‘संगीत सिकाइ मात्र होइन, भोगाइ पनि हो’ – HamroAwaj


काठमाडौं । हरेक व्यक्तिले जीवनमा मीठो सपना देखेको हुन्छ, भविष्यको स्वैर कल्पना गर्दै । तर सपना पूरा गर्न सजिलो हुन्न, त्यसका लागि संघर्ष गर्नुपर्छ, त्याग गर्नुपर्छ, समय र परिस्थिति पनि मिलाउनुपर्छ ।

सुनिल गिरीले सानैदेखि गायक बन्ने सपना देखे । ५-६ कक्षामा पढ्दादेखि नै रेडियोमा गीत सुनेको आधारमा आफैं गीतका शब्द कापीमा कोर्थे । पढ्नमा पनि राम्रो विद्यार्थी थिए, तर उनको मन गीत-संगीतमा रमाउँथ्यो । रेडियोमा बज्ने नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, अरुण थापाका गीत उनलाई कण्ठस्थ हुन्थ्यो ।

कतै गीत छुट्ला कि भनेर उनी गुन्द्री, रेडियो र किताब सँगै बोकेर हिंड्थे । पढ्नुपर्छ भन्ने त थियो, तर उनी सबै काम आधा-आधा गर्थे, पढ्ने र गीत सुन्ने ।

‘घरमा त कोही हुनुहुन्थेन संगीत क्षेत्रमा लागेको । मेरो प्रेरणा नै रेडियो थियो, त्यहाँ बज्ने अग्रज कलाकारका गीत खुब सुन्थें,’ सुनिल सुनाउँछन्, ‘आफ्नो लगाव भएको कारण यसमा नै लाग्नुपर्छ भन्ने सोच बाल्यकालमै आएको थियो ।’

अनलाइनखबरको गफ स्टेसनसँग गफिंदै सुनिलले संगीतमा लाग्न घरबाट खास ‘सपोर्ट’ त्यसबेला नपाएको सुनाए । उनका बुबा इण्डियन आर्मी थिए, जो अहिले रिटायर्ड भइसकेका छन् । भाइ सानै थिए, आमा गृहिणी ।

एसलएलसी पास गरेपछि उनी आफ्नो घर तनहुँबाट केही महिनाका लागि पोखरा गए । पोखरा जानुको कारण अरु केही थिएन, संगीतका दुई-चार कुरा सिक्नु थियो । तर उनलाई त्यहाँको बिन्दवासिनी कला केन्द्रमा पुगेर थाहा भयो संगीतमा के सिक्ने भन्ने हुँदोरहेछ । भोकल सिक्ने कि बादवादन सिक्ने, शास्त्रीय सिक्ने कि अन्य शैली सिक्ने ।

‘यसरी हुँदैन भनेर म काठमाडौं आएँ, पढ्नुपर्छ भन्ने पनि बिर्सेको त थिइनँ, तर काठमाडौं आउनुको मुख्य कारण गायक बन्न नै थियो,’ सुनिल काठमाडौं प्रवेश गर्दाको क्षण सम्झिन्छन्, ‘खान र बस्नको त समस्या केही थिएन । घरबाट पैसा पठाइदिनुहुन्थ्यो, तर संगीतमा लाग्दा भने निकै हण्डर खाइयो ।’

काठमाडौं आएर गीत-संगीतमा कसरी लाग्ने भन्ने मेसो मिलिरहेको थिएन उनलाई । त्यसैबीच रेडियो प्रस्तोता शिलु अधिकारीसँग सुनिलको भेट भयो, जो रेडियोमा ‘म पनि गाउन सक्छु’ भन्ने कार्यक्रम सञ्चालन गर्थिन् ।

सुनिल सुनाउँछन्, ‘शिलु अधिकारी दिदीसँग भेट भयो । म पनि गाउन सक्छु भन्ने एउटा कार्यक्रम रहेछ । फोन लगाएँ । नवीन के भट्टराईको ‘तिमीलाई भेट्ने धोको छ है मेरो’ बोलको गीत गाएँ । रिजल्ट सुनाउँदा त म विजेता पो भएछु । त्यसपछि लाग्यो म राम्रै गाउने रहेछु ।’

त्यो कार्यक्रममा विजेता भएवापत उनले काठमाडौंकै सारेगम कला केन्द्रमा तीन महिना निःशुल्क संगीत कक्षा लिन पाउने भए । उनले सोचेको जे थियो, त्यो पूरा भयो । घरबाट संगीत नै सिक्न भनेर पैसा मगाउने अवस्था थिएन, अन्यन्त्र भन्दा पढाइमा केन्द्रित हुनु भन्ने बुबाको निर्देशन जो थियो ।

‘त्यहाँ मैले तीन महिना होइन, तीन वर्ष संगीत सिकें गुरु अशोक पौडेलसँग,’ सुनिल सुनाउँछन्, ‘गुरुले नै भनेर पछि गान्धर्व संगीत पाठशालामा गुरु चन्दन श्रेष्ठसँग शास्त्रीय संगीत सिकें ।’

भिडियोमा गरिने महंगो खर्च पनि सुनिललाई चित्त बुझेको छैन । भिडियोमा महत्व दिंदा गीतको अडियो कमजोर भइरहेको उनी बताउँछन् ।

को होला त्यो’ पहिलो गीत नै सफल, पछाडि फर्केर हेर्नुपरेन

गान्धर्व संगीत पाठशालामा शास्त्रीय संगीत अध्ययन गरेको ५-६ वर्ष भएपछि उनलाई लाग्न थाल्यो अब आफ्नै गीत र एल्बम निकाल्नुपर्छ । सानैदेखिको सपना त गायक बनेर चर्चित बन्ने थियो ।

सुनिलले पहिले नै ‘को होला त्यो’ गीतका शब्द आफ्नो डायरीमा कोरिसकेका थिए । एकप्रकारको भाका (कम्पोज) पनि उनले तयार पारिसकेकै थिए ।

‘गोपाल रसाइली (एरेन्जर)सँग सल्लाह गरें, राम्रो छ भाइ भन्नुभयो । त्यसपछि उहाँलाई एरेन्ज गर्न लगाएँ,’ पहिलो गीत निर्माणबारे सुनिल सुनाउँछन्, ‘अरुले पनि तिम्रो गीत उत्कृष्ट छ भनेर भन्नुभयो । बाहिर ल्याउँदा गीत राम्रो चल्यो, जुन मैले सोचेको थिइनँ ।’

उनले भिडियो बनाए, गीतका मोडल पनि चले । त्यतिबेला भर्खर युट्युबको लहर नेपालमा आएको थियो । गीतले राम्रो भ्युज बटुल्न सफल भयो ।

गीतमा लोक-आधुनिक फ्युजन

संगीतमा मात्रै होइन, हरेक कुरामा पृथक शैली भयो भने चाँडै ‘नोटिस्ड’ हुन्छ । यो कुरालाई राम्रोसँग बुझेका गायक सुनिल गिरीले आफ्नो जनरा लोक-आधुनिक बनाए । आजसम्म पनि उनको यही शैली छाइरहेको छ र दर्शक-श्रोताले रुचाइरहेका छन् ।

‘को होला त्यो’ गीत चलेपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । त्यसपछि सोल्टिनी, देउराली भञ्ज्याङ, लाहुरे, लेकाली माया, कस्तो यो माया, मुग्लान, झम्के साँझ लगायत गीत लगालग निकाले । ती सबै गीत हिट सावित भए, युट्युबमा पनि राम्रो भ्युज पाए ।

उनका सबै गीतमा आ-आफ्नै कथा छन् । गाउँ, समाज, परदेशका कथाहरु उनले गीतमा उनेका हुन्छन् ।

सुनिल भन्छन्, ‘मेरो सिद्धान्त भनेको आफ्नोपन छाड्नुहुँदैन भन्ने हो । बजारमा एक खालको गीत चल्न थाल्यो, त्यसकै पछि लाग्नुभएन, आफ्नो मौलिकता बिर्सनुभएन । आफूभित्र जे क्षमता छ त्यसमै लाग्नुपर्‍यो ।’

आफूभित्रको क्षमता चिन्न सक्ने खुबी जोकोहीमा हुँदैन । आफ्नो क्षमताअनुसार कुनै पनि क्षेत्रमा पाइला चाल्न सके सफलताले नपछ्याउने कुरै आउँदैन ।

सुनिलले एउटा वाक्य गज्जबले भने, ‘गीत-संगीत सिकाइ मात्र होइन, भोगाइ पनि हो ।’

आफ्नो माटो, आफ्नो कला, संस्कृति बोकेर नहिंडे विश्वसमुदायमाझ हाम्रो पहिचान नै हराउने उनको बुझाइ छ । ‘आफू हारेको बेला पनि मेरो आँगन यही हो, ठाउँ यही हो, भोगाइ यही हो भनेर लाग्नुपर्‍यो,’ सुनिल भन्छन् ।

‘जुम्ला’मा नयाँ परिवेश, नयाँ शैली

जुम्ला फल्यो स्याउको दाना

कति गर्नु हजुरको सम्झना

माया मेरी कर्णालीपारि

सधैं भेट्न आउनु म के गरी

ए लुरी तम्रै माया लाग्छ नि ढाँटे मरी जाम

सुनिलले हालै मात्र सार्वजनिक गरेको ‘जुम्ला’ गीतका शब्द हुन् यी । गीतमा स्थानीय शैली र संस्कृति मिसाउन सिपालु छन् सुनिल । गीतमा उनले जुम्लाको स्याउको चर्चा गरेका छन्, जुम्लेली लवजको कुरा गरेका छन्, अनि जुम्लेली मायाको पनि ।

‘जुम्लामा बस्ने एक मायालुको कल्पना हो, जुम्लाको चर्चित स्याउ र प्राकृतिक सुन्दरता, कर्णाली र तिला नदीको कुरा यसमा छ,’ सुनिल भन्छन्, ‘हामी बाहिरको स्याउ खान्छौं, तर यहाँको स्याउको चर्चा मात्रै हुन्छ, खोजेजस्तो बजार पाएको छैन । त्यसैले जुम्लाको स्याउलाई गीतका शब्दमा उतारेको छु ।’

खासमा यो गीतको जन्म नेपालगञ्जस्थित नीलसागर ओलेज हाउसमा भएको रहेछ । अमन नीलसागरले ‘जुम्ला फल्यो स्याउको दाना’ लाइन सुनाएछन् सुनिललाई । त्यसले उनलाई छोएछ र जुम्लाको परिवेशबारे बुझेर गीत तयार पारेका रहेछन् ।

‘भेटको क्रममा अमनजीले जुम्लाको गीत छ । यसमा काम गर्नुपर्‍यो सुनिलजी भनेर कुरा गर्नुभयो । जुम्लाको सबै परिवेश सुनाउनुभयो, चिनाउनुभयो । अनि त्यसलाई गीतको अनुप्रास मिलाएर बनाएको हो,’ ‘जुम्ला’ गीतको जन्मबारे सुनिल सुनाउँछन् ।

गीतमा लुहा, लुरीजस्ता कर्णालीका ठेट शब्द छन् । ‘गीतको कम्पोज चाहिं फ्युजन गराइएको हो । मिक्स गर्ने कोशिश गरिएको हो, यसको एरेन्ज पनि मेरै हो । लोकरक जस्तो बनाऔं भनेर काम गरियो,’ लोक-आधुनिक फुयुजन गीतबारे सुनिल सुनाउँछन् ।

‘संगीत आफैं, गीत आफैं लेख्ने कोशिश गरें, गरिहेको छु । जस्तै परिस्थितिमा पनि आफ्नो शैली, आफ्नो माटो, संस्कृतिलाई नै लिएर हिंड्ने भएकाले दर्शक-श्रोताले टिकाइराख्नुभएको छ,’ सुनिल भन्छन् ।

सिक्वेल’ गायक पनि

सुनिलले आफ्ना चलेका हरेक गीतको दोस्रो शृंखला ल्याउने गरेका छन् । ‘को होला त्यो’ मात्रै होइन, सोल्टिनी, देउराली लगायत गीतका उनले सिक्वेल सार्वजनिक गरेका छन्, अनि ती हिट पनि छन् । ‘जुम्ला’को पनि सिक्वेल बनाउने कुरा उनी नकार्दैनन् ।

गफ स्टेसनमा उनलाई सोधियो- पुराना हिट गीतको सिक्वेल बनाउनु ब्याज खाने लोभ त होइन ?

‘त्यस्तो भन्दा पनि गीतको कथावस्तु सिद्दिएको हुँदैन । पाँच मिनेटको गीतमा सबै अटाउन सकिंदैन,’ उनी प्रष्ट पार्दै भन्छन्, ‘भावनाको कुरा नसकिने रहेछ । को होला त्योको अझै धेरैवटा सिक्वेल बनाउन सकिने रहेछ । अनि जुम्लाको पनि सिक्वेल बनाउनैपर्ने देख्छु ।’

सिक्वेलभन्दा नयाँ गीत निकाल्न फाइदा हुने उनी बताउँछन् । नयाँ गीतमा नयाँ भाव र शैली, अनि चुनौती पनि हुन्छ । ‘यसमा काम गर्न अझै रमाइलो हुन्थ्यो होला । तर कथाको निरन्तरताका लागि सिक्वेल बनाउने गर्छु,’ उनी थप्छन् ।

गीत-संगीतको स्तर अलि खस्कियो’

२०६९ सालमा पहिलो गीत ‘को होला त्यो’ रेकर्ड गरेर सांगीतिक आकाशमा उडान भरिरहेका सुनिललाई अहिले पहिलेको तुलनामा गीत-संगीतको स्तर खस्किएको महसुस हुन्छ । गीत सुन्नेभन्दा हेर्ने बन्दा स्तर उकासिनुको सट्टा खस्किएको उनी पाउँछन् । त्यसमाथि प्रविधिको फड्कोले धेरै मेहनत नै नगर्नुपर्ने देखिएको छ ।

‘पहिले भिडियोको कल्पना थिएन, गीत नै सुन्ने हुन्थ्यो । प्रविधिले अहिले फड्को मारेको छ । तर पहिलेजस्तो लगाव छैन,’ सुनिल भन्छन्, ‘मेहनत अलि नपुगेको जस्तो पनि देखिन्छ, स्तर खस्केको छ ।’

भिडियोमा गरिने महंगो खर्च पनि उनलाई चित्त बुझेको छैन । भिडियोमा महत्व दिंदा गीतको अडियो कमजोर भइरहेको छ । ‘एउटा भिडियो बन्ने बजेटले पाँचवटा बढी अडियो बनाउन सकिन्छ । हामी किन अडियोमा फोकस्ड भइरहेका छैनौ ?’ उनी प्रश्न गर्छन् ।

कतिपय राम्रा गीतहरु अहिले ओझेल परिरहेको सुनिलको बुझाइ छ । सामाजिक सञ्जालमा भाइरल हुने सबै गीतलाई राम्रोको कोटीमा राख्न नसकिने उनको तर्क छ ।  ‘टिकटकमा क्लिप हेर्ने र त्यो गीत भाइरल हुने, अनि सबैले रुचाएका छन् भन्नु सायद ठीक हुन्न,’ उनी भन्छन् ।

आफ्नै गीतकी श्रोता बनिन् जीवनसाथी

सुनिलले केही समयअघि प्रेमिका अञ्जु आचार्यलाई जीवनसाथी बनाएका छन् । यहाँसम्मको उनको कथा पनि रोचक छ । जर्मनीमा बस्ने अञ्जु खासमा उनको गीतकी श्रोता रहेछिन् । उनका हरेक गीत सार्वजनिक हुँदा राम्रो-नराम्रो प्रतिक्रिया पनि दिनेरहेछिन् ।

नौ वर्षअघिको कुरा सम्झिंदै उनी सुनाउँछन्, ‘उहाँ जर्मनीमै विगत १३-१४ वर्षदेखि बस्दै आउनुभएको छ । मेरो गीत सुन्ने गर्नुभएको रहेछ । नेपालमा आउँदा भेट भयो । फोन र सामाजिक सञ्जालमा कुराकानी हुन्थ्यो, त्योबेला एकअर्काको केयरिङ एकदमै धेरै । ५-६ वर्षसम्म यही क्रम जारी रह्यो, कहिल्यै प्रेम प्रस्ताव भनेर पनि राखिएन । यत्रो अवधिसम्म हामी भौगोलिक दूरीले टाढा हुँदा पनि साथै छौं भनेपछि जीवन नै सँगै बिताउन सकिन्छ नि भन्ने निधो गर्‍यौं ।’

त्यसपछि अञ्जु नेपाल आएको बेला आफ्नो परिवारसँग उनीहरुले कुरा गरे र त्यसको एक वर्षपछि अर्थात् केही गत महिना उतै जर्मनीमा उनीहरुले अदालती विवाह गरे ।

जर्मनीमा बस्ने भएकाले उनीहरुले प्रेमी-प्रेमिका भएको खास महसुस भने गर्न पाएनन् ।

‘उहाँ जर्मनी बस्ने, दुई-तीन वर्षमा मात्रै नेपाल आउने भएकाले प्रेमी-प्रेमिकाको रुपमा हिंड्न, घुम्न चाहिं पाइएन । परिवारको सहमतिमा एक वर्षपछि विवाह गरें । जर्मनीको अदालतमा विवाह गर्‍यौं,’ सुनिल भन्छन्, ‘मेरो पनि अहिले उतै बसाइ भइरहेको छ । नेपाल आउने जाने गरिहेको छु ।’

धेरैले आँखा जुधाउने मान्छे भेटियो भनेर जिस्काएको सुनिल सुनाउँछन् ।

अर्काको सिको नगरी आफ्नो लय समाते टिकिराखिन्छ

कुनै पनि क्षेत्रमा सफलता पाउनु जति गाह्रो छ, त्यति नै त्यसलाई टिकाइराख्नु अरु बढी चुनौती हुन्छ । सुनिलले आफ्नै शैली र मेहनतले अविछिन्न रुपमा नेपाली संगीतमा जबर्जस्त उपस्थिति जनाइरहेका छन् ।

‘संगीत आफैं, गीत आफैं लेख्ने कोशिश गरें, गरिहेको छु । जस्तै परिस्थितिमा पनि आफ्नो शैली, आफ्नो माटो, संस्कृतिलाई नै लिएर हिंड्ने भएकाले दर्शक-श्रोताले टिकाइराख्नुभएको छ,’ सुनिल भन्छन् ।

नेपाली लोकसंगीतको जर्गेना सधैं भइरहोस् भन्ने सुनिलको चाहना छ । अरुको सिकोभन्दा आफ्नै मौलिक कुरालाई अघि बढाउनुपर्ने उनको मान्यता छ ।

‘लोकसंगीतको जगेर्ना सधैं भइरहोस् भन्ने चाहना छ, चाहे मौलिक होस् वा फ्युजन । अर्काको सिकोभन्दा आफ्नो मौलिक कुरा नै उठाऔं, दुःख पोखौं, सुख बाँडौं भन्न चाहन्छु,’ गफ स्टेसनको बिट मार्ने बेला उनले भने, ‘जानी नजानी हामीले जे गरेका छौं, हाम्रो पालाका गीत आउने पुस्ताले पनि सुनिरहने बनाउन सकौं । गीतलाई व्यावसायिक बनाउने नाममा आफ्ना कुरा नबिर्सौं ।’

तस्वीर/भिडियो : शंकर गिरी, आर्यन धिमाल/अनलाइनखबर





Source link

HamroAwaj

2023-01-01 21:05:04

Leave a Comment