साहित्य र पसिना – HamroAwaj


२३ डिसेम्बर, १९२७

शाङ्घाईका एकजना प्राध्यापकले साहित्यबारे प्रवचन दिंदै बताएका छन् कि साहित्यले शाश्वत मानवीय गुणहरूको बखान गर्नुपर्छ नत्र साहित्य टिक्ने छैन । दृष्टान्तका निम्ति, इङ्गल्याण्डका शेक्सपियर र अरू केही कृतिकारहरूले शाश्वत मानवीय गुणहरूबारे कलम चलाएकाले उनीहरूलाई आजसम्म पनि अध्ययन गरिंदैछ; अरू लेखकहरू भने शाश्वत मानवीय गुणहरूबारे लेख्न विफल भए, फलस्वरूप उनीहरूका ग्रन्थहरू नष्ट भएर गए ।

यो वास्तवमा एउटा यस्तो मुद्दा हो: ‘तपाईं जति बढ्ता व्याख्या गर्नुहुन्छ उति बढी म अक्क न बक्क पर्दै जान्छु ।’ म कुन कुरा सम्भव हुनसक्नेमा शतप्रतिशत विश्वस्त छु भने प्राचीनकालका धेरै अङ्ग्रेजी साहित्यिक कृतिहरू हराएर गइसकेका छन्, तर झिंगाको पित्त जति पनि मेरो चित्त कुन कुरामा बुझ्दैन भने ती रचनाहरू लोप हुनुको कारण तिनले शाश्वत मानवीय गुणहरूबारे बखान गर्न नसकेकाले हो ।

अहिले मेरो घैंटोमा यो कुराले घाम लागेपछि म कुन कुरा बुझ्न घोत्लिएको छु भने प्राध्यापकले नष्ट भइसकेका भनेका रचनाहरूको दर्शन कहाँ पाए र उनले तिनमा शाश्वत मानवीय गुणहरू छँदै छैनन् भनी कसरी आफ्ना ओठका परेली चलाउन सक्ने भए ?

कृति : सेलेक्टेड वक्र्स अफ लु सुन (दोस्रो ग्रन्थ)
प्रकाशक : फर’न ल्याङ्गुएजेज प्रेस (पेकिङ सन् १९६४)
अनुवाद पृष्ठ : ३५३–५४
अनु. सरोनर

जुन टिकेको हुन्छ त्यो असल साहित्य हुन्छ, जुन नष्ट भएर गएको हुन्छ त्यो खराब साहित्य हुन्छ । तपाईं एउटा मुलुक हत्याउनुहुन्छ भने सो मुलुकको महाराज कहलाउनुहुन्छ, तर असफल हुनुभएको खण्डमा तपाईं एउटा इलाकाको कुनै डाँका हो । इतिहास सम्बन्धी चिनियाँ सिद्धान्त साहित्य सम्बन्धी चिनियाँ सिद्धान्तमा लागू हुन लागेको कुराले मेरा कान नतताइदिनुहोला ।

के मानवीय गुणहरू एक जुगमा एक दिन एकचोटि पनि फेरिन्नन् त ?

नरवानर वा मान्छेजस्तो बाँदर, बाँदरजस्तो मान्छे वा वानरनर, आदिम मनुवा, प्राचीन मनुष्य, आधुनिक मानिस र भावी मानव । … यसरी सजीव प्राणीहरू क्रमिक रूपमा विकसित हुन्छन् भने मानवीय गुणहरू समेत नफेरिइरहन सक्दैनन् ।

हामीहरू प्राग्ऐतिहासिक मनुष्यहरूका भावनाहरूबारे अड्कलसम्म पनि गर्न सक्छौं–सक्दैनौं मलाई सन्देह छ, वानरनर वा बाँदरजस्तो मान्छेहरूको त कुरै नउप्काऔं; र भावी मानवहरूले पनि हाम्रा भावनाहरू बुझ्न नसक्लान् । शाश्वत मानवीय गुणहरूबारे लेख्नु साँच्चिकै फलामको चिउरा चपाउनुसरी छ ।

पसिनालाई प्रस्तुत गरौं, उदाहरणका रूपमा । मलाई के विश्वास छ भने हामी जहिले पनि पसिना काढ्छौं, हामी आज पसिना काढिरहेका छौं र भोलिका दिनमा पनि पसिना नै काढ्छौं; तसर्थ पसिना काढ्नुलाई तुलनात्मक रूपबाट एक ‘शाश्वत मानवीय गुण’ भनेर ग्रहण गर्न सक्छौं जस्तो मलाई लाग्छ । तर सुकुमार नवयुवतीहरू अत्तरजस्तो सुगन्धित पसिना काढ्छन्, गोरुजस्तै काममा जोतिएका मजदुरहरू चाहिं दुर्गन्धित पसिना काढ्छन् ।

यदि म एक लेखक हुन चाहन्छु जसको नाउँ युगयुगको मुखमा झुन्डिनेछ, त्यस्ता कृतिहरू रचना गर्नेछु जुन चिरञ्जीवी हुनेछन्, त्यसको निम्ति सुगन्धित पसिना वा कुइगन्धे पसिना कुनचाहिंबारे लेख्नु उचित होला ? हामीले यो समस्याको हल निकाल्न नसकुञ्जेल साहित्यको इतिहासमा हाम्रो स्थिति ‘भयावह जोखिम’मा रहनेछ ।

मैले सुनेको छु इङ्गल्याण्डका, नमूनाका लागि धेरैजसो प्रारम्भिक उपन्यासहरू स्त्रीहरूका निम्ति लेखिएका थिए, तिनमा पक्का पनि पफ्र्युमजस्तो पसिनाको प्रधानता थियो; तर उन्नाइसौं शताब्दीको संघारमा इङ्गल्याण्डको औपन्यासिक साहित्यलाई रूसी साहित्यले प्रभावमा पार्‍यो, सोही कारणले त्यसले थोरै कुइगन्धे पसिना पनि काढ्यो ।

अत्तरजस्तो पसिनाको साहित्य र कुइगन्धे पसिनाको साहित्यमध्ये कुनचाहिं एकदमै पछिसम्म टिक्लान् त्यसको लागि अहिले नै ‘बस्न पायो भन्दैमा थ्याच्च बसिहाल्नु बोल्न पायो भन्दैमा प्याच्च बोलिहाल्नु’ मनासिब नहोला ।

चीनमा, ताओवादीहरूले ताओ धर्मबारे र आलोचकहरूले साहित्यबारे पस्केका प्रवचनले कान पवित्र पार्दा हजुरलाई घाँटी अँठ्याएको जस्तो लाग्छ, पसिनै भने काढ्नुपर्दैन । तर सके यही नै चिनियाँहरूको शाश्वत मानवीय गुण हो ।





Source link

HamroAwaj

2023-01-14 07:31:43

Leave a Comment