८९ रुपैयाँमा किनेको पेट्रोल १८१ मा बेच्छ आयल निगम, किन घटाउँदैन मूल्य ? – HamroAwaj


२५ मंसिर, काठमाडौं । १५ मंसिरमा भारतीय आयल कर्पोरेसन (आईओसी) को नयाँ मूल्यअनुसार नेपाल आयल निगमले एक लिटर पेट्रोल जम्मा ८९ रुपैयाँ ७१ पैसामा किन्छ । तर नेपालमा बिक्री मूल्य १८१ रुपैयाँ छ ।

यस्तै प्रतिलिटर ११९ रुपैयाँमा किनेको डिजेल १७८ रुपैयाँमा र ११२ रुपैयाँ ९७ पैसामा किनेको हवाई इन्धन १९० रुपैयाँमा बिक्री गरिरहेको छ ।

गत वर्ष यसै समयबाट सुरु भएको इन्धनको मूल्यवृद्धि पछिल्लो ५ महिनायता निरन्तरजसो ओरालो लागिरहेको छ । निगमकै तथ्यांकले पनि पछिल्लो दुई महिनायता निगम निरन्तर नाफामा छ ।

३१ असोजदेखि १५ कात्तिकसम्म ३९ करोड, १५  कात्तिकदेखि १ मंसिरसम्म १८ करोड र १ मंसिर यता निगम ५८ करोड ७१ लाख रुपैयाँ नाफामा छ । आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार निगमलाई एक महिनामा एक अर्ब १६ करोड रुपैयाँ नाफामा छ ।

पछिल्लो पाँच महिनायता नाफामा रहेको निगम नयाँ मूल्य पछि यो महिना झनै धेरै नाफा कमाउने छ । तर, सञ्चित नोक्सानी र बक्यौता ऋण २७ अर्ब रहेको कारण देखाउँदै निगमले यो पटक पनि उपभोक्ता मूल्य समायोजन गरेन ।

निगमका प्रवक्ता विनितमणि उपाध्याय विगतमा निगमले उपभोक्तालाई यो भन्दा पनि ठूलो मूल्य वृद्धिबाट जोगाएका कारण अहिले निगमको वक्यौता तिर्न उपभोक्ताले सघाउनुपर्ने तर्क गर्छन् ।

‘अहिले सञ्चित नोक्सानी र ऋणका कारण निगम ठूलो संकटमा छ, यसलाई उपभोक्ताले सघाउनु पर्‍यो,’ प्रवक्ता उपाध्यायले भने, ‘पहिले चर्को मूल्य वृद्धिमा निगमले उपभोक्तालाई जोगायो अहिले उहाँहरुले चर्को मूल्यमा हामीलाई सघाउनुपर्‍यो ।’

आयल निगमको नाफा र घाटाको हिस्सा उपभोक्तालाई बराबर बाँड्न निगम आफैंले बनाएको स्वचालित मूल्य समायोजन प्रणाली लागू नगरेको एक वर्ष भइसकेको छ ।

निगमले पेट्रोलियम पदार्थको आयात र बिक्रीलाई अन्तर्राष्ट्रिय मूल्यबाट प्रभावित हुन नदिन २०७१ सालमा स्वचालित मूल्य निर्धारण कार्यविधि लागू गरेको थियो । १५ दिनको खरिद मूल्यलाई आधार मानेर निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने र बढाउने गर्दै आएको थियो । तर रुस युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेका कारण स्वचालित मूल्य प्रणाली लागू गर्न नसकिएको प्रवक्ता उपाध्याय बताउँछन् ।

पछिल्लो एक महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निरन्तर गिरावट आएको छ । भारतले खरिद गरेर नेपाललाई बिक्री गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य त चार हप्ताको बीचमा प्रतिब्यरल २२.८९ डलरले घटेको छ ।

कात्तिक २५ (नोभेम्बर ११ ) गते प्रतिब्यारल ९५.९९ डलर रहेको ब्रेण्ट कच्चा तेलको मूल्य आइतबार ७५.१० डलर प्रतिब्यारलमा झरेको छ ।

पाँच महिना अवधिमा इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा १२२ डलरबाट ४५ डलरले घटेर ७५.१० डलरमा आइपुगेको छ ।

निगमको नेतृत्व र सञ्चालक समितिले अहिलेसम्म इन्धन मूल्य घटाउने विषयमा छलफलसमेत गरेको छैन । निगम सञ्चालक समितिको बैठक पनि नबसेको धेरै भइसकेको छ ।

 





Source link

HamroAwaj

2022-12-11 20:25:12

Leave a Comment