बिचौलियाले चलाइरहेको बुख्याचा राज्य प्रणाली – HamroAwaj


‘बुख्याचाहरूको कुनै सपना हुँदैन, मात्र बहाना गर्छन् सपना देखेको । उनीहरू ढोंगी हुन्, त्यसैले तर्साउँछन् विचराहरूलाई ! जसरी बुख्याचा देखेर चराहरू तर्सन्छन्, हावाको बहावमा सर्टको लामो बाहुला हल्लिन्छ, यताउता । त्यही हल्लाइसँग डराउँछन्, अवोध चराहरू । त्यस्तै प्रहरी, प्रशासनको बुख्याचा हल्लाइमा डराउँछन् नेपाली जनता । अनि निर्जीव हाँसो हाँस्छ, विजयको बुख्याचाले । तर बुख्याचाको आफ्नो कुनै आकृति छैन । ऊ त मालिकले आफूखुसी निर्माण गरेको आकृतिमा जीवन खोजिरहेको हुन्छ । मालिकले पनि कहिले उसलाई त्रासदीले भरिपूर्ण, कहिले शान्त आवश्यकता र इच्छा बमोजिम निर्माण गर्छ । राज्य चलाउने मालिकलाई चौबीसै घण्टा बाली रुँघिदिने बुख्याचा चाहिएको छ ।’

नागरिकता, मतदाता परिचयपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र सबैमा आफ्ना व्यक्तिगत विवरण तथा बायोमेट्रिक दिंदा दिंदा गलेर लखतरान भएको नेपाली नागरिकले मोटरसाइकलको लाइसेन्स लिन यातायात कार्यालयमा लामो लाइनका बीच पसिना पुछ्दै दिएको आक्रोशपूर्ण अभिव्यक्तिको सार हो, यो ।

देशको सेवा गर्छु भनेर राष्ट्रसेवकका रूपमा प्रवेश गरेको हरेक नेपाली युवाको मनमा ऐंजेरुले सखापै पार्न लागेको मुलुकलाई आफ्नै हात, कलम र विश्वासले निर्माण गर्ने सपनाहरू बगैंचामा फुलेका सुन्दर फूल जस्तै फुलेका हुन्छन् । मुलुकलाई औंसीको रातबाट विस्तारै पूर्णिमाको जस्तै सुन्दर र मनोरम बनाउने प्रयास हुँदै नभएका पनि होइनन् । विकासको सपना नदेखिएको पनि होइन । देशमा केही हुँदै नभएको पनि होइन ।

किन मुलुकको अपेक्षित विकास हुन सकेन ? किन सार्वजनिक सेवा प्रवाह जनमैत्री भएन ?

कानुनको शासनलाई मजाक बनाइनु नै यसको सरल र सहज उत्तर हो । जति नै चर्का कुरा गरे पनि नेपालमा विद्यमान लोकतन्त्र सीमित ठालुको हातमा रहेको भकुण्डो जस्तै बनेको छ । सीमित ठालुहरूले खेलको नियम आफैं बनाउँछन्, गोल आफैं गर्छन्, अनि खेल आफैं जित्छन् । जनतालाई दर्शक बनाएर पाराफिटमा राख्छन् । तातो घाममा खाली पेट पक्ष र विपक्षमा हुटिङ गर्न लगाउँछन् ।

कानुनहरू बन्छन्, कसैमा लागू हुन्छन्, कसैमा लागू हुँदैनन्, कहिलेकाहीं लागू हुन्छन्, कहिलेकाहीं हुँदैनन् । अझ कहिलेकाहीं त कानुनको कार्यान्वयन पासोको रूपमा हुन्छ । कुन अभागीका टाउकामा गएर त्यो कानुनको डन्डा बज्रन्छ, थाहा हुँदैन । कानुन मिच्न पाउनुलाई व्यवहार भनिन्छ । जो कर्मचारी कानुनको अक्षरशः पालना गर्नुपर्छ भन्छ, त्यो अव्यावहारिक र अप्ठ्यारो कर्मचारी मानिन्छ ।

डा. डिजन भट्टराई

एकदिन बिहानै चियापसलमा व्यापारी, वकिल, डाक्टर, ठेकेदार, सरकारी कर्मचारी, शिक्षक, नेता सबैजना भेला भएर गफ गरिरहेका थिए । सबैको चिन्ता देशको अपेक्षित विकास नहुनुमा थियो । भाकामा भाका मिलाई सबै जना भन्दैथिए, यो मुलुकमा केही हुँदैन । सब चोरका चोर छन्, कसैलाई देशको चिन्तै छैन ।

तर, व्यापारी आफू नाफा कमाउने शर्तमा मिसावट गरिनै रहेको थियो । डाक्टर तलब कम भएको पीरमा अस्पतालमा नगई क्लिनिकमा नै रमाइरहेको थियो । वकिल मोटो रकममा भ्रष्ट अपराधीलाई छुटाउने उपाय खोज्नमा नै व्यस्त थियो । ठेकेदार आफूले निर्माण गर्न जिम्मा लिएको संरचना अलपत्र पारेर बसेको थियो । सरकारी कर्मचारी तलब त हाजिर गरेको कारणले प्राप्त गर्ने हो, काम गर्न त अतिरिक्त रकम चाहिन्छ भनेर मागिनै रहेको थियो । शिक्षक पार्टीको कामले भ्याई नभ्याई थियो, स्कुल पढाउन नगएको पन्ध्र दिन भइसकेको थियो । नेता कमिसनको चक्करमा कुदिनै रहेको थियो ।

यी सबै घटनाको साक्षी म आफैं थिएँ । तर पनि यिनलाई देशको चिन्ता भएकोमा खुसी नै लाग्यो । यिनीहरू सबै आफू भ्रष्ट छन् तर पनि सुन्दर नेपालको सपना देख्छन् । आफूमा भ्रष्टता बोकेर सुन्दर सपना देख्न लाज लाग्दैन हामीलाई । हुनत यिनीहरूमध्ये जो भ्रष्ट हुँदैन ऊ तत्काल यो प्रणालीबाट सीमान्तकृत हुन पुग्छ । त्यसैले यस दुष्चक्रले भरिएको प्रणालीमा जसले आफ्नो अस्तित्व कायम गरेका छन्, तिनीहरू कुनै न कुनै रूपमा भ्रष्ट छन् । किनकि भ्रष्टताले छाएको प्रणालीमा इमानदारहरू सीमान्तकृत हुन पुग्नु यथार्थ हो । त्यसैले सबैले आफूलाई सीमान्तकृतबाट मुक्त हुनका लागि भ्रष्टताको प्रतिस्पर्धा गरिरहेका छन् ।

राज्यका प्रणालीलाई कमजोर बनाइएको छ । कस्मेटिक कुराहरूलाई चर्काे नारा दिएर स्थापित गरिएको छ । सेना, प्रहरी, प्रशासन, कानुनको शासनलाई मजाक बनाइएको छ । इतिहासमा यति कमजोर, हीनताले भरिएको कर्मचारीतन्त्र शायदै थियो होला । सीमित भ्रष्ट कर्मचारी, प्रहरीको हालीमुहाली छ । सत्ताका नजिक भएकाहरूको तुजुक त हेर्न लायक हुन्छ ।

यहाँ पाँच प्रतिशत भ्रष्ट कर्मचारी तथा प्रहरी प्रशासनका नाममा ९५ प्रतिशतलाई पनि सोही आधारमा हेरिन्छ । सीमित कागज र प्रमाणका आधारमा मानिसलाई भ्रष्टाचारी करार गर्ने प्रणाली छ । उसले जीवनभर गरेको त्याग, इमानदारीको कुनै अर्थ छैन । भ्रष्टाचार कागजका पन्नाहरूमा हुँदैन, मानिसको जीवनशैलीमा हुन्छ । त्यसैले कागजमा भ्रष्टाचार खोजिने प्रणालीको अन्त्य हुनुपर्छ किनकि भ्रष्टहरूले कागज मिलाउन जान्दछन्, इमानदारहरू काममा विश्वास गर्छन्, कागजमा होइन ।

राजनीतिमा आदर्श, इमानदारी, दर्शन, विचार र आस्थाको मृत्यु भएको छ । यसलाई घृणित पेशा बनाइएको छ । लोकतन्त्र, शान्ति र समृद्धिको सपना देखेर विद्रोह गरेका, जेलनेल भोगेका, त्याग र बलिदानीको ओजश्वी इतिहास भएका नेताहरूमा शक्ति र सत्ता प्राप्तिका लागि भएका क्रियाकलाप हेर्दा सपनाहरू मूर्झाउनु स्वाभाविक देखिन्छ । बालुवामा धान फल्दैन । त्यस्तै लोकतन्त्रका नाममा हामीले विकास गरिरहेको धनाढ्यतन्त्रमा हुने नै यही हो । यहाँ सफेद पोशाकमा लुट्न सक्नुलाई महानता मानिन्छ । नैतिकता र आदर्शलाई खिल्ली उडाइन्छ । पैसामा हरेक कुरा किनिन्छ, अनि बेचिन्छ ।

अधिकांश नेता असल छन्, अधिकांश प्रहरी, सेना, प्रशासक असल छन् तर किन तिनीहरू बुख्याचा भएका छन् ! मन्त्रालयका सचिव आफूले केही गर्न नसक्ने विरहका गीत गाउँछन् । कानुनको कार्यान्वयन गर्न तिनीहरूलाई कसले रोकेको छ ?

राज्य प्रणाली केही सीमित व्यापारीले चलाउँछन् । औपचारिक सत्ता राजनीतिक नेतृत्व, प्रहरी, प्रशासन, अदालतमा देखिन्छ तर अनौपचारिक सत्ता व्यापारीको हातमा छ । औपचारिक सत्ताका पदाधिकारीले त सहीछाप गर्ने मात्र हो । सीमित भ्रष्ट प्रशासक, प्रहरी, न्यायाधीश तथा भ्रष्ट व्यापारीको गठजोरले मुलुक भ्रष्टताको दुश्चक्रमा फसिरहेको छ ।

यहाँ आदर्श तथा इमानदार नेता, प्रशासक, प्रहरी तथा न्यायाधीशहरूलाई पहिले फकाइन्छ अनि थर्काइन्छ, धम्क्याइन्छ । त्यति गर्दा पनि गलेन भने नैतिक पतन देखिनेगरिको आरोपमा फसाइन्छ । यहाँका राजनीतिक नेतृत्व पनि व्यापारीको यो भ्रष्ट जालोको दुश्चक्रमा फसेका देखिन्छन् । त्यसैले उनीहरू प्रणाली बनाउन भन्दा व्यवहारका नाममा प्रणाली भत्काउन लागिपरेको देखिन्छ । यहाँ कानुन बमोजिम कसैलाई काम गर्न दिइँदैन । नियुक्ति, सरुवा, बढुवा तथा अवसरमा पनि राजनीतिक दलको आबद्धता हेरिन्छ । हरेक जिल्लामा कार्यालय प्रमुख पठाउँदा पहिले त्यो कसको मान्छे भनेर सोधिन्छ । कसको मान्छे भन्दा कि ऊ हाम्रो मान्छे हुन्छ, कि हाम्रो मान्छे हुन्न ।

यो प्रणालीले कसरी देश बनाउने होला भन्ने आशा मरेर त होला वा रहर मात्रै हो कि ! पासपोर्ट बनाउने लाइन देख्दा कहाली लागेर आउँछ । अधिकांश नेता असल छन्, अधिकांश प्रहरी, सेना, प्रशासक असल छन् तर किन तिनीहरू बुख्याचा भएका छन् ! मन्त्रालयका सचिव आफूले केही गर्न नसक्ने विरहका गीत गाउँछन् । कानुनको कार्यान्वयन गर्न तिनीहरूलाई कसले रोकेको छ ? राजनीतिक दलका शीर्ष नेतृत्वको नैतिकतामा पनि खासै प्रश्न उठेको छैन । तर पनि किन प्रणाली भ्रष्ट भइरहेको छ ? कसले हो यो भ्रष्ट प्रणालीलाई सुधार्ने ?

अबको बाटो के हो त ?
सर्वप्रथम, कानुनको शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्छ । त्यति मात्रै होइन, कानुनको प्रभावकारी कार्यान्वयन हुन्छ भन्ने अनुभूति प्रत्येक नागरिकलाई हुनुपर्छ । यदि कानुनको प्रभावकारी कार्यान्वयन भई दण्डहीनताको अन्त्य हुने हो भने नेपाली समाजमा जुन आज्ञाकारी चरित्रको संरचना छ, गैरकानुनी क्रियाकलाप र अपराध नगन्य नै हुन्छ । तर हालसम्म आम मानिसलाई आफू दण्ड प्रणालीबाट उन्मुक्त हुन्छु भन्ने लागिरहेको छ र गैरकानुनी क्रियाकलापमा संलग्न भइरहेको छ ।

हरेक नेपालीलाई देशको माया छ । मानिसहरू दुश्चक्र प्रणालीले लपेटिएका कारणले नै भ्रष्टताको दुनियाँमा गएका छन् । कसैलाई पनि भ्रष्ट तथा खराब हुने रहर हुँदैन, त्यसैले यो भ्रष्टताको दुश्चक्रलाई सुचक्रमा घुमाउन कानुनको प्रभावकारी कार्यान्वयन गरी दण्डहीनताको अन्त्य गर्नु नै पहिलो पाइला हुन सक्छ ।

दोस्रो, राजनीतिक प्रणालीलाई स्वच्छ बनाउनुपर्छ । विचार, आस्था, दर्शन, आदर्श र नैतिकतामा आधारित राजनीतिक संस्कार र संस्कृतिको विकास गरिनुपर्छ । राजनीतिलाई पेशा होइन, समाजसेवाका रूपमा स्थापित गरिनुपर्छ । निर्वाचन प्रणालीलाई वैज्ञानिक, पारदर्शी, कम खर्चिलो बनाउनुपर्छ । हामीमा विद्यमान सामन्ती संस्कृति र मनोविज्ञानलाई निर्ममतापूर्वक कमजोर बनाउने प्रणालीको विकास हुनुपर्छ । लोकतन्त्रको अनुभूति जनस्तरमा नै हुनुपर्छ ।

तेस्रो, एकीकृत तथ्यांक तथा सूचना प्रणालीको निर्माण गरिनुपर्छ । यसको लागि नेपाल राज्य भरका सरकारी कार्यका लागि नेपाल पोर्टल नामक सूचना तथा तथ्यांक भण्डार केन्द्र निर्माण गर्ने र हालसम्मका सबै तथ्यांकलाई सोही प्रणालीमा आवद्धता कायम गराई विद्युतीय शासनलाई व्यवहारमा नै रूपान्तरण गर्नुपर्छ । नेपाल सरकारका सम्पूर्ण निकायहरूले सूचना प्रवाह तथा सेवा प्रदान गर्न नेपाल पोर्टलको उपयोग गर्ने प्रणालीको विकास गरिनुपर्छ । निश्चित समयावधिभित्र नगदमा कारोबार हुने प्रणालीलाई अन्त्य गरी डिजिटल माध्यमबाट मात्रै कारोबार हुने प्रणालीको विकास गरिनुपर्छ । प्रणालीलाई यसरी व्यवस्थित गरिनुपर्छ कि राज्यले चाहेको बखत हरेक व्यक्तिको जानकारी एउटा क्लिकबाट प्राप्त गर्न सक्नुपर्छ ।

माथि उल्लिखित तीनवटा कार्यलाई प्रणालीगत रूपमा निर्माण गर्न सकियो भने यसको बहुआयामिक प्रभाव पर्छ । यसले मुलुकमा विद्यमान अधिकांश समस्यालाई निर्मूल पारी सुशासनमा आधारित समृद्ध लोकतान्त्रिक मुलुकको विकास हुनसक्छ ।





Source link

HamroAwaj

2023-01-05 10:07:58

Leave a Comment