६ महिनामा बिदा भएका स्वास्थ्यमन्त्री खापुङ : आए, जागिर खाए, गए – HamroAwaj


१२ पुस, काठमाडौं । मन्त्रालयबाट विदाई हुँदै गर्दा मंगलबार निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले भने, ‘म स्वास्थ्यमन्त्री हुँदा पनि धेरै खुसी थिइनँ र बिदाई भएर जाँदा पनि निराश भएको छैन ।’

करिब ८ महिना उही मन्त्रालयमा राज्यमन्त्री र त्यसपछिका ६ महिना मन्त्री भएका खापुङका लागि त्यो ‘पदोन्नति’ को खुसी पनि थिएन र कार्यकाल सकिएको पीडा पनि रहेन ।

किनकि उनले खुसी हुनेगरी कुनै काम गर्न सके, न जाँदा निराश हुनुपर्ने कारण थियो । उनको कार्यशैलीलाई नजिकबाट नियाल्ने हो भने उनका लागि यो दुवै स्वभाविकै थिए ।

२०७८ असोज २२ मा नेकपा एकीकृत समाजवादीबाट राज्यस्वास्थ्यमन्त्री समालेका खापुङले त्यसपपछि करिब ६ महिना स्वास्थ्यमन्त्रीको भूमिका निर्वाह गरे ।

तर, राज्यमन्त्री अनि मन्त्रीकै रूपमा पनि मन्त्रालय सम्हाल्दा उनले सम्झन वा सम्झाउनलायक काम भने केही गरेनन् ।

विदाई हुँदै गर्दा मन्त्री खापुङले आफ्ना कार्यकालमा भएका केही उपलब्धी पनि सार्वजनिक गरे ।

बिदा हुँदै गर्दा आफ्नो कार्यकालमा भएका ६२ बुँदे कामको फेहरिस्त पत्रकारलाई त बाँडे तर ती मन्त्रालयका नियमित काम थिए । न कुनै नयाँ योजना थिए न कुनै नीति ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरू खापुङलाई ‘जागिरे’ मन्त्रीको रूपमा पाएको बताउँछन् ।

‘उहाँको कार्यकालमा कुनै नयाँ काम भएन । भइरहेको कामलाई निरन्तरता दिने बाहेक अन्य काम भएको महसुस गर्न सकिएन,’ एकजना स्वास्थ्य अधिकारी भन्छन्, ‘उहाँ आउनुभयो, जानुभयो । स्वास्थ्य क्षेत्रले कुनै फड्को मार्न सकेन ।’

तर, उनलाई सम्झना छ, ‘उहाँको कार्यकालमा भने अघिका मन्त्रीको जस्तो कर्मचारी– सरूवा बढुवाको प्रेसर भने गर्नुभएन, नियमित रूपका काम भए । छोटो समयमा जति गनुभयो राम्रै भयो ।’

खापुङ नेतृत्वमा आएपछि स्वास्थ्य क्षेत्रको नीतिगत प्रणालीमा केही सुधार हुने आशा गरिएको थियो । दीर्घकालिन स्वास्थ्य सुधारको काम गर्ने र मन्त्रालयको ‘कमाण्ड’ समाल्ने अपेक्षा थियो । तर, उनको पछिल्लो कार्यसम्पादन तथा मूल्यांकनमा नियमित काम र कोरोना खोप कभरेज बढाउन बाहेक अन्य कुनै सुधारका काम भने भएनन् । पछिल्लो कार्यसम्पादन हेर्दा दीर्घकालीन स्वास्थ्य सुधारतर्फ अपेक्षा अनुरुप प्रतिफल भने पाउन नसकिएको मन्त्रालयका अधिकारी बताउँछन् ।

‘स्वास्थ्यमा दीर्घकालिन नीतिगत कामहरु धेरै गरिने खालका थिए । तर, कोरोना खोपमा केही राम्रो काम गरे पनि उहाँको कार्यकाल औसत नै रह्यो,’ मन्त्रालयका अर्का एक उच्च अधिकारी भन्छन्, ‘नीतिगत सुधारको काममा भने उहाँको कार्यप्रगति शून्य नै रह्यो ।’

अवसर पाए, गरेनन्

गत असारदेखि डेंगु संक्रमण व्यापक रुपमा फैलियो । यही बिचमा ५५ हजारभन्दा बढी संक्रमित र ८० भन्दा बढीको मृत्यु भयो । त्यसभन्दा अगाडी काठमाडौं लगायतका छेउछाउका जिल्लामा समेत हैजा फैलियो । तर, मन्त्री खापुङ डेंगु तथा हैजा नियन्त्रणमा भन्दा बढी विदेश भ्रमणमा केन्द्रित रहे ।

मन्त्रालय अनि मन्त्रीको कामको गति भने उस्तै मन्द तालमा चल्यो । नियन्त्रणमा मन्त्रीको उदासिनताले ‘बेपत्ता’ छन् भन्दा फरक नपर्ने स्थिति रह्यो । मन्त्रीको खापुङको सुस्तताले चौतर्फी आलोचना तथा मन्त्रालयका कर्मचारीहरु निरास र चिन्तित भए ।

डेंगुले स्वास्थ्यमन्त्री खापुङलाई काम गर्ने एक अवसर जुराइदिएको थियो । ‘आम नेपालीको स्वास्थमा संवेदनशीलता देखाएको भए उनको लोकप्रियता आकासिन्थ्यो, तर यो काम स्वास्थ मन्त्रालयले मात्र गर्न सक्दैन भनेर पन्छिदा त्यो अवसर गुम्यो,’ मन्त्रालयका अर्का अधिकारी थप्छन् ।

डेंगु नियन्त्रण बाहिर गएको भन्दै असोज पहिलो साता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रोकथामका लागि डेंगुलाई ‘प्रकोप’ घोषणा गर्न प्रस्ताव गरेको थियो । त्यसअघि मन्त्रालयका नियमित बैठकमा पनि स्वास्थ्य अधिकारीले डेंगु नियन्त्रणको लागि स्वास्थ्य मन्त्री खापुङसामु केही प्रस्ताव पेश गरेका थिए । खापुङले ती प्रस्तावलाई गम्भीरता साथ लिएनन् ।

‘त्यसका लागि त मन्त्रालयमै घनिभूत छलफल हुनुपर्ने थियो । अनि, मन्त्रीज्यूले त्यही अनुसार प्रस्ताव मन्त्रिपरिषद्मा लैजानुपथ्यो,’ मन्त्रालयका अर्का एक अधिकारी प्रश्न गर्छन्, ‘मन्त्रालयमा आफ्नो गुटका कर्मचारीका मात्रै कुरा सुन्ने काम गरियो ।’

मन्त्रीको कमजोर नेतृत्व र अभिभाकत्वले स्वास्थ्य क्षेत्र झन् थला पर्दै गएको कर्मचारीहरु बताउँछन् । उहाँ जस्ता अपरिपक्व नेतृत्व र कार्यशैली हुने हो भने स्वास्थ्य क्षेत्रले ठूलो क्षति बेहोर्नुपर्ने जनस्वास्थ्यविज्ञ डा. बाबुराम मरासिनी बताउँछन् ।

‘स्वास्थ्य क्षेत्रका विज्ञहरुले पनि मन्त्रीको सूचीमा नाममात्रै बढाएको भन्दै उनलाई सम्झिन लायक यो कार्यकालमा कुनै पनि काम नभएको अनुभव सुनाउँछन् । ‘उहाँले के गर्नुभयो भन्ने कुराहरु त सम्झिनैपर्ने हुन्छ । खासै काम भएका छैइनन् । डेंगु माहामारीलाई पनि कुनै वास्ता गर्नुभएन । काम गर्ने योजनाहरुलाई प्रधानमन्त्री समक्ष लैजानुसक्नुपर्ने थियो,’ डा मरासिनी भन्छन्, ‘मन्त्रालयका अधिकारीहरु आफै भन्छन्, आनुभयो, चिया खानु भयो जानु भो !’

मन्त्रालयका पूर्व विशेषज्ञ सुशीलनाथ प्याकुरेलका अनुसार उनको कार्यकालमा सरुवा बढुवामा हुने चलखेलहरु भने खासै भएनन् । उनको सम्झनामा आए अनुसार प्रमुख विशेषज्ञ खाली हुनासाथ नयाँ राख्नैपर्ने परम्परा बसाए । यो भने राम्रो पाटो हो ।

‘यति हुँदा हुँदै पनि गर्नुपर्ने अरू धेरै कामहरू थिए । तर जुन गतिमा काम हुनुपर्ने थियो त्यो हुन सकेन । उहाँको कार्यकालमा यस्तोचाहिँ भयो है भन्ने कामहरू भने केही भएन,’ उनले भने ।

पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मीले मन्त्री खापुङको कामलाई अलि फरक तरिकाले विश्लेषण गर्छिन् । उनको नजरमा गर्नुपर्ने कामहरु पनि थिए तर, त्यो गर्नका लागि राजनीतिक वातावरण अनि समय पनि चाहिन्छ ।

‘आउने जाने क्रम चलिरह्यो । गर्नुपर्ने कामहरू त थिए नि । नीति, नियमका कुरा कर्मचारी प्रशासनका कुरा थुप्रै कुरा पहल गर्नुपर्ने थियो तर ती सब केही भएनन्,’ डा. रेग्मी थप्छिन् ।

समग्रमा भन्नुपर्दा मन्त्री खापुङको कार्यकाल अन्य मन्त्रीजस्तो विवादित नभए पनि केही ठोस काम भने गर्न नसकेको पूर्वविशेषज्ञ डा. प्याकुरेलको भनाई छ ।

‘स्वास्थ्य सेवाको पाटोमा धेरै काम गर्नुपर्ने थियो । तर, त्यसमा ध्यान पुगेन,’ डा. प्याकुरेल थप्छन्, ‘सल्लाहकारले राम्रो सल्लाह दिन सकेनन् कि । आफैंले परिपक्व निर्णय गर्न क्षमता राखेनन् ।’

खापुङ जस्ता कमजोर नेतृत्व र कार्यशैलीका कारण स्वास्थ्य क्षेत्रले विगतमा हासिल गरेका स्वास्थ्यका उपलब्धि समेत क्रमशः गुम्दै गइरहेको जनस्वास्थ्यविद्हरु टिप्पणी गर्छन् । संघीय संरचना अनुसार संरचना निर्माण, कर्मचारीको व्यवस्थापन, नीति निर्माण, कानुन तथा अन्य कार्यक्रमको विकास र त्यसको कार्यान्वयन गर्ने कुनै मन्त्रीले ध्यान नदिएको उनीहरुको भनाई छ ।

‘अहिले पुनः स्वास्थ्यका कर्मचारी समायोजनमा पुनः समस्या आएका छन् । धेरै स्थानीय तहले तलब खुवाउन नसक्ने भन्दै फर्काएका छन् । यो बिषयलाई उहाँले संघीय मन्त्रालयसँग समवन्य गरेर समस्या सुल्झाउन सक्नुहुन्थ्यो,’ डा. रेग्मी भन्छिन्, ’अघिल्ला मन्त्री जस्तो बदनाम पनि हुनुभएन । केही सम्झनलायक काम पनि भएन ।’

नेपालका सरकारी स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा पाउन नसकिने अवस्था अहिले पनि उस्तै छ । सरकारी अस्पतालमा राम्रो सेवा नपाइने, पालो पर्खिनुपर्ने, स्वास्थ्य उपकरणहरु नभएर निजीमै जानुपर्ने बाध्यता छ । निजी स्वास्थ्य संस्थामा उपचार गर्नुपर्दा सर्वसाधारणले अत्यधिक धेरै रकम खर्च गर्नुपर्ने बाध्यता छ । सरकारी अस्पतालमा बेड नपाएर वा निजी उपचार गर्न नसकेर निम्न वर्ग तथा मध्यम वर्गले मनुपर्ने तितो यथार्थ कायम नै छ ।

खापुङ लगायतका यसभन्दा अगाडीका मन्त्रीले पहलकदमी नलिँदा बालबालिकाको खोप, निःशुल्क औषधि, रोग नियन्त्रण, बाल तथा आमा सुरक्षा कार्यक्रम, स्वास्थ्य बिमालगायतका स्वास्थ्यका सबै कार्यक्रममा असर परेको छ ।

स्वास्थ्य क्षेत्रका कार्यक्रम र विकासमा मन्त्रीले नै चासो नदिँदा त्यसको प्रत्यक्ष असर जनताको स्वास्थ्यमा देखिन थालेको छ । विगतमा उन्मूलन र निवारण भइसकेका तथा हुन लागेका रोगहरु समेत फेरि देखिन थालेका छन् ।

यसले भविष्यमा जनस्वास्थ्यमा गम्भीर संकट निम्त्याउने खतरा बढेर गएको डा. मरासिनी बताउँछन् । डेंगु, मलेरिया, कालाजार, दादुरा, जस्ता रोगहरु फेरी फैलिन थालेको छ । त्यसका साथै नसर्ने रोगको प्रकोप बढ्दै गएको छ ।

ठूला र जटिल रोगको उपचारमा नागरिकले घरखेत नै बेच्नुपर्ने अवस्था आएपछि यसअघिका सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएको थियो । तर, बिमा कार्याक्रमको कार्यान्वयन तर्फ चासो नदिँदा यो कार्यक्रम नै असफल हुने खतरामा पुगेको छ ।

‘अस्पतालहरुमा भएका उपकरण खरिदका बेथिति हटाउन कुनै पहल भएन । कुशासनलाई सुशासनमा परिणत गर्न सक्नुपथ्र्यो । सरकारी अस्पतालमा समयमा नखुल्ने, सरकारी अस्पतालमा सेवा नपाइने, एक्सरे, सिटी स्क्यान सेवा बन्द कायम नै छन्,’ डा. मरासिनी भन्छन्, ‘निजी अस्पतालमै गएर उपचार गर्नुपर्ने बाध्यतामा सुधार भएन । त्यसलाई समाधान गर्न कुनै चासो भएन ।’

त्यसका साथै, कारबाही गर्नुपर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई उनले तालाचाबी समेत सुम्पिए । उपकुलपति गिरीको पालामा कोरोना अस्पताल अनियमितता, आईसीयू उपकरण खरिद विवाद, अल्ट्रासाउन खरिद अनियमितता, औषधि खरिदको बेथिति लगायतका विषयमा अनियमितता भएको आरोप लागेको थियो ।

मन्त्रालयकै छानबिन प्रतिवेदनले उनलाई दोषी ठहर गर्दै डा.गिरीलाई कारबाही गर्नुपर्ने सिफारिस थियो । तर, मन्त्री खापुङले गत भदौंमा डा. गिरीकै स्वार्थका लागि प्रतिष्ठानका वरिष्ठ अध्यापकलाई पन्छाएर डा. जगतलाई निर्देशकको जिम्मेवारी दिए । डा. गिरीलाई अनुकुल हुनेगरि उपकरण खरिद गर्ने सहमति गरे ।

‘कारवाही हुनु पर्ने डा. गिरी नै एकाएक पुरस्कृत भए,’ प्रतिष्ठानका एक उच्च अधिकारीले अनलाइनखबरसँग भने,’ डा. गिरीलाई नै संरक्षण गर्न खोजेको देख्दा यसमा खापुङको सफा नियत देखिँदैन ।’

जाँदा जाँदै खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताए । मंगलबार स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने, ‘मेरो ६ महिने कार्यकालमा नयाँ सुरुवात नभए पनि कैयन उपलब्ध भने भएका छन् ।’

उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणका तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत प्रशंसा गरेको बताए ।

उनले नीति, रणनीति र कानुन तर्जुमा, पूर्वाधार निर्माणमा, कोरोना महामारी, हैजा र डेंगु महामारी रोकथामा तथा नियन्त्रण र सेवा प्रवाह तथा सेवा विस्तारमा भएका उपलब्धि महत्वपूर्ण भएको दावी पनि गरे ।





Source link

HamroAwaj

2022-12-27 20:22:30

Leave a Comment