प्रत्यक्षमा महिला थोरै, समानुपातिकमा पुरुषको सम्भावना कम – HamroAwaj


९ मंसिर, काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित हुन प्रत्यक्षतर्फ आँट नगरेर समानुपातिकमा बसेका पुरुष उम्मेदवारहरुलाई अहिले आफू समानुपातिक सूचीमा छानिने हो, होइन भन्ने संशय छ । यसैले कति यस्ता उम्मेद्वारहरु निर्वाचन आयोग र संसद सचिवालयमा सम्पर्क गरेर आफू समानुपातिकमा छानिने सम्भावना छ कि छैन भनेर सोधिरहेका छन् ।

संसद सचिवालयका एक जना कर्मचारी भन्छन, ‘ठूलै दलका तर्फबाट खस आर्यमा माथिल्लो सूचीमा नाम भएका एक जना नेता आफू छानिने सम्भावना कति छ भनेर बुझ्न खोजिरहनु भएको छ । हामीले अहिल्यै एकिन गर्न सकिन्न भनेका छौं ।’

यसो हुनुको कारण चाहिं प्रत्यक्षतर्फ महिलाहरु कम निर्वाचित भएका कारणले हो । संघीय संसदमा हरेक दलले कम्तीमा एक तिहाइ महिला प्रतिनिधित्व गराउनुपर्ने संवैधानिक व्यवस्था छ । यही व्यवस्थाका कारण प्रत्यक्षतर्फ महिलाले नजितेको अवस्थामा सम्बन्धित दलले पाउने समानुपातिक सिटमा सबैजसो महिला पठाउनुपर्ने बाध्यता आउन सक्छ । त्यसैले समानुपातिकको माथिल्लो सूचीमा नाम भए पनि उनीहरु छानिनेमा निश्चिन्त हुन नसकेका हुन् ।

संविधानको धारा ८४ (८) मा ‘संघीय संसदमा निर्वाचित हुने कुल सदस्यको कम्तीमा एक तिहाइ महिला सदस्य हुने गरी निर्वाचित गर्नुपर्ने’ व्यवस्था छ । त्यसले प्रत्यक्षतर्फ महिलाहरुको कम प्रतिनिधित्व हुने दलहरुले समानुपातिकमा महिला सांसदको अनुपात बढाउनुपर्ने बाध्यता छ । पार्टीको प्रभावशाली तहमा बसेर पनि प्रत्यक्षमा प्रतिस्पर्धा गर्न डराउने कतिपय उम्मेदवारहरु समानुपातिक सूचीमा बसेर सुरक्षित हुन खोजेका थिए । तर यस्तो अवसर खोज्ने उम्मेदवारहरुलाई यसपालि अप्ठ्यारो पर्ने देखिएको छ ।

प्रत्यक्षतर्फ महिलाले कम जितेका दलहरु कांग्रेस, माओवादी केन्द्र, राप्रपाले समानुपातिकमा महिला सांसदको संख्या बढाउनुपर्छ । जनता समाजवादी दलले त ४ मा ४ जना नै महिला पठाउनुपर्ने हुनसक्छ ।

अहिलेसम्मको अन्तिम नतिजा र अग्रताका आधारमा नेपाली कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५३ स्थान हाराहारी सुरक्षित गर्ने देखिएको छ । हालसम्म एकजना महिला पनि प्रत्यक्ष निर्वाचित छैनन् । कांग्रेसबाट राष्ट्रियसभामा १० मध्ये तीन सासंद महिला छन् ।

समानुपातिकतर्फ अहिलेसम्मको मत परिणाम हेर्दा कांग्रेसले ३३ सिट हाराहारी पाउने सम्भावना छ ।  राष्ट्रियसभा, प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले कुल ९६ सिट पाउने देखिन्छ । त्यसमा राष्ट्रियसभामा तीन जना महिलाको मात्रै प्रतिनिधित्व छ । संविधान अनुसार ९६ को एकतिहाइ प्रतिनिधित्व पुर्‍याउन कांग्रेसले ३२ जना महिला पुर्‍याउनुपर्ने हुन्छ । ३२ मा तीन जना राष्ट्रियसभामा कायम रहेकाले समानुपातिकमा सम्भावित ३३ जना छान्दा कम्तीमा पनि २९ जना महिला छान्नुपर्छ । यसरी हेर्दा हदै भए कांग्रेसका चार जना समानुपातिक पुरुष उम्मेदवारले मात्रै अवसर पार्ने सम्भावना देखिन्छ ।

एमालेले अहिलेसम्म जित र अग्रता गरेर ४६ सिट सुरक्षित गरेकोमा उसका तीन जना मात्रै महिला उम्मेदवार निर्वाचित भएका छन् । एउटा क्षेत्रको मतगणनामा महिला उम्मेवारले अग्रता लिएकाले उनी निर्वाचित हुनसक्ने अनुमान गर्न सकिन्छ । एमालेबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने १५ जना सांसदमध्ये ९ जना महिला छन् । अहिलेसम्मको परिणाम अनुसार एमालेबाट समानुपातिकमा करिब ३४ जनाले प्रतिनिधित्व गर्ने सम्भावना छ ।

यसरी हेर्दा संघीय संसदमा उसका कुल ९५ जना सांसद हुने देखिन्छ, जसमा एमालेका १३ जना सांसद मात्रै महिला छन् । ९५ को एकतिहाइ ३२ हुने देखिन्छ । एमालेमा राष्ट्रियसभा र प्रत्यक्षतर्फ गरेर १३ जना सांसद महिला हुने भएकाले अपुग १९ जना समानुपातिकबाट प्रतिनिधित्व गराउनुपर्छ । एमालेले ३४ जना समानुपातिक सांसद छान्दा अनिवार्य रुपमा १९ जना महिला रोज्नुपर्छ ।

नेकपा माओवादी केन्द्रबाट हालसम्मको अवस्था हेर्दा १८ जना सासंद निर्वाचित हुने देखिएकोमा दाङ–२ बाट रेखा शर्मा मात्रै प्रत्यक्षमा विजयी हुने महिला उम्मेदवार हुन् । राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने १५ जनामध्ये माओवादी केन्द्रका तीन जना मात्रै महिला सांसद छन् । अहिलेसम्मको समानुपातिकको पछिल्लो विवरण हेर्दा माओवादी केन्द्रले १६ सिट हाराहारी पाउने सम्भावना देखिन्छ । संघीय संसदमा कुल ४८ सिट पाउने माओवादीले कम्तीमा १६ जना महिलाको प्रतिनिधित्व गराउनुपर्छ । चार जनाको प्रतिनिधित्व सुनिश्चित भएकाले समानुपातिक सूचीबाट १२ जना महिला छान्नैपर्छ ।

गत वर्ष गठन भएको नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १० सिट जिते पनि उसका महिला उम्मेदवार निर्वाचित हुन सकेनन् । राष्ट्रियसभामा उसका ८ सांसदमध्ये ५ जना महिला छन् । संघीय संसदमा १८ जना महिला सांसदको प्रतिनिधित्व हुँदा उसका ५ जना मात्रै महिला सदस्य हुनेछन् । अहिलेसम्मको आँकडा अनुसार समानुपातिकतर्फ करिब २ प्रतिशत मात्रै मत पाएकाले उसको थ्रेसहोल्ड कट्ने र समानुपातिकमा प्रतिनिधित्व हुने सम्भावना कम छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियसभामा उपस्थिति छैन । उसले प्रत्यक्षमा ८ सिट पाउने सम्भावना छ, दुई महिला उम्मेदवार निर्वाचित भइसकेका छन् भने एक जना अग्रस्थानमा छन् । रास्वपाले अहिलेसम्म पाएको मत हेर्दा समानुपातिकमा १६ सिट पाउने सम्भावना छ । कुल २४ सिटमा ८ जना महिलाको प्रतिनिधित्व हुनुपर्नेमा अहिलेसम्म ३ जनाको उपस्थिति निश्चित छ । उसले अब पाउने १६ सिटमा ५ महिला अनिवार्य हुनुपर्छ ।

निर्वाचित र अग्रता गरेर जनता समाजवादी दलले प्रत्यक्षतर्फ ६ सिट जित्ने सम्भावना छ, जसमा महिलाको प्रतिनिधित्व छैन । राष्ट्रियसभामा जसपाका ३ सांसदमध्ये १ महिला छन् । अहिलेसम्मको नतिजा हेर्दा उसले समानुपातिकमा ४ सिट पाउन सक्छ । तर कुल सांसदमा ५ जना महिला प्रतिनिधित्व गराउनुपर्ने भएकाले उसले समानुपातिकमा सबै ४ महिला उम्मेदवार पठाउनुपर्ने हुनसक्छ ।

शुक्रबार अपरान्हसम्म ५ सिट जितिसकेको र २ जनाले अग्रता लिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा ७ जना सांसद भए पनि महिलाको प्रतिनिधित्व छैन । उसले समानुपातिकमा ९ सिट पाउने सम्भावना देखिन्छ । प्रत्यक्ष र समानुपातिकमा १६ सिट पाउने सम्भावना हेर्दा उसले ६ जना महिलाको प्रतिनिधित्व गराउनुपर्छ । त्यसैले ९ जना समानुपातिक सांसद छान्दा ६ महिला अनिवार्य रुपमा छान्नुपर्छ ।

प्रत्यक्षतर्फ एक/एक जना निर्वाचित भए पनि राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीले समानुपातिकमा थ्रेस होल्ड कटाउने सम्भावना नभएकाले उनीहरुको समानुपातिकमा प्रतिनिधित्व हुने सम्भावना छैन ।

समानुपातिकतर्फ भाजकहरुले भाग गरेर सिट संख्या निर्धारण गर्नुपर्ने भएकाले ठूला दलको केही सिट घट्ने देखिन्छ, सानाहरुको बढ्न सक्छ । दलहरुले विभिन्न क्लष्टबाट समानुपातिक सांसद छान्नुपर्ने र त्यसमा तोकिएको अनुपात पुर्‍याउन महिलाको प्रतिनिधित्व बढाउनुपर्छ ।

प्रत्यक्षतर्फ महिलाले कम जितेका दलहरु कांग्रेस, माओवादी केन्द्र, राप्रपाले समानुपातिकमा महिला सांसदको संख्या बढाउनुपर्छ । जनता समाजवादी दलले त ४ मा ४ जना नै महिला पठाउनुपर्ने हुनसक्छ । एमालेमा यो अनुपात अलि बढी भएकाले उसलाई समानुपातिकबाटै महिलाको प्रतिनिधित्व बढाउनुपर्ने बाध्यता नहुनसक्छ । तर समानुपातिकको कुलमध्ये आधाभन्दा बढी भने उसले पनि महिला प्रतिनिधित्व गराउनुपर्नेछ ।





Source link

HamroAwaj

2022-11-25 17:07:53

Leave a Comment