२७ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले सट्टेबाजी (गेम्बिलङ र बेटिङ)मा सहभागी नहुन चेतावनी दिएको छ । विश्वकप फुटबल सुरु भएपछि विद्युतीय भुक्तानीमा शंकास्पद कारोबारहरु देखिन थालेपछि राष्ट्र बैंकले सूचना नै जारी गरेर सचेत गराएको छ ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाइन जुवा तथा बाजीजन्य गैर कानूनी काम नगर्न सूचित गरेको छ ।
‘जुवा तथा बाजीजन्य कार्यहरु गैर कानूनी हुन् । यस्ता प्रकृतिका कारोबारहरुमा सहभागी नहुन सर्वसाधारणमा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ,’विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजी लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित व्यक्ति समूह/संस्थालाई कानूनी कारबाही हुने तथा निजहरुको बैंक खाता, मोबाइल वालेट लगायतबाट हुने कारोबारहरु रोक्का गरिनेछ ।’
जुवा तथा बाजीजन्य गैर कानूनी कार्यहरुको भुक्तानी बैंक खाता, मोबाइल बैंकिङ्ग, मोबाइल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले इजाजत र अनुमतिपत्रप्राप्त संस्थाहरुलाई निर्देशन दिएको छ ।
कसैले विद्युतीय भुक्तानीका माध्यमवाट जुवा तथा बाजीजन्य कार्य गरेको थाहा भएमा जानकारी गराउन पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।
HamroAwaj
2022-12-13 22:10:36