घनश्याम भूसालका दुःख – HamroAwaj


१९ पुस, काठमाडौं । निराशाजनक चुनावी नतिजा र बदलिएको राजनीतिक समीकरणले संकटमा परेको नेकपा एकीकृत समाजवादीमा घनश्याम भूसाल प्रवेश गर्ने सन्देशले थोरै उत्साह देखिएको छ । एमाले परित्याग गरी रुपन्देही–१ बाट स्वतन्त्र चुनाव लडेका भूसालले एकीकृत समाजवादी प्रवेश गर्न लागेको सन्देश चाहिँ स्वयम् अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक गरेका हुन् ।

आइतबार स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले पार्टी निर्माणमा अरु नेताहरू थपिने तयारी रहेको जानकारी दिँदै भनेका थिए, ‘साथीहरू पार्टीमा जोडिने कुराहरु आएका छन्, घनश्याम कमरेड तयार हुनुहुन्छ ।’ अध्यक्ष नेपालको यो सूचनालाई थप बलियो बनाउने गरी प्रचार विभाग प्रमुख जगनाथ खतिवडा पनि भूसाललाई पार्टीमा ल्याउने प्रयास भइरहेको बताउँछन् ।

त्यसअघि नै अध्यक्ष नेपालको निवास कोटेश्वरमा भूसाल पुगेको तस्वीर सार्वजनिक भएको थियो । १८ मंसिरको उक्त तस्वीरलाई लिएर भूसाल एकीकृत समाजवादी जान सक्ने धेरैले अनुमान गरेका थिए । तर भूसालले अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

पार्टी आवद्धताबारे भने भूसालले आफू तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पक्षमा रहेको बताउने गरेका छन् । डेढ वर्षदेखि वाम एकताकै पक्षमा लगातार वकालत गरेको सम्झदै भूसालले भन्ने गरेका छन्, ‘म सधैं वाम एकताको पक्षमा छु, त्यसैका निम्ति पहल गर्छु ।’

भूसालले भनेजस्तै आमचुनावपछि विकसित राजनीतिक घटनाक्रममा कम्युनिष्ट नेतृत्वकै सरकार बनेको छ । तत्कालीन नेकपाका दुई ठूला घटक एमाले र माओवादी केन्द्रले अन्य साना दलहरुको समर्थनमा सरकार बनाएको छ, पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् ।

तर स्थानीय चुनाव अगाडि नै वाम तालमेलको प्रस्ताव गरेका भूसाल भने अहिलेको सत्ता राजनीति भन्दा निकै टाढा छन् । बरू सत्ता राजनीतिको कोर्सबाट छुटेर अल्मलिएको एकीकृत समाजवादी प्रवेशको प्रचार चुपचाप सुनिरहेका छन् । स्रोतका अनुसार, प्रचार मात्रै नभएर भूसाल कुनै पार्टीमा लाग्दा एकीकृत समाजवादीमै प्रवेश गर्ने मनसायमा छन् । ‘समाजवादीका धेरै नेताहरुमा कम्युनिष्ट आन्दोलनको चिन्ता छ, उनीहरुप्रति मेरो दायित्व पनि छ’, भूसालले निकटकाहरुसँग भन्ने गरेका छन् ।

यसको अर्थ जुन एजेण्डा उठाउँदा एमाले परित्याग गर्नुपर्ने परिस्थिति बनेको थियो, त्यही एजेण्डा नजिक रहेर कम्युनिष्ट सरकार बन्दा भूसाल भने फेरि पनि संकटमा फसिरहेको एकीकृत समाजवादी जाँदैछन् । जबकी एकीकृत समाजवादी बनाउँदा भूसालले माधव नेपालमाथि नै गम्भीर गल्ती गरेको टिप्पणी गरेका थिए ।

त्यसबेला एमाले एकता जोगाउन अग्रसरता लिइरहेका भूसालले सामाजिक सञ्जालमै लेखेका थिए, ‘आफ्नै प्रत्यक्ष निर्देशनमा भएको १०बुँदे सहमतिलाई लत्याएर कमरेड माधव नेपालले संभवतः आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती गरेका छन् ।’ तर अहिले तिनै माधव नेपाल र उनको पार्टी एकीकृत समाजवादी प्रवेश गर्नु भूसालको तुलनात्मक भरपर्दो विकल्प बन्न पुगेको छ ।

डेढ वर्षभित्र देखिएको यो यूर्टनलाई भूसालले बाध्यात्मक कदम भन्ने गरेका छन् । भूसालले एमाले परित्याग गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीमा कम्युनिष्ट आन्दोलनप्रति इमान्दारिता नदेखिएको, पार्टीलाई नीति र विधिमा आधारित भएर नचलाएको आरोप लगाएका थिए ।

‘..म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावना समेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, २३ असोजमा भूसालले लेखेका थिए ।

गत २३ असोजमा भूसालले एमाले त्यागिरहँदा पार्टी वृत्तमै पनि मिश्रित प्रतिक्रिया थियो । ओली निकट रहेकाहरुले भूसालको निर्णयलाई सही मानेका थिए भने कयौंले गलत भनेका थिए । एमाले त्याग्नुलाई गलत निर्णय भन्नुको पछाडि भने भूसालको राजनीतिक पृष्ठभूमिले काम गरेको थियो ।

२०३४ देखि विद्यार्थी राजनीतिमा होमिएका भूसालले राजनीतिका बौद्धिक र दार्शनिक नेताको परिचय बनाएका छन् । अखिलको महासचिवसम्म भएर २०४८ देखि पार्टी राजनीतिमा रहेका भूसालले आफ्नो अर्थ–राजनीतिक विश्लेषणमा अहिलेका कम्युनिष्ट पार्टीहरुलाई नै सहमत गराएका छन् । लगातारको बहस र वकालतबाट उनले कम्युनिष्ट पार्टीहरुलाई ६ दशकपछि समाजको चरित्रबारे व्याख्या बदल्न बाध्य बनाएका थिए ।

२००६ सालमा नेकपाका संस्थापक नेता पुष्पलालले भनेको ‘अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक समाज’ अव नरहेको भूसालको व्याख्यालाई ०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनले अनुमोदन गरेको थियो । माओवादी केन्द्रले समेत यही निष्कर्षलाई स्वीकारेको छ ।

तर त्यही नवौं महाधिवेशनबाट एमाले अध्यक्ष निर्वाचित ओलीसँग भूसाल सधैं तिक्ततापूर्ण सम्बन्धमा रहे । महाधिवेशनबाट पारित दस्तावेजअनुसार, पार्टी कार्यक्रम बनाउन नसकेको निविर्कल्प निष्कर्ष राखिरहेका भूसालप्रति ओली पनि सधैं अनुदार देखिए ।

कतिसम्म भने २०७८ को मंसिरमा सम्पन्न दशौं महाधिवेशनमा तत्कालीन पार्टी उपमहासचिव भूसाल फेरि पदाधिकारी बन्ने परिस्थिति बनेन । ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका भूसालले उपाध्यक्षमा उम्मेदवार बनेर हारे । जबकी त्यो महाधिवेशनले समेत नवौं महाधिवेशनकै राजनीतिक दस्तावेज स्वीकारेको थियो ।

यसबाहेक १० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार नभएको, पार्टी बैठकहरूमा आफूले राखेको वाम तालमेल र एकताको प्रस्ताव अस्वीकार भएको लगायत कारण देखाएर भूसाल एमालेबाट अलग भए । ओलीप्रति भूसालको सबभन्दा ठूलो असहमति भने तत्कालीन नेकपाको एकता नजोगिने गरी ५ पुस २०७७ मा भएको प्रतिनिधिसभा विघटनको निर्णय थियो । त्यही निर्णयकै निरन्तरतामा ओली, प्रचण्ड र माधव नेपाल अलग–अलग दलका नेता हुने परिस्थिति बन्यो ।

तर स्थानीय, प्रदेश र संघको चुनावमा सहकार्य गरेको नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ सरकार बन्दा यी नेताहरु नजिक हुन पुगेका छन् । ओलीकै साथ पाएर प्रचण्ड प्रधानमन्त्री बनेका छन् भने २० महिनापछि ११ पुसमा मात्रै ओली र माधव नेपालबीच रहेको सम्वादहीनता टुटेको छ ।

यही बेला भूसाल भने पार्टीविहीन अवस्थामा छन् । पार्टीले प्रतिनिधिसभा सदस्यको टिकट नदिएपछि स्वतन्त्र भएर एमालेकै उम्मेदवारविरुद्ध चुनाव लडेको आरोप खेपिरहेका छन् । एमालेका उपाध्यक्ष युवराज ज्ञवाली भने यस्तो परिस्थितिलाई कम्युनिष्ट आन्दोलनकै रोग ठान्छन् । ‘फरक मत राखेर पनि त्यही पार्टीमा बस्ने धैयर्ता नहुनु र फरक मत राख्नेलाई जसरी पनि अलग हुने परिस्थिति सिर्जना हुनु कम्युनिष्ट आन्दोलनको पुरानै रोग हो’, ज्ञवाली भन्छन् ।

कम्युनिष्ट आन्दोलनकै नियति

पार्टीभित्रको मतभेदकै कारणले सुखद् राजनीतिक विदाइ नहुने परिस्थितिको सामना भने नेकपाका संस्थापक महासचिव पुष्पलाल स्वयमले खेपेका थिए । दोस्रो महाधिवेशनबाट पुष्पलाललाई हराएर केशरजंग रायमाझी नेतृत्वमा आए । तर रायमाझीले राजतन्त्रलाई साथ दिएपछि नेकपामा मतभेद शुरु भयो । रायमाझी कम्युनिष्ट आन्दोलनबाटै बिलाएर गए ।

पुष्पलाल आफ्नो अडान र व्याख्यामा रहिरहे, तर नेताहरु निरन्तर अलग भइरहे । ७ साउन २०३५ मा पुष्पलालको निधन हुँदा उनी नेतृत्वको नेकपामा हिक्मतसिंह भण्डारी, बलराम उपाध्याय, केशरमणि पोखरेल, एकदेव आले लगायत सानो संख्याका नेताहरु मात्रै बाँकी थिए । मोहनविक्रम सिंह, निर्मल लामाहरु अलग्गै पार्टी बनाएर अलग भइसकेका थिए ।

एकप्रकारले कम्युनिष्ट आन्दोलनमा ठूलो हलचल ल्याइरहेको कम्युनिष्ट नेताहरुको पंक्ति र संगठन पुष्पलालसँग थिएन । ०३३ सालमा मात्रै मदन भण्डारी, मोदनाथ प्रश्रित, जिवराज आश्रित, वामदेव गौतमहरुले विद्रोह गरेर मुक्ति मोर्चा बनाएका थिए । पुष्पलालबाट अलग भएर मनमोहन अधिकारीले नेतृत्व गरेको पूर्व कोशी प्रान्तीय कमिटीका धारहरुले राष्ट्रिय राजनीतिमा सशक्त उपस्थिति जनाइसकेको थियो ।

मनमोहन अधिकारी, भरतमोहन अधिकारी, कमल कोइराला, मोहनचन्द्र अधिकारीहरुको यही धारबाट अलग भएर राधाकृष्ण (आरके) मैनाली, चन्द्रप्रकाश (सीपी) मैनाली, रामनाथ दाहालहरुको नेतृत्वमा झापा विद्रोह भयो । युवा जोशका आरके, सीपी, झलनाथ खनाल, माधव नेपाल, मुकुन्द न्यौपानेहरुले अखिल नेपाल कोर्डिनेशन केन्द्र (कोके) नामबाट कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न थालिसकेका थिए ।

विभिन्न समयमा पुष्पलालबाट विद्रोह गरेका नेताहरु कोके र माले हुँदै एकताबद्ध समेत भइरहेका थिए । पुष्पलालको निधनपछि मात्रै उनी नेतृत्वको पार्टीसँग एकता गरेर एमाले बन्यो । तर चौम धारका मोहनविक्रम सिंह, निर्मल लामा, चित्रबहादुर केसीहरु अलग्गै रहे । यो धारमा युवा जोश लिएर आएका प्रचण्ड, बाबुराम, मोहन वैद्य, सीपी गजुरेल, नारायणकाजी श्रेष्ठहरु पनि समायान्तर सिंह, लामा र केसीहरुसँग सँगै रहन सकेनन् । पार्टीभित्र भिन्न मत राख्ने क्रममै यी नेताहरु नयाँ नेतृत्वसँग सँगै अगाडि बढ्ने परिस्थिति बनेन ।

अहिले प्रचण्ड र श्रेष्ठ एउटै पार्टी माओवादी केन्द्रमा छन् । वैद्य, गजुरेल लगायत माओवादी आन्दोलनका कयौं सशक्त हस्तीहरू राष्ट्रिय राजनीतिको पर्दामा छैनन् ।

एमाले धारमा पनि उत्तिकै डरलाग्दो वियोगान्त इतिहासले निरन्तरता पाइरहेको छ । पार्टी संगठन र कम्युनिष्ट आन्दोलन भनेर जीवनभर संघर्ष गरेका आरके, सीपी, माधव, झलनाथ, वामदेव, मुकुन्द लगायत ठूलो पंक्ति एमालेसँग छैन । लगभग एमालेबाट पार्टी इतिहास बोक्ने नेताहरु अलग छन्, अध्यक्ष ओलीले पार्टीभित्र सम्मान गर्नुपर्ने नेता रित्तिएको छ ।

एमाले उपाध्यक्ष ज्ञवाली, नेताहरुको संकीर्ण सोंच र निषेधको चिन्तनले कम्युनिष्ट आन्दोलनमा हुने टुटफुटकै कारण यस्तो समस्या सधैं देखिने गरेको बताउँछन् । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को उदाहरण दिँदै ज्ञवाली भन्छन्, ‘माओले पनि तेङ सियाओ पिङमाथि कारबाही गरेका थिए । तर उनले अलग्गै पार्टी बनाएनन् । सीपीसीबाट अलग भएनन् ।’ तर तिनै तेङ सियाओ माओको जीवनपछि सीपीसी र चीनको नेतृत्वमा आएको उदाहरण नेपालका कम्युनिष्ट पार्टीहरुले नसिकेको उनी बताउँछन् ।

अर्थात्, आफ्नै पौरखमा बनेको पार्टीको संस्थापनबाट अलग भएर दुखद् राजनीतिक विदाइ हुनुपर्ने पुराना कम्युनिष्ट नेताहरुकै नियति भूसालले पनि खेप्नुपर्ने खतरा पनि उत्तिकै देखिन्छ ।





Source link

HamroAwaj

2023-01-04 22:19:58

Leave a Comment