म त माइत आएँ, तिमी किन पछि लाएर आयौ ?
खानै नदिएर निकाल्यौ, फेरि किन धाएर आयौ ?
पछुतो लाएर हो कि साँच्चै माया पलायो तिम्रो
आयौ आफ्नै सुरले कि कसैले पठाएर आयौ ?
तिमीसँग हिमचिम हुँदा घरबाटै लखेटिएँ पहिले
धोका दिंदा पुगेन अहिले लाजै पचाएर आयौ ?
म हुँदा पो तिम्लाई कोखाईकोखाई गरेर ख्वाएँ
पकाएर दिने कोही भएनन् ? खानै नपाएर आयौ ?
भाइहरुलाई टेरेनौ कि टेरेनन् ? छिमेकीले हेरेनन् ?
ठीक छ तिमी पनि मलाई शिरमा सजाएर आयौ
HamroAwaj
2023-01-11 14:46:33