भुमाहरू हारिरहने, झुमाहरू जितिरहने लोकतन्त्र – HamroAwaj


झुमा (नाम परिवर्तन) स्थानीय नेता बनिन्। उतिबेलाकी स्थानीय नेता, अहिलेकी केन्द्रीय नेता। जिल्लाको एक मात्र सामुदायिक क्याम्पस वालिङ क्याम्पसको एक भव्य कार्यक्रम थियो। जिल्लाका प्रमुख दलका नेताहरू उपस्थित। झुमा पनि।

वालिङ क्याम्पस स्याङ्जाको नमुना क्याम्पस हो। अहिले पनि क्याम्पसको साख सकिएको छैन। जिल्ला छोड्न नचाहने, जिल्ला छोड्न नसक्ने र निजी कलेजमा जान नचाहने विद्यार्थीको उच्च शिक्षाको आधार पनि हो वालिङ क्याम्पस।

मेरो पिताजी कुनै वेला क्याम्पस प्रमुख हुनुहुन्थ्यो। पिताजीले निकै लगानी गर्नुभयो त्यस क्याम्पसको श्रीवृद्धिमा। अरुले जस नदिए पनि मलाई थाहा छ पिताजीको योगदान। क्याम्पसको शैक्षिक अनुशासनलाई अक्षुण्ण राख्न निकै सास्ती खेप्नु पर्‍यो मेरो पिताजीले। उनले मागेका बेलामा स्ववियु निर्वाचन भएन भनेर अखिलका विद्यार्थीले घाँस खुवाए। क्याम्पस प्रमुखको कार्यकक्षमा बाहिरबाट चुकुल लगाएर भित्र मेरो पिताजीलाई थुने। कालोमोसो दल्ने काम गरे।

यति मात्रै होइन करिब दुई सय अखिलका विद्यार्थीले मेरो घरमा आई खोपा खोपामा छान मारे। भकारी भित्र लुकाइस् तेरो लोग्नेलाई भनी आमामाथि प्रहार गरे। अनि भकारीको धान पोखिदिए। सानै थियौँ हामी। म, मेरो दाइ थानप्रसाद सुवेदी र दिदी मिना। हामी अवाक् भयौँ।

पिताजी घरमा हुनुहुन्नथ्यो। आमाका आँखाभरि आँशु थियो। मेरो पनि। हामी सबैको आँखाभरि आँशु। निरीह र निर्बल हामी मूकदर्शक बन्यौं। आफ्नै पिताजीमाथि गरेको त्यो व्यवहार हामी बुझ्दैनथ्यौं। निरीहको वास्तविक साथी आँशु त रहेछ। हामी सबै आँशुले पोतियौँ।

क्याम्पसमा मानविकी र व्यवस्थापनको मात्र अध्यापन हुन्थ्यो। अहिले भने विज्ञान विषयको पनि अध्यापन हुँदैछ। वालिङ क्याम्पसको एक भव्य कार्यक्रम थियो। झुमा पनि अतिथि थिइन्। झुमाको बोल्ने पालो आयो। सामान्य सम्बोधन पछि झुमा चर्को स्वरमा भन्दै गइन्। यो क्याम्पसले यो देशका लागि कति डाक्टर बनायो। कति इन्जिनियर बनायो अनि कति पाइलट बनायो। यो क्याम्पस देशकै अग्रणी क्याम्पस हो।

उपस्थित सबै हाँसे। ताली बजाए। मेरो पिताजी पनि हाँस्नुभयो। उनी स्वर अझ चर्को बनाउँदै थप्दै गइन्। ताली थपिंदै गयो। अपठित, असहिष्णु र अहंकारको त्रिवेणीको अट्टहास असुरगम्य बन्दै थियो। पठित र अपठित विश्वविद्यालयी शिक्षा र तिनले दिने प्रमाणको कुरा होइन। विद्यालय शिक्षाबाटै वञ्चित एमाले अध्यक्षलाई कसले अपठित भन्छ र। ज्ञान र विज्ञानमा उत्तिकै जिज्ञासु र प्रखर देखिन्छन्। झुमा, न ज्ञान न विज्ञान। फगत अज्ञानलाई अहंकारले श्रृंगारिएको आकर्षण मात्र।

भुमा त्यही क्याम्पसमा पढाउँथिन्। भुमाले मलाई पनि पढाएकी हुन्। मेरो गुरु हुन्। पढाइमा निकै अब्बल भुमा पछि पद्मकन्या क्याम्पसमा स्थायी प्राध्यापक बनिन्। शैक्षिक क्रान्ति र सुशासनमा निकै अब्बल मानिन्छिन् भुमा।

गत भदौमा नेपाली कांग्रेसको चौधौं महाधिवेशन भयो। महाधिवेशन प्रतिनिधिमा भुमा र झुमा दुवै जना प्रतिस्पर्धी बने। एकै पदका लागि। महिला कोटामा। स्वाभाविक रूपमा भुमाले चुनाव जित्छिन् जस्तो लागेको थियो। पाका कांग्रेसको यही अनुमान। कांग्रेसको शुभ–चिन्ता गर्ने, लोकतान्त्रिक आन्दोलनप्रति श्रद्धा राख्नेहरू यही भन्थे।

मेरो पिताजीको पनि सायद चाहना यही थियो। प्राज्ञिक चेतनाको स्वाभाविक अनुमान। भुमा कांग्रेसलाई वैचारिक रूपमा बलियो बनाउने अभियानमा थिइन्। पार्टी शुद्धीकरण गर्ने, सुदृढीकरण, लोकतन्त्र र समाजवादको व्यावहारिक प्रयोगमा लाग्ने र समाजलाई स्वतन्त्र र समृद्ध बनाउने अभियानमा थिइन् भुमा।

कुनै पनि राजनीतिक दल विचारबाट अनुप्राणित हुनुपर्छ। संगठनको वैचारिक जगमा दलको निर्माण हुन्छ। दलको वैचारिक जग नै त्यो दलको जनविश्वासको आधार हो भुमा यही भन्थिन्। लोकतान्त्रिक समाजवाद आफैंमा अमूर्त हुनसक्छ। यसको जगमा नागरिकलाई दिइने सेवा र नेतृत्वको आचरणले लोकतान्त्रिक पार्टी प्रखर बन्छ।

यता झुमा मानविकी क्याम्पसका विद्यार्थीहरूलाई डाक्टर बनाउने आश्वासन दिइरहेकी छिन्। इन्जिनियर बनाइरहेकी छिन्। बीपी कोइरालाले प्रतिपादन गरेको समाजवादको व्याख्या शब्द रटानमा अभ्यस्त बन्दैछिन्। चुनावमा भुमा हारिन्। झुमा जितिन्। विशद् अन्त्य यही हो।

हामी मूकदर्शक बन्यौँ। नेपाली कांग्रेसले जित्यो वा हार्‍यो थाहा छैन तर भुमा हारिन्। यो यथार्थ हो। झुमा जितिन् यो पनि यथार्थ हो। बीपीवादले हार्‍यो। लोकतान्त्रिक समाजवादले हार्‍यो। अकिञ्चनको आहटबाट त्राण दिने मौलिक समाजवादी चिन्तनले हारेको हो।

अविचलित वैचारिक सांगठनिक जगले हार्‍यो। अनि त्योभन्दा बढी निष्ठा, इमानदारी र दर्शनले हारेको छ। भ्रम र अहंकारले जितेको छ। षडयन्त्र र अट्टहासले जित्यो। मतदाता त्यतै लागे। भ्रमलाई विश्वास गरे। मेरो पिताजी फेरि मुस्कुराउनुभयो, सायद नेपाली कांग्रेसको बाँकी जीवन सम्झेर।

मंसिर ४ गते आम निर्वाचन सम्पन्न भयो। १६५ सिटमध्ये कांग्रेसले एकानब्बे सिटमा मात्र उमेदवार उठायो। नेपाली कांग्रेसले उमेदवारी दिएको स्थानको सांघुराइले यसै पनि कांग्रेसको दार्शनिक विरासत गुमाएको मानिन्छ। चुनाव सम्पन्न भयो। नेपाली कांग्रेस सबैभन्दा ठूलो राजनीतिक दल बन्यो। नेकपा एमाले दोश्रो दल बन्यो भने माओवादी केन्द्र तेस्रो।

सत्ता गठबन्धन गरेर एमालेलाई एक्लो बनायो तत्कालीन गठबन्धनले। आफूलाई निकै मार्क्सवादी भन्ने माओवादी केन्द्र र एकीकृत समाजवादी पनि मार्क्सको राजनीतिक दर्शन निषेधको निषेध नीतिलाई गिज्याउँदै एमाले निषेध अभियानमा एकीकृत भए।

चुनावी अभियानमा तत्कालीन सत्ता गठबन्धनको चिरायुको रटान पुस १० गते समाप्त भयो। अविचारहरूको छद्म संगठन नयाँ छद्म सत्ता समीकरणले अलप बनाइदियो। एमाले माओवादीको छद्म गठबन्धनले सरकार बनायो।

सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस सत्ता बाहिर बस्न बाध्य भयो। झसंग भयो। तर्स्यो र छाँगाबाट खसे जस्तो भयो। बेलामा समीकरण नमिलाउँदा र अविश्वासीलाई धेरै विश्वास गर्दा मुखमा आएको सत्तारोहणको अवसरबाट बलात् खोसियो। किंकर्तव्यविमूढ बन्यो। जितेर पनि हार्‍यो।

झुमाले जितेर हारेजस्तो। मेरो पिताजी फेरि मुस्कुराउनुभयो। नमिठो, अमिलो मुख थियो। सायद भन्नुभयो मनमनै कांग्रेसमा यस्तै हुन्छ अब। जितेर पनि हारिरहन्छ। जहिलेसम्म भुमाहरू हारिरहन्छन् र झुमाहरू जितिरहन्छन्।

 





Source link

HamroAwaj

2023-01-14 10:10:26

Leave a Comment