विश्वप्रकाश शर्मा : पार्टीमा जस्तै संसदीय प्रतिस्पर्धामा पनि जितको प्रयास – HamroAwaj


झापाका जन्मजात कांग्रेस विश्वप्रकाश शर्माको मनसुवा थियो-पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीमा लडुँला । सभापतिले दिएको प्रवक्ताको जिम्मेवारीमा सफल भएपछि उनले यस्तो अपेक्षा राखेका थिए ।

तर, देउवाले अन्तिम समयमा महामन्त्रीबारे निर्णय गर्ने जिम्मा कृष्णप्रसाद सिटौलालाई छाडिदिए अनि सिटौलाले आफ्नो गुटका प्रदीप पौडेललाई उम्मेदवार बनाए । नेविसंघमा आफूभन्दा जुनियर पौडेल देउवाको टीमबाट महामन्त्रीको उम्मेदवार बनेपछि शर्माले विद्रोह गरे । उनको विद्रोहलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरिदिए । महामन्त्रीमा गगन थापासँगै शर्मालाई पनि जिताएर ‘गगन–विश्वको जोडी’ भन्न थाले ।

विश्वप्रकाश शर्माले पार्टी राजनीतिमा यो सफलता हासिल गरे पनि उनलाई संसदीय प्रतिस्पर्धा फापेको छैन । २०७४ मा उनी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राम कार्कीसँग पराजित भए । त्यसअघि २०७० सालमा नेकपा (एमाले)का रविन कोइरालासँग ६०० मतले हारे ।

कांग्रेस महामन्त्री शर्मा तेस्रो पटक झापा–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । एमालेबाट उनका प्रतिस्पर्धी पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल छन् । धेरैजसो काठमाडौं बस्ने भएकाले पहिले शर्मालाई विपक्षीहरूले ‘टुरिष्ट उम्मेदवार’ भन्थे । अहिले झापा–१ मा त्यो आरोप खरेलले खेपिरहेका छन् ।

धुलाबारी घर भएका विश्वप्रकाश शर्माका पिता पर्शुराम भण्डारी पञ्चायती प्रतिबन्धकालमा झापामा कांग्रेसको संगठन विस्तार गर्ने नेताहरूमध्ये एक थिए । उनी लामै समय नेपाली कांग्रेसको झापा जिल्ला सदस्य रहे ।

‘त्यसैले विश्वप्रकाश गर्भमै कांग्रेस भएर जन्मे’ शर्माका सहपाठी इन्द्र बुढाथोकी भन्छन्, ‘कक्षा ४ मा पुग्दानपुग्दै उनको झोलामा राजनीतिक पर्चाहरू भेटिन्थ्यो । कक्षा ८ मा पुग्दा धुलाबारी माविमा नेविसंघ इकाइ सभापति बनेका थिए ।’

राजनीतिमा शर्माको औपचारिक प्रवेश त्यहींबाट भयो । उनी २०४३ मा मेची क्याम्पसमा नेविसंघको सभापति र २०४७ सालमा जिल्ला सभापति बने । अर्को वर्ष नेविसंघको केन्द्रीय सदस्यमा चुनिए । २०५३ सालमा नेविसंघको महामन्त्री र २०५७ मा सभापति बने । सभापतिमा कार्यकाल सकिनु एक साताअघि नै निर्वाचन गराएर गुरु घिमिरेलाई पद हस्तान्तरण गरे ।

शर्मा कांग्रेसको १२औं महाधिवेशन (२०६७)मा पार्टीको झापा जिल्ला सभापतिमा उम्मेदवार बने, तर कृष्ण सिटौला पक्षका उद्धव थापासँग झिनो मतले पराजित भए । १३औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य चुनिए ।

कांग्रेसमा परिवर्तनको एजेण्डा उठाउने युवा नेताहरूको लहरमा उभिएबापत ‘कारबाही’ स्वरुप पार्टी प्रवक्ता बनाइएका शर्माले त्यसयता विद्रोहबाटै प्रगतिको बाटो तय गरे । जनअनुमोदित हुने सवालमा भने उनी अहिले तेस्रो प्रयासमा छन् ।

गत स्थानीय तह चुनावमा झापा–१ मा कांग्रेसका वडाअध्यक्षहरूले पाएको दलगत मतले भने फेरि पनि उनी अनुकूलतामा नभएको देखाउँछ । यद्यपि, यो पटक उनी सत्ता गठबन्धनको शक्तिसहित चुनावी मैदानमा छन् ।

गत वैशाखको स्थानीय चुनावमा झापा–१ मा एमालेले ३१ हजार २३२, कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादी केन्द्रले ३ हजार ९०५ र नेकपा (एकीकृत समाजवादी)ले १ हजार २५२ मत पाएका छन् ।

गठबन्धनको यो मतको सुरक्षासँगै झापा-१ मा खरेलको उम्मेदवारीले एमालेभित्रै उत्पन्न असन्तुष्टिमा खेल्नसके शर्माका लागि अनुकूलता थपिने अवस्था छ । झापामा पूर्वमहामन्त्री कृष्ण सिटौलासँगको लामो बेमेल चाहिं उनका लागि आन्तरिक प्रतिकूलता हो । यही तिक्ततामा सिटौला समूहका कांग्रेसहरूले गर्न सक्ने असहयोग शर्माका लागि चुनौती बन्न सक्छ ।





Source link

HamroAwaj

2022-11-17 19:34:20

Leave a Comment