त्यो यात्रा अनौठो अनि साथ तिम्रो… – HamroAwaj


एउटा फरक यात्राको सुरुवात । ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीसँगका धेरै यात्रामध्येको अत्यन्तै अविस्मरणीय यात्रा ।

शनिबारको दिन ब्लाइन्ड रक्सले आयोजना गरेको रक क्लाइम्बिङमा जानका लागि संस्थापक सृष्टिसहितका ३० जना दृष्टिविहीन र चिकित्सकसहितका अरू १५ जना गरी ४५ जना बिहानै बल्खुचोकमा जम्मा भयौं ।

पुस-माघको कठ्याङ्िग्रदो ठण्डीमा बिहानै रेडियोमा जानुपर्ने नियमित कामबाट छुट्टी पाउने दिन शनिबार बिहानभरि सुत्न छाडेर म बल्खु पुगेकी थिएँ ।

मलाई एउटा कौतूहलले बल्खु पुर्‍याएको थियो । हामी आँखा देख्नेहरूले त रक क्लाइम्बिङ गर्न एक पटक सोच्नुपर्छ भने दृष्टिविहीनहरू कसरी चट्टान उक्लिएलान् ? उनीहरू कसरी ढुंगाको पहाड चढ्लान् ?

यिनै प्रश्नको उत्तर खोज्न र उनीहरूको साहस र हौसला बढाउन म यो टोलीमा सहभागी भएकी थिएँ ।

यो टोलीमा मिसिनुअघिसम्म रक क्लाइम्बिङबारे थोरै पनि ज्ञान थिएन । ठूलो ढुङ्गैढुङ्गाको पहरामा डोरीमा अल्भिmएको भरमा चढ्नुपर्छ भन्ने सुनेकी थिएँ ।

बल्खुमा भेटिएका दृष्टिविहीन साथीहरू रक क्लाइम्बिङका लागि निकै उत्साहित थिए । उनीहरूको उत्साहमा उत्साह थप्ने हामी एउटा बस र अर्को भ्यानमा बाँडिएर बल्खुबाट दक्षिण लाग्यौं ।

चोभार, टौदह हुँदै अघि बढेर दक्षिणकाली जाने सडक छाडेर हाम्रो गाडी हात्तीवन रिसोर्ट अगाडिको ठूलो चौरमा रोकियो ।

हामी पुग्नुअघि तै त्यहाँ गफी मन्कीका विधान श्रेष्ठ र समन श्रेष्ठ उपस्थिति थिए । उनीहरू त्यो चौरबाट हामीलाई रक क्लाइम्बिङ गर्ने स्थानसम्म लैजान त्यहाँ आएका थिए । समन श्रेष्ठ साहसिक टेलिभिजन शो हिमालयन रोडिजको सिजन वानका विजेता थिए भने विधान श्रेष्ठ एमटीभी रोडिजको रियल हिरो ।

ब्लाइन्ड रक्सले गफी मन्कीसँगको समन्व्ाय अनि एविलिस फाउन्डेसनसँगको सहकार्यमा योे कार्यक्रम गरेको त्यहीं पुगेपछि मैले थाहा पाएँ ।

त्यहाँ उनीहरूसँग हाइहेल्लो गरेर मसहितका साथीहरू शौचालयको खोजीमा लाग्यौं । दैनिक सयौं मान्छे आवतजावत गर्ने पिकनिक स्पटका रूपमा चिनिएको यो ठाउँमा सार्वजनिक शौचालयसम्म रहेनछ ।

म शौचालय खोज्दै रिसोर्ट भित्र छिरें । कुनै दिन गोजीमा पैसा र मनमा रहर पलायो भने त आउनुपर्छ भन्दै रिसोर्ट चहार्दै राम्रोसँग नियालें ।

काठमाडौं शहरको भ्यू निकै राम्रो देखिने यस रिसोर्टमा जाडोको समयमा घुम्न जाने मानिसको घुइँचो नै लाग्ने रहेछ ।

हाम्रो गन्तव्य अन्तै थियो । रक क्लाइम्बिङ अर्थात् ढुंगामा चढ्ने । ३० जनाको दृष्टिविहीन साथीहरूलाई हामीले तीन समूहमा विभाजन गर्‍यौं ।

समूह-१ मा दश जना दृष्टिविहीनको नेतृत्व वसिम अन्सारीले गरेका थिए । समूह-२ लाई टुकी ट्राभल एण्ड टुर्स प्रालिका कार्यकारी निर्देशक कालिका न्यौपानेले र समूह-३ लाई ब्लाइन्ड रक्सका कोषाध्यक्ष विश्व श्रेष्ठले नेतृत्व गरेका थिए ।

हरेक समूहको टिम लिडरसँगै एकजना दृष्टिविहीनसँग एकजना आँखा देख्ने व्यक्तिलाई सहभागी गराइएको थियो । टिम लिडर छनोटसँगै हाम्रो टोली पहाडको टुप्पोबाट ओरालो लाग्यो, रकक्लाइम्बिङको स्थानसम्म पुग्नको लागि ।

टोलीले बाटो भुल्यो वा छोटो बाटो तय गर्‍यो, म अलमलमा परें । कारण हामी हिंडेको बाटोमा मान्छे हिंडेको डोब कतै देखिंदैनथ्यो ।

दृष्टिविहीन साथीहरूको हात समातेर भीरपाखा रहेको घाँसमा घसारिंदै हामी ओरालो लाग्यौं । अलिकति मात्र खुट्टा चिप्लियो भने सीधै गहिरो खोंचमा खसिने जोखिम थियो ।

दृष्टिविहीन साथीहरूलाई त्यसबाट जोगाएर अगाडि बढाउँदा खुट्टा लगलग काँपेका थिए । झण्डै आधा घण्टाको पैदल यात्रापछि पछि हामी डर अनि थकानलाई बिर्संदै हाम्रो अन्तिम गन्तव्य रक क्लाइम्बिङ स्थलमा पुग्यौं ।

दाहिनेपट्ट िठूलो डाँडा अनि त्यसकै फेदमा ठूलो चट्टानको पहरा । हेर्दै डरलाग्दो । उक्त ठूलो पहाडले हामीलाई हरेर गिज्याइरहे झैं लाग्यो । केही विदेशी पर्यटकले त्यो ठूलो चट्टानमा डोरीले बाँधिएर टुप्पोसम्म पुग्ने प्रयास गरिरहेका थिए । गफी मन्कीका साथीहरूले भने, ‘ल आउनुहोस्, सुरुमा को चढ्ने ?’

सृष्टि केसीले ठूलो स्वरमा भनिन्, ‘पक्कै पनि म, म चढ्छु सुरुमा ।’

हामी आँखा देख्ने साथी मुखामुख गर्‍यौं, हामीलाई लाग्यो- यो पहाड कति अग्लो, कति अप्ठेरो बनोटको छ जहाँ न त खुट्टाले टेक्ने ठाउँ देखिन्छ, न त हातले समाउने ठाउँ नै भेटिन्छ । यस्तोमा सृष्टिले कसरी यो अजंगको पहाड चढ्न सक्लिन् र ?

सृष्टिले आँखाले नदेखेको भएर मात्र यसको अन्दाज नपाएर पहिला म चढ्छु भनेकी हुन् कि भन्ने हामीलाई लाग्यो । तर त्यस्तो थिएन । दृष्टिविहीन तथा अपांंगता भएका व्यक्तिले यो-यो गर्न सक्दैनन् भनेर समाजले भन्छ र त्यस्ता काम गर्न रोक लगाउँछ, त्यस्तै रोक र छेकबार भत्काउने काम गर्दै आएकी छिन् सृष्टि ।

आँखाले नदेख्ने मान्छे कहिल्यै नाच्न सक्छ ?

आँखा नै नदेख्ने मान्छेले फेसन कस्तो गर्ने भनेर थाहा पाउन र मोडल बन्न सक्छ ?

सक्छ भनेर यी प्रश्नको उत्तर दिइसकेकी र कुनै पनि सबलाङ्ग व्यक्ति भन्दा आफू कमजोर छैन भनेर प्रमाणित गराइसकेकी सृष्टि । उनले जानेर बुझेर नै आफूले सबैभन्दा पहिला रक क्लाइम्बिङ गर्ने निर्णय गरेकी थिइन् ।

नेपालमा मात्र नभएर विश्वका मञ्चहरूमा मोटिभेसनल स्पिकरको रूपमा पनि परिचय बनाएकी सृष्टि कम्मरमा वेल्ट बाँधेर त्यो ठूलो चट्टान नै चट्टानको पहाडमा विस्तारै उक्लिन थालिन् । खुट्टाले उक्लने प्रयास अनि हातले चट्टानलाई समात्दै उनी नपत्याउँदो पाराले माथि उक्लिन थालिन् । उनी त्यो पहराको टुुप्पोसम्म पुगिन् । अनि माथि बाटै चिच्याइन्, ‘एस गाइज वि क्यान डु इट, ब्लाइन्डल पिपुल क्यान डु इट !’

हामीले तलैबाट ताली बजायौं अनि सृष्टिको अदम्य साहसलाई सम्मान गर्‍यौं ।

त्यसपछि सृष्टिको आँटलाई पछ्याउन थाले उनका अन्य सहकर्मीले ।

सृष्टि चिच्याउँदै अरूको मनोबल उच्च पार्दै थिइन्, ‘गाइज यु क्यान डु इट !’

तीसै जना दृष्टिविहीन साथीहरू सबैले पालैपालो त्यो चट्टानै चट्टानको पहाड चढ्ने हिम्मत राखे । कोही अन्तिम चुचुरोसम्म पुगे त कोही बीचबाटै तल झरे ।

पहरो चढेर ओर्लिएपछि केहीले भने ‘यत्रो पहाड त चढियो अब जिन्दगीमा आइपर्ने समस्याका पहाड त सजिलै चढिन्छ !’

कोही थप्दैथिए, ‘अब त सडकमा भएका खाल्डाखुल्डीमा लडी पो हाल्छु कि भन्ने डरै हरायो ।’

पसिनै पसिनाले भिजेका ती दृष्टिविहीन साथीहरू रक ब्लाइम्बिङबाट र्फकंदै गर्दा जीवनलाई हेर्ने अनि बुझ्ने दृष्टिकोण नै बदलिए झैं लाग्यो ।

दृष्टिविहीन साथीहरूले नयाँ जोश, जाँगर र आँटका साथ पहाड चढ्ने हिम्मत गरे । त्यसले उनीहरूको मनोबल बढाउन त मद्दत गर्‍यो नै, सँगसँगै जीवनमा आइपर्ने हरेक चुनौतीलाई डटेर सामना गर्न सक्छु भन्ने हिम्मत ममा पनि पलायो ।

जीवनका धेरै सेकेन्ड, मिनेट, घण्टा, दिन, महिना अनि वर्षहरू उपलब्धिविहीन भएर सकिए । तर त्यो शनिबार दृष्टिविहीन साथीहरूसँगको सुनौलो यात्रा अनि साथ बाँकी जीवनलाई ऊर्जाशील भएर बाँच्नको लागि निकै नै प्रेरणादायी बन्नेछ ।

धन्यवाद ब्लाइन्ड रक्स अनि विशेष धन्यवाद सृष्टि केसी, त्यो सुनौलो यात्रा अनि यो साथको लागि !





Source link

HamroAwaj

2023-01-21 10:12:39

Leave a Comment