केटी त उही पो रहिछ ! – HamroAwaj


टकटक … … । ठमेल, गल्कोपाखाको डेरामा एकाबिहानै हाम्रो गाउँ गीतानगरका अल्के साइँला काका ढोकामा आइपुगे । शनिबार, बिदाको दिन म सुतिरहेको थिएँ । पल्लो कोठामा भाइ र बहिनी पनि उठेका थिएनन् ।

‘सानु, मलाई हतार छ । तेरो बाले चिट्ठी पठाउनुभएको छ, ला ।’

चिट्ठी थमाएर कोठाभित्र छिर्दै नछिरी उनी गई पनि हाले ।

मैले बाको चिट्ठी खोलें र वाचन गर्न थालें ।

छोरा सानु (घरगाउँमा मलाई चिनाउने नाम सानु), दिनाङ्कः वैशाख, २०४८

शुभाशीर्वाद ।

तेरो बिहेको लागि मेघौली खत्र्यौलीतिरबाट कुरा आएको छ । खानदान राम्रो रहेछ । गोत्र पनि मिल्छ । तीन दाजुभाइबीच एउटी बहिनी रहिछन् । उही काठमाडौं त्रिचन्द्र कलेजमा बीएस्सी प्रथम वर्षमा पढ्ने रहिछन् । नाम सदा रे ! केटी हेर्नु र खबर गर्नु । बिहे गर्न अब ढिलो गर्नुहुन्न छोरा ।

भाइ र बहिनीलाई पनि शुभाशीर्वाद छ ।

तिमीहरूलाई सदा माया गर्ने प्यारो बा

चिट्ठी पढेर मैले कोठाको चारैतिर हेरें र मनमनै भने केटाको अब बिहे हुनेभयो । बा बुढाले खानदान बुझिहाल्नुभएछ । केटी पनि राम्रै होली ।

‘भाइ !’ मैले उसलाई उठाएँ र बाको चिट्ठी पढ्न दिएँ ।

भाइले सरर्र चिठ्ठी पढ्यो र भन्यो, ‘अब मेरो पालो पनि खुल्नेभयो ।’

हामी दाजुभाइ जोडले हाँस्यौं ।

के भयो ? बहिनी पनि आँखा मिच्दै उठिन् र चिट्ठी पढिसकेर रमाउँदै उफ्रिन थालिन्, ‘माइली भाउजू पनि आउने हुनुभयो ।’

‘केटीसेटी हेरेको छैन, मन पर्छ–पर्दैन, आउँछे तेरो भाउजु ?’ मैले बहिनीको खुसीमा पानी खन्याइदिंदै भनें ।

‘भोलि हेर्नुस्, हुन्छ भन्दिनुस्, भैगो’ बहिनी रमाउन छोडेकी थिइनँ ।

त्रिचन्द्र कलेज नेपालको जेठो र इतिहास बोकेर खडा भएको कलेज । रानीपोखरी डिलमा, घण्टाघरलाई साथमा लिएर ।

पढ्ने विद्यार्थी बाहेक कति केटाहरू बिहे गर्ने भनेर केटी हेर्न कलेजमा आए होलान्, पहिले पनि । चउरभरी केटाकेटीहरू छिरलिएका थिए । आकाश सफा थियो । जेठ महिना, चर्को घाम, गर्मी हप्प थियो । चउर किनारका ज्याकरान्डाका रूखहरू नयाँ पात पलाएर गजधम्म थिए । रूखको शीतल छहारीमा विद्यार्थी गुजुमुज्ज बसेर गफगाफ गरिरहेका थिए । म सरस्वती सदनतर्फको गेटबाट घर्बराएको मन लिएर लुसुक्क पसें ।

बीएस्सी प्रथम वर्षमा पढ्ने सदालाई भेट्नु थियो । ‘चिन्नुहुन्छ ?’ केटीहरूको हूलमा गएर मैले मसिनो स्वरमा सोधें ।

हाहाहा गर्दै केटीहरू हाँसे । मैले आफ्नो लवाई तलदेखि माथिसम्म हेरें । ड्रेसअप त राम्रै थियो । तैपनि म लाजले रातो भएँ ।

‘सदा यहीं छ । हामीमध्ये एकजना हो । चिन्नुस् आफैं ।’

पहिले नै सल्लाह गरे झैं केटीहरूले मलाई हाँस्दै प्रश्न तेर्स्याए ।

म लाजले परेसान भएँ । सबैको अनुहारमा नजर दौडाएँ । कसैलाई पनि यही हो भन्न सकिनँ ।

‘कठै । लोक सेवा आयोगको प्रश्नभन्दा कठोर प्रश्न पर्‍यो कि कसो, सरलाई ।’ केटीहरू हल्लिंदै झन् जोडले हाँस्न थाले ।
म रातो अनुहार लिएर कलेजबाट निस्किएँ ।

शाखा अधिकृत भएपछि मलाई बिहे गर्नको लागि चौतर्फी दबाव थियो । कलेजमा केटी हेरेर बालाई जवाफ पठाउनुथियो ।

छोराको बिहे गर्ने उमेर बढ्दै गएकाले बा चिन्ता गरिरहनुहुन्थ्यो । बाको पीडा मैले काठमाडौंमा बसेर अनुभव गरिरहेको थिएँ । सदालाई हेर्नु र बालाई जवाफ पठाउने कामलाई महत्व दिए पनि काम फत्ते गर्न भने मलाई कठिन भइरहेको थियो ।

‘दाजु केटी हेर्नुभयो त ?’ भाइले कोठामा पस्नेबित्तिकै प्रश्न तेर्स्यायो ।

मैले केटीहरूको रेगिङ्गले भागेको घटना सुनाएँ । भाइबहिनी मरीमरी हाँसे । म पनि उनीहरूसँग सँगसँगै हाँसें ।

अर्कोदिन फेरि म कलेज पुगें । एक ठाउँमा केटाहरू मात्र थिए । म विस्तारै त्यतैतिर मोडिएँ ।

‘कसलाई खोज्नुभयो तपाईंले ?’ कुनै एक विद्यार्थीले मलाई सोध्यो । त्यो विद्यार्थीको प्रश्नले मलाई ठूलै राहत मिल्यो । मैले उसलाई पनि ‘सदा चिन्नुहुन्छ’ भनेर अस्तिकै प्रश्न दोहोर्‍याएँ ।

‘कसलाई ? कसलाई रे ?’ हूलबाट एकजना केटा उठ्यो र मसँग अलि नराम्रो व्यवहार देखायो ।

‘छोड्न यार । तँ चिन्छस् भने चिनाइदे, होइन भने किन दहलफसेल ?’ मसँग पहिले प्रश्न गर्ने केटाले उसलाई थामथुम पार्‍यो ।

‘ऊ त्यो केटीहरूको ग्रुपमा सेतो कुर्ता र कालो सुरुवाल, कालै सल ओढ्ने सबैभन्दा राम्री केटी सदा हो’, गुजुमुज्ज भएर बसेका केटीहरूतिर ओठले देखाउँदै त्यो केटाले भन्यो ।

केटाहरू खितितिति हाँसे ।

‘धन्यवाद !’ भन्दै म केटीहरूको थुप्रोतिर लस्किएँ । त्यो केटा पनि मेरो पछिपछि आयो ।

केटीहरू भएको ठाउँसम्म पुग्न नपाउँदै टिरिरिङ्ग … … घण्टी लाग्यो । केटीहरू हतारहतार कक्षा कोठाभित्र छिरे । म वाल्ल परें ।

‘अब पाँच बजे ।’ केटो घाँटी करक्क पार्दै मलाई सुनाएर कक्षातिर लाग्यो ।

पाँच बजेसम्म कुर्ने कि अफिस जाने त ? ओहो बाले कति कठिन काम दिनुभएको रहेछ । म रनभुल्ल परें ।

तीन दिन भइसक्यो अफिसबाट काम छ भन्दै निस्केको । क्यान्टिनमा चिया पिउँदै कुर्न नै मैले श्रेयस्कर ठानें र चिया पिउन थालें । चिया पिउँदै थिएँ, अघिको केटा त्यहीं आइपुग्यो ।

‘किन बसिराखेको तपाईं ? उठ्नुस् ।’ ऊ मलाई ताउरमाउर पो गर्न थाल्यो । चिया पिएर सिध्याउन पनि दिएन । पाखुरा सुर्किंदै मेरो पाखुरा तान्न थाल्यो ।

म विना अवरोध कलेजको परिसरबाट बाहिर निस्किएँ । केटो मलाई गेट कटाएर मात्रै भित्र फर्कियो ।

म कलेजको गेट बाहिर पर्खेर बसिरहें । गाडीहरू सडकमा हतार हतार कुदिरहेका थिए । रानीपोखरीमा दरबार हाईस्कुलको लामो छायाँ देखिन थाल्यो । घण्टाघरले टङटङ पाँचको घण्टी बजायो । कक्षाकोठाबाट केटाकेटी हुरुरु निस्किएको मैले पर्खालमाथि घाँटी तान्दै हेर्दा देखें । मेरा आँखाहरू सेतो कुर्ता र कालो सुरुवाल लगाएकी केटी खोज्न तल्लीन भए । तर भेट्टाएनन् । कलेज खाली जस्तै भयो । म कलेजभित्र नै छिरें र खोजें, कहीं कतै कोही भेटिएन । निरास मन लिएर कोठातिर लम्किएँ ।

‘आज के भयो नि दाजु ?’ बहिनी हाँस्न तयार थिइन् ।

‘आज त झण्डै एउटा केटाले गोदेको नि !’ मैले आफ्नो निरीहपन देखाएँ ।

कठै दाजुलाई त सारै गाह्रो पो भयो त । बहिनी पनि व्यंग्य गर्न थालिन् ।

म हारेको जुवाडे जस्तो झोक्राइरहें ।

बा जवाफ पर्खेर बसिरहनुभएकोले सदालाई मैले भेट्टाउनु नै थियो । र मान्छे भेट्टाएको बेलामा खबर पनि पठाउनुथियो ।

खबर नपठाउँदा बाले मन पराउनुहँुदैनथ्यो । हुलाकबाट चिट्ठी पठाउँदा दशैं अगाडि पुग्नेवाला थिएन । दशैंमा त हामी नै घर गइहाल्थ्यौं ।

विद्यार्थी बाहेक अरू मानिसले पनि त्रिचन्द्र कलेज भएर नै जमल घण्टाघर गरी उत्तर–दक्षिण वारपार गर्न पाइने सुविधा भएकाले जो पनि कलेजभित्र जान सक्थे । म कलेजभित्र जानु पनि कुनै अस्वाभाविक थिएन । म पाँचौं पटक पनि कलेज पुगें । उही पुरानो जिम्मेवारी पूरा गर्न ।

केटाकेटीहरू बास्केट बल खेलेको हेर्ने मैदानछेउ झुरुप्प बसेर आफ्नो आफ्नो टिमलाई समर्थन गर्दै हुटिङ गरिरहेका थिए । म बास्केट बल हेरे झैं गरेर भीडमा राम्रा राम्रा केटीहरू खोज्न तल्लीन भएँ । तर कोही राम्रा भेटिएनन् । मेरो विपरीत उभिने केटीहरूले मलाई हेर्दै कानेखुसी गरेझैं लाग्यो । म टाढै, लाजले तातो र रातो भएँ ।

बास्केटबल सकियो । विद्यार्थी लाखापाखा लागे ।

‘सदालाई खोज्नुभएको हो ? हिजो सेतो कुर्ता लगाउने केटी सदा थिइनँ । सदा अहिले तपाईंलाई गेटमा पर्खिरहेकी छे । उसले आज खैरो कुर्ता र सेतो सुरुवाल लगाएकी छे’ गुलाफी रङ्गको कुर्ता र नीलो सुरुवाल लगाएकी अग्ली–अग्ली पाराकी केटी मलाई सन्देश दिएर अर्को ढोकातिर लागी ।

यत्तिको राम्री केटी भए त हुन्छ । म गुलाफी रङ्गको कुर्ता र नीलो सुरुवाल लगाएकी केटी गएको हेरिरहें ।

हत्तेरी, म हतारहतार उसले देखाएको गेटतिर लम्किएँ । गेटमा केटाहरू मात्र झुरुप्प थिए । केटीहरू कोही पनि थिएनन् ।

उसले भने झैं मैले खैरो कुर्ता र सेतो सुरुवाल लगाउने केटीलाई चारैतिर खोजें । कतै देखिनँ । मलाई सूचना दिने केटीले ढाँटे जस्तो लाग्यो । म त्यही केटी खोज्न थालें । गुलाफी रङ्गको कुर्ता र नीलो सुरुवाल लगाउने केटीले पनि नेटो काटिसकेकी थिई ।

दिक्क मान्दै कलेजबाट बाहिर निस्कँदैथिएँ । फेरि अस्तिकै केटो साथीहरू लिएर बाटो छेक्न आइपुग्यो ।

‘केटी खोज्न कलेज कलेज धाउँदो रहेछ । केटी फकाउने दलाल पो हो कि क्या हो यो त ?’ केटाहरू ममाथि जङ्गिन थाले ।

‘धत्, के कुरा गर्‍या ? बिहेको लागि केटी हेर्न आको नि’ मैले संक्षिप्त प्रतिवाद गरें ।

तैपनि, केटाले मेरो कठालो समात्यो र तान्दै लगेर गेट बाहिर हिंडिरहेको गाडीमा नै पुग्ने गरी घँचेटिदियो । धेरै प्रयास गर्दा पनि मैले सदालाई भेट्न र चिन्न सकिनँ । सबै घटनाको साक्षी त्रिचन्द्र कलेज र ज्याकरान्डाका रूखहरूलाई राखेर म फर्कें ।

‘आज त भेट भयो नि सदासँग ! राम्री रहिछे !’ खाना खाने बेलामा मैले भाइ र बहिनीलाई निर्धक्कसँग सुनाएँ ।

‘जे होस् केटी हेर्न सफल हुनुभयो नि’, भाइबहिनी दुवै खुसी भए ।

मैले मुस्कुराएको नाटक गरें ।

भोलिपल्ट, गाउँ जाने अग्ले साइँला काका गल्कोपाखामा भेटेर मैले उनीसँग एउटा चिट्ठी पठाएँ । चिट्ठी भित्र लेखें ।

मितिः २०४८ जेठ

आदरणीय बुबा,

सेवामा साष्टाङ्ग दण्डवत् ।

यहाँ हामी सबै आराम छौं । हजुरको पनि सुस्वास्थ्यको कामना गर्दछौं । हजुरले भन्नुभएको केटी हेरें । ‘बा, केटी राम्री रहिछे, कुरा चलाउनुहोला ।’ बाँकी भेटमा भन्ने नै छु ।

हजुरको प्यारो छोरा,

सानु

दशैं आयो । दशैंमा हामी घर गयौं । बिहेको लागि केटी हेर्न भनेर त्रिचन्द्र कलेजको चक्कर लगाएको सम्झिएँ । बालाई सत्य कुरा कसरी भन्ने ? चिट्ठीमा लेखेको कुरालाई कसरी पुष्टि गर्ने ? मेरो मन डराइरहेको थियो ।

दशैंको चहलपहलले गाउँलाई रङ्गीन बनाएको थियो ।

सानु ! तैंले कुरा चलाउनु भनेपछि एकदिन हामी लमीको घरमा बस्यौं । एकसरो कुराकानी पनि भयो । एकादशीको दिनमा भरतपुरमा केटी हेर्ने निधो भएको छ ।

बाको जानकारीले म झसङ्ग भएँ । कुरा धेरै अगाडि बढिसकेको थाहा पाएपछि मलाई केटी हेर्न नसकेको थप कुरा गर्ने आँट पनि आएन ।

‘हस् बा’, मैले बाको कुरा मानें ।

आफूले खनेको खाल्डोमा आफैं परेको देखेर म मुस्कुराउँदै साथीहरू भेट्न गाउँ छिरें । गाउँमा दशैंको रौनक अवर्णित थियो । दिनहरू बित्दै गए ।

‘आयु द्रोण सुते … …’ भन्दै टीका लगाउनुभयो । घाँटीमा देवीको ध्वजा राखिदिंदै ‘यसपाला तेरो बिहे होस्’ भन्दै बाले दशमीको दिन आशिष दिनुभयो ।

‘खै केटी … …’ मैले मुखमा आएको प्रश्न पनि रोकें । म बालाई बेखुसी पार्न चाहन्नथें । बालाई गोडा ढोगेर उठें र एक्लै मुस्कुराएँ ।

दशैं रमाइलो गरेर बित्यो ।

एकादशीको दिन बिहे गर्ने कुराले मात्रै पनि म प्रफुल्ल थिएँ । दाह्री काटें । नुहाएँ । कपडामा आइरन गरें । कपडा लगाइसकेपछि ऐना अगाडि उभिएँ । पुष्ट छाती, चिल्ला गाला, कालो कपाल, गहुँगोरो अनुहार । पाँच फिट चार इन्च हाइट ।

आज किन किन आफूलाई संसारको सबैभन्दा राम्रो युवकको रूपमा देखें । ‘ल केटी त मख्खै हुने भई’, एक्लै बर्बराएँ ।

‘ओहो, दाजु त सिंगारिनुभएछ नि त’ बहिनी जिस्क्याउन आइपुगी ।

‘नकरा भाग्’ पिटौंला जस्तो गरेर उसलाई भगाएँ ।

एक एक गर्दै काकाहरू हाम्रो घरमा जम्मा हुनुभयो । बा, दाजु, काकाहरू लगायत दश जना भएर हामी दिउँसो एघार बजे साइकलमा भरतपुर पुग्यौं । लमीले हाम्रो स्वागत गरे ।

‘ल भित्र बस्दै गरौं’ हामीलाई आमन्त्रण गरे । ढाँटेको मन भएर होला मेरो मन ढुकढुक गर्न थाल्यो ।

‘उहाँहरू आइपुग्नुभएको छैन ?’ भित्र पस्दै दाजुले प्रश्न गर्नुभयो ।

‘खत्र्यौलीतिरको बस सेवा राम्रो छैन नि ! आउँदै हुनुहुन्छ होला’, लमीले हामीलाई आश्वस्त तुल्याउँदै भुल्याउन चियाको अफर गरे ।

म भने ढुक्क भएँ ।

हामीले निकैबेर कुर्‍यौं । तीन राउण्ड चिया त पियौं । देशको राजनीतिक गफ गर्‍यौं । केटीतिरका कोही पनि आइपुगेनन् ।

लमी पटक–पटक झ्यालको पर्दा हटाउँदै बाहिर हेर्दथे । बेलाबेलामा बाहिर निस्कन्थे, गेटसम्म पुग्थे र फर्कन्थे ।

‘केटी राम्री छ भन्थ्यो, आउँदैनन् क्या हो’ बा पनि लमी झैं छट्पटाउनुभएको थियो ।

मैले फेरि त्रिचन्द्र कलेजमा केटी देख्दै नदेखी राम्री छे भनेको घटना सम्झँदै भनें, ‘बा आइहाल्छन् नि ! बस ढिलै भएको होला ।’

केहीबेर पछि एकजना पाको महिला र एउटा अधबैंसे केटोको साथमा लमी भित्र छिरे । ‘उहाँ केटीको आमा’ भन्दै पाको महिलालाई चिनाए ।

‘नमस्कार, हजुरहरू सबैलाई’ बुढीआमाले सबैलाई आदरपूर्वक नमस्कार गरिन् र पछि हटिन् ।

‘भाइ चाहिं केटीको माइलो दाजु’ लमीले केटालाई चिनाए ।

‘नमस्कार’ केटाले हात जोड्दै भने ।

‘नानी त ?’ दाजुले सोध्नुभयो ।

‘नानी त दाँत दुखेर आउन सकिनछन्’ लमीले कुरो प्रष्ट्याउँदै भने ।

‘कस्तो नराम्रो भयो, हजुरहरूलाई’ बुढीआमाले क्षमाशील शब्द राखिन् ।

यति राम्री बुढीआमाकी छोरी पक्कै राम्री हुनुपर्छ । म थोरै आश्वस्त भएँ । बालाई सत्य कुरा लुकाएकोमा पछुताउनु नपरोस् भन्ने कामना मनमनै गरिरहें ।

‘केही छैन, अर्कोदिन बसौंला, सञ्चो भएपछि’ बाले बिहेको कुरालाई जीवित राख्ने उद्देश्यले भन्नुभयो ।

‘भै हाल्छ नि !’ सबैको एउटै मत आयो ।

‘खत्र्यौली नै गएर हेरे हुन्न ? मलाई अफिस जानुपर्ने हुन्छ’ मैले झिनो स्वरमा आफ्नो तर्क राखें ।

‘हुन्छ, किन नहुनु’ केटीको दाजुले सहमति दिए ।

‘केमा जाने त, बाबु ?’ बाले जिज्ञासा राख्नुभयो ।

सबैजनाले गाडीसाडी पाइन्छ कि भनेर यताउता प्रयास गर्नुभयो । समाधान निस्किएन ।

‘केटीको दाइलाई लिएर म नै जान्छु नि त मोटरसाइकलमा’ मैले प्रस्ताव राखें ।

‘ठिक हो, ल जा, काम साँचेर किन राख्ने ?’ काकाले मोटरसाइकलको चाबी दिंदै भन्नुभयो ।

मैले केटीको दाइलाई पछाडि राखेर मोटरसाइकल हुँइक्याएँ । ‘भरतपुरबाट खत्र्यौली करीब उन्नाइस–बीस किलोमिटर होला । बाटो उबडखाबड पनि छ । विस्तारै जाऊँ है’ मैले मोटरसाइकलको गति कम गर्दै भनें ।

‘हुन्छ, हुन्छ’ केटीको दाइले सहमति दिए ।

मंगलपुर हुँदै रामपुर पुगेपछि मैले सुस्तरी भनें, ‘मलाई तपाईंको बहिनी राम्रो लागेन भने तपाईंहरूलाई नमज्जा हुन्छ कि ?’

‘बहिनीलाई नराम्रो भन्ने त चान्सै छैन । हाम्री बहिनी लाखमा एक छ । तपाईं ढुक्क भएर हिंड्नुस् । बरु बहिनीले मन पराइनन् भने तपाईं एक्लै फर्किन त सक्नुहुन्छ ?’ केटीका दाइले मलाई नै अप्ठेरोमा पार्दै प्रश्न गरे ।

‘हाहा’ मैले हाँस्दै मोटरसाइकलको एक्सिलेटर बटार्दा हामी शारदानगर, चनौलीहुँदै ज्योतिनगर पुगिसकेका थियौं ।

‘अब हामी दिव्यनगर आइपुग्यौं । एकैछिनमा घर पुग्छौं’ केटीका दाइले मलाई सचेत गराए ।

‘ए । छिट्टै पुगियो त’ मैले भनें ।

‘ल ल रोक्नुस् । घर आयो’ उनले घर देखाए ।

घर अगाडि लगेर मैले मोटरसाइकल रोकें । एउटा केटी खाटबाट उठेर भित्र दौडेको बाहिरैबाट देखें । शायद केटी यही होली । मनमनै लख पनि काटें । हामी भित्र पस्दा रेडियोमा क्रिकेट म्याचको कमेन्ट्री बजिरहेको थियो ।

‘भाउजु ! ल मैले बिहान घरै ल्याउँछु भनेर गएको मान्छेलाई ल्याएको छु’, केटीको दाइले घर भित्र पस्दै भने । र मलाई खाटमा बस्न अनुरोध गरे ।

म खाटको छेउमा ढसक्क बसें ।

‘म भाउजु’ भन्दै एउटी अधबैंसे महिलाले आएर मलाई नमस्कार गरिन् । गिलासमा पानी राखिदिइन् र भित्र छिरिन् ।

एकछिन घरमा शून्यता छायो ।

‘ल यहाँ बस्नु ।’ भाउजुले एउटा काठको कुर्सी एक–ढेड मिटर पर मेरो सामुन्ने राखेर भित्र पसिन् ।

म केटीलाई पर्खिएर बसिरहें । आँखाहरू ढोकातिर थिए । गुलाफी रङ्गको कुर्ता र नीलो सुरुवाल लगाएर केटी ढोकाबाट विस्तारै बाहिर निस्की ।

हँ ! केटी त उही पो रहिछ । मलाई झुक्याउने । त्रिचन्द्र कलेजको चउरमा गुलाफी रङ्गको कुर्ता र नीलो सुरुवाल लगाएर । म सन्न भएँ !





Source link

HamroAwaj

2022-12-31 15:22:17

Leave a Comment