शंकरराज : जसले अन्तर्राष्ट्रिय विमानस्थलसहित आधुनिक पोखराको खाका कोरे – HamroAwaj


१७ पुस, पोखरा । पोखरामाथिको आकासबाट जहाज ओर्लिँदै गर्दा उनी भने सम्झनाको आकासमा उकालो लागे । गहिरा आँखाले एक झमट पोखरा हेरेपछि मुसुक्क हाँसे । एकाएक प्रा.डा. शंकरराज पाठक ९० वर्षको बुढ्यौलीबाट ४० वर्षको ऊर्जाशील जीवनमा फर्किए ।

त्यो बेलाको थोरै बस्ती, साना र सीमित बजार, थोरै मानिस बस्ने पोखरा आँखामा नाच्यो । ठूला–ठूला खुला पाटनै पाटनमा हिँडिरहेको सम्झिए । विकासको खाका नै नकोरिएको पोखराको नक्सा तरोताजा भयो ।

फेवा किनार रत्न मन्दिरमा बसेर राजा वीरेन्द्र शाहले आफ्नो सर्वप्रिय पोखराबारे एक दिन सोधे, ‘यो सुन्दर पोखरामा धेरैभन्दा धेरै टुरिस्ट कसरी ल्याउने होला, केही सोच्नुप¥यो, मिस्टर पाठक ।’

शंकरराजले भने, ‘हुन्छ, इन्टरन्यासनल एयरपोर्ट बनाऔं ।’

वीरेन्द्र आश्चर्यको भावमा बोले, ‘इन्टरन्यासनल एयरपोर्ट ?’

शंकरराजले हजुर भनेर टाउको हल्लाए ।

दुई हातले चस्माको खुट्टा समाएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हेरेपछि शनिबार शंकरराजले मुस्कुराएर भने, ‘रोपेको बिउ फल्नै पनि ५० वर्ष लागेछ ।’

अनि फेरि पोखराको सहर, बजार नियाले । घनाबस्ती र पूर्वाधार हेरेर गम खाए । अनि निर्क्यौल गरे, पोखराको विकास त भयो तर प्लानिङअनुसार भएन ।

यिनै दुई विषय पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना र त्यो बेलाको व्यवस्थित पोखराको खाका सम्झिरहँदा पाठक उडिरहेको जहाज ल्याण्ड भयो ।

****

शंकरराज अमेरिकामा भिजिटर प्रोफेसर भएर क्लास लिएर फर्किएका थिए । राजा वीरेन्द्रले भेटेर सोधे, अमेरिकामा के पढायौ ? उनले इकोनोमी डेभलपमेन्ट पढाएको सुनाए । नेपालमा केही गर्नुपर्छ है भन्दै राजा वीरेन्द्र छुट्टिए ।

केही दिनमा वीरेन्द्रले साहित्यकार तथा चित्रकार लैनसिंह बाङ्देलसँग उनलाई पनि प्रज्ञा प्रतिष्ठानका लागि आवश्यक नीति निर्माण गर्न लगाए । यो कामपछि वीरेन्द्रले फेरि बोलाएर भने ‘अब प्रशासन जानु पर्छ है ।’

२०१६ सालमा सरस्वती क्याम्पस स्थापना गरेर प्राज्ञिक क्षेत्रमा लागिरहेका शंकरराजले राजा वीरेन्द्रले प्रशासनमा जानुपर्छ भन्नुको आशय बुझेनन् । पर्सिपल्ट राजा वीरेन्द्रले शंकरराजलाई भने, ‘पोखरा जाू र प्रशासन चलाउनू ।’ अनि तत्कालीन गण्डकी अञ्चलको अञ्चलाधीश बनेर शंकरराज पोखरा आए । यो २०२९ सालको कुरा हो ।

२०२७ सालतिर त्रिभुवन विश्वविद्यालयको तर्फबाट क्याम्पसको अवस्था अध्ययन गर्न पहिलो पटक पोखरा आएका पाठक दोस्रो पटकमा अञ्चलाधीश भएर आए ।

‘राजाले जानू भनेपछि जहाज चढेर पोखरा आएँ । राष्ट्र बैंक चोकबाट अगाडि लागेपछि प्रशासन भनिएको सानो घर थियो र त्यसमा तगारो लगाइएको थियो,’ पाठकले भने, ‘अहो ! अहिले त पोखराले काया फेरेछ, कहाँ यस्तो थियो त, घरैघर र सडकै सडक ?’

राजा वीरेन्द्र पोखरा आउँदा पाठकलाई टाउन प्लानिङ कमिटीको अध्यक्ष बनाइदिए । पोखराको टाउन प्लानिङ भएपछि र पोखराको न्युरोड खोलेपछि वीरेन्द्रसँगको कुराकानीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्ने शंकरराजले बताएका थिए ।

राजा वीरेन्द्रले यातायात मन्त्रीसँग कुरा गर्न सुझाव दिए । त्यतिबेला यातायात मन्त्री थिए, प्रयागराज सुवाल । पाठकले सुवालसँग यसबारे छलफल गरे । राजा वीरेन्द्रले पनि सुवाललाई यसबारे भनिसकेका रहेछन् ।

‘मैले राजा वीरेन्द्रलाई भनेको थिएँ । किन टुरिस्ट काठमाडौंमा मात्र आउनुपर्छ ? विमानस्थल बनेपछि सिधै पोखरै आउन् न । त्यसो हुँदा टुरिस्ट पनि बढ्छन् र पोखरामात्रै होइन, गण्डकी धौलागिरिकै विकास पनि हुन्छ,’ पाठकले भने, ‘मन्त्री सुवाल, भवन विभागका इन्जिनियर गौरीनाथ रिमाल र प्राविधिकहरु जग्गा हेर्न आए ।’

प्राविधिक टोलीले सबैभन्दा उपयुक्त मझेरीपाटनमै भएको निश्कर्ष निकाल्यो । जग्गा अधिग्रहण गर्न एसियाली विकास बैंकको ऋण सहयोगमा राजा वीरेन्द्रले एक करोड रुपैयाँ पठाइदिए । पाठक स्थानीयलाई अधिग्रहणका लागि जग्गा दिन राजी बनाउन हिँडिहाले ।

‘बिहानदेखि बेलुकासम्म जनताको घरघरमा गएर भन्यौं, बजारमा चलिरहेकै भाउ दिन्छौं । एयरपोर्ट बनेपछि फाइदा हुन्छ । स्थानीय राजी हुँदै गए । हामीले पनि जनताको बारी–बारी हिँड्दै नाप्दै मुआब्जा दिँदै गर्न थाल्यौं,’ पाठकले भने, ‘अहिले बरु मुआब्जा भनेको कम दिनुपर्छ भन्ने छ । त्यो बेला हामीले चल्ती भाउभन्दा राम्रो दिएर पैसा नमास्नू अर्को ठाउँमा घर, घडेरी जग्गा किन्नू भनेर बुझाउँथ्यौं ।’

यसरी पाठककै नेतृत्वमा पोखरामा विमानस्थल निर्माणका लागि ३ महिनामा ३२ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । जग्गा त तयार हुँदै गयो तर निर्माण कसरी थाल्ने भन्ने एकीन थिएन । पाठकका अनुसार ऋणधन गरेर भए पनि त्योबेलै बनाउने मुडमा थिए, राजा वीरेन्द्र ।

पृथ्वी राजमार्ग खुलिसकेको थियो । मुग्लिन र दमौली मादीको पुल पनि बनेर सकिएपछि पोखरा–काठमाडौं र अन्यत्र पनि दिन/रात गाडी चल्न थाले । त्यही बेला जहाजबाट पोखरा आउने पर्यटकको संख्या ह्यात्तै घट्यो ।

‘संयोग कस्तो प¥यो भने एसियाली विकास बैंक (एडीबी) विमानस्थलमा लगानी गर्नेबारे बुझ्न पोखरा आएको थियो तर विमानस्थलमा यात्रुको संख्या ह्वात्तै घटेको थियो । उनीहरुले आफूहरु आएकै दिनको तथ्यांक हेर्दा पनि कम देखियो,’ पाठकले भने, ‘भइरहेकै एयरपोर्टमा यात्रु घटेको देखेपछि ऊ ब्याक भयो । बिस्तारै मान्छेको ध्यान कम हुँदै गयो ।’

त्यो बेला उनै पाठकले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर देखेको सपना झण्डै ५ दशकपछि बल्ल पूरा भएको छ । आइतबार सो विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नु अघिल्लो दिनमै पाठक पोखरा आइपुगेका छन् । यसै अवसरमा पाठकलाई पोखरामा विशेष अभिनन्दन गरिंदै छ ।

अंग्रेजी नयाँ वर्षको सेलिब्रेसन गरिरहेको पोखराको लेकसाइडमा शनिबार अनलाइनखबरसँग गफिँदै ऊ बेलाको पोखरा सम्झेर पाठक नोस्टाल्जिक बने । ‘पोखराले काया फे¥यो । त्यो एयरपोर्टसहित पोखराको हरेक विकासलाई व्यवस्थित गराउने योजना थियो, हुन सकेन कि ! तर ढिलै भए पनि बन्यो, बहुत खुसी लागेको छ,’ पाठकले भने, ‘त्यो बेलामा मैले सोचेको विमानस्थल आज पूरा भयो, मैले राजा वीरेन्द्रलाई यति यतिबेला सम्झिरहेको छु ।’

उनी अगाडि भन्छन्, ‘विकासमा पुस एन्ड पुल भन्ने हुँदो रहेछ । बल गरेर, पुस गरेर पोखराको विकास गरेको, अहिले मलाई पोखराले पुल गरिरहेको छ, तानिरहेको छ, बोलाइरहेको छ ।’

आधुनिक पोखराको जग

राजा महेन्द्रलाई जस्तै वीरेन्द्रलाई पनि मन पर्ने सहर पोखरा हरेक सालजस्तो आइरहन्थे । महेन्द्रले रानी रत्नको नाममा बनाएको रत्न मन्दिरमा आएर गीत, कवितामा रमाउनु, संस्कृति हेर्नु, प्रकृतिसँग हराउनु राजा वीरेन्द्रको सोख थियो ।

शंकरराजलाई अञ्चलाधीश बनाएर पठाएपछि उनी पोखरा आएका थिए । उनले पोखरा टाउन प्लानिङ कमिटी बनाए र त्यसको अध्यक्ष शंकरराज पाठकलाई बनाउँदै वीरेन्द्रले भने, ‘यो सुन्दर पोखरालाई विकास र सुविधाले अझै सुन्दर बनाइदिनू ।’

शंकर ती दिन सम्झिन्छन्, ‘उहाँलाई पोखराको असाध्यै प्रेम थियो । त्यो प्रेमले मलाई ऊर्जा भर्थ्यो ।’ भवन विभागकै सहयोगमा पोखराको भौतिक विकास योजना म्याद तयार पार्न इन्जिनियर गौरीनाथ रिमाल नै झिकाइए ।

शंकरराजको सबैभन्दा ठूलो सारथि बनेर आइपुगे, प्लानर पदमबहादुर क्षेत्री । बेलायतबाट सहरी व्यवस्थापन पढेर फर्केका योजनाविद् क्षेत्रीले पोखरालाई व्यवस्थित बनाउन पाठककै नेतृत्वमा योजना पार्न लागे ।

‘डा. हर्क गुरुङलाई पनि हामीले पोखरा नै झिकाएर छलफल गर्ने, योजनामा सुझाव माग्ने गरेका थियौं,’ पाठकले भने, ‘नेपालमै ल्याण्ड युजको पहिलो प्रयोग त्यही योजनापछि भयो ।’

पोखराको भौतिक विकास योजना–३१ तयार भयो । त्यो योजनाले सरकारी, संस्थान, संवैधानिक कार्यालयहरु कहाँ बस्ने, औद्योगिक क्षेत्र कहाँ बनाउने, बस्ती विकास कहाँ र कसरी गर्ने, पुरातात्विक तथा सांस्कृतिक क्षेत्र तोक्ने, स्वास्थ्य, शिक्षा, कृषि जस्ता पोखरामा हरेक क्षेत्र तोकिएको छ ।

‘त्यो योजनामात्रै ठिक ढंगले लागु भइदिएको भए आज पोखरा अर्कै हुन्थ्यो,’ पाठकको दाबी छ । २०३१ सालको त्यही योजनापछि नै पाठकको नेतृत्वमा आधुनिक पोखराको जग नै हाल्ने काम भएको हो ।

पोखरा न्युरोड होस् कि बसपार्क, पोखरा रंगशाला होस् कि औद्योगिक क्षेत्र, बेगनास सडक होस् कि विभिन्न कार्यालय, संस्थान विभाजन गरी निर्माणको खाका कोर्ने कामको नेतृत्व पाठकले नै गरेका छन् ।

पाठक भन्छन्, ‘सरस्वती क्याम्पसदेखि जहाँ–जहाँ काम गरें, विना स्वार्थ जनता र समाजका निम्ति गरें । आज पोखराले रथारोहण नै गर्ने गरी सम्झिएको छ । अरु त भविष्य र इतिहासले सम्झिएला, देश बनिदिए त्यही खुसी र सन्तोष हुनेछ ।’

पाठक जनताको आवश्यकता बुझेका, आउँदो समयको मागलाई पनि परिकल्पना गरेका र आफ्नो भनाइ वा कामबाट दायाँ–वायाँ नभइ, दबाव र प्रभावविना काम गर्ने हक्की व्यक्तिका रुपमा चिनिन्छन् । हक्की पनि कतिसम्म पनि फेवा किनारमा अवैधानिक रुपमा अटेर गरेर बनाइरहेको मन्त्रीकै घर भत्काइदिए ।

फेवा किनार हेमा गृहनजिकै विना अनुमति घर बनाइरहेको पाठकले थाहा पाए । सोधखोज गर्दै जाँदा पत्ता लागेछ, त्यो घर अर्थराज्यमन्त्री भेषबहादुर थापाले बनाइरहेका हुन् । पाठकले कसको अनुमति लिएको बनाइएको हो ? भनेर पत्र लेख्दै काम रोक्न भने । तर, राजाबाटै अनुमति लिएर बनाएको मन्त्री थापाले बताए ।

राजा वीरेन्द्र पोखरा आउँदा यसबारे उनीहरुको छलफल भयो । राजाको अनुमतिले बनाएको भनिएको संरचनाबारे बरु उल्टो वीरेन्द्रले प्रश्न उठाए । ‘मैले निर्माण रोक्न भनेर ५/७ चोटी लेखिसकेको पत्र सरकारलाई देखाएँ,’ पाठक भन्छन्, ‘भोलिपल्ट डोजर लगेर घर फालिदिएँ ।’

पोखरामा पाठकलाई कसैले द्रष्टाका रुपमा चिन्छन् त कतिले हक्की स्वभावको पोखरा निर्माणको उपमा पनि दिने गरेका छन् । उनी आफैं भने, ‘राजाको नियुक्ती खाएर जनताप्रति बफादार हुने व्यक्ति हुँ ।’

पोखराको फराकिलो सडक पाठक नेतृत्वकै प्रयोग र प्रयत्नबाट सम्भव भएको हो । ल्याण्ड पुलिङ अवधारणालाई कार्यान्वयन गरिएको यो नै पहिलो र सबैभन्दा वैज्ञानिक योजना भएको पाठकको दाबी छ ।

१ सय फिटको बाटो बनाउने र दायाँ/वायाँ २ सय मिटरको घडेरी बनाएर सडक बनाउन जग्गा जाने सबैलाई अगाडि नै पाउने दिने गरी व्यवस्था मिलाइएको थियो ।

३ सय फिटलाई ३३/३३ मा बाँड्दा ६६ प्रतिशत घडेरीको रुपमा जग्गाधनीलाई नै फिर्ता गर्ने गरी न्युरोड बनेको पाठकले बताए । ‘कुनै पनि व्यक्तिको जग्गा ५ मिटरभन्दा कम हुने छैन, यदि कम भयो भने बिना पैसा ५ मिटर पु¥याइदिन्छु भनेर मनाएँ । यो काम हुँदैन धेरैले भनेका थिए, आज नमूना भयो,’ पाठकले भने, ‘सबैको चित्त बुझेपछि डोजर लगाइदिउँ भनेर जनतालाई नै सोधें । अनि डोजर लगाइदिएँ ।’

न्युरोड खुल्नेबित्तिकै सत्ता मूल्य जग्गा किनबेचको खेल चलेको पाठकले चाल पाए । अनि उनले मालपोतलाई तत्काल भनेर रोकिदिए । ‘सस्तोमा जग्गा हत्याउने खेलले त फेरि स्थानीय जनता नै मर्कामा पर्छन् भनेर रोक्यौं । ३ सयमा किनेको जग्गा हातकै ३ सय पाइयो भनेर बेच्न थाले,’ पाठकले भने, ‘म त इकोनोमीको पनि स्टुडेन्ट, सप्लाई कम भएपछि डिमाण्ड स्वाभाविक बढ्छ भन्ने थाहा थियो । पछि हातकै ९ सय भएपछि खुला गरिदियौं । ९ सय हुँदै २४ सयसम्म पुग्यो १२ सयमा किनेको घर अब १२ लाख प¥यो भन्न थालिहाले । चकाचक भयो ।’

स्थानीयको विरोध नभएको भए पृथ्वीचोकदेखि चिप्लेढुंगासम्ममात्रै होइन, यस्तै सिधा र फराकिलो सडक बगरसम्म पु¥याउने त्यो बेलाको योजना पाठकले सुनाए । त्यो भइदिएको भए पोखराको स्वरुप नै अर्कै हुने थियो । ‘अहिले सबै पछुताइरहेका छन् भन्ने मैले सुनिरहेको छु । त्यो बेलामा दिएको भए अञ्चलाधीश पाठकले बनाइहाल्थ्यो भन्ने गरेको सुन्छु,’ उनी भन्छन् ।

त्यो बेला न्युरोडजस्तै सिधा सडक बनाइएको बेगनास सडक पनि हो । तर, पृथ्वी राजमार्गबाट सिधै बेगनास तालसम्म सडक बनाउने योजना पाठक नेतृत्वले थाल्दा स्थानीय सडकमै सुतेका थिए । ‘सिधा सडक लान पाइँदैन भनेर सुत्छन् । पछि मैले बोलाएर सम्झाएँ, आज तपाईंहरु सुत्नुभाछ, भोलि पछुताउनुहुन्छ लेखेर राख्नुस् भनेपछि उनीहरु दिन राजी भए र सिधा सडक बनेको हो,’ उनले भने ।

उनका अनुसार विश्व खाद्य संस्थानको कार्यक्रम फुड फर वर्क भन्ने संस्थाले मकै दिएको थियो । उनकै नेतृत्वमा त्यही मकै बाँडेर डुम्रेदेखि बन्दीपुर र डुम्रेदेखि बेंसीसहर सडक खनिएको थियो ।

२९ सालदेखि ६ वर्ष पोखरामा अञ्चलाधीश भएर काम गरेका पाठकले पोखरेलीको मन जितेका छन् । ‘पाठककै नेतृत्वमा आधुनिक पोखराको जग हाल्ने काम भएको हो । जुन उहाँहरुले बनाएको सहरी विकास योजना त्यो पनि कार्यान्वयन हुन सकेको भए पोखरा धेरै व्यवस्थित हुने थियो,’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले भने, ‘पाठकजीजस्तो प्रशासक न अगाडि भए, न पछाडि ।’

पाठकले पोखराको औद्योगिक क्षेत्र शिलान्यास गरेर ९ महिनामा काम सकाएर फेरि उदघाटन पनि उनैले गरेका थिए । पोखराको विकासको खाका कोर्ने र इँटा थप्ने काम गरेका शंकरराजले पोखरापछि जनकपुरमा पनि अञ्चलाधीश भएर काम गरेका थिए ।

अपाङ्ग सघंको अध्यक्ष अध्यक्ष भएर काम गरेका पाठक नेतृत्वमा काठमाडौंमा समाजसेवाकै माध्यमबाट अर्थोपेडिक अस्पताल खुलेको छ । नेपाली–अंग्रेजी पहिलो शब्दकोष लेखेका शंकरराज त्रिभुवन विश्वविद्यालयका उपकूलपतिसमेत भए । तर, विश्वविद्यालयमा राजनीति घुसाएर नियुक्ती तथा स्थायी गर्न दबाव दिइएको भन्दै २०४६ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा राजीनामा दिए ।

पाठक भन्छन्, ‘सरस्वती क्याम्पसदेखि जहाँ–जहाँ काम गरें, विना स्वार्थ जनता र समाजका निम्ति गरें । आज पोखराले रथारोहण नै गर्ने गरी सम्झिएको छ । अरु त भविष्य र इतिहासले सम्झिएला, देश बनिदिए त्यही खुसी र सन्तोष हुनेछ ।’





Source link

HamroAwaj

2023-01-01 07:54:11

Leave a Comment