‘मृत शहरमा बदलिएको स्वीस सपना’ – HamroAwaj


जिरीटार सरकारी खर्क हो । यहाँ सरकारी गाई, भैंसीको गोठ थियो । जसलाई ‘राजाको गोठ’ भनिन्थ्यो । वर्षायाममा यो ठाउँमा गोठ बस्ने र हिउँद लागेपछि अन्यत्र लैजाने गर्दथे । राजाको गोठ लगेपछि भने गाउँलेले यहाँ पशु चराउन पाउँथे ।

अधिकांश घर काठले बनेका भुइँतले थिए, जसलाई कत्तरे घर भनिन्थ्यो । थोरै संख्यामा ढुङ्गा–माटोले बनेको घ्याङ्घर र तलेघर पनि थिए ।

२०१४ सालतिर स्वीस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमार्फत जिरीटारमा पशु विकास कार्यक्रम सुरु भयो । त्यहाँ भएको सरकारी गोठको सुधार, चरन विकासका साथै उन्नत जातका गाई–भैंसी पालन सुरु भयो । मुर्रा जातको भैंसी, ब्राउन स्वीस एवं होलेस्टेन जातका गाई ल्याइयो ।

धेरै मानिसले रोजगारीको अवसर पाए । सुरुमा त्यहाँ काम गर्ने मजदुरको ज्याला दिनको ३ मोहोर अर्थात् एक रुपैयाँ पचास पैसा थियो । अन्य ठाउँबाट पनि मानिसहरू काम खोजेर आउन थाले । केही टाठाबाठालाई कुल्लीको नाइके पनि बनाइएको थियो, जसलाई सरदार भनिन्थ्यो ।

अब जिरीको नाम चल्यो, खोलाको किनार मात्र होइन । सिङ्गो उपत्यकालाई नै जिरी भन्न थालियो । टाढाका मानिसहरूले जिरीसिक्री भनेर ठाउँ चिनाउँथे । किनकि, पूर्वपट्टिको खोला किनार जिरी र पश्चिमतर्फको खोला किनार सिक्री भनिन्थ्यो ।

२०१६ सालतिर मानेडाँडाको तल्लो भागमा हवाई मैदान बनाउन सुरु भएको थियो । जुन ठाउँमा अचेल सैनिक ब्यारेक छ । २०१८ सालतिर ‘पिलाटस पोर्टर’ भन्ने सानो खालको हवाईजहाज नै चल्न थालेको थियो । केही समयपछि एउटा जहाज अवतरण गर्दा दुर्घटना भयो । धन्न मानवीय क्षति भएन । त्यसपछि जिरीटारमा नै हवाई मैदान बनाउन सुरु भयो । २०२० सालमा त्यो सञ्चालनमा आएको थियो ।

२०१७ सालमा मानेडाँडाको बीच हाल जिरी माविको कार्यालय भएको डाँडामा साप्ताहिक शनिबार हाट लाग्न थाल्यो । मुदी मिर्गे, नाम्दु काब्रे, क्षेत्रपा आदि ठाउँबाट चामल, चिउरा आदि खाद्यान्न, मौसम अनुसारको फलफूल आउँथ्यो भने विभिन्न ठाउँका व्यापारीले लत्ताकपडा र अरू उपभोग्य वस्तुहरू ल्याउँथे ।

जिरीका मान्छे अधिकांश त ग्राहक थिए किनकि कुल्ली काम गरेरै भए पनि पैसा कमाउँथे । केही स्थानीयहरू पनि राँगा, भैंसी आदि काटेर हप्ता हप्तामै मासुको व्यापार गर्दथे । यहाँका मानिसको जीवन सहज ढङ्गले चलेको थियो ।

२०१७ सालको राजनीतिक परिवर्तनपछि पञ्चायती व्यवस्था सुरु भयो । २०१९ सालको पञ्चायती संविधान लागू भएपछि हनुमन्ते पूर्वदेखि माली डाँडासम्म जिरी सिक्री उपत्यका सबै मिलाएर जिरी गाउँ पञ्चायत नामकरण भएको थियो । पञ्चायतको आफ्नो कार्यालय नभएकाले स्कुलको अगाडि चउरमा पञ्चायतको बैठक, सभा आदि बस्थ्यो ।

२०२० सालबाट स्वीस सरकारकै सहयोगमा जिरी बहुमुखी विकास योजना नामको १० वर्षे विकास कार्यक्रम चल्यो । यो योजनाको उद्घाटन २०२० साल पुस महिनामा तत्कालीन राजा महेन्द्रबाट भएको थियो । यसका कार्यक्रमहरूमा पशु, कृषि, वन, शिक्षा, स्वास्थ्य आदि विकास आयोजना थिए ।

विभिन्न शाखाका लागि नयाँ–नयाँ भवनहरू बन्न थाले । अफिस, कर्मचारी आवास, व्यवस्थित गोठहरू, खोरहरू बने । पशुपन्छीमा गाई, बंगुर, कुखुरा आदि पालिएका थिए । अन्नबाली, फलफूल, सागसब्जी आदि नयाँ–नयाँ जातका बोटबिरुवा, बीउबिजन ल्याएर केवल परीक्षण गरिएका थिए ।

वन विकासअन्तर्गत वन कार्यालय, कर्मचारी आवास बनेको थियो । नयाँ जातका बिरुवाहरू रोप्ने काम भएको थियो ।

स्वास्थ्य क्षेत्रमा निकै राम्रो विकास भएको थियो । सामान्य नर्सिङ सेवाबाट सुरु भएरपछि अस्पताल नै बनेको थियो । सर्वसाधारणमा स्वास्थ्य सेवाको पहुँच सहज थियो । धेरै टाढा–टाढाबाट बिरामीहरू उपचारका लागि आउँथे । विशेषज्ञ स्वीस डाक्टरबाट सेवा प्रदान गरिन्थ्यो । बिरामी जाँच्ने, साधारण बिरामी राख्ने, टिबीका बिरामी राख्ने, स्टाफ क्वार्टर आदिका लागि छुट्टाछुट्टै भवन थिए ।

२०३० सालमा जिरी बहुमुखी विकास योजना समाप्त भयो । चलिरहेका योजना सम्बन्धित सरकारी मन्त्रालयको मातहतमा गएको थियो ।

यो योजनाले जिरीको नाम त चलायो, केही भौतिक पूर्वाधार बनायो, केही वर्षसम्म यहाँका मानिसलाई रोजगारी पनि दिलाएको थियो तर जनसमुदायको दिगो विकास भएन । खर्च गर्ने बानी भयो, आम्दानी भएन । योजना सकिनासाथ बेरोजगारी संख्या बढ्यो । धेरै मानिस पहिला भन्दा पनि गरिब भए ।

जिरी बहुमुखी विकास योजनाको समाप्तिपछि २०३२ सालतिर स्वीस सहयोगमा एकीकृत पहाडी विकास योजना संचालनमा आएको थियो । यसको कार्यालय सिन्धुपाल्चोकको डाँडापाखरमा थियो । यसले सिन्धुपाल्चोक र दोलखा जिल्लामा विभिन्न कार्यक्रम चलाएको थियो ।

जिरी क्षेत्रमा भने आलु विकास, वृक्षरोपण, फलफूलका बिरुवा वितरण र प्रौढ शिक्षा जस्ता कार्यक्रम मात्रै चलाएको थियो । आलु विकास कार्यक्रमअन्तर्गत नयाँ–नयाँ जातका आलुका बीउ वितरण, आलु खेती गर्ने तरिकामा सुधार, किसानलाई छोटो अवधिका तालिम आदि सञ्चालन भएका थिए । त्यहाँदेखि नै जिरीमा आलु खेती राम्रो भएको थियो ।

घडेरी किन्ने र घर बनाउने अधिकांशतः जिरी बाहिरका मानिस थिए भने २०४२ सालमा सडक पूरा भएपछि धमाधम बाहिरका व्यापारीहरू पनि आएर व्यापार गर्न थाले । २०५२ सालसम्म जिरी राम्रो व्यापारिक केन्द्र बनेको थियो

सडक बनेपछि आलुको व्यापार राम्रो चल्यो । आज आलु जिरीको नगदे बाली बनेको छ । २०३६/३७ सालपछि वृक्षरोपणमा पनि नाङ्गा पाखाहरूमा व्यापक रूपमा सल्लाका बिरुवाहरू रोप्न सुरु भयो ।

अर्कोतर्फ जिरी बहुमुखी विकास योजनाले बनाएको वन कार्यालयमा सरकारी स्तरबाट तामाकोशी वन डिभिजन कार्यालय स्थापना भएको थियो । यसले पनि २०३५/३६ तिर पशु चरिचरन गर्ने सार्वजनिक बाँझो चउरहरूमा जताततै सल्लाकै बिरुवा रोप्ने काम गरेको थियो । त्यही सल्ला हुर्केर जिरी हरियाली बनेको छ ।

२०३२ सालबाट स्वीस सरकारको सहयोगमा लामोसाँघु–जिरी सडक निर्माण कार्यको थालनी भयो र २०४२ सालमा पूरा भएको थियो । यो अवधिमा फेरि रोजगारीका अवसर खुलेको थियो । कामदारका लागि भनेर पीठो, दाल, तेल आदि पनि उपलब्ध गराएकाले खाद्यान्नमा केही राहत मिलेको थियो ।

लामोसाँघु–जिरी सडकको अन्तिम बिन्दु हालको बसपार्क थियो, जुन सरकारी जग्गा थियो भने खोला वारि र पश्चिमतिरको जग्गा व्यक्तिगत थियो । पहिला त्यो ठाउँमा कुनै घरहरू थिएनन् । कतै आवादी त कतै बाँझै थियो ।

२०२३/२४ सालतिर बाम्तीबाट आएका शिवबहादुर कार्कीले एउटा काठै काठको कटेरो बनाएर पसल, होटल चलाएका थिए, जुन ठाउँ हालको पारस होटलको ठीक पश्चिमपट्टि थियो । त्यहाँ जाँड–रक्सी खान र तास खेल्न पनि पाइन्थ्यो ।

बहुमुखी विकास योजनाका विभिन्न शाखामा काम गर्ने कतिपय कर्मचारीहरू अफिस सकिएपछि र बिदाका दिन त्यही होटलमा आउने गर्दथे । तिनीहरूले त्यो होटललाई ‘लिङ्कन होटल’ भन्ने गर्दथे । पछि गएर त्यहाँ बनेको बजारलाई नै ‘लिङ्कन बजार’ भन्न थालियो । त्यहाँ सडक आइनपुग्दै २०३६ सालतिर सडकको ३० मिटर चौडा छाडेर दायाँ–बायाँ घडेरी बिक्री हुन थाल्यो र घरहरू पनि बन्न थाले ।

घडेरी किन्ने र घर बनाउने अधिकांशतः जिरी बाहिरका मानिस थिए भने २०४२ सालमा सडक पूरा भएपछि धमाधम बाहिरका व्यापारीहरू पनि आएर व्यापार गर्न थाले । २०५२ सालसम्म जिरी राम्रो व्यापारिक केन्द्र बनेको थियो ।

२०४२ सालबाट स्वीस सरकारको सहयोगमा जिरी प्राविधिक शिक्षालयको स्थापना भएको थियो । निर्माणका कामहरू जोडतोडले चल्यो । बजारमा पनि निर्माणको काम चलेकै थियो । व्यापक रूपमा रोजगारीका अवसर खुलेका थिए । ज्यालामा पनि प्रतिस्पर्धा चलेको थियो । सडक बनेपछि सबै कुराको सहजता आयो । तसर्थ सडक नै विकासमध्येको पहिलो पूर्वाधार रहेछ ।

२०५२ सालपछि क्रमशः विभिन्न ठाउँतर्फ सडक विस्तार हुन थाल्यो । सडक पुगेको ठाउँमा व्यापार सर्न थाल्यो र जिरीको व्यापारिक क्षेत्र विस्तारै सुस्ताउन थाल्यो । तर ग्रामीण जनजीवनमा भने खासै फरक परेन । २०४५ सालतिर जिरीसम्म बिजुलीको लाइन तानिएको थियो । केहीपछि बजारमा बत्ती बल्यो । तर लामो अवधिसम्म पनि गाउँमा बिजुलीको लाइन विस्तार हुन सकेन ।

जिरीको तल टार छ । त्यहाँ पहिला घर, संरचना केही थिएनन् । त्यो सबै टारलाई राजाको गोठ भन्थे, सरकारी खर्क हो त्यो । अहिले त्यहाँ सरकारी पशु विकास फार्म छ ।

स्थानीय गाई, भैंसीलाई सुधार्ने स्वीसहरूले २०१४ सालबाट काम सुरु गरे । आधुनिक शैलीका गाई गोठ बनाए । पछि उनीहरूले नै सानो कटेज बनाएर प्राथमिक अस्पताल बनाए, पछि त्यसैलाई विकास गरेर ठूलो अस्पताल बनाए ।

अनि जिरी बहुमुखी विकास योजना बनाए । राजा महेन्द्रलाई बोलाएर योजनाको उद्घाटन गरे ।

अहिले आर्मी क्याम्प बसेको ठाउँमा सानो विमानस्थल थियो । त्यहाँ एक जहाज दुर्घटना भयो । त्यसपछि विमानस्थल तल टारमा सारियो । २०२० देखि २०३० सालसम्म उनीहरूले बहुमुखी योजना चलाए ।

टार वरिपरिका नांगा पाखामा रूख रोपे । यहाँ स्कुल बनाए, अस्पताल बनाए । २०३२ सालमा सुरु भयो लामोसाँघु–जिरी सडक र २०४२ सालमा पिच भयो । यो सडक बनेपछि जिरी यस क्षेत्रको केन्द्र बन्यो । विदेशीको आउजाउ बाक्लियो ।

सगरमाथा आरोहण गर्ने क्रम बढ्दै गएपछि मान्छेहरू सगरमाथा जान थाले । र, सगरमाथा जाने एक मात्र बाटो बन्यो जिरी । त्यसपछि नै हो जिरी सबैको नजरमा परेको । तर, अहिले अवस्था फरक छ । सगरमाथा जानलाई अरू बाटोहरू सहज भए । त्यसैले यहाँ पहिले जस्तो मान्छे आउन छाडे ।

(२०४८ देखि २०५१ सालसम्म नेकपा एमालेबाट सांसद् रहेका खड्कासँग अनलाइनखबरकर्मी गौरव पोखरेल र सागर चन्दले गरेको कुराकानीमा आधारित ।)





Source link

HamroAwaj

2022-12-16 19:49:53

Leave a Comment