प्रदीप पौडेललाई प्रश्न : गगन, विश्वप्रकाश र तपाईंबीच भागबन्डा भइसकेको हो ? (भिडियो अन्तर्वार्ता ) – HamroAwaj


१९ पुस, काठमाडौं । सत्ता नजिक रहेको नेपाली कांग्रेस आफ्नै कारणले शासन गर्नबाट वञ्चित हुन पुगेको छ । सरकार बनाउने अन्तिम केही घण्टामा कांग्रेसले परिपक्व निर्णय गर्ने क्षमता गुमाउँदा क्षति व्यहोरेको छ ।

केन्द्रदेखि प्रदेशसम्म कांग्रेस प्रतिपक्षमा पुगेको छ । सत्ता गुमेपछि कांग्रेसमा आरोप प्रत्यारोप सुरु भएको छ । संस्थापनइतरका नेताहरुले दोषको भागिदार सभापति शेरबहादुर देउवा हुनुपर्ने तर्क अघि सारेका छन् । देउवा निकट रहेका केही नेता उनको बचाउमा उत्रिएका छन् । देउवा पक्षकै केही नेता भने मौन छन् ।

केन्द्रीय सदस्य प्रदीप पौडेल सत्ताबाट कांग्रेस बाहिर रहनुमा मूल जिम्मेवारी सभापति देउवाले लिनुपर्ने बताउँछन् । कांग्रेसको सत्ता बहिगर्मन, केन्द्रीय समितिको आसन्न बैठक, तेस्रो उमेर समूहको गठजोड लगायतका सन्दर्भमा रहेर अनलाइनखबरकर्मी लिलु डुम्रेले कांग्रेस नेता प्रदीप पौडेलसँग गरेको संवाद ।

नयाँ सरकार बनाउने क्रममा कांग्रेसले अनपेक्षित नतिजा हात पार्‍यो । पहिलो दल बनेर पनि सरकारको नेतृत्व गर्न कांग्रेस किन चुक्यो ?

निर्वाचन पछि संघीय संसदमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । ठूलो दल भएको नाताले सरकारको दाबी गर्नु स्वाभाविक थियो । आफ्नै नेतृत्वमा गठबन्धन बनाई कांग्रेसले निर्वाचनमा लडेको थियो ।

चुनाव अघि गठबन्धन गर्न हुने/नहुने विषय पार्टी भित्र उठेका थिए । संस्थागत रुपमा गठबन्धनमा जाने निर्णय गरेका थियौं । गठबन्धन दलका अन्य उम्मेदवारलाई पनि विजयी गराउने गरी हामी निर्वाचनमा गयौं । गठबन्धन कति कसिलो भयो वा कति इमान्दार भयो/भएन भन्ने कुरामा सामान्य टिकाटिप्पणी भए । गठबन्धनका दलका उम्मेदवारलाई जिताउन इमान्दारीपूर्वक लागेको देखिन्थ्यो । आफ्नो पार्टीलाई मात्रै मत हाल्दै आएका कतिपय मतदाताले गठबन्धन नरुचाएर विवेक प्रयोग गरेको देखिन्थ्यो । पार्टीको निर्देशनलाई नमानेको स्थिति देखिएको छ ।

गठबन्धन कसिलो हुँदैनथ्यो भने समानुपातिकबाट राष्ट्रिय दल हुन नसकेको एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट ल्याउन सक्दैनथ्यो । कतिपय स्थानमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार पनि पराजित भएका छन् । केही स्थानमा कांग्रेसका उम्मेदवार भएकै कारणले माओवादीका साथीहरुले र माओवादीका उम्मेदवार भएको ठाउँमा कांग्रेसकाले विद्रोह गरेको अवस्था पनि छ । तर, त्यो संस्थागत नभई व्यक्तिगत रुपमा भएको स्थिति हो ।

गठबन्धनकै सरकार बन्ने निश्चित बनिसकेको अवस्थामा अन्य समीकरण तिर जान उचित हुँदैन्थ्यो । गठबन्धनकै दलमा सहमति गरेर सरकार बनाउनु स्वाभाविक हुने थियो ।

निर्वाचनको बेला, साझा घोषणापत्र र मुद्दाहरु नबनाए पनि केपी ओलीको कदमका विरुद्ध संगठित भएर चुनावमा जानेमा हामीहरु एकमत थियौं । संविधानको रक्षाको लागि संगठित भएर उभिने उदघोषका साथ उभिएका हौं । गठबन्धनकै दलबाट सरकार बनाउनु पर्नेमा त्यसलाई भत्काएर गठबन्धनका दलहरु गएको देखिन्छ । गठबन्धनप्रति बेइमानी भएको छ ।

कसका कारणले यो परिस्थिति उत्पन्न भयो ?

यो समीक्षा हुने विषय हो । ठूलो दल भएकाले गठबन्धनमा छलफलका क्रममा कांग्रेसले सरकारको नेतृत्व गर्छ भन्नु स्वाभाविक हो । सरकारको नेतृत्व गर्न नपाएको स्थितिमा हैसियत अनुसारको पद लिएर पनि हामी तयार हुनुपर्ने थियो । कांग्रेसले नेतृत्व गर्ने बाहेक अरु विकल्प प्रस्तुत गर्न नसकेका कारण कमजोरी भयो । जसले प्रतिगमन गरेको भनिएको थियो, त्यही दलसँग गठबन्धन गर्न माओवादी पुगेको छ । उसैसँग मिलेर सरकार बनाउने माओवादीको पनि कमजोरी हो ।

अब कांग्रेसले सत्तासँग जोडिने अवसर गुमाएको छ । प्रतिपक्षमा सीमित हुने स्थिति देखिएको छ । पार्टीभित्र निराशा बढाएको छ । आम जनताले विभिन्न ढंगले टिकाटिप्पणी गरेको अवस्था पनि छ । कसको कारणले यस्तो भयो त ? यस्तो हुनु हाम्रै नेतृत्वको कारणले हो । यो सबैले देखेको र जगजाहेर कुरा हो ।

अब केन्द्र र प्रदेशमा प्रतिपक्षमा बस्ने हाम्रो अवस्था छ । प्रतिपक्षीय भूमिकालाई अघि बढाउने, प्रतिपक्षकै कित्ताबाट आम जनताका मुद्दाहरु उठाउने बाहेक हामीसँग अब अर्को विकल्प रहेन ।

२०७४ सालमा माओवादीले धोका दिएको कांग्रेसमा बुझाइ छ । त्यस्तै अवस्था दोहोरिन सक्ने कतिपय नेताले आँकलन गरेका पनि थिए । परिस्थितिको ख्याल नगर्ने नेताहरुकै कारणले कांग्रेसले क्षति भोगेको विश्लेषण गरिएको छ । त्यस्तो हो ?

नेपाली कांग्रेसमा मात्रै संसदीय दलको निर्वाचन भएको थियो । आन्तरिक लोकतन्त्रको अभ्यास हाम्रो उपलब्धि हो । दलको नेतामा सभापति निर्वाचित भइसकेपछि उहाँको जिम्मेवारी झन् थपियो । अझ बढी शक्तिशाली हुनुभयो । संसदीय दलको निर्वाचनको बेला बढेको दुरी सभापतिले मेटाउन सक्नुपर्थ्यो । आफूसँग प्रतिस्पर्धा गर्ने वा पार्टीका पदाधिकारीलाई राखेर नयाँ बाटो कसरी तय गर्ने भन्नुपर्ने थियो ।

गठबन्धनको नेतृत्व कांग्रेसले गर्ने भए त्यो सरकारले के कसरी काम गर्ने बारेमा छलफल हुनुपर्ने हो । गठबन्धनको सरकारको नेतृत्व कांग्रेसले नपाए विकल्पमा के गर्ने, त्यसको छलफल हुनुपर्ने थियो । गठबन्धन बाहिरका दलहरुसँग पनि मिल्ने अप्सन खुला राख्नुपर्ने थियो । पार्टीमा संस्थागत निर्णय गर्ने वातावरण सभापतिले बनाउनु पर्थ्यो । सभापतिले त्यो वातावरण बनाउनु भएन ।

सभापति र संसदीय दलको नेता भएकाले उहाँ नै अभिभावक हो । पार्टी भित्र वातावरण बनाउन सबैभन्दा जिम्मेवार व्यक्ति उहाँ नै हो । विकल्पका बारेमा पार्टीभित्र निर्णय गराउन उहाँले सक्नुहुन्थ्यो । पार्टी पदाधिकारीहरुले सभापतिलाई आफैं भेटेको भए बढी जिम्मेवारीपन हुने थियो । तथापि, संस्थागत निर्णय गराउने भूमिका त सभापतिको नै बढी हुन्छ । केन्द्रीय सदस्य हुँदा म जति जिम्मेवार हुन्छु, त्योभन्दा बढी सभापति र पदाधिकारीको जिम्मेवारी हुन्छ । समन्वय गर्ने जिम्मेवारी सभापतिकै हो ।

कार्य सम्पादन समितिले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन छलफल गर्ने निर्णय गरेको थियो । त्यसै अनुसार आफ्नो नेतृत्वमा सरकार बनाउन लाग्दा माओवादीले गठबन्धन त्याग्यो । सभापतिले पार्टी निर्णय अनुसार चल्नुभयो, के गल्ति गर्नुभयो भन्ने प्रतिक्रिया आइसकेका छन् । सभापतिको तर्फबाट त्यो सहि पनि होला नि ?

कार्य सम्पादन समितिमा गरिएका सबै निर्णय केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्दछ । कार्य सम्पादनमा त्यो निर्णय भएको हो भने मलाई थाहै थिएन । त्यो निर्णय बमोजिम गठबन्धनमा सहमति गर्न सकिएन भने अर्को विकल्प के ? त्यो पनि त खुला राख्नुपर्ने थियो । परिस्थिति कस्तो छ, गठबन्धनभित्र कसले के भनिरहेको छ, वा के गर्दा उपयुक्त हुन्छ भनि फेरि पनि कार्य सम्पादन समितिको बैठक बस्नुपर्ने थियो होला । कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था भएन भने के गर्दा उपयुक्त हुन्छ भनि फेरि निर्णय गराउनुपर्ने थियो ।

कांग्रेसकै नेतृत्वमा सरकार बन्ने अवस्था आएको भए यी सबै कुरा हुने थिएनन् । कांग्रेस नेतृत्वमा सरकार नहुँदा त्यसको दोषको पहिलो भागिदार त सभापति हुने स्वभाविक हो ।

सभापति माथि आरोप लगाउने तर परिस्थिति बुझेका भनिएका नेताहरुले आफ्नो भूमिका प्रभावकारी रुपमा देखाउन सकेनन् भनि उनीहरु माथि नै प्रश्न उठेको छ नि ?

सभापतिलाई लखेट्ने कुरा होइन । दोषको भागिदार मूल रुपमा मुख्य नेतृत्व नै हुन्छ । विधानको व्याख्या र हामीले गरिएको अभ्यास पनि यही हो । सामूहिक निर्णय प्रक्रियाको विकास गर्ने, संस्थागत निर्णय प्रक्रियालाई आत्मसाथ गर्ने कुरालाई सभापतिले नै समन्वय गर्नुपर्दछ । उपसभापति, महामन्त्री वा अन्य पदाधिकारी कति जिम्मेवार हुनुहुन्थ्यो वा हुनुहुन्थेन भन्ने कुरामा जिम्मेवारीका हिसाबले उहाँहरु मुक्त हुनुहन्छ भन्ने होइन । प्रतिशतका आधारमा कसको कति जिम्मेवारी वा समन्वय कसले गर्ने विषयमा मूल नेतृत्व नै बढी जोडिन्छ ।

चुनावी समीक्षाका लागि केन्द्रीय समितिको बैठक डाकिएको छ । सत्ताबाट विमुख हुनुपरेको सन्दर्भलाई कांग्रेसले निर्मम समीक्षा गर्ला कि सभापतिले पार्टी निर्णय अनुसार नै कार्य गरेको ठहर गर्ला ?

सामान्य अवस्था नभएर नै समीक्षा हुन लागेको हो । सामान्य परिस्थितिमा होइन किनकि हामीले एउटा अवस्था गुमाएका छौं । चुनावमा जसलाई हामीले सघायौं । उसले नै गठबन्धनबाट बाहिरिएर सरकार बनाएको छ । त्यो गठबन्धन हाम्रो लागि कामयावी भयो/भएन ? आजको स्थितिमा त्यो गठबन्धनले लाभ दियो कि दिएन ? आवश्यक रणनीति बनाउन सकेको भए धेरै साथीहरुले संघदेखि प्रदेशसम्म भूमिका पाउने अवस्था बन्ने थियो ।

मैले निकालेको निचोड रुपान्तरण पुस्तान्तरण पछि मात्रै सम्भव छ भन्ने हो । हाम्रो पुस्ताले कांग्रेसलाई नेतृत्व गर्न सक्छ । पार्टीलाई नयाँ तरिकाले अघि बढाउन प्रष्ट दृष्टिकोण ल्याउन सक्नुपर्दछ

सरकारमा गएर जनताका पक्षमा काम गरेर पार्टीलाई लोकपि्रय बनाउने अवसर थियो । त्यो अवसर हामीले गुमायौं । यो किन भयो ? कसरी भयो ? कसको कमजोरीका कारणले भयो ? यी कुराको समीक्षा गर्न जरुरी छ । आगामी बाटो तय गर्नका लागि पनि समीक्षा गर्न आवश्यक छ । हाम्रो गल्ति कहाँनेर भयो ? त्यस्तो गल्तिको पुनरावृत्ति हुन नदिन पनि समीक्षा गर्नुपर्दछ । बदलिएको भूमिकामा अनुसारको कांग्रेस बनाउनका समीक्षा गर्नुपर्दछ ।

त्रुटि र कमजोरी भएको र अब संस्थागत ढंगले निर्णय गरेर मात्रै अघि बढ्ने गरी समीक्षा हुनु जरुरी छ । गल्ति महसुस भयो भने अन्तरविरोधहरु बढ्दैन । पार्टी संगठित र एकीकृत ढंगले अगाडि जाने स्थिति बन्छ । अवसर गुमेको छ, पार्टी प्रतिपक्ष दल हुन पुगेको छ । पार्टीको नेतृत्वप्रति आलोचना र टिकाटिप्पणी भइरहेको अवस्था छ । त्यसलाई सम्हाल्ने स्थितितिर जाने कि जे भइरहेको छ, ठीकै भइरहेको छ भनि पेलेर जाने ? फेरि पनि सत्ता आइहाल्छ, यसको कुनै समीक्षा गर्न जरुरी नै छैन भन्ने ? वा, अब कसरी सत्तामा जाने त्यसको सोचे मात्रै पुग्छ भन्नेतिर लाग्ने ? हल्का ढंगले कुरा गर्ने तथा गहिरिएर समीक्षा नगर्ने हो भने उठेका प्रश्नहरु अनुत्तरित नै रहिरहन्छन् । अन्तरविरोध बढी नै रहन्छन् । पार्टीको प्रभावकारिता घट्ने अवस्था हुन्छ ।

१४ औं महाधिवेशन सकिएको एक वर्ष पुगेको छ । नयाँ कार्यसमितिको एक वर्षे मूल्यांकन गर्ने बेला पनि भएको छ । महाधिवेशन पछिको यो एक वर्षलाई कसरी समीक्षा गर्नुहुन्छ ?

कुशल रणनीति अख्तियार गर्न नसकेका कारणले अहिले हाम्रो लागि अवसर गुमेको छ । एकवर्षे कार्यकाल मूल्यांकन गर्दा स्थानीयदेखि केन्द्रसम्म कांग्रेस ठूलो दल बनेको छ । पहिलो पार्टी किन भएको त ? सत्ताको नेतृत्व गर्नका लागि हो । समग्र राजनीतिको नेतृत्व गर्नका लागि हो । हामीले प्रस्तुत गरेका घोषणापत्र कार्यान्वयन गर्नका लागि सत्तामा पुग्नुपर्दछ ।

कांग्रेसलाई ठूलो दल नेतृत्वले नै बनायो । सत्ताबाट विमुख पनि नेतृत्वले नै बनायो । त्यसकारण हरेक घटनालाई जोडेर कांग्रेसले समीक्षा गर्नुपर्दछ ।

यही एक वर्षलाई अर्को पाटोबाट विश्लेषण गर्दा पार्टी यो वीचमा कति विधान अनुसार चल्यो त ? मूल नेतृत्वले कमजोरी गर्दा पछिल्लो पुस्ताले त्यसलाई सच्याउन सक्यो कि सकेन ? यी कुरामा उपलब्धि खासै भएको देखिन्न ।

विधान अनुसार त यो कार्य समिति पनि चलेको देखिँदैन । विभाग गठन हुन सकेको छैन । भ्रातृसंस्था लथालिङ छन् । सभापति देउवाले विधान अनुसार कांग्रेस चलाउन नसकेको बुझ्न सकिन्छ ?

विधि विधानलाई पूर्णरुपमा आत्मसाथ गरेर अघि बढ्ने सन्दर्भमा १४ औं महाधिवेशन अघि पार्टीभित्र जुन त्रुटि हुँदै आएको थियो, त्यो यथावत् देखिएको छ ।

महाधिवेशन मूलतः नेता चुन्नमा केन्द्रित हुने परम्परा थियो । नीति माथि बहस गर्न छुट्टै महाधिवेशन गर्ने व्यवस्था विधानमा राखिएको थियो । नीति महाधिवेशन हुने छाँट देखिएन है ?

यस विषयमा मैले पहिले पनि ‘रिजर्भेसन’ राखेको हुँ । नीतिलाई छुट्टै राखेर नेता छनोट हुन सक्दैन । नेता नीतिका आधारमा हुने हो । नेता भनेको व्यक्तिलाई छनोट गर्ने होइन नि । अग्लो छ कि होचो छ वा कुनै रंगको आधारमा छनोट गर्ने त होइन नि । व्यक्तिले कस्तो नीति बोकेको छ, त्यसको आधारमा छनोट गरिने हो । नेता र नीति छुट्याएर गरि महाधिवेशन व्यवहारिक र लोकतान्त्रिक होइन ।

हामीले त नीतिगत प्रतिस्पर्धा गर्ने हो नि । नेतृत्व लिन खोजिरहेको व्यक्तिले कस्तो नीति लिन खोजिरहेको छ ? आजको दिनमा निर्वाचन प्रणाली परिवर्तन गर्ने नीति ल्याएको छ कि ? समग्र राजनीतिक व्यवस्थालाई परिमार्जन गर्ने व्यवस्था बोकेर आएको छ कि ? समावेशी स्वरुपलाई अझ बढी समावेशी बनाउने नीति बोकेको छ कि ? आर्थिक, सामाजिक तथा तमाम समस्याका हल गर्ने उसको दृष्टिकोण कस्तो छ ? कति स्पष्ट र व्यवहारिक छ ? पार्टीलाई परिवर्तन गराउने कति हुटहुटी बोकेर ऊ आएको छ ? यस्ता कुराहरुको फेहरिस्तका आधारमा मात्रै नेतृत्व चयन गरिने हो । नीति बोकेको नेतृत्वले मात्रै समग्र सुधार दिनसक्छ । नीतिरहित नेतृत्वले सुधार गर्न सक्दैन ।

स्वार्थहरु जोडिएको आधारमा गुट निर्माण गर्ने जुन पद्धति छ, त्यसलाई मलजल गर्ने कार्य नीति विहीन नेतृत्व चयन गर्दा हुन्छ । नीति र नेतृत्वसँगै हुन्छन् । नीति र नेतृत्व जोडेर महाधिवेशनसँगै हुनुपर्दछ ।

नीति महाधिवेशन नै हुँदैन कि भन्ने तपाईंको आशंका हो ?

नीति महाधिवेशन छुट्टै गर्ने भनि त्यसबेला व्यापक छलफल गरेर पारित गरेको विषय पनि यो होइन । नीति महाधिवेशन छुट्याउने विषयलाई मैले महाधिवेशन अघिदेखि नै रिजर्भेसन राख्दै आएको छु ।

हामीले महासमिति बैठक राख्न सक्छौ नि । त्यहाँ नै नीतिका बारेमा छलफल गर्न सक्छौं । महाधिवेशन भएको बाहेकका हरेक वर्ष महासमितिको बैठक गर्ने विधानले व्यवस्था गरेको छ ।

फरक प्रसंग, संसदीय दलको नेता चयन हुने बेला तेस्रो उमेर समूहका नेताहरु एक ठाउँ उभिनु भएको थियो । तपाईं तीन जनाको गठजोड कति परसम्म जाने गरी बनेको हो ?

रुपान्तरणका लागि पुस्तान्तरण आवश्यक छ । पुस्तान्तरण पछि मात्रै रुपान्तरण हुने अवस्था छ । त्यसर्थ, म गगन थापाको पक्षमा उभिएको हुँ । पुस्तान्तरणले रुपान्तरण दिनसक्छ भनिसकेपछि त्यस अडानमा त निरन्तर रहिरहन पर्छ ।

महामन्त्रीमा हामी लडेका थियौं, हामी प्रतिस्पर्धी पनि हौं । यही पुस्ता बीच प्रतिस्पर्धा हुने विषय भयो भने अर्को विषय हो । अघिल्लो पुस्ताका नेताहरु अभिभावक बनिदिनुपर्दछ । पछिल्लो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्दछ । संगठित भएर यसरी नै अघि बढ्नु बाहेक अर्को विकल्प छैन ।

तपाईंहरु तीन जना (गगन थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल) बीच १५ औं महाधिवेशनमा कुन पदमा को उम्मेदवार हुने भागबण्डा गरेर गठजोड सम्भव भएको विश्लेषण गर्छन् नि ?

भित्र के-के भयो, त्यो मलाई जानकारी छैन । सहमतिका लागि लामो रस्साकस्सी भएको बाहिर बुझिन्थ्यो । उहाँहरुको छलफलमा म सहभागी पनि थिइनँ ।

मैले निकालेको निचोड रुपान्तरण पुस्तान्तरण पछि मात्रै सम्भव छ भन्ने हो । हाम्रो पुस्ताले कांग्रेसलाई नेतृत्व गर्न सक्छ । पार्टीलाई नयाँ तरिकाले अघि बढाउन प्रष्ट दृष्टिकोण ल्याउन सक्नुपर्दछ ।

१५औं महाधिवेशनमा पुग्न लामो समय छ । त्यसअघि हामीले निकै कामहरु गर्नसक्नुपर्दछ । हामी तेस्रो पुस्ता हौं । तेस्रो पुस्ता अघि सर्दै गर्दा पहिलो र दोस्रो पुस्ता संगठित हुने अवस्था पनि हुनसक्छ । हामीतिर उठेका प्रश्नहरु पनि अनुत्तरित हुनुहुँदैन । हामीले आफूलाई पूर्णरुपमा रुपान्तरण गरेको देखिनुपर्दछ । नयाँ शिराबाट जान विश्वसनीय तरिकाले देखाउन सक्नुपर्दछ । समस्या मात्रै होइन, समाधान दिनसक्ने नेतृत्व तयार गर्नसक्नु पर्दछ । त्यो हाम्रो पुस्ताबाट मात्रै सम्भव हुन्छ ।





Source link

HamroAwaj

2023-01-03 06:52:59

Leave a Comment