निर्वाचनमा बुवाले माओवादीलाई भोट दिएको मलाई थाहा थियो। त्यस निर्वाचनमा बुवाले माओवादीको चुनाव चिह्नमा भोट हाल्दा मलाई भन्नुभएको थियो- माओवादीलाई पनि भोट दिन पाइयो, अब उसलाई बहुदल नमानेर सुख ? माओवादीलाई पहिलो निर्वाचनमा भोट दिनेले वास्तवमा बहुदलमा भोट दिएका थिए।

संविधान बन्न नपाई बुवा हामीलाई छोडेर बिदा हुनुभयो।

मेरो बुवाको जीवन सङ्घर्षको कथा हो। त्यो कथा लेखिने र पढिने छैन। यद्यपि, बुवा र उहाँ जस्ता उस्तै सङ्घर्ष भोगेका कैयौं मानिसले गरिबी र अभावका बीच आफूलाई नेपालका कम्युनिस्ट पार्टीले सिर्जना गर्ने भूलभुलैयाबाट पर राखे। स्वतन्त्रता र खुलापनका लागि कम्युनिस्ट बाहेक अर्को विकल्प रोजे र हरेक निर्वाचनमा कांग्रेस पार्टीलाई निरन्तर भोट दिए।

दु:खद् कुरा के भने मेरो बुवा र उहाँ जस्ता सर्वसाधारण मतदाताको निष्ठालाई नेपाली कांग्रेस पार्टीले पटक–पटक अपमान गरेको छ। प्रचण्डसँगको गठबन्धन एउटा ताजा उदाहरण हो। गठबन्धन राजनीतिको मारमा परेका कांग्रेस आस्थावान मतदाता मात्र छैनन्- एमालेको मध्यमार्गी समाजवादी आदर्शप्रति निष्ठावान लाखौं कार्यकर्ता, समर्थक र शुभेच्छुक राप्रपासँग उसको विलयबाट प्रताडित छन्।

इन्डोर्समेन्ट

रुपा सुनारमाथि भएको अन्यायको विरुद्धमा मैले आफ्नो ब्लगमा भनेको थिएँ- बुद्धिजीवी भनेको संसारमा भएका जस्ता सुकै अन्याय-अत्याचारका घटनामा हात बाँधेर बस्ने वर्ग होइन। म आफूलाई बुद्धिजीवी ठान्दिनँ, तर समाज र राजनीतिका महत्त्वपूर्ण मुद्दा र सन्दर्भमा आफ्नो मत अभिव्यक्त गर्ने हरेक नागरिकको कर्तव्य हो। यस्तो व्यवहारले बहसलाई गहिरो बनाउँछ, र लोकतन्त्रलाई सुदृढ।

मौनता जसलाई हामी सामान्य बुझाइमा तटस्थता भन्छौं वा हामी जसरी तटस्थताको अपेक्षा गर्छौं त्यो आफैंमा पक्षधरता हो। गलत कुरामा मौन बस्नु पक्ष लिनु हो। अर्थात्, विशेष परिस्थिति र ऐन–मौकामा मुख थुनेर बस्नु र आफ्नो मत जाहेर गर्न लाज मान्नु पनि पक्षधरता हो, र मेरो विचारमा त अवसरवाद नै हो।

यसपटकको आम निर्वाचनको परिणाम कस्तो होला भन्नेमा मलाई ठूलो सरोकार छैन। किनकि म समग्रमा यसपटकको निर्वाचनप्रति आशावादी छैन। मलाई के लाग्छ भने यसपटकको निर्वाचनको परिणाम जे-जस्तो आए पनि त्यसपछि तत्काल सुरु हुने सत्ताको मोलमोलाइ हो। यसमा जनताका मुद्दा र नयाँ संविधानले तय गरिदिएका राज्य पुनर्संरचनाका मुद्दाका लागि कुनै ठाउँ हुने छैन।

यद्यपि, यस अन्धकारका बीच हामीले थोरै भए पनि उज्यालो खोज्नैपर्छ। त्यो उज्यालोको दियो अहिले कुन उम्मेदवारसँग छ ? यो प्रश्न महत्त्वपूर्ण छ।

मलाई लाग्छ त्यो दियो गगन थापा र विश्वप्रकाश शर्मासँग छ। यस पटकको आम निर्वाचनको नतिजामा मैले चासो मानेर हेर्ने यिनै दुई उम्मेदवारले पाएको मत हो।

गगन थापा र विश्वप्रकाश शर्मा

गगन र विश्वप्रकाशले देश र समाजका महत्त्वपूर्ण मुद्दामा सदन र सडकमा बोलेका छन्। जनतासँग प्रत्यक्ष संवाद गरेका छन्। आफूलाई लागेका कुरा सही-गलत जे होस् अरूलाई संकोच नमानी सुनाएका छन्। फरक आवाजलाई सुनेका छन्। आफ्ना विरोधीप्रति सम्मानभाव देखाएका छन्। लोकतन्त्रका वास्तविक आदर्शलाई सकेसम्म आफ्नो जीवन र राजनीतिमा अनुसरण गर्ने प्रयास गरेका छन्।

त्यसैले, मेरो नैतिक मत यसपटकको निर्वाचनमा गगन र विश्वप्रकाशलाई !

यो ‘नैतिक’ मत उनीहरूलाई निर्वाचनमा विजयी गराउनका लागि होइन। मलाई थाहा छ उनीहरू दुवैलाई निर्वाचन जित्न मेरो सिफारिसको आवश्यकता छैन। तर, माथि चर्चा गरेको नागरिकको स्वतन्त्रता र खुलापनको चाहनालाई सम्मान गर्ने र यसलाई जीवित राख्ने राजनीतिक आदर्श गगन र विश्वप्रकाशले बुझेका छन्। मेरो इन्डोर्समेन्ट राजनीतिक आदर्शका लागि हो – चुनावको मत बढाउन होइन।

मेरा लागि हो, उनीहरूका लागि होइन – किनकि म इतिहासमा सही ठाउँमा उभिन चाहन्छु।

युग र मिलन

गत वर्षको हिउँदमा म काठमाडौंमा थिएँ। त्यसक्रममा केही स्वाभाविक भेटघाट भए र केही अप्रत्यासित।

युग पाठक नेपालका सन्दर्भमा परिचित नाम हो। उनको सैद्धान्तिक रुझान र लेखकीयका बारेमा जानकार नै थिएँ। प्रस्ट छ उनी कम्युनिस्ट विचार बोक्छन्। सँगसँगै सामाजिक न्याय र अल्पसङ्ख्यकको राजनीतिक अधिकारका बारे उनका विचार ‘क्रान्तिकारी’ छन्। नेपालमा क्रान्तिकारीलाई अतिवादी भनेर बुझ्ने गरिन्छ। जे होस्- युग पाठकले त्यस्तो विचार समूहको प्रतिनिधित्व गर्छन् जसले परिवर्तनलाई न्यायसँग जोड्छ र अधिकारका रूपमा बुझ्छ।

सुकेधारा नजिकैको चियापसलमा युग पाठकसँग कुरा गर्दैगर्दा उनको बौद्धिकता र सामाजिक न्यायप्रतिको उनको लगावबाट म औधी प्रभावित भएँ। उनले मलाई नेपाली समाजका अन्तरविरोधका बारेमा आफ्नो सरल र सटिक व्याख्या सुनाए, आफू बारेमा फैलिएका भ्रमको यथार्थबारे बताए र आफू सामाजिक न्यायको क्षेत्रमा कसरी र किन क्रियाशील छु भन्ने स्पष्ट पारे। युगसँग म जति–जति कुरा गर्दैगएँ म नेपालको बौद्धिक र सार्वजनिक वृत्तमा व्याप्त पूर्वाग्रहप्रति थप जानकार हुँदैगएँ र उनीप्रति मेरो सम्मानको पारो बढ्दै गयो।

युग पाठक कुनै राजनीतिक दलको अध्यक्ष नबन्लान्। मन्त्री वा प्रधानमन्त्री अवश्य बन्ने छैनन्। यद्यपि उनको उम्मेदवारी सामाजिक न्यायको दियो हो। उनी यस पटकको निर्वाचनमा विजयी होलान्, हुन्छन् वा हुन्नन् त्यसको अनुमान म गर्न सक्दिनँ तर उनको उम्मेदवारी र उनले पाउने मत आफैंमा खुला र जीवन्त समाजका ऊर्जा हुन्।

युगको उम्मेदवारी स्वयंमा नेपालको राजनीतिलाई रूपान्तरण गर्ने र यसलाई जनताकेन्द्रित बनाउने एउटा अभियान हो। युग र युग जस्तै जुझारु मानिसहरूले यस अभियानलाई निर्वाचन वा अन्य माध्यमले जीवन्त बनाउन सक्नुपर्छ। यसपटकको चुनावमा मेरो अर्को इन्डोर्समेन्ट युग पाठकलाई।

युग पाठक र मिलन पाण्डे

मलाई प्रभाव पार्ने यसपटकका चौथो उम्मेदवार हुन्, मिलन पाण्डे।

साझा पार्टीप्रति यसको स्थापनाकालदेखि नै म आलोचनात्मक छु। यसको स्थापनामा राजनीतिक रङ थिएन। जुन दिन साझा पार्टी खोल्ने घोषणा भयो र त्यसपछि साझा पार्टीका नाममा जेजति क्रियाशीलता भए ती कुनैमा मैले राजनीतिक रङ देखेको छैन। साझा पार्टी असल र जुझारु मानिसहरूको समूह थियो होला- तर त्यो विचार र दृष्टिकोणका हिसाबले ‘तन्नम’ थियो। देश, राजनीति, जनता, व्यवस्था, परिवर्तन आदि कुनै विषयमा यस पार्टीसँग स्पष्ट दृष्टिकोण थिएनन्। यो कुराको साझा पार्टीका मानिसहरूले कहिल्यै हेक्का पाएनन्।

विवेकशील पार्टी यस मानेमा साझाभन्दा फरक थिएन। यसलाई नेतृत्त्व दिने विगत र वर्तमानका कतिपय मानिस इमानदार र परिश्रमी अवश्य थिए। उनीहरूसँग परिवर्तनका योजना र केही दृष्टिकोण नभएको पनि होइन। ती आकर्षक नै थिए। तर, उनीहरूका दृष्टिकोणमा कुनै संरचना थिएन। उनीहरूका बुझाइ अर्थ-राजनीतिमा आधारित थिएनन्। ती टालटुले र सतही थिए। अपरिपक्व र अनुपयोगी थिए। अहिले पनि त्यस्तै छन्।

तर, मिलन पाण्डे यस्तो व्यक्तित्वका रूपमा अगाडि आएका छन् जसले राजनीतिको खेल र यसका नियम फेर्न चाहन्छन्। शिक्षा क्षेत्रमा समग्र रूपान्तरणका लागि उनले जे–जति मुद्दाको उठान गरेका छन् त्यसमा निहित उनको बौद्धिकता र परिश्रमको सम्मान गर्नैपर्छ। उनी यस्तो उम्मेदवार हुन् जसले नेपालको समस्याग्रस्त एउटा महत्त्वपूर्ण क्षेत्रलाई आमूल परिवर्तन गर्ने विचार र ऊर्जा बोकेको छ। मैले एउटा क्षेत्र विशेषमा यति धेरै रुझान भएको अर्को उम्मेदवार देखेको छैन।

राजनीतिलाई समग्रतामा बुझ्ने प्रतिनिधिले प्रशस्त मौका पाएका छन्। एउटा क्षेत्र विशेषलाई गहिरो रूपमा बुझ्ने र त्यसमा काम गर्ने जोश र जाँगर भएको मानिसले प्रतिनिधिसभामा मौका पाउने हो भने उसको ऊर्जाको प्रयोग गर्ने अवसर प्राप्त हुनेछ।

मलाई लाग्छ मिलन पाण्डेले अवसर नपाउनु नेपालको राजनीतिले पनि अवसर गुमाउनु हो। मेरो इन्डोर्समेन्ट उनका लागि पनि। 

निर्वाचन आयोग एक समस्या, एक उदाहरण

आजभोलि सबैको चासोको केन्द्रमा छ निर्वाचन आयोग। यसका हरेक दिनका गतिविधि, निर्णय, यसले प्रवाह गर्ने सन्देश, यसले गर्ने गल्ती र सच्याउनका लागि जारी गर्ने स्पष्टीकरण आदि चर्चाको विषय बनिरहेका छन्। केही स्वाभाविक र केही अस्वाभाविक लाग्ने आयोगको सक्रियता यति बढी छ कि यस्तो लाग्छ अहिले देश निर्वाचन आयोगले चलाएको छ।

अब एकैछिन यसले निर्वाचन शिक्षा र सचेतनाका लागि बनाएका सार्वजनिक सन्देश र तिनमा निहित मानसिकतालाई हेरौं।

नेपालको भविष्य कस्तो हुने भन्ने यस चरित्रको रूपान्तरणमा मात्र सम्भव छ। त्यसैले, हरेक मतदाताले त्यस्तो प्रतिनिधि छानुन् जसले जनतालाई रैती नठानोस् र आफूलाई शासक नभनोस्

एउटा सन्देशले भन्छ- महिलाले घरको काम अर्को दिनका लागि थाती राखेर भोट खसाल्न जानु। अर्को सन्देश छ- चुनावमा भोट हालेर विदेश जानु। एउटा सन्देशमा धर्मविशेषको नीति कथा छ जसलाई अर्को ठाउँको यस्तै सन्देशबाट जस्ताको तस्तै नक्कल गरिएको आरोप छ। यी सन्देशमा निहित असंवेदनशीलता र अज्ञानतालाई हेर्दा अहिले निर्वाचन आयोगको उच्च नेतृत्व- जसमा नेपालका घाघडान शिक्षित र अनुभवी मानिस छन्- को अक्षमता छताछुल्ल भएको छ।

नेपालको भीमकाय निर्वाचन आयोग र दिग्गजहरूले भरिएको उसको कार्यदलमा एउटा त्यस्तो सचेत मानिस रहेनछ जसले महिलाहरू घरको कामकाज गर्ने हुन् भन्ने स्टेरिओटाइप गलत हो भनेर बुझेको छ।

निर्वाचन आयोगको अक्षमता यसका सन्देशमा मात्र छैनन्। यसका प्रमुख आयुक्त र उच्च कर्मचारी यस्तो स्वर र लवजमा सार्वजनिक टिप्पणी गर्छन् कि यस्तो लाग्छ यस देशका सबैभन्दा ठूला, आदर्शवादी र इमानदार उनीहरू नै हुन् र बाँकी सबै उनीहरूका आज्ञापालक।

निर्वाचन आयोग अखबारबाट समाचार झिक्न चाहन्छ। निर्वाचनबाट उम्मेदवार हटाउन खोज्छ।

तर, यो मानसिकता निर्वाचन आयोग विशेषको मात्र चरित्र होइन। यो नेपालको असमावेशी राज्यसंरचना र शासक वर्गमा रहेको साझा चरित्र हो जसले जहिले पनि आफूलाई स्वतः योग्य र अन्यलाई रैती मात्र देख्छ। अन्य जात, लैङ्गिकता, धर्म, संस्कृति, क्षेत्रप्रति पूर्वाग्रह राख्छ। यो चरित्र नेपाली राज्यका सबै संस्था, निकाय, तहमा पट्यारलाग्दो गरी व्याप्त छ।

नेपालको आवश्यकता राज्य संरचना र यही मानसिकताको रूपान्तरणको हो। जति ठूला कुरा गरे पनि र जस्तासुकै असल योजना-परियोजना बनाए पनि जबसम्म शासक वर्गमा देश र यसका वास्तविक हकदारका बारेमा बुझाइ फेरिंदैन तबसम्म देश उन्नतिको मार्गमा अघि बढ्ने छैन।

यो काम असम्भव र जटिल छैन। यसका लागि कुनै वर्ग र समूहलाई काखा वा पाखा गर्नु पर्दैन। संविधानले स्पष्ट रूपमा तोकिदिएको समावेशिता, राजनीतिक अधिकारको सुनिश्चितता र सामाजिक सुरक्षालाई सुदृढ बनाउने हो भने नेपालका प्रशस्त समस्याको समाधान त्यहीं छ।

नेपालको भविष्य कस्तो हुने भन्ने यस चरित्रको रूपान्तरणमा मात्र सम्भव छ। त्यसैले, हरेक मतदाताले त्यस्तो प्रतिनिधि छानुन् जसले जनतालाई रैती नठानोस् र आफूलाई शासक नभनोस्, संविधानका मर्म र प्रावधानको कार्यान्वयनमा प्रतिबद्ध रहोस्।

यसका लागि मेरो नजरमा गगन, विश्वप्रकाश, युग र मिलन योग्य देखिए।





Source link

HamroAwaj

2022-11-13 07:56:18

Leave a Comment