चोला फेरेकी मैना कार्की – HamroAwaj


१८ पुस, काठमाडौं । कोट सिलाउन काठमाडौंको नयाँ सडक आइपुगेकी मैना कार्की रावल नयाँ पहिरनसहित संसद भवन छिर्दैछिन् । पहिरन मात्र होइन उनी आफ्नो राजनीतिक जीवनकै चोला फेर्दैछिन् । नेपाली कांग्रेसले समानुपातिक पद्धतिबाट सांसद छानिएकी जाजरकोटकी रावलको संसद यात्राको जग र बाटो दुवै सुखद छैन ।

माओवादी सशस्त्र संघर्ष सुरु भएको एक वर्षपछि ०५३ मा उनको विवाह भयो जयबहादुर रावलसँग । ‘अलिअलि प्रेम, अलिअलि मागी विवाह हो हाम्रो’, रावल सम्झिन्छिन् । रावलका श्रीमान् नलगाड नगरपालिका (साविक लहँ गाविस) को भानुभक्त स्कुलमा पढाउँथे । एसएलसीसम्म पढेकी रावल पनि एनजीओमा काम गर्थिन् । ‘गाउँमा दोकान पनि थियो हाम्रो’, यी सबै अब सम्झनामा मात्र बाँकी छन् ।

रावल दम्पतीको जीवन सहज चलिरहेको थियो । माओवादी द्वन्द्व चर्किदैं गएपछि भने जीवन कष्टर हुन थाल्यो । जयबहादुर कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको जाजरकोट उपाध्यक्ष थिए भने शिक्षक संघ जाजरकोटको पनि उपाध्यक्ष ।

विद्यालयको कामले सदरमुकाम गइरहनुपर्ने रावललाई माओवादीले सुराकी गरेको आरोप लगाइरहन्थे । ‘माओवादीले दुःख दिन सुरु गरे,’ तनावका ती दिन सम्झिन्छिन् मैना, ‘अभियान भन्दै माओवादीहरुले अरुको घरमा पाँच जना राख्दा हाम्रो घरमा दोब्बर मान्छेलाई खाना पकाउन लगाउँथे । चार महिनामा आउने तलब पनि चन्दा तिर्दै सकिन्थ्यो ।’

०५६ सालमा भने जयबहादुरलाई माओवादीले स्कुलबाटै अपहरण गरे । उनी सम्झिन्छिन्, ‘स्कुलमा पढाइरहेको बेला उहाँलाई एकछिन यता आउनुहोस् काम छ भन्दै लगे ।’

जयबहादुर अपरहणको दुई दिनपछि माओवादी कब्जाबाट भाग्न सफल भए । तर उनीहरुको त्रास भागेन । रावल परिवारमा त्रास झनै बढ्यो । माओवादीले रावल दम्पतीले गाउँमै चलाइरहेको पसल पनि कब्जा गरे ।

जयबहादुर अपहरणमा परेकै वर्ष ३१ जेठ ०५६ मा माओवादीले जाजरकोट लहँमा रहेको दंगा बेस क्याम्पमा आक्रमण गरे । सुरक्षाकर्मीसँगै यो आक्रमणमा गाउँका चार जना मारिए ।

श्रीमान् अपहरणपछिका हरेक रात त्रासमा बिताइन् मैन्ााले । ‘राति केही खसर्‍याक, खुसरुक आवाज आए पनि हामी डराउँथ्यौं,’ रावलको मनमा अझै ती अनिँदा रातको सम्झना बाँकी छ ।

गाउँमा बस्न नसकिने भएपछि रावल दम्पती जाजरकोट सदरमुकाम खलंगा सरे । ‘खलंगा पनि सुरक्षित नहुने भएपछि, हामी काठमाडौं आयौं,’ ०५८ मा थातथलो छाड्नुपर्‍यो रावल परिवारले । दुई सन्तान काखी च्यापेर काठमाडौं आइपुगे रावल दम्पती ।

ज्यान जोगाउन काठमाडौं आएको रावल परिवार काठमाडौंमा पनि सुरक्षित भएन । माओवादी सशस्त्र संघर्ष अन्तिम चरणमा पुग्दै थियो ०६१ तिर ।

१९ पुस ०६१ स्यूचाटारमा चिया पिउँदै गरेका जयबहादुर रावलमाथि गोली चल्यो । ‘निकै बेर छटपटाउनु भयो रे । पछि एउटा ट्याक्सीले उहाँलाई वीर अस्पताल पुर्‍यायो,’ मैनाको संसार खोसियो, ‘अस्पतालले उहाँलाई मृत घोषित गर्‍यो ।’

श्रीमानको हत्या हुँदा मैनाको काखमा ६ महिनाकी छोरी थिइन् । मैना आफैंले पनि बल्ल ३० वर्ष टेकेकी थिइन् । जाजरकोटबाट विस्थापित भएर काठमाडौं आएकी रावल काठमाडौंबाट पनि विस्थापित हुने अवस्थामा पुगिन् ।

सांसद बनेपछि आफ्नो चोला फेरिएको ठानिरहेकी ५३ वर्षे रावल जीवनका यी उतार चढावको एक वाक्यमा बयान गर्छिन्, ‘दुःख पड्या कोइ छैन, सुख भया संसारै आफ्नो ।’

परिवार पाल्ने कमाइ गर्ने श्रीमान् मारिएपछि रावलका दुर्दिन सुरु भए । ‘गाउँ जान सक्ने अवस्था थिएन’, भोक, प्यास र त्रासका ती दिन सम्झिन्छिन्, ‘यहाँ हामीसँग खाने मानासमेत थिएन ।’

श्रीमान् मरेपछि तीन जना बालबच्चा हुर्काउने जिम्मा रावलको एक्लैको काँधमा आइलाग्यो ।
‘त्यतिखेर सहयोग गर्ने बहानामा नजिकिन खोज्ने कतिपय पुरुष गिद्धे आँखा लगाउँथे,’ सन्तानसँगै आफूलाई पनि जोगाउनुपर्ने दोहोरो चपेटामा परिन रावल । ‘घरमा पुरुषको सहारा भएन भने मान्छेले हेर्ने, बोल्ने, गर्ने व्यवहार नै फरक हुँदो रहेछ’, रावललाई अहिले पनि समाज र पुरुषका ‘गिद्धे’ दृष्टिले बिझाउँछ ।

श्रीमानको हत्यापछि उनले भोगेको कष्ट बयानगरि साध्य छैनन् । तर, उनको पीडाका साक्षी सिरानी अहिलेसम्म पनि सुरक्षित छन् । ‘बच्चाहरु थाहा नपाउन् भनेर म राति रुन्थे,’ रावल सुनाउँछिन्, ‘रातभरि रोएर टाटा बसेका सिरानी अहिले पनि राखेकी छु मैले ।’

काठमाडौंको बसाइ । तीन बच्चा हुर्काउनुपर्ने जिम्मेवारी रावलले बाध्यताबीच जसोतसो पूरा गरिन् । ‘दाल तरकारी किन्ने पैसा थिएन, एक वर्षसम्म हामीले गाउँबाट ल्याएको गुन्द्रक खाएर बितायौं,’ अभावको फेहरिस्त लामै छ, ‘एक्लो भयौं । कसैलाई भेट्न, बोल्न जाँदा पनि माग्न आयो कि भन्ने ठानेर मान्छेहरु टाढिन थाले ।’

टाटा बसिसकेका घाउ कोट्याएर फेरि मन दुःखाउने मुडमा छैनन रावल । पीडाको निष्कर्षमा रावल सुनाउँछिन्, ‘सुखमा सबैले साथ दिँदारैछन्, दुःखमा कोही नहुँदा रैछन् ।’

एउटा दुःखीको सहारा अर्को दुःखी हुन्छ भने जस्तै रावलको पीडा बिसाउने चौतारी बन्यो ‘माओवादी पीडित संघ’ । यहाँ उनले आफ्नो जस्तै दुःख भोगेका धेरै मान्छे भेटिन् । यसपछि रावल ‘आतंक टुहुरा समाज’ र ‘द्वन्द्व पीडित साझा चौतारी’मा जोडिइन् । हालसालै मात्र उनले ‘द्वन्द्व पीडित साझा चौतारी’को अध्यक्षबाट राजीनामा दिइन् ।

यी संस्थामा हुँदा रावलले थाहा पाइन्, ‘म जस्तै पीडा भोगेका धेरे मान्छे रहेछन् । दुःखीले दुःखीलाई हेर्दा चित्त बुझ्दो रहेछ ।’

चित्त बुझाउने बाटो भेटेपछि रावल राजनीतिमा सक्रिय भइन् । ‘खासमा मलाई राजनीतिमा लाग्न मन थिएन’, रावल सुनाउँछिन्, ‘कांग्रेसमा लागेकै कारण श्रीमान् मारिएपछि म राजनीतिमा लाग्न बाध्य भएँ ।’

०६२/०६३ को शान्ति सम्झौतापछि रावल द्वन्द्व पीडितको पक्षमा र राजनीतिमा एकैसाथ सक्रिय भइन् । शोकलाई शक्तिमा बदलिन् रावलले, ‘म दुःखी भएर बर्बाद हुनुहुँदैन भन्ने लागेर राजनीतिमा लागेकी हुँ ।’

राजनीतिक र शैक्षिक यात्रा उनले पदमकन्या कलेजबाट सुरु गरिन् । ‘इन्टर -प्रमाणपत्र तह) पढ्न पदमकन्या कलेजमा भर्ना भएँ’, रावल जोशिलो सुनिन्छिन्, ‘त्यहीँबाट राजनीतिमा पनि छिरे ।’

काठमाडौंबाट आईएको पढाइ सकेपछि रावल जाजरकोट फर्किइन् । त्यहाँ स्थानीय तहमा राजनीतिमा सक्रिय हुँदै उनले भेरीगण्डकी कलेजबाट स्नातक पास गरिन् । इख मानेर राजनीतिमा छिरेकी रावलले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर पास गरिसकिन् ।

उनी जाजरकोटबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र नेपाल महिला संघको जिल्ला सभापति भइन् ।

एक वर्ष अगाडि भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यको उम्मेदवार पनि थिइन् । ‘तर, चुनाव हारेँ,’ श्रीमानको हत्या हुँदा त हार नमान्ने रावल चुनाव हार्दैमा त के हार मान्थेँ र ?

०७० र ०७४ को चुनावमा पनि उनको नाम समानुपातिक बन्द सूचीमा राखिएको थियो ।

राजनीतिज्ञको जीवनमा मित्र र शत्रु दुवैसँग सहकार्य गर्नुपर्ने अवस्था आइलाग्छ । रावल पनि यसबाट टाढा रहिनन् । आफूलाई विस्थापित गर्ने र श्रीमानको हत्या गर्ने पार्टीसँग नै सहकार्य गर्नुपर्ने अवस्था पनि उनले ब्यहोरिन् ।

‘कम्ता गाह्रो भएन,’ रावल सकस सुनाउँछिन्, ‘माओवादीलाई स्वीकार्ने कि पार्टी छाड्ने भन्ने अवस्थासम्म पुगियो ।’ मित्र र सत्रुबीचको भेद नहुनु नै राजनीतिको अन्तिम सत्य हो भन्ने बुझेकी रावलले मन मारेरै भए पनि माओवादीसँगको सहकार्य स्वीकारिन् । स्थानीय चुनावमा उनी माओवादी उम्मेदवारका लागि मत माग्दै पनि हिँडिन् ।

संसदमा मैना कार्की ।

१८ वर्षे राजनीतिक यात्रापछि संसद पुगेकी रावल यसपटक द्वन्द्व पीडितका आवाज संसदबाट सुनाउने योजनामा छिन् । लामो समय न्याय खोज्दै हिँडेका आफू जस्ता धेरैको आवाज बोकेर संसदमा बोल्ने तयारीमा छिन् रावल । ‘म एक्लैले बोल्दैमा ठूलो फरक त पर्दैन’, रावल आफ्ना सीमितताबारे जानकार छिन्, ‘तर, बोल्नै छाड्नु पनि भएन ।’

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग सक्रिय बनाउनुपर्ने विषय नै रावलको प्राथमिकता हुनेछ । बेपत्ता छानबिन आयोगका अनुसार जाजरकोटका ३१ जना बेपत्ताको सूचीमा छन् । ‘हामीले सत्य थाहा पाउनुपर्यो,’ रावल दृढ सुनिन्छिन्, ‘हाम्रा मान्छे किन मारिए ? किन बेपत्ता पारिए ? थाहा पाउने अधिकार छ हामीलाई ।’ न्याय खोज्दाखोज्दै संसदसम्मको यात्रा गरेकी रावललाई संसदको मानव अधिकार समीतिमा बसेर काम गर्न मन छ ।

कांग्रेस नेता नेता प्रदिप गिरि आफ्नो पार्टीलाई ‘गुट उप-गुटको झुण्ड’ भन्ने गर्थे । गुट उप-गुटको यो श्रृंखलामा रावल पनि चेपिएकी छिन् । ‘पार्टीभित्र जी हजुरी कति हो कति, त्यसमाथि गुट,उपगुटको त कुरा गरी साध्य नै छैन’, रावललाई बेलाबेला दिक्क लाग्छ ।

राजनीतिको यो खिचातानी र द्वन्द्व पीडितको न्यायका लािग भन्दै १८ वर्ष संघर्ष गरेकी रावल सांसद बनेपछि वरिपरी झुम्मिने मान्छेको संख्या बढेको छ । कुनै समय उनलाई हेलाँहोचो गर्नेहरु प्रशंसा गर्न थालेका छन् । सांसद बनेपछि आफ्नो चोला फेरिएको ठानिरहेकी ५३ वर्षे रावल जीवनका यी उतार चढावको एक वाक्यमा बयान गर्छिन्, ‘दुःख पड्या कोइ छैन, सुख भया संसारै आफ्नो ।’

तस्वीरहरु : आर्यन धिमाल





Source link

HamroAwaj

2023-01-02 06:53:41

Leave a Comment