‘कांग्रेसमा भोटोसमेत नफटाएका व्यक्ति मसँग लड्न आए’ – HamroAwaj


२८ कात्तिक, चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन-१ बाट प्रतिनिधिसभा उम्मेदवार छन् । यसअघिका दुईवटा निर्वाचन यसै क्षेत्रबाट निर्वाचित पाण्डे यसपटक नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलउसँग प्रतिस्पर्धामा छन् ।

हिजोआज मतदाताको घरदैलोमा रहेका पाण्डेसँग चितवनको रत्ननगरमा गरिएको कुराकानी :

चुनावी माहोल कस्तो चल्दै छ ?

अभियान राम्रोसँग चल्दै छ । तपाईं आफैंले पनि सँगै हिँड्ने क्रममा धेरै कुरा देख्नुभयो । निरन्तर घरदैलो, भेटघाट चलिरहेको छ । यसपालि निर्वाचनको आचार संहिताको व्यवस्थाले घरदैलो अभियान पनि ठूलो संख्यामा नगर्नु भनिरहेको छ । त्यस हुनाले पनि आचारसंहिता अनुसारको घरदैलो चलाइरहेका छौं ।

तपाईं निरन्तर यही क्षेत्रबाट जित्दै आउनुभएको छ । कति आकांक्षा पूरा भए, कति पूरा हुने क्रममा छन् भन्ने चासो मतदाताको हुन्छ । तपाईंले आफ्ना मतदातालाई सुनाउनुपर्दा यहाँ चितवन १ मा के कस्ता काम भएका छन् ?

म पाँच वर्षअघि यहाँको प्रतिनिधि चुनिएँ । यहाँ हामीले कबुल गरेका केही कुरा थिए, ती मुख्य रुपले सम्पन्न भएका छन् । केही प्रारम्भ भएका छन्, केही बीचमा पुगेका छन् । आरम्भ नै नभएको कुरा एउटा पनि छैन ।

जस्तो सौराहामा हामीले अन्तर्राष्ट्रिय सभाहल बनाउने भनेका थियौं । त्यहाँ १५ सय सिट क्षमताको सभाहल निर्माण करिब करिब सम्पन्न हुने चरणमा पुगेको छ । दोस्रो, हामीले शक्तिखोर–कयर खोला तटबन्धको कुरा उठाएका थियौं ।

अहिले त्यसमा करिब ५० करोडजति पैसा परिसकेको छ । झण्डै तीन अर्बको योजना भएको हुनाले एकै वर्ष वा केही वर्षमा सम्पन्न हुन गाह्रो छ । तर, त्यो निरन्तर अगाडि गइरहेको छ । पूर्वी चितवन रिङरोडको कुरा ल्याएका थियौं । ६० किलोमिटरमध्ये त्यसको २० किलोमिटर भाग पिच पनि भइसकेको छ ।

साना साना छोटा छोटा बाटाहरु धेरै सम्पन्न गर्नुपर्नेहरु छन् । मानिसहरुमा के चेतनाको अभाव छ भने, एउटा ह्युमपाइप पनि हालेन भन्छन् । त्यो पाइप हाल्ने वडाले हो भन्ने बुझ्दैनन् उनीहरु । तिमीलाई भोट हालेको हो भन्छन् । अलि बीचका योजना प्रदेशले गर्ने हो र ठूला योजा चाहिँ केन्द्रले हो भन्ने जनचेतना अझै पुगेको छैन । वडाको चुनाव हुँदा राष्ट्रिय स्तरका परियोजना माग गर्ने । संघीय चुनावमा वडातहका आयोजना माग गर्ने समस्या पनि कायम छन् ।

अहिले अर्थतन्त्रमा संकटहरु देखिइरहेका छन् । तपाईं पूर्वअर्थमन्त्री पनि हुनुको नाताले अहिलेको अवस्थालाई कसरी नियालिराख्नुभएको छ ?

२०६६-६७ तिर म अर्थमन्त्री थिएँ । त्यतिबेला पनि केही तरलताको संकट देखापर्‍यो । तर, मैले तुरुन्तै जुन कदम चालेँ, त्यसले ती संकट तुरुन्तै निवारण भए र अर्थतन्त्र पुरानै लयमा फर्कियो ।

यो सरकार आउनुभन्दा अघिका केही सूचक ठीकै थिए । तर, यो सरकार आइसकेपछि कोभिडको अवस्था ठीक भएको अवस्थामा पैसाको माग धेरै भन्ने कुरालाई ख्याल गरेर आयातलाई निश्चित नियन्त्रण गरेर जानु पर्दथ्यो । त्यो नगरिकन अघिल्लो भदौमा ह्वात्तै २ खर्बको आयत गर्न सरकारले छुट दियो ।

त्यसपछि प्रत्येक महिना ५० अर्ब भन्दा बढी आयतका लागि ऋण जान थाल्यो । यसले गर्दा अर्थतन्त्रमा चाप पर्‍यो । यो जोखिम आउनसक्छ भन्ने कुरालाई सरकारले ‘सेन्स’ नै गरेन । अर्थमन्त्री, अर्थमन्त्रालय र सरकारले त्यसमा सेन्स नगरेको हुनाले यस्तो परिणाम आएको हो । यो थाहा नपाउने विषय चाहिँ थिएन । यो ठाउँमा जानीफकार अर्थमन्त्री हुन्थ्यो भने यो तहको संकट आउने थिएन ।

दूरदर्शिताको अभाव नै हो ?

बिल्कुल । यो एकै पटकमा आएको होइन । यो सरकारको असावधानीबाट आयो । असावधानी मात्रै होइन कि कतिपय लापरवाहीबाट पनि आयो ।

यो अक्करमा फसेको अर्थतन्त्रलाई निकाल्ने उपाय एमालेसँग के छ ?

अहिले लिएका केही नीतिहरु आंशिक रुपमा ठीक भए पनि, समग्रतामा ठीक छैनन् । कि अति नियन्त्रण, कि अति खुल्ला । यो दुईवटै कुरा अनुचित थिए । अघिल्लो कालमा जति ऋण गयो, त्यो आयातमा गयो ।

विदेशी मुद्राको चाप पर्‍यो । अहिले पुरै नियन्त्रण गरेको छ । त्यसले के भइदियो भने उद्योगको कच्चा पदार्थ आयातमा पनि नियन्त्रण भयो । सबैमा नियन्त्रण भयो भने उद्योग पनि चल्न सकेन, रोजगारी पनि भएन ।

विस्तारै उद्योगहरु बन्द हुने र नयाँ आउन नसक्ने अवस्था रह्यो । उपभोगका क्षेत्रमा नियन्त्रण गर्ने तर उद्योग र कृषिका क्षेत्रमा लगानी बढाउने । त्यो नीतिले रोजगारी पनि बढाउने, अर्थतन्त्रको आकारलाई पनि अगाडि बढाउने । त्यो काममा सरकार केन्द्रित हुनुपथ्र्यो । यसमा सरकारको कुनै ध्यान नै छैन । सरकारले के गर्‍यो भने कि ‘फ्ल्याट कन्ट्रोल, कि फ्ल्याट ओपन’ गर्‍यो । यसले देश संकटमा गएको हो ।

तपाईंसँग अर्थशास्त्री विश्व पौडेल कांग्रेसतर्फबाट प्रतिस्पर्धी हुनुहुन्छ । उहाँको उपस्थितिलाई कसरी लिनुभएको छ ?

उहाँसँगको प्रतिस्पर्धालाई मैले कुनै असहज ठानेको छैन । स्वभाविक छ । यो क्षेत्र नेकपा एमालेको असाध्यै प्रभाव क्षेत्र हो । अर्को कुरा, अर्थशास्त्री भएको कुराले मात्रै पनि जनताले भोट हाल्दैनन् । यदि तपाईंका विचार जनताको माग र भावनासँग जोडिएनन् भने त्यो अर्थशास्त्रले कुनै परिणाम दिँदैन ।

दक्षिण अफ्रिकामा संविधान बनाउने क्रममा मलाई लोग्नेले कुट्यो, तिमीले संविधानमा के लेखिदिन्छौं भनेर सोधे छन् । अब लोग्नेले कुटेको कुरालाई के लेख्ने ? त्यसपछि महिला हिंसा अन्त्य गर्नुपर्छ भनेर संविधानमा लेखियो । त्यसको व्यवहारिक रुप महिला हिंसाको नियन्त्रण हो । लोग्नेले कुटेको कुरा रोक्नुपर्छ भन्ने कुरा त संविधानमा लेखिदैन नि ।

त्यसैले अर्थतन्त्रको कुरा पनि के हो भने जनताले अनेक कोणबाट प्रश्न खडा गरेका हुन्छन् । त्यसको समाधान चाहिँ कुन नीतिबाट गर्न सकिन्छ भन्ने कुरा अगाडि सार्न सक्नुभयो भने त्यसले व्यवहारिक रुप लिन्छ । होइन भने जनता र अगाडि सारिएका नीतिबीच कुनै मेल हुँदैन ।

जित्नुहुन्छ ?

अवश्य । कुनै शंका छैन । जनताको निरन्तर माया मलाई प्राप्त छ । त्यसैको बलमा मैले विजय हासिल गर्ने हो । यहाँ स्वर्णिम वाग्ले र राजेन्द्र बुर्लाकोटीको चर्चा थियो । तर कांग्रेसमा भोटो पनि नफटाएका व्यक्तिलाई कसैको चाहनामा टिकट दिएको भन्ने भनाइ यहाँ सुन्छु । एमाले पंक्ति एक ढिक्का छ ।

यो क्षेत्रमा स्वतन्त्र पार्टीको पनि चर्चा सुनियो नि ?

खासै अर्थ राख्दैन । कुनै पनि कुराको विरोधमात्रै गर्नु राजनीति हो भन्ने संस्कार यहाँ छ । त्यसरी आउनुभयो उहाँहरु ।

त्यो त तपाईंहरुले नै सिकाएको हो नि ?

हो हामीले पनि सिकायौं । १० वटा काम बिगार भन्दा २० वटा बिगार्न सक्ने, ५ वटा काम बनाऊ भन्दा एउटा पनि बनाउन नसक्ने राजनीतिको काम छैन । माओवादीले जनयुद्धमा ठूला कुरा दियो । सत्तामा गएपछि हाम्रो वास्तविक अवस्था के छ भन्ने बुझ्यो ।

जनताको जीवन परिवर्तन गर्न कति धेरै समय चाहिन्छ । चीनले सय वर्षमा बल्ल गरिबी उन्मुलन गर्‍यौं भन्दैछ । त्यसैले चकाचक जापान बनाइदिन्छु भनेर भाषण दिएको भरमा हुँदैन ।





Source link

HamroAwaj

2022-11-14 20:48:59

Leave a Comment