कर्जाको औसत ब्याजदर एक दशक यताकै उच्च – HamroAwaj


२९ मंसिर, काठमाडौं । सरकारको आयात प्रतिबन्ध र नेपाल राष्ट्र बैंकको कसिलो नीतिले बाह्य क्षेत्रमा देखिएको दबाव सुधारोन्मुख बन्दै गएको छ । असोजमा १४ महिनापछि बचतमा गएको शोधनान्तर स्थिति कात्तिकमा पनि सकारात्मक देखिएको छ ।

आर्थिक वर्ष (आव) २०७७/७८ मा बचतमा रहेका शोधनान्तर स्थिति आव २०७८/७९ को कुनै पनि महिनामा बचतमा जान सकेन । तर, आव २०७९/८० को साउन र भदौमा घाटमा रहेको शोधनान्तर स्थिति असोजदेखि भने बचतमा गएको छ । कात्तिकमा शोधनान्तर बचत थप बढेको हो ।

यस्तै विदेशी विनियम सञ्चिति पनि बढ्ने क्रममा नै देखिएको छ । कोभिड–१९ पछि बैंकिङ प्रणालीमा भएको अधिक तरलताले घटेको ब्याजदरमा सहज रुपमा वित्तीय स्रोत उपलब्ध हुँदा बढेको आयातले दबावमा देखिएको बाह्य क्षेत्र क्रमशः सुधार हुँदै स्थिरतातर्फ जाने अवस्थामा गएको देखिन्छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बिहीबार चालु आव २०७९/८० को चालु महिनाको तथ्यांकको आधारमा मुलकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दा बाह्य क्षेत्र क्रमशः सन्तुलित बन्दै गएको तथ्यांक आएका छन् । कर्जाको भारित औसत ब्याजदर एक दशक यताकै उच्च बन्दै गर्दा मुद्रास्फीति लक्षित सीमाभन्दा माथि भएपनि केही सुधारोन्मुख देखिएको छ ।

असोजमा १२ अर्ब रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति कात्तिक मसान्तमा आउँदा ७ अर्ब ६० करोडले वृद्धि भएर २० अर्ब ३ करोड पुगेको छ । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा थियो । यस्तै आसोजमा ९ अर्ब ४८ करोड डलर रहेको विदेशी विनियम सञ्चिति कात्तिकमा ९ अर्ब ६३ करोड पुगेको केन्द्रीय बैंकले जनाएको छ । असार २०७९ मा ९ अर्ब ५४ करोड रहेको विदेशी विनिमय सञ्चिति साउन र भदौमा घटेर असोजदेखि बढ्न सुरु भएको थियो ।

अमेरिकी डलरको मूल्यमा वृद्धि हुँदाको अवस्थामा समेत निर्यातमा संकुचन भएपनि निर्यातको भन्दा करिब १० गुणा उच्च रहेको आयातमा नै संकुचन हुँदा व्यापार घाटा घटेको छ । यस्तै डलरको मूल्यमा भएको वृद्धिले रेमिट्यान्स बढ्दा बाह्य क्षेत्र क्रमशः सुधारोन्मुख देखिएको हो । चालु आवको पहिलो चार महिनामा निर्यात ३३.३ प्रतिशतले गिरावट भएर ५४ करोड ७७ लाखमा झरेको छ । त्यस्तै १८.१ प्रतिशतले घटेर आयात ५ खर्ब ३२ अर्ब ६९ करोडमा झर्दा वैदेशिक व्यापार घाटा १५.९ प्रतिशतले गिरावट भएर ४ अर्ब ७७ करोड ९२ लाखमा झरेको छ ।

वैदेशिक व्यापार घाटामा करिब १६ प्रतिशतले घटेको र विदेशी मुद्रा आर्जनको स्रोत रेमिट्यान्स पनि वृद्धि हुँदा बाह्य क्षेत्र सन्तुलित बन्दै गएको छ । चालु आवको पहिलो चार महिनामा ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ । गत आवको सोही अवधिको तुलनामा रेमिट्यान्स २०.४ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंक आर्थिक अनुसन्धान प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ पनि बाह्य क्षेत्र सुधारकै क्रममा रहेको बताउँछन् । मंसिरमा थप सुधार हुने भएपनि पुसदेखि आयात प्रतिबन्ध हट्दा केही दबाव बढ्नसक्ने उनले बताए । ‘मंसिरमा पनि थप सुधार हुनसक्छ, त्यसले अहिले बचतमा रहेको शोधनान्तर स्थिति थप बढ्न सक्छ । पुसदेखि आयात खोल्दा एकपटक केही बढी माग हुनसक्छ तर, त्यसले केही दबाव बढेपनि सन्तुलन कायम हुन्छ भन्ने विश्वास हो’ उनले भने ।

मुद्रास्फीति घट्दो दरमा देखिएपनि दबावमै

बाह्य क्षेत्रसँगै मुद्रास्फीति पनि सुधारोन्मुख देखिएपनि लक्षित सीमामा ल्याउन भने दबाव नै देखिएको छ । राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा मुद्रास्फीति ७ प्रतिशतभित्र कायम राख्ने लक्ष्य लिएको छ । आर्थिक वर्षको पहिलो महिनादेखि नै लक्षित सीमाभन्दा माथि रहेको मुद्रास्फीति कात्तिकमा पनि माथि नै रहेको प्रकाशित तथ्यांकले देखाएको छ ।

कात्तिकसम्म आउँदा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५० प्रतिशत रहेकोमा कात्तिकमा सुधार देखिएको छ । गत आवको यही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०४ प्रतिशत मात्र रहेको थियो ।

खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.३८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

कर्जाको भारित औसत ब्याजदर करिब १० वर्षपछिको उच्च पुगेको छ । बिहीबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत पुगेको जनाएको छ । जुन आर्थिक वर्ष ०६९/७० को पुस मसान्तपछिकै उच्च हो । २०६९ पुसमा कर्जाको भारित औसत ब्याजदर १२.६५ प्रतिशत र असोज मसान्तमा १२.९४ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

२०६९/७० मा उच्च बिन्दुमा पुगेको ब्याजदर त्यसपछि क्रमिक रुपमा घटीरहेको अवस्थामा २०७२ वैशाखमा गएको भूकम्पले आर्थिक गतिविधि प्रभावित भई कर्जाको माग घट्दा घटेर एकल अंकमा झरेको थियो । त्यसपछि पुन बढेर कर्जाको भारित औसत ब्याजदर २०७५ असार र असोजमा १२.४७ प्रतिशतसम्म पुगेको कर्जाको भारित औसत ब्याजदर २०७६ चैतदेखि देखिएको कोभिड–१९ का कारण आयात घट्दा बढेको तरलताको कारण ब्याजदर साढे ८ प्रतिशतभन्दा तल झर्यो । तर, गत आवमा देखिएको लगानीयोग्य स्रोतको चरम अभावको कारण निक्षेपको ब्याजदर निरन्तर बढ्दै जाँदा अहिले कर्जाको भारित औसत ब्याजदर एक दशक यताकै उच्च पुगेको हो ।

मंसिरमा कर्जाको ब्याजदर सामान्य बढ्ने सम्भावना भएपनि अब स्प्रेडदरका कारण तत्काल निक्षेपको ब्याजदर तत्काल नघटे पनि कर्जाको ब्याजदर अब बढ्ने सम्भावना न्यून रहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।





Source link

HamroAwaj

2022-12-15 19:56:20

Leave a Comment