जवानीमै हुन सक्छ हृदयघात ! – HamroAwaj


६ पुस, काठमाडौं । पाँच महिनाअघि शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको इमर्जेन्सीमा २० बर्षका युवक आइपुगे । हृदयघात (हार्ट अट्याक) भएका ती बिरामीको अस्पताल निर्देशक डा. चन्द्रमणि अधिकारीको टिमले सफल शल्यक्रिया गर्‍यो ।

‘मुटु सर्जन भएर काम गरेदेखि मैले हजारौं हृदयघातका बिरामीको उपचार गरेँ । तर, त्यो सबैभन्दा कम उमेरको हृदयघातको शल्यक्रिया थियो’, डा. अधिकारी सुनाउँछन् ।

गत बुधबार (पुस ६) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ बर्षीय आवासीय चिकित्सक डा. किरण श्रेष्ठ मृत अवस्थामा भेटिए । अस्पतालका निर्देशक डा.भरत खत्रीका अनुसार डा. श्रेष्ठको हृदयघातकै कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । बुधबार बिहान ड्यिुटीमा रहेका डा. श्रेष्ठ असजिलो महसुस भएको भन्दै कोठामा फर्किएका थिए । उनले ग्यास्ट्रिकको औषधि खाएको पाइएको डा. खत्री बताउँछन् ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा हृदयघात (हार्ट अट्याक) का बिरामी दिनहुँजसो १०/१२ जना आइपुग्छन् । त्यसमध्ये १५ प्रतिशत ४५ बर्षमुनिका छन् । एक दशकअघिसम्म हृदयघात ४५ बर्षभन्दा माथि मानिसलाई मात्रै हुने रोगको रूपमा परिचित थियो । तर, पछिल्ला बर्षमा युवा अवस्थामा हृदयघात हुनेको संख्या डरलाग्दो गरी बढेको छ ।

‘अब बुढापाकाको मात्र रोग रहेन । नेपालमा २० बर्षको उमेरका युवालाई हृदयघात हुनु सामान्य होइन । यस्ता उमेर समूहको संख्या ह्वातै बढिरहेको छ’, मुटुरोग विशेषज्ञ डा. दिपंकर प्रजापति भन्छन् ।

मुटुरोग विशेषज्ञ डा. हरिहर खनालकोमा २१, २९, ३२ बर्षका युवा हृदयघात भएर फ्लोअपमा आइरहेका छन् । ‘अस्वस्थकर खानपान, आधुनिक जीवनशैली, मानसिक तनाव, सुर्तीजन्य एवं अत्यधिक मदिरा सेवन, मोटोपना जस्ता कारकतत्वले हृदयरोगीको संख्या बढाइरहेको छ’, डा. खनाल भन्छन्, ‘झन् युवापुस्तामा धुमपानको लतले त कलिलै उमेरमा रोगी बनाउन थालिसकेको छ ।’

नेपालमा पछिल्ला वर्षमा हृदयघातको जोखिम बढिरहेको शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका बिरामीमाथि गरिएको एक अध्ययनले देखाएको छ ।

१ जुलाई २०१५ देखि ३० जुन २०१६ बीचमा गंगालाल हृदयरोग केन्द्रमा उपचार गराएका १ हजार २११ जना बिरामीको हि«स्टी अध्ययन गरिएको थियो ।

डा.चन्द्रमणि अधिकारी, रिजु मानन्धर, मोनिका र डा. सुधीर रेग्मी लगायत चिकित्सकको टोलीले गरेको उक्त अध्ययनमा हृदयघात भएर अस्पताल १ हजार २११ जनामा गरिएको अध्ययनमा १३२ जना अर्थात (११ प्रतिशत) ४५ वर्षमुनिका थिए । जसमध्ये ११० जना पुरुष र २२ जना महिला थिए ।

डा. अधिकारी तथा डा. किरणप्रसाद आचार्य, डा. अमृत बोगटी र डा. रोसन राउत लगायतको टोलीले नेप्लिज हार्ट जर्नलमा सन् २०१८ मा प्रकाशन गरेको एक अध्ययनमा १ हजार ४६० जना हृदयघात भएर गंगालाल अस्पताल पुगेकाहरु समावेश थिए ।

जसमा झण्डै १२ प्रतिशत अर्थात १७५ जना बिरामी ४५ वर्षमुनिका थिए । अधिंकाश बिरामी (८३.२ प्रतिशत) अस्पतालबाट रेफर गरिएका र १६.८ प्रतिशत गंगालालको इमर्जेन्सीमा आइपुगेका थिए ।

त्यस्तै सन् २०२१ मा गंगालालमा भर्ना भएका ३४० जनामध्ये ११.२ प्रतिशत ४५ बर्षमुनिका छन् ।

मुटुरोग विशेषज्ञ डा. विराट तिमिल्सिना पनि अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले मुटुको नली चाँडै बन्द भएर हृदयघात हुने गरेको बताउँछन् ।

‘धुमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयघातले आक्रमण गर्छ । यस्तै, कोलेस्टेरोल (मुटुमा हुने बोसो), शारीरिक अभ्यासको कमी, तनाव, बाहिरी प्रदुषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ,’ उनी भन्छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ हृदयघातको कारण परिवर्तन गर्न सकिने र नसकिने गरी दुई थरि हुन्छ ।

‘उमेर, वशांणुगत जस्ता कुरालाई परिवर्तन गर्न सकिँदैन । धुमपान, अस्वस्थकर खानपान, मोटोपना लगायतका कुरा परिवर्तन गर्न सकिन्छ,’ डा. श्रेष्ठ भन्छन्, ‘तर, पछिल्लो समय धुमपान गर्ने धेरै युवालाई हृदयघात भएको पाइन्छ ।’

‘हृदयाघात भएर अस्पताल पुगेका युवाहरु अन्य जोखिम नभए धुमपान सेवन गरेको पाइन्छ । ४० वर्षभन्दा कम उमेरका जति पनि युवा हृदयघात भएर अस्पताल आएका छन्, उनीहरु अधिंकाशले चुरोट खाने गरेका छन्’, डा. श्रेष्ठ थप्छन्, ‘पछिल्लो वर्ष ४० वर्षभन्दा कम उमेरका झण्डै सयभन्दा बढी युवा हृदयघात भएका वा अन्य मुटुका समस्या भएकालाई एन्जियोग्राम गरेका छौं ।’

सन् २०११ देखि २०१५ सम्ममा हृदयघात भएर गंगालालमा आउने बिरामीको संख्या ४० प्रतिशतले बढेको डा. अधिकारी बताउँछन् ।

मुख्य कारण सुर्तीजन्य पदार्थ

बरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिल भन्छन्, ‘युवाहरूमा हृदयघात देखिनुको प्रमुख कारण धुमपान, मदिरा सेवन, मोटोपन, मानसिक तनाव र मधुमेह हो ।’
उनका अनुसार सानै उमेरदेखि धुमपान गरेमा खतरा झन् बढी हुन्छ । मधुमेह, रक्तचाप र उच्च कोलेस्ट्रोल भएका व्यक्तिले चुरोट/बिडी सेवन गरेमा हृदयघातको जोखिम अत्यन्तै धेरै हुन्छ ।

हृदयघात भएर अस्पताल आउने बिरामीको संख्या पछिल्लो १० वर्षमा पाँच गुणाले बढेको डा. अनिल बताउँछन् । ‘चुरोट र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोग हृदयघातको मुख्य कारणका रूपमा विकास हुँदै गएको छ । तर, त्यसका साथ–साथै जनचेतना, स्वास्थ्य परीक्षणले पनि हृदयघातको परिचान भएको छ,’ उनी भन्छन् ।

चुरोटमा हुने निकोटिनले नशाहरूको भित्री भागमा घाउ बनाइदिन्छ । जसले मुटुको नशामा बोसो र रगतको ढिक्का जम्न मद्दत पुर्‍याउँछ । त्यसरी रगतको ढिक्का जम्दै जाँदा नशा साँघुरिँदै जान्छन् र मुटुमा रगत सञ्चार गराउने नशा बन्द हुँदा हृदयघात हुन्छ ।

युवामा मानसिक तनाव पनि हृदयाघातको अर्को कारण हो । ‘शारीरिक श्रम गर्ने बानी घटेको छ । परिवार, कार्यालय अर्थ व्यवस्थासँग सम्बन्धित तनावले पनि हृदयघात निम्त्याउन सक्छ । अहिलेका युवामा अत्यधिक तनावले पनि हृदयघात बढिरहेको छ,’ डा. अनिल थप्छन् ।

नेप्लिज हार्ट जर्नलमा सन् २०१८ मा प्रकाशित एक अध्ययनमा हृदयघात भएकामध्ये मधुमेह मेलिटस भएका २५.३ प्रतिशत, उच्च रक्तचाप भएकाहरू ३६.६ र धुमपान गर्ने ५४ प्रतिशत थिए ।

४५ बर्षभन्दा कम उमेरमा हृदयघात हुनेमध्ये चुरोट र खैनी खानेहरू ६१ प्रतिशत थिए । जसमध्ये पनि २० प्रतिशत मानिसमा हृदयघातको कारक धुमपान मात्रै छ । अर्थात १७५ जनामध्ये ३५ जनामा हृदयघात हुनुको कारण धुमपान मात्र थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नसर्ने रोग सम्बन्धी सन् २०१९ मा गरेको एक अनुसन्धान अनुसार, नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहमा सुर्तीजन्य पदार्थको सेवनको दर २८.९५ प्रतिशत छ ।

गंगालाल हृदयरोग केन्द्रले सन् २०१८ कै अध्ययनमा ५० वर्षभन्दा कम उमेरका मानिसले चुरोट सेवन गर्दा हृदयघात हुने सम्भावना चुरोट नखाने मानिसको तुलनामा आठ गुणाले बढी देखाएको छ । त्यसैगरी, ५० देखि ६५ वर्षसम्ममा पाँच र ६५ वर्षभन्दा माथि तीन गुणाले बढ्छ ।

चुरोट सेवन गर्नेलाई नगर्नेको तुलनामा हृदयघात हुने सम्भावना तीन गुणाले बढी हुन्छ । सोही अध्ययनले १८ देखि ३९ बर्षसम्मका चुरोट खाने महिला र पुरुषलाई हेर्दा चुरोट सेवन गर्ने मानिसलाई हृदयघातको सम्भावना १३ गुणा बढी हुन्छ । यसमा पनि परिवार नियोजनको चक्की र चुरोट खाने मानिसलाई हृदयघात हुने सम्भावना एकदमै बढी हुन्छ ।

‘त्यसकारण पनि युवा अवस्थामा (स्कुल जाने) उमेर समूहका मानिसलाई चुरोट र खैनी खाने बानीलाई रोकेमा धेरै हदसम्म हृदयघात जोखिमलाई कम गर्न सकिन्छ’, डा. अधिकारी भन्छन् ।

‘८८ प्रतिशत बिरामीलाई हृदयघात लक्षण थाहा छैन’

चिकित्सकका अनुसार मुटु मांसपेशीको डल्लो हो । यसले रगतको पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ । मुटुका मांसपेशीको बाहिरी भागमा रहेका तीन वटा कोरोनरी रक्तनलीमा प्रवाहित हुने रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ ।

तर, यी रक्तनलीभित्र विभिन्न कारणबाट बोसो जमेर (कोलेस्टेरोल) साँघुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन ।

यदि रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ । मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिदै गएमा मांसपेशी मर्दछ र काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भनिन्छ ।

मुटुरोग विशेषज्ञ डा. विराट तिमिल्सिना हृदयघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउन सके बचाउन सकिने बताउँछन् । केन्द्रले हृदयघात भएका बिरामीलाई १२ घण्टा नै एन्जिओप्लाष्टी गरेर बचाउने गरेको उनी बताउँछन् । हृदयघातपछि अस्पताल पुग्ने ९० प्रतिशत बिरामी सामान्यतया बाँच्ने गरेको चिकित्सकको भनाइ छ ।

सन् २०१८ मा गंगालाल हृदयरोग केन्द्रमा गरिएको अध्ययनले हृदयघात भएर आएका ४० प्रतिशत बिरामी मात्र १२ घण्टाभित्र अस्पताल पुगेका छन् । सन् २०१५ मा ४५ बर्षमुनिका अस्पतालमा उपचार पश्चात ३ प्रतिशतको मृत्यु भएको थियो ।

त्यसैगरी, समग्रमा मृत्युदर ६.८ प्रतिशत थियो । सन् २०१८ मा गरिएको अध्ययनमा अस्पतालमा उपचार पश्चातको मृत्युदर ६.२ प्रतिशत छ ।

धेरै बिरामीलाई समयमै अस्पताल पुर्‍याउन नपाउँदै बीच बाटोमै मृत्यु हुने गरेको छ । मृत्यु घटाउनका लागि केन्द्रले बागमती प्रदेशमा रहेका १३ वटा जिल्ला अस्पताल समवन्यमा काम गरिरहेको मुटुरोग विशेषज्ञ डा. अमृत बोगटी बताउँछन् ।

हृदयघातको लक्षण सुरु भएको १२ घण्टाभित्र अस्पताल पुगेको खण्डमा हृदयघात हुँदा बन्द भएको नशालाई औषधि या प्राइमरी एन्जियोप्लास्टीको मद्दतले खोल्ने गरिन्छ ।

‘सबै बिरामी तत्काल नै सुविधा–सम्पन अस्पताल पुग्न सक्दैन । एन्नियोप्लास्टी सेवा नभएको ठाउँको केही समयको लागि रगत पातलो गर्न औषधि दिएर रिफर गर्न सुझाव दिन्छौं’, उनी भन्छन् ।

हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा उत्पन्न हुन्छ । छातीको मध्यभागमा देब्रेतिर कुनै गह्रौं चीजले थिचेर असह्य पीडा भएको जस्तो महसुस हुने गर्छ ।

यसका साथै पेटको माथिल्लो भाग, पिठ्यूँ र देब्रे काँधमा सहनै नसक्ने गरी पीडा हुने गर्छ । हृदयाघात भएका व्यक्तिलाई एक्कासी श्वासप्रस्वासमा समस्या आउने, पसिना आउने र वाकवाकी आउने हुन थाल्दछ । यसैगरी, दम बढ्नु, खुट्टा सुन्निनु, मुटु बेतालले धड्कनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, साथमा ज्वरो पनि आउनु, जिब्रो, औंलाका टुप्पा नीलो हुनु पनि हृदयाघातका लक्षण हुन् ।

हृदयघात भएका व्यक्तिले समयमै उपचार नपाए रोगीको तत्काल मृत्यु हुन सक्छ । हृदयघात हुँदा छातीमा बेस्सरी दुखाइ महसुस हुने डा. अधिकारी बताउँछन् । छातीमा ढुंगाले थिचेजस्तो, डोरीले कसेजस्तो, निचोरेजस्तोे अनुभव बिरामीले गर्छ । यो दुखाइ बाँया कुम, पाखुरा, घाँटी, चिउँडोलगायत अंगतर्फ सर्न सक्छ । यस्ता लक्षण देखिए तुरुन्तै अस्पताल जानुपर्छ’, डा. अधिकारी सुझाव दिन्छन् ।

डा. अनिलका अनुसार मुटु स्वस्थ राख्न धेरै समय खर्चिनु पर्दैन । नियमित शारीरिक गतिविधि गर्ने, नुन चिनी र चिल्लोको सेवन सकेसम्म कम गर्ने, मोटोपना भएमा तौल घटाउने र तथा धुमपान र अत्याधिक मदिरा सेवन नगरेमा, मधुमेह, उच्च कोलस्ट्रोल तथा उच्च रक्तचापलाई नियन्त्रणमा राखेमा मुटु स्वस्थ राख्न सकिन्छ ।

मृत्युको मुखमा पुर्‍याउने हृदयघात हुनासाथ तत्काल अस्पताल लगेर उपचार गराए आयु लम्ब्याउन सकिने वरिष्ठ मुटुरोग विशेषज्ञ एवं सर्जन बताउँछन् ।

तीनपटक हृदयघात भइसकेका व्यक्ति पनि समयमै उपचार गर्दा बाँचिरहन्छन् । तर, पटक–पटक हृदयघात हुँदा भने मृत्युदर सम्भावना चाहिँ दोब्बरले बढ्छ ।

हृदयघात लक्षण थाहा नहुँदा पनि ढिलो गरी अस्पताल आइपुगेको चिकित्सक बताउँछन् । गंगालाल अस्पतालका चिकित्सकले गरेको अर्को अध्ययनमा २४ प्रतिशत मात्रै मुटुमा समस्या भएको हुनसक्ने अनुमान लगाएका थिए । तर, ८८ प्रतिशत बिरामीले ग्यास्ट्रिक लगायत अन्य कारणले भएको आशंका गरेका थिए ।

‘छाती दुख्दा धेरै मानिसमा ग्यास्ट्रिक भएको आशंका गरेको पाइन्छ । हृदयघातको लक्षण थाहा नहुँदा पनि धेरै मानिसले अकालमा ज्यान गुमाएका छन्’, डा. दिपंकर प्रजापति भन्छन् ।





Source link

HamroAwaj

2022-12-21 20:33:44

Leave a Comment