एमालेले कसलाई बनाउला राष्ट्रपति ? – HamroAwaj


१० पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रसहित साना दलहरुसँग सत्ता भागबण्डा गर्दा नेकपा एमालेले राष्ट्रपति पद पाएको छ ।

२०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिंदैछन् भने सभामुख, प्रधानमन्त्रीसँग आलोपालो गर्ने सैद्धान्तिक सहमति जुटेको छ । तर भागबण्डाले अन्तिम रुप लिन बाँकी रहेको नेताहरुले बताएका छन् । ‘अहिले सरकार गठनमा मात्रै सहमति जुटेको छ । बाँकी छलफल क्रमशः गर्छाैं’, माओवादी केन्द्रका एक नेता भन्छन् ।

राष्ट्रपति चयनको समय अझै एक महिना भन्दा बढी छ । तर यसअघि राष्ट्रपतिबारे धेरै चर्चा भएकाले एमालेबाट मुलुकको सर्वोच्च पदमा को जान्छन् भन्ने चासो बढेको छ ।

एमालेका एक नेताका अनुसार, राष्ट्रपतिका लागि तीन जना भन्दा बढी नेताको नाममा छलफल हुने सम्भावना छ । दुई कार्यकाल भन्दा बढी राष्ट्रपति हुन नपाइने संवैधानिक व्यवस्थाका कारण विद्यादेवी भण्डारी यो कार्यकाल पूरा गरेपछि विदा हुँदैछिन् ।

आकस्मिक रुपमा नयाँ गठबन्धन बनेकाले पार्टीभित्र यसबारेमा छलफल नभएको र अध्यक्ष केपी शर्मा ओलीको चाहनाबारे पनि थाहा नभइसकेको एमाले नेताहरु बताउँछन् ।

भण्डारी तेस्रोपटक राष्ट्रपति हुन नपाउँदा एमालेबाट सुवास नेम्वाङ धेरै सम्भावना भएको नेतामा पर्ने एमालेका एक नेता बताउँछन् । ‘पार्टीभित्रको भूमिका र विगतको अनुभवले पनि उहाँ उपयुक्त नेता हो’, ती नेता भन्छन् । संविधानसभाका अध्यक्ष र सभामुखमा लामो अनुभव बोकेका नेम्वाङले आफैं पनि उक्त पदमा जान चाहेका छन् ।

नेम्वाङपछिको सम्भावना भएका नेतामा अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य पनि पर्छन् । बोहरा अहिलेको एमाले निर्माणको संस्थापक नेता नै हुन् । बोहरा अहिले एमालेको अनुशासन आयोगका अध्यक्ष छन् ।

समकालीन राजनीतिमा शाक्य तुलनात्मक लामो अनुभव र संघर्ष गरेकी नेतृ हुन् । दोहोरिएर एमाले उपाध्यक्ष रहेकी शाक्य गत वर्ष एमाले विभाजन हुँदा ओलीलाई साथ दिएकी थिइन् ।

यस्तो छ मतभार

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु मतदाता हुन्छन् । मतभार भने फरक–फरक हुन्छ ।

अघिल्लोपटक संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ थियो । यसपटक बढेर संघीय सांसदको ८७ र प्रदेश सांसदको ५३ भएको छ । जनसंख्या अनुसार मतभार तय गरिन्छ । जसअनुसार राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा कुल मतभार ५८ हजार २०८ हुन्छ ।

एमाले गठबन्धन कांग्रेस नखुलेको
कांग्रेस : १७, ८८८ एकीकृत समाजवादी : २,८१९
एमाले : १६,८५१ लोसपा : ९१२
माओवादी केन्द्र : ८,५२२ नेमकिपा : २४६
राप्रपा : २४३७ राजमो : ८७
जसपा : २,३१२
रास्वपा : १७४० अन्य : २,१८०
जनमत : १,३७०
नाउपा : ८४४ जम्मा : १७, ८८८ जम्मा : ६,२४४
जम्मा मतभार : ५८ हजार २०८ चाहिने मत : २९ हजार १०४

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव कम्तीमा ५० प्रतिशत भन्दा बढी मत ल्याउनुपर्छ । अर्थात्, २९ हजार १०४ बढी मत ल्याउनुपर्छ । पहिलो चरणमा कसैले ५० प्रतिशत मत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुन्छ । दोस्रो, चरणको चुनावमा दुई उम्मेदवारमध्ये दुवैले ५० प्रतिशत मत कटाउन नसकेको फेरि चुनाव हुन्छ र तेस्रो चरणको चुनावमा बढी मत ल्याउने निर्वाचित हुन्छ ।

तर, ५० प्रतिशत भन्दा बढी वाम गठबन्धनसँग देखिन्छ । वाम गठबन्धनमा रहेका सात दल (एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, रास्वपा, जनमत र नाउपा) को मतभार ३४ हजार ७६ छ ।

कांग्रेससँग १७ हजार ८८८ मतभार छ । कतै नखुलेका एकीकृत समाजवादी, लोसपा, राजमो, नेमकिपा र स्वतन्त्रहरु समेत गरी ६ हजार २४४ मतभार छ ।

राष्ट्रिय सभामा १० र प्रतिनिधिसभामा ८९ सांसद रहेको कांग्रेसको मतभार ८,६१३ छ । प्रदेश सभातर्फ १७५ सदस्य जितेको कांग्रेसको मतभार ९,२७५ हुन्छ । संघ र प्रदेश दुवैतर्फ जोड्दा कांग्रेसको कुल मतभार १७ हजार ८८८ पुग्छ ।

प्रतिनिधिसभामा ७८ र राष्ट्रिय सभामा अध्यक्षसहित १७ रहेको एमालेको मतभार प्रतिनिधिसभा तर्फ ८,२६५ छ । प्रदेशसभामा १६२ सदस्य रहेको एमालेको प्रदेशसभातर्फ ८,५८६ मतभार छ । दुवै सभातर्फ जोड्दा १६ हजार ८५१ पुग्छ ।

राष्ट्रिय सभामा १६ सांसद रहेको माओवादी केन्द्रको प्रतिनिधिसभामा ३२ सिट छ । उसको प्रतिनिधिसभामा ४,१७६ मतभार छ । प्रदेश सभातर्फ देशभर ८२ सिट जितेको माओवादीको प्रदेशसभामा ४,३४६ छ । माओवादीको कुल मतभार ८,५२२ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा २० सिट जितेको छ । उसको मतभार १७४० छ । यो दलले प्रदेश सभाको चुनावमा भाग लिएको थिएन । उसको राष्ट्रिय सभामा प्रतिनिधित्व छैन ।

प्रतिनिधिसभामा १० र ८ सिट रहेको एकीकृत समाजवादीको संघीय संसदमा १,५६६ मतभार छ । एक जना स्वतन्त्र सांसद खिमलाल देवकोटा पनि नेकपा एकीकृत समर्थित हुन् । उनको मतभार एकीकृत समाजवादीमै जोड्दा १,६५३ हुन आउँछ । प्रदेशसभातर्फ देशभर २२ सिट जितेको नेकपा एकीकृत समाजवादीको प्रदेशसभा तर्फ १,१६६ छ । कुल २,८१९ मतभार देखिन्छ ।

राष्ट्रिय सभामा ३ सिट रहेको जसपाको प्रतिनिधिसभामा १२ सिट छ । जसको संघीय संसदमा १,३०५ मतभार छ । १९ प्रदेश सभा सदस्य रहेको जसपाको प्रदेशसभा तर्फ १,००७ छ । जसपाको कुल २,३१२ मतभार छ ।

प्रतिनिधिसभामा १४ सिट रहेको राप्रपाको प्रदेश सभामा २३ सिट छ । दुवैतर्फ जोड्दा राप्रपाको मतभार २४३७ छ ।

प्रतिनिधिसभामा ४ सिट जितेको लोसपाको राष्ट्रिय सभामा एक सिट छ । लोसपाको प्रदेशसभातर्फ ९ सिट छ । लोसपाको दुवै सभातर्फको कुल मतभार ९१२ मतभार छ । प्रदेशसभातर्फ १६ जितेको जनमत पार्टीको प्रतिनिधिसभामा ६ सिट छ । जनमतको कुल मतभार १,३७० छ ।

लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश सभामा मात्रै उपस्थिति रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का ११ जना प्रदेश सभा सदस्यहरु छन् । नाउपाले प्रतिनिधिसभामा ३ सिट जितेको छ । यो पार्टीको कुल मतभार ८४४ छ ।

प्रतिनिधिसभामा एक सिट र प्रदेशसभामा ३ सिट रहेको नेमकिपाको कुल मतभार २४६ छ ।

बागमती प्रदेशमा मात्रै उपस्थिति रहेको हाम्रो नेपाली पार्टीका २ प्रदेश सांसद छन् । जसको मतभार १०६ हुन आउँछ । प्रतिनिधिसभामा एक सिट रहेको राष्ट्रिय जनमोर्चाको मतभार ८७ छ । प्रतिनिधिसभामा स्वतन्त्र चुनाव जितेकाहरु ५ जना छन् । जसको मतभार ४३५ हुन्छ ।

मधेश प्रदेशका ६, लुम्बिनीका ३ र गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक/एक गरी जम्मा १२ जना छन् । जसको मतभार ६३६ हुन आउँछ ।





Source link

HamroAwaj

2022-12-25 20:46:26

Leave a Comment