शक्तिका लागि सम्झौता गर्दै बिते बाबुरामका सात वर्ष – HamroAwaj


२६ पुस, काठमाडौं । ‘निर्वाचनको दबाव नपरेको भए सायद नयाँ शक्ति पार्टी अर्कै रूपमा निर्माण हुने थियो । कम्तिमा १० वर्ष सत्तातिर फर्केर नहेर्ने पार्टी स्थापनाताकाको संकल्प एक वर्षमै कमजोर हुनपुग्यो ।’

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको राजनीतिक समितिको पहिलो पूर्ण बैठकमा प्रस्तुत राजनीतिक दस्तावेजको अंश हो यो । उनको दस्तावेज पढ्दा गाउँघरमा चर्चित एउटा उखान याद आउँछ, ‘दिँदा नखाने, राति कोल चाट्ने ।’

तत्कालीन एकीकृत नेकपा माओवादीमा रहँदा डा. भट्टराईले आफूमाथि अन्याय भएको महसुस गरिरहे । ९ असोज २०७२ मा आफ्नो आधा जीवन खर्च गरेर बनाएको पार्टी परित्याग गर्दा उनले आफूलाई सत्ता र शक्तिको मोह छैन भने । ‘पावर पोलिटिक्स’बाट बाहिर निस्किएर ‘मिसन पोलिटिक्स’मा जाने घोषणा गरे ।

तर व्यवहार त्यस्तो देखिएन । हरेक चुनाव आउनासाथ उनी शक्तिका लागि सम्झौता गर्न हतारिए । संविधान जारीपछिको पहिलो चुनावका लागि १७ असोज ०७४ मा वाम गठबन्धनमा गएर उनले ‘लाल सलाम’ को मुट्ठी उठाए । तत्काल वाम गठबन्धनबाट बाहिरिएर कांग्रेससँग एक सिटका लागि गठबन्धन गरे पनि शक्ति हासिल गर्न सकेनन् । शक्तिकै खोजीमा उपेन्द्र यादवसँग पार्टी एकता गरे ।

त्यसबीचमा समाजवादी पार्टीको ३४ सिट देखाएर प्रधानमन्त्री बन्न खोजे, तर सफल भएनन् । त्यहाँबाट पनि निस्किएर माओवादीसँग २ सिटका लागि मिले । शक्तिका लागि सम्झौता उनको लागि एउटा नियति बन्यो ।

घोषित प्रतिबद्धता लत्याएर राजनीतिक शक्तिको भोक मेट्न ‘राति कोल चाट्ने’ अभ्यासले उनीमाथिको आम विश्वास धुमिल भयो । अनि उनकै निकटस्थ नेता कार्यकर्तासँगकै सम्बन्ध कमजोर बन्ने र टुट्ने हुँदै गयो ।

उतारचढावपूर्ण ७ वर्ष

माओवादी पार्टीसँग राजनीतिक सम्बन्ध विच्छेद भएको यो साढे सात वर्ष डा. भट्टराईको लागि उतारचढावपूर्ण रह्यो । ३१ जेठ २०७३ मा नयाँ शक्ति गठन गरेर नयाँ राजनीतिक यात्रा सुरु गरेका उनले वाम गठबन्धनमा सुरुवाती सहभागिता समेतलाई हिसाब गर्दा यस बीचमा ५ वटा पार्टी बदले । उनको दलबदलको यो संख्या अब चाँडै नै आधा दर्जन पुग्ने भएको छ ।

दशरथ रंगशालामा नयाँ शक्ति पार्टी घोषणा कार्यक्रममा कार्यकर्ताहरुलाई शपथ खुवाउँदै डा. बाबुराम भट्टराई ।

यो उतारचढावलाई डा. भट्टराईले राजनीतिक दस्तावेजमा फरक ढंगले व्याख्या गरेका छन् । उनले लेखेका छन्, ‘सरसर्ति हेर्दा छोटो समयमा पार्टी गठन र पुनर्गठनको श्रृङ्खला तीव्र देखिन सक्दछ, तर नयाँ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्मको विचार, राजनीति र एजेण्डा आधारभूत रूपमा उही नै रहेको छ ।’

राजनीतिक पार्टीलाई विचारसहितको मिसन भन्न रुचाउँछन् डा. भट्टराई । उनको विचारमा पार्टी साध्य नभएर साधन हो । नाम र संख्याभन्दा पार्टीले अवलम्बन गरेको विचार, राजनीति, एजेण्डा के छ भनेर हेर्नुपर्ने उनको तर्क छ ।

रणनीतिक उद्देश्य प्राप्तिका लागि कार्यनीतिक स्टेपहरू मिलाउन सिपालु हुनैपर्ने भट्टराई दस्तावेजमा स्वीकार्छन् । यसबीचका सबै भागदौडलाई उनी निजी स्वार्थ र लाभका लागि गरेको स्वीकार्दैनन् । उनले राजनीतिक दस्तावेजमा लेखेका छन्, ‘नयाँ शक्तिदेखि नेपाल समाजवादी पार्टीसम्म जति पनि पार्टी गठन, पुनर्गठनका प्रयासहरू भए ती कुनै निजी स्वार्थ र लाभका लागि थिएन । युगीन आवश्यकता र जिम्मेवारीबोधको भावनाले ओतप्रोत थिए ।’

वैचारिक अस्पष्टता

आम रूपमा भट्टराईले वैचारिक नेताको छवि बनाएका छन् । तर, झण्डै सात वर्ष संगत गरेका एक नेता उनलाई वैचारिक रूपमा अस्पष्ट मान्छन् । ‘प्राज्ञिक बौद्धिकता हुनु भनेको वैचारिक स्पष्टता हुनु होइन, राजनीतिमा वैचारिक प्रष्टता भनेको आफूले लिएको राजनीतिक कार्यदिशाको रक्षा गर्नु र त्यसमा दृढतापूर्वक उभिइरहनु हो,’ उनी भन्छन्, ‘जुन उहाँमा देखिएन ।’

कुनैबेला कार्यदिशाको रक्षाको लागि बलिदान गर्न पनि तयार हुने स्कूलिङ र अभ्यास संस्थागत गरेको उदाहरण स्मरण गर्दै ती नेता प्रश्न गर्छन्, ‘कार्यदिशाको रक्षा नगरी सम्झौता र शक्तिका अगाडि आत्मसमर्पण गरिरहने नेतासँग वैचारिक स्पष्टता छ भनेर कसरी मान्ने ?’

डा. भट्टराईमा माओवादी आन्दोलनमा जस्तो वैचारिक स्पष्टता–प्रतिबद्धता वैकल्पिक राजनीतिक अभियान/आन्दोलनमा नदेखिएको उनको टिप्पणी छ । उनी भन्छन्, ‘आफ्नो व्यक्तिगत महत्वाकांक्षालाई वैकल्पिक राजनीतिको रंग दिने प्रयास गर्नुभयो, तर हरेक साना–ठूला परीक्षामा उहाँ उत्तीर्ण हुन सक्नुभएन ।’

जसपा अध्यक्ष उपेन्द्र यादवसँग डा. बाबुराम भट्टराई ।

यता, राजनीतिमा कहिलेकाहिँ आउने असाध्यै प्रतिकूल अवस्थामा हतोत्साही भएर भाग्ने होइन, चुनौति र जोखिमको सामना गर्ने आँट गर्नुपर्नेमा उनले दस्तावेजमा जोड दिएका छन् । अनेक द्वन्द्व, तनाव, टुटफुट, विग्रह, विभाजन, एकता र पुनर्एकताको प्रक्रियाबाट गुज्रनुपर्ने उनी लेख्छन् ।

सम्झौताका कारण

जसपाबाट बाहिरिने बेलासम्म डा. भट्टराई वैकल्पिक राजनीतिक अभियानमै क्रियाशील हुने मुडमा देखिन्थे । तर, पारिवारिक वातावरण र ‘किचेन क्याबिनेट’का सदस्यहरूले शक्तिको राजनीतिकै लागि प्रेरित गरिरहे । त्यसलाई चिरेर मिसन राजनीतिमा टिकिराख्ने क्षमता र धैर्य उनमा देखिएन ।

राजनीतिलाई मूलतः मिसन नै हो भन्छन् डा. भट्टराई पनि । ‘राजनीति मूलतः मिसन हो, निश्चित विचार, सिद्धान्त, एजेण्डाप्रतिको समर्पण हो, राष्ट्र र राज्य निर्माणप्रतिको स्वस्फूर्त रुचि, प्रतिबद्धता र सक्रियता हो,’ उनी भन्छन्, ‘राजनीति आरोह–अवरोहपूर्ण कष्टसाध्य सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय कार्यभार हो ।’

सिद्धान्ततः बुझाई स्पष्ट नै रहे पनि व्यवहारमा उनी हरेक राजनीतिक दोबाटोहरूमा अल्मलिए । यो कुरा उनले आफ्नो दस्तावेजमा पनि स्वीकारेका छन् ।

‘नयाँ राजनीतिक पार्टी निर्माण र विकासका लागि वैचारिक राजनीतिक स्पेस भएर मात्रै नपुग्ने रहेछ, समयको उपयुक्त छनोट पनि गर्नसक्नुपर्ने रहेछ,’ उनले लेखेका छन्, ‘नयाँ शक्ति पार्टी हतारिएर घोषणा गर्नुभन्दा एकाध वर्ष पार्टी निर्माणको आधार तयार गर्न अभियान सञ्चालन गरेको भए निर्वाचनको दबाव पर्ने थिएन ।’

संगठनमा पनि आफू कमजोर ठहरिएको उनले स्वीकारेका छन् । विचार अनुरूपको संगठन भएन भने अन्ततः विचार नै असफल हुने उनले लेखेका छन् ।

घुमिफिरी रुम्जाटार

साढे सात वर्षपछि डा. भट्टराई प्रचण्डको नेतृत्वमा फर्कंदैछन् । एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राखेर माओवादीमा नफर्किएको सन्देश दिन उनी चाहन्छन् ।

भट्टराईलाई सजिलो बनाउन प्रचण्डले पनि भन्ने गरेका छन्, ‘यसबीचमा हामी दुवैले नयाँ प्रयोग गर्‍यौं, बाबुरामजीको विशुद्ध नयाँ बनाउने प्रयास पनि सफल भएन, मैले एमालेसँग गरेको एकताको प्रयोग पनि असफल भयो ।’

स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचनसम्म आइपुग्दा दलहरूप्रतिको अविश्वास, आम निराशा र वितृष्णासँगै मतदातामा स्वतन्त्र उम्मेदवारप्रति आकर्षण बढेको डा. भट्टराईले आफ्नो दस्तावेजमा स्वीकारेका छन् । तर, ‘विश्वास गुमाइरहेका’ तिनै दलहरूसँग एकीकरण, ध्रुवीकरण गर्ने निर्णयमा पुगेका छन् उनी ।

पार्टीको राजनीतिक समितिको बैठकबाट नयाँ ढंगले वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानलाई अघि बढाउने लाइन छाडेर विचार, नीति, कार्यक्रम मिल्ने निकटतम शक्तिहरूसँग सहकार्य, ध्रुवीकरण, एकीकरण गर्दै जाने विकल्प रोजेका छन् ।

दस्तावेजमा उनका केही स्वीकारोक्ति छन् । उनी लेख्छन्, ‘ठूला दलहरूको मत घट्दै गए तापनि ठूला पार्टीका रूपमा अझै नेपाली कांग्रेस र नेकपा (एमाले) नै रहेको तथ्य स्वीकार गर्नुपर्ने हुन्छ । यो मूलतः देशमा २०४६ यताको करिब ३ दशकको मतदान प्रवृत्तिको निरन्तता हो ।’

२०७४ पछि थपिएका ३६ लाख युवा मतदाताको मन जित्ने कार्यक्रम ठूला दलहरूले नबनाउँदा अर्को निर्वाचनसम्म मतदाताले विद्रोह गर्ने उनको आंकलन छ । पुराना र ठूला दलहरूको दम्भ, अधिकांश नेताको अक्षमता, अनैतिकता र बेइमानी देखेर युवा पुस्तामा वितृष्णा बढिरहेको उनको बुझाई छ ।

तर्क जे गरेपनि डा. भट्टराई साढे सात वर्ष अगाडिकै अवस्थामा पुगेका छन् । उनले समाजवादको नयाँ भाष्य र बाटो बनाउन वैचारिक काम गर्ने रुचि देखाएका छन्, जुन जनयुद्धकालभरि प्रचण्डको नेतृत्वमा गरेका थिए ।





Source link

HamroAwaj

2023-01-10 08:30:35

Leave a Comment