सावित्री थापा : एक प्रेरणादायी समाजसेवीको गुमनाम कथा – HamroAwaj


ऐतिहासिक गहिराइ

एशियाली सभ्यतामा चीनको सिया राजवंश (ई.पू. २१००–ई.पू. १६००) कालखण्डदेखि नै राजनीतिक मानव सभ्यतासँगै मानव समाजसेवाको सामान्य अवधारणा आइसकेको थियो । उत्तरमा, चिनियाँ स्प्रिङ एण्ड अटम पिरियड (ई.पू. ७७०–ई.पू.४७६) भित्र, यता दक्षिण एशियातिर तत्कालीन नेपालको लुम्बिनीमा विश्व शान्तिका अग्रनायक शाक्यमुनि गौतम बुद्ध (ई.पू. ६२३–ई.पू. ५४३) को शान्तिदीप प्रज्वलित भइरहेको थियो । त्यसले संसारभरि मानव सभ्यताको सामाजिक गन्तव्यलाई नै कल्याणकारी क्रियाकलापतर्फ डो¥याउन सबक सिकायो ।

विश्वव्यवस्थाको कल्याणकारी समुन्नतिका लागि नै सिद्धार्थ गौतम (पछि गौतम बुद्ध) बाट पञ्चशील सिद्धान्त, शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तहरूको बीजारोपण भयो । तिनका मूल स्रोतहरू नै बुद्धका उपदेश हुन्, जसलाई पश्चिमा जगतले पनि स्वीका¥यो (थापा, शैलेन्द्रबहादुर; २०७९÷‘विश्व शान्तिका अग्रनायक गौतम बुद्ध’) । त्यसयता लामो कालखण्डपछि तत्कालीन सोभियत नेता निकिता ख्रुश्चेभले पञ्चशील सिद्धान्तलाई राजनीतिक सिद्धान्तसँग सम्झौता गराए । यो एक प्रकारले समाज नीतिको राजनीतिमाथि संक्रमण नै भएको मान्नुपर्छ । वाङडुङ सम्मेलनसँगै त्यो सिद्धान्तले व्यवहारतः माओ, चाओ, महेन्द्र, नेहरूबीच एशियाली एकताको पक्षमा राजनीतिसँग सम्झौता नै गर्न पुग्यो । त्यही सम्झौता यस क्षेत्रमा अन्तर्राष्ट्रिय सन्धि सम्झौताका विभिन्न आधारमध्ये एउटा आधार बनेको छ । यसैले हरेक नजिकिंदो राजनीतिक भविष्यसँग सामाजिक अपेक्षाले सम्झौता गर्न चाहन्छ । त्यो बेला असल समाज नीतिले सही राजनीतिक गन्तव्य पहिल्याउन खोज्दछ । सही राजनीतिक गन्तव्यले मात्र व्यक्ति, घरपरिवार, समुदायका लागि सही समाज नीति निर्माण गर्दछ ।

उत्तरमा, चिनियाँ सम्राट स्वानचोङ काल (ई.सं. ८४६–ई.सं. ८५९) र सम्राट चाओचोङ काल (ई.सं. ८८८–ई.सं. ९०४) को अवधि पृथ्वीकै महत्वपूर्ण मानव कालखण्डमध्येको एक मान्न सकिन्छ । त्यसबेला बल्ल पश्चिममा, बेलायती सम्राट अल्फ्रेड दि ग्रेट (ई.सं. ८४८÷८४९– २६ अक्टुबर ८९९) कालको इतिहास सुरु भएको थियो । यता, चिनियाँ सम्राट यिङचोङ (ई.सं. १०६४–ई.सं. १०६७) कालखण्डभित्र, उता ई.सं. १०६६ ताका युनाइटेड किंगडमको राजपरिवारका केही सदस्यले समाजसेवा र समाज कल्याण सम्बन्धी कार्यहरू प्रारम्भ गर्दैथिए ।

त्यसैको विकास स्वरुप समाजसेवाको क्षेत्रमा ई.सं. १२१५ जून १५ मा बेलायती ‘म्याग्नाकार्टा’ विश्वसामु आयो । त्यो बेला चीनमा उत्तरी सोङ राजवंश (ई.सं. ९६०–ई.सं. ११२७) कालखण्ड अन्तर्गतका सम्राट निङचोङ (ई.सं. ११९५– ई.सं. १२२४) को राज्यकाल चल्दैथियो ।

अझैपछि आएर चिनियाँ शक्तिशाली सम्राट काओचोङ (शासकीय टाइटल छिआनलोङ (ई.सं. १७३६–ई.सं. १७९५) को कालखण्डभित्र, उता ई.सं. १७७६ जुलाइ ४ मा संयुक्त राज्य अमेरिकाको विधिवत् स्थापना भयो । त्यसपछि (ई.सं. १७८९–ई.सं. १७९७) कालखण्डमा प्रथम अमेरिकी राष्ट्रपति जर्ज वाशिङ्गटन संयुक्त राज्य अमेरिकाका राष्ट्रपिता बन्नुभयो । उहाँकै राजनीतिक प्रतापले बल्ल अमेरिकी समाजसेवाको प्रारम्भिक यात्रा अगाडि बढ्यो ।

यसरी समाजसेवा र समाज कल्याणकै राजकीय इतिहासको गहिराइ हेर्दा संसारमै एशियाली सभ्यता अनुपम छ । एशियाली हिमाच्छादित (हिमालय) क्षेत्र वारिपारिका मध्यएशिया, दक्षिणएशियाका चिनियाँ र नेपाली समाजसेवाको ऐतिहासिक गहिराइ जति छ, उति नै भारतीय समाजसेवाको ऐतिहासिक गहिराइ छ ।

यस्तो गहिरो ऐतिहासिक पृष्ठभूमिबाट माथि उठेको नेपाली समाजसेवाको सुरुआत संस्कृति, संस्कार गुठी परम्पराबाट समेत विकसित भएको देखिन्छ । गुठी संस्कृतको गोष्ठीबाट बनेको त्यो शब्द हो जसको अर्थ ‘सामूहिक कार्य’ भन्ने बुझाउँछ । गुठी, रोधी, पर्म, दान आदिबाट नेपालमा समाजसेवा हुँदै समाज कल्याण र आधुनिक समाज कार्यको ऐतिहासिक विकास भएको पाइन्छ ।

यसरी गुठीको ऐतिहासिक तथ्य केलाउँदा नेपालका किराँत वंशीय राजाहरूले सर्वप्रथम गुठीको प्रचलन चलाएको कुरा शिलापत्रहरूमा उल्लेख छ (थापा, सावित्री; २०३३÷‘नेपालमा समाजसेवा’÷साझा प्रकाशन) । लिच्छविकालीन राजाहरूले देशका विभिन्न ठाउँमा देवताका मूर्तिहरू स्थापना गरी गुठीहरू राखेका प्रमाण छन् ।

यसैगरी मल्ल राजाहरूले पनि उपत्यकाभित्र विभिन्न प्रकारका गुठीहरू राखेको पाइन्छ । सबैभन्दा बढी गुठी राख्ने राजाहरूमा मल्ल राजाहरू नै देखिन्छन् । नेपालको एकीकरणपश्चात् शाहवंशीय राजा तथा राणा प्रधानमन्त्रीहरूले पनि गुठीलाई प्रोत्साहन दिएका थिए । उनीहरूले गुठीको संरक्षण गरेका प्रमाणहरू ताम्रपत्र, शिलापत्र, लालमोहर, सनद, सवाल आदि सुरक्षित छन् । नेपालमा त्यस्ता गुठीहरू राजगुठी, छुटगुठी, निजी गुठी आदि छन् ।

सन् १८८८ मा निर्मित शुद्ध र स्वच्छ पिउने पानीका वीरधाराहरू, चन्द्रशमशेरको सतीप्रथा र दासप्रथा उन्मूलन कार्य पनि महत्वपूर्ण मानिन्छ । त्यसैगरी तुलसीमेहर श्रेष्ठद्वारा सन् १९२६ मा निर्मित चन्द्र कामधेनु चर्खा प्रचारक महागुठीको स्थापना र वि.सं. २००२ मा दयावीरसिंह कंसाकारको सक्रियतामा परोपकार संस्थाको स्थापना पनि उदाहरणीय छन् । नेपाली समाजसेवाको प्रारम्भिक इतिहासमा संवत् २००९ असार १० मा स्थापित प्रसूति गृहलाई पनि महत्वपूर्ण मानिन्छ ।

समाजसेवा, समाज कल्याण, समाज कार्यबारे केही प्रतिष्ठित विद्वानहरूको मत

समाजसेवा, समाज कल्याण, समाज कार्यको अवधारणा र परिभाषा फरक–फरक पाइन्छन् । समाजसेवा परापूर्वकालदेखि चल्दै आएको अनौपचारिक, निःशुल्क र हार्दिक रूपमा समाजलाई पु¥याउने योगदान हो । त्यसलाई अव्यावसायिक समाजकार्य पनि भनिन्छ । अतः समाजसेवा समाजको स्वयंसेवा मात्र हो ।

समाजसेवाको भाव विना समाजकार्यमा पुग्न सकिन्न । समाजसेवाबाट त्यसलाई औपचारिक, व्यावसायिक आधार दिएपछि समाजकार्यको रूप तयार हुन्छ । तर समाजकार्य भनेको समाजको अध्ययनदेखि उन्नतिका आधारहरू सैद्धान्तिक र वैज्ञानिक रूपमा प्रष्ट भएका हुन्छन् । समाजसेवाले अनौपचारिक रूपमा समाजलाई नियाल्छ । तर समाजकार्यले संस्थागत आधारबाट सामाजिक विकासलाई अघि बढाउँछ (निक्कु, डा. बालाराजु; २०६७÷‘बाल न्याय र सामाजिक कार्य स्रोत पुस्तिका’) ।

जनकपुर गोष्ठीमा सहभागी विभिन्न विद्वानहरूले समाजसेवाको परिभाषा यसरी गरेका छन् ः राष्ट्रले सञ्चालन गर्ने कल्याणकारी मानवीय कार्यहरूलाई समाजसेवाका रूपमा लिइएको छ । राष्ट्रले निर्धारण गरेको कल्याणकारी लक्ष्य प्राप्तिका निम्ति लक्षित अन्य क्षेत्रबाट सञ्चालित सबै काम समाजसेवा अन्तर्गत पर्दछन् । जनतामा समाजसेवाको भावना उत्पन्न गरी सेवातर्फ उत्प्रेरित गर्दै कल्याणकारी समाजको सिर्जना गर्ने लक्ष्य प्राप्त गर्न सकिन्छ (अधिकारी, डिल्लीराम; २०५८÷‘समाज कार्य एक परिचय’) । यसरी समाजसेवी र सामाजिक कार्यकर्ताहरू एउटै के धारणामा सहमत देखिन्छन् भने समाजसेवामा त्याग र निस्वार्थ भावना हुन जरूरी छ ।

समाज कल्याणको अवधारणा पनि समाजसेवाको पृष्ठभूमिबाट नै विकसित भएको हो । समाज कल्याणको परिभाषित क्षेत्र समाजसेवा र समाज कार्यभन्दा व्यापक छ । समाज कार्य एउटा व्यावसायिक कार्य हो । तर समाज कल्याण विस्तृत कार्य र नीति दुवै हो । सबै मानिसले सबैका लागि संगठित रूपले चिन्तन गर्नु नै समाज कल्याण हो ।

रोबर्ट केल्सोले समाज कल्याणका उद्देश्यहरूबारे स्पष्ट पार्दै कुनै पनि व्यक्तिको अधिकारमा हस्तक्षेप गर्नुहुँदैन भन्नेमा जोड दिएका छन् । सबैलाई आर्थिक आवश्यकता पूर्तिका लागि समान अवसर प्रदान गर्नु समाज कल्याण हो भनेका छन् । त्यसैगरी उनले स्वास्थ्य सेवाका लागि समान अवसर, जीवन निर्वाहका लागि उचित अवसर र कमजोर विपन्नलाई सक्षम नागरिक सरह भेदभाव विना सहअस्तित्वको अवसर प्रदान गर्नु नै समाज कल्याणका उद्देश्य रहेको जनाएका छन् ।

समाजसेवा, समाज कल्याण र सामाजिक कार्यलाई व्यवस्थित रूपले सञ्चालन गर्नका लागि समाज कल्याण नीति चाहिन्छ । त्यसलाई कानुनद्वारा निर्देशित समाज कल्याण प्रशासनले चलाउँछ । विद्वान कम्टरका अनुसार समाज कल्याण एउटा यस्तो संस्था हो जसका निश्चित मापदण्ड, मूल्यमान्यता, जिम्मेवारी हुन्छन् । त्यसैका आधारमा समाज कार्यका क्रियाकलापहरूको कार्यान्वयन सामाजिक संस्थाअन्तर्गत गरिन्छ । फ्रिडलेन्डर, ‘समाज कल्याण भनेको सामाजिक सेवा तथा संस्थाहरूको एउटा संगठित व्यवस्था हो । त्यसको ढाँचाको निर्माण व्यक्ति तथा समूहले एउटा सन्तोषजनक जीवनस्तर र स्वास्थ्य प्राप्त गर्न सकुन् भन्ने हेतुले गरिएको हुन्छ । यो व्यक्ति तथा सामाजिक सम्बन्धप्रति लक्षित छ । यसले व्यक्तिहरूको पूर्ण योग्यताको विकास गर्न समुदायको आवश्यकताका साथै उनीहरूको आफ्नो भलाइ अभिवृद्धिका लागि सहायता गर्दछ’ (अधिकारी : ६–८) ।

समाज कल्याणको यो परिभाषालाई बृहत रूपमा लिन सकिन्छ । आधुनिक कालमा समाजसेवा र समाज कल्याणको पृष्ठभूमिबाट निर्मित समाज कार्यको अवधारणा र परिभाषालाई निकै महत्व दिने गरिएको छ । यसबारे विभिन्न विद्वानका विभिन्न परिभाषा मनन् गर्दा सामाजिक कार्यलाई एक विश्वविद्यालयीय विधा, व्यवस्थित, व्यावसायिक, वैज्ञानिक आँखाबाट बुझ्न जरूरी छ ।

सामाजिक कार्य एक व्यावसायिक अभ्यास

ल्याटिन भाषाको ‘प्रोफिटेरी’ बाट बनेको ‘प्रोफेसन’ (व्यवसाय) को अर्थ ‘सार्वजनिक रूपमा घोषणा गर्नु’ वा ‘प्रतिज्ञा गर्नु’ भन्ने हुन्छ । १७औं शताब्दीमा ‘व्यवसाय’ शब्दको अर्थ ‘जीविका’ को रूपमा प्रयोग भएको थियो । तर आधुनिक युगमा ‘व्यवसाय’ शब्दको अर्थ ‘संगठित जीविका’ भन्ने हुन्छ । त्यसका लागि एउटा विशेष औपचारिक ज्ञानको खाँचो पर्छ । अतः व्यवसाय भनेकै ‘वृृत्ति’ हो । तर त्यो वृत्ति समाजबाट मान्यताप्राप्त हुनुपर्छ । यसरी व्यवसाय भनेको जसरी पनि नाफा कमाउनु मात्र अन्तिम उद्देश्य होइन । किनकि सामुदायिक उपयोगिता तथा मान्यताप्राप्त नहुने वृत्ति व्यवसाय हुन सक्दैन ।

कार सेन्डरसनले आफ्नो प्रसिद्ध पुस्तक ‘दि प्रोफेसन’ मा उल्लेख गर्नुभएको छ ः ‘व्यवसायका लागि बौद्धिक प्रविधि हुनुपर्दछ । त्यो प्रविधि औपचारिक शिक्षाबाट हासिल गरिन्छ । त्यसलाई दैनिक जीवनका केही पक्षमा प्रयोग गरिन्छ । तसर्थ, व्यवसाय एउटा विशिष्ट वृत्ति हो जुन विशिष्ट शिक्षणबाट हासिल हुन्छ र प्राप्तकर्तामा सेवा गर्ने प्रविधि, सीप वा योग्यता हुन्छ’ (अधिकारी २०५८ ः ३७) ।

ग्रीन ऊडले क्रमागत सिद्धान्त, व्यावसायिक विद्वत्ता, सामुदायिक स्वीकृति, आचारसंहिता यी चार गुण भएपछि मात्र व्यवसाय हुन्छ भनी व्याख्या गर्नुभएको छ । अब्राहिम फ्लेक्सनरले उत्तरदायित्व र ज्ञान, नयाँ ज्ञानका लागि सम्मेलन, व्यावहारिक रूप र औपचारिक व्यावसायिक शैक्षिक प्रक्रियाको व्यावसायिक महत्वबारे प्रकाश पार्नुभएको छ । उहाँले व्यावसायिक समाजबाट स्वीकृतिप्राप्त हुनुपर्छ भन्नेमा जोड दिनुभएको छ । त्यसैगरी व्यवसायको लक्ष्य सामान्य जनता हुन्, विशेष व्यक्ति वा समूह होइन भन्नेमा ख्याल राख्नुपर्दछ भनेर व्यवसायका गुणहरूको व्याख्या गर्नुभएको छ ।

फ्रिडल्याण्डरले व्यवसायको परिभाषा दिने क्रममा अध्यापकको रेखदेखमा अभ्यासकर्ताहरूको प्रशिक्षण, शिक्षाका लागि शिक्षण संस्थाहरूको स्थापना र विश्वविद्यालयद्वारा व्यावसायिक शिक्षण संस्थालाई मान्यता दिएपछि मात्र व्यवसाय हुन्छ भनी आफ्नो अवधारणा पेश गर्नुभएको छ ।

समाज कार्य एक विशिष्ट सामाजिक मूल्यमान्यता, सिद्धान्त, प्रणाली, तत् विषयसम्बद्ध निश्चित विश्वविद्यालयीय डिग्री र आचारसंहितामा रहेर सेवाग्राहीलाई स्वावलम्बी (आत्मनिर्भर) बनाउन गरिने व्यावसायिक अभ्यासलाई बुझाउँछ । अतः समाज कार्य सिद्धान्त अनुसार समाज निर्माणमा ‘व्यक्ति’ केन्द्रविन्दु हुन्छ । सिद्धान्त र व्यवहारमा सामाजिक समस्याहरूको विशेष हेक्का राख्ने गरिन्छ । सामाजिक रोगका कीटाणुहरूको स्रोत पहिचान गरी सोको समाधान पनि समाज कल्याण प्रशासन र समाज कार्यबाटै गरिन्छ ।

वरिष्ठ सामाजिक कार्यकर्ता डिल्लीराम अधिकारीका अनुसार समाज कार्यमा ६ प्रकारका प्रणालीको प्रयोग गरिन्छन् ः पहिलो प्रणाली सामाजिक वैयक्तिक सेवा कार्य हो । यो कार्यअन्तर्गत ७ सिद्धान्त ः वैयक्तिकरणको सिद्धान्त, भावनाको उद्देश्यपूर्ण अभिव्यक्तिको सिद्धान्त, स्वीकृतिको सिद्धान्त हुन् । त्यसैगरी नियन्त्रित संवेगात्मक सम्बन्धको सिद्धान्त, गोपनीयताको सिद्धान्त, आत्मनिर्देशनको सिद्धान्त पर्दछन् । साथै अनिर्णयात्मक मनोवृत्तिको सिद्धान्त (व्यक्तिको समस्याको कारण व्यक्ति स्वयंलाई दोष लगाउनु उचित हुँदैन) लाई पनि महत्वपूर्ण मानिन्छ ।

दोस्रो प्रणाली सामूहिक कार्य, तेस्रो सामुदायिक संगठन, चौथो सामाजिक क्रियाविधि, पाँचौं समाज कल्याण विधि र छैटौं समाज कार्य अनुसन्धान विधि हुन् (थापा, शैलेन्द्र; २०७१ चैत १४÷‘गोरखापत्र शनिबार’) । सामाजिक कार्य अभ्यासको ढाँचा क्रमशः सूक्ष्म (माइक्रो) तहको अभ्यास र यसअन्तर्गत व्यक्तिगत, जोडी, परिवार पर्दछन् । मध्यम (मेसो) तहको अभ्यास र यसअन्तर्गत सामूहिक कार्य तथा सामुदायिक संगठन विधिको प्रयोग गरिन्छ । स्थूल (म्याक्रो) तहको अभ्यास र यसअन्तर्गतको अभ्यासमा नीतिनिर्माण तथा कार्यान्वयन गर्ने तहसँग यो ढाँचा अभ्यास गरिन्छ (निक्कु २०६७) ।

यसरी सामाजिक कार्यमा व्यक्ति र सामाजिक समस्याहरूको वैज्ञानिक तवरबाट व्यवस्थित खोज, अध्ययन, व्यवहार, प्रयोगलाई केन्द्रभागमा राखी तिनको समाधानका लागि विभिन्न उपाय अवलम्बन गर्ने गरिन्छ । फ्रिडलेन्डर, ‘समाज कार्य एउटा व्यावसायिक सेवा हो जुन वैज्ञानिक ज्ञान तथा मानव सम्बन्धसित सम्बन्धित निपुणतामा आधारित छ ।’ स्ट्रूप (१९६०), “समाज कार्य एउटा कला तथा विज्ञान हो जसमा विभिन्न साधनको प्रयोग व्यक्ति, समूह तथा समुदायको आवश्यकता पूर्तिका लागि गरिन्छ । साथै सामाजिक कार्यकताले वैज्ञानिक प्रणालीहरू (मेथोड) तथा प्रक्रिया (प्रोसेस) को प्रयोग गर्दै सेवार्थीलाई आत्मनिर्भर बनाउने प्रयास गर्दछ । सोको उद्देश्य सेवार्थीलाई आफ्नो सेवा आफैं गर्न सक्ने बनाउनु हो’ (अधिकारी २०५८) ।

यो पृष्ठभूमिमा सेवाग्राहीलाई आफ्नो सेवा आफैं गर्न सक्ने बनाउन आवश्यक सैद्धान्तिक संरचनाको आलोकमा थुप्रै नेपाली समाजसेवी क्रियाशील हुनुहुन्छ । जसमध्ये एक वरिष्ठ विदुषी नारी समाजसेवी सावित्री थापाको समाजसेवा कार्यबारे चर्चा गरौं–

नेपाली समाजसेवाको क्षेत्रमा सावित्री जंगम थापाको योगदान

पिता गोविन्दहरि जङ्गम, माता जमुनादेवी जङ्गमको गर्भबाट वि.सं.२००१ जेठ १२ मा सावित्री जङ्गमको जन्म भएको हो । नेपालमा पहिलोपल्ट सावित्री जङ्गम लगायतको नेतृत्वमा त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र संघको स्थापना भएको थियो । वि.सं.२०१८ मा उहाँ सो संघको संस्थापक उपाध्यक्ष र वि.सं.२०१९ मा अध्यक्ष हुनुभयो । त्रिभुवन विश्वविद्यालयबाट वि.सं.२०२० सालमा राजनीतिशास्त्र स्नातकोत्तर सावित्री जङ्गम, पूर्व वन सहायक मन्त्री एवम् वगाले थापा क्षेत्री परिवारका भोलामानसिंह थापाकी श्रीमती हुनुहुन्छ ।

उहाँ वि.सं.२०३२–३७ मा नेपाल सरकार गृह मन्त्रालयको समाज कल्याण शाखा प्रमुख र समाज कल्याण समितिको सदस्य सचिव हुनुहुन्थ्यो । उहाँले सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद् गठन सम्बन्धी कार्य सम्पादन गर्नुभएको थियो । उहाँले वि.सं. २०२० देखि विभिन्न उत्तरी नाकाहरूबाट नेपाल भित्रिएका करिब ६००० को संख्याका तिब्बती शरणार्थीको लागि देशका विभिन्न चार स्थानहरूमा शरणार्थी शिविर स्थापना गर्ने जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै, उहाँहरूका लागि बसोबास गर्ने कामको थालनी गर्नुभएको पाइन्छ ।

यसरी सावित्री जंगम वि.सं. २०२२–३२ मा तिब्बती शरणार्थी बसोबास कार्यक्रम प्रमुख हुनुहुन्थ्यो । त्यसक्रममा उहाँले शिविरमा बस्ने शरणार्थीका लागि गाँस–बासका अतिरिक्त शिक्षा, स्वास्थ्य सेवा तथा सीपमूलक तालिम प्रदान गर्नुभयो । विशेषगरी कार्पेट बुन्ने काम सिकाएर उहाँहरूलाई स्वाबलम्बी बनाएको पाइन्छ । सो कार्यक्रमका लागि आईसीआरसी, युएनएचसीआर र स्विस रेडक्रसको सहयोग तथा सहकार्य भएको थियो । यसरी करिब ७ वर्षपछि सबै शरणार्थी स्वावलम्बी हुने अवस्था भएपछि सो कार्यक्रम समाप्त गरिएको थियो (सम्पादक दीनदयाल रेग्मी, २०७९; ‘वरिष्ठ समाजसेवी सावित्री जंगम थापाको व्यक्तित्व र कृतित्व’) ।

यसरी नेपालको समाजसेवा, समाज कल्याणको क्षेत्रमा ‘सेवार्थीले आफ्नो सेवा आफैं गर्न सक्ने बनाउन’ उहाँले खेल्नुभएको प्रयत्नलाई महत्वपूर्ण सफलताका रूपमा लिन सकिन्छ ।

पूर्व गृह, शिक्षा मन्त्री विश्वबन्धु थापा, ‘सम्भवतः २०२० सालतिरको कुरा हो । साझाको सम्बन्धमा भएको हाम्रो छलफलमा त्यस समय शिवराज श्रेष्ठ, ध्रुव अर्यालसँगै सावित्री जङ्गमसँग मेरो भेट भयो । साझा यातायात, साझा भण्डार, साझा स्वास्थ्य सेवा र साझा प्रकाशन हाम्रो यस्तै छलफलका कारण सम्भव भएको हो’ (थापा, विश्वबन्धु, २०७५; ‘वरिष्ठ समाजसेवी सावित्री जङ्गम थापा अभिनन्दनग्रन्थ’) । राधिका रोक्का, ‘वि.सं.२०२२ मा नेपाल रेडक्रस सोसाइटीमा प्रवेश गर्दा तिब्बती शरणार्थीको बसोबास कार्यक्रमको जिम्मा सावित्री जङ्गमलाई दिइएको थियो । शरणार्थी शिविर सञ्चालन गर्ने जिम्मेवारीलाई उहाँले संयुक्त राष्ट्रसंघ अन्तर्गतको शरणार्थीका लागि उच्चायुक्तका प्रतिनिधि, स्विस रेडक्रसका प्रतिनिधिसँगको सहकार्यमा देशका विभिन्न जिल्लामा सञ्चालित शरणार्थी शिविरको व्यवस्थापन गर्नुभएथ्यो’ (रोक्का, राधिका; कहिल्यै नथाक्ने सहयोगी हात ः ८९–९०) । राधेश्याम कमारो, ‘तिब्बती शरणार्थीलाई मानवीय सेवा दिएर शान्तिपूर्वक नेपालमा बसोबास गराउने र मित्रराष्ट्र चीनसँग सुमधुर सम्बन्ध कायम राख्ने जस्तो संवेदनशील मामिलामा नेपाल रेडक्रस सोसाइटीलाई उहाँले बौद्धिक रूपमा सहयोग गर्नुभएको थियो’ (कमारो, राधेश्याम; एक व्यक्ति अनेक व्यक्तित्व : ९३) ।

कुशल प्रशासक सावित्री थापा लगायतका नेतृत्वदायी भूमिका खेल्न सफल राष्ट्रसेवकहरूकै कारण वि.सं. २०३२ मा स्थापित गृह मन्त्रालय अन्तर्गतको समाज कल्याण शाखा नै संवत् २०३८ मा समाज कल्याण मन्त्रालयमा रूपान्तरण भएको थियो । वि.सं. २०३८ देखि अस्तित्वमा रहेको समाज कल्याण मन्त्रालयमा महिला र बालबालिका पनि थपिन गई वर्तमान महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय बन्न पुगेको छ । समाज कल्याण परिषद् ऐन, २०४९ जारी भएपछि सम्पर्क मन्त्रालयका रूपमा यो मन्त्रालयमार्फत देशका समाजसेवी, सामाजिक कार्यकर्ताहरू स्वतन्त्र र अधिकारसम्पन्न रूपमा काम गर्न सक्रिय छन् भने सामाजिक कार्यकर्ताहरू शिक्षा मन्त्रालयसँग पनि सम्बन्धित छन् ।

उहाँले वि.सं. २०३७–४२ मा साझा स्वास्थ्य सेवको महाप्रबन्धक भएर काम गर्नुभएको थियो । त्यसैगरी साझा स्वास्थ्य सेवा (२०४६–४८) मा अध्यक्ष हुनुभई सो सम्बन्धी कार्य सम्पादन गर्ने अवसर प्राप्त गर्नुभएको थियो । वि.सं. २०४२–४८ साझा केन्द्रीय बोर्डको सदस्य सचिव हुनुहुन्थ्यो । त्यो बेला देशभर बचत तथा ऋण सहकारी कार्यक्रम सञ्चालन गर्न उच्चस्तरीय राष्ट्रिय बचत तथा ऋण सहकारी महासंघको स्थापना गर्ने कामको पहल गर्नुभएको थियो । बहाँले वि.सं.२०३८–६३ सम्म महिला तथा विकास केन्द्रको संस्थापक सदस्य, संचालक तथा कार्यकारी निर्देशक भएर काम गर्नुभएको थियो ।

वि.सं.२०४७–७२ सम्म ज्येष्ठ नागरिकको सेवा तथा संरक्षणका लागि स्थापित शान्ति आश्रम संस्थाको संस्थापक अध्यक्ष हुनुभएको थियो । त्यसपछि हालसम्म सो आश्रमको प्रमुख संरक्षक भएर कार्य सम्पादन गर्दै आउनुभएको छ । उहाँकै कार्यकालदेखि अक्टुबर १ तारिखका दिन ज्येष्ठ नागरिक दिवस मनाउने कार्यको थालनी भएको देखिन्छ । वि.सं.२०४९–७७ मा महिला सुरक्षा दबाब समूहको संस्थापक सदस्य, महासचिव, उपाध्यक्ष, अध्यक्ष हुनुभएको थियो । त्यो बेला उहाँले राज्यको हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको सहभागिता अनिवार्य हुनुपर्ने मुद्दालाई चुनौतीका साथ उठाउँदै आउनुभएको थियो । सन् १९९४ मा नेपाल रगमार्क फाउण्डेशनको स्थापना गर्नुभएको थियो ।

यी बाहेक उहाँका अनगिन्ती समाजसेवा र समाज कल्याण सम्बन्धी काम कार्यहरू छन् । यससँगै विभिन्न सामाजिक संघ, संस्थाहरूको स्थापना गरी आफ्नो देशको राष्ट्रिय हित, गौरव र सक्षमतालाई उँचो राख्ने कार्यमा उहाँ अहिले पनि अनवरत संघर्ष गरिरहनुभएको देखिन्छ ।

निष्कर्ष

एशियाली सभ्यताका विभिन्न राजनीतिक समाज र सामाजिक राजनीतिका प्रभाव क्षेत्रहरू छन् । तीमध्ये एक नेपाल र नेपाली समाजनीतिक कार्यको इतिहासमा सम्बद्ध शैक्षिक पाठ्यक्रम निर्माण गर्दा बिर्सन, छुटाउन नहुने दुर्लभ कृतिको नाम हो, ‘नेपालमा समाजसेवा’ । उनै विदुषी सावित्री थापा यस कृतिकी लेखिका हुनुहुन्छ । उहाँ देशका हजारौं हजार उल्लेखनीय समाजसेवीहरूका माझमा एउटा अलग्गै पहिचान बनाउन सफल समाजसेवी हुनुहुन्छ । साथै साहित्यकार, कवयित्रीको रूपमा परिचित उहाँले रचना गर्नुभएको कविताका ती श्लोकहरूले नारीका जीवन, भोगाइ, कर्मलाई फरक प्रकारले मुखरित गरेको पाइन्छ ः

‘हटेर हैन डटेर सभ्य समाज बनाऊँ,

ईश्वर फेरी मरेर पनि नारी भै म आऊँ ।’

(सम्पादक दीनदयाल २०७९)

लेखक त्रिभुवन विश्वविद्यालयबाट ‘नेपाल–चीन राजनीतिक आर्थिक सम्बन्ध’ विषयमा विद्यावारिधि शोधार्थी स्कलर हुन् । उनले तीनवर्षे समाज कार्य विषयमा स्नातक पनि गरेका छन् ।





Source link

HamroAwaj

2023-01-07 07:35:28

Leave a Comment