राजनीति एक सपना – HamroAwaj


१० पुस, काठमाडौं । सबैथोक नियमित चलेको भए यतिखेर सपना राजभण्डारी गृहिणीकै भूमिकामा हुन्थिन् होला । श्रीमान् नवीन्द्रराज जोशीको राजनीतिक यात्रामा सघाउनु, घरपरिवार सम्हाल्नु उनको दैनिकी बनेको वर्षौं भइसकेको थियो ।

१४ फागुन २०७७ मा आएको ‘आँधीबेहरी’ले उनको जीवनको लय नै बदलिदियो । पूर्वमन्त्री नवीन्द्रलाई मस्तिष्कघात भयो । सपनाले अस्पताल पनि पुर्‍याएकी हुन्, तर उपचारकै क्रममा १३ चैत २०७७ मा जोशीको निधन भयो ।

सपनाको जीवनको लय परिवर्तन भयो । जोशी हुँदासम्म सपना घर सम्हाल्थिन्, जोशी राजनीति । तर नियतिले यतिखेर घर र राजनीति दुवैको जिम्मा सपनाको काँधमा बिसाएको छ । यो जिम्मेवारी कति कष्टप्रद छ भने ६ पुस बिहान छोरीलाई स्कुल पुर्‍याएर मात्र सपना कांग्रेस संसदीय दलको नेताको चुनावमा भोट हाल्न सिंहदरबार पुगिन् । भोट हालिसकेर सांसदहरू राजनीतिक गफमा अल्झिंदै चुनावी परिणामको प्रतीक्षा गरिरहँदा सपना भने काठमाडौंको बसन्तपुरस्थित याट्खा टोलमा रहेको घर पुगिसकेकी थिइन् ।

‘छोरीलाई स्कुल पुर्‍याउने र ल्याउने मैले नै गर्नुपर्छ’ जोशी जीवितै हुँदा यो जिम्मेवारी बाँडेर पूरा गरेकी सपना भन्छिन्, ‘छोरीलाई बुवाको कमी महसुस हुन दिनुभएन भनेर ।’

जोशीकै राजनीतिक विरासतका कारण उनी राजनीतिको वक्ररेखामा हिंड्न तयार भएकी हुन् । जोशीको निधन भएको १८औं दिनमा सपना, जोशीले सुरु गरेको कोभिड सुरक्षा सामग्री वितरणमा खटिएकी थिइन् । ‘भेटेका अधिकांश मान्छेले मलाई राजनीतिमा आउनुहोस् भने । मान्छेहरू जोशी सरको फोटो देखेर रोए’, भित्तामा झुण्ड्याइएको श्रीमान्को तस्वीरतिर हेरिन् सपनाले ।

जोशीका लागि आँशु बगाउने मान्छेहरू भेटेपछि सपनालाई लाग्यो, ‘उहाँको एसेट यही रहेछ । उहाँले बनाएर गएको सम्पत्ति भन्नु नै मान्छेसँगको सम्बन्ध रहेछ ।’

श्रीमान्ले बनाएको त्यही राजनीतिक, सामाजिक सम्बन्ध जोगाउनु, तिनको मलजल गर्नु आफ्नो कर्तव्य ठानिन् उनले । पार्टीका नेता-कार्यकर्ताले पनि राजनीतिमा आउनुपर्छ भनेर सल्लाह दिएपछि उनको हौसला बढ्यो । त्यसपछि सपना कांग्रेसको १४औं महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् ।

महाधिवेशनको प्रसंग कोट्याउनासाथ सपनाले फेरि जोशीलाई सम्झिइन्, ‘त्यो महाधिवेशनमा सह-महामन्त्री उठ्ने उहाँको योजना थियो ।’ जोशीलाई १४औं महाधिवेशनमा सजिलो होस् भनेरै सपनाले काठमाडौं-४ बाट आफ्नो सक्रिय सदस्यता काठमाडौं-८ मा सारेकी थिइन् । जीवनका सबै योजना त कहाँ पूरा हुन्छन् र ! सपना चित्त बुझाउँछिन् । जोशीले सहमहामन्त्री उठ्ने योजना बनाएको त्यही महाधिवेशनबाटै सपना कांग्रेस महासमिति सदस्य भइन् ।

***

सपनाका अनुसार बसन्तपुर याट्खा टोलको यो घरमा नवीन्द्रराज जोशी एक दिन मात्र बस्न पाए । जोशीको निधनपछि उनकी आमाले बाँसबारीकै घरमा बस्न सुझाएकी थिइन् । तर सपनाले नै बसन्तपुर एरिया छाड्न मानिनन् ।

‘कारण ?’ ‘यो कोर सिटी हो । रेसिडेन्सियल एरियामा जस्तो एक्लो फिल हुन्न । झ्यालमा एक्लै बसिरहँदा पनि मान्छेहरू के छ भाउजु ? कस्तो छ भाउजु ? भनेर सोध्छन् । पारिवारिक वातावरण छ ।’

जोशी बस्न नपाए पनि घरभित्र छिर्दासाथ सबैभन्दा पहिले भित्तामा टाँसिएको जोशीको ठूलो पेन्टिङमा आँखा जान्छन् । राजनीतिक कार्यक्रम, भेटघाट र चुनावी र्‍यालीबाट फर्केर घर छिरेपछि हरेक दिन सपना जोशीको तस्वीर हेर्छिन् । र भन्छिन्, ‘कहिलेकाहीं त लाग्छ, यो मान्छेले मलाई के-के बनाएर गयो ।’

‘सहनु पर्दोरहेछ, सहनुको विकल्प रहेनछ’ टिलपिल भइसकेका आँखा बन्द गर्छिन् सपना ।

काठमाडौंको जयबागेश्वरीमा जन्मिएकी सपनाका बुवा ‘फरेष्टर’ थिए । पञ्चायतको जागिरे भए पनि प्रजातान्त्रिक थिए । ‘बुवा डेमोक्र्याट हुनुहुन्थ्यो । जवाहरलाल नेहरूको फोटो थियो घरमा, उहाँले नेहरूका बारेमा हामीलाई सुनाउनुहुन्थ्यो’, सपना सम्झिन्छिन् ।

कांग्रेस नेतृ अमिता कपालीको सपनाको परिवारमा आउजाउ भइरहन्थ्यो । कपाली सपनाकी सानीआमालाई राजनीति सिकाउँथिन् । त्यही मेसोमा उनले पनि राजनीतिका बारेमा सुन्ने मौका पाइन् । रत्नराज्य कलेजमा पढ्दै गर्दा नेविसंघको मतदाता भइन् । प्रतिमा गौतम र सपना सहपाठी हुन् । दुवैलाई कांग्रेस नेता नरोत्तम वैद्य र पुण्य वैद्यले वडा तहबाट कांग्रेस प्रवेश गराए ।

कांग्रेस प्रवेश गरे पनि सपना सक्रिय राजनीतिमा थिइनन् । आफ्नो अध्ययनमै केन्द्रित थिइन् । २०४९ सालको स्थानीय चुनावमा नवीन्द्रराज जोशी उप-मेयर निर्वाचित भए । यही चुनावले जोशी र सपनाको सम्बन्ध जोड्ने कसीको काम गर्‍यो ।

‘अहिले जयबागेश्वरी क्षेत्र त्यतिखेर ८ नम्बर वडा थियो । त्यहाँ एउटा हरिजन टोल थियो’ सपना सम्भिmन्छिन्, ‘प्रतिमा र मैले त्यहाँ प्रौढ शिक्षा पढाउँथ्यौं । चुनावका बेला मान्छेहरू मिसले जहाँ भन्नुहुन्छ त्यहीं भोट हाल्छौं भन्थे । हामीले कांग्रेसलाई भोट हाल्नु भन्यौं ।’ यतिञ्जेलसम्म सपना र नवीन्द्रराज जोशीको भेट भएको थिएन ।

हरिजन टोलबाट आफूलाई आएको भोटबाट प्रभावित भएका जोशीले त्यसको कारण जान्न चाहे । कारण खोज्दै जाँदा सपनासम्म पुगे । रत्नराज्य कलेजबाट डिप्लोमा पढाइ सकेर बसेकी सपनासँग जोशी यति प्रभावित भए कि उनलाई तत्कालीन काठमाडौं नगरपालिकामा जागिरको अफर गरे । ‘उहाँले मलाई नगरपालिकामा पब्लिक रिलेशन अफिसरको जागिर गर्न भन्नुभयो । त्यही सिलसिलामा हाम्रो सम्बन्ध बाक्लियो’ सपना सम्भिmन्छिन्, ‘एक दिन उहाँले मलाई प्रेम प्रस्ताव राख्नुभयो । त्यतिखेर म २१ वर्षकी थिएँ ।’

सपना आफ्नो प्रेमका किस्सा धेरै उधिन्न चाहन्नन्, ‘यस्ता कुरा धेरै के सुनाउनु ? आफैंलाई गाह्रो हुन्छ ।’ प्रेमसम्बन्ध गहिरिंदै गयो । आफ्नो पढाइका लागि भनेर सपनाले नगरपालिकाको जागिर छाडिन् र त्रिभुवन विश्वविद्यालयमा पढ्न गइन् । जोशी र सपनाको प्रेम भने अटुट चलिरहृयो ।

‘हामीले विवाह गर्न खोज्यौं । तर उहाँको परिवारले नेवारको छोरी भनेर मानेन’ सपना सुनाउँछिन्, ‘मेरो परिवारले भने मानिसकेका थिए ।’ सपनालाई बुहारी बनेर जोशी परिवारमा भित्रिन १४ वर्ष लाग्यो । ‘प्रेम सम्बन्धको १४ वर्षपछि हाम्रो विवाह भयो’, सपनाको प्रतीक्षाको लामो घडी समाप्त भयो ।

विवाहपछि पनि सपना सक्रिय राजनीतिमा आइनन् । ‘उहाँ राजनीतिमा हुनुहुन्थ्यो, म घरगृहस्थीमा थिएँ । म राजनीतिमा लाग्नुपर्छ भन्ने नै भएन’, सपनाले सुनाइन् ।

१६ वर्षसम्म घर सम्हालिन्, जोशीलाई सरसल्लाह दिइरहिन्, अनि जोशीका सबै चुनावी र्‍यालीको नेतृत्व गरिन् । ‘हरेक चुनावी र्‍यालीमा म उहाँसँगै हुन्थें’ स्मृतिको पोको फुकाउँछिन् सपना, ‘नेवार समुदाय बढी भएका कारण म हरेक चुनावमा उहाँसँगै यो क्षेत्र डुल्थें ।’ यसरी डुलिरहँदा सपनाले आफू नै कुनै दिन यहाँको सांसद हुन्छु भनेर कल्पना पनि गरेकी थिइनन् । ‘जीवन यस्तै अनियमित घटनाहरूको जोड रहेछ’, सपना टिप्पणी गर्छिन् ।

४ मंसिरको चुनावका दौरान सपनाको पुरानो अनुभव काम लाग्यो । पुराना सम्बन्ध र चिनापर्ची सपनाको चुनावी अभियानमा जोडिए । त्यसो त सपनाले प्रत्यक्ष नै चुनाव लड्न चाहेकी थिइन् । तर गठबन्धनमा भागबण्डा मिलाउन काठमाडौं-८ एकीकृत समाजवादीलाई छाड्नुपर्ने भएपछि कांग्रेसले सपनालाई समानुपातिकमा राख्यो । त्यसो त जोशीको १३औं दिनको तिथिमा पुगेका कांग्रेस सभापति देउवाले सपनालाई भनेका थिए- ‘चिन्ता नगर, पार्टीले तिम्रो लागि केही न केही गर्छ ।’ नभन्दै उनलाई कांग्रेसले सांसद बनायो । आफूलाई सांसद बनाएर पार्टीले जोशीको योगदान र जोशीको परिवारले गरेको समर्पणको कदर गरेको सपनाको बुझाइ छ ।

प्रतिनिधिसभा सदस्य भइसकेपछि सपनाले आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको ठानेकी छिन् । राजनीतिक वातावरणमा घुलमिल हुने प्रयासमा छिन् । ‘पहिला सबै चिज उहाँले गर्नुहुन्थ्यो, अब मैले गर्नुपर्छ । राजनीतिक वातावरण पनि नयाँ लागिरहेको छ । सिक्दैछु’, सपना आफूलाई राजनीतिको सिकारुका रूपमा अथ्र्याउँछिन् ।

सपना सांसद भएकोमा सबैभन्दा खुसी छन् सासू र छोरी । किनकि जोशीको निधनपछि सुनसान भएको घरमा चहलपहल सुरु भएको छ । ‘घरको माहोल चलायमान भएको छ । जोशी सर हुँदा जत्तिको नभए पनि मान्छेहरूको आउजाउ बढेको छ, परिवारमा उहाँको न्यास्रो मेटाउने वातावरण बनेको छ’, सपना सुनाउँछिन् ।

आफू नवीन्द्रराज जोशीको श्रीमतीकै रूपमा राजनीतिमा आएकाले यसै क्षेत्रमा बढी केन्द्रित हुने उनको योजना छ । ‘मैले यही क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ, उहाँको बाटो पछ्याउँछु’, सपना आफ्ना हरेक कदम जोशीको पदचापमा राख्ने योजनामा छिन् ।

तर राजनीतिक यात्रा पुरुषका लागि जति सजिलो छ, महिलाका लागि त्यति सजिलो छैन । घरधन्दा र पारिवारिक जिम्मेवारीले महिलालाई कसोकसो अल्झाइरहन्छ । ‘महिलाका रूपमा परिवारका केही जिम्मेवारी हुन्छन्, त्यसमाथि म त सिंगल मदर हुँ, मलाई झन् बढ्ता जिम्मेवारी छ’ आफ्ना सीमितताबारे जानकार छिन् उनी, ‘ठूलो-ठूलो कुरा गरेर भन्नासाथ गर्न सजिलो छैन महिलालाई ।’ यो असहजता बीच राजनीतिक यात्रामा निस्किएकी सपना, जोशीकै राजनीतिक सपना पूरा गर्ने ध्याउन्नमा हुनेछिन् ।

तस्बीर : चन्द्र आले





Source link

HamroAwaj

2022-12-26 08:15:15

Leave a Comment