गगनले आँटेको ‘मिसन पीएम’ कति सम्भव ? – HamroAwaj


नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले २२ कात्तिकमा काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘यो निर्वाचनपछि अरू ठूला दलमा संसदीय दलको निर्वाचन हुनेवाला छैन ।’ यसो भन्दै उनले संसदीय दलको नेताको चुनाव भयो भने पनि नेपाली कांग्रेसमा मात्रै हुने जिकिर गरे । यसमा चलाखीपूर्वक उनले भनेको के हो भने कांग्रेसमा संसदीय दलको चुनाव पनि एउटा मात्रै अवस्थामा हुनेछ । त्यो भनेको उनले जितेपछि मात्रै ।

महामन्त्री थापाको भनाइमा दुई विषय जोडिएका छन् । पहिलो, अरू दलमा संसदीय दलको चुनाव नै हुँदैन । कांग्रेसमा पनि आफूले जिते मात्रै संसदीय दलमा निर्वाचन हुनेछ । अन्यथा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न अरू निर्वाचित सांसदले आँट गर्ने छैनन् भन्ने उनलाई लाग्छ ।

हुन पनि मूलधारका राजनीतिक दलको अवस्था हेर्दा ती दलभित्र संसदीय दलको नेता चयन गर्न चुनाव हुने अवस्था देखिंदैन पनि । यसमध्ये केहीले पार्टी अध्यक्षलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै चुनाव प्रचार गरिरहेका छन् भने केहीमा त्यो पार्टीको संसदीय दलको नेता को भन्ने अहिल्यै स्पष्ट छ । त्यहाँ चुनाव हुने कल्पना पनि गर्न सकिन्न । त्यसकारण, थापाको त्यो धेरै हदसम्म वास्तविकतामा आधारित छ भन्न सकिन्छ ।

११ भदौमा नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको थियो । बहुमतको सरकार र ओलीकै नेतृत्वमा भन्दै एमालेले घोषणापत्र बनाएको छ । ‘मंसिर ४, ओली सरकार’ एमालेको चुनावी नारा नै छ । त्यसैले त्यहाँ भावी प्रधानमन्त्री को भन्ने स्पष्ट भएपछि संसदीय दलको नेता को भनेर भनिरहनै परेन ।

अब नेकपा माओवादी केन्द्रको कुरा गरौं । माओवादी पार्टीको संगठन संरचना र इतिहास हेर्दा संसदीय दलको नेता बन्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कसैले टक्कर देला भनेर विश्वास गर्ने आधार छैन । फेरि माओवादी नेतृत्वको सरकार र त्यसको नेतृत्व प्रचण्डले गर्नुपर्ने उसको घोषणापत्रको सार नै छ ।

‘नेपालको समकालीन राजनीतिमा उहाँ मात्र एक्लो त्यस्तो नेता हुनुहुन्छ । तसर्थ, अध्यक्ष कमरेड प्रचण्डको नेतृत्वको माओवादी केन्द्रबाट मात्र यतिबेला पनि राष्ट्रको नेतृत्व, निकास र विकास सम्भव छ’, घोषणापत्रमा लेखिएको छ ।

यसको अर्थ त्यहाँ संसदीय दलको नेतृत्वमा को भन्ने बहस नै बाँकी रहेन । किनकि त्योभन्दा माथिल्लो शासकीय संरचनाको नेतृत्व पनि प्रचण्डले गर्नुपर्ने निचोड घोषणापत्रले निकालिसकेको छ ।

यसरी कांग्रेस राजनीतिका अन्तरकुन्तर केलाउँदा थापा निर्वाचित भएको अवस्थामा शेखर कोइरालालाई ‘अपवाद’ मान्ने हो भने दलको नेताका लािग सभापति देउवासँग चुनाव लड्ने सम्भवतः उनी मात्रै हुनेछन् । ‘त्यो प्रतिस्पर्धा गर्न पहिले त लडाईं लड्ने मान्छे चाहिएला नि’, त्यसका लागि आफूलाई जिताएर पठाउन उनी मतदातासँग आग्रह गर्दछन् ।

देश तथा पार्टीभित्र सुधारको अपेक्षा गर्नेले मैदानको प्रतिस्पर्धाबाट भाग्न नमिल्ने उनी बताउँछन् । निर्वाचित सांसद हुनु र संसदीय दलमा प्रतिस्पर्धा गर्नुलाई उनी क्रमशः पहिलो र दोस्रो खुट्किलो बताउँछन् । परिवर्तन र रूपान्तरणका लागि देशकै नेतृत्वमा पुग्न दलको नेतामा प्रतिस्पर्धा गर्न अब ढिला गर्न नहुने उनको भनाइ छ ।

गत महाधिवेशनले पार्टीभित्रको समीकरण केही बदलिदिएको छ । १४औं महाधिवेशनअघि देउवाका विरोधी नै अहिले संस्थापन पक्षमा पुगेका छन् । नेता रामचन्द्र पौडेल महाधिवेशनमा तटस्थ बसेर देउवालाई सहयोग पुर्‍याएको संस्थापन इतरको बुझाइ छ । हुन पनि देउवाका कार्यलाई नेता पौडेलले साथ दिंदै आएका छन् ।

देउवाकै बोलीमा लय मिलाउँदै आएकाले पौडेलले जिते भने पनि संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा नगर्ने कांग्रेसभित्रको बुझाइ छ । प्रतिस्पर्धा गर्नका लागि पार्टीभित्र एउटा समूहको नेतृत्व र साथ हुनुपर्ने बाध्यता पनि छ ।

संस्थापन इतरबाट टाढिंदै गएकाले पौडेललाई शेखर पक्षले साथ दिने अवस्था पार्टीभित्र छैन । यद्यपि, पौडेलले समेत भावी सरकारको नेतृत्वको रुचि राखेका छैनन् । तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘तनहुँले प्रधानमन्त्री पाउनसक्ने’ भनेर पौडेलको पक्षमा भोट मागेका छन् ।

१४औं महाधिवेशनको दोस्रो चरणको मतदानले समेत पार्टीभित्रको समीकरण परिवर्तन भएको थियो । २०७४ सालमा देउवासँग संसदीय दलमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंहले महाधिवेशनमा दोस्रो चरणमा देउवालाई सघाए । पार्टीभित्र उनी देउवा समूहमै पुगेका छन् ।

परिणामतः यसपटक सिंहले संसदीय दलमा प्रतिस्पर्धा नगर्ने कांग्रेस नेताहरू बताउँछन् । तर, सरकारको नेतृत्व गर्ने दाबी उनले छोडेका छैनन् । ‘काठमाडौं–१ का जनताले मलाई सरकारको नम्बर वान म्यान बनेको हेर्न चाहेका छन्’, सिंहले भनेका छन् । तर, परिस्थितिले के देखाएको छ भने यो उनले मत माग्न फालेको कार्ड मात्रै हो ।

नेताहरू विमलेन्द्र निधि र डा. शशांक कोइरालाले पनि देउवालाई चुनौती दिने अवस्था छैन । मधेश प्रदेशमा चुनावी प्रचारमा नेता निधिले भावी सरकारको प्रधानमन्त्री देउवा नै भएको भन्दै मत मागेका छन् । उनी निकट एक नेताले भने, ‘चुनावमा मत माग्दा फेरि पनि देउवा प्रधानमन्त्री हो भन्नुभएको छ । उहाँको संसदीय दलमा प्रतिस्पर्धा गर्ने मनसाय देखिन्न ।’

शीर्ष तहका नेताहरू देउवासँग संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्न आँट नै नगरेको थापाको जिकिर छ । उनीहरूले देउवाका लागि स्वतः बाटो ‘क्लियर’ गरिदिने अवस्था छ । ‘सांसद भएर जितेर गएपछि संसदीय समितिमा दाबी गर्न पाउने हो । त्यो निर्वाचन लड्न नै कोही तयार छैन यहाँ’, थापाले भने ।

तर, निर्वाचित भएको अवस्थामा आफ्नै समूहका नेता डा.शेखर कोइरालालाई थापाले सहमतिमा ल्याउनुपर्ने हुन्छ । शेखरले आफू संसदीय दलको नेतामा चुनाव लड्ने घोषणा गरिसकेका छैनन् । संस्थापनबाट देउवा निर्विकल्प हुँदा इतरमा दुई नेताबीच सहमति बन्नुपर्दछ ।

यसरी हेर्दा संसदीय दलमा प्रतिस्पर्धा गर्न शेखरले रुचि देखाएनन् भने मात्रै थापाको लागि चुनावी मैदान संस्थापन इतरबाट खाली हुनेछ । कोइरालासँग निकट रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले नेता शेखरले दलको नेतामा प्रतिस्पर्धा गर्ने बताए ।

‘शेखर दाइ संसदीय दलमा उठ्ने देख्छु । एउटै पक्ष भएकाले उहाँ र गगनमा मतभेद देखिन्न’ आचार्यले भने, ‘दुई जनाबीच सहमति बनेर को उठ्ने भन्ने निश्चय हुन्छ ।’

दुई महामन्त्रीको एउटै बोली

संसदीय दलमा प्रतिस्पर्धाको विषयमा कांग्रेसका दुवै महामन्त्री एकठाउँमा छन् । थापालाई संसदीय दलको नेता बनाउन अर्का महामन्त्री विश्वप्रकाश शर्मा खुलेर लागेका छन् । दुई महामन्त्रीबीच एकले अर्काको पक्षमा बोल्न छुटाएका छैनन् । झापाको एउटा चुनावी कार्यक्रममा विश्वप्रकाश शर्माले भनेका छन्, ‘म गगन थापालाई प्रधानमन्त्री बनाउन प्रस्तावक बन्छु ।’

झापामा हुने हरेकजसो कार्यक्रममा शर्माले थापाका पक्षमा शब्द खर्चिएका छन् । उमेरले भाइ भए पनि अनुभवले अघि रहेकाले थापाको दाबी स्वाभाविक रहेको र आफूले साथ दिने उनी बताउँछन् ।

‘यसपटक गगन थापा अघि सर्नुपर्दछ । भाइ हुन् तर मेरो नेता पनि हुन् । मभन्दा अघि सांसद र मन्त्री भई काम गरेर देखाउने क्षमता राखिसके’, शर्मा भन्छन् । आफू गगनको प्रस्तावक बन्ने शर्माको भनाइभित्र पनि झापा–१ मा भोट माग्ने उद्देश्य लुकेको छैन । उनी गगनको प्रस्तावक बन्न पनि झापा–१ बाट निर्वाचित हुन चाहन्छन् ।

दुई महामन्त्री नै एकठाउँमा उभिंदा निर्वाचनपछिको माहोल छुट्टै बन्ने केही कांग्रेस कार्यकर्ताको बुझाइ छ । हुनत गगन संसदीय दलमा उठेर विजयी हुने विषयमा प्रशस्तै प्रश्न नभएका होइनन् । शेखर पक्षबाट जम्मा प्रतिनिधिसभामा २६ जनाले मात्रै टिकट पाएका छन् ।

उक्त समूहबाट विजयी बाहेक थापाले अरू क-कसको साथ पाउलान् भन्ने प्रश्न छ । तर, कांग्रेस राजनीतिका एकजना जानकार व्यक्तिका भनाइमा, ‘कांग्रेसको राजनीति अब दुई महामन्त्रीको वरपर घुम्छ । राजनीतिमा भविष्य खोज्नेहरू अब देउवातिर लाग्दैनन् ।’ तर, उनको भनाइ पुष्टि हुन केही समय पर्खिनुपर्ने हुन्छ ।

नेता कृष्ण सिटौला समूहबाट विजयी भएकालाई पनि तान्न सकिने थापा पक्षको बुझाइ छ । हालका दिनमा थापाले काठमाडौं–५ का उम्मेदवार प्रदीप पौडेल र पौडेलले थापाका पक्षमा बोल्न थाल्नुले त्यो संकेत गर्छ ।

कांग्रेस संसदीय दलको विधान अनुसार दलको नेता नै प्रधानमन्त्रीको दाबेदार हुने व्यवस्था छ । संसदीय दलको विधानको दफा ७ को उपदफा १० मा ‘पार्टीले सरकार गठन गरेको अवस्थामा नेताको हैसियतमा नेतृत्व प्रदान गर्ने’ उल्लेख छ ।

संसदीय दलको नेता छनोट गर्दा प्रतिनिधिसभाका कुल सदस्यबाट ५० प्रतिशत मत कटाउनुपर्दछ । दुईभन्दा बढी प्रतिस्पर्धी हुँदा ५० प्रतिशत मत कुनै पनि उम्मेदवारले कटाउन नसके धेरै मत ल्याउने दुईबीच दोस्रो चरणमा मतदान गर्नुपर्ने हुन्छ ।

संसदीय भूमिकाका लागि मनोनीत पदहरूमा हेरफेर गर्ने अधिकार पनि दलको नेतालाई हुन्छ । पार्टी र संसदीय दलले अंगीकार गरेका नीति र कार्यक्रम, समसामयिक महत्वको विषयलाई दलको बैठकमा प्रस्तुत गर्ने अधिकार संसदीय दलको नेतालाई हुन्छ ।

‘प्रोजेक्ट गभर्मेन्ट’ तर ‘मिसन पीएम’

पछिल्लो समयमा महामन्त्री थापाका अभिव्यक्ति, उनको सचिवालयले गरेका कार्य र उनले दुई वर्षअघिदेखि गरेको अभ्यास प्रधानमन्त्री पदका लागि तयारी गरेको छनक दिन्छ । ३१ विधामा ६० जनाभन्दा बढी विज्ञ सम्मिलित टोलीबाट फरक–फरक क्षेत्रको अध्ययन गरिरहेका छन् ।

उक्त टोलीले नीतिगत र संरचनागत सुधार गर्नुपर्ने कार्यहरूको अध्ययन गरेको छ । तत्काल गर्नुपर्ने वा गर्न सकिने, पाँच वर्षमा गर्न सकिने ठोस सुधार र विकासलगायतमा उक्त टोलीले अध्ययन प्रतिवेदन तयार गरेको छ । उक्त कार्यलाई थापाले ‘मिसन पीएम’सँग जोडेका छन् ।

सरकार सञ्चालनलाई हिमाल आरोहणको विषयसँग जोडेर विज्ञ टोलीको संयोजन गरेका प्रताप पौडेल भन्छन्, ‘विना तयारी सरकार बनाउँदा हिमाल आरोहणका लागि बेस क्याम्प पुग्न सकिए जस्तै हो । पुग्न त सकिएला तर विना उपकरण त्यहाँबाट उँभो लाग्न सकिन्न ।’ पौडेल भन्छन्, ‘नेपालको राजनीतिमा पनि सरकारमा पुग्नेसम्मको मात्रै काम भयो । सरकारमा पुगेर के गर्ने, कसरी गर्ने भन्ने न तयारी देखियो, न सीप र कौशल नै !’

देशको नेतृत्वमा पुग्ने चेष्टा हुने तर त्यहाँ पुगेपछि गन्तव्य तय गर्न नसक्दा सरकार असफल हुने गरेको आम बुझाइ पनि छ । प्रधानमन्त्री बनिसकेपछि आफू हिंड्न खोजेको बाटो स्पष्ट र त्यसको कार्यान्वयन गर्ने क्षमता नेतृत्वमा हुनुपर्ने थापा बताउँछन् ।

नीतिगत र संरचनागत समस्या निर्क्योल र समाधानको स्पष्ट खाका तय गर्नकै लागि विज्ञ समूहले अध्ययन गरेको उनको मत छ । विज्ञ टोलीले तयार गरेको प्रतिवेदनकै आधारमा मुलुक हाँक्ने उनको दाबी छ ।

थापाले आफ्नो प्रचारमा मूल मुद्दा संसदीय दलमा प्रतिस्पर्धा गर्ने र प्रधानमन्त्री बन्ने विषयलाई बनाएर प्रचारशैली आक्रामक बनाएका छन् । थापा र उनको टीमले ‘मिसन पीएम’ भन्दै प्रचार गरिरहेको छ । थापाको टीमले ‘मिसन पीएम’ नामक फेसबुक पेज सञ्चालनमा ल्याएको छ । जहाँ थापालाई किन प्रधानमन्त्री बनाउनुपर्ने, प्रोजेक्ट गभर्मेन्ट के हो र मतदाताले राखेका धारणा समेत समेटिएको छ ।

यसमा संसदमा खेलेको भूमिका तथा क्षेत्रमा गरेका विकासका कार्यहरूलाई भिडिओमार्फत राखिएको छ । उक्त पेजमा भिडिओ मात्रै पोष्ट गरिएको छ । दुई साताअघि बनेको यो पेजमा सवा २०० बढी भिडिओ पोष्ट भएका छन् ।

पेजमा राखिएका भिडिओ क्लिपले ‘मिसन पीएम’ का लागि तयारी गरिएको देखिन्छ । उक्त पेजको प्रोफाइल तस्वीरमा ‘दाबेदार प्रधानमन्त्रीको, अब पालो गगनको’ लेखिएको छ ।





Source link

HamroAwaj

2022-11-15 20:45:59

Leave a Comment