पशुपतिशमशेरले देखेको ५० वर्षे नेपाली संसद – HamroAwaj


८ पुस, काठमाडौं । तीन शासन व्यवस्थाका जनप्रतिनिधि, तीनै प्रणालीको संसदको सांसद र मुलुकको ५० वर्षयताको विधि निर्माणको सक्रिय साक्षी हुन्, पशुपतिशमशेर जबरा । पञ्चायत, बहुदल र गणतन्त्रमा सांसद हुनुमा के भिन्नता रह्यो ? यी तीन व्यवस्थामा कानुन निर्माणमा के अन्तर रह्यो ? अनि यी तीन प्रणालीमा सांसदहरूको क्षमता र विधिको गुणस्तर कस्तो रह्यो ?

यी र यस्तै प्रश्न बोकेर मैले गएको मंगलबार महाराजगञ्जस्थित विजयावास मा पशुपतिशमशेर जबरासँग करिब डेढ घण्टा बिताएँ । प्रतिनिधिसभाको ज्येष्ठ सदस्यका रूपमा सांसदहरूलाई शपथ खुवाउने तयारी गरिरहेको अवस्थामा जबराले मलाई आफ्नो पुरानो तर भव्य दरबारको पहिलो तलामा रहेको बैठक कक्षमा पछिल्लो ५० वर्षको नेपाली राजनीतिको वृत्तान्त सुनाए ।

८० को दशक टेकेका यी ज्येष्ठ राजनीतिज्ञको एउटा अपेक्षाले नेपाली राजनीतिको अघिल्लो पुस्ताले आफ्नो कार्यकाल कसरी बितायो र अहिले उनीहरूको मनोविज्ञान कस्तो छ भन्ने पनि बताउँथ्यो । उनले भने, ‘हाम्रो पुस्ता यस्तै भइहाल्यो, बीचको पुस्ताले देश बनाउनेपट्टि सोचेन । मेरो आशा नाति पुस्तासँग छ ।

पशुपतिशमशेर जबरा मोहनशमशेरका नाति, राजनीतिमा आएका राणा वंशका राजनीतिज्ञ । २०३१ सालमा राष्ट्रिय पञ्चायत सदस्य हुन जबरालाई सिन्धुपाल्चोकका जनताको भन्दा ठूलो साथ पारिवारिक विरासतको थियो । उनी जब राजनीतिमा आए त्यसपछिका ५० वर्षसम्म निरन्तर टिकिरहे । पंचायत, बहुदल र गणतन्त्र तीनै कालखण्डका, तीनवटै शासन व्यवस्थामा विधायक भए ।

राष्ट्रिय पञ्चायत सदस्यको चुनाव लड्न २०३० सालमा सिन्धुपाल्चोक छिरेका जबरा राजनीतिक जीवनमा गाउँ पञ्चायत, जिल्ला पञ्चायतको उपसभापति हुँदै पंचायत र बहुदलमा पटकपटक मन्त्री भए । २०३१, २०३८ र २०४३ को राष्ट्रिय पञ्चायत चुनाव जिते ।

२०४६ सालको राजनीतिक परिवर्तनपछिको पहिलो निर्वाचन २०४८ मा लोकेन्द्रबहादुर चन्द र सूर्यबहादर थापा समूहमा विभाजित राप्रपाले जितेका चार सांसदमध्ये जबरा एक थिए । उनले बहुदलीय व्यवस्था अन्तर्गत २०४८, २०५१ र २०५६ मा भएको चुनाव पनि जिते ।

गणतन्त्र आएपछि २०६४, २०७० र २०७४ मा भएका चुनावमा भने उनले सफलता हात पार्न सकेनन् । अहिले समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभाको ज्येष्ठ सदस्य भएका छन् ।

२५ वैशाख १९९८ मा काठमाडौंमा जन्मिएका जबराले ३२ वर्षको उमेरमा २४ मंसिर २०३० मा नागरिकता लिएका थिए । ज्येष्ठ सदस्यको हैसियतमा जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका छन् । उनै जबराले बिहीबार बाँकी २७४ प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाए । प्रतिनिधिसभाको सभामुख चयन नहुँदासम्म जबराले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।

प्रजातन्त्र ‘बेटर’ हो तर, नेतामा इमान रहेन

शासन व्यवस्थामा केही सुधार गर्न सक्छु भनेर राष्ट्रिय पञ्चायत सदस्य भएका जबराले सोचे अनुसारको अनुकूलता त्यसपछि प्राप्त गर्न सकेनन् । उनका भनाइमा, त्यसबेला स्वतन्त्र ढंगले आफ्ना कुरा राख्ने हिम्मत कसैले गर्दैनथे । घुमाउरो शैली अपनाइन्थ्यो । सत्तालाई प्रश्न गर्न गरिबीको विषय उठाइन्थ्यो ।

त्यही बेला पञ्चायती व्यवस्थाको असफल कार्यक्रम गाउँ फर्क अभियानको साक्षी बन्न पुगेको उनको अनुभव छ । सुरुमा २०२४ सालमा राजा महेन्द्रले गाउँ फर्क अभियानमार्फत मन्त्रीदेखि उच्चस्तरीय कर्मचारीले अनिवार्य गाउँ गएर श्रमदान गर्नुपर्ने योजना ल्याएका थिए । २०३२ सालमा यसलाई राजनीतिक रूपमा गाउँमै गएर बस्ने कार्यक्रम बनाइयो ।

त्यो एकदमै संकुचित प्रणाली थियो । शहरबाट गाउँ फर्किनुपर्ने, विद्यार्थीलाई पनि लैजाने उनी भन्छन्, ‘कहाँ बस्ने त न्यूनतम अधिकार हो मान्छेको जबरा अहिले प्रश्न गर्छन् । यो विषयमा राष्ट्रिय पंचायतमा छलफल भएको उनी सम्झन्छन् ।

तर, यो अभियानमा जबरा आफैं जोडिएका थिए । उनका अनुसार त्यसबेला गाउँ फर्क अभियानको अध्यक्ष विश्वबन्धु थापा थिए भने जबरा सचिव/महासचिव थिए । पंचायती व्यवस्थालाई यो अभियानले असर गरेको उनलाई लाग्छ । आफू उक्त अभियानको साक्षी हुनु पनि एक प्रकारको राजनीति थियो । किनभने राजा वीरेन्द्रले विश्वास गरेर जबरालाई अभियानमा जोडेका थिए । विगतमा पाएको साथको गुन तिर्न पनि राजा वीरेन्द्रको योजनालाई सफल बनाउन उनी लाग्नुपर्ने थियो ।

राणा २०३४ सालमा शिक्षा मन्त्री भए । तर, २०३६ सालमा जनमत संग्रहको वरिपरि तत्कालीन गृहमन्त्रीको काम मन नपरेर राजिनामा दिए । जनमत संग्रह हुँदा म सरकारमा थिइनँ । त्यतिबेलाको विद्यार्थी आन्दोलनप्रति तत्कालीन गृहमन्त्रीले देखाएको रवैया मन परेन । राजिनामा दिएँ ।

उनी जनमत संग्रहको पक्षधर थिएनन् । तर, जनमत संग्रह भएकोमा खुसी थिए । जनमत संग्रहपछिको राजनीति धेरै फराकिलो उनी भन्छन्, ‘तथापि पञ्चायती व्यवस्था अरू केही वर्ष चल्यो ।

२०४६ सालमा भएको प्रजातन्त्र पुनर्बहालीको आन्दोलनको समयमा उनले सरकारको तर्फबाट बहुदलवादी दलहरूसँग वार्ता गर्ने अवसर पाएका थिए । प्रजातन्त्रप्राप्तिको आन्दोलन उत्कर्षमा पुगेपछि राजा वीरेन्द्रले प्रधानमन्त्री मरिचमान सिंहलाई हटाएर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा गठन गरेको १२ दिने मन्त्रिपरिषद्मा जबरा पनि थिए । त्यसबेला आफूहरूले कांग्रेस कम्युनिष्टसँग वार्ता गरेपछि राजालाई बहुदल दिनुपर्छ भनेर सल्लाह दिएको र राजाले मानिबक्सेको उनलाई लाग्छ ।

बेलायतको अक्सफोर्ड कलेज पढ्दा प्रजातन्त्रका विषयमा आफूले धेरै जानकारी पाएको र त्यस अनुसार नेपालको शासन व्यवस्थामा परिवर्तन चाहेर राजनीतिमा लागेको बताउने जबरा भन्छन्, ‘बहुदल आएपछि खुसी भएँ । मैले अक्सफोर्डमा पढ्दा कल्पना गरेको प्रजातन्त्र बहुदल प्राप्त भएपछिको पहिलो चुनाव २०४८ मा पाएँ । २०४६ को परिवर्तनको जग २०३७ को जनमत संग्रह भएको उनको ठम्याइ छ ।

नियन्त्रित रूपमा विकास गर्छु भनेर सम्भव हुने कुरा थिएन । २०३७ सालको जनमत संग्रहले व्यवस्थारूपी ड्यामलाई प्वाल पारिसकेको थियो उनी भन्छन्, ‘ड्याम प्वाल परेपछि पानीले ठूलो बनाउँदै लैजान्छ । त्यो ड्यामलाई कसैले रोक्न सक्दैनथ्यो र रोकिएन पनि । जनमत संग्रहपछि राष्ट्रिय पञ्चायतमा पनि छलफल र बहस हुन थालेको उनको बुझाइ छ । जनमत संग्रहपछि सानो स्वरमा भए पनि सत्ता, सरकारको विरोध हुन थाल्यो ।

२०४६ को परिवर्तनपछि भएको पहिलो चुनाव २०४८ मा पूर्वपञ्चहरूले देशभर हारेका बेला जबराले सिन्धुपाल्चोकबाट चुनाव जिते । त्यसपछिको २०५१ र २०५६ को चुनाव पनि जिते । त्यसबेलाको संसदभित्रका हरेक गतिविधिमा उनी छुटेनन् । तर, बहुदल आएपछि मुलुकले जुन रूपमा राजनीतिक स्थिरता प्राप्त गर्छ भन्ने उनलाई लागेको थियो त्यो अहिलेसम्म भएन ।

२०४८ को संसद कांग्रेसभित्रको गुटबन्दीका कारण पूरा कार्यकाल पूरा नगरी भंग हुन पुगेको स्मरण गर्दै उनी भन्छन्, ‘गणतन्त्रपछिको पहिलो निर्वाचनबाट केपी ओली सरकारले मौका पाएको हो, त्यो झण्डै दुई तिहाइको सरकार थियो । तर, फेरि पनि स्थायित्व भेटिएन ।

डेमोक्रेसी धेरै राम्रो व्यवस्था हो तर, पञ्चायतमा कसैको पैसा खाने आँटै हुँदैनथ्यो उनी भन्छन्, ‘पञ्चायती व्यवस्थाका धेरै अवगुण थिए तर, नेता र कर्मचारीहरूमा धेरै हदसम्म इमानदारी हुन्थ्यो । धर्म र इमानका कुरा हुन्थ्यो तर, अहिले सत्ता र पावरका लागि जे पनि गर्न तयार हुने प्रवृत्ति छ ।

बीचको पुस्ताले मुलुक बारे सोचेन

जबरा पछिल्लो ५० वर्षे नेपाली राजनीतिक जीवनका विभिन्न अभ्यासमा सहभागी र अनेक खेलका साक्षी हुन् । पञ्चायतमा राजपरिवारभित्रको गुटबन्दी, राणा वंशमा भएको गुटबन्दी र त्यसले राजनीतिमा पारेको प्रभावका भुक्तभोगी हुन्, उनी ।

जबरा बहुदल र गणतन्त्रमा पनि उस्तै गुटबन्दी देख्छन् । गुटबन्दीकै कारण नेपालले राजनीतिक स्थायित्व पाउन नसकेको ठान्छन् । उसो त, जबरा आफैं पनि राप्रपाको राजनीतिक गुटबन्दीमा संलग्न नेता हुन् ।

नेपाली राजनीतिमा रहेको बीचको पुस्ताले मुलुक बारे नसोचेको उनको टिप्पणी छ । तर, ती कारणबारे विस्तृत व्याख्या गर्न तयार नहुने जबरा तेस्रो पुस्तालाई इमान सिकाउने रहर जागेर आफू सांसद भएको सुनाउँछन् । उनी भन्छन्, ‘मलाई युवा पुस्तासित दिन बिताउन असाध्यै रमाइलो लाग्छ । उनीहरूसँग कुरा गर्न मज्जा लाग्छ । इमानदारपूर्वक सोच्ने हाम्रो पुस्ता र यही (नाति) पुस्ता हो । बीचको पुस्तामा मान्छे त्यसरी मुलुकबारे सोच्ने कुरामा इमानदार भएनन् ।

मन चोखो भएन भने मुलुक बन्दैन । जहाँ पनि भ्रष्टाचार हुने प्रवृत्तिले भएपछि कसरी देश बन्छ ? उनी भन्छन्, ‘म यो मुलुक बनोस् भन्ने चाहना अनुसार संसदमा प्रस्तुत हुनेछु ।

पत्रकार, जागिरे हुँदै राजनीति 

जबराका भनाइमा, ‘राजनीतिमा आउने विचारलाई उनले सुरुमा आफैंभित्र दबाउनु परेको थियो । कारण राजा महेन्द्र मोहनशमशेरको परिवारलाई रुचाउँदैनथे । उहाँ (राजा महेन्द्र) स्वर्गीय नभएको भए मैले राष्ट्रिय पञ्चायतमा प्रवेश पाउँदैनथें विगत सम्झँदै जबरा भन्छन्, ‘त्यसैले मेरो त्योभन्दा अगाडि राजनीतिमा आउन रुचि देखाउने स्थिति थिएन ।

महेन्द्रको मृत्युपछि वीरेन्द्र राजा भए । त्यसपछि पशुपतिशमशेरलाई राजनीतिमा आउन सहज भयो ।

राष्ट्रिय पञ्चायत सदस्य हुनुभन्दा पहिले जबरा पत्रकार थिए । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेर फर्किएपछि उनलाई नेपालको शासन व्यवस्था (पञ्चायती व्यवस्था)मा सुधार आवश्यक छ भन्ने लागेको थियो । उनी त्यसका लागि राजनीतिमा होमिन चाहन्थे ।

जबरा भन्छन्, ‘अक्सफोर्ड पढेर नेपाल फर्किएपछि केही गर्नु पर्‍यो भनेर पत्रकार भएँ । ६ महिना गोरखापत्रको नेपाल प्रस्पेक्टिभ भन्ने साप्ताहिकमा फरेन इकोनोमिक एडिटर भएर काम गरें । ६ महिना पत्रकारिता गरेपछि उनी गृह मन्त्रालयमा सहसचिव भएर जागिर खान गए ।

तर, जागिरमा जाँदाको तितो अनुभव उनीसित छ । जबराले गृह मन्त्रालयको सहसचिव हुँदा एमएको एउटा क्लासमा नेपालमा तीन वटा वर्गीय कुरा देखाएका थिए । तीन जातका कुरा गरेका थिए  बाहुन, क्षेत्री र नेवार । यही तीन जातले नेपाल क्याप्चर गर्‍या छ । भौगोलिक आधारमा चार भञ्ज्याङ भित्रकोले मात्रै (राज) गर्‍या छन्, अरू कसैलाई मौकै नदिने चलन छ भनेर आफूले त्यसबेला व्याख्या गरेको उनी सुनाउँछन् ।

तत्कालीन युवराजाधिराज वीरेन्द्रले जबरालाई साथ दिए । सेन्टर फर इकोनोमिक डेभलपमेन्ट एड्मिनिस्ट्रेशन (सेडा) मा प्रवेश गराए । सेडामा रहँदारहँदै महेन्द्रको मृत्यु भयो र वीरेन्द्र राजा भए । त्यसपछि पशुपतिशमशेर राजनीतिमा उदाए ।  उनी भन्छन्, ‘संसदमा नगई कुनै काम गर्न सम्भव थिएन । सेडामा बसे पनि भित्रको कुरा हो । गृह मन्त्रालयको कर्मचारी वा पत्रकार भएर केही गर्न सक्ने कुरै थिएन । अनि म राजनीतिमा आएँ । 

जेष्ठ सदस्यका रूपमा प्रतिनिधिसभा सदस्यहरूलाई शपथ खुवाउँदै जेष्ठ सदस्य पशुपतिशमशेर राणा

उनी थप्छन्, ‘म साढे १२ वर्षको थिएँ, ३८ वर्षमै बुवा स्वर्गीय हुनुभयो । बुबाको मुलुक बनाउने अधुरो सपना पूरा गर्न राजनीतिमा आउँछु भनेर अठोट गरेको थिएँ । २०३१ सालमा विधायक भएँ ।

२०३१ सालबाट निरन्तर राजनीतिमा टिकिरहँदा जबराले अनेक आरोहअवरोह भोगेका छन् । २०४८ को चुनावको तयारी गर्न जाँदा सिन्धुपाल्चोकमा आफूमाथि भएको भौतिक आक्रमण उनी सम्झिन्छन् । उनी भन्छन्, ‘बीबीसीका दिल्लीस्थित संवाददाता मार्क टली मेरा साथी थिए । तिम्रो देशको चुनाव हेर्छु भनेकाले आउन भनेको थिएँ उनी भन्छन्, ‘एउटा घरमा थुनेर मलाई मार्ने योजना अनुसार गतिविधि भइरहेको रहेछ । मार्क टलीले क्यामेर झिकेर खिच्न थालेपछि सबै भागे र म बाँचें ।

मुलुक बनाउने हुटहुटी आफूलाई राजनीतिमा आउँदै गर्दा जस्तो थियो अहिले पनि त्यस्तै रहेको उनी बताउँछन् । कतिपटक मन्त्री भएँ भनेर ठ्याक्कै भन्न नसक्ने जबरा अवसर पाउँदा इमानदारीपूर्वक प्रयास गरेको जिकिर गर्छन् ।

आफू राजनीतिमा आउँदै गर्दाको ३० को दशक भन्दा अहिले बाटो, विद्युत्को विकासले फड्को मारेकोमा गर्व गर्छन् । अब भ्रष्टाचार नियन्त्रण गर्दै राजनीतिक स्थिरता दिनसके मुलुकले पूर्ण प्रजातन्त्र पाएको अनुभूत हुने उनलाई लाग्छ ।





Source link

HamroAwaj

2022-12-23 20:35:27

Leave a Comment