सन्यासको तयारीमा इम, सुखद बिदाइको प्रतीक्षा – HamroAwaj


७ पुस, काठमाडौं । १६ वर्ष सानो समय होइन । जीवनको सबैभन्दा उर्जाशील समयभलिबल राष्ट्रिय टिममा बिताएर नेतृत्वसम्मको अवसर पाएका इमबहादुर मगर अब विश्रामको संघारमा पुगेका छन् । सुख/दुखले भरिएको संघर्षपूर्ण करिअरबाट अलग्गिनुअघि भलिबल संघबाट सुखद बिदाइको प्रतीक्षामा छन् ।

विभागीय टोली नेपाल पुलिसबाट व्यावसायिक भलिबल खेलिरहेका इम हाल राष्ट्रिय टिमका कप्तान हुन् । उनले कप्तानी थालेको करिब७ वर्ष भयो । त्यसअघि झण्डै एक दशक प्रमुख खेलाडीका रुपमा रहे । नेपाल भलिबल संघले तथ्यांक संकलन गर्ने प्रणाली सुरुवात गरेको भए सायद उनी नेपालबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी बन्ने थिए । १४ वर्ष नेपालको कप्तानी गरेका भरत शाहभन्दा पनि बढी ।

इमको भलिबल करिअरलाई दुई भागमा उल्लेख गर्न सकिन्छ । २०६२ मा पहिलोपल्ट राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहँदा उनी उदीयमान स्पाइकर थिए । २०६८ सालमा एउटा स्थानीय प्रतियोगिताका क्रममा हातमा चोट लागेपछि पोजिसन परिवर्तन गरे । राष्ट्रिय टिमको एक भरपर्दो सेटर बन्न इमलाई धेरै समय लागेन । ‘अपजसे पोजिसन हुँदा हुँदै पनि मैले धेरै वर्ष सेटरमै आनन्द लिएँ, टिमलाई एकजुट पार्ने प्रयास गरेँ,’ करिअरको उत्तरार्द्धमा रहेका इमले अनलाइनखबरसँग भने ।

कास्कीको ग्रामीण क्षेत्र रुपाकोटबाट परिवार छाडेर पोखरा र त्यहाँबाट काठमाडौं आएर ३८ वषर्ीय इमले गरेको संघर्षकै नतिजाबाट यो पहिचान बनेको हो । मोजाभित्र कागज राखेर बनाइएको बलमार्फत इमले ५० को दशकमा भलिबल सिकेका हुन् ।

‘२०५६ सालमा वीरेन्द्रशिल्ड खेल्न पोखरा झरेपछि वास्तविक भलिबलबारे थाहा पाएको हुँ,’ सुरुवाती करिअरबारे इम स्मरण गर्छन्, ‘उचाइका कारणले सानै उमेरदेखि मेरो चासो भलिबलमै बढी भयो । सिनियरहरुसँग खेल्न थालेपछि स्तर पनि राम्रो हुँदै गयो ।’ जिल्लास्तरीय वीरेन्द्रशिल्डमा उनको चन्द्रप्रभा मावि टिम सेमिफाइनलमा पराजित रहृयो ।

२०५९ सालमा पढाइ छाडेर पोखरा जाने निर्णय गर्दा इमले भलिबलबाहेक केहि सोचेका थिएनन् । पढाइलाई निरन्तरता दिनुपर्ने थियो भन्ने चाहीँ उनलाई अहिले लागेको छ । तीन वर्षसम्म पोखराको दृष्टि युथ क्लबमा खेल्दा किशोर उमेरका इम स्थानीय रुपमा चर्चित बनिसकेका थिए । पोखराको टिमबाट काठमाडौंको ढोरपाटन कप भलिबल पनि खेले ।

‘ढोरपाटन कप खेलेपछि सायद मलाई भलिबलका धेरैले चिने । विभागीय टिमहरुले अफर गरे,’ बुद्धि -गुरुङ) दाइ-पूर्व फिफा रेप|mी)को सल्लाहमा पुलिसमा भर्ना भएको हुँ,’ इम भन्छन् । एन्फाको रेप|mी कमिसनका अध्यक्ष गुरुङ र इमको गाउँ एकै हो ।

सुरुमै राजनीतिक कोपभाजनको शिकार

कम्तिमा सिनियर राष्ट्रिय टिमले वर्षभरि नै स्तरीय प्रशिक्षण पाउनुपर्ने, सेवा सुविधा पाउर्ने व्यवस्था हुनुपर्ने इमको माग छ । उनी भन्छन्, ‘पूर्वाधार छैन, राष्ट्रिय खेलाडीको संरक्षण छैन, प्रतियोगिता व्यवस्थापन छैन । त्यसैले हामीले पनि राष्ट्रिय खेलको खेलाडी भएको महशुस गर्न पाएका छैनौं ।’

सन् २००६ को दशौं दक्षिण एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा परेका इम अन्तिम छनोटको समयमा अकारण टिमबाट फालिए । टिमभित्रका सबैभन्दा उत्कृष्ट प्रदर्शन गरिरहेको अवस्थामा विनाकारण फालिएकोमा उनलाई अहिले पनि नरमाइलो लाग्छ ।

राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका तीन ओपन स्पाइकरमध्ये दुई जना राख्नुपर्ने भयो । करिअरको उत्तरार्द्धतिर रहेका केशव पाण्डेलाई इमले प्रशिक्षणका दौरान उछिनिसकेका थिए । अर्का स्पाइकर थिए कप्तान भरत शाह ।

भरत टिममा हुने निश्चित भइहाल्यो ।केशव र इममध्ये एकजना फालिनुपर्ने स्थिति आयो । त्यतिबेला राष्ट्रिय टिमको प्रशिक्षणमा त्रिभुवन आर्मीका पाँच -केशवसहित) र नेपाल पुलिसका सात (इमसहित) खेलाडी थिए ।

‘आर्मीले केशव दाइलाई टिममा नराख्दा बाँकी चार जनालाई पनि रिलिज नगर्ने धम्की दिएछ, भलिबल संघका पदाधिकारीले राम्रो रिपोर्ट भएको मलाई फालेर उहाँलाई राखिदिए,’ इम अहिलेसम्म दुःख मान्छन्, ‘त्यतिबेला मेरा लागि मेरो विभागले पनि अडान लिइदिएन । जबकि टिमका कप्तान हाम्रै थिए ।’

राम्रोलाई भन्दा हाम्रोलाई काख च्यापिएपछि इमसँगै निकालिएका विष्णु पन्त निराश हुँदै विदेश पलायन भए । भर्खरै पुलिसको जागिर सुरु गरेका इमले प्रशिक्षणलाई निरन्तरता दिए । ‘त्यतिबेला चिफ कोच शान्ति गुरुङ हुनुहुन्थ्यो । उहाँ पनि म राष्ट्रिय टिमबाट खेलेको हेर्न चाहनुहुन्थ्यो तर, केहि गर्न सक्नुभएन,’ मुख्य प्रशिक्षकले सम्झाएपछि खेललाई निरन्तरता दिन हौसला मिलेको इम बताउँछन् ।

त्यतिबेला राष्ट्रिय टिमका प्रशिक्षक नियुक्तिको चर्को राजनीतिक कोपभाजनमा इम पनि शिकार भए । तर, अन्जानमा । खेलाडीको हस्ताक्षर दुरुपयोग गरी टिमको प्रशिक्षकबाट कपिलकिशोर श्रेष्ठलाई हटाएर हुकुमराज गिरीलाई नियुक्त गरिएको इमले बताए ।

‘हस्ताक्षर मैले पनि गरेको हो तर, त्यो प्रयोजनका लागि थिएन,’ इम प्रतिप्रश्न गर्छन्, ‘२०६२ भदौमा पुलिसमा भर्ना भएकै समयमा कपिल गुरु पुलिस टिमको प्रशिक्षक हुनुभएको हो । उहाँकै छत्रछायामा हुर्किएको मैले कसरी विरुद्धमा हस्ताक्षर गर्न सक्छु ?’

इमको अनुभवमा भलिबल संघको नेतृत्व फेरिएपछि टिममाथिको राजनीति कम भएको छ । आफैं कप्तान भएपछि पनि विधिअनुसार टिमलाई अगाडि बढाउन धेरै ठाउँमा अडान लिएको उनी बताउँछन् । ‘अहिले समर्थक पनि जागरुक भएका छन् । राम्रो खेल्ने खेलाडीले अवसर नपाएमा उनीहरुले प्रश्न गरिहाल्छन्,’ इमले भने ।

सेटरः हेपिएको पोजिसन तर, टिमको मुटु

फुटबलमा सबैलाई गोल हान्न मन लाग्छ अर्थात् स्ट्राइकर नै हुनुपर्छ । डिफेण्डर/गोककिपर कमको रोजाइमा पर्छ । भलिबलमा पनि सबैको लक्ष्य शट हान्नमै हुन्छ । सेटर, लिबेरो हुन चाहनेको संख्या थोरै हुन्छ । राष्ट्रिय टिममा इमले सन्यास लिन ढिला हुनुको कारण पनि यही हो ।

यति लामो कालखण्डका बीच इमले आफूलाई खरता हुनसक्ने खेलाडी कोही देखेनन् । भन्छन्, ‘मलाई थाहा छ, अब मैले मेरो करिअर अन्त्य गर्नुपर्छ । आफ्नो पोेजिसनमा आफूभन्दा राम्रो खेलाडी आए मलाई पनि गर्व हुन्छ ।’

इमको परिभाषामा ६ जनाको भलिबल टिममा सेटर मुख्य भूमिका हो । टिमको सबै रोटेसन सेटरकै तजविजमा हुन्छ । स्पाइकरको स्वभाव र क्षमतामात्र होइन उसको शारीरिक अवस्था हेरेर बल उपलब्ध गराउने, विपक्षीलाई ब्लक गर्न कठिन बनाउने र आफ्ना टिममेटलाई आवश्यकताअनुसार प्रयोग गर्ने जिम्मा सेटरको हो । समग्रमा भन्दा खेललाई कुन दिशा दिने त्यो सेटरको मात्र हातमा हुन्छ ।

टिमको प्रदर्शन खराव हुँदा आउने अपजसको भागीदार पनि त्यही सेटर हुन्छ । ‘नेपाल अहिले पनि धेरै युवाहरु सेटर बन्न चाहँदैनन् । किनभने एक त यो पोजिसनमा स्पाइकरजस्तो शान हुँदैन, अर्को भनेको यो एकदमै अपजसे पोजिसन हो,’ उनी भन्छन्, ‘त्यो सोच परिवर्तन गर्न चुनौति छ ।’

‘राष्ट्रिय खेल हो भनेर अनुभव गर्न पाएनौं’

सरकारले २०७४ जेठ ८ गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको हो । त्यतिबेला इम नै पुरुष राष्ट्रिय टिमका कप्तान थिए । ‘भलिबल राष्ट्रिय खेल हुनु र नहुनुको अनुभव खेलाडीले पाएका छैनन्,’ इम भन्छन् ।

राष्ट्रिय खेलमात्र होइन भलिबल नेपालको लोकप्रिय खेलमध्ये अग्रणी खेल हो । तर, विडम्बना अहिलेसम्म यो खेलको आफ्नै पूर्वाधार छैन । हालै पोखरामा सम्पन्न राष्ट्रिय खेलकुदमा भलिबललाई बाहिर खुल्ला स्थानमा म्याट विछ्याएर खेलाइयो । जबकि भलिबल इण्डोर खेलविधा हो ।

कम्तिमा सिनियर राष्ट्रिय टिमले वर्षभरि नै स्तरीय प्रशिक्षण पाउनुपर्ने, सेवा सुविधा पाउर्ने व्यवस्था हुनुपर्ने इमको माग छ । ‘पूर्वाधार छैन, राष्ट्रिय खेलाडीको संरक्षण छैन, प्रतियोगिता व्यवस्थापन छैन । त्यसैले हामीले पनि राष्ट्रिय खेलको खेलाडी भएको महशुस गर्न पाएका छैनौं,’ उनले प्रष्ट्याए ।

इमले देशभर भलिबलको लोकप्रियता बढ्दो क्रममा रहेको तथ्यलाई स्वीकार गरी संघलाई प्रतियोगिताको वर्गीकरण गर्न सुझाव दिए ।

‘अहिले देशभर नै भलिबल प्रतियोगिता बढेका छन् । तर, ती प्रतियोगिता भलिबल विकासका लागि भन्दा पनि व्यापारमा केन्दि्रत छन्,’ इम भन्छन्, ‘परुष र महिला राष्ट्रिय टिमलाई समान व्यवहार गरियो भने पुरुष टिम ठूलो उपलब्धिको हकदार बन्न सक्छ ।’

सुखद बिदाइको प्रतीक्षा

सन् २००७ मा इण्डोनेसियामा आयोजित पहिलो एसियाली बीच गेम्समा नेपाली बीच भलिबल टिममा रहेर इमले पहिलोपल्ट नेपालका लागि खेलेका हुन् । त्यसको अर्को वर्ष भारतसँगको मैत्रीपूर्ण खेलमार्फत उनले नेपाल भलिबल टिमबाट डेब्यू गरे ।

सन् २०१० मा ११औं दक्षिण एसियाली खेलकुद, २०१६ मा १२औं दक्षिण एसियाली खेलकुद, २०१९ मा १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरे । सन् २०१४ को आमन्त्रण कप, २०१८ एसियाली खेलकुद तथा सन् २०१६ देखि सुरु भएको सेन्ट्रल जोन सिनियर मेन्स भलिबल प्रतियोगिताका पाँच संस्करण खेलेको अनुभव इमसँग छ । सन् २०१५ यताका नेपालले खेलेका सबै खेलमा इमले कप्तानी
गरेका छन् ।

सन् २०१७ मा तेस्रो सेन्ट्रल जोन सिनियर मेन्स भलिबलमा नेपालले कांस्य पदक जितेको थियो । यो नेपालको पुरुष टिमले पाएको अहिलेसम्मको ठूलो सफलता हो । सन् २०१८ को एसियाली खेलकुदमार्फत नेपाल एसियाको १५औं वरीयतामा आयो ।

‘कास्कीको ग्रामीण भेगमा सामान्य परिवारमा हुर्किएर, खाली खुट्टा रंगशालामा खेलेर राष्ट्रिय टिम र कप्तानसम्मको पहिचान बनाउन सक्नु मेरा लागि ठूलो सफलता हो,’ इम भन्छन्, ‘करिअरमा नेपालका लागि ठूलो उपलब्धि दिलाउन नसके पनि हामी साह्रै कमजोर रहेनौं ।’

उल्लेखनीय सफलता दिलाउन नसक्नुमा उनलाई कुनै खिन्नता पनि छैन । ‘किनभने, हामीलाई कहिल्यै ठूलो सफलताका लागि तयार गरिएन । प्रतियोगिताकेन्द्रित केहि दिनको तयारीले कतै पुग्न सकिन्न,’ इमले भने ।

स्तरीय प्रशिक्षणको नाममा छोटो समयका लागि विदेशी प्रशिक्षक ल्याउँदा भलिबलको स्तर विकास हुन नसक्ने बताए । ‘मैले विदेशका प्रशिक्षकको विरोध गरेको होइन । तर, उनीहरुलाई ल्याउने नै हो भने कम्तिमा २ वर्षको सम्झौता गर्नुपर्छ,’ उनले थपे, ‘युरोप र नेपालको भलिबलमा ठूलो अन्तर छ । प्रतियोगिताकेन्द्रित तयारीमा आधारभूत ज्ञान सिकाउन थालियो भने नतिजा कस्तो होला आफैं अनुमान गर्नुस् । कम्तिमा प्रशिक्षकलाई खेलाडी चिन्ने समय दिनुपर्छ ।’

गत असोजमा आयोजित एनभीए क्लब लिगका दौरान भलिबल संघमा हालै निर्वाचित भएका अध्यक्ष जीतेन्द्रबहादुर चन्द र महासचिव रोशन श्रेष्ठसँग इमले आफूले राष्ट्रिय टिम छाड्न लागेको जानकारी दिइसकेका छन् । ‘तपाईं यति लामो योगदान गरेको खेलाडीलाई कुनै अन्तर्राष्ट्रिय खेलमार्फत सम्मानसहित बिदाइ गर्छौं भन्नुभएको छ,’ महासचिव श्रेष्ठको भनाइ उदृत गरी इमले भने, ‘अब त्यही दिनको प्रतीक्षामा छु ।’

इमले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि नेपाल पुलिसको टिमबाट घरेलु प्रतियोगिता भने खेलिराख्ने बताए ।





Source link

HamroAwaj

2022-12-22 08:00:24

Leave a Comment