‘२०७४ कै जस्तो क्रेज खोजेर हुँदैन, समय नयाँ गतिमा प्रकट हुन्छ’ – HamroAwaj


१ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग छ ।

२०७४ को निर्वाचनको बेला जस्तो क्रेज एमालेमा नरहेको स्वीकार्दै उनले समय नयाँ गतीमा प्रकट भएको बताएका छन्, ‘त्यो क्रेजको कुरा हरेक चिज, गतिमा प्रकट हुन्छ । गतिमा बुझ्न सकिएन भने कुनै पनि वस्तु, विचार र प्रणालीलाई बुझ्न सकिंदैन । हिजो एउटा प्रसंग थियो । आज फेरिएको छ ।’

प्रस्तुत छ पोखरेलसँग गरिएको कुराकानी :

चुनावी प्रचार कस्तो चल्दैछ ?

पूर्वनिर्धारित योजना अनुसार नै अघि बढ्दैछौं । निर्वाचन क्षेत्रभित्रका विभिन्न क्लष्टरहरूको बैठक गर्‍यौं । त्यसमा विभिन्न क्षेत्रका व्यक्तिहरूको विचार, टिप्पणी र आलोचनाहरू सुन्यौं । त्यसपछि हाम्रो कुराहरू बतायौं । बृहत् घरदैलो र पदयात्रा कार्यक्रमहरू गर्‍यौं ।

यो वर्षको चुनावमा आमसभाहरू कम भए, हैन ?

यो वर्ष निर्वाचन आयोगले चुनाव प्रचारका लागि केही कम समयअवधि तोक्यो, त्यसले असर गर्‍यो । अर्को राष्ट्रिय राजनीतिका मुद्दाहरूमा मान्छेहरू अलि गहिरो ढंगले बुझ्न, सेयर गर्न, बहस र छलफल गर्न चाहन्छन्, त्यसले पनि यस्तो भयो ।

भनेपछि मान्छे घर-टोलमै भेट्न चाहन्छन् ?

कुराहरू बुझ्न चाहन्छन्, घरदैलो भनेर परम्परागत ढंगले ढोका-ढोका पुगेर मात्रै नहुने रहेछ, बसेरै कुरा गर्ने आवश्यकता हुन्छ । त्यो चाहना हामीले देख्यौं ।

राष्ट्रिय राजनीतिका प्रश्नहरू आएका छन् ?

हामीलाई सामान्य जिज्ञासाहरू आइरहेका छन् । हामीले राष्ट्रिय राजनीतिमा नेकपा एमालेका तर्फबाट जुन अडान लिएका छौं, त्यो अडानको बारेमा के-कसो भनेर केही टिप्पणी, आलोचना, जिज्ञासा सुझाव आउँछन् । तर त्यो आम रूपमा भने हैन ।

केपी ओलीबाहेक तपाईं शीर्षस्थ नेताहरू सबै आ-आफ्नो क्षेत्रमा मात्रै केन्दि्रत हुनुभएको हो, यो पटक ?

पार्टी अध्यक्ष केपी शर्मा ओली जहाँ-जहाँ आवश्यक छ, त्यहाँ पुग्नुभएको छ । कणर्ाली, सुदूरपश्चिम, गण्डकी प्रदेशहरूमा जानुभएको र विचार प्रस्तुत गर्नुभएको छ । अरू केही नेताहरू अन्य केही ठाउँमा पनि पुग्नुभएको छ ।

तपाईं चाहिं क्षेत्रमै केन्द्रित हुनुभयो ?

म स्वाभाविक रूपमा क्षेत्रमा केन्दि्रत हुनुपर्‍यो । समय थोरै थियो, क्षेत्रीयस्तरका कार्यक्रम धेरै थिए । त्यसमा जानुपर्ने भएकाले हामी त्यसमै केन्द्रित रहृयौं ।

काठमाडौं-५ को अवस्था कस्तो छ ?

हाम्रो लागि यहाँ अनुकूल वातावरण छ । एक त हामी यही क्षेत्रका चिरपरिचित पात्र हौं । विगतदेखि हामीले यहाँ राजनीतिक/सांगठनिक मात्रै हैन, विकासका काम गरेका छौं, जनताका सुख-दुःखमा साथ दिएका छौं । हामी लामो समयदेखि यहींका गतिविधिमा संलग्न छौं । हामी चिनाइरहनुपर्ने व्यक्ति हैनौं । मतदाताले हाम्रो सबल कुरा पनि देख्नुभएको छ, केही कमजोरी छन् भने देख्नुभएको छ, जसका बारेमा खुलस्त कुरा गर्नुहुन्छ । यति सहज सम्बन्ध हाम्रो बीचमा छ ।

दोस्रो कुरा, हामी नेकपा एमालेका प्रतिनिधि भएकाले एमालेले गरेको काम र अघि सारेका योजनाप्रति मतदाताको रुचि छ । त्यही कुरा लिएर हामी गएको हुनाले सहज भएको छ ।

तेस्रो कुरा, काठमाडौं क्षेत्र नम्बर ५ संगठनात्मक हिसाबले र पार्टी प्रभावका हिसाबले अत्यन्त महत्वपूर्ण ठाउँ मानिन्छ । त्यही कारणले आधारभूत रूपमा यहाँ हाम्रो जनमत कायम छ ।

चौथो कुरा, हामीले यो बीचमा जे-जति विकास-निर्माण र पूर्वाधारमा काम गर्‍यौं, त्यसले हामीलाई जनताबीच चिनाएको पनि छ ।

के त्यस्तो काम गर्नुभएको छ, जसले तपाईंहरूलाई चिनायो ?

यो क्षेत्रमा सडक पूर्वाधार सम्पन्न गर्ने काममा महत्वपूर्ण भूमिका खेल्यौं । तर, दुर्भाग्य के भयो भने मेलम्ची खानेपानीको वितरण प्रणालीको पाइप बिछ्याउने कामले भत्काइएको छ । बिजुलीका तार भूमिगत गर्दा पनि हामीले काम गरेका कतिपय सडक भत्काउनुपरेको छ । अब त्यसलाई पुनः व्यवस्थित गर्नुपर्नेछ ।

सांस्कृतिक सम्पदा संरक्षणमा पनि काम भएका छन् । बूढानीलकण्ठदेखि टुँडालदेवीसम्म सांस्कृतिक सम्पदाहरूको संरक्षणमा योजनाबद्ध ढंगले काम गरेका छौं । मठ-मन्दिरको संरक्षण् ार सम्वर्द्धन गर्ने काम गर्‍यौं ।

हाम्रा स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको सहयोगमा सार्वजनिक सम्पत्ति र जमिनहरू अतिक्रमण रोक्न पनि काम गरेका छौं । त्यसरी संरक्षण गरिएका जमिनमा पार्क मात्रै ४०/४५ वटा बनाएका छौं । सार्वजनिक विद्यालयलाई सोचिएअनुसार नभए पनि भौतिक पूर्वाधार निर्माणमा सघाएका छौं । सामाजिक सुरक्षाका सन्दर्भमा पनि हामीले धेरै काम गरेका छौं ।

तपाईंले यति धेरै काम भएका छन् भनिरहँदा ५ किलोमिटरसम्मको बाटो कालोपत्रे नभएकोदेखि बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा लैजान कम्युनिस्ट लिडरबाट पहल नभएकोसम्मको आरोप लगाएर विपक्षीहरू मैदानमा छन् त ?

प्रचारमा लैजानेले लगे होलान्, यसमा एकरत्ति पनि सत्यता छैन । बूढानीलकण्ठ विकास समिति छ । २०७२ पछि तीन तहका संघीय, प्रदेश र स्थानीय तहका सरकार आए । कुन खालको समिति कुन तहको सरकारले हेर्ने भन्ने सन्दर्भमा बूढानीलकण्ठ विकास समितिबारे बहसको विषय पनि भयो । यसलाई राष्ट्रियस्तरबाटै विकास समिति बनाएर सांस्कृतिक, धार्मिक, पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ भन्ने मेरो मत हो । तर, त्यो स्थानीय सरकारको क्षेत्राधिकारभित्रको कुरा हो भन्ने अवस्थाले तानातानको स्थिति आयो । यसलाई एकीकृत योजना बनाएर अघि बढाउनुपर्छ । हामी सरकारमा गएपछि दुई वर्षजति त कोभिडका कारण आक्रान्त र अस्तव्यस्त भयौं, पूर्वनिर्धारित काम पनि गर्न सकेनौं । हाम्रो पार्टीमा पनि गञ्जागोलको स्थिति खडा भयो । हाम्रो पार्टी संगठनात्मक संरचनामा आएका समस्या पनि त्यहाँ प्रतिविम्बित भए । त्यस कारणले समस्या भए ।

बूढानीलकण्ठ मात्रै हैन, लिच्छविकालीन मठ-मन्दिर र धार्मिक स्थलहरू अहिले पनि छन् । त्यसलाई संरक्षण र व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । हामीले रक्षात्मक भएर के गर्‍यौं भनेर भनेको हैन, सगर्व सम्झना गरेका हौं । हामीले जनतालाई यी-यी काम गरेका छौं है भनेर जानकारी पनि गराएका छौं ।

मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धनका प्रदीप पौडलसँग हुने देखिन्छ । स्वतन्त्र पार्टीदेखि स्वतन्त्रहरू पनि युवा उम्मेदवार लिएर आएका छन् । मतदाताको रुझान पनि नयाँ पुस्ताका उम्मेदवारप्रति बढी देखिएको कुरामा कत्तिको जानकार हुुनुहन्छ ?

म जानकार छु, मेरो निर्वाचन क्षेत्रभित्रको कुरामा म जानकार नहुने कुरै भएन । सबैभन्दा पहिले त संविधानले गरेको व्यवस्था बमोजिम जोसुकै योग्य नागरिकले जनताको अभिमत प्राप्त गर्न सक्ने कुरालाई टिप्पणी गर्न मिल्दैन । संविधानअन्तर्गत, स्वतन्त्र, दलविशेष जसरी पनि उम्मेदवार आउन सक्छन् । आफ्ना विचार, मान्यता, भिजन र योजना लिएर जो-सुकै आए पनि त्यसमा टिप्पणी गर्नुपर्ने आवश्यकता छैन ।

राजनीतिलाई अलि सहज ढंगले बुझ्ने ‘टेन्डेन्सी’ पनि त्यो रूपमा प्रकट भएको हुनसक्छ । यो चटपट भइहाल्छ भन्ने बुझेका होलान् । हाम्रोजस्तो समाजमा राजनीतिको दीर्घकालीन यात्रा हो, जुन दृढता, लगनशीलता र समर्पणभाव चाहिने हो त्यो कुरा राजनीतिमा आउन चाहने जोसुकैले बुझ्नुपर्छ । अहिले देखा परेको फेनोमेना त्यस हिसाबले आएको पनि हो ।

तर हामी दलीय प्रणाली, लोकतन्त्र र यसका अभ्यासलाई विश्वास गर्छौं भने त्यसलाई कमजोर बनाउने कुनै पनि प्रयास भयो भने त्यो उचित हुँदैन र गलत हुन्छ । हामी त्यसको पक्षमा हुँदैनौं ।

यो प्रणालीमा एउटा नेता अयोग्य र असफल सावित भए अर्को आउँछ । तर, दलीय प्रणालीलाई नै कमजोर बनाउने गरी केही अभ्यास र हर्कत भयो भने उचित हुन्न ।

क्रेजको कुरा हरेक चिज, गतिमा प्रकट हुन्छ । गतिमा बुझ्न सकिएन भने कुनै पनि वस्तु, विचार र प्रणालीलाई बुझ्न सकिंदैन । हिजो एउटा प्रसंग थियो । आज फेरिएको छ ।

नयाँको कुरा छ । नयाँ ठिकै छ, तर केमा नयाँ फिजिकल्ली कि विचारमा नयाँ ? विचारमा नवीनता कि ज्यानमा ? ज्यानमा मात्रै नवीनता भएर त हुँदैन होला ! विचार, संगठन र क्रियाशीलतामा नवीनता चाहियो नि !

एकछिनलाई मानौं, आफ्नै पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्दा कुनै योग्यताको दाबी गर्ने युवाको पक्षमा बोल्न नसक्नेहरू पनि नवीन विचारका हुनसक्छन् ?

तपाईंले कसलाई भन्न खोज्नुभएको ?

हैन, जसलाई लागोस्, मैले एउटा आकलनमा भन्न खोजेको । नवीन त चाहियो, तर राजनीति भनेको एउटा कोर्सबाट गुज्रने चिज हो । जम्प हानेर बाजी मार्ने कुरा हो भन्ने ठान्दिनँ ।

प्रदीप पौडेलले भनेजस्तो राजनीति सजिलो छैन भन्न खोज्नुभएको हो ?

राजनीति अनेक बांगोटिंगो बाटो र अनेकन् प्रतिकूलता-अनुकूलताबाट सामना गरेर अघि बढ्नुपर्ने यात्रा हो ।

मुख्य चुनौती तपाईंलाई गठबन्धनको उम्मेदवार नै हो ?

प्रतिस्पर्धामा आउनुभएकाले मैले प्रतिस्पर्धालाई त्यही गम्भीरताका साथ लिनुपर्छ । यो निर्वाचन क्षेत्रमा १५ वटा वडा छन् । काठमाडौं महानगरका २, ३, ४ र ५ । बूढानीलकण्ठमा ३, ४, ५ ६, ७ र टोखामा २, ३, ४, ५ ६ र ७ वडा छन् । १५ मध्ये ११ वडामा एमालेले वडाध्यक्ष जितेको छ । तीनवटा वडामा अध्यक्ष नजिते पनि सदस्य जितेको छ । एउटा वडामा हारेका हौं । त्यसबेला पनि एमालेविरुद्ध गठबन्धन त थियो । धुलोमा मिलाइदिन्छौं त भनेका थिए । तर, पनि हामीले यो ठाउँमा सानदार वर्चस्व कायम गर्‍यौं । स्वाभाविक रूपमा हाम्रो ‘बेस’ त छँदैछ । त्यही जगमा उभिएर जित सुनिश्चित छ भन्ने उद्घोष गरेका छौं ।

जित सुनिश्चित छ त भन्नुभयो, तर आम मतदातामा जुन निराशा र क्षोभ व्यक्त भएका छन् नि, त्यो कत्तिको प्रतिबिम्वित भएको पाउनुभएको छ ?

मेरो निर्वाचन क्षेत्रका जनतासित सबैभन्दा धेरै भेटघाट गर्ने, कुरा सुन्ने, सुझावहरू लिने, आलोचना र टिप्पणी सुन्नेमध्ये पर्छु । मैले बुझेको छु, जहाँसम्म जनतामा निराशा छ, त्यसलाई सामान्यीकरण गरेर सबैतिर त्यस्तै हो भन्ने कुरा हैन । हाम्रा विचार, योजना र काम के हुन् र कहाँ समस्या पर्‍यो भनेर जनतालाई जस्ताको तस्तै बताउनुपर्छ । बताइएन भने जनता त अलमलमा पर्छ ।

त्यसो भए दैनन्दिनको निराशाहरू चुनावका बेला बढी प्रकट गर्नुपर्छ भन्ने भावना व्यक्त भयो ?

हैन, चुनावका बेला जनताले चुनावमा उठेका दल र प्रतिनिधिहरूसँग हिसाबकिताब माग्छन् नि !

तपाईंले हिसाबकिताब दिनुभयो त ?

किन नदिनु ? दैनिक १० घण्टाभन्दा बढी त जनतासँग साक्षात्कार नै गरिरहेको छु ।

अघिल्लो चुनावपछिको पाँच वर्षको धेरै समय त सत्तामा एमालेले नै व्यतित गर्‍यो, त्यतिखेरको नेकपाले, त्यसपछि कांग्रेस गठबन्धनको सरकारले काम गरिरहेको छ । जति पनि कामहरू भएका छन् वा कतिपय कमजोरी भएका छन्, यसबारेमा तपाईंहरूको पनि जवाफदेहीको हिस्सा छ नि होइन ?

जवाफदेहीको हिस्सा किन नहुनु, हामीले त्यो हिस्सा पूरा गरेरै बोलेका छौं । जस्तो, एउटा त मान्छेमा एमालेको मात्र दुई तिहाइ भन्ने भ्रम छ । वास्तवमा एमाले र माओवादी केन्द्र मिल्दा बहुमत भएको हो ।

एमाले एक्लैको १२१ सिट हो । १३८ मा मात्र बहुमत पुग्ने हो । दुइटा पार्टी मिलेपछि बहुमत भएको हो । तर, दुई पार्टी मिलेर बनेको एकता टुटेपछि त्यसको जग त टुट्यो । जुन जगमा बहुमत प्राप्त थियो, त्यो जग टुटेपछि ताजा जनादेशमा जानुको अर्को विकल्प हुँदैनथ्यो । पुरानो जनादेशको जग भत्किसकेपछि अब नयाँ जनादेशमा जानुको अर्को विकल्प थिएन ।

तपाईंले बडो स्पष्ट ढंगले यो राख्नुभयो, तर, संविधानको पालना गरिएन भन्ने तपाईंहरूलाई पनि त लागेको छ ?

यसमा त्यस्तो कुरै होइन, संविधानमा के लेखेको छ, त्यो आफ्नो ठाउँमा छ । पुरानो जनादेश भत्कियो, माओवादी र एमाले मिलेर एकताबद्ध भएर बहुमत प्राप्त गरेको अवस्था भत्कियो नि ! भत्किसकेपछि पुरानो जनादेशको जगमा उभिएको जुन बहुमत थियो, त्यो टुटिसकेपछि अब ताजा जनादेशमा जानु पर्‍यो कि परेन ? ताजा जनादेश कुन किसिमले आउँथ्यो, त्यसलाई शिरोधार्य गर्ने भनेका थियौं । ताजा जनादेशमा जाने राजनीतिक निर्णय थियो । हाम्रो लागि जनता न्यायाधीश हुन् र जनता न्यायाधीश भएको ठाउँमा गएर हामी न्यायनिसाफ लिन चाहन्थ्यौं ।

तपाईंलाई के लाग्छ ? २०७४ सालमा जुन खालको एउटा क्रेज देखिन्थ्यो नि, यो पल्टको चुनावमा तपाईंहरूप्रति त्यो क्रेज छ ?

त्यो क्रेजको कुरा हरेक चिज, गतिमा प्रकट हुन्छ । गतिमा बुझ्न सकिएन भने कुनै पनि वस्तु, विचार र प्रणालीलाई बुझ्न सकिंदैन । हिजो एउटा प्रसंग थियो । आज फेरिएको छ । आजको नयाँ परिस्थितिमा ती चुनौतीलाई कसरी फेस गर्छु भन्ने दृष्टिकोण कसरी प्रकट भएका छन् । हिजो भारतीय नाकाबन्दीलाई विरोध गरेको अवस्था थियो । अहिले त्यही मात्र भनेर त त्यो आउँदैन । आजका चुनौतीलाई सामना गर्ने दृष्टिकोण, प्रस्ताव के हो भन्ने कुराबाट जानुपर्छ । त्यसकारण हिजोकै जस्तो प्रिय क्रेज खोजेर आज जान मिल्दैन ।

तपाईंले सही भन्नुभयो, समय गतिमै प्रकट हुन्छ र त्यही रूपमा बुझ्नुपर्छ । जनतालाई जुन सुशासनको, भ्रष्टाचारको, डेलिभरीका विषय, शिक्षा, स्वास्थ्य, खानेपानीका कुरा जुन छन्, तपाईंले चुच्चे नक्साको विषयलाई नाकाबन्दीमा खेलेकै भूमिकामा लिनुभएको छ । जनताको आकांक्षा र तपाईंहरूले उठाएको बीचमा तालमेल मिलेको छ ।

तपाईं ले चुच्चे नक्साको मात्र कुरा गर्नुभयो, मलाई यस्तैमा अपसोच पनि लाग्छ । खित्रिक्क चुच्चे नक्साको मात्र कुरा गर्नुभयो । नेकपा एमाले राजनीतिक स्थिरता चाहन्छ । राजनीतिक स्थिरताका लागि दह्रो पार्टी चाहियो । दह्रो नेता चाहियो । यो विना राजनीतिक स्थिरता आउँदैन । आजको दिनमा दह्रो पार्टी भनेको, विचारमा दह्रो, संगठनमा दह्रो, नेतृत्वमा दह्रो, जनाधारमा दह्रो, उसको कार्यक्रममा दह्रो, योजनामा दह्रो हो कि होइन ? दह्रो भनेको त त्यही हो ।

दोस्रो दह्रो नेतृत्व भनेको पहलमान जस्तो बलियो कुरा गरेको होइन । यो भनेको देश र जनताको हितमा काम गर्न सपना बोकेको, सपनाको भारी बोकेर कुदिरहने नेतृत्व चाहियो । ऊ भसभसी सुतेर सपना देख्ने नेता होइन, सपनाको कारणले सुत्न नसक्ने नेता चाहियो । हो, देशले आज मागेको त्यही हो । त्यसकारण राजनीतिक स्थिरतामा यी चिजहरूलाई ख्याल गर्नुपर्छ ।

अर्को विषय राष्ट्रिय हितको रक्षा, यसमा नाकाबन्दीको प्रसंग छ, नाकाबन्दी नेपालले पटक-पटक झेल्दै आएको हो । नाकाबन्दीका विषय बाहिर आंशिक ढंगले प्रस्तुत भएका होलान् । तर, त्यो नाकाबन्दीलाई सधैंका लागि समाधान गर्ने हिसाबले दृढतापूर्वक यो गलत भनेर अडान राख्ने र सधैंका लागि दुर्भाग्यपूर्ण अवस्था नदोहोरियोस् भन्ने काम केपी ओलीले बहालवाला प्रधानमन्त्री हुँदाहुँदै दक्षिणको छिमेकीलाई भन्नुभयो, ‘सिंहमेव जयते होइन, सत्यमेव जयते’ । त्यति मात्र भन्नुभएन, सबै कुरा बदल्न सकिन्छ, छिमेकी त बदल्न सकिन्न । त्यसकारणले अब सधैंभरिको यो विषय सल्ट्याउन चीनसँग व्यापार तथा पारवहन सम्झौता गर्ने काम नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री भएको बेला भएको हो कि होइन ? यो ऐतिहासिक काम हो । अब नाकाबन्दीको पीडा, त्यसबेला सम्झनुस् त कस्तो थियो ? दाउराहरू मान्छेले तराजुमा किनेर ग्याँस र मट्टीतेलको अभाव पूरा गर्ने दुर्भाग्यपूर्ण अवस्था थियो । त्यो अवस्थाबाट, नाकाबन्दीले भोग्नु परेको पीडा सधंैका लागि अन्त्य गर्न यो चिज गर्‍यौं ।

यो कुरा नागरिकले बुझेको छ जस्तो लाग्छ तपाईंलाई ?

तपाईं, हामीले बुझ्छौं कि बुझ्दैनौं, समस्या हो छ, विचरा नागरिकहरू त त्यसपछि जाने हो नि ! तपाईंले ठिकै संकेत गर्नुभयो । हामी आफ्ना कामहरूलाई ठीक ढंगले प्रस्तुत गर्न सक्दैनौं । आफ्ना माल बेच्न सक्दैनौं । आफ्ना विचार, उत्कृष्ट भनाइहरू, गरेका कामहरू बारे भन्न सक्दैनौं भने के हुन्छ ?

आफ्ना विचारलाई उत्कृष्ट ढंगले राख्न तपाईं महासचिव भएर दुई कार्यकाल चलाएको मान्छे, ज्यँूदो जाग्दो संगठन चलाएको अनुभव छ । यो पटक संगठनको मनोबल के छ ?

मेरो सिलसिला टुंगिएको छैन, मैले राष्ट्रिय हितको रक्षा भनेर दुइटा कुरा भनें । चुच्चे नक्सा र बुच्चे नक्साको सवाल होइन, सवाल के हो भने छिमेकीले हाम्रो भूमि अतिक्रमण गर्‍यो । अब के त विकल्प ? मनपरी गाली गर्ने मात्र हो कि, आँखामा आँखा जुधाएर छिमेकीसित कुरा गर्ने हो । त्यो केको आधारमा, तथ्य प्रमाणको आधारमा, ऐतिहासिक दस्तावेजका आधारमा कुरा गर्नु पर्‍यो नि ! तपाईंहरूले हाम्रो जमिन अतिक्रमण गर्नुभयो, फिर्ता गर्नुपर्छ भन्नुपर्छ कि पर्दैन ?

नेपाली कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री भएको चार दिनपछि भारत भ्रमण गर्दा २००८ सालमा उहाँले नेपालको उत्तरी सीमामा चीनसँग सीमा जोडिएको क्षेत्रमा भारतीय सुरक्षाकर्मी राख्ने कुरा सहमति गरेको हो । म कीर्तिनिधि विष्टलाई धन्यवाद दिन चाहन्छु, उहाँप्रति सम्मान गर्न चाहन्छु, उहाँ नै त्यो प्रधानमन्त्री हो, जसले राजाको शासन हुँदाहुँदै पनि त्यो हटाउने कुरामा जोड दिनुभयो । त्यसबेला बरु महाराज मलाई हटाइबक्सियोस्, म त्यो गर्छु, राजतन्त्रलाई कुनै आपेक्ष नआओस्, वास्तवमा उहाँले हटाउनुभयो । त्यसबेला पनि राजतन्त्रसँग केही बार्गेनिङ होला, लिपुलेक, कालापानी, लिम्पियाधुरामा राखिएको पोष्ट हटेन । यो केवल ६० वर्षको कुरा हो । एउटा देशको इतिहासमा ६० वर्ष ठूलो कुरा होइन । ६० वर्ष पहिले हाम्रो जमिन अतिक्रमण गरेको छिमेकीसँग कुरा गर्नु पर्‍यो कि परेन ?

त्यो कुराको इनिसिएसन कसले लियो ? त्यो कुराको इनिसिएसन नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओली हुँदा सरकार गए जाओस्, मेरो प्रधानमन्त्री पद गुमे गुमोस्, तर यो चिज हुनुपर्छ भनेर यो काम गर्नुभयो ।

नेपाली कांग्रेसका प्रोफेसरसँग मेरो कुरा भएको थियो । उहाँहरू भन्नुहुन्थ्यो, एमालेले एउटा नगर्नुपर्ने काम गर्‍यो, चुच्चे नक्सा छाप्नुहुँदैनथ्यो । कोही कोही मानिस चुच्चे नक्सा कागजमा छापेर के हुन्छ, खै पाइँदैन ! पनि भन्छन् । तर, नेशनल पोजिसन एउटा बनाउनु पर्‍यो नि ! सिंगै राष्ट्रिय शक्तिलाई एक ठाउँमा उभ्याएर नेपालको पोजिसन यो हो है भन्नु पर्‍यो कि परेन ! अहिले यो गठबन्धन राष्ट्रिय हित विपरीत राष्ट्रघाती काम गरेर, संसदले पारित गरेको चुच्चे नक्सालाई समेत पुछेर बुच्चे नक्सा छापेर प्रधानमन्त्री कार्यालयबाट जारी गरेको सरकारका कामहरूको विवरणमा यो उल्लेख छ । यो लज्जास्पद छ । नक्सामा फेज वान हामीले कम्प्लिट गर्‍यौं, फेस टू कम्प्लिट गर्न बाँकी छ, त्यो पूरा गर्न पनि हाम्रै नेतृत्व चाहिन्छ ।

राष्ट्रिय हितकै सवालमा नागरिकता विधेयक हेर्नुहोस्, सामान्य कुरा, नेपालका नागरिकले नागरिकता पाउनुपर्छ । आमाको नामबाट पनि नेपालीले नागरिकता पाउनुपर्छ । तर, अंगीकृत नागरिकता प्रदान गर्ने कुरामा हाम्रो देशले विशेष जियो-पोलिटिकल संवेदनशीलतालाई बुझेर मात्र निर्णय गर्नुपर्छ । उत्तरतिर त्यत्रो चीन, दक्षिणमा भारत ठूलो जनसंख्या भएका मुलुक छन् । दक्षिणतर्फको सीमा खुला छ । एक अर्ब ३०-३५ करोड जनसंख्या भारतमा छ । यस्तो अवस्थामा अब हामीले अंगीकृत नागरिकता प्रदान गर्ने कुरामा ख्यालठट्टा गर्‍यौं भने के हुन्छ ?

अहिले प्रकट भएको त एउटा सानो प्रसंग मात्र हो, हाम्रा छोरी चेलीबेटी बिहे गरेर भारत जाँदा नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने, उताबाट आएकी बुहारीले आज आइन्, भोलि सिन्दुर लाउने, सिन्दुर लाएर भोलिपल्टै सांसद, मन्त्री, प्रधानमन्त्री हुने । यो एउटा सानो च्याप्टर मात्र हो । यदि त्यही अभ्यासलाई निरन्तरता दिने हो भने आमाबाबुको ठेगान नभएका हजारौं दक्षिणबाट आएका मान्छेहरू पसाइदिने, भिख माग्ने, तरकारी बेच्ने, अनेक खालका मान्छे आएर यहाँ बसोबास गर्ने र नागरिकता प्रदान गर्ने हो भने हाम्रो देशको के हालत होला ?

तपाईं यही कुरा लिएर चुनावमा जाँदै हुनुहुन्छ ?

राष्ट्रिय हितको रक्षा गर्ने सन्दर्भमा केके गर्दै हुनुहुन्छ भन्दा हाम्रा दृष्टिकोणका केही दृष्टान्त यी हुन् । हामी त्यस किसिमले नागरिकता प्रदान गर्ने विषयको विपक्षमा छौं । तेस्रो कुरा सुशासनको । सुशासनको सन्दर्भमा प्रधानमन्त्री हुँदा केपी ओलीले म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न दिन्नँ, कसैले भ्रष्टाचार गर्‍यो भने त्यो दण्डको भागीदार हुन्छ । राज्यका संयन्त्रले जुन किसिमले काम गर्नुपर्छ, गर्नुपर्‍यो र दण्डित गर्नुपर्‍यो । एउटा नेताले चुनावका बेला बोलेको भए त्यो स्टन्टबाजीका लागि हुन्थ्यो । कार्यकारी शक्तिमा पुगेका बेला यो गर्छु भन्छ भने त्यो सुशासनको उद्घोष हो, सुशासनको प्रतिबद्धता हो । अहिले न्यायालयको हालत हेर्नुस् त ?

हाम्रो उम्मेदवार व्यवस्थापनमा केही समस्या भयो । तर जनताको लोकपि्रय मतमा हामी कुनै मानेमा कमी छैनौं । जस्तो प्रष्टै भन्दिछु तपाईंलाई सिफारिस गर्ने, निर्णय गर्ने जस्ता कतिपय कुरा तल-वितल पनि भएका छन् त्यो हाम्रो आन्तरिक समीक्षामा छ ।

तर, तपाईंहरू नै सरकारमा भएको बेला सुशासनको मामिलामा बढी विवादमा मुछिनुभयो ?

हाम्रा कार्य-सम्पादनमा कहींकतै कमजोरी पनि भए होलान्, त्यो म अन्यथा भन्न सक्दिनँ । किनभने हाम्रो राज्य-संरचनाको जस्तो ढाँचा छ, त्यसले कतै अनुभवहीनतालगायतका कुरा पनि रहे होलान्, के के रहे ।

तर, त्योभन्दा ज्यादा त हामीलाई बदनाम गर्ने प्रायोजित अभियानको पनि कमाल हो । हामीले गरेका राम्रा कुरालाई खुला रूपमा लैजाने कुरामा पनि कमी भयो ।

अनियमितता र भ्रष्टाचारको कुरा गर्ने हो भने त अहिले खुल्लमखुल्ला छ । मन्त्रालयमा सरुवा-बढुवा लगायतका तमाम कुरामा कहीं छोइनसक्ने अवस्था छ । जनताले अन्तिममा न्याय माग्न जाने सर्वोच्च अदालतको हालत हेर्नुस् त, को हो प्रधानन्यायाधीश ? महाअभियोग लगाउन सकिन्थ्यो, तर त्यसपछिका तीन महिनामा यो प्रक्रिया पूरा गर्नुपर्छ कि पर्दैन ? ६ महिनासम्म त प्रक्रियामै लगेनन्, बहुमतका आडमा गठबन्धनले यो कुरा गर्‍यो र निर्लज्ज स्थिति बन्यो । अदालतप्रति जुन खालको सम्मान थियो, त्यो चकनाचूर भयो ।

भनेपछि तपाईंहरू यिनै कुरा लिएर जानुभएको छ ?

भुक्ताभोगीहरूको बीचमा त यो कुरा सुनाउनैपर्‍यो । आर्थिक विकास र समृद्धिका कुरा पनि लिएर गएका छौं । यसलाई त हाँसो-ठट्टाको विषय बनाए । कतिपय नागरिक समाज भन्नेहरूले, सञ्चारमाध्यमले र विरोधीहरूले यो गरे । नाकाबन्दीका बेला खाना पकाउनका लागि तराजुमा दाउरा जोखेर किनबेच गर्नुपरेको थियो । त्यस्तो बेलामा केपी ओली नै त्यही व्यक्ति हो, जसले यही देशमा नै ग्याँस खानी उत्खनन् गरेर आपूर्ति गर्न सक्छौं भनेर उद्घोष गर्नुभयो । त्यही दृढता र सपनाका कारण दैलेखको ग्याँस खानी उत्खनन गर्न चिनियाँ प्राविधिक सहयोगमा काम प्रारम्भ भयो र सकारात्मक स्थिति बन्यो । ७० वर्षसम्म नेपाललाई पुग्ने त्यही नवलपरासीको धौवादीको फलाम खानीमा काम प्रारम्भ भयो । सात प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने कामको थालनी भयो । ७५३ स्थानीय तहमा औद्योगिक ग्राम बनाउने कामको थालनी भयो । एकैदिन १४ सय रणनीतिक सडक बनाउन बजेट छुट्टएिर कामको थालनी भयो । ३९६ अस्पतालहरू एकैपटक शिलान्यास भए । यो के हो ?

त्यति मात्रै हैन, नयाँ कानून बनाएर भूमि आयोगमार्फत काम सुरु गरेका थियौं । थातबास विनमा नागरिकले राज्यबाट त्यो सुविधा पाउनुपर्छ र असुरक्षित तथा अव्यवस्थित बसोबासीलाई सुरक्षित र व्यवस्थित गर्नुपर्छ भन्ने उद्देश्यका साथ काम सुरु गरेका थियौं । तर, गठबन्धनले बिल्लीबाठ बनाइदियो । पूर्व-पश्चिम राजमार्ग ६ र ८ लेनमा बनाउने गरी विस्तारका काम पनि सुरु भएको थियो । सो राजमार्गबाट दक्षिण जोडिने २० जिल्लाका सदरमुकामलाई जोड्ने ४ र ६ लेनका सडक बनाउने कामको प्रारम्भ कसले गर्‍यो ? त्यति मात्रै होइन, उत्तर-दक्षिण राजमार्गको ‘स्पिड अप’ बढाउने काम कसले गर्‍यो ?

तपाईंहरूले थुप्रै काम पनि गर्नुभयो होला, तर यो चुनाव लड्दै गर्दा तपाईंहरूलाई एउटा तगारो त छ नि ! २०७४ को चुनाव लड्दै गर्दा नेपाली कांग्रस विरुद्ध तपाईंहरू बलियो गठबन्धन बनाएर जानुभएको थियो, अहिले कांग्रेस आफैंले तपाईंहरू विरुद्ध गठबन्धन गरेको छ !

एउटा कुरा याद गर्नुस्, पहिलो स्थानीय तहको चुनावमा पनि कांग्रेस र माओवादी मिलेर गठबन्धन गरेका थिए । परिणाम के भयो, के देखियो ? दोस्रो कुरा अस्तिको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी मिलेर गएका हुन् कि होइनन् ? हामीलाई धुलोमा मिलाउँछु भन्या होइन, तर सर्वाधिक मत कसले पायो ?

तर सिट संख्यामा दोस्रो हुनुभयो नि ?

हो, त्यसमा हाम्रो उम्मेदवार व्यवस्थापनमा केही समस्या भयो । तर जनताको लोकपि्रय मतमा हामी कुनै मानेमा कमी छैनौं । जस्तो प्रष्टै भन्दिछु तपाईंलाई सिफारिस गर्ने, निर्णय गर्ने जस्ता कतिपय कुरा तल-वितल पनि भएका छन् त्यो हाम्रो आन्तरिक समीक्षामा छ ।

समीक्षा त तपाईंहरूले आन्तरिक थुप्रै गर्नुभयो होला नि ? तपाईंहरू संगठनमा बलियो हुनुहुन्छ, तर चुनाव संगठनले मात्रै लड्दैन । त्यहाँ त धेरै मानिस, जनमत सक्रिय भइरहेको हुन्छ, सबैको मतले गर्दाखेरि एउटा कम्पोजिट इम्प्याक्ट भइरहेको हुन्छ । त्यसले गर्दा २०७४ मा जस्तो केपी ओली, एमाले भन्ने जस्तो नहोला नि, सिट संख्यामा तल-माथि के लाग्छ तपाईंलाई ?

फेरि मैले तपाईंलाई भने २०७४ भनेको, २०७४ नै हो अहिलेको २०७९ होइन नि Û हिजो हिजो हो, आज आज हो । आज भएर बुझ्ने, विश्लेषण गर्ने हो । दोस्रो कुरा हिजो कतिपय कमजोरी थिए भने आज त्यो सच्चिएका होलान्, हिजोका सबल कुराहरू निरन्तर नभएका हुन नि सक्छन् । आजको यथार्थमा बुझ्नुपर्‍यो यसलाई । आज केही प्रतिकूलता थपिएका होलान् तर केही अनुकूलता पनि बढेका छन् ।

यसपालि एमालेले कति सिट पाउँछ ?

हामी त बहुमत ल्याउँछौं नि ! अहिले सिट नै ठ्याक्कै त नभनौं । हेडक्वार्टर केही दिनदेखि खासै छलफलमा छैन । पार्टी केन्द्रीय कार्यालयमा दुई-चार दिनदेखि पुग्न सकेको छैन ।





Source link

HamroAwaj

2022-11-17 11:11:49

Leave a Comment