निमावि तहको शिक्षक नतिजा झन कमजोर – HamroAwaj


१७ मंसिर, काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तह तृत्तीय श्रेणी शिक्षक पदको लिखित परीक्षाको नतिजा मंसिर १० गतेदेखि सार्वजनिक गरिरहेको छ । अहिलेसम्म गणित विज्ञान, विज्ञान, गणित, नेपाली, संस्कृत, विज्ञान र गणित (प्रदेश १ र मधेश प्रदेशको मात्र) विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिसकेको छ।

आयोगले अहिलेसम्म सार्वजनिक गरेको नतिजा हेर्दा मावि तह तृत्तीय श्रेणीको नतिजा भन्दा कमजोर नतिजा निमावि तह तृत्तीय श्रेणीको देखिरहेको छ । आयोगले माग गरे भन्दा धेरै कम प्रतिशतमा परीक्षार्थी उत्तीर्ण भइरहेका छन् ।

आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको दुई हजार ५९८ रिक्तदरबन्दीका लागि २०७८ चैत १७ गते र २०७९ असार ११ गते सञ्चालन गरेको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरिरहेको हो ।

विषयगत नतिजाको अवस्था

आयोगले सार्वजनिक गरेको नतिजाहरु मध्ये अहिलेसम्मको सबैभन्दा कमजोर नतिजा गणित विज्ञान विषयमा देखिएको छ । मंसिर १० गते आयोगले सार्वजनिक गरेको नतिजा अनुसार गणित विज्ञान विषयमा देशभरका लागि ३६५ रिक्त दरबन्दीमा शिक्षक माग गरिएको थियो तर लिखित परीक्षामा जम्मा ५७ जना (१५.६१ प्रतिशत) परीक्षार्थी मात्रै उत्तीर्ण भएका छन् । नतिजा अनुसार गणित विज्ञान विषय शिक्षकको ३०८ रिक्त शिक्षक पदमा पदपूर्ति नहुने भएको छ ।

आयोगको नतिजा अनुसार मधेश प्रदेशमा २० पदको लागि लिइएको परीक्षामा एक जना पनि उत्तीर्ण हुन सकेका छैनन् । विषयगत परीक्षामा ८ जना सहभागी भए पनि कोही पास भएनन् । प्रदेश १ मा १६१ रिक्त पदको लागि जम्म २४ जना, बागमती प्रदेशमा ३८ रिक्त पदको लागि जम्मा दुई जना, गण्डकी प्रदेशमा ४३ रिक्त पदको लागि जम्मा पाँच जना उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी लुम्बिनी प्रदेशमा ३३ रिक्त पदको लागि जम्मा ५ जना, कर्णाली प्रदेशको लागि २३ रिक्त पदको लागि ७ जना र सुदुरपश्चिम प्रदेशमा ४७ रिक्त पदको लागि १४ जना शिक्षक उत्तीर्ण भएका छन् ।

गणित विज्ञान विषयको लागि विषयगत परीक्षामा सहभागीको संख्या पनि तुलनात्मक रुपमा कम नै देखिन्छ । परीक्षार्थीको संख्या नै कम हुनुको कारण स्नातक तथा स्नातकोत्तर तहमा गणित, विज्ञान विषय पढ्ने विद्यार्थीको संख्या कम हुने र ती विद्यार्थीहरु पनि अधिकांशको रोजाइ शिक्षण पेशा नहुनु भएको त्रिभुवन विश्वविद्यालय शिक्षा संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकी बताउँछन् ।

आयोगका अनुसार देशभरबाट गणित विषय शिक्षकको लागि दुई हजार ८६५ जनाले लिखित परीक्षा दिएका थिए । तर, लिखित परीक्षा जम्मा ३१४ जनाले पनि छिचोल्न सफल भएका छन् । यसरी फेरि पनि देशभर गणित विषय शिक्षकको ५८ वटा पद रिक्त हुने देखिएको छ ।

उनी भन्छन् ‘अहिले गणित विज्ञान, गणित, विज्ञान विषय अध्ययन गर्ने विद्यार्थी नै कम छन् । अध्ययन गर्ने विद्यार्थीको पनि पहिलो रोजाइ शिक्षण पेशा पर्दैन त्यसैले शिक्षक सेवा आयोगको परीक्षा दिनेको संख्या कम हुनेगर्छ ।’

विज्ञान विषय शिक्षकको रिक्त दरबन्दी पनि पूर्ति नहुने भएको छ । आयोगले निमावि तह तृत्तीय श्रेणी विज्ञान विषय शिक्षकको लागि सबै प्रदेशमा ४४० रिक्त दरबन्दीको लागि सञ्चालन गरेको परीक्षामा २५७ जना (५८.४० प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् । नतिजा अनुसार फेरि पनि १८३ पद रिक्त हुने देखिएको छ ।

प्रदेश १ मा १०१ रिक्त दरबन्दीको लागि लिएको परीक्षामा जम्मा ४१ जना, मधेश प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि ७ जना मात्रै र बागमति प्रदेशमा १०० रिक्त पदका लागि जम्मा ५७ जना मात्रै उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी, गण्डकी प्रदेशमा १०१ रिक्त पदको लागि ७३ जना, लुम्बिनी प्रदेशमा ६० रिक्त पदको लािग ४७ जना, कर्णाली प्रदेशमा २९ जनाको लागि २१ जना र सुदुरपश्चिम प्रदेशको लागि ११ जना मात्रै उत्तीर्ण भएका छन् ।

विज्ञान विषय शिक्षकको लागि देशभरका एक हजार १४८ जनाले लिखित परीक्षा दिएको आयोगले जनाएको छ । यसमा सहभागी राम्रो देखिए पनि उत्तीर्ण हुनेको संख्या कम देखिएको छ ।

निमावि तह गणित विषय शिक्षकको लागि आयोगले ३७२ रिक्त दरबन्दीको लागि आवेदन माग गरेको थियो । तर गणित विषयमा पनि देशभरबाट ३१४ जना (८४.४० प्रतिशत) शिक्षक मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

आयोगले माग गरे अनुसार मधेश प्रदेश र लुम्बिनी प्रदेश बाहेक सबैमा माग गरे भन्दा कम संख्यामा उत्तीर्ण भएका छन् ।

सबै भन्दा बढी प्रदेश १ मा १०३ रिक्त दरबन्दीको लागि लिएको परीक्षामा जम्मा ७० जना उत्तीर्ण भएका छन् । नतिजा अनुसार प्रदेश १ मा ३३ शिक्षक पद रिक्त हुने देखिएको छ । बागमति प्रदेशमा ८७ रिक्त दरबन्दीको लागि ७२ जना, गण्डकी प्रदेशमा ८६ रिक्त दरबन्दीमा ७६ जना उत्तीर्ण भएका छन् ।

कर्णाली प्रदेशमा १५ माग गरिएकोमा १२ जना, सुदुरपश्चिम प्रदेशमा १५ रिक्त दरबन्दीमा १३ जना मात्रै उत्तीर्ण भएका छन् ।

आयोगका अनुसार देशभरबाट गणित विषय शिक्षकको लागि दुई हजार ८६५ जनाले लिखित परीक्षा दिएका थिए । तर, लिखित परीक्षा जम्मा ३१४ जनाले पनि छिचोल्न सफल भएका छन् । यसरी फेरि पनि देशभर गणित विषय शिक्षकको ५८ वटा पद रिक्त हुने देखिएको छ ।

किन आयो कमजोर नतिजा ?

निमावि तह तृत्तीय श्रेणी शिक्षकको नतिजा कमजोर आउनुमा विभिन्न कारण भएको शिक्षाविद्हरु बताउँछन् । परीक्षार्थीहरुको मिहिनेत र विश्वविद्यालयले उत्पादन गर्ने जनशक्तिको योग्यतामाथि समीक्षा गर्नुपर्ने उनीहरुको भनाइ छ ।

शिक्षक सेवा आयोगले सम्बन्धित तहको शिक्षक पदको परीक्षाको लागि पाठ्यक्रम तयार गर्ने गरेको छ । त्यहि पाठ्यक्रम अनुसार उम्मेदवारले तयारी गरेर परीक्षा दिनुपर्ने हुन्छ । तर अहिलेको नतिजा हेर्दा परीक्षार्थीले उक्त पाठ्यक्रम अनुसार तयारी नगरेको भन्न सकिने शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठा बताउँछन् । उनी भन्छन् ‘हामीले पाठ्यक्रम नै बनाएर दिँदा पनि पास हुन नसक्नु भनेको तयारी नपुगेकै हो । अर्को हाम्रो विश्वविद्यालयबाट कस्तो जनशक्ति उत्पादन भइरहेको रहेछ भन्ने पनि देखाउँछ ।’

शिक्षा विकास निर्देशनालय गण्डकीका निर्देशक अम्बिकाप्रसाद आचार्य शिक्षक सेवाको नतिजाले नाजुक अवस्था देखिएको बताउँछन् । उनको बुझाइमा परीक्षार्थीले नजानेर, नबुझेर भन्दा पनि परीक्षाका लागि पढाइ नपुगेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेसम्म उहाँहरुले पढाएर, सिकाएर विद्यार्थीहरुले राम्रो नतिजा निकालिरहेका छन् । यसले उहाँहरु कमजोर हुनुहुन्छ भन्ने अवश्य होइन तर उहाँहरुले आफनो परीक्षाको लागि पढाइ पुगेन भन्ने त फेरि आयोगको नतिजाले देखायो ।’

शिक्षकको सफलता, असफलताले विद्यार्थीमा पनि प्रभाव पार्ने भएको शिक्षकहरुले आफूले दिने परीक्षामा पनि मिहिनेत गर्नुपर्ने उनी बताउँछन् ।

‘हामीले पाठ्यक्रम नै बनाएर दिँदा पनि पास हुन नसक्नु भनेको तयारी नपुगेकै हो । अर्को हाम्रो विश्वविद्यालयबाट कस्तो जनशक्ति उत्पादन भइरहेको रहेछ भन्ने पनि देखाउँछ ।’

प्रा.डा.लक्ष्मण ज्ञवाली राज्यले शिक्षक उत्पादनमा देखाएको उदासीनताको नतिजा शिक्षक सेवा आयोगको नतिजामा देखिएको बताउँछन् । राज्यले शिक्षक उत्पादनको लागि सम्बन्धित निकायसँग समन्वयात्मक भूमिका नखेलेको उनको जिकिर छ । भन्छन्, ‘राज्यले अहिले कत्ति शिक्षक आवश्यक छन्, अर्को वर्ष कति शिक्षक आवश्यक पर्न सक्छ र त्यसका लागि कुन विश्वविद्यालयले कत्ति जनशक्ति उत्पादन गर्छ लगायतको तथ्यांक खै ?’

राज्यको तयारी नपुगेकै कारण अनिवार्य अवकास भएका शिक्षकको ठाउँमा नयाँ शिक्षक भर्ना गर्नको लागि ४–५ वर्ष लाग्ने स्थिति रहेको उनको तर्क छ । शिक्षक रिक्त दरबन्दी पूर्ति गर्नको लागि शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोग र विश्वविद्यालयबीचको समन्वय हुनुपर्ने बताउँछन् ।

नयाँ पुस्तामा शिक्षण पेशाप्रति रुची नहुँदा अन्य विकल्पमा सफल नहुँदा यता आउने र कार्यरत शिक्षकहरु तलब कम हुँदा अरु पेशा पनि सँगै गर्दा आयोगको परीक्षाका लागि तयारी नपुगेको देखिएको उनले बताए ।

त्रिवि शिक्षा संकाय डीन प्रा.डा.चित्रबहादुर बुढाथोकी शिक्षक उत्पादनको लागि नेपाल सरकारको नीति स्पष्ट नभएको बताउँछन् । कस्तो विद्यार्थीलाई शिक्षक बनाउने, कुन विश्वविद्यालयले कुन विषयको शिक्षण क्षेत्रको लागि जनशक्ति उत्पादन गर्ने, त्यसको लागि सरकारले के सहयोग गर्ने भन्ने बारेमा केही स्पष्ट नहुँदा अहिलेको समस्या देखिएको बताउँछन् ।

नेपालमा जसले पनि बीएड चलाउन पाउने, जुन विषय पनि पढाउन पाउने र गुणस्तर मापन नहुने भएकोले दक्ष जनशक्ति उत्पादनमा समस्या भइरहेको उनको भनाइ छ । प्रा.डा. बुढाथोकी त्यसैको असर शिक्षक सेवा आयोगको नतिजामा देख्छन् ।

अब सरकारले कुन कलेजले कुन विषयको कत्ति जनशक्ति सरकारलाई दिनुपर्ने र त्यसको लागि सरकारले विश्वविद्यालयहरुलाई के सहयोग गर्ने भन्ने विषयमा कोटा छुट्याएर काम गर्नुपर्ने बताउँछन् । उनले भने, ‘सरकारले नीति बनाएर कोटा सिस्टम लागु गर्नुपर्छ र सरकारले ह्युमेन रिसोर्स प्लानिङ गरेर अगाडी बढ्नुपर्छ भनेर प्रस्ताव गरेका छौं । अब छलफल हुन्छ होला ।’

अहिले मावि तहसम्मको जिम्मेवारी स्थानीय सरकारलाई भएकोले शिक्षक उत्पादनको लागि स्थानीय सरकारले पनि काम गर्नुपर्ने उनको भनाइ छ ।





Source link

HamroAwaj

2022-12-03 07:08:05

Leave a Comment