लक्ष्मण अधिकारी जसले कञ्चनपुरमा ४२ वर्षपछि भुवा पर्व जगाए – HamroAwaj


११ पुस, दोधारा चाँदनी । प्राचीन युद्ध कौशलको झल्को दिने अर्थात् भुवा नाच प्रदर्शन कञ्चनपुरमा ४२ वर्षपछि सञ्चालनमा आएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ का पूर्व राष्ट्रिय कबड्डी खेलाडी लक्ष्मण अधिकारीले ४२ वर्षपछि भुवा नाच जागृत गराए । ६ वर्ष पहिले रोजगारीका लागि युएईको राजाधानी अबुधाबी पुग्नुभएका उहाँ विदेशबाट फर्केर संस्कृति संरक्षणको अभियानमा लागेका थिए ।

अबुधाबीमा सुरक्षा गार्डको काममा रहेकै बेला उहाँलाई आफ्नो मौलिक संस्कृति भुवा पर्वले लोभ्यायो । रोजगारीकै क्रममा अबुधाबी रहेका उनले युट्युबको माध्यमबाट सुदूरपश्चिम प्रदेशको बझाङ, अछाम र बाजुरामा मनाइने भुवा पर्वको बारेमा जानकारी लिए ।

‘यहाँका सात जना मिलेर हामीले पहिलोपटक अबुधाबी मै भुवा नाच प्रदर्शन गर्‍यौँ’, उनले भने, ‘महेन्द्रनगरमा भुवा नाच हुन्थेन, मैले यहाँ आएर सुरुआत गरेँ ।’ सानै उमेरदेखि सुदूरपश्चिमको मौलिक संस्कृतिबाट प्रभावित भएका उहाँले विदेशमै अन्य सात नेपालीसँग मिलेर अबुधाबीमा युटुबमा हेरेर अभ्यास गरेका थिए ।

‘युट्युबबाट सिकेर मलगायत यहाँका अन्य सातजना साथीले अभ्यास गर्‍यौँ’, उनले भने, ‘भुवा पर्वको मौलिकता र भुवा कसरी खेलिन्छ भनेर सिक्यौँ त्यसपछि यो प्रतिको मोह झन बढ्यो ।’ विदेशमा अभ्यास गरिसकेपछि उनी भुवा पर्वको संरक्षण र प्रवद्धनको अभियानमा लागे ।

तीन वर्ष अगाडि भुवा पर्वकै अवसर पारेर एक महिना बिदा लिएर नेपाल फर्किएर भुवा नाच देखाएको उनले बताए । ‘नेपाल फर्केर मैले ४२ वर्षपछि महेन्द्रनगरमा भुवा पर्व जागृत गराएँ, त्यसअघि यहाँ हुन्थेन’, उनले भने, ‘त्यो बेला यहाँका सङ्घसंस्थाहरूसँग मिलेर औपचारिक कार्यक्रम मात्रै गरेँ, सुरुमा त मान्छे जुटाउनै मुस्किल पर्‍यो।’

महेन्द्रनगरमा ४२ वर्षपछि भुवा पर्व जगाएका उहाँले त्यसपछिका वर्षहरूमा निरन्तर भुवा नाच घरघर पुगेर खेल्न थालेको बताए । ‘महिनौँसम्म घर घरमा गएर भुवा खेल्ने र आशिर्वाद दिने चलन लोप भइसकेको थियो’, उनले भने, ‘भुवा खेल्ने मान्छे पाउन धेरै चुनौती थियो, पाका पुस्ता उमेरले खेल्न नसक्ने र युवालाई नआउने ।’

उनले युवापुस्तालाई भुवा पर्व खेल्नका लागि प्रेरित मात्रै गरेनन्, प्रशिक्षणसमेत दिएर अभ्यास गराए । त्यसपछि भुवा खेल्न पछिल्लो पुस्ता आकर्षित बन्यो । अहिले यो अभियानमा ५०÷६० जना पुगेको उनको भनाइ छ ।

पछिल्लो समय उनी दुबईएको लाहुर्‍या नामले पनि चर्चित छन् । विदेशमै रहेका बेला दुबईएको लाहुर्‍या नामक देउडा गीत सार्वजनिक गरेपछि उनी चर्चामा आएका हुन् । संस्कृति संरक्षण अभियान सँगसँगै उनले देउडा गीत सिर्जनामा लागेका छन् । उनले आफ्नै शब्द सिर्जनामा छ वटा गीत सार्वजनिक गरिसकेका छन् भने १३ वटा गीतमा शब्द भरेका छन् ।

‘हाम्रो संस्कृति नै हाम्रो पहिचान हो त्यसैले संस्कृति संरक्षणमा सबैले लाग्नुपर्छ’, उनले भने, ‘पछिल्लो समय युवापुस्ताको पनि चासो बढेकाले यसले परम्परा पुस्तान्तरणमा सहज भएको छ।’

सुदूरपश्चिमको पहाडी जिल्ला बझाङ, अछाम र बाजुराबाट महेन्द्रनगर बसाइँ सरिआएका परिवारले यो पर्व मनाउँदै आएका छन् । पुस महिनाको औँसीदेखि पूर्णिमासम्म भुवा पर्व खेल्ने प्रचलन रहेको छ । त्रेतायुगमा पाण्डव र कौरबबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले जीतको खुसीयाली मनाएको दिनदेखि यो पर्व सुरु भएको किंवदन्ती रहेको अधिकारी बताउँछन् ।

‘यसमा सबै जातजातिका मान्छे सहभागी हुन्छन्, समाजको एकता एवं आपसी सद्भावसमेत यो पर्वले झल्काउँछ’, अधिकारीले भने, ‘भुवा नाचका क्रममा नाङ्गो र धारिलो तरबार, खुकुरी र ढालसहित पौराणिक युद्धकला प्रदर्शन गरिन्छ।’ उनले यो पर्वमा लोकभाकामा पौराणिक रामराज्यका गाथा गाउँदै शुभकामना साटासाट गर्ने प्रचलन रहिआएको बताए । भुवा पर्वमा रातभर आगो बालेर देउडा, भारीखेल, भस्सोलगायत खेल छुट्टाछुट्टै खेल्ने चलन छ ।

यो पर्व हराउन लागेका बेला विदेशबाट फर्केर नयाँ पुस्तालाई पनि पर्वबारे जानकारी दिएको यहाँका स्थानीय डम्बर पाण्डेयले बताए । ‘अहिले युवाहरू जुर्मुराएका छन्, संस्कृति पुस्तान्तरण हुन थालेको छ’, उनले भने, ‘यो पर्वबारे कसैलाई जानकारी नै थिएन । विदेशबाट फर्केर अधिकारी यो अभियानमा लागेपछि अहिले युवाहरू पनि आकर्षित बनेका छन् ।’

त्यसैगरी स्थानीयवासी सञ्जय अधिकारी भने आफूले पहिलो पटक यो पर्वबारे जानकारी पाएको बताए । ‘म २५ वर्षको भएँ, मलाई यो पर्वबारे जानकारी नै थिएन’, उनले भने, ‘ ‘अहिले हामीले यो कसरी खेलिन्छ भनेर प्रशिक्षण लिएर यो वर्षदेखि घर–घरमा गएर खेल्न थालेका छौँ ।’

भुवा पर्वको अवसरमा प्रदेश सरकारले सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा दिनुपर्ने उनको भनाइ छ ।





Source link

HamroAwaj

2022-12-26 20:55:50

Leave a Comment