द्वन्द्व सकियो, सकिएन बारुदी धरापको त्रास – HamroAwaj


२९ पुस, दाङ । मुलुकमा फैलिएको कोभिड–१९ महामारीका कारण २०७७ वैशाखमा देशभरका विद्यालय बन्द थिए । वैशाख १७ गते मध्याह्न रोल्पाको त्रिवेणी गाउँपालिका–७ को गैरीगाउँका चार जना बालबालिका सधैं झैं खाना खाएर बाख्रा चराउन नजिकैको जंगल गएका थिए ।

द्वन्द्वको बेला निकै त्रासपूर्ण स्थिति भोगेको गैरीगाउँमा शान्ति–सम्झौता भएको १४ वर्षपछि यस्तो घटना घट्यो, जसले त्यो गाउँलाई नै स्तब्ध बनाइदियो । बाख्रा चराउन जंगल गएका चार बालबालिका बम विस्फोटमा परेर मारिए ।

ज्यान गुमाउनेमा एउटै गाउँका चार बालबालिका थिए । जसमा एउटै घरका दुई जना ५ वर्षका विजय केसी र ११ वर्षकी विमला केसी थिए भने बाँकी दुई जनामा १३ वर्षका नोखीराम डाँगी र १४ वर्षका गौरव नेपाली थिए ।

जंगलको छेउमा क्षत–विक्षत अवस्थामा बालबालिकाका शव थिए । नजिकै पड्केको ग्रिनेड बम र टु इन्च मोर्टारका गोली पनि भेटिए । गैरीगाउँका बासिन्दाले नगरेको गल्तीको सजाय पाए । विद्रोह र लडाइँको इतिहास पनि राम्ररी नसुनेका अबोध बालबालिका त्यसको अवशेषको शिकार भए ।

घटनास्थलमा फेला परेका विस्फोटक पदार्थ कसैले ती बालबालिकालाई लक्षित गरेर राखेका नयाँ हतियार थिएनन् । द्वन्द्वकालमा द्वन्द्वरत पक्षले प्रयोग गर्ने क्रममा ओसारपसार गर्दा छाडेका वा लुकाएर राखेका बम र बारुद थिए । घटनास्थलमा फेला परेका बमका आधारमा प्रहरी र सेनाले गरेको विश्लेषण अनुसार बालबालिकाले ती वस्तु भेट्टाएर खेलाउँदा पड्किएर उनीहरूको ज्यान गएको हुन सक्छ ।

गैरीगाउँ त्यही गाउँ हो, जहाँ सशस्त्र द्वन्द्वको अवधिमा तत्कालीन विद्रोही माओवादी र सुरक्षाकर्मीबीच ठूलो भिडन्त भएको थियो । पाँच दिनसम्म लगातार भएको दोहोरो भिडन्तमा दुवै पक्षले ठूलो संख्यामा बम र बारुद प्रयोग गरेका थिए । शान्ति–सम्झौतापछि पनि त्यो ठाउँमा पटक–पटक ठूलो मात्रामा हतियार, गोलीगठ्ठा र बम भेटिएको थियो ।

१७ वैशाख २०७७ मा बम विस्फोटमा परेर एक मात्र छोरा १४ वर्षीय गौरव नेपाली मारिएपछि आमा तिलकुमारीको जीवनको सबै खुसी खोसिएको छ । द्वन्द्वका क्रममा छोडिएको बारुदी धरापमा परेर भएको एउटा छोरा मारिएपछि उनको दिन, रात रोएरै बित्छ । द्वन्द्वका बेला त्रासपूर्ण जीवन भोगेकी उनले शान्तिपछि झन् चर्काे मूल्य चुकाउनुपर्‍यो । अहिले पनि छोराको तस्बिर हेर्दाहेर्दै उनका आँखा रसाइहाल्छन् । भक्कानो छाडेर रुन थाल्छिन् ।

बेवारिसे बम विष्फोटमा एक मात्र छोरा गुमाएकी रोल्पा गैरीगाउँकी तिलकुमारी नेपाली ।

घटना भएको दुई वर्ष बित्यो तर पनि उनका आँखा ओभाएका छैनन् । अहिले पनि छोराको तस्बिर हेर्दै उनी भक्कानिएर रुन छाडेकी छैनन् । ‘मेरो छोराको दोष केही थिएन, ऊ त भर्खरै हुर्कंदै थियो’ आँखाभरिको आँसु हत्केलाले पुछ्दै उनले भनिन्, ‘युद्धको मूल्य मेरो छोराले किन चुकाउनुपर्‍यो, हामीलाई जवाफ चाहियो ?’

त्यही घटनामा गैरीगाउँकी २७ वर्षकी नमुना केसीले दुई सन्तान गुमाइन् । खाना खाएर गोठालो गएका पाँच वर्षका छोरा विजय र ११ वर्षकी छोरी विमला विस्फोटक धरापमा परेर मारिए । घटनास्थलमा आफ्ना दुवै छोराछोरीको क्षत–विक्षत दृश्य देखेकी नमुना त्यो घटना कहिल्यै बिर्सन सक्दिनन् ।

‘म त्यो घटना केही गरी पनि बिर्सन सक्दिनँ’ उनले भनिन्, ‘अझै पनि बाबु–नानीको मुहार झल्झली सम्झिन्छु ।’ त्यो घटना सम्झियो कि उनी एकोहोरो रुन थालिहाल्छिन् । अवस्था कस्तोसम्म छ भने त्यो घटना भएयता उनी त्यस ठाउँमा जान समेत सकेकी छैनन् ।

‘आज पनि म त्यो ठाउँ जान सकेकी छैन’ उनले भनिन्, ‘मरेका छोरा छोरीको कलिलो मुहार झल्झल्ती सम्झिएर डराउँछु ।’ उनको मनमा कहिल्यै नमेटिने घाउ बनेको छ ।

११ कात्तिक २०७९ मा कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबडा गाउँमा यस्तै घटना भयो । शनिबारको एकाबिहानै घर नजिकै बालबालिका कोदो बारीमा खेल्दै गर्दा बम विस्फोट भयो । विस्फोटमा परेर ५ वर्षीया झरना थापा र ४ वर्षकी सरस्वती रानाको ज्यान गयो । घाइते तीन बालबालिकाको हात–खुट्टामा गम्भीर चोट लागेको छ ।

घर नजिकैको कोदो बारीमा खेलिरहेका बेला बालबालिकाले सकेट बम भेट्टाए । खेलौना सम्झिएर खेलाइरहँदा त्यो वस्तु पड्किएको थियो । घटनास्थलमा फेला परेको उक्त बम पनि सशस्त्र द्वन्द्वकै बेला प्रयोग भएको थियो ।

कालिकोटमा बेवारिसे बम विष्फोट हुँदा घाइते भएकी एक बालिका ।

बालबालिकाको घर नजिकै विस्फोट भएको ठाउँमा केही हप्ताअघि मात्रै पहिरो गएको थियो । घटनाको अनुसन्धानले द्वन्द्वकालको समयमा लुकाएर राखिएको विस्फोटक पदार्थ पहिरोले बगाएर ल्याएको र बालबालिकाले भेट्टाएर खेलाउँदा पड्केको भन्ने प्रहरीको निष्कर्ष छ ।

सो घटनामा पाँच वर्षीया छोरी गुमाएका जयलाल थापा अहिले पनि विक्षिप्त छन् । मुना जस्तै हुर्कंदै गरेकी छोरी गुमाउनुको पीडा उनले भुल्न सकेका छैनन् । थापा भन्छन्, ‘द्वन्द्वसँग मेरी छोरीको कुनै नाता–सम्बन्ध छैन । तर, यसले मेरी छोरीको ज्यान लियो । म न्याय माग्न कहाँ जाउँ ?’

दश वर्षको सशस्त्र द्वन्द्वमा १७ हजार बढी मानिस मारिए र कैयौं अंगभंग भए । यसरी मारिनेमा भिडन्तमा परेर मात्र नभई द्वन्द्वताका राज्यपक्षका सुरक्षाकर्मी र विद्रोहीले एकअर्कालाई लक्षित गर्दै थापेका बारुदी धराप र विस्फोटक पदार्र्थ पड्केर मारिनेको संख्या पनि ठूलो थियो ।

तर, सशस्त्र द्वन्द्वको अन्त्यसँगै धेरैले शान्तिको आशा गरेका थिए । तर शान्ति–सम्झौता भएको १६ वर्ष बित्दा पनि मुलुकमा बारुदी धरापको त्रास सकिएको छैन । द्वन्द्वका दौरान राज्य र विद्रोही पक्षले प्रयोग गरेर जंगल, खेतबारी, गुफा र भिडन्तस्थलमा बेवारिसे छोडेका यस्ता धरापले आज पनि बालबालिका र सर्वसाधारणको ज्यान लिन छाडेको छैन ।

पछिल्ला दुई घटनामा मात्रै ६ बालबालिकाले ज्यान गुमाएका छन् । द्वन्द्वको दौरान दुई पक्षले एकअर्का विरुद्ध लक्षित गरेर राखेका विस्फोटक पदार्थमा आम सर्वसाधारण पर्ने क्रम रोकिएको छैन भन्न माथिका दृष्टान्तहरू पर्याप्त छन् ।

‘जुनसुकै बेला पड्किन सक्ने धराप’

तनहुँकी गीता मगर द्वन्द्वकालमा परिवारसँग रुकुम पुगेकी थिइन् । कामको सिलसिलामा उनको परिवार रुकुम पश्चिमको मुसिकोटको बोहोरा गाउँमा डेरा गरी बस्थ्यो । २५ मंसिर २०६७ को शनिबारको दिन गीता साथीहरूसँग नजिकैको जंगलमा गएकी थिइन् । मध्याह्न उनी जंगलमा गएको बेला रूख नजिकै रहेको वस्तु अञ्जानवश टेक्न पुग्दा विस्फोट भयो । त्यो विस्फोटमा परेर उनले दाहिने खुट्टै गुमाइन् ।

बम विस्फोट भएको त्यो ठाउँ मुसिकोटको आर्मी ब्यारेक नजिकै पथ्र्यो । द्वन्द्वको बेला सेनाले व्यारेक नजिकै राखेको बारुदी धराप टेक्न पुग्दा उक्त घटना घटेको थियो । त्यस बेला उनी १२ वर्षकी थिइन् । अहिले उनी कृत्रिम खुट्टाले जीवन चलाइरहेकी छिन् ।

‘त्यो घटनाले मेरो संसार अन्धकार भयो’ गीताले अनलाइनखबरसँग भनिन्, ‘विना गल्तीको सजाय मैले भोग्नुपर्‍यो ।’

जाजरकोटमा भएको अर्को घटना; जहाँ ६ बालबालिका गम्भीर घाइते भएका थिए । २०७० फागुनमा जाजरकोटको तल्लो गाउँ भन्ने ठाउँमा आरनमा बेवारिसे विस्फोटक पदार्थ पड्कियो । ६ जना बालबालिका गम्भीर घाइते भए । स्थानीय जोख थापाले आरनमा ओदान बनाउन दिएको पाइप तताएर पिट्न खोज्दा विस्फोट भएको थियो ।

माओवादीले द्वन्द्वकालमा पाइप बम बनाएर गोठमा छोडेको उक्त पाइप थापाले ओदान बनाउन भनेर आरनमा लगेका थिए । विस्फोट हुँदा आरनमा काम गर्ने कमारो चदाराले उपचार क्रममा ज्यान गुमाए । अन्य पाँच जना बालबालिका भने मुस्किलले बाँचे ।

बेवारिसे बम

१३ माघ २०६६ मा हुम्ला रायाकी ७ वर्षीया वसन्ती बोहरा विस्फोटमा परेकी थिइन् । स्थानीय बाल शिक्षाको भवन पछाडि भेटिएको खेलौना खेलाउँदा उनी घाइते भएकी थिइन् । खेलौना ठानेर खेलाएको त्यो वस्तु सकेट बम थियो । उनको दाहिने हात, दुवै खुट्टाको घुँडादेखि तलको भाग र आँखामा गम्भीर चोट लाग्यो । बाबु कृष्ण बोहराले जेनतेन ऋण खोजेर छोरीको उपचार त गरे तर बमले खाइदिएकाले उनको शरीर सद्दे रहेन ।त्यही वर्ष जुम्ला हाकुकी रामलक्ष्मी गौतम पनि विस्फोटमा परेर घाइते भइन् । छिमेकी रूपचन्द्र बोहराको पुरानो घर भत्काउन सघाइरहेका बेला सकेट बम विस्फोट भएको थियो । उनको दाहिने कुहिनादेखि तलको हात छिन्यो । विस्फोटमा परेर अंगभंग भएकी उनी त्यसयता अपाङ्ग जीवन विताइरहेकी छन् ।

युद्धका बेला माओवादी लडाकुले जोखिमपूर्ण अवस्थामा भण्डारण गरेको विस्फोटक पदार्थ पड्किंदा धेरैजसो यस्ता घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको एक तथ्यांक अनुसार शान्ति सम्झौतापछि मुलुकभर बारुदी धराप र विस्फोटका थुप्रै घटना भएका छन् । यस्ता बारुदी धरापमा परेर २१ जना मारिएका छन् भने २७१ जना अंगभंग भएका छन् ।

‘द्वन्द्वपछि पनि यस्ता विस्फोटक घटनामा परेर सर्वसाधारण मारिने क्रम रोकिएको छैन’ मानवअधिकारकर्मी कृष्ण गौतम भन्छन्, ‘राज्य संवेदनशील हुन जरूरी छ ।’

५ मंसिर २०६३ मा सरकार र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति–सम्झौतामा दुई महिनाभित्र विभिन्न ठाउँमा रहेका विस्फोटक पदार्थ हटाउने भनिएको थियो । त्यसअनुसार सेनाले केही वर्ष लगाएर द्वन्द्वका क्रममा विछ्याएका विस्फोटक सामग्री हटायो ।

लडाकु समायोजन प्रक्रियासँगै विद्रोहीसँग भएका हातहतियार सरकारको मातहत पुगे । तर, द्वन्द्वका बेला जंगल, खेत, भिडन्त स्थल तथा लुकाएर राखिएका ठाउँमा छरिएका र बेवारिसे अवस्थामा रहेका विस्फोटक पदार्थ खोजबिन र सुरक्षित रूपमा भण्डारण गर्ने काम हुन सकेन ।

रोल्पाको त्रिवेणी गाउँपालिका–७ को गैरीगाउँमा बेवारिसे बम विष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको स्थान देखाउँदै एक स्थानीय ।

नेपालमा यस्ता बारुदी धराप विरुद्ध काम गर्दै आएको ‘बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपाल’ ले मुलुकमा बारुदी सुरुङको जोखिम नसकिएको बताएको छ । खासगरी द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षले एकअर्कालाई लक्षित गर्दै थापेका विस्फोटक पदार्थहरूको धरापको जोखिम अहिले पनि रहेको बताउँछिन्, अभियान नेपालकी संयोजक पूर्णशोभा चित्रकार ।

सरकारले सन् २०११ मा मुलुकलाई बारुदी सुरुङ मुक्त क्षेत्र घोषणा गरे पनि मुलुक बारुदी धरापको जोखिमबाट मुक्त नभएको उनको भनाइ छ । उनले माओवादीले युद्धकालीन अवधिमा जथाभावी सेल्टर बनाएका, भण्डारण गरेका, दोहोरो भिडन्तका क्रममा जंगल, खेतबारीमा छोडेका विस्फोटक पदार्थ यतिबेला मुख्य चुनौती भएको बताइन् ।

‘आज पनि पटक–पटक विस्फोटका घटना भइरहेका छन्’ उनी भन्छिन्, ‘यस्तोमा परेर ज्यान जाने र अंगभंग हुने क्रम रोकिएको छैन ।’

द्वन्द्वका बेला सुरक्षाकर्मी र तत्कालीन विद्रोहीले ठूलो मात्रामा विभिन्न ठाउँमा माइन, बारुदी सुरुङ र घरेलु विस्फोटक पदार्थहरू प्रयोग गरेका थिए । उनका अनुसार यस्ता माइन र विस्फोटक पदार्थहरू कहाँ–कहाँ राखेको थियो भनेर अहिले बिर्सिएका कारण यस्तो क्षति भइरहेको छ ।

‘बृहत् शान्ति–सम्झौतापछि बारुदी सुरुङ र विस्फोटक पदार्थ नष्ट गर्ने र हटाउने केही काम त भए’ उनले भनिन्, ‘तर युद्धका दौरान लुकाएका यस्ता विस्फोटक पदार्थ पूर्ण रूपमा नष्ट हुन सकेनन् । त्यसको परिणाम आज पनि घटना भइरहेका छन् ।’

उनका भनाइमा सेनाले आफ्नो सुरक्षाका लागि ब्यारेक वरपर विछ्याएका माइन हटाउने काम गरे पनि विद्रोहीले प्रयोग गरेका विस्फोटक पदार्थहरू अहिले पनि बेवारिसे अवस्थामा भेटिइरहेका छन् । ‘युद्धका बेला छोडिएका तर अहिलेसम्म पनि नपड्केर बसेका विस्फोटक पदार्थ अझै पनि होलान्’ उनले भनिन्, ‘ती जुनसुकै बेला विभिन्न कारणले पड्किन र सर्वसाधारणको ज्यान जान सक्छ ।’

राज्य ठान्दैन द्वन्द्वपीडित

तत्कालीन द्वन्द्वरत पक्ष सामेल भएको सरकारले द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता पारिएका, घाइते र अपाङ्ग भएकाहरूलाई द्वन्द्वपीडितको मान्यता दिएको छ । त्यस्ता पीडितको तथ्यांक राखेको छ र विभिन्न चरणमा धेरथोर राहत र क्षतिपूर्ति पनि दिएको छ ।

तर ५ मंसिर २०६३ को शान्ति–सम्झौतापछि भएका विस्फोट र यस्ता बारुदी धरापमा परेर मृत्यु भएका, अंगभंग भएकाहरूका सम्बन्धमा भने राज्यले कुनै अभिलेख नै राखेको छैन । उनीहरूलाई ‘द्वन्द्वपीडित’ पनि मानिएको छैन । त्यसैले यस्ता बारुदी धरापमा परेर अंगभंग भएका पीडितहरूले न उपचार पाएका छन् न क्षतिपूर्ति नै !

अनिता चौधरी

दाङ–देउखुरीकी अनिता चौधरी त्यस्तै एक पात्र हुन् । २०६३ पुसमा उनले अञ्जानमा विस्फोटक पदार्थ खेलाउन पुगिन् । त्यसबेला उनी ७ वर्षकी थिइन् । बाँसको घारीमा भेट्टाएको कलम आकारको विस्फोटक पदार्थ पड्कियो । घटनाबाट जसोतसो उनी त बाँचिन्, तर दायाँ हातको पञ्जा नै गुम्यो । १६ वर्षयता उनी अपाङ्ग जीवन बाँच्दै आएकी छन् ।

‘द्वन्द्वले मेरो आधा जीवन खाइदियोे’ अनिताले भनिन्, ‘यति हुँदा पनि मैले अहिलेसम्म औषधि उपचार खर्चसम्म पनि पाएकी छैन ।’ घटना भएको १६ वर्ष बित्दा पनि उनले राज्यबाट कुनै राहत, क्षतिपूर्ति पाएकी छैनन् ।

यति मात्रै होइन, राज्यले उनलाई द्वन्द्वपीडितसम्म पनि मानेन । उनले आफूलाई द्वन्द्वपीडितको परिचय माग्दै धेरै ठाउँ धाइन् । सिडियो कार्यालयदेखि मन्त्रालयसम्म पुगिन् । कसैले पनि वास्ता गरेन । यति ठूलो घटनामा पर्दा पनि राज्यले आफूलाई पीडितसम्म नठान्नुले आफू अन्यायमा परेको उनको भनाइ छ ।

‘म पनि द्वन्द्वकै घटनामा परेर घाइते भएकी हुँ’ उनले भनिन्, ‘म अंगभंग भएकी छु । शरीरभरि घाउ नै घाउ छन् । तर सरकार मलाई किन पीडित ठान्दैन ?’ उनलाई अहिले पढ्न–लेख्न समस्या छ, सरकारले केही राहत दिएहुन्थ्यो भन्ने छ ।

अपाङ्गता भएका द्वन्द्वपीडितहरूको राष्ट्रिय सञ्जालले सशस्त्र द्वन्द्वपछि विस्फोटक पदार्थमा परेर घाइते भएका १२ जना सम्पर्कमा आएको बताएको छ । द्वन्द्वको अन्त्यपछि यस्ता बारुदी धरापमा परेर अंगभंग हुनेको संख्या धेरै भए पनि थोरै मात्र आफ्नो सम्पर्कमा आएको सञ्जालका अध्यक्ष सुरेन्द्र खत्री बताउँछन् ।

‘द्वन्द्व सकिए पनि विस्फोटमा परेर अंगभंग हुने क्रम रोकिएको छैन’ खत्री भन्छन्, ‘राज्यले यस्ता पीडितको अभिलेख राखेको छैन, उनीहरू पनि सम्पर्कमा आएका छैनन् ।’ अंगभंग भएर राहत समेत नपाउँदा पीडितले असाध्यै अन्याय महसुस गरिरहेको र कष्टसाध्य जीवन बाँचिरहेको उनको भनाइ छ ।

बेवारिसे विस्फोटक सामग्री कसले खोज्ने ?

२७ फागुन २०७६ मा उत्तरी रोल्पास्थित थवाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेका थिए । स्थानीय घाँसीले थबाङ–३ मिरुलस्थित रापा जंगलमा ती बम फेला पारेका थिए । बिहान १० बजे स्थानीय बासिन्दा घाँस खोज्न वनमा गएका बेला शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । ठूलो संख्यामा फेला परेका ती बम तत्कालीन विद्रोहीले राखेका थिए ।

२०७८ फागुनमा पनि रुकुमपूर्वमा ठूलो संख्यामा सकेट बम भेटिएका थिए । स्थानीय बासिन्दा बाख्रा चराउन जंगल गएको बेला कालो प्लास्टिकको ड्रमभित्र राखेको अवस्थामा ठूलो मात्रामा सकेट बम फेला पारेका थिए । यस्ता विस्फोटक पदार्थ जतिबेला पनि पड्किन र सर्वसाधारणको ज्यान जान सक्छ ।

बम भेटिएको स्थानमा नेपाली सेना ।दशवर्षे सशस्त्र जनयुद्धको क्रममा तत्कालीन विद्रोही माओवादीले लुकाएका बमहरू आज पनि भेटिने गरेको रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ का पूर्वअध्यक्ष जीवन केसी बताउँछन् । द्वन्द्व सकिए पनि बारुदी सुरुङको त्रास अझै बाँकी रहेको उनको भनाइ छ ।

‘द्वन्द्व सकिए पनि बेवारिसे बमको त्रास र जोखिम सकिएन’ उनले भने, ‘युद्धको अवशेष यी विस्फोटक पदार्थको सिकार निर्दाेष जनता भइरहेका छन् ।’ उनले युद्धको बेला जंगल, खेतबारी र गुफा लगायतका ठाउँहरूमा भण्डारण गरिएका विस्फोटक पदार्थहरू खोजीमा राज्यले अभियान नै चलाउनुपर्ने बताए ।

नेपाल प्रहरीका डीआईजी टेकप्रसाद राईले राज्यको पक्षबाट त्यसबेला प्रयोग भएका बारुदी विस्फोटक पदार्थहरू हटाइएको भए पनि विद्रोही पक्षबाट राखिएका बमहरू अहिले पनि बेलाबखत फेला पर्ने गरेको बताए ।

‘ठूलो संख्यामा नभए पनि विद्रोही तर्फबाट छोडिएका विस्फोटक पदार्थ कहिलेकाहीं फेला पर्ने भएकाले त्यसको जोखिम कहीं न कहीं छ । बेलाबखत घटना भइरहेको पनि देखिन्छ’ उनले अनलाइनखबरसँग भने, ‘तर अरू यस्ता विस्फोटक पदार्थहरू कहाँ–कहाँ होलान् भन्ने यकिन गर्न सजिलो छैन ।’ उनले द्वन्द्वका अति प्रभावित क्षेत्रमा विद्रोहीले जंगलमा छोडेका, जमिनमा गाडेको अवस्थामा यस्ता अरू पनि विस्फोटक पदार्थ हुनसक्ने जोखिम भएकाले सचेतना फैलाउन जरूरी रहेको वताए ।

‘द्वन्द्वकालमा छोडिएका बमको जोखिमबारे स्थानीय सरकारमार्फत सचेतना फैलाउन जरूरी छ’ उनले भने, ‘ताकि अपवादमा कहीं कतै रहेका यस्ता धरापमा परेर थप क्षति हुन नपाओस् ।’

तर डीआईजी राईले भने झैं सचेतनाको कार्यक्रम मात्रै पर्याप्त हुन्छ वा यसमा सरकार स्वयंले कुनै अभियान चलाएर यस्ता बेवारिसे विस्फोटक सामग्री खोजबिन गर्ने अभियान समेत चलाउनु जरूरी पर्छ भन्नेमा बहसको खाँचो देखिन्छ ।





Source link

HamroAwaj

2023-01-13 20:49:52

Leave a Comment