पुस्तकले चिनेको दार्जिलिङ – HamroAwaj


खास मैले पुस्तकबाट चिनेको हो दार्जिलिङ । भौतिक रुपमा त जम्मा एकपटक २०५३ सालको माघतिर पुगेको छु तर निकटता छ दार्जिलिङसँग मेरो । यति धेरै निकटता कि म दार्जिलिङको प्रत्येक चोक, गल्ली, सडक र नदीनालासँग परिचित छु झैं लाग्छ ।

दार्जिलिङका प्रत्येक ठाँउलाई म पहिल्याउछु, सायद प्रत्येक मान्छेलाई म पहिल्याउँछु । नोरबस्ती, घुम, पुलबजार, सुकिया र बिजनवारी पुगेको छु । दार्जिलिङमाथिको गिर्जाघरको घण्टीको आवाजले काठमाडौं रत्नपार्कको घण्टाघरलाई सम्झाइदिन्छ । टिस्टा रङ्गित खोला र इडेनको बगैंचाले मनका सप्तरंगी उद्वेगहरुलाई कोसीको तिरैतिर गन्तव्य पहिल्याउँदै गरेका बकुल्लाको हुलजसरी ठेलमठेल र खुल्लमखुल्ला आजादी दिएजस्तो लाग्छ ।

दार्जिलिङको महांकाल डाँडाले दोलखाको महाकांल भगवतीको स्मरण गराउँछ । कतै महांकाल भगवती प्राकृतिक सुन्दरतामा विचरण गर्दै गौरीशंकर हिमश्रृङ्खलाको तिरैतिर दार्जिलिङ पुगेकी हुन् कि ! दार्जिलिङमा पुगेका किरातहरु दोलखाको किरातीछापबाटै गएका हुन् भन्ने विश्वास छ मेरो ।

त्यसैले दोलखा र दार्जिलिङको साइनो पहिल्याएको छु मैले । इलामको जसवीरे छेउको कोठीडाँडाबाट वरिपरि थुम्का–थुम्कामा बाँडिएको पाखाहरु नियाल्दै गर्दा दोलखे बाजेले दोलखा र जिरीसँगको मित्रता दार्जिलिङसँग गाँसिदिएको अनुमान गर्ने हक राखेको छु मैले ।

मैले जसरी यति निकट दार्जिलिङलाई चिन्ने कोही छैनन् जस्तो लाग्छ । अझ पुस्तकबाट दार्जिलिङ चिन्ने अरु कोही होलान् त ? प्रकाश कोविदको ‘देवता’ र ‘अर्को जन्म’, इन्द्रबहादुर राईको ‘आज रमिता छ’, शिवकुमार राईको ‘डाँक बंगला’ जस्ता पुस्तकबाट दार्जिलिङ चिनेको हो मैले ।

पिटर जे. कार्थकको ‘प्रत्येक ठाँउ, प्रत्येक मान्छे’ले त मलाई दार्जिलिङसँग अझ नजिक गराइदिएको छ । दावा छिरिङ सर, वसन्त, गगन, पदम, निमा, सागर, मदन, धने, रेहमान, दिनेश र प्रियालाई पिटर जे. कार्थकको यही पुस्तकले चिनाइदिएको हो । भिक्टोरिया पार्कको हावाघरमा बिहानैदेखि गफिने टाइप बाबु, हेड कलर्क बाबु, मास्टर साहेब, मेजर साहेब धनवीर गुरुङ, टाउन बाबु, कमिस्नर बाबु, फुल बाबु जस्ता जेष्ठजनलाई यही पुस्तकले निकट गराएको छ । अझै भनौं, उहाँहरुको आगत र विगतका मीठामीठा प्रसंगसँग घुलमिल गराइदिएको छ ।

तीसको दशकमै दार्जिलिङले प्रकृतिलाई व्यक्तिले सिंगार्ने शिल्पीकला भोगिसकेको रहेछ । इडेनको बगैंचा, भिक्टोरिया पार्क, गिर्जाघरको घण्टी यी सबै दार्जिलिङको प्राकृतिक सुन्दरतामा कुचीकारले रंग पोतेर आकार दिएजस्तै त हो । प्राकृतिक सुन्दरतामा शिल्पी व्यवस्थापनले दार्जिलिङलाई पहाडको रानी बनाएको छ । यसलाई अंग्रेजहरुको योगदान मान्ने कि दार्जिलिङवासीको मेहनत ।

राजवाडी, मुर्दाहट्टी, ह्यापी भ्याली, हुकर रोड, बर्चहिल, सेन्ट पल्सजस्ता दार्जिलिङका चल्तीका बजार क्षेत्रको केही नाम अंग्रेजको देन भए पनि यी ठाँउहरुलाई बनाउन गोरा छाला होइन, दार्जिलिङकै किरात, लेप्चा र राईहरुकै रगत पसिना बगेको तथ्य यसको सुन्दरता जत्तिकै चहकिलो लाग्छ । अझ नेपाली छोकडा र कुल्लीहरुसँग मिलेर गोराहरुले सुरु गरेको चिया बगानमा नेपाली कुल्लीकै निष्ठाले पहिचान बनाएको सुन्दा अचम्मै अभिमानी बनाउँछ ।

अहिले पनि चल्तीमा छ दोलखा चरिकोटका कुल्लीहरु दार्जिलिङमा । कुल्ली विशेषणले काम गर्ने स्वयं उनीहरुलाई पोल्ने गरेको अनुभव दार्जिलिङ घुम्ने नेपाली पर्यटकलाई सुनाउँछन् होला, तर मलाई भने गर्व लाग्छ मेरो चरिकोटका युवाहरुले दार्जिलिङ बनाउन केही त योगदान गरेका छन् । चरिकोटेले दार्जिलिङ पुगेर ठगेका छैनन्, ढाँटेका छैनन्, स्वाभिमान÷आत्मासम्मान बेचेका छैनन्, श्रम बेचेका छन्, त्यसैले गर्व लाग्छ ।

दार्जिलिङको प्रत्येक ठाँउ, दार्जिलिङको प्रत्येक मान्छे । अर्थात् पिटर जे. कार्थकको ‘प्रत्येक ठाँउ, प्रत्येक’ मान्छे । यो पुस्तकको बारेमा मैले धेरै अगाडि सुनेको हो । शंकर लामिछानेले भूमिकामा लेखेका छन्– पिटरको यो पुस्तक (उपन्यास)को विभाजन प्रेल्युड, इन्टरल्युड तथा एपिल्युड, यसप्रकार वास्तवमा मन्त्र, यन्त्र तथा तन्त्रमा विभाजित गरिएका छन् । प्रेल्युडले दार्जिलिङको ऐतिहासिक पृष्ठभूमि, इन्टरल्युडले व्यक्तिभन्दा घटना र घटनाभन्दा त्यसलाई सिर्जिने पृष्ठभूमि एवं त्यसको आर्तनादको महत्व र एपिल्युडले दुईको आपसी सम्बन्धलाई सामञ्जस्य प्रदान गर्न भूमिका निर्वाह गरेको छ । त्यही नै हो कथा ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’को ।

यसको खोजी पनि गरे, तर २०३४ सालमै साझा पुरस्कार पाइसकेको यो पुस्तक पाउन सकिनँ । पुस्तक पढ्नै नपाई लेखक पिटर जे. कार्थकको मृत्यु भयो । पुस्तक लेखकको मृत्यु भएको केही समयपछि मात्र मैले बुक हिलले २०७६ सालमा पुनः प्रकाशन गरेको ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ पाउन सकें । पुस्तक हात परेको झण्डै एक वर्षपछि भर्खरै पढिसकेको छु ।

पढाइमा ढिलाइ हुनुको कारण पनि रमाइलै छ । चरिकोटमा जीवन लामा, शेरबहादुर भुजेलहरु साहित्य अध्ययन र लेखनमा थोरै सक्रियमध्येका पर्छन् । ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’को बारेमा मैले नै उनीहरुसँग चर्चा गरेको जस्तो लाग्छ । तर भइदियो के भने उनीहरुले चाहिं मैले भन्दा अघि पुस्तक खरिद गरेर पढी भ्याएछन् ।

जब मैले, पुस्तक पढ्न सुरु गर्नु प¥यो भनेर उनीहरुलाई सुनाए– ‘ह्या राम्रो छैन’ भन्दै हतोत्साही बनाउने प्रयास पो गरे ।

तर म कहाँ त्यस्ता कुराले पछि हट्नेवाला थिएँ । पुस्तक पढें मात्र होइन, पढिसकेर दार्जिलिङका थप केही नयाँ ठाँउसँग परिचित समेत भएँ । पुस्तकलाई उनीहरुले कसरी पढे वा बुझे, मलाई भने पुस्तक दार्जिलिङको सभ्यता र संस्कृतिको दर्पण झैं लाग्यो ।

२०३४ सालअघि नै दार्जिलिङले आधुनिक हिप्पी संस्कृतिको विकास गरिसकेको रहेछ । हिप्पी संस्कृतिकै प्रभाव मान्ने त होला, दार्जिलिङका धेरै युवाहरु नसाको लतमा लागिसकेका थिए । पिटर जे. कार्थकले ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’को आवरणमा दार्जिलिङको आधुनिकताभित्रको विकृति औंल्याएका छन् । विकृति अन्त्यपछिको सम्भावना देखाएका छन् । एकसे एक क्षमता भएका युवाहरु नसाको लतसँग यौन मोहमा परेर कसरी विकृत बन्न पुगे ? अझ परिवर्तन र क्रान्तिको आडमा कसैको अस्मितामाथि धावा बोल्ने, त्यो पनि आफ्ना अन्जान साथीहरुलाई प्रयोग गरेर ।

मदनले त्यसै गरेका थिए । कम्युनिष्ट आडम्बरमा आफ्ना अन्जान साथीहरुलाई प्रयोग गरेर प्रियाको अस्मिता लुट्नुलाई मदनले जसरी बुर्जुवामाथिको जित ठाने त्यो वास्तवमा कसैको आत्मसम्मानमाथिको आक्रमण र मानवीयताको स्खलन थियो । मदनको कर्तुतले आफूलाई कम्युनिष्ट भन्नेहरुले कति धेरै हीनताबोध गरे होलान् । अहिले म सम्झँदै छु, कुनैबेला महान् भारतीय कम्युनिष्ट नेता ज्योति बसुको राज रहेको पश्चिम बंगालमा किन कम्युनिष्ट शासन पतन हुँदैगयो ।

के कम्युनिष्ट पार्टीका कार्यकर्ताले वर्गीय विभेद वा बुर्जुवाको अत्याचारको बदला लिन मानवीयताको स्खलन चाहन्छन् । पक्कै होइन, पिटर जे. कार्थकले मदनको चरित्रमा कम्युनिष्ट सिद्धान्तको पतनको मार्ग देखाएका हुन् । जुन कुरा कालान्तरमा प्रमाणित भइदियो, पश्चिम बंगालमा ।

दार्जिलिङमा त बरु बुर्जुवा पात्र पो महान् रहेछन् । प्रियाले सामूहिक रुपमा आफ्नो अस्मिता लुट्ने सबैलाई माफी दिएकै हुन् नि । उनले मानवताको होडमा आफू

लाई अब्बल बनाइन् । भलै दावा सरले कानुनको पालना गराउन जासुसी मेथड प्रयोग गर्दै प्रियाको अस्मिता लुट्ने विकृतिको मार्गमा अग्रसर युवाहरुलाई कानुनको दायरामा ल्याएर मात्र दार्जिलिङ बसाइलाई बिट मारे । त्यसो त दावा सरलाई पनि प्रेम र आस्थाले जितोस् भन्ने लागेको थियो तर न्याय र कर्तव्यले नै फेरि पनि जित्यो । अर्को कुरा पनि हो, दावा सरले आफ्नो दायित्व भुलेर प्रेम र आस्थालाई जिताएका थिए भने दार्जिलिङबाट न्याय र कर्तव्य पलायन हुने थियो, अर्थात् हामीले आजको दार्जिलिङ देख्न सक्ने थिएनौं ।

‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ भित्र अक्षरयात्राको साहित्यिक खहरेले औंल्याएको हरेक पात्रलाई पिटर जे. कार्थकले कुनै न कुनै क्षमतामा अब्बल बनाएका छन् ।

मदनले राजनीतिलाई बदलाको अस्त्र नबनाएका भए साथीहरुको संगतिले उनको कट्टर राजनीतिक दर्शन, बुर्जुवा दृष्टिकोण र वर्गीय स्वभाव समाज परिर्वतनको लागि अब्बल हुनेथियो । पदमको संगीत साधनाले दार्जिलिङको आधुनिक सभ्यतामा एउटा नयाँ सुरुवात गर्न सघाउने थियो । नीमाको कविताले विस्तारै लय समाउने थियो र दार्जिलिङलाई साहित्यको विमानबाट विश्वका हरेक कुनामा उतिबेलै विचरण गराइसक्ने थियो । रेहमान, धने, दिनेश, प्रिया, गगन, सागर सबै दार्जिलिङमाथिको घुम्तीबाट बतासेको लुपदेखि धुवाँ फ्याँक्दै ओझेल हुँदै अघि बढ्ने रेलगाडी हेरेर रमाइरहेका हुनेथिए ।

वसन्तले यी सबै युवाहरुलाई एकत्रित गर्दै दार्जिलिङको स्वाभिमानमा सभ्यताको लेपन घस्न जति मेहेनत गरे त्यसलाई मदनको विकृत सैद्धान्तिक चेतले निमेषभरमै खरानी पारिदियो । प्रत्येक ठाँउका प्रत्येक मान्छे यस्तै हुन्छन् होला त ? पिटर जे. कार्थकको प्रश्नलाई वसन्तको मलाया यात्राले अधुरो छोडिदियो । सायद पिटरको काठमाडौं यात्रा पनि वसन्तको मलाया यात्राकै पूरक रुप थियो कि ?

तीस–चालीसको दशकमा दार्जिलिङले भोगेको, देखेको र सहेको सिद्धान्तको विकृत भंगालोमा अहिले काठमाडौं जाकिंदै गएको छ । दार्जिलिङले काठमाडौंलाई धेरै कुरा दिएको हो । साहित्य, कला, संगीत, स्वर सबै । इन्द्रबहादुर राई, लैनसिंह बाङ्देल, पिटर जे. कार्थक, पारिजात, प्रकाश कोविद सबै ।

तर दार्जिलिङले तीस–चालीसको दशकमा भोगेको विकृत परिवेशलाई पन्छाउँदै साहित्य, कला, संस्कृति र पर्यटन सभ्यतामा गरेको विकास सूत्र चाहिं काठमाडौं भित्रिएन । होइन भने ज्याकाराण्डाको सुगन्ध र सुन्दरतामा काठमाडौंले सभ्यताको अंकुरण किन कोरल्न नसकेको होला ? दार्जिलिङको मोहित शब्द उच्चारण काठमाडौंको सभ्यता कण्ठमा कोइली बनेर कराउने दिनको प्रतीक्षामा अरु कति दशक बिताउनुपर्ने हो हामीले ।

प्रकृतिले त दार्जिलिङलाई जसरी नै न्याय गरेको छ नि काठमाडौंलाई पनि । स्वयम्भूले गौरीशंकर नियाल्दै गर्दा भुवादार हिउँका छिर्कामा रमाउन काठमाडौंबाट मिलिक्कै कालिञ्चोक र फूलचोकी डाँडा उक्लन सकिन्छ अहिले । तर दार्जिलिङबाट अझै धेरै कुरा सिक्नुपर्छ काठमाडौंले ।

त्यसैले त पुस्तकले चिनेको त्यो दार्जिलिङ काठमाडौं जसरी नै मेरो मनमस्तिष्कमा बसेको छ निरन्तर ।





Source link

HamroAwaj

2022-12-24 07:37:41

Leave a Comment