गगन थापाको उम्मेदवारी : कांग्रेसमा नातिपुस्ताको हस्तक्षेप – HamroAwaj


५ पुस, काठमाडौं । संसदको सवैभन्दा ठूलो दल, नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न बुधबार हुन लागेको चुनावले राष्ट्रिय राजनीतिकै ध्यान तानेको छ । कांग्रेसभित्र हुने यो चुनावले भावी प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने हुँदा राष्ट्रिय राजनीतिको ध्यान तानिनु स्वभाविकै हो ।

तर यसपटक हुन लागेको कांग्रेस संसदीय दलको चुनाव भावी प्रधानमन्त्रीको उम्मेदवार चयनमा मात्रै सीमित नहुने भएकाले बढी चासोका साथ हेरिएको छ । ‘हारजितको कुरा अलग हो । दलको नेता चयन गर्न कांग्रेसभित्र यस्तो चुनाव हुँदै आएको छ’ कांग्रेस नेता गुरु घिमिरे भन्छन्, ‘तर यसपटक कांग्रेसभित्र फरक पुस्ताबीच प्रतिस्पर्धा हुँदैछ ।’

संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले दिएको उम्मेदवारीलाई तेस्रो पुस्ताको हस्तक्षेपका रुपमा लिन्छन्, घिमिरे । कांग्रेसको इतिहास हेर्दा पनि पार्टी सभापतिविरुद्ध इतर समूहका नेताले चुनौती दिनु नौलो विषय होइन ।

जन्मदै गुट लिएर आएको कांग्रेसभित्र संस्थापक नेता बीपी कोइराला, स्वयंले पार्टीभित्र चुनौतीको सामना गर्नुपरेको थियो । २०१७ सालमा सम्पन्न सातौं महाधिवेशनमा बीपीसँग डा.भूदेव राईले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए ।

बीपीपछिका पार्टी नेताहरू पनि इतर समूहको चुनौती सामना गरेरै सभापति, दलको नेता र प्रधानमन्त्री भए । यो पृष्ठभूमि हेर्दा सभापति देउवा पनि निर्विरोध संसदीय दलको नेता चुनिने सम्भावना न्यून थियो । गएको वर्ष मंसिरमा सम्पन्न १४औं महाधिवेशनबाट दोस्रो पटक सभापति बन्दा समेत देउवाले चुनावकै सामना गर्नुपरेको थियो ।

त्यो महाधिवेशनमा देउवासँग डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले सभापति पदमा प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणको मतदानमा ५० प्रतिशत मत कसैले कटाउन नसक्दा सिंह, निधि र गुरुङले दोस्रो चरणमा देउवालाई सघाए । देउवासँग डा.शेखरको प्रतिस्पर्धा भयो । त्यो महाधिवेशनपछि कांग्रेसभित्र रहेको बलियो गुट भनेकै देउवा र कोइरालाको हो ।

त्यसो हुँदा संसदीय दलको नेतामा डा.शेखर स्वभाविक प्रतिस्पर्धी थिए । तर मंगलबार बसेको यो समूहको भेलाले डा. शेखर नभएर महामन्त्री गगनलाई अगाडि बढाउने निर्णय गर्‍यो । त्यही निर्णय अनुसार, संसदीय दलको नेतामा देउवाविरुद्ध थापाले मंगलबार मनोनयन दर्ता गराएका छन् ।

‘यो चुनावले संख्याको नतिजा मात्रै दिने छैन, कांग्रेसभित्र नयाँ पुस्ता अगाडि बढेको सन्देश पनि दिनेछ’, नेता घिमिरे भन्छन् । नवनिर्वाचित सांसदहरुको पृष्ठभूमि हेर्दा पनि नाटकीय परिवर्तन नभए थापाले जित्न सजिलो छैन । कांग्रेस नेताहरुका अनुसार, ८९ सांसदमध्ये गगनको पक्षमा ३२ जना छन् । दलको नेता जित्न चाहिं ४५ सांसद आवश्यक पर्छ ।

‘चुनाव जित्न नसकेपनि पार्टीभित्र र राष्ट्रिय राजनीतिमै गगन थापा एक कदम अगाडि बढ्ने पक्का भइसक्यो’, कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन् । देउवा र गगनबीचको उमेर मात्रै नभएर आन्दोलनको पृष्ठभूमिले पनि यो प्रतिस्पर्धालाई अर्थपूर्ण बनाएको ती नेता तर्क गर्छन् ।

हुन पनि डा.शेखरले देउवासँग चुनाव लडेका थिए भने उमेर र आन्दोलनका हिसाबले धेरै फरक पर्ने थिएन । ७८ वर्षका देउवा भन्दा डा. शेखर पाँच वर्षले मात्रै कान्छा छन् । यसको अर्थ देउवा र शेखरले उस्तै राष्ट्रिय राजनीतिक परिवेश खेपेर हुर्किए ।

तर महामन्त्री थापा भने ०६२/०६३ सालको दोस्रो जनआन्दोलनबाट राष्ट्रिय राजनीतिमा उदाएका नेता हुन् । गगन थापा जन्मिनु भन्दा ६ वर्ष पहिले नै देउवा, रामचन्द्र पौडेल, बिमलेन्द्र निधिहरुले २०२७ सालमा नेविसंघ स्थापना गरेका थिए । नेविसंघ स्थापना गर्ने यही पुस्ताका नेताहरुलाई अहिले पनि कांग्रेसभित्र स्वभाविक नेतृत्वको दाबेदारका रुपमा हेरिने गरेको छ ।

०५१ सालको चुनावपछि दलको नेता चुनिएर पाँच पटक भइसकेका देउवाको प्रभावकै कारण उनका समकालीन नेता रामचन्द्र पौडेलले सरक्क हात उठाएका छन् । पौडेलको प्रस्ताव र पूर्णबहादुर खड्काको समर्थनमा देउवा दलको नेताका उम्मेदवार बनेका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिंहको साथ देउवालाई नै छ ।

महामन्त्री थापाले भने तिनै पुराना पुस्ताको समर्थन पाएका र आफू भन्दा ३१ वर्षले जेठो देउवाविरुद्ध उम्मेदवारी दिएका छन् । देउवा निकट केन्द्रीय सदस्य रामहरि खतिवडा भने यो चुनावलाई पार्टीभित्र रहेको स्वभाविक प्रतिस्पर्धाका रुपमा लिनुपर्ने बताउँछन् । ‘हामीले सधैं चुनाव गर्दै आएका छौं । यो चुनावले लोकतन्त्रलाई बलियो बनाउँछ, त्यो भन्दा बढी सोच्न आवश्यक छैन’, उनी भन्छन् ।

कांग्रेसभित्र भएको संसदीय दलको चुनाव र चुनिएका नेताहरू हेर्ने हो भने पनि गगन थापाको उम्मेदवारीले पुस्तान्तरणको प्रष्ट संकेत दिएको छ । अहिलेसम्म कांग्रेसको संसदीय दलमा पार्टी संस्थापकहरू र त्यसपछि दोस्रो पुस्ताका नेताहरुले मात्रै प्रतिस्पर्धा गरेका छन् । २०१५ सालको चुनावबाट बीपी कोइराला दलको नेता र प्रधानमन्त्री भएका थिए ।

२०४८ सालको चुनावबाट गिरिजाप्रसाद कोइराला दलको नेता बने । त्यो चुनावमा नेकपा एमालेका महासचिव मदन भण्डारीसँग काठमाडौं–१ का उम्मेदवार बनेका पार्टी सभापति कृष्णप्रसाद भट्टराई पराजित भएका थिए ।

०५१ सालको मध्यावधि चुनावपछि शेरबहादुर देउवा दलको नेता भए । त्यही कार्यकालमा देउवा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । पार्टी संस्थापकमध्येका कृष्णप्रसाद भट्टराईलाई उछिनेर युवा अवस्थाका देउवा दलको नेता भएपछि नै उनको राजनीतिक उदय भयो ।

०५६ सालमा कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको घोषणा गरेरै कांग्रेसले चुनावमा भाग लिएको थियो । त्यसैले भट्टराई निर्विरोध रुपमा दलको नेता चुनिए । तर १० महिना प्रधानमन्त्री चलाएपछि पार्टीभित्रको अन्तर्संघर्षकै कारण भट्टराईले राजीनामा दिए । दलको नेतामा गिरिजा र शेरबहादुरबीच प्रतिस्पर्धा भयो । गिरिजा दलको नेता चुनिए ।

माओवादीको सशस्त्र विद्रोहका क्रममा भएको होलेरी घटनापछि गिरिजाले पनि राजीनामा दिए । फेरि दलको नेता र प्रधानमन्त्री देउवा भए । देउवा प्रधानमन्त्री भएकै बेला कांग्रेस विभाजन भयो ।

०६४ सालमा पहिलो संविधानसभा चुनावमा कांग्रेस जुटिसकेको थियो । देउवा, रामचन्द्र पौडेल र सुप्रभा घिमिरेबीच दलको नेतामा प्रतिस्पर्धा भयो । पौडेलले दलको नेता जिते । ०७० को चुनावमा फेरि देउवा र सुशील कोइरालाबीच प्रतिस्पर्धा भयो । सुशीलले दलको नेता जित्दै प्रधानमन्त्री भए ।

०७४ को चुनावपछि देउवासँग प्रकाशमान सिंहले दलको नेतामा प्रतिस्पर्धा गरे । देउवा दलको नेता चुनिए, गएको वर्ष २९ असारमा पाँचौपटक प्रधानमन्त्री भए । अर्थात् ०१५ सालसहित आठ पटक भएको संसदीय चुनावपछि कांग्रेसका संस्थापक र दोस्रो पुस्ताका नेताहरुबीच दलको नेतामा प्रतिस्र्धा भएको छ, नेता चुनिएका छन् । तर यसपटक पञ्चायतकालको संघर्षमै सहभागी कयौं नेतालाई पन्छाउँदै कांग्रेसभित्र नाति पुस्ता भनिने गगन थापा प्रधानमन्त्रीको उम्मेदवार बन्ने दौडमा होमिएका छन् ।

नरोकिएका गगन

दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भने महामन्त्री थापाले चुनाव अगाडि नै गरेका थिए । काठमाडौं–४ बाट तेस्रोपटक जितेका ४६ वर्षीय गगनले आफूलाई भावी प्रधानमन्त्री भनेरै मत मागेका थिए । नभन्दै, डा. शेखरलाई १५औं महाधिवेशनमा पार्टी सभापति बन्न सघाउने वचन दिएर गगन संसदीय दलको चुनावमा संस्थापन इतर समूहको उम्मेदवार बनेका छन् ।

थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेलले समेत समर्थन जनाएका छन् । १४औं महाधिवेशनमा भने शर्मा र पौडेल अलग समूहबाट उम्मेदवार थिए । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट नेता पौडेलले देउवाको प्यानलबाट महामन्त्री लडेका थिए भने प्रकाशमान सिंहको प्यानलबाट शर्मा महामन्त्री पदको उम्मेदवार थिए । शर्माले जित्दा पौडेल पराजित भएका थिए ।

‘विश्वप्रकाश र प्रदीपको समेत साथ गगनले पाउनु भनेको यसपटक संसदीय दलको चुनावमा कांग्रेसभित्र पुस्तान्तरणको प्रतिस्पर्धा हुनु हो’, कांग्रेसका अर्का केन्द्रीय सदस्य भन्छन् । यसअघि पनि पुराना पुस्ताका प्रभावशाली नेताहरुसँग प्रतिस्पर्धा गरेरै गगनले पार्टीभित्र आफूलाई स्थापित गर्दै आएका छन् ।

दोस्रो जनआन्दोलनका क्रममा राजतन्त्रविरुद्ध चर्को आवाज उठाएका गगन ३१ वर्षकै उमेरमा संविधानसभाका सभासद् भएका थिए । गणतन्त्रको प्रतीक बनेर राष्ट्रिय राजनीतिमा परिचय बनाएका गगनलाई ०६४ सालको पहिलो संविधानसभामा कांग्रेसले समानुपातिक सांसद बनाएको थियो । यसको तीन वर्षभित्रै सर्वाधिक मत ल्याएर गगनले पार्टी केन्द्रीय सदस्य जिते ।

२०७२ को १३ औं महाधिवेशनमा महामन्त्री पदमा चुनाव लडे । बीपी पुत्र शशांक कोइरालाले महामन्त्री जित्दा जित्दा गगनले सम्मानजनक मत ल्याए । त्यो महाधिवेशनमा पार्टीभित्र कृष्णप्रसाद सिटौलाले बनाएको तेस्रो खेमाबाट गगन उम्मेदवार थिए । १४औं महाधिवेशनमा भने कोइराला समूहको आधिकारिक उम्मेदवार बनेर महामन्त्री जिते ।

०७० देखि लगातार काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्य जित्दै आएका गगन थापा २०७३ सालमै स्वास्थ्य तथा जनसंख्यामन्त्री भए । स्वास्थ्यमन्त्री बनेको सात वर्षपछि गगन प्रधानमन्त्री बन्ने उद्घोषसहित संसदीय दलको उम्मेदवार बनेका छन् ।

‘कांग्रेसको एकल बहुमत नभएकाले प्रधानमन्त्रीबारे अहिले नै केही भन्न सकिन्न । संसदीय दलको चुनावको नतिजा पनि आउनै बाँकी छ । तर गगन थापा उम्मेदवार बनेर पुस्तान्तरणको सन्देश गइसक्यो’, कांग्रेसका ती नेता भन्छन् । यसपटकको चुनावको जनादेशले पनि युवा नेतृत्वको खोजी भएकाले गगन थापाले जित्नुपर्ने उनको तर्क छ ।

‘४७ वर्षका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट जित्नुको मुख्य सन्देश भनेकै मतदाताले पुस्तान्तरण र नयाँ खोज्नु हो’, उनी भन्छन् । कांग्रेस बाहेकका प्रमुख दलमा प्रधानमन्त्री भइसकेका नेता नै संसदीय दलको नेता चुनिएकाले पनि गगनको उम्मेदवारी अर्थपूर्ण देखिन्छ ।

मंगलबार मात्रै एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चुनिएका छन् । तीन पटक प्रधानमन्त्री भइसकेका ७० वर्षे ओलीलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्बाङले समर्थन गरेका थिए ।

ओलीकै उमेरका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेता चुनिएका छन् । सोमबार बसेको संसदीय दलको बैठकबाट पार्टी अध्यक्ष नेपाल दलको नेतामा निर्विरोध भएका थिए ।

साढे तीन दशकदेखि पार्टी नेतृत्वमा रहेका पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि माओवादी केन्द्रको संसदीय दलका नेतामा निर्विरोध चुनिदैछन् । प्रचण्डलाई माओवादी केन्द्रले चुनाव अगाडि नै भावी प्रधानमन्त्री भनेर प्रचार गरेको थियो ।

‘हामीले गगन थापालाई अगाडि बढाएर राष्ट्रिय राजनीतिमै सन्देश दिएका छौं । त्यसैले यसपटक कांग्रेस संसदीय दलको चुनाव अर्थपूर्ण छ’, कांग्रेस नेता गुरु घिमिरे भन्छन् ।



Source link

HamroAwaj

2022-12-20 22:00:53

Leave a Comment