तेक्वान्दोमा अत्यासलाग्दो खेलाडी पलायन – HamroAwaj


१८ पुस, काठमाडौं । तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्दा भुपेन श्रेष्ठ भर्खर १९ वर्षका थिए । शारीरिक रुपमा सवल र प्राविधिक रुपमा चुस्त भुपेनलाई नेपाली तेक्वान्दोकै भविष्यका रुपमा हेरिएको थियो ।

प्रशिक्षण थालेको दुई वर्षमै अन्तर्राष्ट्रिय स्वर्ण जितेका उनी चार महिनाअघि विदेश पलायन भए । प्रशिक्षण र एक्स्पोजरमात्र होइन, तेक्वान्दो खेलेर सामाजिक रुपमा सुरक्षित महसुस हुने सम्भावना नदेखेपछि स्वर्ण पदक थन्क्याएर उनी अष्ट्रेलिया हानिएका हुन् ।

‘अन्तर्राष्ट्रिय स्वर्ण जितेपछि थप सुविधा र एक्स्पोजर पाउँछु जस्तो लागेको थियो,’ मेलवर्नबाट भुपेनले अनलाइनखबरसँग भने, ‘हामीले त नियमित प्रशिक्षण पनि गर्न पाएनौं । संघले हामीलाई अन्तर्राष्ट्रिय खेलाडीको जस्तो व्यवहार नै गरेन ।’

भुपेन मात्र होइन, १३औं सागमा पदक जितेका नेपालका ३४ मध्ये १३ जना तेक्वान्दो खेलाडी अहिले विदेशमा ‘मजदुरी’ गर्दैछन् । खेल करिअरकै दौरान विदेश पलायन भएका खेलाडीहरुको यो संख्याले अन्तर्राष्ट्रिय पदकको सम्भावना बोकेको नेपाली तेक्वान्दोमा आउँदै गरेको भयावह संकटलाई देखाउँछ ।

संकट टार्न काम गर्नुपर्ने तेक्वान्दोका पदाधिकारीहरु भने आधिकारिक भन्ने झगडामा रुमल्लिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले दुई साता अघि नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेसँगै तेक्वान्दो विवाद उत्कर्षमा पुगेको छ ।

विवादको बिउ

ओलम्पिक मान्यता प्राप्त तेक्वान्दो संघ र राखेपबीच तिक्तता सुरु भयो गतवर्ष असोजमा । ०६८ मा राष्ट्रिय तेक्वान्दो युनियनको नाममा अर्को संघ दर्ता गरेसँगै तेक्वान्दो संघ, राखेपको नेतृत्वसँग सन्तुष्ट थिएन । गत वर्ष असोजमा तेक्वान्दो संघले राखेपले रोक्नु भनेको केन्द्रीय साधारणसभा र निर्वाचन अघि बढाएपछि विवाद पनि बढ्यो ।

संघले १४ असोजमा भैरहवामा साधारणसभा राखेको थियो । त्यसको तीन दिनअघि राखेपले संशोधित विधान आफूबाट स्वीकृत नगराएको भन्दै निर्वाचन स्थगित गर्न निर्देशन दिएको थियो । कार्यसमिति विघटन गरेर निर्वाचन प्रक्रिया सुरु भइसकेको भन्दै तेक्वान्दो संघले साधारणसभा रोकेन, अध्यक्षमा प्रकाशशम्शेर राणालाई दोहोर्‍याउँदै नयाँ कार्यसमिति चयन भयो । राखेपले भने राणा नेतृत्वको नयाँ कार्यसमितिलाई मान्यता दिएन ।

यो विवाद तब चर्कियो, जब प्रतियोगिताहरु हुन थाले । आसन्न एसियन गेमलाई लक्षित गरी राखेपले कात्तिकमा राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्न प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई निर्देशन दियो । तर राणा नेतृत्वको कार्यसमितिले राखेपको योजनाअनुसार मुख्य प्रशिक्षक श्रेष्ठलाई प्रशिक्षण गर्न दिएन । बरु मुख्य प्रशिक्षक र प्रशिक्षकसँग समन्वय नगरी राम गिरीको नेतृत्वमा राष्ट्रिय टिम तयारी उपसमिति बनाएर चैत १८ र १९ गते १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्‍यो । राष्ट्रिय टिमको प्रशिक्षण भने सुरु हुन सकेन ।

शिव कोइराला ।

एकै पटक राखेपले १९औं एसियाली खेलकुदका लागि भन्दै जेठदेखि दुई महिना बन्द प्रशिक्षण राख्यो । यसका लागि मुख्य प्रशिक्षक श्रेष्ठको नेतृत्वमा छनोट प्रतियोगिता भयो, जसमा १३औं सागमा मेडल जितेकोदेखि पछिल्लो राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका तेक्वान्दो खेलाडीहरु समेत सहभागी भए ।

भदौमा तय भएको एसियन गेम एक वर्षपछि सर्‍यो, जेठमा सुरु भएको राष्ट्रिय टिमको प्रशिक्षण पनि डेढ महिनामै रोकियो ।

साउनमा राखेपको ११३औं बोर्ड बैठक बस्यो, जसले उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा खेल संघ विवाद समाधान समिति बनायो । कोइराला राष्ट्रिय तेक्वान्दो युनियनका अध्यक्ष समेत हुन् । यो त्यही युनियन हो, जसलाई राष्ट्रिय खेलकुद परिषदले दर्ता गरसँगै नेपाली तेक्वान्दोमा विवादको विजारोपण भएको थियो ।

झगडिया पक्षकै नेतृत्वमा रहेका कोइरालालाई विवाद समाधान समितिको संयोजक बनाएपछि नेपाल तेक्वान्दो संघले स्वीकारेन । समितिका अनुसार पटक–पटक छलफलका लागि बोलाउँदा पनि तेक्वान्दो संघको नेतृत्व सम्वादमा आएन र दर्ता खारेजका लागि सिफारिस गर्‍यो । २४ मंसिरमा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जाँदाजाँदै समितिको सिफारिसलाई सदर गरिदिए ।

मन्त्रीको निर्देशनअनुसार भन्दै राखेपले ५ पुसमा राणा नेतृत्वको ओलम्पिक मान्यता प्राप्त तेक्वान्दो संघ र राष्ट्रिय तेक्वादो संघ (सुरुमा युनियनका रुपमा दर्ता भएर हाल संघका नाममा सक्रिय) दुवैको दर्ता खारेज गर्‍यो । र, प्रदीप जोशी संयोजक र इन्द्रमान तुलाधार महासचिव रहने गरी नेपाल तेक्वान्दो महासंघ दर्ता गर्‍यो । जोशी तेक्वान्दो संघका पूर्व उपाध्यक्ष हुन् भने तुलाधर अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव हुन् ।

आफ्नो संघ खारेज गरेर अर्को बनाएपछि राणा नेतृत्वको कार्यसमिति अदालत गएको छ र, उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । २० पुसमा युवा तथा खेलकुद मन्त्रालय, राखेप लगायतका विपक्षीहरुलाई छलफलका लागि बोलाएको छ ।

नेतृत्व हत्याउन तेक्वान्दोका पदाधिकारीहरुबीच भइरहेको झगडाले सबभन्दा बढी प्रताडित भने खेलाडीहरु बन्ने गरेका छन् । कोरोना महामारीयताको निराशा तथा संघ र नियामक निकाय बीचको किचलोले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरु भने विदेशिने क्रम बढ्दो छ । १३औं सागमा तेक्वान्दोबाट पदक जितेका ३४ मध्ये १३ जना खेलाडीले विदेशको बाटो रोजेका छन् ।

गर्विलो इतिहास, संकटउन्मुख भविष्य

नेपालमा २०३९ सालमा मार्शल आर्टले खेलको मान्यता पाएसँगै तेक्वान्दो, कराँते लगायतका खेल सुरु भएको थियो । तेक्वान्दो २०४६ सालमा राखेपमा दर्ता भयो, त्यसयता अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई सबभन्दा धेरै सफलता यही खेलले दिलाएको छ ।

दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद र ओलम्पिकमा पनि उसको जबर्जस्त उपस्थिति छ । एसियन च्याम्पियनसिप र विश्व च्याम्पियनसिपमा पदक जितिसकेको छ ।

सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा गर्विलो विरासत कायम राख्दै तेक्वान्दोले सबैभन्दा धेरै (अन्य खेलभन्दा) १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जित्यो । १३ औं सागमा तेक्वान्दो मात्र यस्तो खेल थियो, जहाँ नेपालका प्रतिनिधित्व गरेका सबै ३४ खेलाडीले पदक जितेका थिए ।

तर सागमा स्वर्ण जितेका भुपेन, पार्वती गुरुङ, सन्जीला तिमल्सिना, संगीता बस्याल र सक्षम कार्की, रजत जितेका नीमा गुरुङ र अप्सरा कार्की तथा कांस्य जितेका मनोज मल्ल, ज्ञानेन्द्र हमाल र निश्चलमान श्रेष्ठ अहिले अष्ट्रेलिया पुगेका छन् ।

यस्तै तेक्वान्दो संघबाट सिफारिसमा दक्षिण कोरिया पुगेका २ खेलाडी उतै लुकेका छन् । दक्षिण कोरियाको चुन्च्योन शहरमा जुन २४ देखि जुलाई ५ सम्म २५औं एसियन तेक्वान्दो च्याम्पियनसिप तथा सातौं एसियन पुम्से च्याम्पियनसिप र चुन्च्योन कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप भएको थियो । ग्योरोगीको ८० केजीमुनि तौलसमूहमा नेपालको प्रतिनिधित्व गरेका किरणबहादुर आले त्यसयता नेपाल तेक्वान्दोको सम्पर्कमा छैनन् ।

चुन्च्योन कोरिया ओपन तेक्वान्दोका लागि नेपाल तेक्वान्दो संघबाट सिफारिस लिएर कोरिया उडेका कृष्णबहादुर तामाङ पनि नेपाल फर्किएनन् । किरण र कृष्ण दुवै १३औं सागका रजत विजेता हुन् ।

१३औं सागमा रजत जितेकी मनिता शाही त्यसअघि नै अमेरिका गइसकेकी थिइन् । नेपालमै रहेकी दोहोरो स्वर्ण विजेता आयशा शाक्य र स्वर्ण विजेता सीना मादेनले पनि खेल जीवनलाई निरन्तरता दिएका छैनन् । उनीहरुले यही असोज २८ देखि ३ कात्तिकसम्म गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुद खेलेनन् ।

‘खेल गतिविधि ठप्प हुँदा खेलाडीमा पर्ने मानसिक समस्याबारे न राखेप, न सम्बन्धित खेल संघले चासो दिए,’ तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक तथा कीर्तिमानी खेलाडी दीपक विष्ट भन्छन्, ‘करिअरको उच्च लयमा रहेको बेला यति लामो समय बाध्यात्मक विश्राम लिनुपर्दा खेलाडीहरुले जे ठीक लाग्यो, त्यही गरे ।’

यसले अन्तर्राष्ट्रिय सफलतामा नेपाली तेक्वान्दोको आरोलो यात्रालाई थप गति दिने खतरा छ ।

‘तेक्वान्दोमा सबैले खेल र खेलाडीका लागि सोचेका छैनन्,’ प्रमुख प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘च्याम्पियन उत्पादन हुने कुरा आजको भोलि सम्भव हुँदैन । त्यसका लागि एउटा लामो प्रक्रिया हुन्छ । हामीले सम्भावना भएका खेलाडीहरुलाई जोगाउन सकेनौं । दीर्घकालीन लक्ष्य र योजना नहुँदा अन्तर्राष्ट्रिय सफलतामा हामी ओरालो यात्रामा छौं ।’

अन्तर्राष्ट्रिय प्रदर्शनको तथ्य हेर्ने हो भने पनि प्रमुख प्रशिक्षक श्रेष्ठले भनेजस्तै नेपालमा तेक्वान्दो ओरालो यात्रामा छ । सन् २००६ को दोहा एसियाली खेलकुदमा दीपक विष्ट, आयशा शाक्य र मनिता शाहीले कांस्य पदक जितेयता तेक्वान्दोले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सकेको छैन ।

१३औं सागमा तेक्वान्दो खेलाडी ।

सन् १९८८ को सियोल ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको तेक्वान्दोमा नेपालका विधान लामाले कांस्य पदक जितेर नेपाललाई स्थापित गराएका थिए । विधान र सीता राईले विश्व च्याम्पियनसिपमा पनि पदक जितेका छन् । संगीना वैद्यले एसियन च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् । संगीना र दीपकले क्रमशः सन् २००४ र २००८ मा छनोट प्रक्रिया पार गरी ओलम्पिक खेलेका थिए ।

संगीना वैद्य र दीपक विष्ट ।

त्यसअघि सन् १९८६ को सियोल एसियाली खेलकुदमा विधान लामा, रामबहादुर घर्ती क्षेत्री, राजकुमार राई र राजकुमार बुढाथोकीले कांस्य जितेका थिए । सन् १९९० को बेइजिङ एसियाडमा तेक्वान्दो समावेश नभए पनि १९९४ को हिरोसिमा एसियाडमा मानबहादुर शाहीले कांस्य जितेका थिए ।

सन् १९९८ को बैंकक एसियाडमा सविता राजभण्डारीले ऐतिहासिक रजत जित्दा सन् २००२ को बुसान एसियाडमा दीपक विष्ट, रेणुका थापामगर र ऋतु जिनी राईले कांस्य जिते । सविताले जितेकाे रजत नेपाल तेक्वान्दोमा अहिलेसम्मकै उच्च सफलता हो ।

गत असारमा दक्षिण कोरियामा आयोजित एसियन तेक्वान्दो च्याम्पियनसिपमा नेपालबाट युनिशा राई (ओलम्पिक छात्रवृत्ति कोर्ष पाएकी खेलाडी), वीरबहादुर महरा, निरज देउवा र किरणबहादुर आलेको सहभागिता थियो । उनीहरु आफ्नै खर्चमा कोरिया गएका थिए । गत नोभेम्बरमा मेक्सिकोमा भएको विश्व च्याम्पियनसिपका लागि पनि उनीहरुले आफ्नै खर्चमा सहभागिताको प्रयास गरेका थिए । तर, भिसा समस्याका कारण सम्भव भएन ।

‘खेलेर के पाइयो ?’

१३औं सागमा ग्योरोगीतर्फ ८७ केजीमुनि तौलसमूहमा स्वर्ण जित्दा भुपेन श्रेष्ठ १९ वर्षका थिए ।

मोरङबाट उच्चशिक्षाका लागि काठमाडौं आएपछि तेक्वान्दो सिक्न थालेको पुगनपुग तीन वर्षमै उनी दक्षिण एसियाली च्याम्पियन बने ।

शारीरिक र प्राविधिक रुपमा उत्कृष्ट भुपेनलाई सागमा चारपल्ट स्वर्ण जितेका दीपक विष्टले नेपाल तेक्वान्दोको भविष्यका रुपमा बताउँथे । आर्मीको जागिर छाडेर मेलवर्न पुगेका भुपेन अहिले प्रतिप्रश्न गर्छन्– खेलेर के पाइयो ?

‘प्रशिक्षण नियमित छैन, अन्तर्राष्ट्रिय सहभागिता पाइँदैन, खेलेर परिवार त के आफ्नै खर्च जुटाउन सकिँदैन, संघले वास्ता गर्दैन भने मैले कसको आश गरेर तेक्वान्दो खेलिरहने ?,’ भुपेन प्रश्न गर्छन् ।

१३औं सागमा जितेको स्वर्ण पदकसहित भुपेन ।

भूपेन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा र सफलताका लागि नेपाल तेक्वान्दोको योजनामा राख्नुपर्ने खेलाडी भएकोमा राष्ट्रिय टिमका प्रशिक्षकहरुकै एकमत छ । तर आफ्नो तौलसमूहमा अपराजित प्रदर्शन हुँदाहुँदै पनि उनलाई सन् २०२४ को ओलम्पिक सोलिडारिटी कोर्षका लागि छात्रवृत्तिको योग्य मानिएन ।

‘गएको जुनमा एसियन च्याम्पियनसिपमा जान पाउँछु भन्ने आशा थियो । तर सिनियर दाइहरुसँग बुझ्दा आफैंले पैसा खर्च गर्नुपर्ने भनियो । त्यसपछि मलाई खेल्नै मन लागेन,’ भुपेन भन्छन्, ‘खेलाडीहरु राष्ट्रको गहना भन्छन् । तर, कसैले वास्ता गर्दैनन् ।’

सागमा स्वर्ण जितेको तीन वर्षमै भुपेनले करिअर छाड्नुपर्ने स्थिति कसरी आयो ? यो अवस्थालाई नियन्त्रण गर्न राज्यले एउटा संयन्त्र बनाउनुपर्ने ओलम्पियन विष्ट बताउँछन् ।

‘भुपेनलगायत यी खेलाडीहरुलाई पदकको हकदार बनाउन हामीले ठूलो मिहिनेत गरेका छौं । उनीहरु नेपाल तेक्वान्दोका भविष्य थियो,’ छनोट प्रक्रिया पार गरी ओलम्पिक खेलेका विष्ट भन्छन्, ‘करिअरको उच्च लयमा हुँदाहुँदै विदेशिने परम्परालाई कसरी र कसले रोक्ने । संघले हो कि राखेपले हो या परिवारले हो ? यसको एउटा संयन्त्र तयार गर्नुपर्छ ।’ विष्टले १३औं सागमै पदक जितेका अन्य केही खेलाडी पनि विदेशिने तयारीमा रहेको आफूले सुनेको बताए ।

दीपराज गुरुङ ।

हामी गम्भीर छौं तर, राज्य गम्भीर भएन : तेक्वान्दो संघ

राखेपले खारेज गरिदिएको तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ भने खेलाडीहरुलाई राज्यले नै पलायनको बाटो रोज्न बाध्य पार्ने गरेको बताउँछन् ।

‘संघहरुलाई बोलाएर खेलको विकास र खेलाडीको संरक्षणका लागि राखेप र खेलकुद मन्त्रालयले कुनै पहल नै गर्दैन,’ पूर्व प्रमुख प्रशिक्षक समेत रहेका गुरुङ भन्छन्, ‘खेलकुद राज्यको प्राथमिकतामा नपर्दा खेलाडीको भविश्य अन्यौल छ । खेलकुद परिषद विचौलिया बन्दाको नतिजा हो यो ।’

उनले खेलाडी पलायन रोक्ने जिम्मेवारी तेक्वान्दो संघकोभन्दा राखेप र मन्त्रालयको भएको भन्दै आफ्नो जिम्मेवारीबाट पन्छिने प्रयास गरे ।

गुरुङले अघि भने, ‘हामीले देशभर ३ हजार स्वयंसेवक प्रशिक्षकलाई डोजाङमार्फत स्वरोजगारको व्यवस्था गरेका छौं । उनीहरुमार्फत झण्डै डेढ लाख खेलाडी प्रशिक्षणरत छन् । अन्तर्राष्ट्रिय पदक जितेपछि खेलाडीको स्तर माथि हुन्छ । उनीहरुको स्तरअनुसार सुविधा दिन नसकेपछि खेलाडी विदेशिनु बाध्यता हुन आउँछ ।’

कीर्तिमानी तेक्वान्दो खेलाडी समेत रहेका प्रशिक्षक विष्ट करिअरको उच्च लयमै रहँदा खेलाडी विदेशिनु त्यो देशले खेलकुदमा गरेको बेवास्ताको प्रतिफल मान्छन् । ‘सन्यासपछि विदेशिनु स्वाभाविक नै हो । विदेशमा पनि त्यो ट्रेण्ड छ । तर, करिअरको उच्च समयमा पलायन हुनु देशकै लागि घाटा हो,’ ओलम्पियन विष्ट भन्छन्, ‘अहिलेको पुस्ता सिधा–सिधा सोच्छ । यहाँ विवाद र राजनीति धेरै हुन थालेपछि उनीहरुले भविष्य देखेनन् । विवादमा रुमल्लिन चाहेनन् ।’





Source link

HamroAwaj

2023-01-02 20:35:35

Leave a Comment