खुलामञ्चमा बाटो बिराउँदैछ काठमाडौं महानगर – HamroAwaj


काठमाडौं महानगरपालिकाले खुलामञ्चमा रिभर्स बोरिङसहित भूमिगत पार्किङ बनाउने भन्ने सुनेपछि ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने उखान सम्झेर दिक्क लागिरहेको छ ।

महानगरपालिकाले शहरमा पूर्वाधार बनाउन खोज्नु गलत हैन, तर यो सरोकारवालासँग सल्लाह–छलफल गरेर टुंगो लगाउनुपर्ने सहभागितामूलक विषय हो । महानगरमा सबैले आशा गरेको नेतृत्व आउँदा पनि सनकको भरमा निर्णय गर्ने कुरा मलाई ठिक लागिरहेको छैन ।

टुँडिखेल जस्तो सार्वजनिक स्थानको उपयोगबारे त ठूलै सार्वजनिक बहस हुनुपर्थ्यो । धेरै कुरा त मलाई थाहा छैन,तर महानगरले खुला मञ्चमा रिभर्स बोरिङसहित भूमिगत पार्किङ बनाउन डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्न लागेको समाचारहरू आएका छन् ।

डीपीआर बनाउने भनेको सबै कुरा टुंगो लागिसकेपछि हो । त्यसमा निकै खर्च लाग्छ । सार्वजनिक विषयमा विज्ञ र जनतासँग विना छलफल वा बहस डीपीआर बनाउने कुरा किमार्थ ठिक होइन ।

काठमाडौंको टुँडिखेलको सामाजिक, सांस्कृतिक र राजनीतिक महत्व छ । त्यहाँ राम्रै काम गर्न खोजेको हो भने पनि जनसमर्थन आवश्यक छ । जनसमर्थन पाउन पारदर्शी निर्णय र सार्वजनिक बहस हुनुपर्छ ।

एउटा ठूलो घर बनाउँदा कम्तीमा तीन तह जमिनमुनिको माटो परीक्षण गरेर यो सही जग्गा हो भनेर महानगरमा जनाउनुपर्छ । खुलामञ्चमा यत्रो परियोजना बनाउने तयारी हुँदा त्यस किसिमको अध्ययन गरिएको कुरा सुनिएको छैन ।

केही समयअघि ‘अकुपाइ टुँडिखेल’ भनेर एउटा अभियान पनि चलेको थियो ।

त्यति राम्रो टुँडिखेललाई धुजा पारिसकियो । सबभन्दा धेरै बिगार त नेपाली सेनाले गरेको छ । सेनाले जुन किसिमले टुँडिखेललाई प्रयोग गरेको छ, त्यो विल्कुलै अनुचित छ । सेनाले छाडेको भाग दुरुपयोग गर्न अरू सरकारी निकाय आएका छन् ।

रानीपोखरीदेखि खुलामञ्चसम्मको भागलाई एउटै खुला चउर बनाउन सकिने सम्भावनाहरूमा एकचोटि विचार गरेको भए बेस हुन्थ्यो । अझ खुलामञ्च, सैनिक मञ्च भनेर छुट्याउनुभन्दा पहिलाको एउटै टुँडिखेल बनाउनु अझ बेस हुन्थ्यो ।

काठमाडौं महानगरपालिकालाई पार्किङ एउटा ठूलो चुनौती हो भन्ने द्विविधा छैन । खासगरी भित्री शहरमा हुने सवारी आवागमनले धेरै असर पारेको छ । त्यहाँ ट्राफिक व्यवस्थापनसँगै पानी पुनर्भरणबारे पनि सोच्नुपर्ने हो । ट्राफिक र पानी मात्र होइन, भित्री शहरको संस्कृति र सम्पदामा पनि खुलामञ्च जोडिन्छ । नागरिक आवाज उठ्ने ठाउँ भएकोले खुलामञ्चको त राजनीतिक महत्व पनि छ ।

ट्राफिक व्यवस्थापनको लागि काठमाडौंका भित्री शहरलाई पैदल नबनाई हुँदैन । दिनको खास–खास समयमा सेवा प्रदायक सवारी चल्न दिने बाहेक ‘कोर सिटी’मा पैदल हिंड्ने व्यवस्था नै गर्नुपर्छ । त्योबाहेक अर्को उपाय छैन ।

टुँडिखेल मात्र होइन, विष्णुमती क्षेत्रमा पनि पार्किङ चाहियो । ठमेल जानेका लागि ठमेल बाहिर पार्किङको व्यवस्था हुनुपर्‍यो । भित्री शहरमा पैदल गरे त्यहाँको जनजीवन पुरानै रहेर संस्कृति, सम्पदा र इतिहास संरक्षणमा सहयोग पुग्छ ।

त्यसका लागि सबभन्दा पहिले कहाँ–कहाँ कति पार्किङ लट चाहिन्छ भनेर अध्ययन हुुनुपर्छ । संघीय सरकारले पार्किङको लागि भन्दै गोश्वारा हुलाकसँगै कार्यालय भवन भत्काएको छ । त्यसको क्षमता कति हो, अपुगको लागि बहुतले पार्किङ बनाउनुपर्ने हो कि, अध्ययन हुनुपर्‍यो ।

तर, अहिले खुलामञ्चमा पार्किङ बनाउने कुरा विल्कुलै हचुवामा आएको छ । मलाई थाहा भएअनुसार, १० वर्षअघि ‘काठमाडौं सन्स्टेनेबल ट्रान्सपोर्ट प्लान (केएसयुटीपी)ले अध्ययन नै गरेको थियो । अहिले त्यसको रिपोर्ट हेरेजस्तो लाग्दैन ।

अर्को कुरा, भित्री शहरमा पस्न नदिए पार्किङले सवारी आवागमनलाई निरुत्साहित गर्छ । अहिलेको जसरी सबैतिर खुला छाडिदिने हो भने जति पार्किङ लट बनाए पनि त्यसले सवारीलाई प्रोत्साहित गर्छ ।

निजी गाडीबारे महानगरको नीति के हो ? यो विषयमा महानगरले केही बताए जस्तो लाग्दैन । महानगरले हामीकहाँ यति सवारी, यति सडक, यति जनसंख्या छ, २० वर्षमा यति–यति पुग्छ भनेर देखाउनु पर्‍यो । यसलाई व्यवस्थापन गर्ने यी–यी विकल्प छन्, अब यसो गर्नुपर्‍यो भनेर छलफल चलाउनुपर्‍यो ।

खुलामञ्चसँग भूमिगत जलभण्डारणको सवाल पनि जोडिएको छ । टुँडिखेल र काठमाडौंको भित्री शहरको अवस्थिति हेर्ने हो भने पूर्वबाट पश्चिमतिर भिरालो परेर गएको छ । मैले सतही रूपमा भन्न सक्ने कुरा के हो भने टुँडिखेलमा पुनर्भरण भएको पानी शहरतिर पस्छ । तर, त्यहाँको माटो परीक्षण र विस्तृत अध्ययन पनि भएको छैन ।

नेपाल वायुसेवा निगमको कार्यालयबाट सुन्धारातिरको जमिनमुनि पानी छिर्न नदिने कालीमाटीको तह छ । टुँडिखेलमुनि चाहिं पानी रिचार्ज गर्ने बालुवाको तह छ । त्यसले कुन हदसम्म रिचार्ज गर्छ, त्यसको भने अध्ययन भएको जानकारीमा छैन । विना अध्ययन रिभर्स बोरिङ र भूमिगत पार्किङको कुरा आएको छ । सामाजिक, सांस्कृतिक, वातावरणीय र प्राविधिक पक्षहरूमा ध्यानै नदिई यो कुरा आएको प्रष्टै छ ।

पहिला शासकलाई जे मन लाग्यो, सरकारले त्यही गर्ने अभ्यास थियो । अहिले त हामी त्यो खालको ‘गभर्नेन्स’बाट धेरै माथि गइसकेका छौं । काठमाडौं महानगरको अहिलेको युवा नेतृत्वले त्यो पश्चगामी बाटो लिनु हुँदै हुँदैन ।

टुँडिखेललाई कतिपयले चउरका रूपमा बुझेका होलान्– हिजो शहर बनाउँदा बनाउँदै बाँकी रहन गएको ठाउँ । तर, यो यतिकै बचेको हैन, नेवारहरूको शहर व्यवस्थापन अवधारणा अनुसार राखिएको भाग हो । नेवारी भाषामा ‘ख्य’ भनेको खेल हो । टुँडिखेल, लगनखेल, जावलाखेल आदि ‘ख्य’बाटै बनेका हुन्, त्यो पनि योजनाबद्ध रूपमा । भक्तपुरदेखि पाल्पासम्म यस्ता ‘ख्य’हरू छन् ।

‘ख्य’ बचाउनको लागि फेरि उनीहरूले जात्रा–पर्व जोडेर राखेका हुन्छन् । काठमाडौंको टुँडिखेल गुरुमापा र भद्रकालीको जात्रासँग जोडिएको छ । वैशाख–जेठतिर टुँडिखेलमा नेवारहरू जम्मा भएर भोज खाइरहेको सबैले देख्नुभएको होला । त्यो उनीहरूको देवाली हो ।

सुक्खायाममा टुँडिखेल गएर कुलदेवताको पूजा गर्ने, भोज खाने संस्कृति टुँडिखेलको रेखदेखसँग सम्बन्धित छ । कुल देवताको ठाउँ कि पानीको मुहान वरपर हुन्छ कि त चौरमा हुन्छ ।

सोचौं– काठमाडौं उपत्यकामा यतिका भव्य सम्पदा र मठ–मन्दिर बनाउन जान्नेहरूले आफ्नै कुल देवताको मन्दिर किन बनाएनन् होला ? त्यहाँ एउटा कलात्मक मूर्ति नराखी किन प्वाल पारेको सिलोट (ढुंगा) राखेका होलान् ? किनभने, ‘ख्य’ प्रकृति हो, त्यसलाई चलाउनुहुँदैन । निर्माण वर्जित ठाउँ हो त्यो ।

टुँडिखेलमा नेवारहरूले देवाली गर्ने ठाउँको ढुंगाको बीचमा तीनकुने प्वाल हुन्छ । त्यो किन भने, प्रकृतिको हावा रोक्नुहुँदैन भन्ने मान्यता छ । तर, त्यही ठाउँमा नेपाली सेनाले हेडक्वार्टर बनाइदियो । पछि अरू संरचना पनि थप्दै गयो ।

संस्कृति र व्यवस्थित शहरीकरणसँग जोडेर टुँडिखेल बचाइएको अनेक प्रमाण छन् । यस्तो ठाउँमा कुलपूजा गर्न सेनाको स्वीकृति चाहिने विडम्बना सिर्जना गरिएको छ । कसो–कसो जोगिएको खुलामञ्चमा पनि अब पार्किङ बनाउन महानगर लागेछ ।

कुनै वहानामा खुलामञ्च मास्न कस्सिंदा २०७२ सालको महाभूकम्प पनि सम्झिए हुने । त्यसबेला भित्री शहरका धेरै मान्छेले टुँडिखेलमा आश्रय लिएका थिए । परकम्प आइरहँदा घरमा बस्न र राति ढुक्कसँग निदाउन सक्ने अवस्था नभएपछि घट्टेकुलोका मान्छेहरू पनि त्यहाँ आएका थिए । फेरि त्यस्तो विपद् आइपर्दा टुँडिखेल चाहिंदैन ?

सतह खुलै राखेर जमिनभित्र बलियो पार्किङ बनाउँदा के बिग्रिन्छ भन्ने तर्कसँग म सहमत छैन । यस्तो हचुवा तर्क गरेर महानगरपालिकाले पार पाउँदैन । खम्बा ठूलो बनाएर मात्रै बलियो हुँदैन भन्ने कुरा विज्ञहरूले बुझेका छन् । उनीहरूसँग बसेर छलफल गर्न महानगरलाई के आपत्ति भयो ? अपारदर्शी योजनाको बचाउमा सामाजिक सञ्जालमा लेखेर मात्रै हुँदैन, यसका सबै पक्षबारे जनतालाई बुझाउनुपर्‍यो ।

सबभन्दा पहिले सम्भाव्यता अध्ययन, योजनाको आवश्यकता र औचित्य पुष्टि गर्नुपर्‍यो । त्यसपछि डिटेल इन्जिनियरिङको कुरा आउला । राम्रो काम गर्न खोजेको भनेर मात्रै हुँदैन, भैरहवा र पोखरा विमानस्थलको अवस्था हेरेर पनि सिक्नुपर्छ ।

राष्ट्रिय गौरवको आयोजना भनिएका विमानस्थल चलाउन भारतले के–केमा अनुमति दिएन भनेर चिन्ता भइरहेको छ । त्यो टुँडिखेलमा आउन हुँदैन । अध्ययनले खुलामञ्चमा पार्किङ उपयुक्त देखाउँछ र त्यसका लागि जनता तयार छन् भने योजना अगाडि बढाउँदा भयो । त्यो अवस्थामा महानगरको योजनाको रक्षा जनताले नै गर्छन् ।

खुलामञ्च जनताको स्वामित्वको सार्वजनिक जग्गा हो । संविधान र ऐन–कानुनले यो जग्गा संरक्षण गर्ने जिम्मा सरकारलाई दिएको हो । संरक्षण भनेको मनलाग्दी उपयोग वा दुरुपयोग होइन ।

उपयोग गर्ने नाममा लगनखेलको २०० रोपनी सार्वजनिक जग्गा बाँडेर सकियो । कर्मचारी सञ्चय कोष, विद्यालय, विद्युत् प्राधिकरण, अदालत, मालपोत कार्यालय आदिले अतिक्रमण गरेर लिए । सप्तपाताल पोखरी जोगाउन जनताले मुद्दा लड्नुपर्‍यो । सरकारले धेरै सार्वजनिक जग्गा दुरुपयोग गरेको छ । यसमा सबै सचेत हुुनुपर्छ ।

काठमाडौंको टुँडिखेललाई बृहत्तर ढंगले हेर्नुपर्छ । महानगरले त्यहाँको लागि योजना रानीपोखरी जोडिने गरी ल्याउनुपर्छ । रानीपोखरीदेखि शान्तिबाटिका, शंखधर पार्क हुँदै खुलामञ्चसम्मलाई एउटै बनाउन सकिन्छ । सोच्नुस् त, त्यसपछि टुँडिखेल कस्तो होला ?

पार्किङ आवश्यकता हो, तर कति हो भनेर छलफल र अध्ययन हुनुपर्‍यो । त्यो नहुँदा खुलामञ्चमा महानगरले गर्न खोजेको कामको विरोध भइरहेको छ । यसबाट पाठ सिके महानगरले राम्रो काम गर्न सक्छ, नत्र बाटो बिराउँदै जान्छ ।

(‘हिति प्रणाली’ पुस्तकका लेखक जोशीसँग अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित)

तस्वीर : शंकर गिरी/अनलाइनखबर





Source link

HamroAwaj

2022-12-15 20:48:08

Leave a Comment